काठमाडौं:  यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन स...

काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको नेतृत्वशैलीले व्यवस्था बदलिए पनि अवस्था बदलिन नसकेको बताउनुभएको छ ।       बौद्धिक पेशाकर्मी परिषद्ले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेतृत्वशैली बदल्नुपर्ने बताउनुभएको हो ।       “अहिले नागरिकले नेतृत्वसँग शुद्धता र योग्यता दुवै खोजेका छन्, योग्यता र शुद्धता भएको नेतृत्वले अहिलेको समस्या समाधान गर्न सक्छ,” महामन्त्री थापाले भन्नुभयो । सरकारले सेवा प्रवाह गर्न सक्नुपर्ने उल्लेख गर्दै उहाँले शिक्षक र सहकारी पीडितका समस्या समाधानमा जोड दिनुभयो ।       सांसद सूर्य थापाको नेतृत्वमा गठित संसदीय समितिले सहकारी छानबिनसम्बन्धी प्रतिवेदन दिएको लामो समयसम्म पनि रु पाँच लाखभन्दा कम बचत गरेका सहकारी पीडितले बचत फिर्ता पाउन नसकेको बताउँदै उहाँले सेवाप्रवाह छिटो र चुस्त बनाउन पार्टीले सरकार एवं मन्त्रीहरुलाई अनुरोध गरिरहेको जानकारी दिनुभयो ।       “सरकारलाई सही निर्णय गर्नुस्, रक्षा गर्छौँ, गलत निर्णय गरे प्रतिरक्षा गर्न सक्दैनौँ भनेका छौँ, गभर्नर बिचौलियाले बनाउने होइन, प्रक्रियाबाटै बन्नुपर्छ, भन्ने धारणा राखेका छौँ,” उहाँले भन्नुभयो ।       परिषद्का अध्यक्ष धु्रवराज थापाले आर्थिक, सामाजिक र राजनीतिक हिसाबले देश अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गर्दै यस्तो अवस्थाको सुदृढीकरणमा नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।       कार्यक्रममा कोशी प्रदेश, अर्थ समितिका विज्ञ ध्रुव घिमिरे, गैर आवासीय नेपाली सङ्घका राजेन्द्रकुमार राउत, खुला विश्वविद्यालयका डा चिरञ्जीवी भट्टराईलगायतले सरकारले सेवाप्रवाह समयमा गर्न नसक्दा सेवाग्राही प्रभावित भएर असन्तुष्टि बढेकामा सत्तारुढ दलका नेताको ध्यान जानुपर्ने बताएका थिए ।

चितवन:  दुर्लभ एकसिङ्गे गैँडाको चोरीसिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीसिकारी हुन नपाएको हो ।   निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए ।  त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो । यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरीसिकार हुन नपाएको उहाँले बताउनुभयो ।  चालु आर्थिक वर्षको हालसम्म २४ गैँडा मृत भेटिएका छन् । यी सबै प्राकृतिक कारणले मरेका हुन् । सूचना अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बूढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् । निकुञ्ज आसपास बसोबास गर्ने जनता सचेत हुँदा चोरीसिकारीले गैँडा मार्न नपाएका हुन् । गत आर्थिक वर्षमा गैँडा २१ वटा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले होभने दुईवटा चोरीसिकारीले र एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।  मगरका अनुसार आर्थिक वर्ष २०७९÷८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए । जसमध्ये २० वटा कालगतिले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए ।   विगतमा एक हजार ७१ दिनसम्म चोरीसिकार शून्य भएपछि उत्सवका रूपमा मनाइएको थियो । यसपछिका वर्षहरूमा चोरीसिकार शून्य गर्ने तर यसलाई उत्सवका रूपमा नमनाउने नीतिअनुरुप काम गरिएको थियो । सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको सङ्ख्या ७५२ पुगेको छ । एकसिङ्गे गैँडाको सङ्ख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ ।  बर्दियामा ३८, शुक्लाफाँटामा १८ र पर्सामा तीन गैँडा रहेको तथ्याङ्क छ । यस वर्ष गैँडा गणना गर्ने कार्यक्रम रहे पनि अन्तिम समयमा बजेट व्यवस्थापनमा समस्या भएपछि स्थगन गर्नुपरेको थियो । गणना गर्न नसके पनि अनुगमनलाई तीव्रता दिइएको छ ।

