पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्टस समिटमा ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफि प्रदर्शन गरिएको छ ।  भारत र श्रीलंकामा फेब्र...

पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन लागेको २२ औं एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।  नेपाली खेलकुदको सबैभन्दा ठूलो र फ्रतिष्ठित अवार्डको कार्यक्रमको इतिहासमै कार्यत्रम काठमाडौं बाहिर हुन लागेको यो पहिलो पल्ट हो ।  अवार्डको पूर्वसन्ध्यामा मंगलबार स्पोर्टस समिटको पनि आयोजना गरिएको छ । मञ्चअन्तर्गतको एनएसजेएफ एकेडेमीको आयोजनामा भएको त्यस कार्यक्रममा पोखरामा खेल पयर्टन र अर्थतन्त्रबारे छलफल भएको थियो । मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले कार्यक्रमलाई लिएर आफू धेरै उत्साहित रहेको बताएका छन् । उनले भनेका छन्, ‘कार्यक्रमलाई लिएर चाहिने सबै तयारी पूरा भएको छ । अब हामी अवार्ड कार्यक्रमकै ब्यग्र प्रतीक्षामा छौं । हामीलाई सुरुमा मोफसलमा अवार्ड कार्यक्रमको आयोजना गर्दा धेरै चुनौती सामना गर्नु पर्ने लागेको थियो । तर पोखरामा आएपछि हामीले चुनौती भन्दा पनि बढी अवसर देखेका छौं । मलाई लाग्छ, अब पोखरा राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रमको पनि गन्तब्य बन्ने छ ।’ त्यस्तै मञ्चको पोखरा समन्वय शाखाका अध्यक्ष एमबी आस्था मगरले अवार्ड कार्यक्रमको आयोजनाले पोखरेली खेल इतिहासमा नयाँ अध्याय थपिएको बताएका छन् । उनले भनेका छन्, ‘पोखरा सहर स्पोर्टस हबको रूपमा स्थापित हुँदै आएको छ । अब स्पोर्टस अवार्डको सफल आयोजनाले पोखराको खेल क्षेत्र अझ विस्तृत र फराकिलो भएको छ ।’ अवार्डमा पोखरा महानगरपालिका प्रवर्धक रहेको छ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ यस्तै पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोशाक पार्टनरमा केल्मी नेपाल रहेका छन् ।  अवार्डमा यसपल्ट पनि १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् ।     पिपल्स च्वाइस अवार्डको मनोनयनमा रहेका खेलाडीमा उसुका विजय सिन्जाली, टेबल टेनिसकी इभाना थापा, भलिबलका हिमाल सुनारी, क्रिकेटकी पूजा महतो र फुटबलकी रेखा पौडेल रहेका छन् । यसपल्टको कार्यक्रम पोखराको सभागृहमा आयोजना हुनेछ ।

