पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

काठमाडौँ:  यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ ।   अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो ।   गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० ले घटेर २ लाख ४१ हजार ९ सय रुपियाँ कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर २ लाख ३९ हजार ९ सयमा किनबेच भएको थियो ।   हिजो मङ्गलबार प्रतितोला २ हजार ९ सय रुपियाँले घटेपछि २ लाख ३७ हजारमा कारोबार भएको सुन बुधबार पुन: तोलामा ७ सय घटेर २ लाख ३६ हजार ३ सय रुपियाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   आज चाँदीको मूल्य भने बढेको छ । मङ्गलबार प्रतितोला २ हजार ९२० मा किनबेच भएको चाँदी आज बढेर २ हजार ९६५ पुगेको हो ।   अन्तर्राष्ट्रिय बजारमा आज सुन ३ हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ।    राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।   सो क्रममा बसले एक पैदलयात्रीलाई ठक्कर दिएको र बसमा सवार ५ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।   दुर्घटनामा परेका अन्दाजी ५५ वर्षीय पुरुष पैदलयात्रीको घटनास्थलबाट चन्द्रौटा आधारभूत स्वास्थ्य सेवा अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको हाे । हाल मृतकको नाम ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।   बस चालक र बस वडा प्रहरी कार्यालय चन्द्रौटाको नियन्त्रणमा छ।

पाल्पा:  बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सम्पन्न ढल्क्यो जोवान (३० वर्षमाथि) भलिबल प्रतियोगितामा फोक्सिङकोट भेट्रान्स र साबिक वडास्तरीय पुरुषतर्फ जनज्योती युवा क्लब दान्सिँघा च्याम्पियन बनेको छ ।   माउण्ट एभरेष्ट युवा क्लबले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित आयोजना गरेको ढल्क्यो जोवानतर्फ फोक्सिङकोट भेट्रान्सले गल्याङलाई २–१ सेटले पराजित गर्दै उपाधि जितेको हो ।   सहिद केवल गाहा खेल मैदानमा भएको प्रतियोगितामा न्यू मिलन युवा क्लब खानीगाउँ तृतीय बनेको क्लबका अध्यक्ष धिरज गाहामगरले जानकारी दिए ।   उनका अनुसार प्रथम, द्वित्तिय र तृतीय बनेको टिमले क्रमश: २० हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र र मायाको चिनो हात पार्याे ।   यसैगरी साबिक वडास्तरीय पुरुष भलिबल तर्फ जनज्योती प्रथम बन्यो । फाइनल खेलमा भाल्याल्हुङ क्लब भालेबासलाई २–० को सोझो सेटमा हराउँदै दान्सिँघा प्रथम बन्यो । यस्तै उक्त विधामा कालीगण्डकी युवा क्लब शिखरडाँडा तृतीय बन्यो ।    प्रथम, द्वित्तिय र तृतीय बनेको टिमले क्रमश: १५ हजार, १० हजार र ५ हजारसहित प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्याे ।   प्रतियोगिताबाट ढल्क्यो जोवानतर्फ रामपुर भेट्रान्सका सन्तोष श्रेष्ठ र वडास्तरीयतर्फ भालेबासका अर्जुन मगर उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए ।      उनीहरुलाई समापन तथा पुरस्कार समारोहका अथिति नेपाल मगर महिला संघ पाल्पाका अध्यक्ष राधा थापामगर, पुरस्कारदाता शिव राना, तिलक थापा, तल्लोकोलडाँडा टोल विकास संस्थाका संयोजक विष्णु राना (सजल), क्लबका सल्लाहकारहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।   गत ७ गतेदेखि सञ्चालनमा रहेको दुवै विधागरी कुल ३२ टिमको सहभागिता रहेको थियो ।    बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा क्रियाशिल माउण्ट एभरेष्ट युवा क्लब खेलकुदको क्षेत्रमा मात्र नभई साँस्कृतिक र सामाजिक क्षेत्रमा पनि त्रियाशिल रहँदै आएको छ ।             

काठमाडौँ:  हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ ।   गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ ।    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ ।   कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।   आज राति देशभर आंशिक बदली बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।   मौसम विभागका अनुसार आज  देशको बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा पानीको बहाब उल्लेख्य बढ्ने छ ।   ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना रहेको विभागको भनाइ छ ।   यस्तै बागमती प्रदेशका काठमाडाैँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् ।   भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सरकारको अग्रसरतामा पहिलो पटक त्रिपक्षीय संवाद हुने भएको हो ।    प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षसँग सघन रूपमा वार्ता र छलफल गरिरहेकी छन् ।   उनकै आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार (आज) अपराह्न ४ बजे सरकार, राजनीतिक दल र जेनजीका प्रतिनिधिबिच निर्वाचनकेन्द्रित संवाद हुनेछ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजीबिच संयुक्त बैठक आयोजना गरिएको बताए ।   उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए ।    प्रधानमन्त्री कार्कीले कात्तिक ४ गते पनि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित विघटित संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग संवाद गरे।   उ​क्त बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने वातावरण निर्माण गर्न दलहरूले सरकारलाई आग्रह गरेका थिए ।    प्रधानमन्त्री कार्कीले जेनजीका प्रतिनिधिसहित विभिन्न पक्षसँग निरन्तर संवाद गरिरहेकी छन् । सरकारले निर्वाचनको तयारीका काम अगाडि बढाएको छ ।   सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको प्राविधिक तयारीबारे गृहकार्य अघि बढाएको छ । निर्वाचन आयोगले पनि आफ्नो क्षेत्राधिकारभित्रको काम आरम्भ गरिसकेको छ ।   

दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार दमकबाट मोरङको टाँडीतर्फ गइरहेको बा२ख १९८३ नम्बरको बस दुर्घटना हुँदा त्यसमा ३५ जना सवार थिए ।   घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । अन्य २० जना उपचारपछि घर फर्केका छन् ।   बस चालक मोरङ मिक्लाजुङ–३ का ३९ वर्षीय भक्तबहादुर दर्जीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठुलो चाड तिहारको छैटौँ दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । यमपञ्चकसमेत भनिने तिहार पाँच दिनको हुने भए पनि यस वर्ष तिथि वृद्धि भई छैटौँ दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । आज दिनभर टीका लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३९ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले बताउनुभयो । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा तुला राशिमा रहेका पश्चिमका चन्द्रमा सम्मुख पर्नेछन् । शुभ कर्ममा चन्द्रमालाई अघि (सम्मुख) वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ । शुभ कर्म गर्दा चन्द्रमालाई दाहिने वा सम्मुख पारेर गर्नुपर्ने शास्त्रीय नियम छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ । आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् भट्टराईले सुनाउनुभयो । टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ । दिदीबहिनी एवम् दाजुभाइ नहुनेका लागि बालगोपालेश्वर खुला   दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।  बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । खञ्जनेश्वर महादेवमा भक्तजन यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ । विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो । त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो । पछिल्लो समय पहिले जति नआए पनि यहाँ भाइटीकाका दिन भक्तजनको लाम लाग्ने गर्छ । विसं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् ।  भक्तपुरका नेवार समुदायका केहीले भने बुधबार नै किजापूजा गरेको जनाइएको छ । भक्तपुरस्थित तलेजु मन्दिरका पुजारीले गरेको निर्णयअनुसार यस्तो गरिएको भक्तपुर नगपालिकाले जनाएको छ ।

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ ।   कार्यालय प्रमुख (एसपी)डा.रामचन्द्र सत्यालले सोमबार आयोजित कार्यक्रममा घुङ्ग्रुलाई अवार्ड प्रदान गरेका हुन् ।   हवाई मार्ग हुँदै काठमाडौँ आउने र विदेशतर्फ तस्करी गर्न लागिएको गाँजा लगायतका लागुऔषध अनुसन्धानमा घुङ्ग्रुले उत्कृष्टता हासिल गरेको केनाईन कार्यालयका प्रमुख डा.रामचन्द्र सत्यालले बताए ।   घुङ्ग्रुले सुँघेर २०८१ चैत र २०८२ साउनमा विमानस्थलमा दुई वटा लागुऔषधको घटना पत्ता लगाएको थियो । जर्मन सेफर्ड जातको पोथी प्रहरी कुकुर घुङ्ग्रुको सङ्केतको आधारमा आरोपी पक्राउ परेका थिए ।   २०७४ चैतमा जन्मिएको घुङ्ग्रु लागुऔषध नियन्त्रण ब्युरो अन्तर्गत अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत छ ।   २०८० चैत ४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित कार्गो कम्प्लेक्सको आयात तर्फको गोदाममा चेकजाँच गर्दा घुङ्ग्रुले वासिङ मेशिनमा लागुऔषध रहेको सङ्केत गरेको थियो ।   सो सङ्केतको आधारमा वासिङ मेशिन फुटाउँदा विदेशबाट आयात गरिएको २० केजी गाँजा भेटियो ।   २०८२ साउन ५ मा आगमनतर्फको लगेज चेकजाँच गर्दा बैंककबाट आएका भारतीय नागरिकले ल्याएको १४ केजी गाँजा भेटियो । सो गाँजा ल्याउने भारतीय नागरिक धर्मेश रसिकभाई चुनारा पक्राउ परेका थिए ।   त्यस्तै, २०८१ चैत २४ मा चिप्स, चकलेट र मासुको प्याकेटहरूमा लुकाएर ल्याइएको ९ केजी अमेरिकन गाँजा बरामद गर्न पनि घुङ्ग्रुले सघाएका थिए । 

पोखरा:   प्रहरीले धारिलो हतियार देखाइ विदेशी नागरिकलाई अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । आइतबार पोखरा–२२ अनदु जङ्गलको सार्वजनिक स्थानमा ६७ वर्षीय जर्मन नागरिक अन्स पिटर मार्टीन एक्लै हिँडिरहेको अवस्थामा खुकुरी देखाइ हातपात गरी अभद्र व्यवहार गरेको सूचनाका आधारमा दुईजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँकाअनुसार सूचना प्राप्त हुनासाथ तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिई घटनामा संलग्न व्यक्तिहरूलाई एक थान खुकुरीसहित नियन्त्रणमा लिइएको हो ।  पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–८ का २४ वर्षीय नविन विक र तनहूँ व्यास नगरपालिका–५ का २१ वर्षीय विशाल दर्लामी रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रवक्ता बस्नेतले बताउनुभयो ।