पोखरा:   राधाकृष्ण सांस्कृतिक समूहको आयोजना एवम् राधाकृष्ण मन्दिर शान्ति आश्रमको सह आयोजनामा लामेआहालमा आज सम्पन्न १० औं श्रीकृष्ण जन्माष्टमी महोत्सव एवम् भजन चुड्का प्रतियोगितामा महेश्वर खनाल भजन समूह, शुक्लागण्...

कास्की:  निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ । यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ । हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले झण्डै डेढ किमी सडक एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । उनले भने, ‘हरिचोक–याम्दी खण्डमा अहिले एकतर्फी कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रमा दुवै खण्डमा काम सम्पन्न गर्ने योजनामा छौँ ।’ हरिचोक–याम्दी सडक १८ मिटर फराकिलो हुने छ । त्यसैगरी नालासहित २१ मिटर रहेको आयोजनाले जनाएको छ । यस खण्डमा अस्फाल्ट कालोपत्र १५ सेमी बाक्लो हुने छ । लामो समयसम्म यस सडकको काम सुस्त हुँदा राजमार्गमा यात्रा गर्ने यात्रीले सास्ती पाएका थिए । दुई किमी २०० मिटर लामो सडक निर्माणमा ढिलाइ हुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रा कष्टकर हुने गरेको थियो । सडक निर्माण सुस्त भएपछि स्थानीयले सडकमै उत्रिएर काम छिटो गर्न दबाब दिएका थिए । पोखरा हरिचोकका भानुभक्त अधिकारीले ढिलै भए पनि कालोपत्रको काम सुरु भएकामा खुसी व्यक्त गरे । लामो समयसम्म सडक नबन्दा आफूहरूले धेरै सास्ती पाएकामा अब सजिलो हुने उनको विश्वास छ ।  मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई वर्षमा सक्नेगरी २०७९ साल साउनमा काठमाडौंको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिसँग मूल्यअभिवृद्धि करसहित ४८ करोड लागतमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो । साविकको पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यस सडक हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायत जिल्लाबाट दैनिक सयौँ सार्वजनिक तथा निजी सवारीका साधन  पोखरा आवतजावत गर्ने गर्छन् । 

सुनसरी:   बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजकुमार महतोले जानकारी दिए । बराहक्षेत्र–१ मा रहेको दियाली कृषि फार्ममा २० वटा बङ्गुरमा सङ्क्रमण देखिएको छ भने १७ वटाको मृत्यु भएको छ । त्यसैगरी बराह बङ्गुर फार्ममा १५ वटामा सङ्क्रमण देखिएको छ भने सात बङ्गुरको मृत्यु भएको उनले जानकारी दिए । उनका अनुसार स्थानीय सुवास श्रेष्ठले पालेका बङ्गुर फार्ममा २२ वटामा सङ्क्रमण देखिएको छ भने १२ को मृत्यु भएको छ । बराहक्षेत्रमा मात्र अहिलेसम्ममा उक्त फिभरले ३६ बङ्गुरको मृत्यु हुनुका साथै ५७ वटामा अझै सङ्क्रमण डा महतोले बताउनुभयो । यसअघि सुनसरीको दुहबी, रामधुनी र धरानमा सङ्क्रमण देखिएको थियो ।

