कैलाली: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हाल ‘लोडसेडिङ’ अवस्था नरहेको स्पष्ट पारेका छन् । मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममा उनले विद्युत् निर्यात समेत भइरहेको हुँदा ‘लोडसेडिङ’ अवस्था नरहेको बताए । उनले भने, ‘गर्मीका समयमा विद्युत् खपत बढेका कारण लोड धान्न नसकेर ट्रिपिङ हुने समस्या छ’, उनले भने, ‘वर्षात्का बेला धेरै ठाउँमा मर्मत गर्नुपर्ने, चट्याङका कारण ट्रान्सफर्मर जल्नेजस्ता समस्या आउँछन् । मर्मत गर्न केही समय लाग्छ । यसलाई लोडसेडिङ भनेर अफवाह फैलाइरहेको अवस्था छ ।’
पोखरा: सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्तको जिम्मा लगाइएको हो । धनबहादुर हराएका मध्ये कमला हायुका पति हुन् । प्रहरीका अनुसार बेलाबेलामा बिरामी भइरहने र धामीले त्यहाँ नबस्न भनेपछि छेत्पाबाट हिँडेको उनीहरूले बताएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट गत शुक्रबार एकै परिवारका १६ जना एकसाथ गायब भएका छन् ।
हेटौंडा: बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री कार्यालयमा मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा “विभिन्न कारणले आफूले जिम्मेवारी निरन्तर बहन गर्न नसक्ने अवस्था रहेको” जनाइएको छ । खड्काले आफूले जिम्मेवारी सम्हाल्दै आएको अवधिमा सधैं निष्ठापूर्वक काम गर्न प्रयास गरेको उल्लेख गरेका छन् । पदबाट राजीनामा दिएर सांसद खड्काले ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन् । यस अघि बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले पदबाट राजीनामा दिएका थिए। संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले दिएको राजिनामा मुख्यमन्त्री लामाले स्वीकृत नगरि पदबाट बर्खास्त गरेका थिए ।
गण्डकी: सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उर्मिला सहित उहाँका परिवारका १६ पोखरा महानगरपालिका–३० गगनगौडामा भेटिएका थिए । उनीहरू गगनगौडास्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा कोठा भाडामा लिएर बसेका अवस्थामा प्रहरीले फेलापारेको सिसुवा इलाका प्रहरी कार्यालयका प्रमुख श्रवण विकले जानकारी दिनुभयो । “हिजो आफन्त र जनप्रतिनिधिको रोहबरमा उहाँहरू जहाँ बसेको हो त्यही रहनुुभएको छ, सामान्य सोधपुछ गरेर राखिएको छ”, उहाँले भन्नुभयो, “उहाँहरू त्यहाँ कोठा खोजेर बस्नुभएको रहेछ ।” घरमा बिरामी परिराख्ने, केटाकेटी बिरामी हुने र धामीले पनि नबस्न भनेको जनाउँदै उहाँहरूले प्रारम्भिक जानकारी दिएका प्रहरी प्रमुख विकले जानकारी दिनुभयो । उहाँहरूकाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: पाटेबाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइन्छ । सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै ‘विश्व बाघ दिवस’ मनाउन थालिएको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ । सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ । नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, बासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् । मध्यवर्ती क्षेत्रका स्थानीय घाँस दाउरा, निहुरो टिप्न र गाईभैँसी चराउन जाने क्रममा बाघको आक्रमणमा पर्ने गरेका छन् । त्यस्तै कतिपय अवस्थामा बाघको चोरीसिकारी हुने, स्थानीय जनताको आक्रोशको निशानामा पर्ने र ठूला तथा लामा पूर्वाधारमा