पोखरा: पत्रकार विनोद प्रसाद शर्मा (विनोद धौलागिरि) का दुई पुस्तक बुधबार सार्वजनिक भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत स्नातकोत्तर तहको मिडिया टेक्नोलोजी विषयका “लेखन र सम्पादन” तथा “लेखन कला” विषयका पुस्तक राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र सेफर्ड कलेज काठमाण्डौका क्याम्पस प्रमुख कविता शर्माले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । सेफर्ड कलेज काठमाण्डौमा आयोजना गरिएको सो पुस्तक सार्वजनिकीकरण कार्यक्रममा प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारिता अध्ययनमात्र नभई विषयगत ज्ञान, सीप र लेखन कलाका लागि दुई पुस्तक उपयोगी हुने बताए । सेफर्ड कलेजका क्याम्पस प्रमुख कविता शर्माले पाठ्यक्रममा आधारित पुस्तक प्रकाशन हुनु खुशीको कुरा भएको बताइन् । पुस्तकका लेखक विनोद धौलागिरिले आफूहरुले अध्ययन गर्दा पाठ्यक्रममा आधारित पुस्तकको अभाव भएकोले सो अभाव पूरा गर्नका लागि पुस्तक तयार गरेको उल्लेख गरे । दुबै पुस्तक पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत मास्टर्स इन मिडिया टेक्नोलोजी विषयको प्रथम सेमेष्टरमा अध्यापन हुन्छ । वास खवर डिजिटल पत्रिकाका सम्पादक समेत रहेका विनोद धौलागिरि नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य समेत हुन् ।
पोखरा: पोखराको विभिन्न स्थानबाट चोरी भएको स्कुटरसहित ५ जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की मातहतबाट खटिएको प्रहरीको टोलीले चोरी भएको तीन वटा स्कुटर सहित ५ युवकलाई प्रक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरीको टोलीले चोरी भएको ग ९ प ८७६१ र ग १५ प ५२३७ नम्बरको स्कुटरसहित ४ जना र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले ग ४ प ७६८४ नम्बरको स्कुटरसहित एकजना युवकलाई पक्राउ गरेको हो । प्रक्राउ पर्नेमा पोखरा महानगरपालिका ३३ बस्ने २१ वर्षीय शेरबहादुर पुन मगर, पोखरा ५ बस्ने २५ वर्षीय अजय नेपाली, पोखरा १० बस्ने २१ वर्षीय सुशिल गुरुङ, पोखरा ११ बस्ने २० वर्षीय सुदिप परियार र पोखरा १३ काहुँखोला बस्ने २७ वर्षीय रोशन परियार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरी बहादुर बस्नेतले जानकारी दिए ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले आफूहरू नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँगको एकतामा सामेल नहुने घोषणा गर्नुभएको छ। आज यहाँ पत्रकार सम्मेलनको आयोजना गर्दै भुसालसहितका नेताले विद्यमान नेतृत्व र कार्यशैलीका आधारमा कम्युनिष्ट पार्टी चल्न नसक्ने बताउँदै देशका विद्यामान समस्याको समाधानका लागि आफूहरूले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेलामार्फत् नयाँ रूपले सङ्गठित हुने स्पष्ट गर्नुभयो। कार्यक्रममा सो पार्टीका नेताहरू धनेन्द्र बस्नेत, जीवनराम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहित १० वामपन्थी पार्टीबीच आज एकता घोषणा भएको छ।
म्याग्दी: म्याग्दीको मङ्गला गाउँपालिका–५ र बागलुङको ताराखोला गाउँपालिका–४ को सिमानामा रहेको तिनचुुलेको वराह तालमा प्रकृतिलाई खुसी पार्न तोरन तारिएको छ । म्याग्दीको अर्मन र बागलुङको ताराखोलाका बासिन्दाहरूले गाउँबाट लगेको तोरणलाई बाजागाजा सहित समुन्द्रि सतहदेखि दुई हजार नौ सय ३२ मिटर उचाईमा रहेको तिनचुलेको वराह ताल र शिवालय मन्दिर परिक्रमा गराएर विधीपूर्वक तानिएको हो । खेती किसानी र पशुुपालन गर्ने स्थानीयवासीहरूले परापुर्वकालदेखि हरेक वर्षको कात्तिक शुुक्ल पूूर्णीमाका दिन प्रकृतिलाई खुसी पार्न सामुुहिक रूपमा तोरण तार्ने चलनलाई यस वर्ष पनि निरन्तरता दिइएका धार्मिक पर्यटकीय क्षेत्र तिनचुले संरक्षण