अनलाइन ठगीबाट जोगिन प्रहरीको आग्रह
पाेखरा | कात्तिक २१, २०८२
पोखरा: अनलाइन ठगीका घटना बढेको भन्दै कास्की जिल्ला प्रहरी कार्यालयले सावधानी अपनाउन सर्वसाधारणलाई सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ ।
कार्यालयले अनलाइनबाट सामान खरिद गर्दा सामान प्राप्त गरिसकेपछि मात्र भुक्तानी गर्न, भरपर्दो विक्रेतासँग मात्र कारोबार गर्न, महँगो सामान अपत्यारिलो सस्तो मूल्यमा पाइएमा उक्त सामान चोरीको हुनसक्ने हुँदा सचेत रहन भनेको हो ।
अनलाइनमा सस्तो दरमा सामान देखाइ अग्रिम रकम भुक्तानी गर्न लगाउने र पैसा आएको छैन भनी स्क्रिन शेयर गर्न लगाई ‘ओटिपी’ लिई खाता ह्याक गरी ठगी हुनसक्ने हुँदा कसैलाई पनि आफ्नो मोबाइलको स्क्रिन सेयर नगर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले साथीभाइ र आफन्तका नामबाट विभिन्न समस्या देखाइ सामाजिक सञ्जालमा आर्थिक सहयोग माग गरेमा प्रत्यक्ष सम्पर्क गरेर यकिन गरेर मात्र सहयोग गर्न भनेको हो ।
अपरिचित व्यक्तिले विदेशबाट उपहार वा बहुमूल्य सामान पठाएको कुरालाई विश्वास नगर्न र सामाजिक सञ्जालमा अनलाइन रोजगारीको अवसर देखाएर लगानी गर्न लगाइ ठगी हुने हुँदा सावधानी अपनाउन आग्रह गरिएको हो । वैदेशिक रोजगारीमा जाँदा भरपर्दो माध्यम रोज्न र पैसा दिँदा स्पष्ट रूपमा वैदेशिक रोजगारीको कारण खुलाई बैंकमार्फत कारोबार गर्न भनिएको छ ।
सामाजिक सञ्जाल तथा बैंकिङ एपहरूमा कठिन पासवर्ड राख्न, अपरिचित व्यक्तिहरूसँग साथी नबन्न, आफ्नो व्यक्तिगत विवरण सार्वजनिक नगर्न, आर्थिक सहयोगलगायत कुनै पनि बहानामा नफस्न र सामाजिक सञ्जालमा आएका अपरिचित लिङ्कहरू नखोल्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको हो ।
काभ्रपेलाञ्चोक: सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । ...
मुस्ताङ: मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता ...
काठमाडौं: आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेन(जी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ । ...

