काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबका युवाले सूचना प्रविधिको क्षेत्रमा अब्बल भई सिर्जनात्मक भविष्य बनाउनमा जोड दिनुपर्ने बताउनुभएको छ । काठमाडौँमा आज कान्तिपुर सिटी कलेजमा आयोजित ‘केसिसी एक्जिविसन–२०२५’ को उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले देशलाई सूचना प्रविधिमा दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गर्दै सूचना प्रविधिमा रोजगारको प्रशस्त सम्भावना रहेको बताउनुभयो । सूचना प्रविधिको क्षेत्रमा भएको विकासले विभिन्न देश धेरै अगाडि पुगेका उहाँको भनाइ थियो । “नेपालमा सूचना प्रविधिका विकासका थुप्रै सम्भावना छन् तर, प्रशस्त जनशक्तिको अभाव, प्रभावकारी नीतिको अभाव र सूचना प्रविधिको संरचनाको कमीका कारण व्यवहारमा उतार्न चुनौती खेप्नुपरेको छ”, सञ्चारमन्त्री गुरुङले भन्नुभयो । सूचना प्रविधिको क्षेत्रमै भविष्यको लक्ष्य निर्धारण गरेर अब्बल बन्छु भन्ने सिर्जनशील युवाका लागि नेपालमै रोजगार पाउने अवसर विस्तारै राज्यले निर्माण गर्ने उहाँले विश्वास दिलाउनुभयो । “यो वर्ष हामी सूचना प्रविधि सम्बन्धी संरचना निर्माण गर्नेदेखि फोर जी घर घर पु¥याउने र फाइभ जी लञ्च गर्ने भएका छौँ”, नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो, “अबको विकास भनेको सूचना प्रविधिको समृद्धि नै हो ।” कार्यक्रममा क्यानका अध्यक्ष सुनैना घिमिरेले युवाले सूचना प्रविधिका माध्यमबाट नवीन कार्य सुरु गरेर स्वदेशमै रोजगारका प्रशस्तै अवसर प्राप्त गरिरहेका उदाहरण दिनुभयो । “मेहनत गर्ने र सूचना प्रविधि सम्बन्धी ज्ञान राख्नेलाई आयआर्जन गर्न दुःख छैन”, उहाँले भन्नुभयो, “क्यानले यस्ता युवालाई सहयोग र प्रोत्साहनसमेत गर्दै आएको छ ।” नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट) का सचिव डा रविन्द्रप्रसाद ढकालका अनुसार देशमा इञ्जिनियरको खाँचो छ । “यहाँ पढेर विदेश जाने युवा बढ्दै गर्दा मुलुक कसले समृद्धितर्फ लैजान्छ ? भन्ने चिन्ताको विषय बन्दै छ”, उहाँले भन्नुभयो । सचिव डा ढकालले युवा विदेश पलायन हुनु राज्यले सही वातावरण स्वदेशमा दिन नसक्नुको परिणाम रहेको बताउनुभयो । यद्यपि सूचना प्रविधिको विकासले पछिल्लो समय स्वदेशमै बसेर सिर्जनात्मक कार्य गर्ने आशा लाग्दा युवा पनि रहेको उहाँले सुनाउनुभयो । “सूचना प्रविधिमार्फत युवा स्वदेशमै टिकाउन सकिने आधारहरु छन्, तर त्यसका लागि उपयुक्त काम गर्ने वातावरण राज्यले महसुस गराउन सक्नुपर्छ”, सचिव डा ढाकालले भन्नुभयो । दुई दिनसम्म चल्ने उक्त प्रदर्शनीमा युवाले बनाएका सूचना प्रविधि सम्बन्धी विभिन्न नवीन कामका नमुना प्रदर्शन गरिएका छन् ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र नभई यसको पोषणीय महत्व रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले कोदो दिवसका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै कोदोको उत्पादन बढाउन र परिकारहरू उपभोग गर्न सबैसँग आग्रह गरेका हुन् । ‘कोदोको उत्पादन बढाऔँ, कोदोका परिकारहरू उपभोग गरौँ १ कोदो दिवसको शुभकामना !’ प्रधानमन्त्री ओलीले भनेका छन् । ‘ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबुत बनाउन मद्दत गर्छ । सिँचाइबिना नै उत्पादन हुनसक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत स्पष्ट पारे ।
काठमाडौं: देशको चौथो मुख्य बाली कोदोखेती गर्न पहाडी र तराई क्षेत्रका किसानले अरुचि देखाएका छन् । मकैपछिको दोस्रो मुख्य बालीका रूपमा विगतमा पहाडमा खेती हुँदै आएकामा केही वर्षयता ती भेगका किसानले पनि यसलाई खासै महत्व नदिएका हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् । कुनै समय गरिबको खाना भनेर होच्च्याइएको कोदो र यसबाट बन्ने परिकारको माग हाल सहर बजारमा बढेको छ । कम खर्चमा यसको खेती गर्न सकिने कृषि क्षेत्रका जानकारहरू बताउँछन् । तराईदेखि उच्च पहाडी क्षेत्रसम्म जुनसुकै जलवायुमा कम