पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

पोखरा:   जेन–जी आन्दोलनका क्रममा कास्कीमा ९२ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचनामार्फत जनाएको छ । कार्यालयले घाइते लाई परिचयपत्र र भैपरी खर्च वितरण गरिने पनि बताएको छ । घाइतेहरूलाई आवश्यक कागजातसहित कार्यालयमा सम्पर्क गर्न कार्यालयले आग्रह गरेको छ। २०८२ साल भदौ २३ र २४ गते देशभर भएका जेन–जी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई नेपाल सरकारको असोज १२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार परिचयपत्र वितरण गर्ने निर्णय गरेको हो।  गृह मन्त्रालयबाट प्राप्त सूचनाअनुसार ‘जेन–जी आन्दोलन घाइते परिचयपत्र’ तयार भइसकेको र असोज २६ गते आइतबारदेखि देखि वितरण सुरु गरिने सूचनामा जनाइएको छ। कास्की जिल्लामा स्थायी ठेगाना भएका घाइतेहरूले आफ्नो नाम सूचीकृत रहेको भए कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुपर्ने भनिएको हो ।  आवश्यक कागजातमा अस्पतालको उपचार पूर्जी वा डिस्चार्ज कागजात, नेपाली नागरिकताको प्रमाणपत्र (सक्कल_, दुई थान फोटो र घाइतेको नाममा रहेको बैंक खाताको चेकको प्रतिलिपि समावेश छन्। साथै, आन्दोलनका क्रममा घाइते भई उपचार गराएका व्यक्तिहरूलाई तत्कालका लागि भैपरी खर्च वापत प्रति व्यक्ति २० हजार रुपैयाँ उपलब्ध गराइने भएको छ। सो रकम उपलब्ध गराउन आवश्यक बजेट प्राप्त भइसकेको छ।  सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जारी गरेको सूचनामा भनिएको छ, ‘परिचयपत्र र त्यसको अभिलेखमा घाइतेको औंठाछाप अनिवार्य रूपमा आवश्यक पर्ने भएकाले घाइते व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ।’ स्वयं उपस्थित हुन नसक्ने घाइतेको हकमा, परिवारका सदस्यहरूले कार्यालयमा जानकारी गराउन सक्ने प्रावधान गरिएको छ। उक्त कार्यको समन्वयका लागि प्रशासकीय अधिकृत झविश्वर रेग्मीलाई सम्पर्क व्यक्ति तोकिएको छ। 

काठमाडौं:  नेपाल राष्ट्र बैंकले एटीएमबाट दिने सुविधाका सीमाहरूलाई फेरबदल गरेको छ। राष्ट्र बैंकले शुक्रबार भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै प्रिपेड, डेबिट र क्रेडिट कार्डबाट हुने कारोबारको सीमा फेबदल गरेको हो।  यसअनुसार अब डेबिट कार्डबाट एक पटकमा २० हजार रुपैयाँ झिक्न पाइनेछ भने एक दिनमा ५० हजार रुपैयाँ झिक्न पाइनेछ।  पहिले एक पटकमा २५ हजार र एक दिनभित्र १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाले सीमा घटाएको हो। यस्तै महिनाभरमा भने ३ लाखसम्म झिक्न पाइनेछ। यसअघि ४ लाखसम्म झिक्न पाइने व्यवस्था थियो। राष्ट्र बैंकले प्रिपेड कार्डमा पनि प्रतिकारोबार रकम १० हजार र प्रतिदिन रकम २० हजार र प्रतिमहिना २ लाख रुपैयाँको सीमा कायम गरेको छ भने क्रेडिट कार्डमा स्वीकृत सीमाको १० प्रतिशतसम्मको सीमा कायम गरेको हो। बैंक तथा वित्तीय संस्थाहरुबाहेकका सेवा प्रदायक संस्थाहरुको प्रिपेड कार्डबाट भने प्रतिदिन ५ हजार र प्रतिमहिना २५ हजार रुपैयाँ निकाल्न सक्ने गरी सीमा कायम गरेको हो।

