पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

म्याग्दी:  मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा रहेका होटल तथा रेष्टुरेष्टको क्षमताभन्दा बढी सङ्ख्यामा पर्यटक आएपछि व्यवस्थापन गर्न समस्या भएको छ ।  आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमालको फेदीमा पुग्ने आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ ।  पदमार्ग तथा आधार शिविरका टेन्ट र आश्रयस्थलको भवनमा एक दिनमा ५० जनासम्म बास बस्ने क्षमता  छ । दैनिक एक सय ५० जनाभन्दा बढी पर्यटकहरु आउन थालेपछि आवास व्यवस्थापनमा कठिनाइ भएको अन्नपूर्ण –४ का वडा सदस्य श्याम पुर्जाले बताउनुभयो ।  “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा पर्ने भएकाले पक्की संरचना बनाउने अनुमति नपाइने भएकाले गाउँपालिकासँग समन्वय गरेर गत वसन्त यामदेखि टेन्ट टाँगेर पर्यटकलाई खाने, बस्ने व्यवस्था मिलाइएको छ,” उहाँले भन्नुभयो “क्षमताभन्दा तीन गुणा बढी पाहुनाहरु आउन थालेपछि समस्या भएको हो ।”फुतफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा स्थानीयबासीले गत वैशाख महिनादेखि स्थायी संरचना बनाएर पाहुनालाई खाना, खाजा खुवाउने र सुत्ने व्यवस्था मिलाएका छन् । अपेक्षा गरेको भन्दा धेरै सङ्ख्यामा पर्यटक आएकाले व्यवस्थापनका लागि टेन्टको सङ्ख्या थप गर्न लागिएको पुर्जाले बताउनुभयो ।  होटल तथा लजको सुविधा नभएकाले यसअघि खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडालगायत समान आफैँले व्यवस्था गर्नुपर्ने समस्या थियो । आधार शिविरको भ्रमण गरेर आउनुभएका बेनीका सन्दीप खत्रीले तीन जनाको क्षमता भएको टेन्टमा सात जना सुत्नुपरेको बताउनुभयो ।  मानव बस्तीदेखि टाढा रहेको उक्त क्षेत्रमा सञ्चार, विद्युत् अभाव र आवास व्यवस्थापनमा समस्या भएको उहाँले बताउनुभयो । अर्का पदयात्री बिशाल खत्रीले भुसकेतदेखि आधार शिविर सम्मको तीन घण्टाको पदमार्गमा संकेत चिन्हहरुको आवश्यकता महसुस गरेको अनुभव सुनाउनुभयो ।  मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ ।  छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोँच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । पचहत्तर वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै वि।सं २०६७ मा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले वि।स। २०७७ मा मौरिस हर्गोज नामकरण गरी खुलाएको थियो ।  अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ ।  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को रु. पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको र थप पूर्वाधार निर्माणका लागि पहल गरेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो ।