मलिलो तथा सुक्खा जग्गामा कोदो खेती गर्न गर्नसकिने उनीहरूको भनाइ छ । कोदोबाट ढिँडो, रोटी, सातु, लिटो, खोले, पुवालगायत परिकार बनाइन्छ । कोदोका परिकार पोषणयुक्त हुन्छन् । खाद्य सुरक्षाका दृष्टिले कोदोलाई ज्यादै महत्वपूर्ण बालीका रुपमा लिइन्छ । चितवनस्थित रासस समाचारदाताका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष चितवनमा कोदोखेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि विकास कार्यालयका कृषि अधिकृत उमराज अर्यालका अनुसार चितवनमा वार्षिक एक हजार ५० हेक्टरमा कोदोखेती हुँदै आएको छ । इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा कोदोखेती हुँदै आएकामा हाल त्यहाँ कोदो रोप्ने किसान घटेका छन् । उनले भने, ‘कोदो ढिलो पाक्ने र लगाउन, थन्काउन झन्झटिलो भएका कारण यसतर्फ किसानको ध्यानाकर्षण गराउन सकिएको छैन ।’ कोदोखेतीतर्फ भोजपुरका किसानको पनि आकर्षण घटेको त्यहाँबाट हाम्रा स्थानीय संवाददाताले जनाएका छन् । पर्याप्त आम्दानी नहुने भएकाले उनीहरू वैकल्पिक खेतीमा लागेका रामप्रसादराई–६ का किसान राजेन्द्र राईले बताए। ‘आम्दानी राम्रो नहुने तथा खेती गर्न झन्झटिलो भएकाले गाउँघरमा व्यावसायिक रुपमा कोदोखेती गर्ने चलन हरायो’,उनले भने। जिल्लाको छ हजार हेक्टर जमिन कोदोबालीका निम्ति उपयुक्त रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय बजारमा कोदो प्रतिपाथी १५० देखि १६० सम्ममा बिक्री हुने गरेको छ । तानसेनबाट रासस प्रतिनिधिले पठाएको समाचारअनुसार दश अघिसम्म पाल्पाका गामीण भेगमा कोदोखेती हुने गरेकामा हाल ती क्षेत्रका बारी र टारी बाँझै छन् । कोदोखेतीमा अब्बल मानिएका बगनासकाली र रैनादेवी छहरामा पनि खेती गर्ने घटेका छन् । युवापुस्ता विदेशिने र सहर पस्ने क्रमसँगै कोदोखेती हुन छाडेको हो । यद्यपि जिल्लाका निस्दी, पूर्वखोला र रिब्दीकोट गाउँपालिकाका विभिन्न ठाउँहरुमा कोदोखेती हुने गरेको छ । पाल्पामा आर्थिक वर्ष २०८०(०८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएकामा आव २०८१(०८२ मा आएर दुई हजार ३४९ हेक्टरमा झरेको कृषि ज्ञान केन्द्रका प्राविधिक सुरज पाण्डेयले बताए । जिल्लाका किसान कोदोको सट्टा फलफूलतर्फ आकर्षित भएका उनले जानकारी दिए ।
पोखरा: आगामी असोजको ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगितामा धेरै विदेशी धावक (पर्यटक) हरू सहभागी गराउन तत्काल दर्ता प्रक्रिया शुरु गर्न पर्यटन व्यवसायीहरूले माग गर्नुभएको छ । पोखरा क्लिकद्वारा आज (बिहीबार) आयोजना गरेको पोखराका पर्यटन व्यवसाय सम्बद्ध संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालासँगको छलफल कार्यक्रमका वक्ताले उक्त सुझाव दिनुभएको हो । विश्व पर्यटन दिवस तथा विश्व शान्ति दिवसको अवसरमा आयोजना हुने प्रतियोगितामा उल्लेख्य विदेशी धावकहरूलाई सहभागी गराउन व्यवसायीहरूले आफ्ना क्षेत्रबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पोखराको मुख्य बजारदेखि नजिक रहेको पोखरा २२ पुम्दीभुम्दी क्षेत्र विभिन्न ढंगले पछि परिरहेको हुँदा यस्ता गतिविधि त्यस क्षेत्रको आयआर्जन र खेल पर्यटन प्रवद्र्धन गर्नमा कोशेढुंगा साबित हुने बताउनुभयो । उहाँले भन्नुभयो “पोखराको लेकसाइड र नेपालका धेरै पदमार्गहरू यतिबेला बिग्रेका छन् तर पोखरा नजिकै रहेको पुम्दीभुम्दी, रानीवन क्षेत्र अझै बिग्रेको छैन त्यहाँ पर्यापर्यटनको राम्रो सम्भावना छ ।” यस वर्षको विश्व पर्यटन दिवसलाई पर्यटनको राजधानी पोखरामा भव्य रूपमा मनाउन राजदूतहरूलाई पोखरामा निम्ता गरेर उहाँहरूको इच्छा अनुसार पोखरा र पोखरा क्षेत्रका विभिन्न पर्यटकीय गन्तव्यमा पु¥याउन पनि उहाँले सुझाव दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका कार्यक्रम अधिकृत युवराज गुरुङले विश्व पर्यटन दिवसका सन्दर्भमा आयोजना हुने प्रतियोगिताका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले चाहँदा चाहँदै