काठमाडौं:  आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले जितका लागि १३२ रनको लक्ष्य पाएको छ। ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको जापानले २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको हो।  एक समय १२.४ ओभरमा ९७-१ को बलियो अवस्थामा रहेको जापानले तेह्रौँ ओभरको पाचौँ बलमा विकेट गुमाएको थियो। नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान एक विकेट झारे।  जापानका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रनको योगदान दिए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। इसाम रहमानले ३१ रन बनाए। नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 

काठमाडौं:  संघीय राजधानी काठमाडौँलाई बाग्मती, मधेश र कोशी प्रदेशका जिल्लालाई जोड्ने बिपी राजमार्ग शुक्रबार दिउँसोबाट सञ्चालनमा आएको छ ।    असोज १७, १८ र १९ गतेको लगातार भएको वर्षा सँगैको बाढी पहिरोबाट राजमार्गको काभ्रे र सिन्धुलीको विभिन्न १३ ठाउँमा क्षति पुगेको करिब चार किलोमिटर सडकलाई अस्थायी रुपमा मर्मत गरी एकतर्फी रुपमा सञ्चालन गरिएको छ । सडक दुईतर्फी रुपमा भने आइतबारबाट सञ्चालनमा आउने संघीय सडक सुपरीपेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले जानकारी दिनुभयो ।    अवरुद्ध भएको सडक खुलाउन रोशीखोलमा डाइसर्भन निर्माण, बगरलाई मिलाउने र खाल्डा पुरिएको छ । क्षति पुगेको सडक सोमबारबाट मर्मत सुरु गरिएको थियो ।    बाढीपहिरोले काभ्रेको चौकीडाँडामा सडकलाई सबैभन्दा बढी क्षति पुर्याएको थियो । काभ्रेको कटुञ्जे, चारसयबेंसी, चिउरीबास, मङ्गलटार, कालढुङ्गा, पिप्ले (माथिल्लो), पिप्ले (तल्लो), मान्ती (माथिल्लो) र मान्तीमा सडक क्षति पुगेको थियो । यसैगरी, सिन्धुलीको बालुवा, आँपघारी र नेपालथोक ९झोलुङ्गे पुल०मा सडक क्षति पुगेको थियो ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार बिहान चौकीडाँडा क्षेत्रको अनुगमन गरी सडक मर्मतको जानकारी लिनुभएको थियो । उहाँले उपकरण तथा जनशक्ति थप गर्न र बत्तिको व्यवस्था गरी राति पनि काम गर्न निर्देशन दिनुभएको थियो ।  

काठमाडौं:   सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै असोज २३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनस्निर्माण र मर्मत सम्भार, क्षतिबाट प्रभावितको लागि राहत तथा आर्थिक पुनःउत्थान र सार्वजनिक सेवा सुचारु गर्न, प्रतिनिधि सभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपदबाट उत्पन्न विशेष परिस्थितिको लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमभित्रको आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ। नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकहरु सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभागमा पदस्थापना गर्ने निर्णय बैठकले गरेको छ ।  यस्तै, सरकारले तीन महिना अवधिको लागि इलाम जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ ।      

