हेटौंडा: बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय भएको शपथ ग्रहण कार्यक्रम स्थगित भएको प्रदेश प्रमुख कार्यालय हेटौँडाले जनाएको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाको स्वास्थ्यमा अकस्मात् समस्या उत्पन्न भएपछि उपचारका लागि काठमाडौं प्रस्थान गरेकाले बिहीबारका लागि तय भएको शपथ ग्रहण कार्यक्रम हाललाई स्थगित भएको उल्लेख गरिएको छ । यसअघि बुधबार बिहान ९ बजेका लागि शपथको कार्यक्रम राखिएकोमा सहयात्री दल एमालेले कांग्रेसको आन्तरिक विवाद कायमै रहेको र संसदीय दलको नेतामा समेत फेरबदल आएकाले तत्काल मन्त्री नियुक्ति तथा शपथको कार्यक्रम अघि नबढाउन सुझाव दिएको थियो । मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानून, माया श्रेष्ठलाई युवा तथा खेलकुद र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका थिए ।
बुटवल: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बसेको छ । काठमाडौँबाट भैरहवा आइपुगेका रास्वपाका नेता तथा सांसदहरूले सहकारी ठगी आरोपमा जिल्ला कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग आजै बिहान भेटेर छलफल गरेपछि संसदीय दलको बैठक बसेको हो । भिजिट भिसा प्रकरणमा पार्टीका तर्फबाट दुई महिनादेखि संसद्मा आवाज उठाउँदा पनि बेवास्ता गरिएको, संसद्मा पेस भएका विधेयकहरू अघि बढ्न नसकेको लगायतका समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने नेताहरूले बताउनु भएको छ । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा उपनिर्वाचन हुन लागेकोले रास्वपाको संसदीय दलको बैठक त्यही क्षेत्रमा हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने २२ औं सस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पोखरामा हुने भएको छ । पोखरा महानगरपालिका मुख्य प्रवर्द्धक रहेको उक्त अवार्ड कार्यक्रम आगामी भाद्र २९ गते नेपालको पर्यटकीय राजधानी पोखरामा हुने भएको हो । अवार्ड कार्यक्रमको प्रवर्द्धनका लागि महानगरपालिकाले आफ्नो वार्षिक विकास कार्यक्रम मै उल्लेख गरेको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको सन्दर्भमा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पहिलो पटक काठमाडौँ बाहिर पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । स्पोटर््स अवार्डका माध्यमबाट पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म प्रचारप्रसारमा उल्लेखनीय टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हबको सहरका रूपमा विकास गर्ने गरी मौजुदा पूर्वाधारहरूको सबलीकरण र पूर्वाधारहरू निर्माण गर्ने कार्यमा पोखरा महानगरपालिकाले आवश्यक समन्वय तथा सहकार्य गरिरहेको नगर प्रमुख आचार्यले बताउनुभयो । पोखरालाई सबै हिसाबले पर्यटन गन्तव्यका रूपमा विकास गर्न यस्ता प्रकारका कार्यक्रमहरूको नियमिततामा उहाँले जोड दिनुभयो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौँ बाहिर पहिलो पटक पर्यटकीय राजधानी पोखरामा अवार्ड गर्न पाउँदा आफूहरू निकै उत्साहित भएको बताउनुभयो । पोखरा भ्रमण वर्ष २०२५ को प्रवर्द्धन र राजधानी बाहिर खेल पत्रकारिताको विकास तथा प्रोत्साहनका लागि आफूहरूले पोखरालाई रोजेको उहाँले बताउनुभयो । कार्यक्रममा खेलकुदको विभिन्न विद्याहरूमा उत्कृष्टता हासिल गरेका खेलाडी, खेलकुद प्रेमी र खेल पत्रकारहरूलाई पुरस्कृत गरिने छ ।
