झापा: झापाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरका एक वृद्धले आफ्नो शरीरमा आगो लगाएका छन् । शनिबार राति करिब ११:३० बजे ८४ वर्षीय डिल्लीराम अधिकारीले घरबाहिर आगनमा गएर पेट्रोल खन्याई आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । डिल्लीरामका काइला छोरा भोगेन्द्र अधिकारीले राति करिब १ बजे बुबालाई अचेत अवस्थामा देखेपछि इलाका प्रहरी कार्यालय ९इप्रका० बुधबारेमा जानकारी गराएका थिए । सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बुधबारेबाट प्रहरी नायब निरीक्षक चन्द्रबहादुर राउतको नेतृत्वमा खटिएको टोलीले घटनास्थललाई सुरक्षित गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय धुलाबारेबाट प्रहरी नायब निरीक्षक नकुलराज गौतमको नेतृत्वमा अर्को टोली घटनास्थलतर्फ खटिएको छ । परिवारजनका सदस्यहरूले डिल्लीरामको मृत्यु भइसकेको जनाएका छन् । उनीहरूका अनुसार उहाँले केही समयदेखि डिप्रेसनको उपचार गराइरहनु भएको थियो । केही महिना अघिमात्र उहाँले प्रोस्टेटसम्बन्धी शल्यक्रिया पनि गराउनुभएको थियो ।
काठमाडौं: नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो । एमालेले गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, असंवैधानिक ढंगबाट भएको संसद विघटन र भावी कार्यक्रमबारे प्रष्ट पार्न जनप्रदर्शन गर्न लागिएको जनाएको छ । एमालेले यसअघि गत मंगलबार देशभरका ७५३ वटै गाउँपालिकामा र कात्तिक २२ गते ६ हजार ७४३ वडामा भेला गरेको थियो । घोषित कार्यक्रमअनुसार एमालेले आगामी मंसिर ६ गते काठमाडौँमा वृहत जनप्रदर्शन र सभा गर्ने जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको चालु अधिवेशन आज राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता रामेश्वर अर्यालले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
पोखरा: नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस पोखरामा पनि मनाइएको छ । सन् २००६ देखि संयुक्त राष्ट्र संघले पनि यो दिवसलाई आधिकारिता दिएको छ । दिवसको उपलक्ष्यमा शुक्रबार सूर्यचन्द्र विकास समाज पोखरा ५ ले युनाइडेट रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा निःशुल्क रक्त परीक्षण तथा सचेतना कार्यक्रम आयोजना ग¥यो । शिविरमा २ सय ५ जनाको सित्तमै मधुमेह तथा युरिकसम्बन्धी रक्त जाँच गरिएको छ । शिविरमा सहभागीलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ फिजिसियन डा कृष्णराज अधिकारीले मधुमेह रोग लाग्नुका कारण, पूर्वसावधानीका उपाय र उपचार प्रक्रियाबारे जानकारी दिए । उनले सबैसम्म मधुमेह हुनै नदिनेतर्फ लाग्न आग्रह गरे । ‘सकेसम्म घरकै खाना खानुस्, कामको अनुपातमा खानुस्,’ डा अधिकारीले भने, ‘अनावश्यक तनाव हुने काम नगर्नुस्, खानपान र जीवनशैली सुर्धानोस्, बेला बेलामा चेकजाँच गराउनुस् ।’ उनले मधुमेहले तत्काल असर गरेको नदेखिए पनि हेलचेक्र्याइ गरे दीर्घकालसम्म अनेक असर हुने उल्लेख गरे । ‘मधुमेह लागेपछि पनि हेलचेक्र्याइ गर्दा ५ वर्षसम्म केही असर नदेखिन सक्छ,’ उनले थपे, ‘त्यसपछि मिर्गाैलामा असर, थकान, तीर्खा लाग्ने हुन सक्छ । ५ देखि १० वर्षसम्म आँखामा असर हुन सक्छ, रोग प्रतिरोधी शक्ति कम हुन्छ । १० देखि १० वर्षसम्म पनि उपचार नगरे शरीरका सबै अंगमा असर गर्न थाल्छ ।’ मधुमेहका कारण अनेक समस्या आउने उल्लेख गर्दै उनले अहिले मिर्गाैला डायलाइसिस गराइरहेकामध्ये ७० प्रतिशत जति मधुमेह हुँदा हेलचेक्र्याई गर्नेहरु भएको भएको सुनाए । मधुमेह समाज र राष्ट्रकै लागि बोझ बनेको जनाउँदै डा अधिकारीले अब समाज, राष्ट्र, स्वास्थ्यकर्मी र आममानिसको एकीकृत प्रयासले मात्र यसको प्रभाव कम गर्न सकिने विचार राखे । कार्यक्रममा पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले नागरिकको स्वास्थ सरकारको मुख्य सरोकार भएको बताए । वडाध्यक्ष बरालले जनस्तरबाट हुने यस खालका सचेतना र शिविरले सरकारको लक्ष्य प्राप्त गर्न सघाउने विचार राखे । युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले सामाजिक उत्तरदायित्वमा पनि अग्रणी बन्दै काम गरिरहेको उल्लेख गरे । सर्वसाधारणलाई स्वास्थ्य सचेतना, निशुल्क जाँचसँगै पोखरामा विश्वस्तरको गुणस्तरको सेवा प्रदान गर्न लागिपरेको उनको भनाइ छ । युआरएल गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब हो । पोखराभित्र ७ ठाउँबाट सेवा दिइरहेको युआरएलले मुख्य कार्यालयसहित गण्डकी प्रदेशका १८ स्थानबाट सेवा प्रदान गरिरहेको छ । विभिन्न संघ, संस्थासँग सहकार्य र आफैंले समेत शिविर आयोजना गर्दै आएकोमा शुक्रबारको शिविर २ सय ११ औं रहेको अध्यक्ष पन्थको भनाइ छ । संस्थाकी अध्यक्ष सावित्री कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा बाराही मावि व्यवस्थापन समिति अध्यक्ष वसन्तराज कोइराला, उपाध्यक्ष हेमराज भण्डारी, सचिव दीपक बराल लगायतले बोलेका थिए ।
पोखरा: गण्डकी विश्वविद्यालय पहिलो संशोधन विधेयक, २०८२ गण्डकी प्रदेश सभाले बहुमतले पारित गरेको छ । २०८२ कात्तिक २४ गते सभामा प्रस्तुत भई सामान्य छलफलमा परेको विधेयक शुक्रबार दफावार छलफलपछि पारित भएको हो। गण्डकी विश्वविद्यालय ऐन, २०७६ लाई समयअनुकूल सुधार गर्ने उद्देश्यले तयार गरिएको यस संशोधनले विश्वविद्यालयको नेतृत्व चयन, न्यासिक संरचना र पदाधिकारी नियुक्ति प्रक्रियामा महत्वपूर्ण परिवर्तन गरेको छ। विधेयक पारित भएपछि प्रतिक्रिया व्यक्त गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले यो कदमलाई विश्वविद्यालय सुधार यात्राको “ऐतिहासिक उपलब्धि” बताएका छन्। “गण्डकी विश्वविद्यालयलाई सक्षम, पारदर्शी र प्रतिस्पर्धी शैक्षिक केन्द्र बनाउने दिशामा पारित संशोधनले कानुनी आधार थप सबल बनाएको छ । उच्च शिक्षाको गुणस्तर सुधारका लागि यो विधेयक महत्वपूर्ण हुनेछ,” मन्त्री थापाले भने। उनका अनुसार विस्तारित न्यासिक परिषद्, स्पष्ट योग्यताको मापदण्ड र पारदर्शी नियुक्ति प्रक्रियाले विश्वविद्यालयको संस्थागत विश्वसनीयता र शैक्षिक नेतृत्वमा गुणात्मक परिवर्तन ल्याउनेछ। छलफलका क्रममा प्रदेश सभा सदस्य गोविन्द बहादुर नेपालीले विश्वविद्यालयमा सुशासन, पारदर्शिता र कार्यक्षमता अभिवृद्धिमा संशोधनले महत्वपूर्ण योगदान पु¥याउने बताए। सांसद महेश भट्टराईले शीर्ष पदाधिकारहरूको योग्यतामा स्पष्टता ल्याइएको भन्दै संशोधन सकारात्मक परिवर्तनको संकेत भएको टिप्पणी गरे। त्यस्तै सांसद सुशिला सिंखडाले शिक्षालाई राजनीतिकरणबाट टाढा राख्नुपर्ने आवश्यकतामा जोड दिँदै दलियताभन्दा शैक्षिक गुणस्तर नै पहिलो प्राथमिकता हुनुपर्ने धारणा राखिन्। पारित विधेयकले विश्वविद्यालयको संरचना र पदाधिकारी योग्यता÷नियुक्ति प्रक्रियामा व्यापक सुधार गरेको छ । अब १५ सदस्यीय न्यासिक परिषद् रहनेछ, जसमा कम्तीमा पाँच महिला सदस्य अनिवार्य हुने व्यवस्था गरिएको छ । परिषद्मा कुलपति, उपकुलपति, स्थानीय तह प्रमुख, प्रदेशका सम्बन्धित मन्त्रालयका सचिव, विश्वविद्यालय अनुदान