काठमाडौं:   विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भ...

काठमाडौं:   नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ । बाढीका कारण नेपाल–चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो ।  चीनमा फसेका नेपालीलाई स्वदेश फर्काउनका लागि गत सोमबार रसुवाका प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले परराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलका लागि आग्रह गर्नुभएको थियो । भेटमा सांसद आचार्यले केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल–चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनर्निर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्री डा राणाको ध्यानाकर्षण गराउनुभएको थियो ।  उक्त ध्यानाकर्षणसँगै चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काउन लागिएको हो । चीनमा फसेकालाई रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि काठमाडौँसम्मको यातायातको व्यवस्था सरकारले गरेको छ भने चिनियाँ भूमिमा चीन सरकारले गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो ।  प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेको जानकारी दिनुभयो ।  बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको उहाँले बताउनुभयो ।

काठमाडौं: मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नियमित पत्रकार सम्मेलन गर्दै साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकका १० वटा निर्णय बुधबार सार्वजनिक गर्नुभएको हो । सञ्चारमन्त्री गुरुङले नायबमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले २०८२/४/२ देखि लागू हुने गरी पेश गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको जानकारी दिनुभयो । यसैगरी, विश्व बैंकबाट विकास प्रभावकारिताका लागि सार्वजनिक वित्त परियोजनाका लागि प्रस्ताव गरिएको १० मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा विश्व बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि बैठकले गरेको छ । यसैसँगै बैठकले अन्य १० वटा निर्णय गरेको छ ।   

खोटाङ:   वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका हरिप्रसाद राई पाँच दिनदेखि सम्पर्कविहीन भएका छन् ।  तीन वर्षअघि मलेसिया पुगेर केएलस्थित रकन इख्लास सर्भिसेस कम्पनीमा कार्यरत २६ वर्षीय हरिप्रसाद साउन–२ गतेदेखि सम्पर्कविहीन भएका हुन्।  सम्पर्कविहीन हुनुअघि साउन–१ गते मलेसियामै रहेका हरिप्रसादका साहिला दाजु हिमाल राईलाई आफू अप्ठ्यारोमा रहेको र बचाउन अनुरोध गरेको फेसबुक म्यासेज प्राप्त भएको छ ।  “मलाई सिध्याउने षड्यन्त्र गरेका छन् । बोस (मालिक) लाई नभन्नु । उसले थाहा पायो भने मलाई सिध्याउँछ । अब मलाई घर पठाउँदैन । घर जानका लागि म भाग्नुपर्छ । तपाईहरू सल्लाह गर्नुस् । दुई दिनको छुट्टी लिएर मलाई निकाल्नुस् ।” भनेर दाजु हिमाललाई म्यासेज लेखेको भोलिपल्ट अर्थात् साउन–२ गतेदेखि हरिप्रसाद सम्पर्कविहीन भएको जनाइएको छ ।  काठमाडौँको सिनामङ्गलस्थित फाजल इन्टरनेश्नल प्रालिबाट विसं २०७९ साउन–२८ गते मलेसिया पुग्नुभएका हरिप्रसाद मलेसियाको केएलस्थित स्यारोटन होटलमा सहयोगीको रूपमा काम गर्दै  आएका थिए ।  कम्पनीमा आफूले कुनै गल्ती नगरे पनि अरुहरूले गरेको गल्तीलाई आफूमाथि थुपारेर दोष लगाउँदै मार्ने षड्यन्त्र गरेको दाजु हिमाललाई हरिप्रसादले पठाएको म्यसेजमा उल्लेख छ ।  रोजगारीको सिलसिलामा मलेसियामा रहेका भाइ हरिप्रसाद सम्पर्कविहीन भएपछि खोजिकार्यलाई तीव्रता दिइएको दाजु हिमालले बताए ।  “मलाई साउन–१ गते राति म्यासेज गरेको थियो । फोनमा कुरा गरौँ भन्दा अरुले सुन्छ । म्यासेन्जरमै कुरा गरौँ भन्थ्यो ! ”, उहाँले भन्नुभयो, “केही समय म्यसेन्जरमा कुरा गर्दा–गर्दै सम्पर्कविहीन भयो । अहिले फोन पनि लाग्दैन । कम्पनीमा गएर सम्पर्क गर्दा त्यहाँ पनि छैन । केगरी खोज्ने अन्यौलमा परेको छु ।” म्यासेन्जरमा बोल्दा–बोल्दै भाइ सम्पर्कविहीन भएपछि मलेसियास्थित नेपाली राजदूतावास र भाइ कार्यरत कम्पनीलाई खोजिगरी दिन आग्रह गरिएको हिमालले बताए ।  “सम्पर्कविहीन भएको भोलिपल्टै राजदूतावास पुगेर आवश्यक कागजातसहित निवेदन दिएका थियौँ । अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । भाइको म्यासेज हेर्दा षड्यन्त्रगरी उनको हत्या गरेको हुन सक्ने देखिन्छ !”, उनले भने, “नेपाली दूतावासले चासो दिएको छैन । जुन अवस्थामा भए पनि मलाई भाइ चाहियो ।” हरिप्रसाद सम्पर्कविहीन भएको जानकारी प्राप्त भएलगत्तै मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको नेपालस्थित मेनपावर कम्पनीका प्रतिनिधि निरज दाहालले जानकारी दिए ।  “हरिप्रसाद कम्पनी छाडेर भागेको देखिन्छ । कम्पनीमै भएको खण्डमा कम्पनी सञ्चालकलाई भनेर केही गर्न सकिन्थ्यो”, उनले भने, “कम्पनी छाडेर भाग्नु हरिप्रसादको गल्ती देखिन्छ । अहिले म त्यो मेनपावर कम्पनीमा काम गर्दिन । यद्यपि, ममार्फत गएको हुनाले मेनपावर कम्पनी र नेपालस्थित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको छु ।”  काठमाडौँमा रहेर वैदेशिक रोजगारसम्बन्धी एजेन्टको काम गर्दै आउनुभएका निरजमार्फत हरिप्रसादसँगै खोटाङस्थित खार्मीका छ युवा मलेसिया गएका थिए । एजेन्टलाई रु दुई लाख ५० हजार धरौटी बुझाएर मलेसिया पुगेका हरिप्रसाद सम्पर्कविहीन भएपछि घरपरिवार चिन्तित भएका छन् ।