मोरङ: नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताउनुभएको छ। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो । कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पार्नुभयो । नेता कोइरालाले भन्नुभयो, “राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ ।” उहाँले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राख्नुभयो । गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एक प्रश्नको जवाफमा नेता डा कोइरालाले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समय विसं २०८२ मा हुने विचार राख्नुभयो ।
पोखरा: पोखराको लेकसाइडमा आधुनिकता, परम्परा र प्रकृतिको समिश्रणका साथ निर्मित बगैँचा रिसोर्ट एण्ड स्पाको भव्य उद्घाटन गरिएको छ । अंशुभरा ग्रुपद्वारा प्रवद्र्धित यो पर्यावरणमैत्री लक्जरी रिसोर्टको उद्घाटन नेपाल सरकारकी परराष्ट्रमन्त्री माननीय डा। आरजु राणा देउवाले गरेकी हुन् । उनले दीगो पर्यटन, स्थानीय उत्पादनको प्रयोग र सामाजिक उत्तरदायित्वमा आधारित उद्यमहरू देशको भविष्य निर्माणमा महत्वपूर्ण बन्ने उल्लेख गरिन्। उनले पछिल्लो पुस्ताले व्यवसायमा देखाएको सक्रियता प्रशंसायोग्य भएको बताउँदै देशमै अवसर र सम्भावनाको खोज गर्न आग्रह गरिन् । “अहिलेको जेनेरेसन व्यवसायमा लागिरहेको देख्दा खुशी लाग्छ । विदेशमा जसरी मेहनत गर्छौँ, यदि यहीँ पनि त्यसरी नै गरे थुप्रै सम्भावना छन्। नेपालमै केही गर्न सकिन्छ भन्ने सोच सकारात्मक छ ।”, उनले भनिन् । उनले बगैंचाजस्तो लगानीमैत्री परियोजनाहरूले सस्टेनेबल टुरिजम अर्थात् दिगो पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन् । “सस्टेनेबल टुरिजमको अवधारणालाई आत्मसात् गर्दै बगैंचाले एउटा उदाहरणीय काम गरेको छ । यसले पोखराको पर्यटन मात्र होइन, सम्पूर्ण मुलुकको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउनेछ”, उनले भनिन् । उनका अनुसार पछिल्ला केही महिनामा सरकारले लगानीको वातावरण बनाउन महत्वपूर्ण कामहरू अघि बढाएको छ । पछिल्लो ६ महिनामा सरकारले गरेको काम प्रशंसायोग्य भएको र पर्यटनलगायतका क्षेत्रलाई अघि बढाउन यस्ता वातावरण बनाउँदै जानुपर्ने विषयमा उनले जोड दिइन् । कार्यक्रममा गण्डकी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बगैंचा रिर्सोट एण्ड स्पामा भएको लगानीले पोखराको पर्यटन, रोजगारी र स्थानीय उत्पादनमा बहुआयामिक योगदान दिने विश्वास व्यक्त गरे । अंशुवरा ग्रुपका चेयरमेन एवम् गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बगैंचालाई व्यावसायिक सफलताको मात्र होइन, सामाजिक उत्तरदायित्व र वातावरणीय संरक्षणको दृष्टिकोणबाट अघि बढाएको उल्लेख गरे । उनले पोखराको पर्यटनको दीर्घकालीन विकासका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र कोरला नाकाको प्रभावकारी सञ्चालन अपरिहार्य भएको उल्लेख गरे । उनले मन्त्री देउवामार्फत भारत, चीनलगायत देशहरूबाट सिधा उडान र द्विपक्षीय सहकार्यका लागि पहल गर्न अनुरोध गरेका छन् । अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक तथा रिसोर्ट संचालक सौगात थापाले बगैँचा रिसोर्टलाई सहरभित्रको हरित विश्रामस्थलको रूपमा विकास गर्न खोजिएको बताए । “यहाँको हरेक सामग्री, संरचना र सेवाले पाहुनालाई प्रकृतिसँग पुनः जडान गराउनेछ”, उनले