पोखरा: पोखरा महानगपालिका–१४ सेती दोभानमा गत सोमबार भेटिएको शवको पहिचान अझै हुन सकेको छैन् । पोखरा–१४ सेती दोभानमा गत सोमबार दिउँसो अन्दाजी २ः३० बजेको समयमा अन्दाजी ४५ वर्षीय एक पुरुष अचेत अवस्थामा फेला परेका थिए । सेती दोभान जाने भीर मुनी अचेत अवस्थामा फेला परेका पुरुषलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले उद्धार गरेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले अचेत अवस्थामा फेला परी मृत्यु भएको पुरुषको सनाखत हुन नसकेपछि आज (आइतबार) सामाजिकमा हुलिया र तस्वीर राख्दै चिनेजानेको भए सम्पर्कमा आउन आग्रह गरेको छ ।
ढोरपाटन: बागलुङ नगरपालिका–१ का डम्मरबहादुर मल्ल बिहान झिसमिसेमै कालिका मन्दिर गेटमा पुग्नुहुन्छ । जहाँ उहाँको सानो पसल र रोट (मन्दिरमा चढाउने प्रसाद) बनाउने अँगेनो छ । मन्दिरमा भक्तजन आउनुपूर्व नै मल्लले ‘रोट’ बनाउन सुरु गर्नुहुन्छ । मन्दिरमा आउने भक्तजन मल्लको रोट पकाउने अँगेनो छेउमै आएर तात्तातो रोट लिएर चढाउन जान्छन् । मल्ल बिहानदेखि साँझसम्मै रोट बनाउनमा व्यस्त हुनुहुन्छ । अहिले उहाँको दैनिकी रोट बनाउने र बिक्री गर्नमै बित्ने गरेको छ । मन्दिरमा आउने दर्शनार्थीले प्रसादका रूपमा आयातित तयारी मिठाई तथा नरिवल चढाउने चलन बढेपछि मल्लले मन्दिर गेटमै पसल स्थापना गरेर रोट बनाउन थाल्नुभएको हो । अहिले उहाँले उत्पादन गरेको रोट बागलुङमा ब्राण्ड बन्दै गएको छ । मन्दिरमा आउने हरेक दर्शनार्थीले मल्लले रोट बनाएको हेर्छन् । कतिले किन्छन् त कतिले रोट बनाएको देखेर मुख मिठाउँदै फर्किन्छन् । भगवान्लाई चढाउने रोट मल्ले बनाउन थालेपछि कालिका मन्दिरसँगै म्याग्दी, पर्वत र मुस्ताङ जिल्लाका अन्य मन्दिर पनि यहाँबाट किनेर लैजाने गरेका छन् । डम्मरले आयातित प्रसाद रोक्न छ वर्ष अगाडिदेखि यहाँ रोट बनाउन थाल्नुभएको हो । बागलुङ कालिकामा दुई दशक अगाडिसम्म रोट चढाइन्थ्यो । लामो समय मिठाई, नरिवललगायत अन्य प्रसाद चढाउन थालिएको कालिकामा अहिले फेरि रोट चढाउन सुरु भएको छ । पहिले पूजाअर्चना गर्न आउने दर्शनार्थीले घरबाटै तयारी रोट लिएर कालिका मन्दिरलाई चढाउने गरेकामा अहिले मल्लको पसलबाट किन्न थालिएको छ । बागलुङमा रोट बनाउने मल्ल एक्लो व्यवसायी हुनुहुन्छ । भगवान्लाई स्थानीय उत्पादन नै चढाउनुपर्छ भन्ने उद्देश्यले रोट बनाउन थालेको मल्ल बताउनुहुन्छ । पहिले हरेक नागरिकले मन्दिरमा पूजा गर्न आउँदा रोट ल्याउने गरेको स्मरण गर्दै त्यो परम्परालाई पुनः फर्काउनुपर्ने उहाँले बताउनुभयो । रोटलाई कालिका मन्दिर चढाइने शुद्ध र चोखो प्रसादका रूपमा लिने हुँदा पछिल्लो समय धेरैले रोट चढाउन थालेको मल्लको भनाइ छ । दुईतीन वर्ष अगाडिसम्म बुढापाकाले मात्र रोट किनेर चढाउने गरेको भए पनि पछिल्लो समय युवायुवतीले पनि चढाउन थालेका उहाँले सुनाउनुभयो । “कालिकामा रोट चढाउने त पुरानो प्रचलन हो, मौलिकता हो, तर पछिल्लो समय धेरैले बाहिरबाट ल्याएको प्रसाद चढाउन थाले, त्यसले गर्दा रोटको महत्व घटेको थियो, अहिले फेरि धेरैमा रोट चढाउनुपर्छ भन्ने सोचको विकास भएको छ”, मल्लले भन्नुभयो, “यहाँ बनाउने रोट शुद्ध हुन्छ, केही मिसावट हुँदैन, भक्तजनलाई उहाँहरूकै आँखा अगाडि रोट बनाएर दिन्छौँ, अहिले त धेरैले रोट चढाउनुपर्छ भनेर आउनुहुन्छ, विस्तारै रोट चढाउने थिति बस्दैछ ।” मल्ले रोट बनाउन थालेपछि सुरुमा बिक्री हुँदैनथ्यो । उहाँलाई स्थापित हुन निकै गाह्रोसमेत भएको थियो । तर अहिले मल्लको व्यवसाय फस्टाउन थालेको छ । अहिले पनि मन्दिरमा हजारौँ भक्तजन आए पनि सीमितले मात्र रोट चढाउने गरेका छन् । तर यसबाट मल्ल भने सन्तुष्ट रहेको बताउनुहुन्छ । मल्लले दसैँ अवधिमा मात्र रु दुई लाखको रोट बिक्री गर्नुभयो । हरेक दिन ५० देखि १०० रोट बिक्री हुने उहाँले सुनाउनुभयो । चामलको पीठोमा चिनी, नरिवल, बदाम, काजु मिसाएर घ्यूमा रोट पकाउने गरिन्छ । प्रतिगोटा रोटलाई