काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ। निगमले भारतबाट मूूल्य धेरै बढेर आएको भए पनि उपभोक्ता हितलाई ध्यानमा राख्दै पेट्रोलमा २ रुपैयाँ र डिजेलमा ३ रुपैयाँ मात्र बढाउने निर्णय गरेको उल्लेख गरेको छ। बढाएको मूल्य शनिबार रातिबाट लागू हुनेछ।
काठमाडौं: दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को उपाधि कर्णाली याशिवले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा साविक विजेता कर्णालीले ललितपुर क्वीन्सलाई ३–२ को सेटमा हराउँदै उपाधि रक्षा गरेको हो । सुरुवाती दुई सेट कर्णालीले २६–२४, २५–१७ ले आफ्नो पक्षमा पारेको थियो । त्यसपछि ललितपुरले उत्कृष्ट पुनरागमन गर्दै २५–१३, २५–१७ को अग्रता बनायो । निर्णायक सेटमा कर्णाली १५–८ ले विजयी भयो । यसअघि पोखरामा भदौ २० देखि २८ गतेसम्मका लागि तय भएको प्रतियोगिता जेनजी आन्दोलनका कारण बिचैमा रोकिएर काठमाडौँमा भएको हो । लिगमा ६ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज ७७ वटै जिल्लामा जनप्रदर्शनसहित जनसभा गरेको छ । पार्टीको प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले तेस्रो चरणको कार्यक्रमअन्तर्गत आज जिल्लास्तरमा जनसभा गरेको बताए । जिल्लामा हुने सभालाई पार्टीका केन्द्रीय नेतादेखि शीर्ष नेताहरूले सम्बोधन गरेका छन् । उनका अनुसार आजको जनसभामा महासचिव शङ्कर पोखरेलले बाँकेको नेपालगञ्ज, उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङको आमसभालाई सम्बोधन गरेका छन् । यसैगरी रूपन्देहीको कार्यक्रममा सचिव छविलाल विश्वकर्मा, झापाको बिर्तामोडमा सचिव पद्मा अर्याल र कैलालीको धनगढीमा सचिव लेखराज भट्टले सम्बोधन गरे । एमालेले भदौ २३ र २४ मा ‘जेन(जी’ प्रदर्शनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन, तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाही तथा प्रतिनिधिसभा पुनःस्थापनालगायत माग गर्दै जनप्रदर्शन र सभा गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । मुलुकमा विकसित राजनीतिक घटनाक्रम र एमालेको आगामी बाटोका विषयमा कार्यकर्तालाई जानकारी गराउन सभा गरिएको उनले बताए । यसअघि एमालेले यही कात्तिक २२ गते देशका सबै वडामा वडा भेला र कात्तिक २५ गते ७५३ वटै पालिकास्तरमा भेला सम्पन्न गरिसकेको छ ।
पोखरा: शिव शक्ति क्याम्पस, फूलबारीको शनिबार १७ औं क्याम्पस सभा तथा सातौं अधिवेशनबाट सञ्चालक समिति अध्यक्षमा टुवराज बास्तोला ‘विशाल’ निर्वाचित भएका छन् । समाजसेवी, शिक्षासेवी एवं पूर्व बैंकर हुन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । १५ सदस्यीय सञ्चालक समिति सदस्यमा रवीन्द्रनाथ बास्तोला, विश्वराज बास्तोला, रमेशराज बास्तोला, सरस्वती भण्डारी, डा. तुलसी प्रभास खनाल र गणेशबहादुर कार्की छन् । सदस्यसचिवमा क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मी, प्राध्यापकतर्फबाट सदस्यमा