रुकुम पश्चिममा भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन् ।    जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-१४ पिपलचौरस्थित मंगलबार राति  भेरी नदीमा खसेको टिपर भेरी नदीमा खसेको हो ।   टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ ।

पोखरा महानगरपालिका ८ न्यूरोडमा ‘द ब्युटी वर्ल्ड’को शाखा अन्तर्गत डाइमन्ड ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ ।   विर्तामोडमा प्रधान कार्यालय रहेको डाइमन्ड ब्युटी सैलुनको शाखा युवा व्यवसायी राकेश पुरी र ममता कार्की पूरीले (महानगरपालिको कार्यालय पारी) सञ्चालनमा ल्याएका हुन् ।    उक्त शाखाबाट ब्युटीसियन सन्बन्धी सबै सेवाहरु प्रदान गरिने सञ्चालिका ममता कार्की पुरीले जानकारी दिइन् ।    महिलाहरुलाई दक्ष गर्ने तथा स्वरोजगारी बनाउने उद्देश्यसहित द ब्युटी वर्ल्डले तालिम प्रदान गर्दै आएको छ ।    उनले सौन्दर्यसँग सम्बन्धित तालिमहरुपनि प्रदान गर्ने गरी तयारी भइरहेको बताइन् ।    गत सोमबारदेखि सेवा शुभारम्भसँगै उद्घाटन भएको सो कार्यक्रममा सौन्दर्यकमी उशा गुरुङ, पूर्व सांसद शारदा पौडेल, दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, महिला उपाध्यक्ष सरस्वती गिरी, जगतमोहन गिरी लागायतको उपस्थिती रहेको थियो ।    

काठमाडौं:  प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना २ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणमा जानुभएको छ । मङ्गलबार राति उहाँ चाइना साउर्दन एयरलाइन्सको उडानबाट चीनको हेनान प्रान्ततर्फ प्रस्थान गर्नुभएको सङ्घीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो । उपसभामुख राना नेतृत्वको प्रतिनिधिमण्डलमा सङ्घीय संसद् सचिवालयका उपसचिव जगदिश न्यौपाने सम्मिलित हुनुहुन्छ । चीनको हेनान प्रान्तमा साउन ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने साङ्घाई कोअपरेशन फोरम मिडिया एण्ड थिङ्क ट्यांक समिटमा सहभागी हुन उपसभामुख राना त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।  सो कार्यक्रममा उहाँले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उपसभामुख रानाले हेनान प्रान्तका अधिकारीसँग भेटघाट गर्नुका साथै सोही प्रान्तमा अवस्थित झेङ्झाउ सहरलगायत विभिन्न स्थानको अवलोकन भ्रमणसमेत गर्नुहुनेछ । उपसभामुख राना यही साउन ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

गलकोट:   अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ ।  राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरको बागलुङ खण्डस्थित बागलुङ नगरपालिका–१० दब्ल्याङमा गए राति पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वसन्त पाण्डेले जानकारी दिनुभयो । उक्त खण्डमा आज बिहानदेखि यातयात सञ्चालन ठप्प भएको छ ।  वर्षाका कारण कालीगण्डकी करिडोरको बलेवा खण्डको छहरेमा सडक अवरुद्ध भएको छ ।  अवरुद्ध सडक खुलाउन कालीगण्डकी करिडोर आयोजनासँग समन्वय भइरहेको सूचना अधिकारीले पाण्डेले बताउनुभयो । करिडोरसँगै बलेवा–कुशिमसेरा सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काठमाडौं:  देशभर यस वर्ष करिब ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्ष यसै अवधिको तुलनामा यसपटक भएको रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मुलुकमा करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको जनाइएको हो । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । सो क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कूल उत्पादनको ७० प्रतिशत योगदान छ । पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको छ । धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा मुलुकको कूल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने मन्त्रालयले जनाएको छ ।