पर्सा:   सर्वदलीय तथा सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगन्जमा भइरहेको विरोध प्रदर्शन अबदेखि नगर्ने सहमति गराएको छ ।   जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज यहाँ बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको ‘कर्फ्यु’  पनि आज  ३ः३० बजेदेखि हटाइएको छ ।  पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले अन्य मुलुक वा स्थानमा घटेका घटनालाई लिएर वीरगन्जमा प्रदर्शन तथा आन्दोलन नगर्ने प्रतिबद्धता गरेसँगै कर्फ्यु हटाउने निर्णय भएको जानकारी दिनु भयो ।  “यहाँका दुई समुदायबिच सहमति र यहाँको शान्तिसुरक्षाको अवस्था सहज बन्दै गएपछि कर्फ्यु हटाउने निर्णय गरेका हौँ,” उहाँले भन्नुभयो, “अब यहाँको जनजीवन सामान्यतर्फ उन्मुख भइरहेको छ ।” सो बैठकले आन्दोलनरत पक्षले विरोध प्रदर्शन गर्नु अघि प्रमुख जिल्ला अधिकारीको अग्रिम अनुमति लिई प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र पेस गर्न जोड दिने, तत्पश्चात् मात्र आन्दोलनको कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको बताइएको छ । “भविष्यमा हुन सक्ने धार्मिक, सामाजिक, सद्भाव विरुद्धका गतिविधिहरूलाई नियन्त्रण गर्न तथा आवश्यक कानुनी कारबाहीका लागि सिफारिस गर्न जिल्लास्थित क्रियाशील राजनीतिक दलहरू एवं विभिन्न धार्मिक समुदायका अगुवाहरू रहने तपसिल बमोजिमको स्थायी सद्भाव संयन्त्र गठन गर्ने निर्णय भएको छ,” उहाँले भन्नु भयो । प्रजिअ दाहालका अनुसार सो स्थायी सद्भाव संयन्त्रमा हिन्दु समुदायका तर्फबाट रञ्जित साह, रञ्जन सिंह रहने छन् । त्यसैगरी, मुस्लिम समुदायका तर्फबाट  महमद महबुब अलि (शेरु)  र अलि असगर मदनी रहने छन् ।  सो सर्वपक्षीय तथा सर्वदलीय बैठकले अन्य धार्मिक समुदायबाट पनि आवश्यकता अनुसार प्रतिनिधित्व र जिल्लास्थित राजनीतिक दलहरूका तर्फबाट एक, एक जना प्रतिनिधि रहने व्यवस्था गरिएको छ ।  त्यसैगरी, सोही संयन्त्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष तथा नागरिक समाजको प्रतिनिधि सदस्य रहने छन् ।  सो बैठकले सबै प्रकारका सञ्चारकर्मीहरूलाई समाचार सम्प्रेषण गर्नु पूर्व धार्मिक, सांस्कृतिक, सामाजिक सद्भावमा खलल नपुग्ने गरी सामाचार सम्प्रेषण गर्न अनुरोध गर्ने पनि निर्णय गरेको छ ।  त्यसैगरी  धार्मिक, सांस्कृतिक, सामाजिक सद्भाव बिथोल्न दुरुत्साहन गर्ने समूह, आन्दोलनकारीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन सक्रिय रहने बताइएको छ ।  साथै सबै पक्षले आ–आफ्नो, समूहका तर्फबाट भएका कमजोरीको मनन गर्दै आ–आफ्नो समुदायका व्यक्तिलाई अनुशासन र आत्मसंयम तथा सद्भाव कायम राख्न प्रतिबद्धता व्यक्त गर्ने निर्णय भएको छ । सो बैठकले विद्यमान परिस्थितिलाई सहज बनाउन सबैले आ–आफ्नो स्थानबाट सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्दै थप विरोध कार्यक्रमहरू नगर्ने पनि निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गोरखा:  यहाँ परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् ।  मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक  भरतबहादुर विकले जानकारी दिनुभयो । सोमबार साँझ घर नजिकै रहेको परालको थुप्रो (टौवा)मा उम्रेको च्याउ टिपेर तरकारी खाएपछि आमा हीरा पहरीसहित १२ वर्षीय छोरा किसान, छ वर्षीय छोरा हिमाल र पाँच वर्षीया छोरी सुजिता बिरामी परेका हुन् । च्याउ खाएलगत्तै पेट दुख्ने, वाकवाकी लाग्ने र अत्यधिक थकानजस्ता लक्षण देखिएपछि तत्काल सबैलाई उपचारका लागि तनहुँको आबुखैरेनी गाउँपालिका अस्पताल पुर्याएको र अहिले सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको उहाँले बताउनुभयो । बिरामी सबै बोल्न सक्ने अवस्थामा छन् । घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

