हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। सोमबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ। पछिल्लो ६ घन्टामा अर्घाखाँचीको राङसिङमा ५१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै मनाङको तालमा ४२ मिलिमिटर वर्षा भएको छ। कास्कीको लुम्लेमा २५.८ मिलिमिटर, दाङको लालमतियामा २७.२ मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार सोमबार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ। यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। आज राती कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
अविरल वर्षाले कोशी प्रदेशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ। सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ४४ पुगेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी दिपक पोखरेलले जानकारी दिएका छन। सबैभन्दा धेरै मृत्यु इलाममा भएको छ। जिल्ला प्रहरी कार्यालय इलामका अनुसार विभिन्न ठाउँमा पहिरो र बाढीका घटनामा परेर ३७ जनाले ज्यान गुमाएका छन्। त्यस्तै पाँचथरमा २, मोरङमा १, सुनसरीमा १, उदयपुरमा २ र खोटाङमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। वर्षासँगै पहाडी जिल्लामा पहिरो र तराईमा डुबानको जोखिम अझै उच्च रहेको प्रहरी भनाइ छ। त्यस्तै लगातारको वर्षापछि उर्लिएको सप्तकोशीको बहाब सोमबार बिहान भने घटेको छ। कोशी बराज कार्यालयका अनुसार आइतबार साँझ ५ लाख ३३ हजार ५४० क्युसेक पुगेको बहाब सोमबार बिहान ४ लाख ५५ हजार ९१० क्युसेकमा झरेको हो । हाल पनि बराजका सबै ५६ वटै ढोका खुला रहेका छन्। पानीको बहाब घटे पनि नदी किनारका बस्तीमा जोखिम कायमै रहेको अधिकारीहरूको भनाइ छ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरी गन्तव्यमा जाने सवारी साधनहरुलाई आज बिहान ६ बजेदेखि बाटो खुला गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले आज बिहान ६ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा अवरोध नभएको जनाएको छ । र, सडक प्रयोगकर्तालाई सावधानीपूर्वक यात्रा गर्न भनेको छ । असोज १७ र १८ गतेको वर्षापछि पहिरो खस्ने र बाटो अवरुद्ध हुने गरेको थियो । जमिन भिजेर कमजोर भएकाले कुनै पनि बेला ढुंगा वा पहिरो खस्न सक्ने भएकाले सावधानी अपनाउन भनिएको हो । चितवन भएर यात्रा गर्नेहरुलाई बेलुका ९ बजेभित्र चितवन आइसक्न र पोखरा वा काठमाडौंतर्फ जानेहरुलाई पनि राति ९ बजेभित्र चितवनको सिमानाबाट निस्किसक्न भनिएको छ । हिजो बेलुका ९ बजेपछि चितवन आइपुगेका गाडीहरुलाई प्रहरीले आँपटारी क्षेत्रमा रातभर रोकेर आज बिहान ६ बजेदेखि गन्तव्यमा जान दिएको छ ।
विराटनगर: दुई दिनदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले सबैभन्दा ठूलो मानवीय क्षति इलाममा पुर्याएको छ । कोशी,बाग्मती र मधेश तीनवटा प्रदेशका जिल्लाहरु बाढी पहिरोबाट अत्यधिक प्रभावित छन् । भारी र अतिभारी वर्षाका कारण यी तीन प्रदेशमा जनजीवन अत्यधिक प्रभावित छ । वर्षा त करिब रोकिइसकेको छ । तर अझै बाढी र पहिरोको जोखिम टरेको छैन । अन्यत्र भौतिक क्षतिको मात्र बढी भएपनि इलाममा भौतिकसहित मानवीय क्षति अध्यधिक भयो । इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। पहिरोमा परी ज्यान गुमाउनेमा माईजोगमाई गाउँपालिका–६ का २८ वर्षीय किरण थेवे, १८ वर्षीया मनमाया थेवे, तीन वर्षीया मुनुसा थेवे, माईजोगमाई–३ का ८२ वर्षीय बर्मालल सोङमी, ७० वर्षीया बुद्धमाया सोङमी, ४६ वर्षीय धनबल सोङमी, ४२ वर्षीया सरला सोङ्मी र १४ वर्षीया प्रकृति सोङमी रहेका छन्। यस्तै, फाकफोकथुम गाउँपालिका–३ का २८ वर्षीय सुरेश लिम्बू, सूर्योदय नगरपालिका–१ की ६५ वर्षीया