काठमाडौं: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । शक्रबार प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छ । एसइईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका चार लाख ३८ हजार आठ सय ९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार एक सय ७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार तीन सय ५५, २.८ देखि ३.२ जीपीएसम्म ८९ हजार एक सय २४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार चार सय ७९, २ देखि २.४ सम्म ल्याउने चार हजार एक सय २६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् । बोर्डका अध्यक्ष महाश्रम शर्माले एक सय २६ जना परीक्षार्थीको परीक्षा भने रद्द भएको बताउनुभयो । वर्गीकृत परीक्षार्थीको सङ्ख्या भने एक लाख ६७ हजार पाँच सय ९७ रहेको छ । यो वर्ष २०८१ को चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए ।
पोखरा: भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले गण्डकी प्रदेशमा समावेशी, सन्तुलित र दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको बजेटका सम्बन्धमा प्रदेश सभामा उठेका प्रश्नको आज जवाफ दिदै उहाँले भौगोलिक बिकटता, जनसंख्या, निर्वाचन क्षेत्र संख्या र बिगतमा जिल्लाहरुमा सृजना भएको दायित्वको रकमलाई आधार मानि जिल्लागत समानुपातिक रुपमा बजेट विनियोजन गरिएको बताउनुभयो । मन्त्रालयले मौजुदा आर्थिक दायित्व र सीमित स्रोतबीच पनि पूर्वाधार निर्माणका क्षेत्रमा विनियोजित वजेटबाट प्रगति हासिल गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । मन्त्रालयले पूर्वाधार विकासमा दिगोपना, समानुपातिकता, पारदर्शिता र दीर्घकालीन सोचलाई मूल आधार बनाई कार्य गर्दै आएको उहाँले बताउनुभयो । भौतिक पूर्वाधारतर्फ हालसम्म ९३० किलोमिटर कालोपत्रे सडक, ६९६ किलोमिटर ग्रावेल सडक, ११० वटा सडकपुल र ८४ वटा झोलुङ्गे पुल निर्माण गरेको उहाँले जानकारी दिनुभयो । मन्त्रालयको आगामी वर्षको लागि प्रस्तावित बजेट ११ अरव ९८ करोड ९ लाख ८ हजार रुपैयाँ रहेको उल्लेख गर्दै मन्त्री केसीले मन्त्रालयको हालसम्मको दायित्व जम्मा १६ अर्ब ४२ करोड ८६ लाख पुगेको बताउनुभयो । उल्लेखित दायित्व हुँदा हुँदै पनि आर्थिक वर्ष २०८१/०८२ को वजेटमा करिब २९ प्रतिशत बहुबर्षिय तथा स्रोत सुनिश्चित आयोजनामा विनियोजन भएको र बाँकी ७१ प्रतिशत सालवसाली अर्थात टुक्रे आयोजनामा विनियोजन भएको उहाँले स्पष्ट पार्नुभयो । चालु आर्थिक वर्षमा बहुबर्षीय तथा श्रोत सुनिश्चित आयोजनामा रकम अभाव रहेको अवस्थाबाट अगाडी बढ्न टुक्रे योजनाहरुबाट बचत भएको रकमलाई आन्तरिक रुपमा रकमान्तर गरेर चालु आर्थिक वर्षको खर्च व्यवस्थापन गरिरहेको उल्लेख गर्दै उहाँले समयमा रकमान्तर हुन नसक्दा सोचे अनुसार प्रगति हासिल गर्न नसकिएको बताउनुभयो । आर्थिक वर्ष २०८२/०८३ मा करिव ६५ प्रतिशत वजेट वहुवर्षिय र स्रोत सुनिश्चित योजनामा विनियोजन प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो । कास्की र गोरखा जिल्लामा धेरै वजेट विनियोजन भयो भन्ने सम्बन्धमा बढी नै चर्चा भएको भन्दै उहाँले कास्की जिल्ला जनसंख्या धेरै भएको सहरी क्षेत्र, प्रदेशको राजधानी र देशकै पर्यटनको राजधानी समेत भएकाले पनि केही बढी वजेट विनियोजन हुनुलाई अस्वभाविक मान्न नसकिने बताउनुभयो । गोरखा जिल्लामा स्रोत सुनिश्चित भएका वहुवर्षिय योजनाहरुको दायित्वको लागि ९८ करोड रुपयाँ विनियोजन भएकाले बढी रकम विनियोजन भएजस्तो देखिएको उहाँले स्पष्ट पार्नुभयो । म्याग्दीमा ५२ करोड ७१ लाख रुपैयाँ त श्रोत सुनिश्चित भएका वहुवर्षिय योजनाहरुको दायित्वको लागि मात्रै विनियोजन भएको उल्लेख गर्दै उहाँले यो जिल्लाको विनियोजन रकमको ८२ प्रतिशत रहेको बताउनुभयो । म्याग्दीमा विनियोजित रकमका सम्बन्धमा रोष्टमबाट वजेट किताब च्यातिएको प्रसङ्ग उल्लेख गर्दै उहाँले अघिल्लो आ।व।