पोखरा: उच्च गुणस्तरको कार हेरचाह सेवाहरूलाई लक्षित गरी पोखराको जिरो किलोमिटरमा कार्जस्पा स्टुडियो सञ्चालनमा आएको छ ।      पोखरा एक जीवन्त अर्थतन्त्र र बलियो अटोमोटिभ बजारको साथ द्रुत रुपमा बढीरहेको सहर रहेको भन्दै कारहरूको हेरचाह सेवालाई लक्षित गरी कार्जस्पा सञ्चालनमा ल्याइएको हो ।      यो सँगै कार्जस्पाले पोखरामा गाडीको सौन्दर्यलाई जोगाउन, अभिबृद्धि गर्न र कायम राख्न डिजाइन गरिएको प्रिमियम कार हेरचाह सेवाहरूको विस्तृत दायरा प्रदान गर्ने कार्यक्रममा जानकारी गराइयो ।      कार्जस्पा मार्फत पेन्ट प्रोटेक्सन फिल्म स्थापना गरिने जनाइएको छ । यसका माध्यमबाट कारको रंगलाई स्क्रयाच, चिप्स र वातवरणीय क्षतिबाट जोगाइने छ । त्यस्तै सिरेमिक कोटिंग, कारको भित्री भागलाई नयाँ देखिने गरी गहिरो सफाई, छालाको कन्डिसनिङ र कपडाको सुरक्षा, बाहिरी माटो धुने, स्टीम सफा गर्ने, विन्डशिल्ड पालिस गर्ने, रंग सतह परिष्करण आदि गरिने कार्यक्रममा जानकारी गराइयो ।      सेवा सञ्चालनको शुुभारम्भ गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खे्लकुद मन्त्री विन्दुुकुमार थापाले पोखरामा सञ्चालनमा आएको यो सेवा उपयोगी बन्ने विश्वास व्यक्त गर्दैै सफलताको शुुभकामना व्यक्त गर्नुभयो ।      ओमराज शर्माको सभापतित्व एवम् शिव थापाले सञ्चालन गर्नुुभएको कार्यक्रममा प्रदेश सभा सदस्य प्रकाश बराल, नायिका प्रियंका कार्की, कार्जस्पा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अंकुर सामी, कार्जस्पा कम्पनीका नेपाल प्रमुख तरुन औजा चेम्बर अफ कमर्शका अध्यक्ष उमराज वास्तोला, पाोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतले सफलताको शुुभकामना व्यक्त गर्नुुभयो । 

काठमाडौं:  संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद– ९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपक बहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन– १०८१’ पेस गर्ने छन् । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक– २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

काठमाडौं:   हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानूमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  देशका उच्च–पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र  हिमपातको सम्भावना छ । मधेसलगायत कोशी प्रदेशका तराई भागका केही स्थानमा हुरीबतासको समेत सम्भावना छ । त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ ।  कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पोखरा:  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । महासंघको वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको हो ।  साधारण सभाका अवसरमा सुनचाँदी रत्न तथा आभुषण व्यवसायमा आवश्यक पर्ने कानूनी तथा नीतिगत आधार समेटिएको ‘आभुषण व्यवसायमा कानूनी व्यवस्था’ नामक पुस्तक समेत लोकार्पण गरिएको थियो ।  महासंघले साधारण सभाको अवसरमा ११ बुँदे घोषणा पत्र जारी गर्दै, ‘निर्देशिकाको अभावमा गरगहना व्यवसाय थप अन्योलग्रस्त बन्दै गएकोले सुनचाँदी गरगहनाको उत्पादन,कारोवार तथा नियमन मापदण्ड सहितको निर्देशिका अविलम्व जारी गर्न नेपाल सरकार समक्ष पुनः जोददार आग्रह गर्ने माग गरेको छ ।  यस्तै आन्तरिक एवम् अन्तर्राष्ट्रिय बजारमा स्वच्छ प्रतिस्पर्धात्मक वातावरणको विकास गर्नको लागि प्रतिस्पर्धा ऐनको प्रभावकारी कार्यान्वयन र उपभोक्ता संरक्षण ऐनमा समसामयिक सुधार गर्न नेपाल सरकार समक्ष माग गर्ने निर्णय गरेको छ ।  