पनि कर्मचारी विविध सीमाभित्र बाँधिनुपर्ने, कसरी जोगिने भन्ने चुनौती छन् तापनि पर्यटन बोर्डको समयमै बजेट आएकाले पर्यटन प्रवद्र्धन हुने प्रदेशस्तरकै कार्यक्रम समयमै सञ्चालन गर्ने छौँ ।” साथै, उहाँले राज्यको पैसामा कुनै पदाधिकारीहरू घुम्ने प्रवृत्तिका कार्यक्रमका लागि बजेट माग्नु प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिनुभयो । पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष हरिबहादुर भुजेलले पोखरासँग जोडिएको पोखरा २२ किन बनेन भनेर चिन्तन गर्न ढिलो भएको बताउनु भयो । उहाँले पुम्दीभुम्दीको कोदो फल्ने डाँडामा विशाल महादेवको मूत्र्ति निर्माण हुँदा हिजोआज आम्दानीका बाटा खुलेको बताउँदै त्यसको व्यापक स्तरोन्नतिका लागि नेता, व्यापारी, स्थानीय सबैको ध्यानाकर्षण हुनुपर्ने बताउनु भयो । परिषद्का महासचिव जीवनराज सापकोटाले आयोजकले दीर्घकालीन सोचका साथ उक्त प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै प्रतियोगितामा धेरै पर्यटक सहभागी गराउन जति सक्दो छिटो फारम खुला गर्न सुझाव दिनुभयो । होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले प्रतियोगितालाई सफल पार्न आफूहरूले पूर्णरूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सुवेदीले सो अवसरमा पुम्दीभुम्दीको रुटमा यस वर्ष आफूहरूले चौथो संस्करणको क्रस कन्ट्री दौड प्रतियोगिता गर्ने तयारी गरेकोसमेत बताउनुभयो । टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले पोखराको नौलो विधाको रूपमा आएको पर्वतीय दौड प्रतियोगितालाई आफूहरूले साथ र सहयोग गर्ने बताउनुभयो । उहाँले पोखराको फेवाताल पुम्दीभुम्दी क्षेत्रलाई समेट्ने गरेर हाफ म्याराथन आयोजना गर्नसमेत सुझाव दिनुभयो । नाट्टा गण्डकीका पूर्व अध्यक्ष एवं पर्यटन व्यवसायी सन्तोष पोखरेलले धेरै विदेशी धावकलाई सहभागी गराउनु व्यापक तयारीका साथ अगाडि बढ्न सुझाव दिनुभयो । पोखरेली ट्याक्सी सेवाका अध्यक्ष शोभाकान्त पौडेलले पोखराको पर्यटकीय क्षेत्रलाई खेलका माध्यमबाट थप प्रचारप्रचार गराउने उक्त अभियानलाई आफूहरूले सहयोग गर्ने बताउँदै आफूहरूसँग भएका दुई हजार ट्याक्सीमा स्टिकर टाँस गरेर प्रचारप्रसार गर्नसमेत तयार रहेको जनाउनुभयो । कार्यक्रममा नाटा गण्डकीका अध्यक्ष किशोर दाहाल, नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष अनिल केसी, बिबिसी नेपाली सेवाका संवाददाता कृष्णमणि बराललगायतले प्रतियोगितालाई नयाँ ब्राण्डका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । सहभागीहरूले दिएका सुझावलाई मनन गर्दै जति सक्दो छिटो विदेशी धावकलाई सहभागी गराउन फर्म खुला गर्ने संयोजक दिननाथ बरालले बताउनुभयो । पोखरा क्लिकका वरिष्ठ संवाददाता असफल गौतमले प्रतियोगिताको मुख्य उद्देश्य पोखरा क्षेत्रका पर्यटकको बसाइ लम्ब्याएर खेल पर्यटनका माध्यमबाट गाउँ पर्यटन प्रवद्र्धनसँगै आर्थिक समृद्धिसँग पोखरा २२ लाई जोड्ने रहेको बताउनुभयो । उक्त प्रतियोगिता सम्पन्न गर्न, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका वडा नं. २२ को सहकार्यम रहेको छ । प्रतियोगितामा मेडिकल पार्टनरका रूपमा रहेको नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ । प्रतियोगिताको आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिने भएको छ । प्रतियोगिताको अफिसियल टेलिभिजन तर्फ सिटीवान टेलिभिजन रहेको छ । प्रतियोगितालाई सफल बनाउन विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, परिचय एड्भर्टाइजिङ, पोखरा पर्यटन परिषद, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्लगायत स्थानीय व्यावसायिक संस्थाहरूको सहयोग रहेको छ ।
