काठमाडौं: उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमण सम्पन्न गरी हिजो राति स्वदेश फर्कनुभएको छ । चीनको हेनान प्रान्तमा आयोजित कार्यक्रममा सहभागी भएर उपसभामुख राना आइतबार राति ११ः३० बजे स्वदेश फर्कनुभएको हो । उपसभामुख राना साउन ७ गतेदेखि ११ गतेसम्म आयोजित साङ्घाई सहयोगमञ्च, मिडिया र ‘थिङ्क ट्याङ’ शिखर सम्मेलनमा सहभागी हुनुभएको थियो । सो कार्यक्रममा उहाँले “विकासको लागि शान्तिपूर्ण र स्थिर वातावरणको सुरक्षामा नेपालको दृष्टिकोण” विषयमा सम्बोधन गर्नुभएको थियो, भने हेनान प्रान्तका अधिकारीहरूसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङझोउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नुभएको थियो । उपसभामुख राना नेतृत्वको प्रतिनिधि मण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपानेसमेत सम्मिलित हुनुहुन्छ । उहाँ दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गदै साउन ६ गते त्यस तर्फ प्रस्थान गर्नुभएको थियो ।
पोखरा: पोखरा लेकसाइडस्थित होटल लेक टपको कोठामा जुवातास खेलिरहेका ९ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको छ । होटलको कोठामा तास खेलिरहेका ९ जना जुवाडेलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए । ९ जना जुवाडेको साथबाट २ लाख ५६हजार ४ सय, भारतीय नगद रु ५ हजार ५ सय र २० बुक तास बरामद भएको प्रनाउ बस्नेतले बताए । पक्राउ पर्नेमा पोखरा महानगरपालिका घर भएका ४७ वर्षीय चिन्तामणी अधिकारी, २७ वर्षीय अर्जुन अधिकारी, ४९ वर्षीय माया गुरुङ, भक्तपुर घर भई पोखरा बस्ने ५६वर्षीय रामजी घजु, बागलुङ जैमिनी घर भई पोखरा बस्ने २९ वर्षीय तुलबहादुर थापा छन् । यस्तै पवर्तको बिहादी घर भई पोखरा बस्ने ४८ वर्षीय दुर्गाबहादुर थापा, बागलुङ बडिगाड घर भई पोखरा बस्ने ५४ वर्षीय हेमबहादुर श्रीस, म्याग्दीको रघुगंगा घर भई पोखरा बस्ने ४० वर्षीय दिपक आचार्य र रोल्पा सुनछहरी घर भई पोखरा बस्ने २९ वर्षीय मिनु बुढामगर छन् । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरील जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए । परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रदेशस्तरीय कार्यशालाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पाठकले सो कुरा बताएका हुन् । उनले प्रदेशमै जनशक्ति उत्पादनका लागि बागलुङ र गोरखामा एचए पढाउने व्यवस्था गर्ने लागेको जानकारी दिए । उनले परिवार नियोजन संघसँग मिलेर सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमार्फत प्रजनन स्वास्थका कार्यक्रम गर्दै जाने बताए । मन्त्री पाठकले आगामी नीति तथा कार्यक्रममा प्रजनन स्वास्थबारे कार्यक्रम ल्याउने पनि आश्वासन दिए । कार्यक्रमा उपस्थित गण्डकी प्रदेशसभाका सदस्यहरुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । उनीहरुले सामान्य तथा कुनै पनि विपद्का बेलामा पनि गुणस्तरीय यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचनाको पहुँच पु¥याई विद्यमान शिशु, बाल तथा मातृ मृत्युदरलाई न्यूनीकरण गर्न र परिवार नियोजनको आधुनिक साधनको मागलाई पूरा गर्न प्रतिबद्धता जनाए । यस्तै, परिवार नियोजन संघ र यौन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा यस प्रदेशलाई आवश्यक बजेट पर्ने बजेट विनियोजन गर्न आवश्यक पहल गर्ने, प्रदेशका यौन तथा प्रजनन स्वास्थ्य र अधिकारसम्बन्धी नीतिहरुको तर्जुमा र परिमार्जन गरी अझ व्यावहारिक रुपमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता गराउने सन्दर्भमा प्रतिबद्धता जाहेर गरे । गण्डकी