काठमाडौं:   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्गकी तत्कालीन उपकुलपति प्राडा। सङ्गिता सिंह भण्डारीसहित १३ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। गैरकानुनी लाभ लिई संस्थालाई आर्थिक हानि पुर्‍याएको आरोपमा विशेष अदालत, काठमाडौँमा बिहीबार आरोपपत्र दायर गरेको जानकारी आयोगले दिएको छ ।  आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुुसार, एमआरआई मेसिन खरिद प्रक्रियामा प्रचलित सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ को उल्लङ्घन गर्दै बदनियतपूर्वक निर्णय, प्रक्रिया र मूल्याङ्कन गरिएकाले प्रतिष्ठानलाई करिब ६२ लाख रुपियाँभन्दा बढी आर्थिक क्षति पुर्‍याइएको ठहर गरिएको हो। मेसिन खरिदमा खरिद आवश्यकताको पहिचान र गुरुयोजना बिना बजेट माग, निश्चित कम्पनीलाई मात्र मेल खाने गरी प्राविधिक स्पेसिफिकेसन तयार पारिएको र एकै परिवारद्वारा सञ्चालित कम्पनीहरूमार्फत दररेट माग गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार राष्ट्रियस्तरको बोलपत्रमा नेपाली रुपियाँमा सम्झौता गर्नुपर्ने प्रावधान हुँदाहुँदै पनि अमेरिकी डलरमा शुल्क र भन्सार खर्चसमेत प्रतिष्ठानको कोषबाटै भुक्तानी गरिएको पाइएको छ। यसरी कुल १२ करोड ७ लाख ६० हजार ९४६ रुपियाँ १८ पैसा बराबरको खर्च भई प्रतिष्ठानलाई ६२ लाख ६० हजार ९४६ रुपियाँ बराबरको अतिरिक्त आर्थिक हानि पुगेको आयोगको निष्कर्ष छ। अनियमिततामा संलग्न १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।  आरोपितहरू   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. सङ्गिता सिंह भण्डारी तत्कालीन कार्यवाहक रजिष्ट्रार झन्कार लामिछाने तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव बायोमेडिकल इन्जिनियर शरद भण्डारी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी शाखा अधिकृत छायाँ डीसी शाखा अधिकृत श्रीराम चौधरी आइटी अफिसर हीरालाल भण्डारी सिभिल इन्जिनियर मदन भण्डारी वरिष्ठ सहायक अन्जु शर्मा स्वास्थ्य सेवा विभागकी बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई लुम्बिनी हेल्थकेयर प्रालिका अध्यक्ष पोष्टराज ज्ञवाली सजायको माग आयोगले प्रतिवादीहरूलाई भ्रष्टाचार निवारण ऐनको दफा ८ बमोजिम कैद सजाय, विगो रकम बराबर जरिवाना र बिगो असुलउपर गर्न माग गरेको छ। साथै, ऐनको दफा १९ र २२ बमोजिम अतिरिक्त सजायसमेत माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभएको छ । आयोगले दायर गरेको यो मुद्दा पछिल्लो समय सार्वजनिक खरिद प्रक्रियामा देखिएको प्राविधिक मिलेमतो र विदेशी भुक्तानीजस्ता अनियमितताविरुद्धको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

पोखरा:  पर्यटन क्षेत्रको विकास र सुरक्षालाई ख्याल गर्दै होटल संघ पोखरा नेपालले पर्यटकीय लेकसाइड र ड्यासाइट क्षेत्रका विभिन्न सडक, सहायक सडक र टोलहरुलाई लक्षित गरी संयोजकहरु तोकेको छ । विभिन्न २८ वटा स्ट्रिट र छ वटा टोलहरुलाई लक्षित गरी तोकिएका संयोजकहरुले स्थानीय व्यवसायी र टोलवासीसँग छलफल गरी सदस्यहरु तोकेर उपसमिति बनाउने छन् ।  उल्लेखित स्ट्रिट बाहेक ड्यामसाइड, खहरेचोक, गैह्राचौतारा, हल्लनचोक, जरेबर र ठाडोपसल क्षेत्रमा समेत यस्ता संयोजक तोकिएको हो । संघको कार्यालय डिहिको पाटनमा हालै आयोजित व्यवसायीको भेलाले उल्लेखित संयोजकहरु तोकेको संघले जनाएको छ ।   जेन–जी विद्रोहपछि प्रभावित हुन पुगेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउने, पर्यटक र व्यवसायी तथा टोलबासीको सुरक्षाको लागि संयोजकहरु तोकेर अगाडि बढिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।  ‘पर्यटन क्षेत्रमा चोरीका घटनापनि फाट्टफुट्ट देखिन थाले,’ ‘अध्यक्ष सुवेदीले भने, हाम्रो अभियान कसैप्रति लक्षित भन्दा पनि व्यवसायीको हकहित, पर्यटनको विकास र पर्यटकको सुरक्षासँग सम्वन्धित छ ।’ व्यवसायीलाई जागरुक बनाउने र पर्यटकलाई गुणस्तरीय सेवा दिन समेत आफूहरु एकजुट भएको अध्यक्ष सुवेदीले बताए । सबै होटल र टोलका सीसीटीभी क्यामेरा चालु अवस्थामा राख्ने, विग्रेका क्यामेरा र प्रणालीको मर्मत गर्ने, सुरक्षाकर्मीको आत्मबल बढाउन मद्दत गर्ने, सुरक्षाका लागि सहकार्य गरेर अगाडि बढ्ने, सडक वत्तीको मर्मतसंभार गर्ने र खाल्डाखुल्डी परेका सडकलाई मर्मत गर्न समेत तोकिएका संयोजक र उपसमितिले सघाउने संघले जनाएको छ ।

