काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

पोखरा: नेपाल सरकार कानुन तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहियतालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदा प्रति नेपाली काँग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ । विभागद्धारा पोखरामा आयोजित महिलाहरुको बिशेष भेलाले नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ । सो पत्रमा महिलाहरुको आत्मसम्मानमा ठेस पु¥याउने गरि अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा धचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धि कानुन प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिएको छ । सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा उल्लेख भएका बिषयलाई सम्बन्धित ठाउँमा पुर्याउने बताउनुभयो । प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसै माथि विभेद नहुने स्पष्ट पार्नुभयो । संसार चलाउन भगवान्ले लिङ्गको आधारमा महिला र पुरुष भनिएको उहाँले बताउनुभयो । शरीर महिला हो भने पुरुष आत्म हो भन्ने भनाई राख्नुभयो । उक्त कार्यक्रममा काँग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारीले महिला नै काँग्रेस संगठनको मुल आधार भएको बताउनुभयो । त्यसैगरी उपसभापति मेखलाल श्रेष्ठले महिलाहरुलाई अझ सशक्त बनाई राजनीति मुलधारमा ल्याउन आवश्यक रहेको बताउनुभयो । महामन्त्री विष्णु लामिछानेले सवल संगठनको पहिलो आधार काँग्रेस भित्र महिला विभाग रहेको बताउनुभयो ।   पार्टी प्रवक्ता मधु बास्तोलाले नेपाली काँग्रेसमा मात्र समानुपातिक, समावेशीतालाई पहिलो मान्यता दिने भएकाले महिलाहरुलाई राजनीतिमा आउन उत्प्रेरित गर्नुभयो ।  गण्डकी प्रदेश महिला विभाग प्रमुख शकुन्तला शर्माले कार्यक्रमको अध्यक्षता गर्नुहुदै सरकारले ल्याउन थालेको विद्येयकको विरोध गर्नुभयो । प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा मनोनित गरिएका महिला विभागका सदस्यहरुलाई प्रमाण–पत्र प्रदान गरिएको छ । 

तनहुँ:  तनहुँको भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी परिवारको सम्पर्कमा आएका छन्।  १५ वर्षीया अस्मिता तामाङ, १६ वर्षीया सम्झना सुनार र १५ वर्षीया सीता सुनार गत सोमबारदेखि बेपत्ता भएका थिए। सोमबार बिहान विद्यालय जान घरबाट निस्किएका उनीहरू विद्यालय नगई बेपत्ता भएका थिए। उनीहरू परिवारको सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। ‘किशोरीहरूले आफूहरूलाई खोज्न पर्दैन’ भनेर भनेर अभिभावकलाई खबर पठाएका प्रहरीले जनाएको छ। सोमबार साँझसम्म पनि परिवारको सम्पर्कमा नआएपछि परिवारले इलाका प्रहरी कार्यालय भानुमा खोजी गरिदिन निवेदन दिएका थिए। उनीहरुको मोबाइलको अन्तिम लोकेसन पोखरा देखिएको छ। दुई बालिका भेटिए यसैबीच भानु नगरपालिका–४ राना गाउँबाट गत मङ्गलबार सम्पर्कविहीन भएका दुई बालिका भेटिएका छन्।  १२ वर्षीया मन्सु घर्ती र उनकी सानी बहिनी तीन वर्षीया कञ्चन घर्ती राति भेटिएका हुन्। काँक्रो चोरेको निहुँमा घरमा आमाले गाली गरेपछि त्यही रिसमा विद्यालय नगई दिनभर उनीहरु गाँउतिर लुकेको पाइएको छ। खोजी गर्ने क्रममा राति १२ बजे गाउँमै लुकेर बसेको अवस्थामा उनीहरुलाई भेटिएको प्रहरीले जनाएको छ। 

म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सेवाग्राही खोज्दै सहर पसेका छन् ।  सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाताप्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहरमा पुगेका हुन् । यही साउन १८ र १९ गते काठमाडौंमा घुम्ती शिविरमार्फत सेवा दिएको गाउँपालिकाले बुधबारदेखि गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित नेपाल छन्त्याल सङ्घको सभाहलमा शिविर सञ्चालन गरेको छ ।  पहिलो दिन करिब १५० जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा लिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।। ‘हरेक वर्ष भत्ताका लागि ‘बायोमेट्रिक’ सहित लाभग्राही सूची नवीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था छ’, उनले भने, ‘गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीहरूलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झन्झट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारी नै सहर झरेर नवीकरण गर्ने व्यवस्था मिलाएका हौँ ।’ गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि जनप्रतिनिधि र वडासचिवहरू सहरमा पुगेर सेवा दिएको बताए । अध्यक्ष र उपाध्यक्षका साथै सातवटै वडाका अध्यक्ष र तीन जना वडा सचिवहरूले शिविरमा सेवा दिएका छन् । गत आर्थिक वर्षमा धवलागिरिका दुई हजार ९३८ जनालाई १० करोड ५८ लाख चार हजार २८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । सेवासुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरे पनि धेरैले औपचारिक रुपमा बसाइँसराइ गरेका छैनन् । गत आर्थिक वर्षमा धवलागिरिमा ७६ परिवार बसाइँ गरेर जाँदा १० परिवार आएका थिए ।