तथा प्रवर्धन समितिका सल्लाहकार भपिन्द्र घर्तीले बताउनुभयो । “कात्तिक पूर्णिमाका दिन तिनचुुले वराह तालमा तोरन तारेमा गाउँमा अनिष्ट, प्राकृतिक विपद्, महामारी, रोगब्याधी नहुुने र शिवालय मन्दिरमा पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुुने जनविश्वास रहेको छ,” उहाँले भन्नुभयो “चार वटा टोलबाट सामुहिक र भाकल पूरा भएकाले व्यक्तिगत रूपमा तोरण ल्याएर तार्ने चलन छ ।” बैकुुण्ठ चर्तुुदर्शीका साँझ गाउँगाउँबाट माझखर्कमा लगिने तोरनलाई त्यहाँ देखि डोलीमा चढाएर बाजा र भजनकीर्तन सहित बराहताल र शिवालय मन्दिर परिक्रमा गराई तान्ने चलन छ । शिवालय मन्दिर देखि वराहतालको पुर्वी छेउको रुखमा तोरन तान्ने गरिएको छ । बाबियोको डोरी बाटेर थरिथरिका फुलहरू गाँसेर तोरन बनाउने चलन छ । तोरन लिएर पुगेका भक्तजनहरू बैकुण्ठ चर्तुुदर्शीको रात माझखर्कमा रहेको धर्मशालामा जाग्राम बसेर भजनकीर्तन गर्ने गर्छन्। यस वर्ष पाँच वटा तोरन तारिएको र करिब एक हजार जना भक्तजनले शिवालय मन्दिरमा पुुजाआजा तथा दर्शन गरेका समितिका अध्यक्ष धनबहादुुर घर्तीले जानकारी दिनुभयो । तोरन तार्न र पुजाआजाका लागि आएका भक्तजनहरुलाई समितिले निःशुल्क प्रसाद र चिया वितरण गरेको थियो । ताराखोला, करिमेला, हिले, नागबेलीखोला, सिप, अर्गल, सिरकुुम, निस्कोट, टिकावाङ, किमचौर, अर्मन, नेटा, बाबियाचौर, पिपलबोट लगायतका ठाउँबाट भक्तजन आएका थिए । माझखर्कबाट तिनचुलेतर्फ तोरन लैजानुुअघि अन्धनिशान र छेलो फाल्ने प्रतियोगिता भएको थियो । पहलमान पहिचान गर्न गरिने थेलो फाल्ने प्रतियोगितामा विजयी भएका टिकावाङका लालबहादुर पटेललाई पहलमान घोषणा गरिएको थियो । पटेललाई फेता गुटाएर काँधमा बोकेर मन्दिर र वराह ताल परिक्रमा गरिइएको थियो । म्याग्दी र बागलुङ दुवै तर्फबाट सडक र पदमार्गले जोडिएको तिनचुलेमा यातायातको सहज सुविधासँगै भक्तजनको आगमन बढेको समितिका सचिव पूर्णभद्र निउरेले बताउनुभयो । ताराखोला, मङ्गला गाउँपालिका, गण्डकी प्रदेश सरकार र समुदायको सहकार्यमा तिनचुलेलाई धार्मिक पर्यटकीय गन्तब्य स्थलको रूपमा विकास गर्न पूर्वाधार निर्माणमा जोड दिएको उहाँले बताउनुभयो । सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सम्मुखमा रहेका तिनचुले पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त रहेको छ ।
तनहुँ: तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको कुटपिटबाट मृत्यु भएको हो । मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो । कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं: काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका साथै संवेदनशिल, महत्वपूर्ण र सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा विस्तार भएको हो। मन्त्रालयका अनुसार यसअघि नै वाइफाइ इन्टरनेट सेवा उपलब्ध भएका स्थानमा मर्मतसम्भार, गुणस्तर वृद्धि र क्षमता विस्तार गरिएको छ भने तीन निर्माणाधीनसहित आठ स्थानमा नयाँ जडान गरिएको हो। मन्त्रालयका अनुसार अब काठमाडौंको नयाँ बसपार्क, भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ स्थापना र क्षमता विस्तारसहित सञ्चालनमा वाइफाइ सेवा उपलब्ध हुनेछ। साथै काठमाडौंको ठूलोभर्याङ यातायात व्यवस्था कार्यालय र ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा स्थापना र क्षमता अभिवृद्धिको काम भइरहेको छ। भक्तपुरको राधेराधेस्थित यातायात व्यवस्था कार्यालयमा नयाँस्थापनाको क्रममा रहेको मन्त्रालयको भनाइ छ। निःशुल्क वाइफाइको निरन्तरता र दिगोपनाका लागि सम्बन्धित संस्थाले सेवाप्रदायक कम्पनीसँग सम्झौता भइसकेको छ। नेपाल टेलिकम, वल्र्डलिङ्क र भायनेट कम्पनीले निःशुल्क वाइफाइ इन्टरनेट