चार सयका दरले बिक्री गर्ने गरेको मल्लले सुनाउनुभयो । वार्षिक रु सात लाखबराबरको रोट बिक्री हुने उहाँको भनाइ छ । रोट बिक्री गरेर भगवान्को सेवा गरेको भन्दै यहीबाट आफ्नो परिवार चलाएको मल्लले बताउनुभयो । पछिल्लो समय कालिका मन्दिरमा बर्सेनि ५० लाखभन्दा बढीको नरिवल बिक्री हुने गरेको छ । कालिका दर्शन गर्न आउने जोकोहीको हातमा पनि नरिवल हुन्छ । तर, पछिल्लो पुस्ताले बिर्सिएको रोट चढाउने परम्परा अहिले पुनः प्रचलनमा आउन थालेको छ । मन्दिर आउने बुढापाकाले रोट खोजेरै चढाउन लैजाने गरेका छन् ।
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले बढेको जनाएको छ । महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्यको मूल्य २ लाख ३५ हजार रुपैयाँ कायम थियो । यस्तै, आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ । महासंघले आज चाँदी प्रतितोला तीन हजार १२५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
झापा: झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ वटा राइफल फेला परेको छ। स्थानीयवासीले आज बिहान राइफल फेलापरेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएका हुन्। स्थानीयको खबरपछि प्रहरी निरीक्षक नवीन राईको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेका ती हतियार गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएका ३०३ थान राइफल म्यागजिनसहित भएको पुष्टि गरे। उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।
काठमाडौं: आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’को समूह विजेता बनेको नेपालले समूह ‘ए’को विजेता यूएईसँगको भेट पक्का गरेको हो । शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले जापानमाथि ५ विकेटको जित निकालेको थियो । समूह चरणको पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको थियो । सुपर सिक्सको पहिलो खेलमा आइतबार दिउँसो ४ः१५ बजे नेपाल र यूएई भिड्न लागेका हुन् । सुपर सिक्समा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ । सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग भिड्नेछ । सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ । सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन् ।
कैलाली: कैलालीमा एक युवकको हत्या भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका– ८ जरैमा गए राती साथीसाथीबीच विवाद हुँदा २८ वर्षीय केशर बहादुर बुढाको घाँटी रेटेर हत्या भएको हो । सँगै बसेर मदिरा सेवन गरेका बलबहादुर विक र गंगा बुढा क्षेत्रीले केशरको घाँटी रेटेर हत्या गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले बताए । हत्यामा संलग्न विक र बुढा क्षेत्री मृतकको टाउको बोकी सोही वडाको प्रतिखेतस्थित प्रहरी चौकीमा आत्मसमर्पण गर्न पुगेका थिए । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएको छ । बीभत्स घटना भएपछि सो क्षेत्रका स्थानीय त्रसित भएका छन् । मृतक बुढाका बाबुआमा सुर्खेतको चौकुने गाउँपालिका–३ मोरीवनस्थित घरमा बस्दै आएका छन् । सुर्खेतबाट मृतकका आफन्तहरू आइपुगेपछि शवको मुचुल्का, पोस्टमार्टम लगायतका कानूनी प्रक्रिया सुरु हुने अवस्थीले जानकारी दिए ।
डोटी: डोटीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ गइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गको जोरायल गाउँपालिका– २ मा दुर्घटना अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीय हरिना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खसेको थियो । तीव्र गतिमा रहेकाले गाडी अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताएका छन् । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दललाई आग्रह गर्दै शुक्रबार राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आह्वान गरिएको अन्तरिम सरकारसहितको सर्वदलीय बैठकमा उनले यस्तो आग्रह गरेका हुन । उनले शान्ति सुरक्षाको आवश्यक प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास आम नागरिकलाई दिलाउन सरकारलाई सुझाव दिएको प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पौडेलले लोकतन्त्रको रक्षाका लागि सबै मिलेर निर्वाचन सम्पन्न गराउनुपर्ने बताए । उनले पौडेलले राजनीतिक दलहरूमा कुनै द्विविधा र अस्पष्टता भए बैठकमा राख्न आग्रह गर्दै निर्वाचनबाहेक अन्य विकल्प खोज्न थालियो भने यसले देशलाई कहाँ पु¥याउँछ भन्ने पनि सोच्न आग्रह गरे । उनले पार्टीले कन्फ्युजन सिर्जना नगरी जेनजीको माग पनि आफूहरूले पुरा गर्ने भनेर जनतामा जान आग्रह गर्दै दलको सुरक्षाको चिन्तालाई सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताए । बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दल निर्वाचनमा जान सधैँ तयार रहेको बताउँदै अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने विषयमा संसय पैदा भएको बताएका थिए । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले दलहरूको सहभागिता विना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रबन्ध गर्ने विश्वास दिलाए । जेनजीहरू हामीहरू सबैको छोरा नाती भएकाले उनीहरूले किन आज यस्तो असंतुष्टी व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेका थिए । बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए । सो बैठकमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव वर्षमान पुनलगायत सहभागी थिए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबहाक सभापति डिपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषालको सहभागीता थियो। त्यस्तै, जनता समाजवादी पार्टीबाट रेनु यादव, जसपा नेपालबाट विद्युत बज्रचार्य र प्रकाश अधिकारी, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा। जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ती पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती, सहभागी थिए ।
काठमाडौं: आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको समूह विजेता बन्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा जापानलाई पाँच विकेटले हराउँदै दुई अंकका साथमा नेपाल सुपर सिक्समा प्रवेश गरेको हो । सुरुमा ब्याटिङ गरेको जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा पाँच विकेट गुमाएर भेट्टाएको हो । समूह उपविजेता बन्दै जापानसमेत सुपर सिक्समा प्रवेश गरेको छ । नेपालका लागि आशिफ शेखले सर्वाधिक ३८ रन बनाए । शेखले २१ बलको सामना गर्दा एक छौका र चार छक्का प्रहार गरे । गुल्सन झाले २८ रन बनाउँदा कुशल भुर्तेलले २१ रनको योगदान दिए । कप्तान रोहित पौडेलले १८ रन जोड्दा दीपेन्द्रसिंह ऐरीले १४ रन थपे । जापानका लागि शोमा स्लेटरले दुई विकेट हात पार्दा रेओ साकुरानो थोमस, सबोरिश रविचन्द्रन र डेक्लान सुजुकीले एकएक विकेट लिए । सुरुमा ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३१ रन बनाएको थियो । जापानका लागि केन्डेल काडोवाकी फ्लेमिङले अर्धशतक प्रहार गरे । उनले ४६ बलमा ६० रन जोडे । उसका लागि इसम रहमानले २५ बलमा ३१ रन थपे । सुरुमा आक्रामक ब्याटिङ गरेको जापानको पछिल्लोक्रम नेपाली बलरसामु टिक्न सकेको थिएन । जापानलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछाने र गुल्सन झाले दुईदुई विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले एकएक विकेट लिए । कसिलो बलिङ गर्नुभएका दीपेन्द्रसिंह ऐरीले तीन ओभर बलिङ गर्दा १५ रन खर्चिए । नेपालका लागि अलराउण्ड प्रदर्शन गरेका गुल्सन झा प्लेयर अफ द म्याच बने । उनले बलिङमा दुई विकेट हात पार्दा ब्याटिङमा महत्त्वपूर्ण २८ रन जोडे। नेपालले सुपर सिक्सको पहिलो खेल समूह ‘ए’को विजेता यूएईसँग आइतबार खेल्नेछ ।