भने। बगैँचा विचार, विश्राम र पुनर्जागरणको समिश्रण भएको भनाई उनको छ । आफ्ना बुवा विन्दु कुमार थापाको समर्थन र मार्गदर्शनले नै सपना साकार भएको उल्लेख उनले गरे । अंशुुवरा ग्रुपले हस्पिटालिटी, रियल स्टेट, व्यवसायिक मल, अटोमोबाइल र कृषि क्षेत्रमा लगानी गरेको उनले जानकारी गराए । बगैँचा रिसोर्ट एण्ड स्पामा १ सय ५० डलर देखि ३ सय ५० डलर सम्मको रुमको व्यवस्था गरिएको छ । जहाँ ३२ वटा कोठा, ४ किसिमका लक्जरी सुइटहरू ९स्ट्यान्डर्ड, एक्जिक्युटिभ, आर्बर सुइट, बगैँचा सुइट० छन्, सबैमा निजी बाल्कोनीसहित हरियाली दृश्यको अनुभव लिन सकिन्छ । रिसोर्टभित्र रहेको ‘टारो पूलसाइड बार’ र ‘मरिच इन्डो–चाइनीज रेष्टुरेण्ट’ तथा ‘उमामी प्यान–एशियन रेष्टुरेण्ट’ ले स्वादमा समेत बहुराष्ट्रिय विविधता ल्याउने बताइएको छ । यहाँ प्रयोग गरिने खाद्य सामग्री रिसोर्टकै अर्गानिक फार्म बाट ल्याइनेछ । बगैँचाको अर्को विशेषता भनेको यसको शून्य प्लास्टिक नीति हो । काठ, ढुंगा, हस्तकला र महिला उद्यमीहरूको उत्पादनलाई प्राथमिकता दिइएको छ । एकल महिलाद्वारा निर्मित सामग्री, राउटे समुदायका परम्परागत भाँडाकुँडाको प्रयोगजस्ता तत्वहरूले यसलाई सांस्कृतिक संरक्षणको जीवित थलो बनाएको छ । रिसोर्टमा जलवायु सचेतता अनुरूप वर्षातको पानी संकलन, विद्युतीय सवारीसाधनको प्रयोग र स्थानीय जैविक विविधताको संरक्षण गरिएको छ । स्पा सेवामा पारम्परिक नेपाली उपचार विधि, योग अभ्यास, सिङ्गिङ बाउल थेरापी र साउन्ड हेलिङजस्ता ध्यानात्मक कार्यक्रम बगैँचाको विशिष्टता भएको संचालक सौगात थापाले जानकारी दिए । साथै, स्थानीय जडीबुटीबाट तयार पारिएको ‘बगैँचा विशेष चिया’ पाहुनाका लागि एक विशेष अनुभव हुने विश्वास समेत गरिएको छ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीद्वारा सञ्चालित कञ्चन पत्रकारिता पुरस्कारबाट कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार सुशिलबाबु श्रेष्ठ (कैलाश) सम्मानित हुने भएका छन् । पोखराका व्यवसायी बिमलमान गुभाजुसहित उनको परिवारद्वारा स्वर्गीय बुवाआमा वेदमान गुभाजू र नेत्रकुमारी गुभाजूको स्मृतिमा स्थापित यस पुरस्कार यो वर्ष पत्रकारद्वय गुरुङ र श्रेष्ठलाई प्रदान गरिने भएको हो । प्रतिभा छनोट समितिले गरेको सिफारिस गरेको गुरुङ र श्रेष्ठको नाम फोनिज गण्डकीको मंगलबारको बैठकले अनुमोदन गरेको फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङले जानकारी दिइन । अधिवक्ता सुरेन्द्र थापामगर संयोजक रहेको प्रतिभा छनोट समितिको सदस्यहरुमा फोनिजका संघीय सल्लाहकार शान्ति गुरुङ, फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीषमगर, अध्यक्ष खिमा गुरुङ र महासचिव सुरज थापामगर थिए । यो पुरस्कार फोनिजको २६ औं स्थापना दिवसका अवसरमा साउन २७ गते प्रदान गरिनेछ । उक्त पुरस्कारको राशि जनही २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । कञ्चन पत्रकारिता पुरस्कार २०८२ बाट सम्मानित हुन लागेका फोटो पत्रकार गुरुङले गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् । अहिले पोखरासिटी डटकममा कार्यरत गुरुङले अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टस् र सिन्हुवामा काम गरिसकेका छन् । उनी नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष हुन् । सम्मानित हुन लागेका अर्का पत्रकार