वीरगन्ज:  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा लगाएको कर्फ्युको समय थप गरेको छ।  कर्फ्युको समय मंगलबार दिउँसो १ बजेसम्मको लागि थप गरिएको स्थानीय प्रशासनले जनाएको छ।  यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।  तर, स्थिति सामान्य नभइसकेकाले कर्फ्युको सयम थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए।  सीडीओ दाहालले वार्ताबाट विवादको समाधान खोज्ने प्रयास भइरहेको बताए। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम वीरगन्ज महानगरपालिका क्षेत्रभित्र चार किल्ला तोकेर  कर्फ्यु आदेश जारी गरेको हो। ताकिएको चार किल्लाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने स्थानीय प्रशासनले जनाएको छ।  पूर्वमा बसपार्क, नगवा, ईनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटलाई केन्द्रीत गरेर कर्फ्यु लगाइएको हो।  ‘कर्फ्युको समयमा सुरक्षाकर्मीले देख्ने बित्तिकै गोली हान्न सक्ने भएकाले अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र निस्कनु परेमा नजिककैको सुरक्षाकर्मीसँग समन्वय गरि वा एकसय नम्बरमा फोन गरि निस्कन अनुरोध छ,’ मंगलबार बिहान सीडीओ दाहालले जारी गरेको सूचनामा भनिएको छ, ‘कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव बाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटकका सवारी साधन, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई सेवाका यात्रुहरूको आवागमनमा सुरक्षकर्मीहरूबाट सहजीकरण हुनेछ।’ दुई धार्मिक समुदायबीच उत्पन्न विवादले हिंसात्मक रुप लिन सक्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा सतर्कता कडा पारिएको जनाएको छ।    धार्मिक तथा सामाजिक विवादका कारण गएका केही दिनदेखि वीरगन्ज, जनकपुरसहितका मधेसका जिल्लामा प्रदर्शन भइरहेका छन्।  दुई दिनदेखि धार्मिक र सामाजिक विषयलाई लिएर दुई पक्षबीच वीरगञ्जमा लगातार प्रदर्शन भइरहेका छन्। आइतबारदेखि सुरु भएको आन्दोलनका कारण जनजीवन प्रभावित भएको छ भने नगर क्षेत्र अशान्त बनेको छ। सम्भावित झडप र क्षति रोक्न सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ। प्रशासनले सर्वसाधारणलाई कर्फ्युको पालना गर्न र संयमता अपनाउन आग्रह समेत गरेको छ।  मधेसका प्रदेश प्रमुखदेखि मुख्यमन्त्रीसम्मले सार्वजनिक अपिल मार्फत् साम्प्रदायिक सद्भाव कायम राख्न र संयमता अपनाउन आग्रह गरेका छन्। 

म्याग्दी: धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो ।  योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ९सुविन०, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाउनुभएको हो । स्थानीयवासीले गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीसहित पुग्दा उक्त ठाउँमा पिसिसी ढलानका क्रममा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएपछि तत्कालै भत्काएर पुनर्निर्माण गर्न लगाएको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो । “निर्माणस्थलमा तयार पारिएको मसला (सिमेन्ट, गिट्टी र बालुवा) को मिश्रणमा सडक ग्राभेल गर्न कुटेको बेस हालेको भेटिएपछि थुपारेको मसला फाल्न र गरेको ढलान भत्काउन लगाइएको हो”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । निगरानी र अनुगमनमा कडाइका लागि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन दिएका छौँ ।” स्थानीयवासी विश्वास कुमाईले पिसिसी ढलानमा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तरमा शङ्का लागेपछि व्यवसायीलाई सचेत बनाउँदा अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक र जनप्रतिनिधिहरूलाई जानकारी गराएको बताउनुभयो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ साल जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरूले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पिसिसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सुधार गरिएको र गुणस्तर तथा मापदण्डमा संवेदनशील हुने प्रतिबद्धता जनाउनुभयो । पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने ठाउँमा बनाउने संरचना र निर्माण सामग्रीको गुणस्तरको विषयमा लिखित रूपमा स्पष्ट निर्देशन दिए पनि कमजोरी देखिनु ठेकेदारको कमजोरी भएको बताउनुभयो । गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यस आयोजना म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त हो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब छ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको छ । ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ । छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको छ । गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी जलजला हुँदै ढोरपाटन हालै सडक सञ्जालमा जोडिएको छ ।