मनमाया क्षेत्री र १० वर्षीया रस्मिका क्षेत्री, इलाम नगरपालिका–६ का २३ वर्षीय समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङले पहिरोमा परी ज्यान गुमाएका छन्। यस्तै, देउमाई नगरपालिका–५ का २२ वर्षीय रोशन लिम्बू, २२ वर्षीया बेबिसा राई, ३० वर्षीय दीपक लिम्बू, २७ वर्षीया ऋषिका लिम्बू, १० वर्षीया दिपिस्का लिम्बू, देउमाई–३ का २८ वर्षीय कृष्ण मगर र माई नगरपालिका–५ की ८ वर्षीया प्रिन्सिखा मगरको ज्यान गएको छ। पहिरोमा परी माङसेबुङ गाउँपालिका–१ का ५७ वर्षीया कृष्णमाया लिम्बू र ५० वर्षीया माया लिम्बू, सन्दकपुर गाउँपालिका–१ का ४३ वर्षीय भीमबहादुर राई, ६६ वर्षीया हरिमाया राई, ४७ वर्षीया देवी राई, ५४ वर्षीय शेखर राई, ७४ वर्षीया शारदा सेढाईं र ४८ वर्षीया तारादेवी राईको ज्यान गएको छ। पहिरोमा विभिन्न कामले इलाम आएका जिल्लाबाहिरका नागरिकले समेत ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेमा झापाको अर्जुनधारा नगरपालिका–६ की ३२ वर्षीया अनु तामाङ र ती वर्षीय आवास दनुवार, पाँचथरको फाक्तेपका नौ वर्षीय सौजन लिम्बू र ११ वर्षीय सौगात लिम्बू र मिक्लाजुङ गाउँपालिका–६ की १७ वर्षीया नेहा राई रहेका छन् ।
काठमाडौं: अनलाइन न्यूज पोर्टल दर्ता तथा नवीकरण अब पुरानै व्यवस्थाअनुसार सूचना तथा प्रसारण विभागबाट गर्ने व्यवस्था सरकारले गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आजको मन्त्रिपरिषद बैठकबाट सो निर्णय भएको जानकारी दिनुभयो । प्रधानमन्त्री सुशीला कार्कीको सम्बोधन लगत्तै पत्रकारमाझ निर्णय सार्वजनिक गर्नुहुँदै मन्त्री खरेलले सो जानकारी गराउनुभएको हो । त्यसैगरी सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय पनि मन्त्रिपरिषदबाट भएको उहाँले जानकारी दिनुभयो । सरकारले सुरक्षण मुद्रण नियमावली २०८२ लाई स्वीकृत गर्ने निर्णय भएको छ । मन्त्री खरेलले मन्त्रिपरिषदको बाँकी निर्णय शुक्रबार ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी जानकारी गराउने बताउनुभयो । प्रधानमन्त्रीको सम्बोधनअघि सिंहदरबारमा मन्त्रिपरिषद बैठक बसेको थियो ।
चितवन: नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत तुईन खोलामा पहिरोमा फसेका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुहलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मङ्गलबारदेखि पहिरोले रोकिएका यात्रुहरुलाई बस सेवा सुरु गरिएको हो । प्रहरी स्कुल शान्तिपुरका दुईवटा बसले निःशुल्क सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो । तनहुँतर्फको बाटो हुँदै पाँच किलोको पुलसम्म आएका यात्रुहरुलाई लक्षित गरेर बससेवा सञ्चालनमा ल्याइएको हो । उहाँले भन्नुभयो,“पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएका हौँ।” पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । पाँच किलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रुहरु ल्याइएको भए पनि आजदेखि पाँचकिलोबाट यात्रुलाई ल्याउन थालिएको हो। सडक अवरुद्ध भएपछि यात्रुहरूले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनुपरेको छ । पहिरो समय समयमा खसेकाले पन्छाउन कठिन भएको हो । शुक्रबारसम्ममा पहिरो पन्छ्याइ सक्ने अनुमान गरिएको छ । गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइएको भए पनि पुन मङ्गलबार पहिरो खसेर सडक अवरुद्ध भएको छ । आज पनि बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको छ ।