काभ्रेपलाञ्चोक:   गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाइ शनिबार बिहानदेखि सवारी सञ्चालनको तयारी गरिएको छ । हाल राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भइरहेको छ । आज बिहानसम्मा राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इान्जिनियर सुमान योगेशले बताउनुभयो । उहाँका अनुसार आज दिउँसोसम्म क्षतिग्रस्त राजमार्गको सम्पूर्ण खण्डमा ट्र्याक खोल्ने योजना छ । “ट्र्याक खोलिसकेपछि पुनः एकपटक सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्नेछौँ, शनिबार बिहानदेखि पूर्णरुपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ”, उहाँले भन्नुभयो । रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो । मङ्गलबारदेखि औपचारिक रुपमा डाइभर्सन निर्माण थालिएको हो । योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै ट्र्याक खोलिसकेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ, आज साँझसम्ममा सडक खोल्ने काम पूरा भइसक्छ ।” उहाँका अनुसार अहिले रोशी गाउँपालिकाको माम्ती क्षेत्रमा डाइभर्सन निर्माण भइरहेको छ । बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पु¥याएको थियो । सोही क्षेत्रमा गत वर्षको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिनुभएको थियो । घिसिङले रातको समयमा काम गरेर भए पनि आज बेलुकासम्ममा यातायात सञ्चालन हुनेगरी कामलाई तीव्रता दिन भन्नुभएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् ।

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नयाँ सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गते निर्धारित निर्वाचनको मिति घोषणा भएको स्थितिमा राष्ट्रपति पौडेल र दलका नेताहरुबीच पहिलो पटक संवाद हुन लागेको हो । राष्ट्रपति कार्यालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसहित राजनीतिक दलका अध्यक्षपछिको वरियतामा रहेका नेताहरु छलफलमा सहभागी हुने जनाइएको छ ।

काठमाडौं:   जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष नेपालमा ३१ जनाको मृत्यु भएको छ। नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट यस वर्ष मृत्यु हुनेको सङ्ख्या सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा।अभियान गौतमले जानकारी दिए।  जापानिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो। सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन। ‘विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो’, उनले भने, ‘मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन्।’ उनका अनुसार यस वर्ष जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण १६४ र गत वर्ष ८६ जनामा देखिएको थियो। खोप शाखा प्रमुख डा गौतमले खोप लगाएकामा विस्तारै खोपले काम गर्न छाडेपछि पनि सङ्क्रमणले गर्दा मृत्यु भइरहेको बताए। जापानिज इन्सेफ्लाइटिस अहिले ४२ जिल्लाका ११० पालिकामा फैलिएको छ। ‘विगतको तथ्यांक हेर्दा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गइरहेको छ’, उनले भने,’लामखुट्टे सक्रिय भएर हो कि, सुँगुर वा हाँसको पालनले गर्दा हो त्यसको अध्ययन हामीले गरिरहेका छौँ।’  उनका अनुसार यस वर्ष कोशी प्रदेशमा चार, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा पाँच, गण्डकी प्रदेशमा पाँच, लुम्बिनी प्रदेशमा ११, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा दुई गरी ३१ जनाको मृत्यु भएको छ।  इन्सेफ्लाइटिसबाट २८ जिल्ला उच्च जोखिमका रहेका छन्। यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ। नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइएको छ।  नेपालमा सन् १९९८ देखि वर्ष मुनिका बालबालिकालाई नियमित जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाइँदै आइएको छ। नेपालमा सन् १९७८ मा पहिलो पटक रूपन्देहीमा जापानिज इन्सेफ्लाइटिस रोग देखिएको हो । जापानमा भने सन् १८६१ मा देखिएको थियो।  खोपशाखा प्रमुख डा गौतमले जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण सन् १९९० देखि धेरै नै देखिने थालेको बताए। त्यसपछि सरकारले राष्ट्रिय खोपमा इन्सेफ्लाइटिसविरुद्धको खोप पाँच वर्ष मुनिका बालबालिकालाई प्रत्येक वर्ष नियमित दिँदै आएको हो।