विराटनगर:   कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरी घटना प्रकरणमा १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी कार्यालय विराटनगरमा मङ्गलबार ट्रान्सफर्मर चोरी घटनामा संलग्न ७ जना र उक्त सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो । पक्राउ परेकामध्ये मोरङ ग्रामथान, बेलबारी र सुनसरी दुहबीका स्थानीय युवाहरू रहेको प्रहरी नायब महानिरीक्षक ९डीआईजी० ईश्वर कार्कीले जानकारी दिए । यस्तै, चोरीका सामान खरिद गर्नेमा विराटनगर, दुहबी र इटहरीका व्यापारी छन् । झापा, सुनसरी र मोरङका विभिन्न स्थानबाट ट्रान्सफर्मर चोरी भइरहेको जानकारी पाएपछि प्रदेश प्रहरीले निगरानी र ‘स्टिङ अपरेसन’ सञ्चालन गरेको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा सीसीटीभी फुटेज, शङ्कास्पद स्थानमा खानतलासी, र तामा फ्याक्ट्री तथा भाँडा पसलमा निगरानी गर्दै आएको थियो । प्रहरीले पक्राउ परेकाहरूले सुनसरीबाट १२ थान, मोरङबाट ८ थान र झापाबाट २ थान गरी २२ वटा ट्रान्सफर्मर चोरी गरेको जनाएको छ । यस्तै, ट्रान्सफर्मरमा प्रयोग हुने ३ सय ७० किलोग्राम तामाको तार, चोरीमा प्रयोग भएका औजार, मोटरसाइकल ५ थान, पिकअप गाडी १ थान र मोबाइल १२ थानसमेत बरामद गरिएको छ । यस्तै, चोरीमा संलग्न व्यक्‍तिहरूबाट विभिन्न साइजका डायल रेन्च २२ थान, सलाई रेन्च ३ थान, पिलास ३ थान, पेचकस ३ थान, छिनो १ थान, साङ्ली १ थान, कैची १ थान, ह्याक्सो बिलेट ३ थान, खन्ती १ थान, ब्याट्री सहितको इलेकट्रिक ग्रेन्डर १ थान, झम्पल १ थान र उनीहरूले प्रयोग गरेका को १ च ७७२९ नम्बरको पिकअप गाडी १ थान, विभिन्न कम्पनीको ५ थान मोटरसाइकल र १२ थान मोबाइल समेत बरामद गरेको थियो ।