प्रदेश सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचाल, पूर्व मन्त्री एवं राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ, प्रदेश सांसदहरु प्रकाश बराल, सरस्वती गुरुङ, देवका पहारी, गणेशमान गुरुङ, नन्दकला नेपाली, प्रदेश नीति तथा योजना सदस्य दुर्गा अधिकारी, स्वास्थ्यकर्मी विद्या कोइरालासमेतले मन्तव्य व्यक्त गरे । स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक खिमबहादुर खड्काले ‘गण्डकी प्रदेशमा स्वास्थ्य तथा परिवार योजना कार्यक्रमको अवस्था’ बारे अर्को कार्यपत्र प्रस्तुत गरे । उनको कार्यपत्र अनुसार गण्डकीमा ५ वर्षमुनिका बालबच्चामध्ये ४५ हजार छोरा जन्मिएकामा ३९ हजारमात्र छोरी जन्मिएका छन् । जन्मदरमा लैंगिक असमानताको कहालीलाग्दो अवस्थाप्रति ध्यान दिनुपर्ने कार्यक्रममा बहस भएको थियो । यसैगरी, परिवार नियोजन संघका चेतराज जोशीले ‘परिवार नियोजन र प्रजनन स्वास्थ्य’ बारे अर्को कार्यपत्र प्रस्तुत गरे । कार्यक्रममा जिसस कास्की प्रमुख लीलाधर पौडेल, मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ, रुपाका अध्यक्ष नवराज ओझा, शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्य, पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिना, उपसचिव भरतराज पौडेल, हेमप्रसाद आचार्य लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वरिष्ठ स्वास्थ्य प्रबन्धक नवराज तिवारीले गरेका थिए । सभापति सिग्देलले परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्यबारे गाउँगाउँमा सचेतनाका कार्यक्रम लैजाने बताए । उनले कास्कीमा प्लस टु तथा क्याम्पसमा अध्ययनरत् विद्यार्थीलाई ध्यानमा राखेर २४ वटा कार्यक्रम गर्ने लक्ष्य रहेको सुनाए ।
पोखरा: पोखरामा अवैध रुपमा विदेशी बिनिमय रकम कारोवार गरेको आरोपमा तीन जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ पार्दी बिरौटामा अवैध रुपमा विदेशी बिनिमय कारोबार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए । कास्की प्रहरी प्रमुख ओलियाका अनुसार पक्राउ परेका तीनजनाको साथबाट ७५ लाख ९६हजार ९ सय रुपैयाँ बरामद भएको बताए । पक्राउ पर्नेमा झापा दमक भई पोखरा बैदाममा हिलारी मनि चेन्जरका संचालक ४५ वर्षीय राजकुमार बुढाथोकी, रुपन्देही सिद्धार्थनगर १३ हाटबजार घर भई रुपन्देही र कास्कीमा रेष्टुरेण्ट व्यवसायी ४५ वर्षीय महुमुद्धिन एम अहमद र पोखरा १९ पुरनचौरमा सगरमाथा मनि चेन्जरका सञ्चालक ४३ वर्षीय खेमराज पौडेल छन् । पक्राउ परेका राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनि एक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको छ । पक्राउ परेका उनीहरुलाई राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैंकबाट इजाजतपत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसूरमा अनुसन्धान अगाडि बढाएको कास्की प्रहरील जनाएको छ ।
पोखरा: पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक वसन्तप्रसाद पराजुलीलाई बिदाई गरिएको छ । सेवा निवृत्त भएका इतिहास तथा संस्कृति विभागका सहप्राध्यापक पराजुलीलाई आइतबार विभागले एक समारोहका बीच बिदाई गरेको हो । विभाग सभाहलमा भएको कार्यक्रममा पराजुलीलाई ३० वर्ष सेवा अवधि पूरा गरेकोमा दोसल्ला ओढाएर सम्मान पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा।डा। हरिप्रसाद पाठक, इतिहासका पूर्व विभागीय प्रमुख प्रा।