लीलावती पनेरु र सूर्यप्रसाद घिमिरे चयन भए । पदेनसदस्यमा वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपाने छन् । यस्तै, त्रिवि प्रतिनिधि, विद्यार्थी प्रतिनिधिसमेत मनोनीत हुन बाँकी छ । अध्यक्ष बास्तोलाले वार्षिक प्रतिवेदन पेस गर्दै क्याम्पसको स्थायित्व, दीर्घकालीन विकासमा सबैको हातेमाले जरुरी रहेको उल्लेख गरे । क्याम्पस प्रमुख चन्द्रकान्त रेग्मीले गत आव २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले उद्घाटन गरेका थिए । कार्यक्रममा संस्थापक एवं पूर्व प्राचार्य प्रेमबहादुर राई, निवर्तमान क्याम्पस प्रमुख दीपक बास्तोला र लामो समयदेखि प्राध्यापन गर्दैआएका मनोज बास्तोलालाई सम्मान गरिएको थियो । कार्यक्रममा पोखरा ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, गण्डकी प्रदेशका पूर्व मुख्य न्यायाधीवक्ता रोहितराज बास्तोला, ग्यालेक्सी माविका निर्देशक राजु कायस्थलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कायस्थले आफ्ना बाबु राधेश्याम कायस्थको नाममा १ लाख बराबरको तथा वडाध्यक्ष कर्माचारीले १ लाख ५ हजार ५५५ रुपैयाँ बराबरको अध्यक्षकोष स्थापना गर्ने घोषणा गरे । अध्यक्ष टुवराज बास्तोला ‘विशाल’को अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्राध्यापक संघ सभापति तोलाकान्त न्यौपानेले गरेका थिए । कलेजमा विभिन्न नाममा स्थापित छात्रवृत्तिहरु विद्यार्थीलाई प्रदान गरिएको थियो भने विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।
पोखरा: तेस्रो संस्करणको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा विजय डाँडामा तीन दिनसम्म भएको प्रतियोगितामा आठ देशका ४५ खेलाडी सहभागी थिए । प्रतियोगिता छ वटा ट्रेल कुल ५ किलोमीटर ३६३ मिटर दूरीका साथमा छ वटा विधामा खेलाइएको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिए । ३० देखि ३९ वर्ष सम्मका मास्टर्स ुएु विधामा नेपालका राजन भण्डारी प्रथम हुन सफल भए । भण्डारीले निर्धारित दूरी १४ मिनेट ५ मिलिसेकण्डमा पार गरेका थिए । त्यस्तै अस्ट्रेलियाका स्टेफन विलियम्स दोस्रो भएभने नेपालकै मुनेश घले तेस्रो हुन सफल भए । विलियम्सले निर्धारित दूरी १५ मिनेट ५९ सेकेन्ड ८१ मिलिसेकेन्डमा पार गरेका थिए भने घलेले १६ मिनेट २६ सेकेन्ड ५२ मीलिसेकण्डमा पार गरेका थिए । यता मास्टर्स ुबीु तर्फ पनि नेपालकै शक्ति गुन्सेकर प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १६ मिनेट १७ सेकेन्ड ३७ मिलिसेकेन्डमा पार गर्न सफल भए । यता सोही दूरी नेपालकै रवि कार्कीले १६ मिनेट ५० सेकेन्ड ४६ मिलिसेकेन्डमा पार गर्दै दोस्रो भएभने १७ मिनेट ३० सेकेन्ड ३७ मिलिसेकेन्डमा उक्त दूरी पार गर्दै प्रयास तामाङ तेस्रो बने । यता जुनियर तर्फको विधामा प्रसन्न महर्जन प्रथम, दिप्सन थापा दोस्रो र स्वप्निल रायमाझी तेस्रो बन्न सफल भए । पर्सनले निर्धारित दूरी १५ मिनेट ४९ सेकेन्ड २० मिलिसेकेन्डमा पार गरेका थिए भने दिप्सनले १५ मिनेट ५० सेकेन्ड ३५ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै स्वप्निलले भने उक्त दूरी १६ मिनेट ५८ सेकेन्ड ८५ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै खुला महिलातर्फको विधामा लक्ष्मी मगर प्रथम र कृपा डंगोल दोस्रो हुन सफल भइन् । लक्ष्मीले निर्धारित दूरी २० मिनेट एक सेकेन्ड ८० मिलिसेकेन्डमा पार गरेकी थिइन् भने कृपा डंगोलले २० मिनेट १५ सेकेन्ड ४० मिलिसेकेन्डमा पार गरेकी थिइन् । यता इलिटतर्फको विधामा भने हिकमत बिक प्रथम हुन सफल भए । उनले निर्धारित दूरी १३ मिनेट ९ सेकेन्ड ७४ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै यस विधामा तेन्जिङ गुरुङ दोस्रो र अनिल बिक तेस्रो हुन सफल भए । तेन्जिङले १३ मिनेट ५८ सेकेन्ड ५६ मिलिसेकेन्डमा उक्त दूरी पार गरेका थिए भने अनिलले १४ मिनेट २९ सेकेन्ड १६ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै ५० वर्षमाथिका भेट्रान्स विधामा भने थाइल्याण्डका मार्क डटी प्रथम हुन सफल भए भने दोस्रो र तेस्रो नेपालका क्रमश मिङ्गुर दोर्जे शेर्पा र अनिल बास्कोटा भए । थाइल्याण्डका मार्कले निर्धारित दूरी १३ मिनेट ५५ सेकेन्ड १८ मिलिसेकेन्डमा पार गरेका थिए । त्यस्तै उक्त दूरी शेर्पाले १७ मिनेट २२ सेकेन्ड ७५ मिलिसेकेन्डमा पार गरेका थिए भने बास्कोटाले १८ मिनेट ५६ सेकेन्ड १८ मिलिसेकेन्डमा पार गरेका थिए । प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी थिए । सबै खेलाडीलाई छ वटै ट्रेलमा खेलाइएको थियो । समुन्द्री सतहबाट १३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामाआयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ । यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव कल्याण भन्दा अरु ठूलो धर्म नभएको बताउनुभएको छ । सहयोगापेक्षी सडक आश्रित मानवको हित गर्ने कार्य पुण्यको कर्म भएको उहाँको भनाई छ । पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले शनिबार आयोजना गरेको श्री हेमदेवी धर्म, संस्कृति तथा समाज सेवा पुरस्कार अर्पण समारोहमा उहाँले यस्तो बताउनुभएको हो । उक्त पुरस्कार यस वर्ष मानवसेवा आश्रम नेपाललाई संस्थागत रुपमा प्रदान गरिएको छ । समितिका संस्थापक अध्यक्ष स्वर्गीय हेम बहादुर प्रधानले १५ लाख अक्षयकोष खडा गरी स्थापना गर्नुभएको उक्त पुरस्कारको राशी १ लाख १ हजार रहेको छ । समितिका तर्फबाट प्रदेश प्रमुख भट्ट, समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले आश्रमका सञ्चालक राम्जी अधिकारीलाई पुरस्कार प्रदान गर्नुभएको थियो । प्रदेश प्रमुख भट्टले मानवसेवा आश्रमले सुरु गरेको मानवता प्रवद्र्धनको महाअभियानलाई सबैले साथ दिनुपर्ने बताउनुभयो । पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरको विकास, संरक्षण, पूर्वाधार निर्माण तथा व्यवस्थापनमा