स्थापनाका लागि सहकार्य गरेका छन्। सञ्चारमन्त्री खरेलको विशेष सक्रियतमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक कम्पनीसँगको समन्वयमा निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच विस्तार गरेको हो। प्राधिकरणका अनुसार यसअघि वीर अस्पताल, परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, टेकु अस्पताल, कान्ति बाल अस्पताल, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, सहिद धर्मभक्त माथेमा राष्ट्रिय उपचार केन्द्र र पशुपति मन्दिर परिसरमा १० एमबिपिएस ब्याण्डविथलाई बढाएर १५० एमबिपिएस बनाइएको छ। ती क्षेत्रमा प्रत्येक डिभाइसका लागि १०० एमबीबाट बढाएर ५०० एमबी बनाइएको छ। त्यसैगरी नेपाल टेलिकमले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित ३५ विमानस्थलमा निःशुल्क वाइफाइ विस्तार गर्ने कार्ययोजना बनाएको छ। भक्तपुर क्यान्सर अस्पतालमा छ वटा एक्सेस प्वाइन्ट र कीर्तिपुर अस्पतालमा पाँच वटा एक्सेस प्वाइन्टसहित नयाँ वाइफाइ सेवा उपलब्ध गराइएको छ। गत असोज ६ गते सूचना तथा सञ्चार प्रविधिमन्त्रीमा नियुक्त भएपछि मन्त्री खरेलले मन्त्रालयमा पदभार ग्रहणका क्रममा आफ्नो पहिलो निर्णयमा हस्ताक्षर गर्दै दुई महिनाभित्र काठमाडौँ उपत्यकाका महत्वपूर्ण सार्वजनिक स्थलमा निःशुल्क वाइफाइको पहुँच पुर्याउने निर्णय गरेका थिए। मन्त्रालयका अनुसार उपत्यका बाहिरका महत्वपूर्ण दस वटा सहरमा पनि निःशुल्क वाइफाइ इन्टरनेटको पहुँच पुर्याउने काम अघि बढेको छ। निःशुल्क वाइफाइ इन्टरनेट सेवा सञ्चालनको अनुगमनका लागि सञ्चारमन्त्री खरेलसहितको टोली आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म नयाँ बसपार्क, त्रिवि शिक्षण अस्पताल, पशुपति क्षेत्र र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ।
गोरखा: गोरखास्थित पाङबारी हिमालमा विगत पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ। पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। दुवै जनाको शव हिउँले पुरिएको अवस्थामा फेला परेको उनले बताए। आरोहीको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको छ। पाङबारी हिमालबाट फर्कने क्रममा तीन इटालियन नागरिक र एक नेपाली सहयोगी गत बुधबारदेखि पहिलो शिविर र आधार शिविरमा अलपत्र परेका थिए। फरिनातो र गापुटो हिमाल आरोहण गर्न नसकेपछि फर्कने क्रममा हिमपातका कारण अलपत्र परेका बताइएको छ। उनीहरुसँगै अलपत्र परेका इटालियन नागरिक ६५ वर्षीय भेल्टर परलिनोको भने गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। उनको साथमा रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन हेलिकोप्टरबाट उद्धार गरी उपचारका काठमाडौँ पठाइएको उनले बताए।
काठमाडौं: डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका रुपन्देहीमा सञ्चालित चार उद्योगले सोमबार प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम तिरेका हुन् । भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र प्लास्टिकले बक्यौताको पहिलो किस्तावापतको रकम तिरेका प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो किस्ता तिरेपछि उद्योगको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको छ । ती उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोगवापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका कार्यकारी निर्देशक सिलवालले बताउनुभयो । प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकको रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलको रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको रु एक करोड ८३ लाख र श्याम प्लास्टिकको रु ४९ लाख १० हजार बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगले पहिलो किस्ता तिरेका छन् ।
