पोखरा:   पोखरा महानगरपालिका वडा नं. १७ स्थित नमुना टोलसुधार समितिको २० र्औ बार्षिक साधारण सभामा भूमिहीन सुकुम्वासीको अधिकार पहिचान र जग्गाको मालिक बनाउन पर्ने आवश्यकता माथि जोड दिइएको छ ।  ...

पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानीत हुने भएका छन् । पोखरा महेन्द्रपुलमा सञ्चालनमा रहेको निट डेण्टल केयर प्रालिले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार कोइराला सम्मानित हुन लागेका हुन् । फोनिजका संघीय सचिव एमबी आस्थामगरको संयोजकत्वमा गठित प्रतिभा छनोट समिति समितिले सिफारिस गरेको नाम फोनिज गण्डकीको बैठकले अनुमोदन गरेका छ । छनोट समितिका सदस्यहरुमा फोनिज गण्डकी इन्चार्ज रुद्र श्रीस मगर, फोनिज गण्डकी अध्यक्ष खिमा गुरुङ, अनुशासन समिति संयोजक मिना थापा मगर र महासचिव सुरज थापामगर थिए । पुरस्कार डेण्टलको तेस्रो वार्षिकोत्सवको अवसरमा एक समारोहका बिच मंसिर २६ गते अर्पण गरिनेछ । पुरस्कारको राशी नगद २५ हजार ५५५ रुपैयाँ रहेको छ । पुरस्कारका लागि डेण्टलले यसै वर्ष ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिसकेको छ । सम्मानित हुन लागेका पत्रकार कोइराला समाधान मिडिया ग्रुप अन्तर्गतको समाधान न्यूज डटकमका सम्पादक हुन् । पुतलीबजार १३ स्याङ्जा स्थायी घर भएका पत्रकार कोइरालाले २०५९ वैशाख १ गते काठमाडौँमा रही अन्नपूर्ण पोस्टबाट पत्रकारिता यात्रा सुरु गरेका थिए । २०६५ सालमा पोखरा आएर उनले प्रतिष्ठित अंग्रेजी दैनिक द हिमालयन टाइम्स र अन्नपूर्ण पोस्ट को ब्युरो चिफको जिम्मेवारी सम्हालेका थिए । दुई दशकदेखि अघिदेखि पत्रकारितामा निरन्तर कलम चलाइरहेका भरत कोइरालाको यसअघि समाधान दैनिककै कार्यकारी सम्पादक र आदर्श समाज दैनिकको सम्पादक भई काम काम गरेका थिए । केही समय काठमाडौंबाट पोखरा एफएममा समेत काम गरेको उनीसँग अनुभव छ ।   पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर गरेका कोइरालाले लेकसिटी कलेज र भद्रकाली माविमा पत्रकारिता विषय पढाउँछन् । उनी सञ्चार र पत्रकारिता विषयको प्रशिक्षक पनि हुन् । नेपालस्थित अमेरिकी दूतावासमार्फत् सञ्चालित खोज समाचार लेखनवृत्तिमा गण्डकीबाट छनोट र नेपालभरबाट उत्कृष्ट ३ मा परेका पत्रकार कोइरालाले खोजपत्रकारिता केन्द्रबाट खोजपत्रकारिता तालिम ३ महिना र प्रेस काउन्सिल लगायत संस्थाबाट प्रदान गरिएको तालिम लिएका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधि परिषद सदस्य रहेका पत्रकार कोइराला संसदीय पत्रकार मञ्च गण्डकीका निवर्तमान अध्यक्ष हुन् । उनले गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रेस संयोजक भइ काम गरेका थिए । पत्रकार कोइराला यसअघि पोखरा आर्थिक पत्रकारिता पुरस्कार र गजेन्द्र भण्डारी पत्रकारिता पुरस्काराबाट सम्मानीत भइसकेका छन् ।  

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो । चारमध्ये अस्थायी दुई लेन खण्ड सवारी चापका कारण चर्किएर गत साउन अन्तिम साता भासिएको थियो ।  भासिएको सडकखण्ड आजदेखि मर्मत गर्न थालिएको मुग्लिन पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार करिब एक सय मिटर सडक भासिएपछि सो क्षेत्रमा सवारी आवागमन बन्द गरी एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ । सडक भाँसिएको ठाउँमा कालोपत्र उप्काएर मर्मत गर्न थालिएको उहाँले जानकारी दिनुभयो । मुग्लिन–पोखरा सडकको पूर्वी खण्डअन्तर्गत जामुनेबाट आँबुखैरेनीसम्मको ४१ दशमलव पाँच किलोमिटर खण्डमा चार लेनमा कालोपत्र सम्पन्न भइसकेको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ ।  विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडीबी०को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो । पूर्वी खण्डको ठेक्का रु। छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