तनहुँ:   तनहुँको आँबुखैरेनीका कृषक मादले काँक्रोखेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय मादले काँक्रोले बजार पाउन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन् । यसपटक मात्रै यहाँका छवटा कृषक समूहमा आबद्ध कृषकले काँक्रो बिक्री गरी रु छ लाख ३५ हजार आम्दानी गरेका छन्। आँबुखैरेनी गाउँपालिका–५ लाब्दी भोटेश्वाराका वीरबहादुर गुरुङले काँक्रो उत्पादन र बजारीकरणमा गाउँपालिकाले सहयोग गरेपछि आम्दानी बढेको बताए। उनले यस वर्ष आफूले पनि काँक्रो बिक्री गरी रु ४० हजार ५०० आम्दानी गरेको बताए। गुरुङले ५० बोट काँक्रोका बिरुवा लगाएका छन्। ‘बजार नपाउँदा विगतमा काँक्रो कुहिएर जाने गरेको थियो । हाल बजार राम्रै छ’, उनले भने,‘गाउँपालिकाले हाम्रो उत्पादन हाटबजारसम्म निःशुल्क ढुवानी गरिदिएको छ, त्यसकारण सहज रूपमा काँक्रो बिक्री भइरहेको छ । यसले हामीलाई निकै सहज भयो।’ सोही ठाउँका जितबहादुर गुरुङले रु ३० हजार ५००, तुलबहादुर गुरुङले रु १२ हजार ५००, सङ्गीता गुरुङले रु ४५ हजार ५००, लालश्री गुरुङले रु ४५ हजार ५००, तेजबहादुर गुरुङले रु २० हजार ५००, डिलुमाया गुरुङले रु १२ हजार ५००, रत्नमाया गुरुङले रु १४ हजार ५००, सीता गुरुङले रु नौ हजार ५००, रजमाया गुरुङले रु दश हजार ५००, फूलमाया गुरुङले रु ३५ हजार ५००, धनमाया गुरुङले रु १५ हजार ५००, खड्क गुरुङले रु ५० हजारको मादले काँक्रो बिक्री गरेका छन्। छिम्केश्वरी कृषक समूहमा आबद्ध यीलगायत कृषकले मात्रै रु चार लाख तीन हजार बराबरको मादले काँक्रो बिक्री गरेको कृषक जितबहादुर गुरुङले जानकारी दिए। आँबुखैरेनीमा प्रत्येक सोमबार र शुक्रबार लाग्ने हाटबजारमा आफूहरूले उत्पादन गरेको मादले काँक्रोले राम्रो बजार पाएको उनले सुनाए। ‘गाउँपालिकाले जति उत्पादन भए पनि बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि हामी ढुक्क छौँ । यसले कृषकलाई आकर्षित गरेको हो’, गुरुङले भने। गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले यहाँका कृषकले करिब पाँच हजार ५०० केजी मादले काँक्रो उत्पादन गरी बिक्री गरेको जानकारी दिए। उनका अनुसार छिम्केश्वरी कृषक समूहका कृषकले रु चार लाख तीन हजार, घलडाँडा कृषक समूहका कृषकले रु एक लाख नौ हजार, केउरिनी कृषक समूहका कृषकले रु ७६ हजार, माई छिम्केश्वरी कृषक समूहका कृषकले रु १८ हजार, खोलागाउँ कृषक समूहका कृषकले रु तीन हजार, एकता कृषक समूहका कृषकले रु २६ हजार बराबरको काँक्रो बिक्री गरेका छन् । यसबाट ४४ जना कृषक लाभान्वित भएका छन्। केसीका अनुसार आँबुखैरेनी गाउँपालिका–५ र ६ मा धेरैले काँक्रोखेती गरिरहेका छन्। विगतमा विभिन्न जटिलतासँगै रोग कीराको प्रकोप, प्राविधिक ज्ञान र बजार समस्याका कारण सोचेअनुरुप उत्पादन हुन सकिरहेको थिएन। गाउँपालिकाले मादले काँक्रोलाई रैथाने बालीका रूपमा राखेर प्रवर्द्धनमा सहयोग गरेपछि केही समस्या समाधान भएको केसीको भनाइ छ। उनले भने, ‘यस वर्ष दुई वडाका ४४ जना कृषकले पाँच दशमलव पाँच मेट्रिक टन काँक्रो उत्पादन गरेर बिक्री गर्न सफल हुनुभयो । विगतमा उत्पादन भए पनि बजारीकरण मुख्य समस्याका रूपमा थिया । हाटबजारबाट यसको बजारीकरण हुँदा कृषक उत्साहित हुनाका साथै उत्पादन बढाउन प्रोत्साहित हुनुभएको छ।’ आँबुखैरेनी गाउँपालिका–२ मा प्रत्येक सोमबार र आँबुखैरेनी गाउँपालिका–३ मा प्रत्येक शुक्रबार हाटबजार लाग्ने गरेको छ। गाउँपालिकाभित्रका सबै कृषकले आफूले उत्पादन गरेका सामग्री यहाँ ल्याएर बिक्री गर्ने गर्छन्।