म्याग्दी: कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो । सङ्घले हालै मुुस्ताङको थासाङ गाउँपालिकाको घाँसा, लेते, कुुञ्जो, टिटीताल, खन्ती, झिप्रा देउरालीमा चिरकालिजको अध्ययन गरेको थियो । मुस्ताङमा गरेको अध्ययनको प्रतिवेदन तयार पारेको टोली चिरकालिजको अवस्था अध्ययनका लागि म्याग्दीको धवलागिरि गाउँपालिका र ढोरपाटन सिकार आरक्षमा आएको छ । अध्ययन टोलीमा सहभागी अनुुसन्धानकर्ता विराट रजकले सन् २००९ मा छ जोडी चिरकालिज रहेको उक्त सात ठाउँमा यसपालि १८ जोडी भेटिएका जानकारी दिनुभयो । “सन् २००४ मा १७ र २००६ मा ११ जोडी कालिज भेटिएका थिए”, उहाँले भन्नुभयो, “सन् २००९ पछि अध्ययन भएको थिएन । सोह्र वर्षपछि यसपालि भएको अध्ययनका क्रममा कालीगण्डकीको माथिल्लो क्षेत्रमा चिरकालिजको सङ्ख्या बढेको पाइएको छ ।” समुदायमा संरक्षण शिक्षा, चेतनाको विकास, चोरी सिकारी नियन्त्रण, बासस्थान वरपर मानवीय र घरपालुुवा जनावरको गतिविधि बढ्दा चिरकालिजको सङ्ख्या वृद्धिमा सहयोग पुुगेको अनुुसन्धानकर्ता रजकले बताउनुभयो । खरबारी, पाखोबारीमा मानिसले घाँस काट्ने, पशुुचौपायाको चरन क्षेत्र हुँदा झाडी हटेर आहारा खोज्न सजिलो हुने भएकाले चिरकालिजको बसोबासका लागि अनुुकूल वातावरण बनेको उहाँको भनाइ छ । चिरकालिजले फुल कोरल्नेबाहेकका समयमा डढेलो लाग्दा झाडी नष्ट हुुने र प्रशस्त आहारा पाउँदा उसका लागि अनुुकूल मानिन्छ । चैत, वैशाख र जेठ चिरकालिजले फुल पार्ने, कोरल्ने र चल्ला निकाल्ने समय हो । समुद्री सतहबाट एक हजार चार सय मिटरदेखि तीन हजार छ सय मिटरसम्मको उचाइमा चिरकालिज पाइने गर्छ ।सामान्य कालिजजस्तै यो तल्लो तटीय क्षेत्रमा पाइँदैन । यो चरा झट्ट हेर्दा कालिजको पोथीजस्तै देखिए पनि धेरै भिन्नता रहने अनुुसन्धानकर्ता केशव चोखालले जानकारी दिनुभयो । “चिरकालिजको भालेको पुच्छर लामो, आँखाको रङ पनि रातो हुने, शरीरमा सेतो थोप्लामा कालो बुट्टा हुन्छ भने आकारमा पोथी भालेभन्दा सानो र पुच्छर पनि छोटो हुन्छ”, उहाँले भन्नुुभयो, “बिहान सूर्योदय हुनुभन्दा अगाडि र साँझमा सूर्यास्त भएपछि दिनको दुईपटक मात्र चिरचिर गरेर कराउने भएकाले यसलाई चिरकालिज भनिएको हो ।” ‘क्याट्रस वालिची’ वैज्ञानिक नाम रहेको यस पन्छीलाई अङ्ग्रेजीमा चिरफेजेन अर्थात् नेपालीमा चिरकालिज र सुदूरपश्चिममा चेडु चराको नामले चिनिने गरिएको छ । भिरमा नै बासस्थान बनाउने यो पन्छीले एकपटकमा सातदेखि १५ वटासम्म फुल पार्ने जनाइएको छ । चिरकालिज नेपालमा मुख्यगरी अन्नपूर्ण संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष र रारा राष्ट्रिय निकुञ्जका साथै संरक्षित क्षेत्रभन्दा बाहिर पर्वतसँगै म्याग्दी र बागलुङ तथा कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा पाइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ मै यसलाई लोपोन्मुख प्रजातिका रूपमा सूचीकृत गरेको डिभिजन वन कार्यालय म्याग्दीका प्रमुख विष्णुु अधिकारीले बताउनुभयो । कालीगण्डकीका साथै म्याग्दी र रघुगङ्गाको तटीय क्षेत्रमा देखिएकाले अनुुसन्धान थालिएको हो । चिरकालिजको अध्ययनका लागि दातृ निकाय टोलेडोजुुले सहयोग गरेको नेपाल पन्छीविद् सङ्घले जनाएको छ । धवलागिरि गाउँपालिकाको म्याग्दी नदी आसपास र ढोरपाटन सिकार आरक्ष क्षेत्रमा अध्ययनपछि प्राप्त हुुने प्रतिवेदनका आधारमा चिरकालिज संरक्षण कार्यक्रम गरिने जैविक बिविधता संरक्षण समाज नेपालका कार्यक्रम अधिकृत पवन राईले बताउनुभयो । दुर्लभ पन्छी हेर्नका लागि विदेशी पर्यटक आउँदा स्थानीयस्तरमा रोजगारी सृजना र आयआर्जन वृद्धिमा सघाउ पुुग्ने उहाँले बताउनुभयो ।