क्रियाशील समितिको निरन्तर सेवाको पनि उहाँले प्रशंसा गर्नुभयो । ‘सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानमा १४ वर्षदेखि अनवरत लागिरहेको मानवसेवा आश्रमलाई यो सम्मान अर्पण गर्ने निर्णयप्रति समितिलाई धन्यवाद व्यक्त गर्दछु र आश्रम सञ्चालकहरूलाई बधाई दिन चाहन्छु ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘आफ्नो लागि केही गर्न नसक्ने अवस्थामा रहेका सहयोगापेक्षी मानवहरुको उद्धार, पालनपोषण, संरक्षण, पारिवारिक पुनःमिलन कार्यक्रम गरिरहेकोमा आश्रमको कामलाई मुक्तकण्ठले प्रशंसा गर्दछु ।’ यस पुरस्कारबाट यसअघि राष्ट्रपतिको समुपस्थितिमा विशिष्ट संस्कृतिसाधक स्वर्गीय सत्यमोहन जोशी, स्वामी आत्मानन्द गिरीजी महाराज, समाजसेवी दुर्गा घिमिरे, संस्कृतिविद् साहित्यकार तुलसी दिवस र स्वामी कमलनयन आचार्य मुक्तिनाथ बाबालाई सम्मान गरिसकेको साहित्यकार तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौं: जेनजी आन्दोलन उत्कर्षमा पुगेको दिन, भदौ २४ गते । विध्वंस, डर र त्रासको स्थिति १ मङ्गला श्रेष्ठको दिमागमा यो दिनले नमिठो छाप छोडेर गएको छ । सात समुद्रपारी रहनुभएकी उहाँले सधैँझै कामको ‘ब्रेकटाइम’ मा श्रीमान् मिलन रायबीच कुराकानी हुन्थ्यो । नेपाल प्रहरीको महाराजगञ्ज वृत्तमा प्रहरी सहायक निरीक्षकको रूपमा कार्यरत मिलनले त्यो दिन आन्दोलन सुरु भएको १२ः०० बजेतिर मोटरसाइकल जलेको र आफू सटरभित्र सुरक्षित रहेकाले कुनै ‘तनाव’ नलिउ भनेर आश्वस्त पार्नुभयो । जापानको एक रेष्टुराँमा कार्यरत मङ्गलाले ‘ड्युटी’मा रहँदा पनि नेपालको अवस्थाबारे छिनछिनमा जानकारी लिइराख्नुभएको थियो । आन्दोलनले उग्ररूप लिइरहँदा उहाँको मन स्थिर हुन सकिरहेको थिएन । मङ्गलाले आफ्नो ‘ड्युटी’ सकेपछि पटक–पटक फोन गर्नुभयो तर उठेन । निरन्तरको प्रयासपछि एक हवल्दारले मिलनको निधन भएको कुरा सुनाउनुभयो । जेनजी आन्दोलनमा भएको घुसपैठको निशानामा सहायक निरीक्षक राय र जवान उत्तम थापा पर्नुभयो । उहाँ र जवान उत्तमलाई आन्दोलनकारी सडकमा ल्याएर कुटीकुटी पासविक तबरले हत्या गरियो । घटनाको वास्तविकता थाहा पाएपछि मङ्गलाले केही सोच्न सक्ने अवस्था थिएन । त्यसमाथि आन्दोलनकारीले वीभत्स तरिकाले मारेको थाहा पाउँदा मुटु भक्कानिन पुग्यो । धरती नै भासिएजस्तै भयो । मुटु छियाँछियाँ हुन पुग्यो । श्रीमान्लाई अन्तिम बिदाइ गर्न उहाँ भदौ २६ गते काजक्रियाका लागि काठमाडौँ आइपुग्नुभयो । यही वर्ष जापान जाने तयारीमा थिए मिलन तीन जना दाजुभाइमध्ये कान्छो छोरा थिए मिलन । सानैमा बाआमा बितेपछि हजुरआमा र काकाको रेखदेखमा हुर्किनुभएका उहाँले सानैदेखि हन्डर खाएर प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । सिन्धुलीको दूधौली–८ खोरभञ्जाङका मिलन २०७४ सालमा प्रहरी सेवामा प्रवेश गरी भरतपुरमा तालिम सकिएपछि पहिलो पोष्टिङ जलेश्वर, ललितपुर, जनसेवा, दरबारमार्ग हुँदै महाराजगञ्ज सरुवा