काठमाडौं:  अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु एक हजार २०० ले बढेर रु दुई लाख ३९ हजार २०० कायम भएको छ । चाँदीको मूल्य पनि बढेको छ । बुधबार एक तोला चाँदी रु दुई हजार ९५५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार २५ मा क्रयविक्रय भइरहेको महासङ्घका जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५५ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

काठमाडौं:  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको नेतृत्वमा उक्त मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैसीसहितको टोलीले हालैको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गका विभिन्न खण्डको आज अनुगमन गरेको छ । बाढीले क्षतिग्रस्त उक्त राजमार्गको करिब चार किलोमिटर खण्डमा अस्थायी ‘डाइभर्सन’ बनाएर सडक सञ्चालनको तयारीका क्रममा मन्त्री घिसिङ नेतृत्वको टोली अनुगमनमा निस्केको हो ।  मन्त्री घिसिङले कार्यक्षेत्रमा खटिका सडक विभागका इञ्जिनियर र निर्माण व्यवसायीलाई सङ्घीय राजधानी काठमाडौँसँग वाग्मती, मधेस र कोशी प्रदेशका जिल्लाहरुलाई जोड्ने ‘लाइफ लाइन’ का रुपमा रहेको यो सडकलाई जतिसक्दो चाँडो सञ्चालन हुनेगरी काम गर्न आग्रह गर्नुभएको छ । गत वर्षको बाढीले उक्त राजमार्गको भकुण्डे(नेपालथोक खण्डमा क्षति भएको थियो । उक्त खण्डमा अस्थायी डाइभर्सन निर्माण गरी सञ्चालन गरिएकामा हालैको बाढीले करिब चार किलोमिटर पुनः बगाएको छ । गत वर्षको बाढीबाट क्षतिग्रस्त सडक स्थायी रुपमा निर्माण गर्न केही खण्डको ठेक्का लागिसकेको छभने कही खण्डको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री घिसिङको निजी सचिवालयले जनाएको छ 