काठमाडौं:   सवारीसाधनमा अब इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा सचिवहरु सहभागी विषयगत समितिको बैठकले यो निर्णय गरेको हो । मंगलबार सम्पन्न बैठकले आगामी असोज १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर जडान गर्ने, गराउने निर्णय गरेको हो । सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयबाट सवारी दर्ता, नामसारी र नवीकरण गर्दा २०८२ असोज १ गतेदेखि लागू हुनेगरी अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने र सोको कार्यान्वयनका लागि प्राविधिक सहयोग विभागले उपलब्ध गराउने तथा गृह मन्त्रालयसँग समन्वय गरी ट्राफिक प्रहरीसमेत परिचालन गरी प्रभावकारी नियमन गर्ने बैठकको निर्णय रहेको छ । यसैगरी सुरक्षण मुद्रणसम्बन्धी ऐन, २०८१ को दफा ९ अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच छपाइ गर्न बाँकी सवारी चालक अनुमतिपत्र छपाइका लागि गत जेठ ९ गते समझदारीपत्रमा हस्ताक्षर भएको सन्दर्भमा सुरक्षण मुद्रण केन्द्रले २०८२ असार मसान्तसम्ममा प्रथम चरणको सवारी चालक अनुमतिपत्र उत्पादन सुरु गर्नेगरी २०८२ जेठ ९ गते केन्द्र र यातायात व्यवस्था विभागबीच सहमति गरिएकामा भदौ मसान्तभित्र यथाशीघ्र छपाइ सुरु गर्न केन्द्रलाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ । सवारी चालक अनुमतिपत्र छपाइका लागि कोशी प्रदेश, बाग्मती प्रदेश  र गण्डकी प्रदेशले आवश्यक खरिद प्रक्रिया अगाडि बढाइसकेको सन्दर्भमा सवारी चालक अनुमतिपत्र छपाइको कार्य अविलम्ब सञ्चालन गर्न सुरक्षण मुद्रण केन्द्रले अनुमति दिन अनुरोध गर्ने पनि निर्णय भएको छ । बैठकले १० वर्ष अवधिको सवारी चालक अनुमतिपत्र वितरणका लागि राजस्वमा एकरुपता कायम गर्ने, तथ्याङ्कहरुलाई डिजिटलाइज गर्ने, भुक्तानी प्रक्रियालाई विद्युतीय माध्यममा लैजाने, सफ्टवेयर प्रणालीलाई चुस्त र व्यवस्थित पार्ने, बेरुजु फछ्र्यौटलाई प्रभावकारी बनाउने, राइड सेयरिङबारे एकरुपता कायम गरी लागू गर्नेलगायतका निर्णय पनि गरेको छ । सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । मन्त्री दाहालले संविधान तथा ऐनहरुले निर्दिष्ट गरेको व्यवस्था कार्यान्वयन गर्दै सङ्घीयता कार्यान्वयनलाई बलियो पार्न आवश्यक रहेको बताउनुभयो । तीनै तहको समन्वय र सहकार्यबाट सङ्घीयता कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उहाँले समितिका निर्णयहरु कार्यान्वयनमार्फत नागरिकलाई सेवा छरितो पार्ने पार्न सकिने बताउनुभयो । यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले बैठकबाट विगतमा भएका निर्णयको समिक्षा गर्दै आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णय भएको बताउनुभयो । बैठकमा सङ्घीय र प्रदेशका मन्त्री, सचिवका साथै स्थानीय तहका जनप्रतिनिधीको सहभागिता रहेको थियो ।

काठमाडौं:  प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भिमनगर बोर्डर पोस्टबाट नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा सप्तरीको हनुमान क्रंकालिनी नागरपालिका–२ घर भएका २६ वर्षीय राजेश कुमार रजक र हनुमान कंकालिनी–१ घर भएका २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।  आरोपीहरूको साथबाट १ हजार दरको ३८ थान नक्कली रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले रातोपाटीलाई बताए ।  उनीहरू लु‍ ९२ प २३८० नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आएका थिए । आरोपीहरूले सो रकम ‘अर्कै व्यक्तिले दिएको’ बयान दिएका छन् । 

झापा:  झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गए राति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर मृत्यु भएको हो ।  मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा उनका छोरा सुशीलले देखेपछि गाउँलेलाई खबर गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ । यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक पुरुषको मृत्यु भएको थियो ।