काठमाडौं: निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रूपन्देही निर्वाचन क्षेत्र नं ३ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै यही साउन २१ देखि २७ गतेसम्म आयोगका केन्द्रीय कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने जनाएको हो । आयोगले यसअघि उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरिसकेको छ । आगामी असोज २१ गते बिहान १० देखि ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने र सोही दिन साँझ उम्मेदवारको सूची प्रकाशन हुनेछ । असोज २४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । कात्तिक १७ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।
काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशलगायत देशका पहाडी भागका धेरै र तराईका केही भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेशका पहाडी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहाबको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठुला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।
पोखरा: पोखरा महानगरपालिका–१४ मा सयौँ वर्ष पुराना ऐतिहासिक रुखहरू गैरकानुनी रूपमा काटेको आरोपमा ७ जनाविरुद्ध डिभिजन वन कार्यालय काीकीले कास्की जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । पोखरा महानगरपालिकाका विभिन्न वडामा रहेका पुराना चौतारीका बर, पीपललगायतका रुखहरू काटिएको घटनामा संलग्न भएको आरोपमा उनीहरूविरुद्ध अभियोगपत्र दर्ता गरिएको हो । मानवसेवा फाउण्डेसन नेपालका प्रबन्धक विष्णुराज गिरी, पोखरा–१४ शुभमार्ग टोलका ताराप्रसाद तिवारी र योगमाया बराल, राधाकृष्ण टोलका अर्जुनबहादुर कार्की र रामकृष्ण अधिकारी, तथा साधना मार्गका ज्ञानेन्द्र सार्की र रमेश पौडेललाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो । वन कार्यालयका अनुसार, गत फागुनमा मानवसेवा फाउण्डेसनले आयोजना गर्ने कोटीहोम महायज्ञका लागि दाउरा (समिधा) संकलन गर्ने भन्दै पोखराका विभिन्न ठाउँमा रहेका ३३ वटा पुराना रुखहरू काटिएको थियो । अनुसन्धानका क्रममा रुख कटान गर्दा प्रचलित वन ऐन, २०७६ र वन नियमावली, २०७९ मा तोकिएको प्रक्रिया पूरा नगरिएको वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले जानकारी दिए । उनका अनुसार, रुखका हाँगाहरू प्रक्रिया नपुर्याई काट्ने र बेच्ने कामसमेत भएको अनुसन्धानबाट खुलेको छ । रुख काट्नेलाई बिगो असुल गरी दश हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान छ । सोही प्रावधान अनुसार मुद्दा दायर गरिएको काफ्लेले बताए । घटना सार्वजनिक भएपछि पोखरामा नागरिक स्तरबाट व्यापक विरोध भएको थियो । पोखरा पंक्षी समाज, मेरो नेपाल युवा क्लब, वातावरण संरक्षणका लागि महाअभियान कास्की, नागरिक समाज कास्की लगायतका संघसंस्थाहरूले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै वन कार्यालयमा निवेदन दिएका थिए । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरास्थित कार्यालयमा समेत उजुरी परेको थियो । यसअघि पोखरा महानगरपालिकाले काटिएका रुखका दाउरा जफत गरेको थियो । महिनौँको अनुसन्धानपछि वन कार्यालयले अन्ततः अदालतमा मुद्दा दायर गरेको हो ।
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ । यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर दुई रुपैयाँले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर तीन रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ । नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर एक सय ५९, डिजल र मट्टितेल प्रतिलिटर एक सय ५०, हवाई इन्धन प्रतिलिटर एक सय २८ रुपैयाँ तय गरिएको निगमले बिहिबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूची गएराती १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
काठमाडौं: सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिनुभयो । कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ । दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्याइ जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।

