लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

काठमाडौं:  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली गर्नुभएको छ ।  पदबहालीपछि उहाँले जेनजी आन्दोलनका क्रममा क्षति भएका भवन निर्माण गर्दा सकेसम्म स्वदेशी सामग्री नै प्रयोग गर्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नुभयो । त्यसअवसरमा उहाँले पुननिर्माण गर्दा केही महङ्गो भए पनि स्थानीय उत्पादन नै प्रयोग गर्न प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताउनुभयो । मन्त्री सिन्हाले उद्योग व्यवसायलाई सहजीकरण नगरी देशमा आर्थिक उन्नति गर्न नसकिने भन्दै यो कदमले केही हदसम्म उद्यम विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अहिलेको मूल उद्देश्य भनेको तत्कालका लागि घाइते र सहादत प्राप्त गर्नेहरूका परिवारलाई रोजगारीको अवसर दिने र युवाको सीप व्यवस्थापनमा जोड दिने हो । युवालाई देशमा बस्ने वातावरण मिलाउन सीप विकास र व्यवस्थापनको आवश्यकता छ । यसमा लाग्छौँ ।” मन्त्री सिन्हाले अन्तरिम सरकारको पहिलो लक्ष्य स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण तरिकाले चुनाव गराउने र राज्य सञ्चालनको जिम्मा निर्वाचित सरकारलाई हस्तान्तरण गर्ने रहेको प्रष्ट्याउनुभयो । उहाँले आगामी चुनावमा नयाँ अनुहारलाई सदनमा देख्न पाउने आशा व्यक्त गर्नुभयो । “छ महिनामा धेरै उपलब्धि हासिल गर्ने आशा नराखौँ । कार्यविधिगत कुरामा सहजीकरण गर्नेका साथै अनलाइन प्रविधिको प्रयोग गर्ने सोचेको छु” मन्त्री सिन्हाले भन्नुभयो, “जेनजीहरूले दिएको योगदान खेर जान नदिने गरी काम गर्नेछौँ ।” मन्त्री सिन्हाले सर्वोच्च अदालतको पूर्वन्यायाधीश भएर काम गरिसक्नुभएको छ ।

काठमाडौं: नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा। मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गरेका छन् । मन्त्रालयका सचिवको नेतृत्वमा गठन हुने समितिले यसमा समन्वयको काम गर्ने जनाइएको छ । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री डा परियारले निर्वाचनलाई प्राथमिकतामा राखेर कृषि क्षेत्रमा केही फरक काम गर्ने प्रतिबद्धता जनाए। शासकीय सुधार र बेथिति रोक्ने काममा सरकार लागिपर्ने उनको भनाइ थियो ।  मन्त्री डा. परियारले वर्तमान सरकारलाई प्राप्त शासकीय सुधार, बेथितिको अन्त्य एवं निर्वाचन गराउन प्राप्त ‘म्यान्डेट’ पूरा गर्न आफ्नो तर्फबाट सम्पूर्ण योगदान रहने प्रतिबद्धता व्यक्त गरे। 

काठमाडौं:  सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले पदभार ग्रहण गरेका छन्।  आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै सिंहदरबारस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै मन्त्री खरेलले काठमाडौँसहित देशका प्रमुख १० सहरका सार्वजनिक स्थानमा पाँच महिनाभित्र निःशुल्क वाइफाइ उपलब्ध गराउने पहिलो निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं:   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गर्नुभएको छ । आज राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण लगत्तै केशरमहलस्थित कार्यालय पुगी उहाँले पदभार ग्रहण गर्नुभएको हो ।     पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्रसँग सम्बन्धित चार वटा सल्लाहकार समिति गठन गर्ने निर्णयमा हस्ताक्षर गर्नुभयो ।  अन्तरिक्ष प्रविधि, न्यूक्लियर टेक्नोलोजी, बायोटेक्नोलोजी र सूचना प्रविधि तथा एआईसम्बन्धी सल्लाह दिन सल्लाहकार समिति गठन गर्नुभएको मन्त्रालयले जनाएको छ । समितिको कार्यक्षेत्र प्रस्ताव गरिएको छ । समितिमा रहने सदस्यहरुको नाम पछि टुङ्गो लगाइने जनाइएको छ ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिउँसो ३ बजे आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण गर्नुभएको हो ।  नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिन्हाले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ लिनुभयो ।  प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गर्नुभएको थियो । स्वास्थ्यमन्त्रीमा डा। सङ्गीता कौशल मिश्राको नाम यसअघि सिफारिस भए पनि अन्तिममा आएर उहाँको नाम रोकिएको छ । उहाँले आज शपथ खान पाउनुभएन । शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, सुरक्षाकर्मी तथा व्यक्तित्वहरुको सहभागिता थियो ।  कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ । त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाउनुभएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुनुहुन्छ । यसैगरी मन्त्री परियार कृषि विज्ञ हुनुहुन्छ । मन्त्री खरेल वरिष्ठ पत्रकार हुनुहुन्छ । वर्तमान मन्त्रिपरिषद्मा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ,  कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ ।  ‘जेनजी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिकाबिच राष्ट्रपति पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।  