म्याग्दी:   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिल चार दशकअघिसम्म ‘लुङटुङ’ डाँडामा सीमित थियो । कुनैबेला खिवाङगाउँका किसानको चरन क्षेत्र उक्त लुङटुङ डाँडा अहिले पुनहिलको नामले विश्व पर्यटन बजारमा चिनिएको छ । समुद्री सतहबाट तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिल प्रकृतिप्रेमी पर्यटकको आकर्षणको केन्द्रमात्र बनेको छैन । आर्थिक रूपमा पछाडि परेको बस्तीलाई सबल बनाउनेदेखि स्थानीय तहको आन्तरिक आयस्रोतको दरिलो आधारसमेत बन्न पुगेको छ । पुनहिलको फेदीमा रहेको घोडेपानीका होटल व्यवसायी एवं अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनका अनुसार पुनहिलको पर्यटन विकास र प्रवर्द्धनमा खिवाङका दिवङ्गत टेकबहादुर पुनको महत्त्वपूर्ण योगदान रहेको छ । “विसं २०३० को दशकमा भारतीय सेनाबाट सेवानिवृत्त मेजर टेकबहादुरले अगुवाइ गरेर लुङटुङको डाँडामा पर्यटक भित्र्याउन पहल नगरेको भए जति नै सुन्दर भए पनि यो क्षेत्र ओझेलमै रहन्थ्यो”, उहाँले भन्नुभयो, “मेजर टेकबहादुरले लुङटुङको डाँडालाई पुनहिलको नामले चिनाएकै कारण यसको पहिचान देशविदेशमा फैलियो, पर्यटकीय गतिविधि सुरु भएपछि गाउँलेको आर्थिक हैसियत पनि बदलियो ।” पहिले घोडेपानी पोखरा हुँदै मुस्ताङ नुन बोक्ने, मुक्तिनाथ तीर्थयात्राका क्रममा थकान मेटाउने र बटुवाहरूले घोडालाई पानी खुवाउने थलो थियो । पोखरादेखि उल्लेरी हुँदै मुक्तिनाथको दर्शन र थाकखोलाको नुन ल्याउन जाने मानिसहरूले खिवाङका बासिन्दाले गाईभैँसी चराउनका लागि बनाएको गोठमा चिया, खाजा बनाएर खान्थे । उल्लेरीदेखि घोडेपानी हुँदै शिख र घारमा बास बस्न पुग्थे । दर्जनौँ हिमाललाई एकै ठाउँबाट अवलोकन गर्न सकिने लुङटुङ डाँडामा गोठाला जाने क्रममा दिवङ्गत मेजर टेकबहादुरले देखेको पर्यटकीयस्थल बनाउने सपना साकार भएसँगै घोडेपानी र पुनहिलको परिचय फेरिएको गाउँपालिकाका पूर्वअध्यक्ष पुनले बताउनुभयो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा समेटिएपछि यस क्षेत्रका बारेमा अन्तरराष्ट्रियस्तरमा प्रचारप्रसारमा थप सहयोग पुगेको उहाँले बताउनुभयो । स्थानीय अगुवा हरिबहादुर पुनको डिजाइनमा स्थानीयवासीको श्रमदानमार्फत पुनहिलबाट दृश्यावलोकनका लागि २०३५ सालमा काठको टावर बनाइएको थियो । काठको टावर दिगो नभएपछि मेजर पुनकै ज्वाइँ लेप्टेन राजु पुनको पहलमा चन्दा सङ्कलन गरी २०५७ सालमा अहिले रहेको आकर्षक र पक्की भ्यूटावर निर्माण गरिएको थियो । सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, निलगिरिलगायतका दर्जनौँ हिमशृङ्खलाको अवलोकन गर्न सकिने यहाँको प्रमुख विशेषता भएको पथप्रर्दशक रूपक रिमालले बताउनुभयो । “चैतवैशाखमा पाखाभरि ढकमक्क फुल्ने थरिथरिका लालीगुराँससँग रमाउन र पुसमाघमा यहाँ हिउँ खेल्न पाइन्छ”, उहाँले भन्नुभयो, “प्रकृतिप्रेमी पर्यटकका लागि घोडेपानी–पुनहिल क्षेत्र उत्कृष्ट गन्तव्य हो, शान्त र एकान्त वातावरणमा रमाउन पाउँदा