श्रेष्ठले लामो समयदेखि गोरखालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् । उनले दरौदी पाक्षिक पत्रिकाबाट पत्रकारिताको सुरुआत गरेका थिए । श्रेष्ठले गोरखा पत्र दैनिक, हिमालय टाइम्स, राजधानी दैनिक, नेपाल एफएम (काठमाडौं), रेडियो पालुङ (मकवानपुर), रेडियो मुक्तिनाथ (पाल्पा), रेडियो गोरखा, एभिन्यूज टेलिभिजन, गोरखा समाचार दैनिक पत्रिकामा काम गरिसकेका छन् । अहिले उनी गोरखा समाचार डटकममा आवद्घ छन् । गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका दुई जना पत्रकारलाई फोनिज गण्डकीले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आइरहेको छ । वि.स २०७७ सालमा स्थापित यो पुरस्कारबाट यसभन्दा अगाडि रुद्रबहादुर हितानमगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दिपेन्द्र श्रेष्ठ र कमला रानामगर सम्मानित भइसकेका छन् । साथै, स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले तीन दिवसीय कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । जसअनुसार साउन २५ गते फोनिज संवाद, २६ गते पत्रकारहरुबीच मैत्रीपूर्ण खेलकुद र २७ मूल समारोह आयोजना गरिने अध्यक्ष गुरुङले बताइन् ।
हेटौडा: बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। आज भएको मत विभाजनमा मुख्यमन्त्रीसमेत रहेका दलका नेता लामाको पक्षमा १५ र विपक्षमा २२ सांसदले मत दायर गरे। प्रदेशसभामा कांग्रेसका ३७ सदस्य छन्। यससँगै अब यहाँ इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने बाटो खुला भएको छ। दलका नेता लामाविरुद्ध बानियाँ नेतृत्वमा २१ सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको थियो। नेपाली नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परिवेक्षक राजन केसीको नेतृत्वमा अविश्वासको प्रस्तावमाथि मतविभाजन भएको हो। अविश्वासको प्रस्तावमा २१ सांसदले हस्ताक्षर गरेका थिए।
काभ्रेपलाञ्चोक: काभ्रेपलाञ्चोकअन्तर्गत मुख्य दुई राजमार्ग अरनिको र बीपी राजमार्ग अवस्थित छन् । अरनिको राजमार्गमा तीन वर्षदेखि र बीपी राजमार्गमा ठीक दश महिनादेखि कठिनाइ पूर्ण यात्रा गर्न बाध्य भएका छन्, मध्यपहाडी क्षेत्रका नागरिक । अझ, अरनिको राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको काभ्रेपलाञ्चोकको धुलिखेलदेखि भक्तपुरको सूर्यविनायकसम्मको सडकमा पनि हाल कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता झेलिरहनुपरेको छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा घुलाम्मे हुने अहिले यी राजमार्गका विशेषता बनेका छन् । घुलाम्मे अवस्थामा भने जसोतसो यात्रामा केही राहत जस्तो देखिन्छ, तर वर्षामा भने हिलोका कारण यात्रा निकै कठिनाइ हुने नै गर्छ, वर्षाका बेला बीपी राजमार्गमा भने बाढीपहिरोको उत्तिकै जोखिमपूर्ण अवस्था रहेको छ । हाल बीपी राजमार्गमा मनसुनका समयमा राति दश घण्टा यातायातका साधन सञ्चालनमा रोक लगाइँदै आएको छ । काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले मनसुन सक्रिय भएको अवस्थामा बिपी राजमार्गमा बाढीपहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने हुँदा जोखिम न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीसम्मको क्षेत्रमा असार ७ गतेदेखि सोही समयमा करिब दश घण्टा १५ दिनका लागि र असार २२ गतेदेखि थप एक महिनाका लागि सडक सञ्चालनमा