पोखरा: जेन–जी आन्दोलनमा आगलागीबाट क्षति भएका कास्कीका विभिन्न पाँच स्थानमा युनाइटेड क्लबले कम्प्युटर तथा प्रिन्टर प्रदान गरेको छ । जनता संग प्रत्यक्ष सरोकार राख्ने जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला सरकारी वकिलको कार्यालय कास्की र पोखरा महानगरका वडा नं १०, १२ र १५ नम्बर वडा कार्यालयलाई युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत कम्प्युटर र प्रिन्टर प्रदान गरेको हो । पोखरा महोत्सवको आयोजना गरि शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा काम गर्दै आइरहेको युनाइटेड क्लबले तिहारको अवसरमा आयोजना गरिने देउसी भैलो कार्यक्रमबाट संकलित रकमबाट स्थापित विपद ब्यवस्थापन कोष अन्तर्गत उक्त सहयोग प्रदान गरिएको हो । जेन्जी आन्दोलनले निम्त्याएको संकटको बेला युनाइटेड क्लबले कार्यालयलाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेकोमा कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले युनाइटेड क्लबलाई धन्यवाद ब्यक्त गरिन । संकटको बेलालाई सबैले मिलेर सामाना गर्दै अगाडी बढ्नुपर्नेमा शर्माले जोड दिइन । त्यस्तै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले सामाजिक काममा छुट्टै पहिचान बनाएको युनाइटेड क्लबले संकटको बेलामा वडालाई आवश्यक पर्ने सामाग्री प्रदान गरेकोमा धन्यवाद ब्यक्त गरे । वडा नं १५ का सम्पूर्ण सामाग्रीहरु जेन्जी आन्दोलनको क्रममा आगलागीबाट नष्ट भएर जनताको काममा प्रत्यक्ष असर परिरहेको सन्दर्भमा युनाइटेड क्लबले कम्प्युटर र प्रिन्टर प्रदान गरी वडाको दैनिकी कामकाजमा सहयोग पुग्ने उनको भनाइ रहेको थियो । युनाइटेड क्लबले जेन्जी आन्दोलनको क्रममा सानो भएतापनि सहयोग गर्ने उद्देश्यले जनता संग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालय र वडा कार्यालयहरुलाई आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर प्रदान गरेको युनाइटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले बताए । थापाका अनुसार पोखरा महानगरका वडा नं १०, १२ र १५ संगै जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला सरकारी वकिलको कार्यालय कास्कीलाई कम्प्युटर र प्रिन्टर प्रदान गरिएको हो । युनाइटेड क्लबले विपद ब्यवस्थापन कोष अन्तर्गत पूर्वको उदयपुर देखि पश्चिमको कैलाली सम्म विभिन्न विपदमा परेकाहरुलाई सहयोेग प्रदान गर्दै आइरहेको छ । गत भदौ २४ गते जेन्जी आन्दोलनको क्रममा आगलागीबाट पोखरा महानगर भित्रका सरकारी तथा निजी सम्पदाहरु आगलागीबाट पूर्ण रुपमा क्षती पुगेकोे र आफुहरुले कास्कीका विभिन्न पाँचवटा कार्यालयमा सहयोग प्रदान गरेको क्लबका द्धितिय उपाध्यक्ष तथा विपद ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए ।
पोखरा: हेमजा साहित्य प्रतिष्ठान नेपालद्वारा सञ्चालित राधा–लक्ष्मी पुरस्कार यस वर्ष पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको छ । समाजिक एवम् धार्मिक व्यत्तित्व स्व.लक्ष्मी शरण उपाध्याय र उहाँकी श्रीमती स्व.राधा पौडेलको स्मृतिमा उहाँका परिवारजनद्वारा स्थापित अक्षयकोषको ब्याज रकमबाट प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तित्व, समाजिक संघ संस्था आदिलाई पुरस्कृत गर्ने गरिएकोमा यस वर्ष राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई प्रदान गरिएको हो । स्व.लक्ष्मी शरण उपाध्यायको जन्मजयन्तीका अवसर पारी एक कार्यक्रमका बीच आज हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष सुनिल गायक र अक्षयकोषदाता परिवारका सदस्यका तर्फबाट राधाकृष्ण मन्दिर शान्ति आश्रमका प्रमुख संरक्षक(महन्त) मुकुन्दशरण उपाध्यायलाई नगद २० हजार पाँच रुपैयाँ सहित सम्मानपत्र प्रदान गरिएको हो । पुरस्कारका लागि व्यक्तित्व÷संस्था छनौटका लागि प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेलको संयोकत्वमा केशव शरण पौडेल र छन्दमणि त्रिपाठी सदस्य रहनुुभएको छनौट समिति