नवलपुर:  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ नवलपुरको गैँडाकोटबाट सुरु भएको छ । झापाबाट सुरु भएको अभियान गत चैत ८ मा चितवन पुगेर स्थगित गरिएको थियो ।       अभियानका लागि सोमबार साँझ नै माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको टोली गैँडाकोट आइपुगेको थियो ।  नयाँ वर्षको अवसर पारेर नवलपुरबाट पुनः अभियान सुरु गरिएको अध्यक्ष दाहालले बताउनुभएको थियो । गैँडाकोटबाट अभियान पुनः सुरु गर्न पाउँदा खुसी लागेको अध्यक्ष दाहालको भनाइ थियो ।       अध्यक्ष दाहालसहितको टोलीले आज बिहान गैँडाकोट–४ को गैँडाकोट पम्पिङ स्किम खानेपानीबाट अभियानको सुरुआत गरेको छ । उक्त टोलीले यहाँ करिब पाँच किलोमिटर ‘मर्निङ वाक’  गरेको माओवादी केन्द्र गैँडाकोट नगर समितिका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिनुभयो । अभियानका क्रममा अध्यक्ष दाहालले गैँडाकोट–८ स्थित लखन चोकमा रहेको नेपालका प्रथम सहिद लखन थापाको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।       अभियानका क्रममा अध्यक्ष दाहालले नगरपालिकाभित्र रहेका पार्टी निकट सहिद परिवार, शुभेच्छुकलगायतका व्यक्तिहरुसँग समेत भेटघाट र कुराकानी गर्नुभएको थियो । माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन पनि अभियानमा सहभागी हुनुहुन्छ ।       अध्यक्ष दाहालले अभियानअन्तर्गत आज दिउँसो देवचुली नगरपालिकाको रजहर, जिल्ला सदरमुकाम कावासोतीलगायतका स्थानमा सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।       अभियानका क्रममा आज नवलपुर केन्द्रित कार्यक्रम रहने नगर अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान कञ्चनपुर पुगेर समापन गर्ने तयारी गरिएको छ ।

भक्तपुर: मानिसको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर सबै फुस्रो अबिरैअबिरले राताम्मे । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउने अर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै बालबालिका, युवायुवतीदेखि ज्येष्ठ नागरिकसमेत बिहानै जात्राको भीडमा सिन्दुर खेल्दै रमाउँदै आज भव्य रूपमा मध्यपुरथिमिका बासिन्दाले सुथसिया अर्थात् बिहानीको जात्रा मनाएका छन् ।  बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खट जात्रा गरी टोलटोल घुमेर बालकुमारी मन्दिर प्राङ्गणा २६ देवीदेवता विराजमान खटलाई ल्याएर बालकुमारीको परिक्रमा गराई धिमे, मुस्या बाजाको तालमा झुम्दै, नाच्दै र अबिर छर्कँदै हर्षोल्लासका साथ सिन्दुर खेलेर सुथसिया जात्रा मनाएका हुन् ।  थिमिमामात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमेलगायत स्थानीय बाजाका तालमा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रूपमा मनाउने परम्परा छ । तर केही वर्षयता भने २६ खटमात्र जात्रामा सहभागी हुने गरेका छन् ।  यो जात्रामा आज बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । सोमबारदेखि विष्णुवीर र दक्षिण बाराहीको खटसमेत मन्दिरमा राखिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवताघर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवीदेवताको खट ल्याएर यो जात्रा मनाइएको छ ।  थिमिमा ३२ देवीदेवताका खट सहभागी रथ बोकेर टोलटोल परिक्रमा गराई परम्परागत रूपमा मनाउँदै आएको यो जात्रा अहिले थिमि क्षेत्रमाा २३ वटा, नगदेशमा एक, बोडेमा सात, टिगनीमा एक छुटाछुटै स्थानमा खटजात्राका साथ सिन्दुर जात्रा मनाइने गरेको छ ।  यसमा थिमिको बालकुमारी, दक्षिणवाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलवाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै मनाइन्छ ।  जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एकअर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालुहरू रमाइलो गर्ने भएकाले पनि यसलाई केही वर्षयता सिन्दुर जात्रा पनि भन्न थालिएको छ ।  बालकुमारीबाट परम्परागत रूपमा सिद्धिगणेश, सिद्धिकाली र त्यसका गणहरूसहित क्वाछें द्यो, हिचो द्यों, अजिमा द्यों, विष्णुवीर र अन्य देवगणहरूको खट उचालेपछि बालकुमारीको जात्रा सुरु गरिएको छ ।  परम्पराअनुसार नै देवता लायकू दरबारभित्र पस्न नपाउन् भनेर लायकू प्रवेशद्धारमा पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यों, सिद्धिकाली र अरु देवताका गणहरू बाटो छेकेर बस्ने परम्परा छ ।  खट जात्रा अगाडि बढाउँदै ल्याउने बालकुमारीलाई भैलः द्यों परिक्रमा गरी क्रमैसँग सुगां द्यों, क्वाछे द्योंमा पनि सिन्दुर खेल्दै परिक्रमा गराइन्छ । बालकुमारीलाई विभिन्न क्षेत्रको परिक्रमा गराई भव्य एवं उमङ्ग र उत्साहका साथ थिमिका बासिन्दाले सिन्दुर खेल्दै यो जात्रा मनाइएको छ । बिहानै सुरु भएको यो जात्रा मध्याह्नसम्म चल्ने छभने त्यसपछि बोडेमा जिब्रो छेड्ने जात्राको तयारी गरेर दिउँसो २ः०० बजे बोडेमा जिब्रो छेडेर जात्रा मनाउने गरिन्छ ।