आयोगका प्रतिनिधि तथा समाजसेवी÷प्राज्ञिक÷लगानीकर्ता÷प्रतिष्ठित व्यक्तिहरू रहनेछन्। रजिष्ट्रार न्यासिक परिषद्का सचिव पनि रहने व्यवस्था विधेयकले गरेको छ। कुलपति पदको योग्यतामा संशोधन गर्दै विद्यावारिधी उपाधि, शैक्षिक÷प्राज्ञिक÷प्रशासनिक वा व्यवस्थापन क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव तथा न्यूनतम ४५ वर्ष उमेर अनिवार्य गरिएको छ। उपकुलपति पदका लागि विद्यावारिधी उपाधि, ८ वर्ष अनुभव र ४० वर्ष उमेरको मापदण्ड तोकिएको छ। उपकुलपतिलाई पदमुक्त गर्ने अधिकारसम्बन्धी प्रावधान पनि थपिएको छ। अब कुलपतिलाई पदमुक्त गर्दा अपनाइने समान प्रक्रिया प्रयोग गरी मुख्यमन्त्रीले उपकुलपतिलाई पनि पदमुक्त गर्न सक्नेछन्। रजिष्ट्रार नियुक्ति प्रक्रियालाई पारदर्शी र कार्यसक्षम बनाउन उपकुलपतिको संयोजकत्वमा तीन सदस्यीय समिति गठन, तीन योग्य उम्मेदवारको नाम सिफारिस र कुलपतिबाट नियुक्ति गर्ने प्रावधान समावेश गरिएको छ। गण्डकी प्रदेश सरकारले बहुमतले पारित यो विधेयकले विश्वविद्यालय प्रशासन, नेतृत्व चयन र संस्थागत संरचनामा आवश्यक सुधार ल्याई उच्च शिक्षाको गुणस्तर र सुशासनमा अपेक्षित उछाल आउने विश्वास व्यक्त गरेको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेको बताएका छन्। निवर्तमान सांसदसमेत रहेका उनले पार्टी छोडेको जानकारी दिए। विघटित प्रतिनिधिसभामा पार्टीको तर्फबाट प्रमुख सचेतक रहेका समानुपातिकतर्फका सांसद उनले नयाँ अभियान सञ्चालन गर्ने भन्दै रास्वपा छोडेको बताए।
काठमाडौं: नेपाली सेनाले सैनिक पदमा ३६ सय जना नयाँ भर्ना लिनका दरखास्त आह्वान गरेको छ । जंगी अड्डाले सेनाको विभिन्न पृतना, गण तथा बाहिनीहरुमा नयाँ भर्ना गर्नका लागि दरखास्त आह्वान गरेको हो । उपत्यका पृतना नारायणहिटीका लागि ३५० जना, काभ्रेको भकुण्डेबेसीस्थित २६ नम्बर बाहिनी अड्डाका लागि ७५ जना, भक्तपुरको सूर्यविनायकस्थित रणशेर गणका लागि एक सय जना, सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरका लागि दुई जनालगायत विभिन्न गणमा विभिन्न सङ्ख्यामा सैन्य पदमा नयाँ भर्ना लिन लागेको हो । सबैभन्दा बढि सुर्खेतको निमारेस्थित श्री उत्तर पश्चिम पृतना हेडक्वार्टरका लागि ४२५ जना मागेको छ भने विभिन्न सङ्ख्यामा ब।का।सि, सफाइकर्मी, लोहाकार, केशकर्तक, सूचिकार र चर्मकर्मी पनि मागेको छ । सैन्य पदका लागि शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । एसइई वा सोभन्दा माथिका शैक्षिक योग्ताको प्रमाणपत्र पेस गर्नेहरूले भने कक्षा ८ को प्रमाणपत्र बुझाउनुपर्ने छैन । लेटर ग्रेडिङ निर्देशिकाअनुसार प्रमाणपत्र भएकाहरुको हकमा कक्षा ८ मा न्यूनतम जिपिए २ ल्याएको हुनुपर्ने र कुनै पनि विषयमा डि प्लसभन्दा कम हुन नहुने योग्यता तोकिएको छ । एसइई वा सोभन्दा माथिकै शैक्षिक योग्यता प्रमाणपत्र पेश गर्नेको हकमा न्यूनतम जिपिए १.६ अनिवार्य भनिएको छ ।
काठमाडौं: निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा र माघ ११ मा हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मङ्सिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभाका लागि मङ्सिर १ देखि ७ गतेसम्म दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले शुक्रबार दुवै निर्वाचनका लागि फरक फरक सूचना जारी गर्दै सो आह्वान गरेको हो । आयोगले दल दर्ताका लागि निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको नाम आयोगमा दर्ता मिति लगायत आवश्यक कागजात समेत खुलाउन भनेको छ । फागुन २० गतेबाट राष्ट्रिय सभामा एक तिहाइ सदस्य रिक्त हुँदैछन् । सोही रिक्त हुने सदस्य परिपूर्तिका लागि माघ ११ गते निर्वाचन हुन लागेको हो ।