चितवन:  मुग्लिन-नारायणगढ सडक खण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ।  चितवनको इच्छाकामनास्थित तुइनखोला पुल नजिकै पहिरो खसेर अवरुद्ध भएको सडकलाई दुईतर्फी गर्ने उद्देश्यले सोमबार दिउँसो एक बजेदेखि तीन बजेसम्म सवारी आवागमन रोक्न लागिएको हो।  सडक डिभिजन कार्यालय भरतपुरले केहीबेरअघि सूचना जारी गर्दै हाल एकतर्फी गाडी गुडिरहेको सडकमा दुईतर्फी नै गाडी सञ्चालन गर्ने उद्देश्यले दुई घण्टा सवारी रोक्न लागिएको जनाएको छ।  ‘मुग्लिन नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै हाल सडक एकतर्फी संचालनमा रहेको छ। पहिरो पूर्ण रूपमा हटाएर उक्त सडक दुईतर्फि संचालनमा ल्याउनको लागि जिल्ला प्रशासन कार्यालय चितवनको निर्णय अनुसार आज दिउँसो १ बजेदेखि ३ बजेसम्म सवारीसाधनहरू रोकि बाँकी रहेको पहिरो हटाउने कार्य सुचारू गरिने व्यहोरा सम्पूर्णलाई जानकारी गराइन्छ। उक्त अवधिभर रोकिने सवारीसाधनहरू आफ्नो लेन अनुशासनमा रहनुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ।  दुई दिनसम्म पूर्णरुपमा अवरुद्ध रहेको नारायणगढ(मुग्लिन सडकको पहिरो हटाएपछि आइतबार साँझदेखि एकतर्फी गाडी चलेका थिए। तर, तुइन खोलामा गएराति पुनःपहिरो खस्दा सडक अवरुद्ध भएको थियो। त्यो पहिरो पनि हटाएपछि आज बिहानबाट फेरि यो सडकमा एकतर्फी गाडी चलेका थिए।  अब दुईतर्फी नै गाडी चलाउने उद्देश्यले सडकको सबै पहिरो हटाउन लागिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। 

काठमाडौं:  सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा खरिद बिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  आइतबार प्रतितोला रू दुई लाख १७ हजार १०० मा खरिदबिक्री भएकोमा आज रू सात सय बढेको हो । त्यस्तै, आज चाँदी प्रतितोला रू दुई हजार छ सय ५० मा खरिद बिक्री हुनेछ ।  अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार छ सय ९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