वारपार गर्ने क्रममा बाघ मर्नेक्रम पनि बढेको छ । बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ चार सय वर्तमान अवस्थामा नेपालमा बाघको सङ्ख्याको आवश्यकताका बारेमा बहस सुरु भएको छ । कतिपयले वातावरणीय क्षमताका हिसाबले नेपालमा बाघको सङ्ख्या बढी भएको तर्क गरेका छन् भने कतिपयले बाघको सङ्ख्याको ‘धान्ने क्षमता’ (क्यारिङ क्यापासिटी) चार सय हाराहारी रहेको बताएका छन् । नेपालमा बाघको सङ्ख्याको ‘धान्ने क्षमता’का बारेमा हाल मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), विश्ववन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र जिओलोजीकल सोसाइटी अफ लण्डन (जेडएसएल)लगायत संस्थाले अध्ययन गरिरहेका छन् । जेडएसएलका राष्ट्रिय प्रतिनिधि डा भगवानराज दाहालले अध्ययनको प्रारम्भिक प्रतिवेदनले नेपालमा बाघको सङ्ख्या धान्ने क्षमता चार सय हाराहारी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यसैले अहिले बाघको सङ्ख्या बढी भयो भन्न मिल्दैन, बरु बाघलाई आफ्नो बासस्थानमा अडिनका लागि गुणस्तरीय आहारा वृद्धि गर्न पानीका स्रोत र घाँसेमैदान बढाउनतर्फ लाग्नुपर्छ ।” उहाँले बाघको सङ्ख्याको अनुपातमा हाल संरक्षणको क्षेत्रफल कम नभएको तर्क गर्दै बासस्थानको गुणस्तरीयता बढाउनुपर्नेमा जोड दिनुभयो । पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो । उक्त सम्मेलनमा नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई बढाएर दोब्बर पुर्याउने प्रतिबद्धता जनाएको थियो । हाल नेपालमा बाघको सङ्ख्या बढेर त्यसको झण्डै तेब्बर पुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष ९एनटिएनसी० का निर्देशक तथा बाघ विषयमै विद्यावारिधि गर्नुभएका डा चिरिञ्जीवीप्रसाद पोखरेलले मुलुकको पर्यापर्यटनमा बाघको सबैभन्दा बढी महत्व रहेको उल्लेख गर्नुभयो । उहाँले बाघ निश्चित क्षेत्रफल ओगटेर बस्ने र अर्को भालेसँगको जुधाइ, आहाराको खोजी, जङ्गलभित्रका खोला पोखरी सुक्दा खानेपानीको खोजीलगायत कारण मात्र बासस्थानबाट बाघ जङ्गल बाहिर आउने गरेको बताउनुभयो । मानव–बाघ सहअस्तित्वका कार्यक्रम आवश्यक “बाघले आफ्नो आनीबानी परिवर्तन नगर्ने भएकाले मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि मानिसले संरक्षित क्षेत्रमा जानेलगायत आनीबानी परिवर्तन गर्नुपर्छ”, निर्देशक डा पोखरेलले भन्नुभयो, “मन्त्रालयसँग मिलेर हामीले बाघ संरक्षणका सवालमा समुदायमा जनचेतना जगाउने र आर्यआर्जनलगायत सीपमूलक तालिम तथा कार्यक्रम गर्दै आएका छौँ ।” उहाँले पर्यापर्यटन प्रवर्द्धन गर्न र मानवसँगको द्वन्द्व रोकथामका लागि मानव–बाघ सहअस्तित्वका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको मन्त्रालयको तथ्याङ्क छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै हरेक चार वर्षमा राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा एक सय ९८ र सन् २०१८ मा बाघको सङ्ख्या बढेर २३५ पुगेको थियो । विश्वजन्तु कोष नेपालका राष्ट्रिय प्रतिनिधि डा घनश्याम गुरुङले बाघ पर्यापर्यटनको ठूलो धरोहर भएको बताउँदै सबै मिलेर यसको संरक्षणमा लाग्नुपर्ने बताउनुभयो । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि जङ्गल वरपरका स्थानीयलाई जङ्गल नपस्ने गरी जीविकोपार्जनको विकल्प दिनुपर्ने, स्थानीयको वन्यजन्तुप्रति गर्ने आनीबानीमा परिवर्तन गर्नुपर्ने उहाँको सुझाव छ । उहाँले भन्नुभयो, “वन्यजन्तुको वासस्थानको राम्रो व्यवस्थापन गर्नसके वन्यजन्तु बाहिर निस्किँदैनन् र स्थानीयलाई पनि वैकल्पिक आयको व्यवस्था गर्नसके जीविकोपार्जनका लागि जङ्गल जान बाध्य नहुने अवस्था बनाउन सकिन्छ । यसमा सरोकारवाला सबै लाग्नुपर्छ ।” बाघ समस्या नभएको र यसको व्यवस्थापन गर्नुपर्ने उहाँको तर्क छ । विश्वमा बाघको सङ्ख्या पाँच हजार ३५७ नेपालबाहेक भारत, चीन, भुटान, रुस, बङ्गलादेश, भियतनाम, म्यान्मा, मलेसिया, इन्डोनेसिया, थाइल्याण्ड र लाओसमा पाटेबाघ पाइन्छन् । विश्वभर सन् १९०० सम्म एक लाखको हाराहारीमा बाघको सङ्ख्या रहेको अनुमान थियो । त्यो सङ्ख्या सन् २०१० मा घटेर तीन हजार २०० मा सीमित भएको थियो । विश्ववन्यजन्तु कोषको तथ्याङ्कअनुसार त्यसपछिका विश्वभरबाट भएका संरक्षणका प्रयासले बाघको सङ्ख्या बढेर सन् २०१६ मा तीन हजार ९०० र सन् २०२२ मा चार हजार ५०० पुगेको थियो । सन् २०२५ पछिल्लो तथ्याङ्कअनुसार विश्वमा बाघको सङ्ख्या बढेर पाँच हजार ३५७ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी भारतमा तीन हजार १६७, रुसमा ७५०, इण्डोनेसियामा ४००, नेपालमा ३५५, थाइल्याण्डमा एक सय ८९, भुटान १५१, मलेसियामा १५०, बङ्गलादेशमा १४६, म्यान्मामा २२ चीनमा २० भियतनाममा पाँच र लाओसमा दुई वटा बाघ रहेका छन् । निकुञ्ज विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले छिमेकी मुलुक भारतका राष्ट्रिय निकुञ्जमा रहेका बाघको घनत्व हेर्दा नेपालको बाघको सङ्ख्या धेरै भयो भन्न नमिल्ने बताउनुभयो । गुणस्तरीय घाँसेमैदान, पानीको स्रोत र आहारा वृद्धि गरी बाघको सङ्ख्या अहिलेकै क्षेत्रफलमा थप गर्न सकिने प्रशस्त सम्भावना रहेको उहाँको तर्क छ । मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि आफूहरुले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “विभागले विभिन्न निकायसँग मिलेर बाघ र मानव सहअस्तित्वका विभिन्न कार्यक्रम गरिरहेको छ । बाघ जङ्गलको भित्री भागमा रहिरहनका लागि गुणस्तरीय आहाराको वृद्धि र स्थानीयलाई पनि जीविकोपार्जनका लागि जङ्गलको भित्री भागमा जान बाध्य नहुने अवस्थाका लागि प्रयास गरिरहेका छौँ ।” देशभरका खोरमा १८ समस्याग्रस्त बाघ बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएसँगै राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र आसपासका क्षेत्रमा समस्याग्रस्त बाघको समस्या पनि बढ्दो छ । खासगरी मानव बस्तीमा पसेका, मानव तथा घरपालुवा जनावरलाई आक्रमण गरेका र घाइते अवस्थामा भेटिएका बाघलाई उद्धार गरेर खोरमा राख्ने गरिएको छ । हाल मुलुकभर यस्ता समस्याग्रस्त बाघको सङ्ख्या १८ वटा छ । तीमध्ये ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा पाँच, चितवन राष्ट्रिय निकुञ्जमा सात, बर्दिया राष्ट्रिय निकुञ्जमा चार, बाँके र पर्सा राष्ट्रिय निकुञ्जमा एक÷एक बाघ खोरमा राखिएका छन् । यस्ता बाघको दैनिक आहारा, हेरचाह, उपचार र अन्य व्यवस्थापनमा बर्सेनी सरकारको ठूलो रकम खर्च हुँदै आएको छ । बाघलाई मार्न र बेचबिखन गर्न नपाइने कानुनी प्रावधान छ । तसर्थ समस्याग्रस्त यस्ता बाघको व्यवस्थापनका लागि ‘टाइगर जु’ स्थापना गर्नुपर्ने, मित्रराष्ट्रलाई वन्यजन्तु कूटनीतिमार्फत उपहारस्वरुप प्रदान गर्नुपर्ने, प्रदेशमा रहेका प्राणी उद्यानमा व्यवस्थापन गरी आयआर्जन गर्न सकिने, केही उपाय नलागे मार्नुपर्नेलगायत विकल्पमाथिसमेत बहस सुरु भएको छ ।