हुनुभएको थियो । त्यसअघि काठमाडौँमा सहकारीमा बजार प्रतिनिधिका रूपमा काम गर्ने सिलसिलामा धादिङ छत्र देउरालीकी मङ्गलासँग चिनजान भयो । दुवैको उमेर एउटै, काम एउटै । त्यही चिनजानले प्रेम २०८० फागुन २१ विवाहमा परिणत भयो । मङ्गला सम्झिनुहुन्छ, “लामो समयसम्म प्रेममा रहेर विवाह गरेका कारण एक–अर्कालाई नाम नै लिएर बोलाउँथ्यौँ । उसले पनि यही वर्षभित्रै प्रहरीको जागिर छोडेर जापान जाने सोच बनाएको थियो ।” करिब रु १२ लाख खर्च गरेर मङ्गला गत वैशाखमा मात्रै रोजगारीका सिलसिलामा जापान जानुभएको थियो । पढाइमा अब्बल, क्रिकेट र खानपिनमा सौखिन । काका केशव, हजुरबा र हजुरआमाको छत्रछायाँमा हुर्किनुभएका मिलन सबैको प्यारो थिए । परिवारको कान्छो सदस्य गुमाएपछि उमेरले पाका भइसकेका हजुरआमा र बाका आँखा ओभाना हुन सकेका छैनन् । “सानैमा बाआमा बिते, हामीले हुर्कायौँ । संरक्षकको रूपमा आफ्नै सन्तानसरह हुर्काएको थियौँ । उसको सम्झना त सधैँ मनमा रहिरहन्छ”, काका केशव मिलनलाई स्मरण गर्नुहुन्छ । जेनजी आन्दोलनका क्रममा वीरगति प्राप्त गर्नुभएका मिलनलाई सरकारले कात्तिक १७ गते सहिद घोषणा गरी अमर प्रहरीको सम्मान प्रदान गरेको छ । सहिद परिवारलाई उपलब्ध गराउने भनी निर्णय भएबमोजिमको रु १५ लाख परिवारले प्राप्त गरिसकेको छ । साथै नेपाल प्रहरीले अमर प्रहरी मिलनको परिवारलाई आजीवन निवृत्तिभरण उपलब्ध गराउने छ । प्रहरी नायब निरीक्षकसमेत रहेका माइला दाजु हरिबाबु मिलनलाई आफ्नो भाइ मात्र होइन, एक असाध्यै मिल्ने साथीजस्तै ठान्दथे । कलिलैमा भाइ गुमाउँदा उहाँ विक्षिप्तजस्तै हुनुहुन्छ । भन्नुहुन्छ, “मैले भाइमात्र होइन असल साथी पनि गुमाएँ । सबै कामसँगै गर्ने । पेसा पनि एउटै रोजेका थियौँ । मेरो मुटुको टुक्रा थियो ऊ ।” विद्यालयस्तरको पढाइमा पनि कक्षामा सधैँ पहिलो÷दोस्रो हुँदै आएका मिलनले क्याम्पसको पढाइ भने चाबहिलस्थित पुष्पलाल मेमोरियल कलेज र बौद्धस्थित अरुणिमामा अध्ययन गरेको स्मरण गर्दै दाजु हरिबाबु भन्नुहुन्छ, “भाइलाइ असइमा भर्नाका लागि मैले पढेका किताब दिएँ, दिमाग तेजिलो थियो, दोस्रो पटकमा सफल भयो, साथीभाइसँग उ छिटो घुलमिल हुन्थ्यो ।” प्रहरी सङ्गठनभित्र पनि एक इमान्दार, अनुशासित र असल चरित्रको परिचय बनाएका मिलन दिएको जिम्मेवारी ठीक ढङ्गले समयमै फत्ते गर्ने कर्तव्यनिष्ठ भएकाले हाकिमहरूको रोजाइमा पर्दैआउनुभएको थियो । भदौ २४ गते महाराजगञ्जमा आन्दोलनकारीबाट भाइको ज्यान लिइएको घटना सुन्न पर्दा सपनाजस्तै भएको बताउँदै नुवाकोटमा कार्यरत हरिबाबु भन्नुहुन्छ, “मेरो जीवनको साह्रै दुःखद् दिनका रूपमा रह्यो भदौ २४ १” जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आन्दोलनकारीको आक्रमणबाट तीन प्रहरीको ज्यान गएको थियो । सो दिन प्रहरी जवान मिलनका साथै कास्कीका रूपा गाउँपालिका–५ का अमृत गुरुङ, दार्चुलाको लेकाम गाउँपालिका–३ का उत्तम थापाको पनि आन्दोलनकारीको आक्रमणबाट ज्यान गएको थियो ।