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस आज देशभर मनाइँदै छ ।  नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत कम्युनिष्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन लागेका छन् । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलाल श्रेष्ठले नै कार्लमाक्र्स र फेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिष्ट मेनिफेस्टो’ (कम्युनिष्ट पार्टीको घोषणापत्र, सन् १८४८) को पहिलो पटक नेपाली भाषामा अनुवाद गर्नुका साथै पहिलो पटक विभिन्न कृति र लेखमार्फत नेपाली समाजको वर्ग विश्लेषण गरेर नौलो जनवाद स्थापनाका लागि आह्वान गर्नुभएको थियो । त्यसैले पुष्पलाललाई नेपालका कम्युनिष्ट पार्टीले नेपालको कम्युनिष्ट आन्दोलनको पिताको रुपमा मान्ने गर्दछ । पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति, नौलो जनवादको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सार्नुभएको थियो । कम्युनिष्ट घोषणापत्र लेखेपछि उहाँकै नेतृत्वमा २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना भएको हो । भारत, कलकत्तास्थित श्यामबजारको एक बङ्गालीको घरमा नेकपा पार्टी स्थापनाको घोषणा भएको थियो । नेकपाको पुष्पलाल संस्थापक महासचिव हुनुहुन्थ्यो । नेकपाको स्थापना कालमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठ रहनुभएको थियो । एमालेका स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानले पुष्पलालले नेपालको कम्युनिष्टलाई एकीकृत गरेर नेपालमा कम्युनिष्टको विजारोषण गरेको बताउनुभयो । उहाँले पुष्पलालले विसं २०२७ मा अगाडि सारेको विचारलाई २० वर्षपछि नेपालका राजनीतिक दलले अनुशरण गरेको बताउनुभयो । “पुष्पलालले विसं २०२७ मा नेपालमा प्रजातन्त्र पुनःबहालीका लागि नेपाली कांग्रेससँग कार्यगत एकता गरेर जानुपर्दछ भन्नुभएको थियो, हामी उग्रपन्थी थियौँ, कांग्रेससँग मिल्ने भनेर हामीले पुष्पलाल दक्षिणपन्थी भनेर आलोचित गरेका थियौँ”, नेता न्यौपानेले भन्नुभयो, “जनमत सङ्ग्रहपछि हामीभित्र पनि उग्रपन्थ कम हुँदै भयो, २०४५ सालमा पुष्पलालले अगाडि सारेको कुरालाई नेपालमा रहेको प्रजातान्त्रिक पार्टीले मोर्चा नबनाइकन राजालाई ठाउँमा पनि ल्याउने सकिदैन र पञ्चायतको पनि अन्त्य गर्न सकिदैन भन्नेमा हामी पनि पुग्यौँ ।” सोही निर्णयका आधारमा २०४६ सालमा नेपाली कांग्रेससँग मोर्चा बनाउने निर्णय भएको उहाँको भनाइ छ । सोही मोर्चाकै कारण नेपालमा प्रजातन्त्रको पुनःबहाली भएको उहाँले उल्लेख गर्नुभयो । माओवादी केन्द्रका सचिव राम कार्कीले पुष्पलालले कम्युनिष्ट आन्दोलनलाई नेपालभित्र सुरुवात गर्ने नेताको रुपमा रहनुभएको बताउनुभयो । पुष्पलालले नेपालको कम्युनिष्ट पार्टीको घोषणापत्रमा नेपाली समाजको विशेषतालाई उजागरण गर्नमा प्रयास गरेको भन्दै उहाँ सैद्धान्तिक र वैचारिक रुपमा नेपाललाई बाटो देखाउने काम गरेको बताउनुभयो । “पुष्पलालले कम्युनिष्ट र कांग्रेस मिलेर प्रजातन्त्र ल्याउनुपर्छ भन्नुहुन्थ्यो, उहाँकै नीतिअनुसार नै मुलुकमा कम्युनिष्ट र कांग्रेस मिलेर प्रजातन्त्र आएको हो”, उहाँले भन्नुभयो । नेकपा ९एकिकृत समाजवादी० का नेता डा बेदुराम भुसालले पुष्पलालले नै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेको बताउनुभयो । पुष्पलालले गठन गरेको कम्युनिष्ट आन्दोलनलाई एकता गर्न सकेमात्र उहाँप्रति सच्चा श्रद्धासुमन हुने उहाँको भनाइ छ । “कम्युनिष्ट पार्टीबीच एकता विभाजन भए पनि अब फेरि पनि एकताबद्ध बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो । पुष्पलालको स्मृति दिवसको अवसरमा नेकपा (एकीकृत समाजवादी) ले कीर्तिपुर नगरपालिका–४ चम्पादेवीस्थित पुष्पलाल उद्यानमा श्रद्धाञ्जलीसभा, अन्तरक्रिया, ग्रन्थ विमोचनलगायत कार्यक्रम गर्ने जनाएको छ । पार्टीले मातहतका सबै जिल्ला कमिटीलाई स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ । पुष्पलालको २०३५ साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।