पर्वत:  गत शनिबार रातिको भीषण वर्षाका कारण बस्तीभन्दा तलदेखि पहिरो जाँदा यहाँको फलेवास नगरपालिका–८ ठानामौला खाल्टेका छ घर पूर्ण रूपमा भत्किएका छन् । त्यसैगरी १० घर उच्च जोखिममा छन् । स्थानीय मीनबहादुर नेपाली, नन्दकुमारी भण्डारी, डिलबहादुर गुरुङ, अस्मिता सार्की, लक्ष्मी परियार र अर्को एक रित्तो घर र गोठ पूर्ण रूपमा भत्किएको सो वडाका वडा अध्यक्ष मनबहादुर कुँवरले जानकारी दिनुभयो । कुनै मानविय तथा पशुचौपायाको क्षति भने भएको छैन । जमिन चिरा पर्न थालेपछि र पशुचौपायासहित पहिल्यै सुरक्षित ठाउँमा सर्न भ्याएकाले क्षति हुन नपाएको हो । बस्तीभन्दा तल रहेको खोल्साबाट केही वर्षदेखि पहिरो बग्दै गाउँसम्म पुगेको हो ।  विस्थापित घरपरिवारलाई नजिकैको जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा टेन्ट टाँगेर राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरिक्षक रबिन विष्टले जानकारी दिनुभयो । जिल्ला स्थित विपद् व्यवस्थापन समितिका टोली, फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधार तिवारी, उपप्रमुख शोभा क्षेत्रीलगायतका स्थानीय जनप्रतिनिधिले सो स्थानको स्थलगत निरीक्षण गरेका छन् । उनीहरुले विस्थापित परिवारलाई अस्थाई वसोवासका लागि पाँचवटा टेन्ट उपलब्ध गराएको सो नगरका नगरप्रमुख गङ्गाधर तिवारीले जानकारी दिनुभयो । विस्थापित परिवारलाई पुनःस्थापना गर्न र सुरक्षित स्थानमा आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पहल गरिने उहाँले बताउनुभयो । 

म्याग्दी:   मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । शरदयामको सुरुआतसँगै अन्नपूर्ण गाउँपालिका–४ मा स्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल शिविरमा पर्यटकको चहलपहल बढेको हो । हाल दैनिक १५ देखि ४० जना पदयात्री आधार शिविरको पदयात्रामा गइरहेका अन्नपूर्ण–४ का वडा सदस्य श्याम पुर्जाले बताए । दसैँ तिहारको बिदा सुरु भएपछि पदयात्रीहरुको चाप बढ्ने अपेक्षा गरिएको उनको भनाइ छ । मिस्त्रीखोलाको किनारै किनार, अग्ला झरना, मनमोहक हिमश्रृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै अन्नपूर्ण आधार शिविरमा पुग्न सकिन्छ । नारच्याङदेखि दुई घण्टा गाडीमा यात्रा गरेपछि पुगिने हुमखोलादेखि दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । छोटो यात्रामा पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर पर्यटकको रोजाइमा परेको छ । शान्त र एकान्त वातावरण, वन्यजन्तु, पक्षी, जङ्गल, अग्ला पहाडको खोच, फुतफुते झरना, अन्नपूर्ण हिमालको फेदीमा रहेको निलो रङगको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो । सहरको कोलाहलबाट मुक्त भएर प्रकृतिसँग रमाउदै छोटो समयको पदयात्राका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर उपभोगी भएको गोरखाबाट आएका सन्दिप भट्टले बताए ।  ७५ वर्षअघि फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण हिमाल आरोहणका लागि प्रयोग गरेको बाटो पछ्याउँदै २०६७ सालमा नारच्याङका तेज गुरुङको अगुवाइमा पहिचान भएको यो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा मौरिस हर्गोज नामकरण गरी खुलाएको थियो । अन्नपूर्ण गाउँपालिकाले आश्रयस्थल, सार्वजनिक शौचालय, खानेपानी निर्माण, पदमार्ग मर्मत र समुद्रि सतहदेखि चार हजार एक सय मिटर उचाइमा रहेको आधार शिविरमा खुल्ला सङ्ग्रहालय स्थापना गरेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को पाँच लाख सहयोगमा ‘रेड वाटरफल’ र सुनखोलामा काठको पुल निर्माण भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को नीगिगत व्यवस्था अनुसारको प्रक्रिया पूरा गरेर गाउँपालिकाबाट अनुमति लिएर नारच्याङका युवाहरुले फुटफुते झरनामा चिया पसल, साधीखर्क, गुफाफाँट, भुसकेट र अन्नपूर्ण आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा क्यापीङ सञ्चालन गरेका छन् । पर्यटकलाई खान, बस्न सहज, बन्दोबस्तीका सामानको भारी बोकेर यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै स्थानीयस्तरमा रोजगारी र आयआर्जनको अवसर सिर्जना भएको छ । ती क्यापिङ क्षेत्रहरुमा दैनिक ५० जनासम्म पर्यटक बास बस्न सक्ने क्षमता रहेको छ ।