डा। ज्ञानबहादुर कार्की, सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेल, इतिहास विभाग प्रमुख नारायणप्रसाद ढकाल लगायतले पुष्पगुच्छा, दोसल्ला र मायाको चिनो प्रदान गरेका थिए । क्याम्पस प्रमुख पाठकले शिक्षण अवधिमा पराजुलीको योगदानको चर्चा गर्दै सुखद् निवृत्त जीवनको कामना गरे । ‘उहाँले शैक्षिक तथा प्रशासनिक नेतृत्वमा जिम्मेवार र कुशल ढंगले कार्यभार पूरा गर्नुभयो ।’ डा. पाठकले भने – ‘पराजुली सर सेवा निवृत्त हुनुभएपनि उत्तिकै सक्रिय र उर्जाशील हिसाबमा जीवन अघि बढाउनुहुनेछ भन्ने कामना गर्दछौँ ।’ सहायक क्याम्पस प्रमुख शंकरनाथ पौडेलले सहप्राध्यापक पराजुलीसँगको सौहार्द सम्बन्धको स्मरण गर्दै सक्रिय र स्वस्थ जीवनको लागि शुभकामना व्यक्त गरे । इतिहास विभागका पूर्व प्रमुख प्रा।डा। ज्ञानबहादुर कार्कीले इतिहास विभागलाई आजको यो अवस्थामा ल्याउन सहप्राध्यापक पराजुलीको अग्रणी भूमिका रहेको उल्लेख गरे । कार्यक्रमको अध्यक्षता समेत गरेका इतिहास विभागका प्रमुख नारायण ढकालले सहप्राध्यापक पराजुलीले ३ वर्ष विभागको नेतृत्व गर्दा उल्लेख्य प्रगति गरेको बताउँदै इतिहास विषयमा विद्यार्थीहरुको रुची बढ्दै गएको उल्लेख गरे । ‘साधारण जीवन र शालिन व्यवहार बसन्त पराजुली सरको पर्याय हो । सबैसँग मिल्न सक्ने भएकै कारण मनमा, मुटुमा, आँखामा बसन्त सर रहिरहनुहुनेछ । सेवा निवृत्त भएपनि विभागलाई उहाँको सहयोग मिलिरहनेछ ।’ विभाग प्रमुख ढकालले भने । सेवा निवृत्त सहप्राध्यापक पराजुलीले तीन दशक लामो शिक्षण पेशा नै पहिचानको आधार भएको उल्लेख गर्दै आफूले शिक्षा क्षेत्रका लागि सक्दो दिएको र सन्तुष्टि मिलेको बताए । उनले शुभकामना र सम्मानका लागि आभार पनि व्यक्त गरे । उपप्राध्यापक चन्द्रकान्त पौडेलले स्वागत तथा विभागका सदस्य तोयनारायण देवकोटाले सञ्चालन गरेको बिदाई कार्यक्रमा लेखा प्रमुख पुष्पराज पौडेल र विद्यार्थी विपिन आचार्यले पराजुलीले गरेको शैक्षिक योगदानको प्रशंसा गरेका थिए । इतिहास विभागको तर्फबाट सहप्राध्यापक डा. दीर्घमान गुरूङ, सहप्राध्यापक अर्जुन बहादुर भण्डारी, पूर्व विभागीय प्रमुख राधा भण्डारी लगायतले बरालसँगको लामो सहकार्यका अनुभव साझा गरे ।
पोखराः पोखरामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा जङ्गे सार्कीलाई प्रहरीले प्रक्राउ गरेको छ । पोखरा महानगरपालिका–२७ रिठ्ठेपानी बस्ने ५३ वर्षीय जमुना नेपाली सार्कीको हत्या गरेको आरोपमा जङ्गेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलियाले बताए । ‘साउन ८ गते हामीलाई पोखरा–२७ रिठ्ठेपानी शान्ति खहरे टोलस्थित सुकुम्बासी बस्तीमा अस्थायी रुपमा बन्दै आएका जमुना नेपाली सार्की मृत अवस्थामा रहेको भन्ने सूचना आएको थियो, कास्की प्रहरी प्रमुख ओलीयाले भने, प्रारम्भिक अनुसन्धानको क्रममा जग्गा बेच्ने विषयमा वादविवाद हुँदा श्रीमानले आवेशमा आई मुक्का प्रहार गरी भित्ता तर्फ ठोक्काउँदा जमुनाको मृत्यु भएको खुल्न आएकाले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएका हौं ।’ जङगेले जमुनाको हत्या साउन ६ गते गरेको कास्की प्रमुख ओलियाले बताए । ‘मिस्त्रीको काम गर्दै आएका जङ्गेले साउन ६ गते नै जमुनाको हत्या गरेको खुल्न आएको छ, उनले भने, साउन ८ गते उनीहरु बस्दै आएको घरबाट गन्ध आएपछि मात्र घटना बाहिर आएको हो, शवको पोष्टमार्टम रिर्पोपछि हत्यो कारण टाउकोमा ब्लुथ फोर्सको चोटका कारण खुल्न आएको छ ।’ कास्कीको माछापुच्छ«े गाउँपालिका ५ रिभान स्थायी घर भई विगत २०/२१ वर्षदेखि पोखरा २७ रिठ्ठेपानी बस्दै आएका जङ्गेको जमुना दोस्रो श्रीमती हुन् । पहिलो श्रीमतीले १ वर्षको छोरा छोडेर अन्तै विवाह गरेर गएपछि जङ्गेले जमुनालाई दोस्रो विवाह गरेको हुन् । उनका छोरा अहिले विवाह गरेर रिभानमा नै बस्दै आएको प्रहरीले जनाएको छ । श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्धामा ६दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