रोक लगाइएको छ । गत साल असोज दोस्रो साता रोशी खोलाको बाढीले क्षतिग्रस्त बीपी राजमार्ग हालको वर्षायाममा अवरुद्ध हुन नदिन विभिन्न उपाय अपनाउँदै अस्थायी संरचनासमेत बनाइएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले बाढीपश्चात् पहिलाको भन्दा केही फिट उचाइमा अस्थायी फिलिङ गरी यातायात सञ्चालनार्थ निर्माण गरिएको सडक हालको वर्षाले क्षति हुन नदिन सतर्कता अपनाउँदै ‘इक्युपमेन्ट’ र संरचना निर्माण गरेको जनाएको छ । बाढीले क्षति गर्नसक्ने काभ्रेपलाञ्चोकतर्फको चौकीडाँडा, कटुञ्जेबेँसी, मङ्गलटार र माम्तीमा हुनसक्ने क्षति रोक्न ग्याबिन जालीको पर्खाल लगाइएको र सडक अवरुद्ध भैहाले पन्छाउन ठूला बोल्डर ‘स्ट्यान्डबाई’ राखिएको कार्यालयले जनाएको छ । कार्यालयले वर्षायाममा बाढीपहिरोका कारण हुनसक्ने राजमार्ग अवरुद्ध तत्काल हटाउन सडक पुनर्निर्माणका लागि ठेक्का लागेको सडकखण्डमा निर्माण व्यवसायीको १५(१५ वटा उपकरणका साथै डिभिजनले डोजर, टिपर, लोडरलगायतका सात उपकरण तयारी अवस्थामा राखेको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए। नेपाल सरकारले गत सालको बाढीका कारण क्षतिग्रस्त बीपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी प्रक्रिया अघि बढाएको हो । क्षतिग्रस्त बीपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको हो । इन्जिनियर योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फ पुनर्निर्माण हुने सडकमध्ये डालाबेँसीदेखि ४०० बेँसीसम्मको साढे आठ किमीका लागि खानी(कमलजित(एवान जेभी छनोट भएको छ । उक्त सडकखण्ड पुनर्निर्माण गर्न निर्माण व्यवसायीसँग एक अर्ब ४२ करोड कबोल भएको जनाइएको छ । काभ्रेपलाञ्चोकको ४०० बेँसीदेखि भकुण्डेबेँसीसम्मको ११ किमी सडक पुनर्निर्माणका लागि भने प्राविधिक मूल्यांकनको काम भइरहेको उनले बताए । यस्तै, काभ्रेपलाञ्चोकतर्फकै वर्षेखोलादेखि डालाबेँसीसम्मको साढे पाँच किमी सडकखण्ड जापान अन्तरराष्ट्रिय सहयोग नियोग ९जाइका० र नेपाल सरकारले पुनर्निर्माण गर्ने भएका छन् । उक्त तीन दशमलव दुई किमी जाइकाले र दुई दशमलव तीन किमी सडक नेपाल सरकारले पुनर्निर्माण गर्ने जनाइएको छ । सिन्धुलीको खाल्टे डिभिजन सडक कार्यालयले ठेक्का लगाएको नेपालथोकदेखि वर्षेखोलासम्मको चार किमी सडक भने सम्झौताका चरणमा रहेको छ । क्षतिग्रस्त सडक नेपाल सरकारबाट आठ अर्ब ५० करोडको बजेट सुनिश्चित भएको छ । काभ्रेपलाञ्चोकतर्फको तीन खण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीको सडकखण्डका लागि एक अर्ब बजेट सुनिश्चित भएको डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । कार्यालयका अनुसार हालको वर्षायाममा राजमार्ग पुनर्निर्माणको काम सुरु हुँदैन । भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको पुनर्निर्माण हुने सडक इन्टरमिडियट लेनबाट डबल लेन सडक बनाइने भएको छ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३÷५४ बाट बीपी राजमार्ग ९धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक० निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । यस राजमार्ग केन्द्रीय राजधानी काठमाडौँलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ । त्यसो त, अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति कार्य अलपत्र अवस्थामा रहँदा यो वर्षायाममा