काठमाडौं: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दम्पती शुक्रवार सिंगापुरबाट स्वदेश फर्किएका छन् । जेनजी आन्दोलनबाट गम्भीर घाइते भएका देउवा ,पत्नी आरजु राणा देउवासहित थप उपचारका लागि कात्तिक १० गते सिंगापुर गएका थिए । जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते बुढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । त्यसपछि उहाँहरूको सैनिक अस्पताल छाउनीमा उपचार भएको थियो । जेन जी घटनापछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक भएका थिए । उक्त बैठकमा देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका थिए ।
महोत्तरी: बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न महोत्तरीमा तयारी थालिएको छ । सामान्यतया पुस लागेपछि सुरु हुने शीतलहर कुनैकुनै वर्ष मङ्सिर मध्यलगत्तै ह्वात्तै बढेको विगत अनुभवले महोत्तरीमा यसपालि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले शीतलहर सुरु हुनु पहिले नै पूर्व तयारी बढाएको हो । ‘मधेसमा शीतलहर वर्षौपिच्छे भोग्दै आइएको समस्या हो, क्षति हुन थालेपछि यसको व्यवस्थापन बढी खर्चिलो र समाल्न धौधौ पर्ने हुन्छ’, समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘हामीले अहिलेदेखि नै पूर्वसचेतता र तयारीका काम थालेका छौँ ।’ समितिले जिल्लाका सबै नगरपालिकाका प्रमुख, गाउँपालिकाका अध्यक्ष, सामाजिक सङ्घसंस्था र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखसहितको बृहत् बैठक सम्पन्न गरेर अहिलेदेखि नै क्षति हुन नदिनेगरी पूर्वतयारी थालेको उनको भनाइ छ । जिल्लामा यो समिति प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने व्यवस्था छ । समितिले यसअघि शीतलहर प्रभावितहरूको उद्धार तथा राहतमा संस्थागत योगदान दिँदै आएका संस्थाहरू, विभिन्न व्यक्तित्व र निकायसँग तत्काल समन्वय गरी शीतलहर व्यवस्थापन योजना तयार गर्ने निर्णय गरेको यादवले जानकारी दिए । यसरी प्राप्त हुने योजना समितिबाट स्वीकृत गरी कार्यान्वयनमा लगिने उनको भनाइ छ । जिल्लाका सबै गैरसरकारी संस्थाहरूलाई यस काममा अभिप्रेरित गर्दै स्थानीयतहसँगको सहकार्यमा शीतलहर प्रतिकार्य योजना निर्माण र कार्यान्वयनमा जोडिने समितिले जनाएको छ । मधेसमा शीतलहरका बेला बर्सेनि मानवीय क्षति, स्वास्थ्य समस्या र कृषिबालीमा समेत ठूलो परिमाणमा नोक्सानी हुँदै आएको छ । यसपालि शीतलहरका बेला आवश्यक पर्ने दाउराको प्रबन्ध अहिलेदेखि नै गर्न सम्बद्ध पक्षलाई सचेत गराइएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । समितिले शीतलहरबाट जोगिन गरिने पूर्वतयारीसँगै गत असोज तेस्रो साताको बाढी तथा डुबानबाट क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माणको काम जिम्मेवार निकायले तत्काल प्राथमिकतासाथ सम्पन्न गर्न पर्ने निर्णयसमेत गरेको प्रजिअ यादवले बताए ।