तनहुँ: तनहुँका स्थानीय तहले एक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेका छन् । गत आर्थिक वर्षमा जिल्लाका छ गाउँपालिकाले १५ दशमलव ६२ किलोमिटर सडक कालोपत्र गरेका हुन् । त्यस्तै ती पालिकाले ३८ दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेका छन् । म्याग्दे गाउँपालिकाले एक वर्षको अवधिमा एक दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।  त्यस्तै दुई दशमलव ५५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ भने तीन दशमलव एक किलोमिटर ग्राभेल गरिएको छ । सोही अवधिमा चार पक्की पुल निर्माण गरिएको अधिकारीले बताउनुभयो । व्यास नगरपालिकामा नौ किलोमिटर सडकको ट्रयाक खोलिएको छ । प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार पाँच दशमलव दुई किलोमिटर ग्राभेल, तीन दशमलव ९४ किलोमिटर कालोपत्र गरिएको छ एउटा पक्की पुल निर्माण गरिएको छ । ऋषिङ गाउँपालिकामा पाँच किलोमिटर सडकको ट्रयाक खोल्ने काम गरिएको प्रमुख प्रशासकीय अधिकृत अनिल अम्गाईले जानकारी दिए । उनका अनुसार १२ किलोमिटर सडक ग्राभेल गरिएको छ भने एक किलोमिटर कालोपत्र गरिएको छ । त्यस्तै एउटा पक्की पुल निर्माण भएको उनले बताए । बन्दीपुर गाउँपालिकामा १८ किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर केसीले जानकारी दिए । तेह्र किलोमिटर सडक ‘ग्राभेल’ गरिएको बन्दीपुरमा चार किलोमिटर सडक कालोपत्र गरिएको उनले बताए । घिरिङ गाउँपालिकामा एक दशमलव दुई किलोमिटर सडकको ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार दुई दशमलव पाँच किलोमिटर सडकको ग्राभेल गरिएको छ भने एक किलोमिटर सडक कालापत्रे गरिएको छ । आँबुखैरेनी गाउँपालिकामा चार दशमलव ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ भने दुई दशमलव आठ किलोमिटर ट्रयाक खोलिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त तिमिल्सिनाले जानकारी दिए ।

काठमाडौं:  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरस्थित एक होटलमा बस्नेछ । बैठकमा यही असोज २६ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकका एजेण्डाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घरमै आक्रमणमा परेर घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा आज पहिलो पटक पार्टीको बैठकमा उपस्थित हुँदैछन् । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका हस्ताक्षर सङ्कलन अभियान चलाइरहेका बेला पदाधिकारी बैठक बस्न लागेको हो ।

काठमाडौं:  ओमानमा जारी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराउँदै विजयी सुरुवात गरेको छ। यो जितसँगै नेपालले सुपर–६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। बुधबार अल अमेरतमै भएको खेलमा नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याउँदै कुवेत १८.१ ओभरमै ८३ रनमा अलआउट भयो। नेपालका सन्दीप लामिछाने, ललितनारायण राजवंशी र कप्तान रोहित पौडेलले समान दुई–दुई विकेट लिँदा कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले एक–एक विकेट झारे।   यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। ओपनर कुशल भुर्तेलले ५६ बलमा ६६ रनको शानदार पारी खेले भने गुल्सन झाले ६ बलमा २० रन जोडे। दीपेन्द्रसिंह ऐरी २० र कप्तान रोहित पौडेलले १६ रन थपे। कुवेतका बलर अनुदीप चन्दमार र नविनराज राजेन्द्रनले दुई–दुई विकेट हात पारे। नेपाल अब शुक्रबार जापानविरुद्ध दोश्रो खेल खेल्नेछ। नौ टिम सहभागी प्रतियोगिताबाट सुपर–६ हुँदै शीर्ष तीन टिमले भारत–श्रीलंकामा हुने २०२६ टी–२० विश्वकपमा स्थान बनाउनेछन्।