यात्रुले सास्ती खेप्नु परेको छ । करिब चार वर्षसम्म सडक नबन्दा ठेक्का रद्द गरेको डिभिजन कार्यालय भक्तपुरले पुनः स्रोत सुनिश्चित भए पनि यस सडकखण्डको स्तरोन्नति कार्यका लागि बोलपत्र आह्वान गरे पनि नयाँ ठेकेदारमार्फत काम थाल्न अझै केही महिना लाग्ने जनाएको छ । यस सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण कम्पनीले उच्च अदालत पाटनमा मुद्दा हालेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक बिस्तारको काम यस कम्पनीले २०७९ जेठ २० मा २२ महिना अर्थात् २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि २५ प्रतिशतसमेत निर्माणको काम सकेको थिएन । पछिल्लो वर्षदेखि यस सडकखण्डको निर्माणको काम ठप्प प्रायः नै थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले गत साल फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो । यस सडकखण्डको ठेक्का रद्द गरेपछि अदालत गएका व्यवसायीको मुद्दामा केही दिनपछि अदालतले निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने, धरौटी रकम जफतलगायत ‘कारबाही नगर्न तथा हालको जुन अवस्थामा रहेको छ, सोही अवस्थामा राख्न’ अन्तरिम आदेश दिएपछि खण्डखण्डको काममा अन्योलता छाएको थियो । स्रोत सुनिश्चित भए पनि नयाँ ठेक्कामा जाँदा केही महिना लाग्ने भएकाले सवारी साधन र यात्रुलाई सहज बनाउन खाल्डाखुल्डी पुर्ने काम गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख योगेशले नयाँ बोलपत्र आह्वान गरिसकेकाले नयाँ प्रक्रिया थालिएको बताए। “नयाँ ठेक्का खोलिसकेकका छौँ, अबको डेढदेखि दुई महिनाभित्र काम सुरु हुन्छ, सायद भदौ अन्तिम साता वा असोजदेखि काम सुरु गर्नेगरी तयारी भइरहेको छ”, उनले भने। उनका अनुसार नयाँ ठेक्का खोल्न रु ४२ करोड स्रोत सुनिश्चित भएको हो । हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा काट्ने काम मात्रै भएको छभने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम मात्रै भएको छ । जिपलाइन स्थानदेखि तल खावासम्मको करिब सडक मात्रै भत्काइएको तर एक किलोमिटर भागमा माटो काट्न नै बाँकी रहेको छ । अघिल्लो जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि पटक पटकको वर्षामा सबै बगाएर खण्डहर झैँ बनाएको थियो । समयमा नै निर्माणसम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनर्निर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते हुने गरेका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो । यस सडकमा गुड्ने मालवाहक सवारीको भारबहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको थियो । यसैगरी, स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गतको साँगा–धुलिखेल सडकखण्डको काम वर्षाका कारण रोकिएको छ । मनसुन बाहिरिएपछि पुनः काम सञ्चालन हुने आयोजनाले जनाएको छ । मनसुन बाहिरिएपछि पनि निर्माणमा ढिलाइ हुने देखिएपछि अझै यस सडकखण्डमा कष्टपूर्ण यात्रा गर्नुपर्ने नै देखिएको छ । यस सडकखण्डको पुलबजार क्षेत्रमा भने स्थानीयको अवरोधका कारण चार महिनादेखि काम ठप्प अवस्थामा छ । त्यस क्षेत्रको करिब २०० मिटर क्षेत्रमा विस्तार कार्य रोकिएको सडक विभागको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । कार्यालयका अनुसार धुलिखेलमा एक किलोमिटर मुख्य सडक पक्की गरिए पनि मनसुनका कारण थप पक्की गर्न सकिएको