गण्डकी: सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३ का बासिन्दाले आर्थिक सहयोग अभियान सुरु गरेका छन् । डोप्टा–बराहखोला जोड्ने सडकमा पर्ने चेवटको भिर काटेर मार्ग खोल्न सरकारी बजेटले नपुगेपछि उपभोक्ताले रकम जुटाउन सुरु गरेका हुन् । सडक निर्माणका लागि गत आर्थिक वर्षमा गाउँपालिकाको ३० लाख र गण्डकी प्रदेश सरकारले २० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए । समितिले ७५ लाख रुपैयाँमा सडक निर्माणको ठेक्का लगाएको थियो । अपुग रकम जुटाउन सहयोग अभियान सञ्चालन गरिएको सडक निर्माण समितिका अध्यक्ष एवं आर्थिक सङ्कलन समितिका संयोजक खड्गबहादुर नाउसाले बताए । सडक निर्माणमा स्थानीयवासीले श्रमदानसमेत गरेका थिए । ‘३६ लाख रुपैयाँ समितिलाई व्ययभार थपिएपछि आर्थिक सङ्कलन अभियान सुरु गरिएको हो, अहिलेसम्म १५ लाख रुपैयाँ उठिसकेको छ’, उनले भने, ‘सडक निर्माणमा गाउँपालिका र प्रदेश सरकारले पनि सहयोग गर्यो, उपभोक्ताको पनि लगानी परेको छ ।’ अप्ठ्यारो भूगोलका कारण गाउँपालिका र प्रदेश सरकारले दिएको बजेटले मात्र काम सम्पन्न हुन नसकेको उनले बताए । ताराखोलाबाट विदेशमा गएकाहरूबाट पनि सहयोगको प्रतिबद्धता आएको अध्यक्ष नाउसाले बताए । विभिन्न आमा समूह, सङ्घसंस्थालगायतबाट पनि सहयोग प्राप्त भइरहेको उनको भनाइ छ । ग्रामीण सडक निर्माणमा स्थानीय उपभोक्ताहरूबाट श्रमदान र आर्थिक सहयोग जुट्नु सुखद पक्ष रहेको अध्यक्ष नाउसाले बताए ।
रसुवा: नेपाल–चीनबीच उत्तरी नाका रसुवागढीको मितेरी पुल पुनर्निर्माण सुरु भएको छ । गत असार २४ गते ल्हेन्दे खोलामा आएको अकल्पनीय बाढीले १० मिटर चौडाइ र एक सय मिटर लम्बाइको पुलमा क्षति पुर्याएको थियो । चीन सरकारले पुल पुनर्निर्माण थालिनी गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनभयो । उहाँका अनुसार नेपाल–चीनबीच आवतजावत र व्यापारिक कारोबार बन्द भएपछि प्रथम चरणअन्तर्गत चीन सरकारले बेलीब्रिज निर्माण गर्न पनि थालनी गरेको छ । यसका लागि भुइँ सतह मिलाउने सुरु भइसकेको छ । पक्की पुल निर्माणका लागि साविकको स्थानलाई यथावत छाडी दुई मिटर पूर्वतर्फ सारेर पुरातात्विक संरचनालाई कुनै असर नपार्ने गरी बेलीब्रिज निर्माण सुरु भइसकेको प्रजिअ पौडेलले जानकारी दिनुभयो । पुलका लागि चाहिने आवश्यक औजार चिनियाँ पक्षले रसुवागढी ल्याइसकेको जनाइएको छ । चार स्काभेटर उपकरणको सहायताले पुल बनाउने स्थान ल्हेन्देखोलाको भुइँ सतहमा अनियन्त्रित पानीलाई साविक सतहमा लाने काम अगाडि बढाइसकेको छ । बेलीब्रिज निर्माण आगामी भदौ ३० गतेभित्र सम्पन्न गर्ने चिनियाँ समकक्षीबाट जानकारी पाएको पनि प्रजिअ पौडेलले जानकारी दिनुभयो । रसुवागढीमा निर्माणाधीन एकीकृत भन्सार भवनको निर्माण रोकिएको छ ।
म्याग्दी: म्याग्दी-म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा रहेको घोप्टेभिरमा खसेको सुक्खा पहिरोका कारण आइतबार बिहानदेखि आवतजावत अवरुद्ध भएको हो । पहिरो खसेपछि अवरुद्ध बनेको सडक खुलाउन सडक विभागको उपकरण परिचालन गरेको सप्मा प्रहरी चौकी घाँसाका प्रमुख प्रहरी सहायक निरीक्षक तेजबहादुर कुमालले जानकारी दिए । सडक अवरुद्ध हुँदा मुस्ताङको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । बाटो अवरुद्ध हुँदा स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका छन् । मुस्ताङतर्फ जानेहरू म्याग्दीको काभ्रे र मुस्ताङ हुँदै म्याग्दीतर्फ आउनेहरू घाँसामा रोकिएका छन् ।