स्वदेशमा सुन, चाँदी, पत्थरका गरगहना निर्यात गर्ने उद्योग व्यवसाय प्रवद्र्धन गरी युवाहरूको लागि रोजगारी वृद्धि गर्दै परम्परागत सीप एवं कला, कौशललाई संरक्षण तथा दक्ष कालिगढहरू तयार गर्न नेपाल सरकारको सहयोगमा सीप विकास स्कूल महासंघले खोल्ने घोषणा गरिएको छ ।  नेपालको भूगर्भमा रहेका रत्न तथा पत्थरहरुको उत्खनन् र प्रशोधन क्षेत्रमा लगानी प्रवद्र्धन गर्न सरकार र महासंघको संयुक्त पहलमा कार्ययोजना बनाई लागू गर्न नेपाल सरकार समक्ष आग्रह समेत गर्ने जनाइएको छ ।  महासंघले सुनचाँदी आयात तथा विक्री वितरण कार्यविधि– २०६८ संशोधन गरी व्यवहारिक, व्यवसायी मैत्री कार्यविधि जारी गर्न पहल गर्ने । साथै प्रत्येक प्रदेशबाटनै आयातित कच्चा पदार्थको विक्री वितरण कार्य संचालन गरी व्यवसायीहरुले सुपथ, सरल र सहज तरीकाले खरीद गर्न पाउने अवस्था निर्माण गर्ने जनाएको छ ।  यस्तै गरगहनाको गुणस्तर मापन गर्ने विद्यमान पद्दति त्रुटीपूर्ण रहेकोले यस्तो संयन्त्रबाट परिक्षण गरिएको आधारमा व्यवसायीहरुलाई कानूनी कारबाही गर्नु अन्यायपूर्ण भएकोले संपूर्ण जिल्लाहरुमा गुणस्तर परीक्षण केन्द्र स्थापना गरी आम उपभोक्ता एवं गरगहना व्यवसायीहरुले सर्वसुलभ तरिकाले गुणस्तर परिक्षण गर्न सक्ने गरि गुणस्तरयुक्त आधुनिक मेसिन उपलब्ध गराउन नेपाल सरकार समक्ष माग गर्ने घोषणा गरेको छ । । महासंघले आर्थिक ऐन–२०८१ मा भएको व्यवस्थालाई महासंघले दिएको सुझावलाई कार्यान्वयनको लागि पहल गर्ने र सुनचाँदी गरगहना स्वदेशी उत्पादन तथा निर्यात व्यवसायलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय मेलाहरूमा भाग लिने व्यवस्था गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।  यस्तै सम्पत्ति शुद्धिकरण(मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४मा अव्यवाहारिक कानुनी व्यवस्थालाई संशोधन प्रस्ताव गरी संशोधनको पहल गर्ने, आभुषण व्यवसायलाई वृहत उद्यमको रुपमा स्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउने घोषणा पत्रमा उल्लेख गरिएको छ  ।  महासंघले व्यवसायी मैत्री कानुन निर्माण तथा अव्यवहारिक कानुन संशोधनका लागी पहल गर्ने । राज्य वाट न्यायोचित माग सम्वोधन नभएमा विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने जनाएको छ । 

यूएईलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एक खेलअगावै आईसीसी महिला टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ।    सोमबार भएको एसिया क्षेत्र छनोटको सुपर थ्रीको आफनो पहिलो खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो।    एसिया क्षेत्र छनोटबाट नेपालसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन्।   लगातार दुई खेलमा हार भोगेको यूएई सुपर थ्रीबाट नै बाहिरिएको छ। यूएई पहिलो खेलमा थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो।    यूएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो।   नेपालका लागि कप्तान इन्दु वर्मा २९ रनमा अविजित रहिन्। उनले २७ बलमा २ चौका प्रहार गरिन्। रुवि पोद्दार ६ रनमा नटआउट रहिन्।   ओपनर सम्झना खड्काले २१ रन बनाउँदै सुरक्षा कोटेको बलमा कट एन्ड बोल्ड भइन्। रुविना क्षेत्री २३ रन बनाउँदा ईशा ओझाको बलमा क्याच आउट हुन पुगिन्।    पूजा महतो १३ रन बनाउँदै पेभेलियन फर्किइन्। राजमती ऐरीले ८ तथा कविता कुँवरले ५ रन थपे।    