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी छेन्दु जियान फुड कम्पनीलाई नेपालमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका(४ सिन्धुलीमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको जानकारी दिनुभएको हो । उद्योग विभागबाट रु २० अर्ब बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको उहाँले जानकारी दिनुभयो । “गत मङ्सिरमा मेरो चीन भ्रमणमा भएको सम्झौताअनुसार छेन्दु जियान फुड कम्पनीले मारिण(४ मा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ । उद्योगले वार्षिक दुई लाख मेट्रिकटन मासु र ५५ हजार मेट्रिकटन सहायक उत्पादन (छाला, भित्री अङ्ग, टाउको) उत्पादन गर्नेछ”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्त्त्पूर्ण हुनेछ ।” प्रधानमन्त्री ओलीले छेन्दु जियान फुड कम्पनीले पाँच हजार १५६ जनालाई रोजगारी दिने र वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्ने बताउनुभयो ।
काठमाडौं: नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ । “नाग पूजाको प्रचलन वैदिककालदेखि सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको ‘राजा’ मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । बराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजका दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ । आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । नागपञ्चमीपछि वैदिक सनातनी हिन्दू धर्मावलम्बीका चाडबाडको याम सुरु हुन्छ ।
काठमाडौं: साउन १२ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का जङ्गल छेउ एकान्तमा रहेको घरबाट उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सबै सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोज तलासलाई तीव्र बनाएका थिए । त्यसक्रममा विभिन्न अड्कलबाजी गर्दै घर वरपरको जङ्गल, सम्भावित दुर्घटना हुनसक्ने स्थल, माइतीमावल, नातागोता र अरु आफन्तजनसँग जानकारी लिने र सम्पर्क कायम गरी बुझ्ने कार्य दिनभर भइरह्यो । परिवारका साबै घरबाट ठ्याक्कै कहिले बाहिरिए भन्नेबारे घर वरपरका कसैबाट यकीन जानकारी आउन सकेन । यही साउन ६ गते खुर्कोटस्थित हिमालयन बैंकबाट सामाजिक सुरक्षाभत्ता झिकेको तथा ९ गते वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको सुरक्षा टोलीलाई सूचना प्राप्त भएको जनाइएको छ । त्यसलगत्तै उनीहरूको पछिल्लो पटक गत शुक्रबार साँझ ७ बजेर २८ मिनेटमा नेपाल टेलिकम रामेछापको टावरसँग मोबाइल सम्पर्क भएको सूचना सुरक्षा टोलीले प्राप्त गर्यो । वर्षात्को मौसम भएकाले विपद्मा पर्नसक्ने पाटो, विदेशबाट भर्खर छोरा आएको र सामाजिक सुरक्षाभत्ताको रकमसमेत झिकेकाले कसैको गलत दृष्टि रह्यो की भन्ने कोणबाट पनि सुरक्षा विश्लेषण गर्दै सुरक्षा टोलीले खोजतलासलाई दिनभर तीव्र बनाएको हो । सम्पर्कविहीन हायुको घरमा केही परिमाणमा सुँगुरको मासु फेला परेकाले छोरो विदेशबाट आएको र भत्ता बुझेको खुसियालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने पक्षलाई महत्त्व दिएर विश्लेषण गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । अनुमान गरिएजस्तै स्थानीय बलेनीबाट गाडी रिजर्भ गरी सिन्धुली, हेटौँडा, मुङ्लिन हुँदै हायु परिवार पोखरा पुगेको प्रहरीको भनाइ छ । हायु परिवारलाई पोखरा पुर्याएर