यहाँ आउने पर्यटकले यात्राको थकान पनि भुल्छन् ।” घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणका लागि असोज, कात्तिक, फागुन, चैत र वैशाख महिना उपयुक्त समय हो । यस क्षेत्रमा वार्षिक ३० हजारको हाराहारीमा पर्यटक भित्रिने गरेका पर्यटक प्रहरी चौकी घोडेपानीको तथ्याङ्क छ । पुनहिल भ्रमण गर्ने पर्यटकबाट प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु ५४ लाखमा ठेक्का सम्झौता गरेको छ । विदेशीले प्रतिव्यक्ति रु एक सय ५० र नेपालीले रु ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ । प्रवेश शुल्क सङ्कलन र चिया पसल सञ्चालनको ठेक्का लिएका व्यवसायी सुदीप पुर्जा पुनले पछिल्लो एक हप्तायता दैनिक एक सय ५० देखि दुई सय जनासम्म विदेशी पर्यटक आएका बताउनुभयो ।  “गत वर्ष यही याममा दैनिक चार सय जनाको अनुपातमा पर्यटक आएका थिए”, उहाँले भन्नुभयो, “जेनजी प्रदर्शन र प्रतिकूल मौसमका कारण यसपालि पर्यटक आगमन केही घटेको छ ।” घोडेपानीमा बास बसेका पर्यटकहरू एकाबिहानै करिब ४० मिनेट उकालो पैदलयात्रा गरेर सूर्योदय र हिमशृङ्खलाको अवलोकनका लागि पुनहिल पुग्ने गर्छन् । घोडेपानीमा हाल दैनिक एक हजार जनाभन्दा बढी बास बस्न सक्ने क्षमताको २३ वटा सुविधासम्पन्न होटल छन् । पर्यटकलाई अग्र्यानिक खानाका परिकार, सुविधासम्पन्न कोठा, इन्टरनेटलगायत सुविधा उपलब्ध गराइएको छ । समुद्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा पहाडको टाकुरामा अवस्थित घोडेपानीका अधिकांश होटलका कोठाबाटै हिमाल देख्न पाउनु अर्को विशेषता हो । पर्यटकीय नगरी पोखरादेखि नयाँपुल हुँदै एकै दिनमा घोडेपानी पुग्न सकिन्छ । यस्तै कास्कीको घान्द्रुक, म्याग्दीको भुरुङ तातोपानी र मोहरेडाँडा भएर पनि घोडेपानी पुग्न सकिन्छ । कास्कीको वीरेठाँटी–उलेरी–घोडेपानी, नयाँपुल–घान्द्रुक–घोडेपानी, म्याग्दीको नागी–महरे–फूलबारी–घोडेपानी र तातोपानी–घार–शिख हुँदै घोडेपानी पुग्न सकिने गरी पदमार्गहरू सञ्चालनमा छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै घार, शिख हुँदै सडकको प्रयोग गरेर पनि घोडेपानी पुग्न सकिन्छ । सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरेर पोखरेबगरदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति कार्य भइरहेको छ । कास्कीको नयाँपुल हुँदै घोडेपानी जोड्ने सडकको मार्ग खोलिएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।  “पुनहिलको ठेक्काबाट हुने आम्दानीको केही हिस्सा सोही क्षेत्रको पर्यटन पूर्वाधार विकासमा लगानी गरिरहेका छौँ ”, उहाँले भन्नुभयो, “पदयात्रा गर्न रुचाउने विदेशी पर्यटकसहित सवारीसाधनको सुविधा खोज्ने आन्तरिक पर्यटकलाई पनि पुनहिलमा भित्र्याउन प्रयास गरिरहेका छौँ ।” हालै मार्ग खुलेको कास्कीको नयाँपुलदेखि घोडेपानी हुँदै पोखरेबगर जोड्ने सडकलाई पोखरा–जोमसोम आवतजावतका लागि छोटो र विकल्पका रूपमा विकास गर्न लागिएको वडाध्यक्ष खड्काले बताउनुभयो ।