गठन गरिएकोमा सो समितिको सिफारिसलाई प्रतिष्ठानले अनुुमोदन गरेको थियो । पुरस्कारका लागि अक्षयकोषको रकम दुुई लाख पच्चीस हजार रुपैयाँ रहेको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले प्रतिष्ठानद्वारा राधाकृष्ण मन्दिर शान्ति आश्रमलाई गरिएको सम्मानको प्रशंसा गर्नुुभयो । सामाजिक एवम् धार्मिक जागरणमा उल्लेख्य योगदान गरिरहेको संस्थालाई गरिएको सम्मान सबैको सम्मान भएको उहाँले धारणा राख्नुुभयो । राधाकृष्ण मन्दिर शान्ति आश्रमका प्रमुख संरक्षक मुकुन्द शरण उपाध्यायले स्व. लक्ष्मी शरण उपाध्यायले सामाजिक एवम् धार्मिक क्षेत्रमा पुु¥याउनुुभएको योगदानको स्मरण गर्दैै उहाँको स्मृतिमा पुस्रकार स्थापनार्थ अक्षयकोष राखिएकोमा प्रशंसा व्यक्त गर्नुुभयो । प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको सभापतित्व एवम् उपाध्यक्ष छन्दमणि त्रिपाठीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत तथा धन्यवाद ज्ञापन अक्षयकोषदाता परिवारका केशव शरण पौडेल र माधव शरण पौडेलले गर्नुुभएको थियो । कार्यक्रमका पुरस्कृत प्रतिभा÷संस्था छनौट समितिका संयोजक कृष्णप्रसाद पौडेल, छन्द नायक माधव वियोगी, राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका का.वा. अध्यक्ष माधव शरण उपाध्याय लगायतले बोल्नुुभएको थियो । कार्यक्रममा भगवती पन्त, हरिप्रसाद खनाल, धर्मराज पौडेल लगायतले रचना वाचन गर्नुुभएको थियो ।
बागलुङ: बडादसैँलाई महत्त्वका साथ मनाउने नेपालीहरूको घरमा घटस्थापनादेखि नै चहलपहल सुरु हुन्छ । घटस्थापनामा जमरा राखेर दसैँ सुरु भए पनि बागलुङको एक सीमान्तकृत समुदायको घरमा भने घटस्थापनामा सुनसान हुन्छ । जमरा राख्नु पूर्व घरलाई लिपपोत गर्ने, रङ्गाउने प्रचलन भए पनि बागलुङ नगरपालिका–१ रामरेखाको एक माझी समुदायमा भने अझै दसैँको चहलपहल छैन । घटस्थापनाको दिन राखेको जमरा विजयादशीको दिन टीकासँगै मान्यजनको हातबाट लगाउने चलन भए पनि जमरा नराखी माझी समुदायले दसैँ मनाउने गरेका छन् । जमराबिना दसैँ मनाउने अनौठो परम्परालाई यहाँका माझी समुदायले वषौँ देखि निरन्तरता दिँदै आएका छन् । जमरा राखे नराम्रो घटना घट्ने भन्दै दुई पुस्ताभन्दा पहिलेदेखि जमरा नराखी नै दसैँ मनाउँदै आएको माझी समुदायका अगुवाहरूले बताउने गरेका छन् । घरमा जमरा राखे दसैँ नै अशुभ हुने परम्परागत मान्यताका आधारमा जमरा नराखी दसैँ मनाउने गरेको स्थानीय देउकुमारी माझीले बताइन् । पिता पुर्खाले भनेअनुसार अनिष्ट हुने खतरा टार्नका लागि दसैँमा जमरा नराख्ने गरिएको उनको भनाइ छ । करिब डेढ सय वर्ष अघिसम्म जमरा राखे पनि पछि अनिष्ट हुन थालेपछि जमरा राख्न छोडिएको भन्ने गरिएको माझीले बताइन् । यो समुदायमा जमरा राखेपछि घरकी कन्याको मृत्यु भएको किंवदन्तीअनुसार जमरा राख्न छोडिएको बताइन्छ । यहाँको खनियाबास र मालढुङ्गामा बस्ने माझीहरूले घरमा जमरा नराखे पनि नजिकको मन्दिरबाट जमरा लगेर दसैँ भने मनाउँदै आएका छन् । “जमरा राख्दा घरकी कन्याको मृत्यु भएको र जमरा नराख्दा मृत्यु हुन छोडेको किंवदन्तीअनुसार जमरा राख्ने चलन छोडिएको बताइन्छ, तर दसैँ भने मनाउँदै आएका छौँ”, माझीले भनिन्। स्थानीय कृष्ण माझीले जमरा नराख्ने चलनमा यहाँका समुदायको साझा सहमति रहेको बताए । जमरा राखेपछि लगातार छोरीचेलीको मृत्यु भएर दसैँ रोकिएकाले जमरा राख्न छोडिएको हो भनेर पुर्खाहरूले भन्दै आएकाले पछिल्लो पुस्ताले पनि त्यसलाई निरन्तरता दिएको उनले सुनाए । खनियाबास र मालढुङ्गामा माझी समुदायका २० परिवारको बसोबास छ । पुर्खौँदेखि कालीगण्डकी नदीमा माछा मार्ने, डुङ्गा खियाउने र बालुवा निकालेर गर्जो टार्दै आएका यहाँका माझीहरूले पछिल्लो समय पेसा परिवर्तन गर्दै आएका छन् ।