ढोरपाटन:    ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा । समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो ।  भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन् । उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका लागि गोठबास (गोठस्टे) सञ्चालनमा ल्याइएको छ । केही समय अघिसम्म विश्रामका लागि यहाँ भेडीगोठबाहेक अरु कुनै पनि संरचना थिएन ।  गत वर्षदेखि बुकीपाटनमा पर्यटकको चाप बढ्न थालेपछि गर्पाछेडामा गोठस्टे सञ्चालनमा ल्याइएको हो । अहिले दैनिकजसो औसतमा एक सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन जाने गरेका छन् ।  विशेष गरी बर्खाको समयमा बुकीपाटन हरियाली देखिने र यहाँबाट अनगिन्ती हिमश्रृङ्खलासहित हजारौँको सङ्ख्यामा भेडाका बथानको अवलोकन गर्न सकिने हुँदा पर्यटकको आकर्षण बढेको हो ।  बुकीपाटन पुग्ने पर्यटकका लागि खाने र बस्नेको सुविधा नहुँदा उनीहरु भेडी गोठालेसँगै गोठमा रात बिताउने गर्थे । गोठमा रात बिताउँदा चिसोका कारण कति त बिरामीसमेत पर्थे । तर अहिले त्यो समस्याको कम भएको छ । पर्यटकको आगमनमा वृद्धि भएसँगै गत वर्षदेखि ढोरपाटनका सन्देश थापाले बुकीपाटनको प्रवेशद्वार गर्पाछेडामै गोठस्टे सञ्चालनमा ल्याउनुभएको हो । थापासँगै स्थानीय महेन्द्र घर्ती मगरले पनि यस वर्षदेखि गोठस्टे सञ्चालनमा ल्याउनु भएको छ । थापा र घर्ती मगरको गोठस्टे नजिकै छ । ढोरपाटन उपत्यकाबाट जाने पर्यटकलाई उहाँहरुले स्वागत गर्नुहुन्छ । घण्टौँको यात्रापछि गर्पाछेडा पुग्ने पर्यटक लागि गोठस्टे विश्रमस्थल बनेको छ । गोठस्टेबाट पर्यटकले उच्च पहाड, हिमश्रङ्खला र गोठलाको जनजीवन अनुभूत गर्न पाउँछन् ।   अघिल्लो वर्षको तुलनामा यस वर्ष बुकीपाटन आउने पर्यटक बढेको गोठस्टे सञ्चालक सन्देश थापाले बताउनुभयो । पछिल्लो समय बुकीपाटन सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रचारप्रसार हुन थालेपछि पर्यटक बढ्न थालेको उहाँको भनाइ छ ।  बुकीपाटन गोठस्टे सञ्चालन गर्नुको मुख्य उद्देश्य यस क्षेत्रको प्रवद्र्धन गर्नु र पर्यटकको सेवा गर्नु भएको उहाँ बताउनुहुन्छ । गोठस्टेमा बास बस्ने पर्यटकलाई ढोरपाटनमा उत्पादन भएको आलु, बुकीपाटनमा रहेका भेडा च्याङ्ग्राको मासु, लेकाली साग, आँटो ढिडोलगायतका परिकार खान दिने गरेको थापाले बताउनुभयो ।  “बुकीपाटनमा पर्यटक आउन थालेको धेरै भएको छैन, केही समय अघिसम्म यो क्षेत्र पर्यटकका लागि ओझेलमै थियो, दुईरतीन वर्षदेखि यहाँ बढी मात्रामा पर्यटक आउन थालेका हुन्, पोहोर सालदेखि मैले गोठस्टेसुरु गरे, यसवर्ष अर्को एक जना साथीले पनि सुरु गर्नुभएको छ”, उहाँले भन्नुभयो, “पहिले पर्यटक बुकीपाटन आउँदा गोठालासँग गोठमा बस्नु बाध्यता थियो, उहाँहरुलाई खाना र सुत्नका लागि निकै समस्या थियो, अहिले त्यो समस्याको समाधान गरेका छौँ ।” महेन्द्र घर्तीमगरले गत असार पहिलो सातादेखि गर्पाछेडामा गोठस्टे सञ्चालन गर्नुभएको हो । ढोरपाटन उपत्यकामा होटल सञ्चालन गर्दै आउनुभएका घर्तीमगरले गोठस्टे सञ्चालन गरेपछि बास बस्न आउने पर्यटक बढेको बताउनुभयो । गोठस्टेमा आउने पर्यटकले एक रातको बसाइँसँगै खाना र खाजाको रु दुई हजार पाँच सय शुल्क लिने गरेको उहाँको भनाइ छ । कोही पर्यटक बिहान ९ बजे बुकीपाटन पुग्ने र साँझ फर्किने गरेको उहाँले बताउनुभयो ।  “बुकीपाटनमा पर्यटकको आगमनमा धेरै वृद्धि भएको छ, सडकको पहुँच नभएको हुँदा पदमार्गमार्फत यहाँ आउनुपर्छ, हिँडेर आउँदा धेरैलाई थकान लाग्छ, त्यति मात्रै होइन यो ठाउँ उच्च क्षेत्रमा पर्ने हुँदा लेक लाग्छ, केही त बिरामी पर्नुहुन्छ”, घर्ती मगरले भन्नुभयो, “बुकीपाटन आउँदा स्वास्थ्यको ख्याल गरेर आउनुपर्छ, हामीहरुले गोठस्टेमा आउने पर्यटकका लागि सामान्य प्राथमिक उपचारको व्यवस्थाप गरेका छौँ, अब पर्यटकलाई पहिलेको जस्तो गोठमा बस्नुपर्ने अवस्था छैन ।” गर्पाछेडाबाट फागुने, टीकाधार, लगायतका स्थानमा पुग्न सकिन्छ । गोठस्टेले बुकीपाटन आउँदा बसाइँ र यहाँको घुमफिरलाई सहज बनाइ दिएको पोखरा महानगरपालिका–७ बाट आउनुभएका मुकेश सुब्बाले बताउनुभयो ।  बुकीपाटनमा आफू पहिलो पटक चार वर्ष अगाडि आएको भन्दै त्यस बेला गोठमै बसेर फर्किएको उहाँले सुनाउनुभयो । गोठस्टेमा होटलको जस्तो सुविधा नभए पनि बास बस्न र खाना खानका लागि धेरै सहज भएको उहाँको भनाइ छ ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य, सडक र हवाई यातायातमा पर्न सक्ने प्रभावबारे सतर्क रहन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । यसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ । मधेश प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ । बुधबार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । आज राति देशभर साधरणतया बदली रहनेछ । कोशी र मधेश प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । भारी वर्षाको सम्भावना रहेका ठाउँको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।