त्यसअघि थाइल्यान्डको बैंककस्थित ट्रेडथाइ क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १४ रनको योगफल तयार पारेको थियो।    यूएईका लागि ओपनर तथा कप्तान ईशा ओजाले सर्वाधिक ३९ रन बनाउँदै क्याच आउट भइन्। विकेटकिपर तिथा सतिसले २१ रन बनाउँदै आउट भइन्। लावन्या केनीले १२ रन बनाउँदै आउट भइन्। हिना होट्चान्दानीले २० रन थपिन्।    नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन्। मनिषाले आफ्नो स्पेलमा मात्र २० रन दिइन्।    कविता कुँवरले दुई विकेट लिइन्। कविताले अन्तिम ओभरमा २ विकेट लिँदै यूएईलाई रोकेकी हुन्। राजमती ऐरीले एक विकेट आफ्नो नाममा गरिन्।    दोस्रो खेलमा नेपालले थाइल्यान्डविरुद्ध भोलि मंगलबार खेल्नेछ।

पोखरा:    गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् । आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् । ‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिईरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो, स्तरीय सेवा पाउन् र हामीजस्ता युवाहरुको रोजीरोटीको पनि गण्डकी सरकारको यो निर्णयले ग्यारेन्टी गरेको छ ।’ सेल्फ ड्राईभ सञ्चालक रमेशराज पाण्डेले भने ‘सरकारले ल्याएको नियमावलीले हामीलाई ब्यवशाय गर्न सहज हुनेछ, अव पहिलेजस्तो दुःख भोग्नु नपर्ला भन्नेमा खुसी छौँ ।’  सरकारले ल्याएको मापदण्ड भित्र रहेर सेवा दिन तयार रहेको बताउँदै उनले नेपालको पर्यटकीय राजधानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई नियम कानून भित्र रहेर सेवा दिन पाउने ढोका खुलेको भन्दै मुख्यमन्त्रीलाई धन्यवाद दिए । राइडर्सहरुको कुरा सुनेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले यात्रुको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकता दिएर नियमावली जारी गरेको बताए । ‘यसले यातायात संचालन गरिरहेका ब्यवशायीलाई पनि घाटा हुँदैन’ उनले भने ‘भाडाका सवारी सञ्चालन गर्दै आएका कम्पनीलाई प्रोत्साहित गर्न दर्तामा छुट दिने नीति लिइएको छ ।’ राईड सेयरिङमा दर्ता हुने कम्पनी र एप्सले सुरक्षाको सबै मापदण्ड पुरा गरेको हुनुपर्छ । ‘यात्रु र राईडर्सको पनि सुरक्षा हुने गरि नियमावलीमा ब्यवस्था गरिएको बताउँदै उनले पूर्ण पालना गर्न सुझाव दिए ।  ‘नागरिकले पनि सुविधा पाउने, थप रोजगारी सिर्जना हुने, अहिले कानूनी रुपमा अवैध रहेर संचालन भईरहेको सेवाले कानूनी मान्यता पाउने र सरकारलाई पनि राजस्व बढ्ने हुन्छ’ उनले भने ‘राईड सेयरिङ नियमावलीले कसैलाई घाटा छैन ।’  प्रक्रिया पुरा नगर्नेहरुलाई जरिवाना धेरै रहेको स्मरण गराउँदै मुख्यमन्त्री पाण्डेले भने ‘अटेर गर्नेलाई छुट हुँदैन, सबैले नियम पालना गर्नुहोला, सबैलाई गर्न भन्नुपनि होला ।’ गण्डकी प्रदेश सरकारले बैशाख ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी छुट्टै नियमावली जारी गरेको हो ।