काठमाडौं: गत आइतबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज केही ओरालो लागेको छ ।  गत आइतबार प्रतितोला रू एक लाख ८६ हजार कारोबार भएको सुनको मूल्य आज तोलामा रू एक हजार ७०० ले घटेर रू एक लाख ८४ हजार ३०० मा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।      त्यस्तै आज चाँदी तोलामा रू १५ घटेर रू एक हजार ९४५ मा खरिदबिक्री हुनेछ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार २२५ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ ।

पोखरा:   सिर्जनशील कलाकार समूहले नयाँ वर्षको अवसरमा शुभकामना आदाप्रदानसँगै बसन्त कार्यशाला सम्पन्न गरेको छ ।   अनुज तथा अग्रज (स्थापित) कलाकार एकैठाउँमा रही सृजना साझा गर्ने उदेश्यका साथ पोखरा महानगरपालिका १८ मेथलाङमा बसन्त कार्यशाला कार्यक्रम सम्पन्न गरेको हो ।   सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका वरिष्ठ कलाकार दुर्गा बराल (वात्स्यायन) ले कला एक अदभूत क्षेत्र रहेकाले अनुजहरुलाई निरन्तर लाग्नुपर्नेमा जोड दिए ।    ‘सर्जकहरु साच्चिकै सर्जक बन्नका लागि कला सृजनामा निरन्तरता दिइनुपर्छ । अनिमात्रै राम्रो कलाकार जन्मन्छ’, उनले भने ।    कार्यशालामा वरिष्ठ कलाकार विश्वेश्वर पराजुलीले नव वर्षको शुभकामना व्यक्त गर्दै कलालाई तिखो बनाउनका लागि धैर्यता र लगनशील हुनुपर्ने धारणा राखेका थिए ।    सो कार्यशालामा कुल ३७ जना कालाकारको सहभागिता रहेको थियो ।   समूहका अध्यक्ष दलबहादुर गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा संयोजक रिक गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने, सञ्चालन निशान थापाले गरेका थिए ।     