मा ७१ करोड ५० लाख विनियोजन भएकोमा हाल ६० करोड ७७ लाख विनियोजन भएकोले यस अघि विनियोजित रकम र आगामी आर्थिक वर्षमा प्रस्तावित रकममा खासै भिन्नता नदेखिएको स्पष्ट पार्नुभयो । निर्माण सम्पन्न भएका संरचनालाई मर्मत सम्भार गर्ने उद्देश्यका साथ जिल्ला भित्रका प्रदेश सरकारका कार्यालयहरुद्वारा कालोपत्रे भएका सडकहरुलाई आवधिक मर्मत सम्भार गर्न, बाढी पहिरोले क्षति भएका सडकहरुको नियमित मर्मत सम्भार गर्ने प्रयोजनको लागि, सडक हेरालुबाट गरिने मर्मत सम्भार साथै निर्माण सम्पन्न भएको सडक पुल र झोलुङ्गे पुल मर्मतको लागि वजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । मर्मत संभारका लागि रु २२ करोड २४ लाख ६८ हजार रकम बिनियोजन गरिएको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षमा विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) गर्नुपर्ने २० ओटा योजना मध्ये पाँच ओटा सडक पुलको डीपीआर तयार भएको र १५ ओटा योजना डीपीआरको प्रक्रियामा रहेको उहाँको भनाइ छ । गण्डकी प्रदेशको प्रादेशिक सडक सञ्जाल गुरु योजना अन्तिम रुप तयार गरी आगामी मन्त्री परिषद्मा पेश गरिने कुरा उहाँले जानकारी दिनुभयो । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट अमरसिंहचोक हुदै पृथ्वीचोक तर्फ आउने पृथ्वी राजमार्ग अत्यन्त खराव भई पर्यटन क्षेत्रलाई नै असर परेको हुदा संघिय भौतिक विकास तथा यातायात व्यवस्था मन्त्रीज्यु तथा मन्त्रालयका सचिव, क्षेत्रिय सडकका निर्देशक, सडक आयोजना कार्यालय (पोखरा–आबुखैरनी)का प्रमुख समेतलाइ संलग्न गराई पहिलो प्राथमिकता दिई काम गर्न विशेष अनुरोध गरेकोमा सोहि अनुसार हाल काम अगाडी बढेको उहाँले जानकारी दिनुभयो । प्रदेशमा राईड सेयरिङ्ग (व्यवस्थापन र नियमन) नियमावली–२०८२ सम्पूर्ण कानुनी प्रकृया पुरा गरि जारी भएको बताउँदै उहाँले राइड सेयरिङ्गलाई उक्त नियमावली अनुसार व्यवस्थापन र नियमन गर्ने कार्य प्रक्रियालाई अविलम्ब सुचारु गरिने बताउनुभयो । सवारी चालक अनुमतिपत्र गण्डकी प्रदेशबाट नै छपाई र वितरण आगामी आर्थिक बर्षाबाट सुरु गरिने उहाँले बताउनुभयो । विगतमा अनुमतिपत्र लिन एक महिनाको नतिजा प्रकाशन गर्ने अवधीलाई प्रभावकारी बनाउदै एक हप्ता भित्र नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ ।
काठमाडौं: एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । बोर्डले शुक्रबार साँझ २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित गरेको हो । यो पनि पढ्नुहोस एसईईको नतिजा सार्वजनिक
काठमाडौं: २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शुक्रबार नतिजा प्रकाशित गरेको हो । गत २०८१ सालको चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए । नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । एसएमएस र आईभीआरमा नेपाल टेलिकम, जानकी टेक्नोलोजी, आकाश टेक, स्विफ्ट टेक्नोलोजी, अल स्टार आईटी सोलुसन्समार्फत हेर्न सकिनेछ । यस्तै राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, इडियु सञ्जाल, इसेवा, खल्ती, स्मार्टकार्ड नेपाललगायतको वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपीजेए) कास्कीले पोखरा महानगरपालिका–९ मा भएको विकासक्रमको फोटो प्रदर्शन गरेको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा शुक्रबार महेन्द्रपुलस्थित अन्तर्राष्ट्रिय झण्डा पार्क नजिकैको फल्चामा ‘तस्बिरमा पोखरा–९’ फोटो प्रदर्शनी गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिका–९ वरपरका क्षेत्रसँगै समग्र पोखराको ऐतिहासिक, पर्यटकीय, समसामायिक विषयका विकास क्रम झल्कने फोटो राखिएको एनपीजेए कास्कीका अध्यक्ष राम गुरुङले बताए । विभिन्न कालखण्डमा खिचिएका ४० फोटो प्रदर्शनीमा राखिएको उनले जानकारी दिए । कार्यक्रममा फोटो अवलोकन गर्नेहरुको उल्लेखनीय सहभागिता रहेको अध्यक्ष गुरुङले बताए । पोखरा ३ का वडाअध्यक्ष प्रकाशमान उदाससहित पोखरा ९ का वडासदस्यहरु, पत्रकार स्थानीय, विद्यार्थीहरुको सहभागिता थियो । फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनको भनाई थियो । फोटो प्रर्दशनीको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरे । कार्यक्रममा वडाध्यक्ष मर्सानीले प्रदर्शनीमा राखिएका फोटो वडाको दस्तावेज र विकासको नमुना भएको दाबी गरे । पुराना फोटोले तत्कालिन अवस्था र हालको फोटोले विकास क्रममा माथि उठ्दै गरेको स्पष्ट देखिएको उनको भनाइ थियो । फोटोको माध्यमबाट पर्यटकले पोखराका बारेमा छिटो जानकारी प्राप्त गर्न सक्ने भएकाले फोटो पत्रकारले आयोजना गरेको कार्यक्रममा वडा कार्यालयले साथ दिएको अध्यक्ष मर्सानीले सुनाए । पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको समयमा फोटो प्रदर्शनीले भएकोमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । आगामी दिनमा पनि फोटो पत्रकारले आयोजना गर्ने सिर्जनात्मक कार्यक्रम वडा कार्यालयले साथ दिने उनको प्रतिवद्धता थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मीले पत्रकारितामा फोटो अपरिहार्य रहेको बताए । शब्दले उल्लेख गर्न नसक्ने विषय फोटोले बुझाउन सहयोग पुग्ने भएकाले सबै सञ्चार गृहले फोटो पत्रकार नियुक्त गर्नुपर्नेमा उनको जोड थियो ।
पोखरा: पोखरामा आज टिप्परले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पोखराको छोरेपाटनबाट पुम्दीभुम्दी जाँदै गरेको ग १ ख ३४४५ नम्बरको टिप्परले ग २६ प १२५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ४२ वर्षीय मिना क्षेत्री गम्भिर घाइते भएकी थिईन् । टिप्परको ठक्करबाट गम्भिर घाइते भएकी स्याङ्जा फेदीखोलाको सर्केटारीकी क्षेत्रीको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । दुर्घटनापछि टिप्पर, टिप्पर चालक र स्कुटरलाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।
काठमाडौं: सुनचाँदी व्यवसायीहरू फेरि आन्दोलित भएका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गर्दै उनीहरूले पसल बन्द परेर पुन सडक आन्दोलन सुरु गरेका हुन् । निरन्तर आन्दोलनका रहेका व्यवसायीहरूले यसअघि केही दिन सडक प्रदर्शन स्थगित गरेका थिए । तर आफूहरूको मागमा सरकार गम्भीर नभएको भन्दै नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुन चाँदी, रत्न तथा आभुषण महाघ, कालिगढ संघर्ष समितिले पुनः सडक आन्दोलन सुरु गर्दै काठमाडौंको न्युरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् । बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरुको भनाइ छ । सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेज हुनुपर्ने समेत संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए । व्यवसायीहरूले सुनमा लगायतको कोटा प्रणाली खारेज गर्न समेत माग गरेका छन् । उक्त करको व्यवस्था लागु गर्दा आफूहरूको व्यवसाय धरासयी हुने व्यवसायीहरूको भनाइ छ ।
पोखरा: गण्डकी प्रदेशको बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको संसद् बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो । बैठकमा बजेटको पक्षमा कांग्रेस र एमालेले समर्थन गरेका थिए भने माओवादी विपक्षमा थियो । राप्रपा मौन बस्यो । सरकारले आगामी वर्षका लागि ३१ अर्ब ९७ करोड बजेट प्रस्तुत गरेको हो ।
काठमाडौं: नेपाली कांग्रेसले सानेपामा रहेको पार्टी कार्यालय विस्तार गर्न १३ करोडको जग्गा किन्ने सम्झौता गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै १९ आना जग्गा पार्टी कार्यालय विस्तारका लागि खरिद गर्ने निर्णय पार्टीले गरेको जानकारी दिएका छन् । ‘नेपाली कांग्रेस, केन्द्रीय कार्यालय भवन रहेको सानेपा ललितपुरको कार्यालय परिसरलाई अझ फराकिलो र थप व्यवस्थित बनाउने उद्देश्य साथ कार्यालय अगाडिपट्टि रहेको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र सोही जग्गामा बनेको तीन तले घर खरिद गर्ने निर्णय गरिएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको जग्गा १३ करोडमा किन्ने निर्णय कांग्रेसले गरेको हो । कांग्रेस केन्द्रीय कार्यालयले खरिद गर्ने गरी मिति २०८२ असार ११ गते महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग १ वर्षभित्र पास गर्ने गरी ५० लाख रुपैयाँ बैना सहित सम्झौता भएको विज्ञप्तिमा उल्लेख छ ।