काठमाडौंः  सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।  मन्त्री खरेलले मन्त्रिपरिषद्का २७ निर्णय एकसाथ सार्वजनिक गर्नुभएको हो । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु भई सहिद घोषणा गरिएका व्यक्तिका परिवारलाई तस्बिरसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो परिचय पत्र आमा, बुवा, श्रीमान्, श्रीमती र अविवाहित छोरा, छोरीलाई दिइने छ ।  सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनमा मृत्यु भई सहिद घोषणा गरेका परिवारलाई गृह मन्त्रालयले तस्बिरसहितको परिचयपत्र दिने निर्णय गरेको प्रवक्ता खरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । यस्तै, प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी सहिद दिवस’का रूपमा मनाउने निर्णयसमेत गरिएको उहाँले बताउनुभयो ।   बैठकले आगामी माघ १ गतेदेखि एक पटकमा पाँच लाख वा सोभन्दा बढी मूल्यको सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्नुपर्ने निर्णय पनि गरेको छ । यसैगरी श्रीलङ्कामा भीषण बाढीपहिरोले क्षति गरेकाले नेपाल सरकारले सहायतास्वरूप दुई लाख अमेरिकी डलर सहयोग गर्ने निर्णय पनि गरिएको प्रवक्ता खरेलले बताउनुभयो ।  यस्तै, विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्रा। ज्ञानबहादुर थापा, प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा। कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय भएको छ । कार्बन व्यापार नियमावली २०८२ स्वीकृत गर्ने निर्णय पनि गरिएको छ । राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा वैकुण्ठप्रसाद अर्याललाई बढुवा गरिएको छ ।    

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गर्ने गरी पुरस्कार स्थापना गरिएको हो । प्रत्येक वर्ष प्रदान गरिने पुरस्कारका लागि डेण्टलले ५ लाख रुपैयाँको अक्षयकोष पनि स्थापना गरेको छ । मंगलबार एक कार्यक्रमका बीच फोनिज गण्डकीका उपाध्यक्ष धनबहादुर गुरुङ ‘सुमन’ र निट डेण्टल केयर प्रालिका प्रवन्ध निर्देशक वीरेन रानामगरबीच अक्षयकोष स्थापना गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  पत्रकारिताको क्षेत्रमा काम गरिरहेका पत्रकार सम्मान गर्ने उद्देश्यले पुरस्कार घोषणासँगै अक्षयकोष स्थापना गरिएको हो । डेण्टलको वार्षिकोत्सवका अवसरमा नेपालभर जुनसुकै जिल्लामा रहेर पत्रकारिता क्षेत्रमा काम गरिरहेका एक जना पत्रकारलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिने छ । कार्यक्रममा डेण्टलका प्रवन्ध निर्देशक रानाले आफूले विभिन्न क्षेत्रमा सामाजिक काम गर्दै आइरहेको अवस्थामा पत्रकारिताको क्षेत्रमा पनि केही योगदान गर्नुपर्छ भन्ने हेतुले अक्षयकोष स्थापना गरेको बताए । पत्रकारिता क्षेत्र समाजको अभिन्न अंग भएको र यसले समाजमा भइरहेका हरेक सूचनालाई आम नागरिक समक्ष प्रवाह गर्ने भएकाले यो क्षेत्रमा योगदान गर्न पाउनु आफ्नो अहोभाग्य भएको रानाको भनाई थियो । पहिलो वर्ष गण्डकी प्रदेशका विभिन्न जिल्लामा पत्रकारिता क्षेत्रमा काम गरिरहेका पत्रकारलाई प्राथमिकता दिए पनि आगामी वर्षबाट देशभरीका पत्रकारलाई सम्मान गर्ने उद्देश्य भएको उनले जानकारी दिए । नेपाल आदिवासी जनजाति पत्रकार महासंघका संघीय सचिव एमबी आस्था मगरले पुरस्कारले पत्रकारलाई हौसला प्रदान गर्ने बताए । पुरस्कार वितरणको कार्यक्रमलाई निरन्तरता दिनु अहिलेको आवश्यकता भएको उनको भनाई छ । ‘आफ्नै अगाडि धेरै पुरस्कार केही वर्षमा वितरण गर्न रोकिएको उदाहरण देखिरहेका छौं, अब अक्षयकोष स्थापना भइसकेपछि निट डेण्टल पुरस्कारले हरेक वर्ष निरन्तरता पाउने छ,’ उनले भने । निट डेण्टल पुरस्कारले आदिवासी जनजाति समुदायका पत्रकारलाई मात्र नभएर अन्य समुदायका पत्रकारलाई समेत समेट्दै अगाडि बढ्ने संघीय सचिव आस्थामगरको विश्वास छ । यो पुरस्कार पोखरा वा गण्डकी प्रदेशका पत्रकारहरुमा मात्रै्र सीमित नगरेर देशभरीका पत्रकारलाई सम्मान गर्ने गरेर स्थापना गरिएको उनले जानकारी दिए ।  