पोखरा:  युनाईटेड क्लब पोखराले १५ औं वार्षिकोत्सवको अवसर पारी पोखरा १७ मा रहेको पोखरा वृद्धाआश्रममा खाद्यान्न वितरण गरेको छ ।  सामाजिक काम मार्फत छुट्टै पहिचान बनाउन सफल युनाईटेड क्लबले वैशाख ७ गते आफ्नो वर्षिकोत्सव मनाउने योजना अनुसार त्यसको अवसरमा वैशाख १ गते पोखरा १७ सितापाइलामा रहेको पोखरा बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको हो । सो अवसरमा बोल्दै युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लब पोखराले पोखरामा पोखरा महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेकाले पोखरा महोत्सवलाई सवै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए । त्यस्तै पोखरा वृद्धाआश्रममा अध्यक्ष कुशुमकेशव पराजुलीले बृद्धाश्रमलाई  राज्य र सरकारी संस्थाबाट सोचेजस्तो साथ र सहयोग नभइरहदा युनाईटेड क्लब जस्तै संघ संस्थाको सहयोबाटनै आश्रममा आश्रितहरुलाई सहयोग पुगेको बताए ।  युनाईटेड क्लबले अहिले मात्र नभइ यसअघिपनि सहयोग गर्दै आइरहेको बताउदै युनाईटेड क्लबले सामाजिक क्षेत्रमा आफुलाई अब्बल बनाएको बताए ।  समाज बिकास र समुन्नतिका लागि महिला युवा र जेष्ठ नागरिकले आ आफ्नो ज्ञान शीप र अनुभवलाई प्रयोग गर्नुपर्ने बताउदै उनले जेष्ठ नागरिकको हेरचाह स्याहार गर्ने शीप र ज्ञान सिकाउनका लागि पोखरा बृद्धाश्रमले जापानी प्रबिधिको तालिम पोखरामा भित्रयाउन लागेको बताए । स्वदेश तथा विदेशमा रोजगारी बढ्दै जाने क्रम भएकाले उक्त तालिम उपयोगी हुने उनको भनाइ थियो । क्लबका द्धितिय उपाध्यक्ष एवं खाद्यान्न वितरण कार्यक्रम संयोजक सूर्य बहादुर बानियाँले सामाजिक काम गर्दै आइरहेको युनाईटेड क्लबले नयाँ वर्ष २०८२ को पहिलो दिन पोखरा बृद्धाश्रममा आश्रितहरुलाई खाद्यान्न सामाग्री वितरण गरी शुरुवात गर्न पाउदा खुसी लागेको बताउदै आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने बताए । युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लब विशुद्ध सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहदा बिगतमा जस्तै यो वर्षपनि सामाजिक कामबाटै बार्षिकोत्सव कार्यक्रमको थालनी गरिएको बताए ।  पोखरा बृद्धाश्रम जस्ता संस्थाहरुलाई सम्पूर्ण संघ संस्थाहरुले साथ र सहयोग गर्नुपर्नेमा जोड समेत जोड दिए । क्लबले वार्षिकोत्सवको अवसर पारि वैशाख ३ गते वृहत रक्तदान कार्यक्रमका साथै छिट्टै नै बृहत स्वास्थ्य शिविरको आयोजना गर्ने बताए । उक्त अवसरमा क्लवका संस्थापक सदस्य रेशम बहादुर थापाले आश्रमलाई ५ हजार ५ सय नगद प्रदान गरेका थिएभने आश्रममा आश्रित १०९ वर्षिय नन्दलाल दाहाल र ९२ वर्षिय पार्वती पौडेललाई क्लबका अध्यक्ष लोक बहादुर थापाले दोशल्ला ओढाइ सम्मान गरेका थिए । १५ औं वार्षिकोत्सव कार्यक्रम संयोजक तथा क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गरेका थिए । उक्त अवसरमा क्लबका सल्लाहकार, आजीवन सदस्य र पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

काठमाडौं: सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् ।           श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव डण्डुराज घिमिरेका अनुसार नयाँ वर्ष, २०८२ को पहिलो दिन राजपत्रमा सोसम्बन्धी सूचना प्रकाशित गरिएको छ ।       सरकारी कोष, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक  स्वामित्व भएका संस्थान, निगम, बोर्ड, प्राधिकरण, प्रतिष्ठानमा कार्यरतले सो योजनामा सहभागी हुन पाउने उहाँले जानकारी दिनुभयो ।       सामाजिक सुरक्षा कोषमा योगदानकर्ताका रुपमा सूचीकृत गरी त्यस्ता निकायमा कार्यरत कर्मचारीले खाइपाई आएको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानेर सो योजनामा सहभागी हुन पाउने प्रबन्ध गरिएको छ ।  त्यसमा २० प्रतिशत रोजगारदाताले र ११ प्रतिशत योगदानकर्ताले जम्मा गर्नुपर्नेछ । सामाजिक सुरक्षा ऐन, २०७४ र सामाजिक सुरक्षा नियमावली, २०७५ बमोजिम उक्त निर्णय भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।        गत चैत १५ गते सो निर्णय भएको भए पनि नयाँ वर्षको पहिलो दिन राजपत्रमा सूचना प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ । यसबाट सरकारी निकायका कार्यरत अस्थायी, ज्यालादारी कर्मचारीले राहत पाउनेछन् । 

काठमाडौं: पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ ।      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो ।      कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए– नभएकाबारे कुनै विवरण भने प्राप्त भएको छैन ।  केन्द्रका अनुसार गत चैत २१ गते साँझ (८.०७) र (८.१०) सोही स्थानलाई केन्द्रबिन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प पाँच दशमलव दुई र दोस्रो भूकम्प पाँच दशमलव पाँच म्याग्निच्युडका थिए । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो ।      यस्तै, गत चैत २० गते दार्चुलामा चार म्याग्निच्युडको भूकम्प गएको थियो । गत चैत १२ गते हुम्लालाई केन्द्रबिन्दु बनाएर चार दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।