काठमाडौं:    नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो । सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १।५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ । आफ्नो देश विशेष अनुकूलन आवश्यकताहरू पूरा गर्न राष्ट्रिय अनुकूलन योजनाहरू विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तरराष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरिने उल्लेख छ । संवादले विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट वित्तीय संयन्त्रका सञ्चालन निकाय र यूएनएफसीसीसी र पेरिस सम्झौताअन्तर्गतका कोषसहित अन्तरराष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासहरूलाई प्रोत्साहित गर्न आह्वान गरेको छ । पर्वतीय क्षेत्रहरूमा जलवायु कार्य र दिगो विकासका लागि लक्षित वित्तीय स्रोतहरू परिचालन गर्न पर्वतीय देशहरूको विकासका लागि समर्पित कोष स्थापना गर्ने आह्वानलाई समर्थन गर्ने र मौजूदा तथा नवप्रवर्तनकारी वित्तीय स्रोतहरूको उपयोग गरी पर्वतीय पारिस्थितिक प्रणाली सेवाहरूको मान्यता, सम्मान र पुरस्कृत गर्न प्राथमिकता दिने सगरमाथा कार्य आह्वानमा उल्लेख छ । दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष छ । संवादले ग्रामीण र सहरी समुदाय दुवैमा सानादेखि ठूला स्तरका पूर्वाधारसम्म हरित, लचिलो र समावेशी विकास प्रवर्द्धन गर्ने महत्त्वलाई स्वीकार गर्र्दै स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र न्यायपूर्ण ऊर्जाको महत्वलाई जोड दिने, स्वच्छ ऊर्जाका साथै हरित, चक्रीय र बायो–अर्थतन्त्रमार्फत भविष्यलाई शक्ति प्रदान गर्ने महत्त्वलाई स्वीकार गरेको छ । जलवायुजन्य विपद्हरूलाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानहरूलाई प्रवर्धन गर्ने आह्वानमा उल्लेख छ । ‘क्षेत्रीय जलवायु, मनसुन, क्रायोस्फियर र जनस्वास्थ्यमा गहिरो प्रभाव पार्ने ट्रिपल प्लानेटरी क्राइसिस र अल्पकालीन जलवायु प्रदूषकहरूमा विशेष ध्यान दिई हिमाल र जलवायु परिवर्तन एजेन्डामा संवादलाई प्रोत्साहित गर्दछौं । विकासशील देशहरूको आवश्यकता अनुरूप तथ्याङ्क प्रणालीलाई सुदृढ गर्ने, तथ्याङ्क साझेदारी र अन्तरसञ्चालन सुनिश्चित गर्ने र जलवायु एट्रिब्युशन र पूर्वचेतावनी संयन्त्रहरू विकास गर्ने अत्यावश्यकतालाई स्वीकार गर्दछौं’ सथरमाथा कार्य आह्वानका उल्लेख छ । बालबालिका, युवा, महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूको सक्रिय सहभागितामार्फत समावेशी जलवायु कार्यहरूलाई बढावा दिन र अन्तर–पुस्ता र अन्तर–पुस्ता समानता कायम राख्दै लैङ्गिक सन्तुलन कायम गर्ने आह्वानमा उल्लेख छ । पर्वतीय समुदायहरूको आवाजलाई विश्वव्यापी जलवायु प्रक्रियाहरूमा बुलन्द गर्ने उद्देश्यले संवाद, नवप्रवर्तन र सशक्तीकरणका लागि हिमाल र जलवायु परिवर्तनसम्बन्धी बहु–सरोकारवाला अन्तरराष्ट्रिय मञ्चको सिर्जना गर्न आह्वान गरिएको छ । आह्वानमा भनिएको छ, ‘स्थानीय र आदिवासी समुदायहरूको जलवायु नीति, कार्यक्रम र कार्यहरूमा, अनुकूलन र संरक्षण पहलसहित भूमिकालाई स्वीकार गर्दछौं । वातावरणीय सेवाहरूको भुक्तानीका लागि संयन्त्रहरू विकास गर्ने आवश्यकतालाई जोड दिने र नवप्रवर्तनकारी जलवायु वित्तपोषण अपनाउन सक्षम बनाउन आह्वान गर्दछौँ ।’ ज्ञान केन्द्रहरू विकास, उत्कृष्ट अभ्यासहरू साझा गर्ने र जलवायु नीति, कार्यक्रम र कार्यहरूमा स्थानीय समुदायहरूको भूमिका बढाउने आवश्यकतालाई जोड दिइएको छ । संवादमा सगरमाथादेखि समुद्रसम्म र उच्च भूभागदेखि टापुसम्म गुञ्जिने गरी तत्काल जलवायु कार्यका लागि साझा आवाज बनाउने संकल्प गरिएको छ ।