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।  सिमेन्ट बोकेर भैरहवादेखि दरवाङ जाँदै गरेको ग २ ख ०८४० नं को ट्रक फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २ः३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो । ट्रकसहित चालक पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा म्याग्दी नदीमा खस्नुभएको थियो ।  प्रहरी निरीक्षक सागर तिमिल्सिना र सिङ्गा तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको १३ जना प्रहरीको टोलीले म्याग्दी नदीको पानीमा खसेको ट्रकभित्र रहेका चालक खाम्चालाई उद्धार गरेको हो ।  निधारमा चोट र शरीरको विभिन्न भाग ददारिएको अवस्थामा उद्धार गरिएका चालक खाम्चाको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताउनुभयो ।  उपचारमा संलग्न चिकित्सकका अनुसार चालकको अवस्था खतरामुक्त छ । नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ । प्रहरीका अनुसार ट्रकमा तीन सय ४० बोरा सिमेन्ट थिए । केही बोरा नदीमा खसेको र केही बोरा भिरमा अड्किएको छ ।  फापरखेतको पहिरोले बर्खायाममा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक दैनिकजसो अवरुद्ध बनाउने र अन्य समयमा दुर्घटनाको जोखिम बनाएको छ । उक्त ठाउँमा गत असोजमा पनि सिमेन्ट बोकेको ट्रक सडकबाट खसेको थियो । 

बागलुङ:  तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ ।  सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्दरओमबुद्ध जेबी काठमाडौंले जिम्मा पाएको थियो । २०८० साल वैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ । ३० महिनामा सक्नेगरी २०७८ साल कात्तिक ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ । उक्त म्याद पनि आगामी २०८३ जेठसम्म रहेको छ । २५ करोड ६१ लाख ३१ हजार १६६ रुपैयाँमा उक्त खण्ड स्तरोन्नति भइरहेको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सूचना अधिकारी कृष्टिना थापाले जानाकारी दिइन् । अहिले सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलको काम भइरहेको उनको भनाइ छ । केही समयदेखि निर्माण कम्पनीले धमाधम काम गरिरहेको थापाले बताइन् । यो अन्तिम म्याद रहेको उनको भनाइ छ । आगामी जेठसम्म नसके अर्को प्रक्रियामा जाने थापाको भनाइ छ । निर्माण कम्पनीले अहिलेकै गतिमा काम गरे जेठसम्म काम सक्ने उनले बताइन् । स्वच्छन्दरओमबुद्ध जेबीका प्रतिनिधि डालबहादुर कुँवरले आगामी जेठ महिनासम्म काम सक्ने गरी तीव्र गतिमा भइरहेको बताए । अहिले सडकका विभिन्न खण्डमा ६ वटा ठूला मेसिनसहित कामदार लगाएको उनको भनाइ छ । पुस र माघ महिनामा धेरै चिसो हुने हुँदा अहिलेनै अलि बढी काम सक्नुपर्ने बाध्यता रहेको कुँवरले सुनाए । गत मङ्सिरदेखि यस खण्डमा कामले गति लिएको हो । २०६८ सालमा रूपन्देहीदेखि सुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पा हुँदै ढोरपाटन जोडिएको छ । रूपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन नसकेको हो । यतिका समयसम्म काम सम्पन्न नहुँदा हिउँदमा हिलो र बर्खामा धुलोले स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए । पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकको चाप बढेको भन्दै सडकको दुरावस्थाका कारण दुःख पाउनु परेको उनको भनाइ छ ।