ढोरपाटन: घर नजिकैको जङ्गलमा फलामे तार बेरेर बनाएको कालिज फार्म । त्यही फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडने, उफर्ने र उड्ने गर्छन् । एकै ठाउँमा सयौँका सङ्ख्यामा देखिने कालिजले यहाँ आउने धेरैलाई आकर्षित गर्छ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका स्थानीय चुडामणि कँडेलले कालिजपालन गरेको सात वर्ष भयो । कँडेलले २०७५ सालमा रहरले काभ्रेबाट तीन पोथी र एउटा भाले कालिज ल्याएर पाल्नुभयो । सुरुमा उहाँलाई व्यावासयिक रूपमा पालन गर्छु भन्ने लागेको थिएन । तर पछि धेरै पाल्ने चाहना जागेपछि अहिले उहाँको कालिजपालन व्यवसाय फस्टाउँदै गएको हो । रु २४ हजारमा चारवटा कालिज ल्याएर थालेको व्यवसायमा कँडेलले हालसम्म रु ५० लाख बढी लगानी गरिसक्नुभएको छ । दश रोपनी क्षेत्रफलमा कँडेलले तारबार लगाएर कालिज हुर्काइराख्नुभएको छ । कालिज व्यवसाय राम्रो हुँदै गएपछि उहाँले चल्लासमेत आफैँ उत्पादन गर्न थाल्नुभएको छ । वनमा पाइने कालिज कँडेलले व्यावसायिक रूपमै पाल्न थालेपछि स्थानीयसमेत दङ्ग छन् । बाह्र वर्ष अगाडि स्थायी रूपमा सरकारी सेवामा प्रवेश गर्नुभएका कँडेल स्वास्थ्यकर्मी हुनुहुन्छ । बिहानबेलुका कालिजको रेखदेख गर्ने उहाँ दिउँसोको समयमा बुर्तिबाङ प्रादेशिक अस्पतालमा काम गर्नुहुन्छ । सानैदेखि चराचुरुङ्गी समाउन र पाल्न रुचि राख्ने कँडेलले कालिजपालनमा थालेपछि टाढाटाढाबाट हर्ने आउनेको सङ्ख्या ठूलो छ । सात वर्ष अगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर सुरु गरेको व्यवसाय राम्रो हुँदै गएपछि कँडेल उत्साहित हुनुभएको छ । अहिले उहाँको फार्ममा सानाठूला गरी करिब दुई हजार कालिज छन् । एक हजार ५०० बढी त बिक्रीका लागि तयार भएको कँडेलले बताउनुभयो । दसैँतिहारको अवधिमा करिब दुई सय बढी कालिज बिक्री भएको सुनाउँदै पछिल्लो समय कालिज खोज्दै फार्मसम्म धेरै ग्राहक आउने गरेको उहाँले जानकारी दिनुभयो । सुरुमा कालिज बिक्री गर्न निकै समस्या भएको भन्दै अहिले राम्रो बजार पाएको कँडेल बताउनुहुन्छ । प्रतिकालिज रु दुई हजारदेखि रु दुई हजार ५०० सम्ममा बिक्री गर्दै आएको उहाँको भनाइ छ । “यो पेसा मेरो रहरको पेसा हो, मैले सुरुमा थोरै लिएर पालेको थिएँ, पछि यसलाई व्यावसायिक रूपमा गर्न सकिने सम्भावना देखेपछि फार्म निर्माण गरेर पाल्न थालेको हुँ, सात वर्षमा कालिजपालन कसरी गर्न सकिँदोरहेछ भन्ने बुझियो, कालिजका भाषा पनि बुझ्न थालियो”, उहाँले भन्नुभयो, “पहिले धेरै समस्या थियो, अहिले विस्तारै राम्रो हुँदै गएको छ, लगानी पनि बढाउँदै गएको छु ।” केही दिनअगाडि चितुवा फार्ममा पसेर एक सय ५० कालिज मारिदिँदा रु तीन लाख नोक्सानी व्यहोरेको उहाँले सुनाउनुभयो । रुचिले पाल्न थालेको कालिज अहिले आम्दानीको स्रोत बन्न थालेपछि कँडेल खुसी हुनुहुन्छ । कँडेलको कालिजपालनलाई बुबा तुलसीराम कँडेलले साथ दिनुभएको छ । यस वर्ष रु १५ लाखको कालिज बिक्री गर्ने लक्ष्य रहेको चुडामणिले बताउनुभयो । पछिल्लो समय फार्म व्यवस्थित बन्दै गएपछि मागसमेत बढ्दै गएको कँडेलको भनाइ छ । सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत आफैँ चल्ला उत्पादन गर्ने उहाँ बताउनुहुन्छ । उत्पादन बढ्दै गए पनि बजार पाउन भने मुस्किल पर्ने उहाँले सुनाउनुभयो ।