छैन । सबै सामग्री तयारी अवस्थामा रहे पनि वर्षाका कारण धुलिखेलबाट बनेपातर्फको सडक तथा बनेपास्थित जनागाल क्षेत्रमा एक किमी सडक पक्की नगरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले जानकारी दिए । खनालका अनुसार सडक विस्तारसँगै बनेपा क्षेत्रमा करिब ५० वटा बिजुलीका पोल हटाउनुपर्ने तथा २८ किलोमा एक घर हटाउने कामसमेत रोकिएको हो । बनेपा सहरको पूर्वीतर्फ चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकको ढल निर्माण कार्य भइरहे पनि वर्षाका कारण काम नै ठप्प अवस्थामा रहेको छ । पुलबजार क्षेत्रमा भने ‘सेन्टर लाइन’को विषयलाई लिएर स्थानीयले अवरोध जनाएपछि चार महिनादेखि विस्तार कार्य नै रोकिएको थियो । सेन्टर लाइनबाट दायाँबायाँ ७५(७५ फिट (१५० फिट) मध्ये पनि १४० फिटमा काम भइरहेकामा स्थानीयले दुवै तर्फका घरमा बराबर छुट्याउनुपर्ने विषयमा विवाद निकालेर निर्माण कार्य अवरुद्ध पारेका हुन् । सडकको डिजाइनअनुसार नै सडकको बीचबाट बराबर छुट्याउने भएकाले स्थानीयले घरको दूरीमा बराबर गर्नुपर्छ भन्दै विवाद सिर्जना गरेपछि निर्माण कार्य रोकिएको खनालले बताए। उनका अनुसार पटकपटक गरिएको सरोकारवालासहित बनेपा नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबीचको छलफलले कुनै निष्कर्ष निकाल्न सकेको छैन । स्थानीयको अवरोधसँगै मापदण्डभित्रका घर–टहरा हटाउनुपर्ने, बिजुलीको पोल विस्तार, अप्टिकल फाइबर, हाइटेन्सनका पोल हटाउनुपर्ने काम रोकिएको जनाइएको छ । पुलबजार क्षेत्रमा अवरोधका कारण बनेपाको मुख्य शहर क्षेत्रमा समेत निर्माण कार्य रोकिँदै आएको थियो । यसैबीच अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको काम समयमै नसकिने भएको छ । आयोजनाले बाँकी करिब छ महिनाको अवधिमा विस्तारको काम नसकिने जनाएको हो । २०७९ पुस २४ गते सुरु गरिएको १६ किलोमिटर लम्बाइको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । यस सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको थियो । हाल दुई खण्डको विस्तारको काम ५० प्रतिशतको हाराहारीमा काम भएको आयोजनाले जनाएको हो । यस आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । आयोजनाको सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी सजना अधिकारीका अनुसार निर्धारित समयभित्र विस्तारको काम नसकिने भएकाले समय थप्नुपर्ने देखिएको छ । उनका अनुसार मापदण्डभित्रका घर–टहरा भत्काउन, रूख, बिजुलीका पोल तथा अप्टिकल फाइबरको केवल प्रतिस्थापन गर्दा समयमा काम सुरु हुन सकको थिएन । यस्तै साँगा–धुलिखेल खण्डमा बनेपाको शहरी क्षेत्रमा पुललगायत व्यक्तिगत घरको विवाद तथा मापदण्डभित्रका घर भत्काउन नसक्दा ढिलाइ भएको अधिकारीको भनाइ छ । समयसीमासम्म करिब ६५ प्रतिशत भौतिक निर्माणको काम हुने जनाइएको छ । अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।
काठमाडौं: ठुलोभेरी नदीमा फसेका चार जना स्थानीयलाई नेपाली सेनाले उद्धार गरेको छ । डोल्पाको ठुलोभेरी नगरपालिका–३, धूपीचौरस्थित ठुलीभेरी नदीमा दाउरा सङ्कलन गर्न गएका बेला पानीको बहाव बढ्दा उनीहरू नदीको बिचमा फसेका थिए । नेपाली सेना, संग्राम शार्दुल गुल्म डोल्पाबाट खटिएका टोली, अन्य सुरक्षा निकाय र स्थानीयहरूको सहयोगमा उनीहरूलाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको नेपाली सेनाले जनाएको छ ।