म्याग्दी:  भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने जिल्लाको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा पहिलोपटक बस पुगेको छ । सदरमुकाम बेनीबजारबाट यात्रु बोकेर शनिबार पहिलोपटक ध१ख ३०८ नम्बरको बस मल्कवाङ पुगेको हो ।  बसका धनी जगत दगामी मगर र चालक श्याम मिजारलाई स्थानीयले अबिर र माला लगाएर स्वागत गरेका छन् । धवलागिरि(५ मल्कवाङका वडाध्यक्ष अमर छन्त्यालसहित जनप्रतिनिधि, स्थानीय अगुवा, आमा समूह र युवा क्लबका प्रतिनिधिहरूले चालक र सवारीधनीलाई स्वागत गर्नुका साथै खुसीयाली मनाएका हुन् । वडाध्यक्ष छन्त्यालका अनुसार विसं २०७८ मा सडक सञ्जालमा जोडिएको मल्कवाङमा यसअघि जिप, ट्याक्टर र मोटरसाइकल मात्र आउने गरेका थिए । गाउँपालिकामार्फत बर्खामा अवरुद्ध सडक मर्मत गर्ने क्रममा अप्ठ्यारो ठाउँमा ग्रेड र घुम्ती मिलाएर बस सञ्चालन गर्न मिल्ने बनाइएको उहाँले बताउनुभयो ।  सडक सञ्जालमा जोडिएको पाँच वर्षपछि मल्कवाङमा बस सञ्चालन हुन थालेको हो । बस सञ्चालन भएपछि स्थानीयवासीले जिपको तुलनामा सस्तो भाडादरमा यात्रा गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । यसअघि जिपमा मल्कवाङ–बेनी यात्रा गर्दा प्रतिव्यक्ति रु। एक हजार भाडा तिर्नुपर्ने बाध्यता थियो । बसका लागि प्रतिव्यक्ति भाडादर रु। सात सय ५० कायम गरिएको वडाध्यक्ष छन्तयालले जानकारी दिनुभयो । “बेनीबाट मल्कवाङसम्मको दूरी ४५ किमी छ । बस सेवा सञ्चालन भएसँगै मल्कवाङ, भेडिखाल्डा, कुइनेखानी, आरवाङ, घण्टीवाङका तीन सयभन्दा बढी परिवार लाभान्वित भएका छन्”, उहाँले भन्नुभयो । असारदेखि असोजबाहेक आठ महिना बस सञ्चालन गर्न मिल्ने गरेर सडक बनाइएको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । म्याग्दी यातायात प्रालिले बेनीबाट हरेक बिहान ७ः०० बजे र मल्कवाङबाट बिहान ८ः०० बजे प्रत्येक दिन एउटा–एउटा बस छुट्ने जनाएको छ ।  यसअघि मल्कवाङ, भेडिखाल्टा, आरवाङ, घण्टीवाङ, कुइनेखानीका बासिन्दा पैदलयात्रा गरेर मराङ बेँसी पुगेर बस चढ्ने गर्दथे । मल्कवाङबाट भेडीखाल्टालाई सडक सञ्जालमा जोड्नका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षको योजना कार्यान्वयनको तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । उहाँका अनुसार उक्त खण्ड विस्तार तथा स्तरोन्नतिका लागि यस वर्ष रु। ३० लाख विनियोजन भएको छ ।  भेडिखाल्टामा पनि हालसम्म सडक पुगेको छैन । गण्डकी प्रदेश सरकारले मालिका गाउँपालिकाको बिमलुरवाङ, मराङबेँसी, अर्वाङ हँुदै मल्कवाङ जोड्ने सडक स्तरोन्नतिका लागि बहुवर्षीय योजना सञ्चालन गर्ने लक्ष्यसहित चालु आवमा रु एक करोड विनियोजन गरेको छ ।  प्रदेशसभा सदस्य रेशम जुग्जालीले उक्त बजेटलाई २० प्रतिशत मानेर रु। पाँच करोड स्रोत सुनिश्चितता गराई बहुवर्षीय ठेक्का आह्वान गर्नुपर्ने धारणा राख्नुभयो । लुरवाङबाट मल्कवाङ खण्डको अप्ठ्यारो ठाउँको सडकलाई स्तरोन्नति गरेर सहज बनाउन पहल गरिरहेको उहाँले जानकारी दिनुभयो 

बझाङ:  आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ ।  छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।  सैपाल हिमालमा केन्द्रविन्दु बनाएर गएको भूकम्पले बाजुरामा पनि धक्का दिएको छ । पश्चिमी क्षेत्रमा भूकम्प आउन थालेपछि स्थानीय त्रसित बनेका छन् । भूकम्पीय जोखिममा रहेको सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङसहित आसपासका स्थानीय त्रसित भएका छन् । भूकम्पको धक्का महसुस गरिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाजुराले सबैमा आग्रह गरेको छ । विपद् कुनै बाजा बजाएर नआउने भएकाले भूकम्पसहितका प्राकृतिक विपत्तिबाट जोगिन सजग र सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले सबै धर्मप्रति आफ्नो सम्मान उत्तिकै रहेको बताएकी छन् ।  लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा दिएको अभिव्यक्तिमा प्राप्त टिप्पणाीप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले यस्तो बताएकी हुन् । उनले शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैलाई अनुरोध गरेकी छन् । सामाजिक सञ्जाल एक्समार्फत् कार्कीले यस्तो बताएकी हुन् । ‘लैंगिक हिंसाविरुद्धको १६दिने अभियान शुभारम्भका क्रममा मैले दिएको अभिव्यक्तिमा रहेर विभिन्न टिप्पणी भएका रहेछन्। कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन’, प्रधानमन्त्री कार्कीले भनेकी छन्, ‘सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैमा विनम्र अनुरोध छ।’