त्यहाँस्थित जननी होटलमा छोडेको भन्ने सवारी चालकबाट सूचना प्राप्त भएपछि जिल्ला प्रशासन र जिल्ला प्रहरीले पोखरा खबर गरेको थियो । सोही आधारमा हायु परिवारलाई सोमबार साँझ अबेर प्रहरीले पोखरामा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हायु परिवारका सबै जना पोखरा प्रहरीको सम्पर्कमा आएका छन् । अर्कातर्फ हायु परिवार सम्पर्कविहीन भएको घटनालाई दिनभरजसो सबै सञ्चारमाध्यमले प्राथमिकताकासाथ प्रचारप्रसार गरेका थिए भने हायु परिवार सम्पर्कविहीन भएको घटनालाई विभिन्न अड्कलबाजी गरिएको थियो । घरबाट बाहिरिँदा हायु परिवारले घरमा बाँधिएका छ वटा बाख्रा छोडेर गएका थिए । ती पशुको अवस्था हेर्दा हायु परिवारले एक–दुई दिनअघि मात्र घर छोडेको पूर्वअनुमान गरिएको थियो । खोजतलासका क्रममा बाख्रा र कुकुरलाई कसैको जिम्मा नलगाइ किन परिवार बाहिरियो होला भन्ने प्रश्न पनि आफैँमा गम्भीर बन्न पुगेको थियो । उनीहरू खोरमा बाख्रा बाँधेर तथा कुकुर घरमा छाडेर वरपर कसैलाई पनि जानकारी नदिएर पोखरा घुम्न निस्केका घटनाले पुष्टि गरेको छ । उर्मिला हायुका श्रीमान् पनि केही वर्षअघि बेपत्ता भएकामा जङ्गलमा भेटिएको अस्थिपञ्जरबाट मृत्यु भएको अनुमान गरिएको छ । सम्पर्कविहीन भएका हायु परिवारका १६ सदस्यमध्ये १६ वर्ष मुनिका आठ जना थिए भने घरमुली उर्मिला ५२ वर्षकी हुन् । अन्य सदस्यहरू कमला, कोमल माया, उषा, सुजता, अस्मिता, राजु, हिमाल, लालबहादुर, वेगबहादुर, लक्ष्मण, सुवर्ण, ओमकुमारी, अर्जुन, रियासा र शान्ता हायुलाई पनि यकीन गरिसकेको प्रहरीले जानकारी दिएको छ ।
पोखरा: देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको नक्साल र थापाथलीपछि यो तेस्रो सोरुम हो । उक्त अवसरमा प्रोटोनले सम्भावित ग्राहकका लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, सजिलो फाइनान्स र सरकारी अनुदानका विकल्पका बारे पनि सहजीकरण गरेको छ । बिक्री पछिको सेल्स सपोर्टलाई अझ विश्वासिलो बनाउन नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखरा भित्र तेस्रो सर्भिस सेन्टरको स्थापना गरेको हो । उद्घाटनका अवसरमा ग्राहकलाई प्रोटोन ईमास ७ को प्रमुख विशेषता, यसको स्मार्ट प्रविधि र दिगो यातायातप्रतिको प्रतिबद्धता बारेमा जानकारी गराइएको थियो । जगदम्बा मोटर्सले पोखरामा सोरुम उद्घाटनको पहिलो सातासम्म ग्राहकका लागि प्रोटोन ईमास ७ खरिद्मा शून्य प्रतिशत ब्याजदरको घोषणा गरेको छ । सोरुमको उद्घाटन पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन (वाडा) का अध्यक्ष दीपेन्द्र कोइरालाले गरे । उनले पोखरा अटोमोबाइल्सको दोस्रो हव भएको बताउँदै प्रोटोनलाई पोखरामा स्वागत गरे । पोखरामा पहिलो वाडा अटो सो सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिँदै उनले दोस्रो संस्करणको तयारीमा जुटेको सुनाए । जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले सन् २०२५ सम्म राष्ट्रव्यापी विद्युतीय सवारी साधन सञ्जाल स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाअन्तर्गत पोखरामा स्थापित सोरुम महत्त्वपूर्ण हिस्सा बन्ने बताए । ‘पोखरामा हामीले डिलर नै चलाउन खोजेको हो तर अहिलेको बजारको स्थितिलाई हेर्दा सहज नभएकोले आफै संरचना बनायौं,’ उनले भने, ‘भविष्यमा यहीका स्थानीयले गर्छौं भनेर आउनुभयो भने सहकार्य गर्न तयार छौं ।’ जगदम्बा मोटर्सका सहायक महाप्रबन्धक आकाशविक्रम थापाले पोखराको बजारलाई महत्त्व दिएर सोरुम स्थापना गरेको बताए । ‘यहाँको पर्यटन प्रवद्र्धन र वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास लिएका छौं,’ उनले भने, ‘काठमाडौंमा मन जित्न सफल भएका छौं, पोखरामा पनि सफल हुनेछौं ।’ सोमबार नै कम्पनीले पोखरा इभेन्ट सेन्टरमा प्रोटोनको एसयूभी ईभी ईमास ७ सार्वजनिक गरेको छ । जगदम्बा मोटर्सले नेपाली बजारमा गत चैतदेखि ईमास ७ को आधिकारिक रुपमा लन्च गरेको थियो । जगदम्बा मोटर्स, प्रोटोन नेपालका कार्यकारी निर्देशक अखिल गुप्ताले ईमास ७ सार्वजनिक गरे । ‘प्राकृतिक सौन्दर्य र आधुनिक सोचले भरिपूर्ण सहर पोखरामा प्रोटोन ल्याउन पाउँदा हामी गर्व गर्छौं,’ उनले भने, ‘यस विस्तारसँगै हामी पश्चिम क्षेत्रभरका व्यक्ति र परिवारका लागि सफा, स्मार्ट र सजिलो यातायात अझ पहुँचयोग्य बनाउनेछौं । यो त केवल सुरुआत हो ।’ प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध प्रोटोन ईमास ७ को मूल्य क्रमशः ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी विभिन्न ६ कलर अप्सनमा यो ईभी उपलब्ध छ । जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सर्भिस सेन्टर नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन पूर्वाधार विकासमा पनि लगानी गर्ने बताएको छ । प्रोटोन ईमास ७ प्रोटोनको पहिलो विद्युतीय सवारी साधन अर्थात ईभी हो । यो ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए) प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम रहेको छ भने नवीनतम सेल–टु–बडी (सीटीबी) ब्याट्री संरचना छ । त्यसैगरी यसमा नयाँ पुस्ताको एजिस सर्ट–ब्लेड ब्याट्री (लिथियम आइरन फस्फेट) रहेको छ । सुरक्षा र प्रदर्शनका लागि यसमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम छ भने ३६० डिग्री भ्यु क्यामेरा, फाइभ स्टार एसियन एनक्याप सेफ्टी रेटिङ, १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ भने यसलाई शून्य देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न पुग्न ६.९ सेकेन्ड मात्र लाग्छ । त्यसैगरी १०० किलोमिटर प्रतिघण्टाबाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी मात्र चाहिन्छ । प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी प्रिमियम भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २० मिनेट मात्र लाग्छ । १० मिनेट चार्ज गर्दा यसलाई १३५ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको इन्टेरियरमा भेन्टिलेटेड सिटहरू छन् भने प्रशस्त लेगरुम रहेको छ । ३३ स्टोरेज कम्पार्टमेन्टहरू रहेको प्रोटोन ईमास ७ ईभीमा वानोस प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम छ भने २५६ रङको एम्बियन्ट लाइटिङ छ, जुन यो सेगमेन्टकै सर्वश्रेष्ठ भएको कम्पनीको भनाइ छ । यसमा २.५ के रिजोल्युन सहितको १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ । प्रोटोन ईमास ७ मलेसियाली कम्पनीद्वारा उत्पादित ईभी हो । यो मलेसियाको अग्रणी राष्ट्रिय विद्युतीय सवारी र नयाँ ऊर्जा ब्रान्ड हो, जसलाई प्रो–नेटद्वारा वितरण गरिन्छ । पहिलोपटक २०२४ को जुन १२ मा सार्वजनिक गरिएको यो ईभीका लागि विस्तारित डिलर नेटवर्क, व्यापक बिक्री पछिको सेवा र इकोसिस्टम निर्माण गरिने र यसले प्रत्येक ग्राहकलाई सहज र सन्तोषजनक अनुभव प्रदान गर्ने जगदम्बा मोटर्सले जनाएको छ ।