पोखरा:  परोपकारी संस्था हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालन गरेको छ । जसमा गण्डकी प्रदेशका जिल्लामा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, झोला लगायतका शैक्षिक सामाग्री सहयोग गरिरहेको छ ।  संस्थाले पुस महिनामा मात्र तनहुँ, लमजुङ, म्याग्दी, बागलुङ जिल्लाका भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, स्कूल ब्याग, कपी लगायतका शैक्षिक तथा खेलकुद सामग्रीहरू सहयोग गरेको हो ।  यस वर्षभित्र गण्डकीका सबै जिल्लामा सहयोगका कार्यक्रम सञ्चालन गरिने हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिए । स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको मुनाफारहित परोपकारी संस्था हेड्स नेपालले विपद् तथा मानवीय संकटका बेला पनि सेवा र सहयोग प्रदान गर्दै आएको हेड्स नेपालका संस्थापक प्रताप राज वन्तले बताए । वन्तका अनुसार वि।सं। २०५० सालमा स्थापना भएको संस्थामा देशभर १० हजारभन्दा बढी साधारण सदस्य, एक हजारभन्दा बढी आजीवन सदस्य तथा दर्जनौँ श्रेयस्कर सदस्य आबद्ध छन् । साथै, अस्ट्रेलिया, जापानलगायत विभिन्न मुलुकमा समेत संस्थाको विस्तार रहेको उनले जानकारी दिए । स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन तथा विकासको क्षेत्रमा सक्रिय रहँदै मौलिकपनको जगेर्ना र सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग पुर्‍याउने लक्ष्यसहित संस्था ३३ वर्षदेखि निरन्तर क्रियाशील रहेको हेड्स नेपालले जनाएको छ।  

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउनुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा सोमाबार विश्वकप ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो ।  आयोजित विश्व कप ट्रफी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ ।” राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको पनि बताउनुभयो ।  नेपालमा विश्व कप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिनुभएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । “नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।  राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने हाम्रा महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त  गर्नुभयो । नेपालमा तीन दिन ट्रफी टुर  भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी टुर नेपालमा पुस २१ देखि २३ सम्म हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा राष्ट्रपति कार्यलयबाट सुरु भएको ट्रफी टुरको थप कार्यक्रम पनि सार्वजनिक गरेको छ । क्यानकाअनुसार ट्रफी मङ्गलबार पोखरा लगिने र मङ्गलबारनै काठमाडौँको बसन्तपुर दरवार क्षेत्रमा प्रदर्शनी गरिनेछ । यस्तै बुधबार दिउँसो बौद्धनाथ स्तूप परिषरमा प्रदर्शनी गरिनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो । आइसिसीका अनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिने छ । यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलेको नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने छ । इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो । युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई पछि पार्दै  नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान बनाएका थिए । नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेको छ ।  समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् । 

पोखरा:  कास्कीको अन्नपूर्ण गाउँपालिका–८ का निरुता नेपालीका दुई छोरा र एक छोरीले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार निरुताकी दुई छोरा सुजन नेपाली, दिनेश नेपाली र  एक छोरी सुस्मिता नेपालीलाई नेपाली नागरिकता प्रदान गरेको हो ।  गत मंसिर १२ गते अन्नपूर्ण गाउँपालिकामा भएको स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतानामूलक अन्र्तक्रिया कार्यक्रममा निरुता नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष हालसम्म तीन सन्तानको जम्मदर्ता नपाएको कारण नेपाली नागरिकता प्रमाणपत्र लिनका लागि समस्या भएको विषय उठान गरेकी थिईन् ।  स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय कास्कीले जन्मदर्ता बनाउन सहजीकरण गरेपछि आइतबार उनीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।  निरुता नेपालीको पूर्व घर बताउने विक्रम राईसँगक सम्बन्ध कायम भई तीन सन्तानको जन्म भएपछि विक्रमले उनीहरुलाई छोडेर वेपत्ता भएपछि बावुको पहिचान हुने कुनै कागजात र प्रमाण पेश हुन नसक्दा नागरिकता पाउनबाट वञ्चित भएका थिए । 

म्याग्दी:   कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।  सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी – १ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडक निर्माणका क्रममा उठेको गुणस्तरको विषयमा आइतबार बेनीमा सरोकारवालाबीच छलफल भएको थियो ।  जिल्ला समन्वय समितिको आयोजनामा भएको बैठकले सडक डिभिजन कार्यालय बागलुङले निर्माण कार्यको गुणस्तर सुनिश्तित गर्ने जिम्मेवारी बोध गर्दै हालसम्म भएका कामको अनुगमन गरी सुधार गर्नेपर्ने देखिए सुधार गर्ने र अब हुने निर्माणसमेत गुणस्तरीय बनाउने प्रबन्ध मिलाउने निर्णय भएको जिससका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले जानकारीदिनुभयो ।  कार्यबाहक प्रमुख खत्रीको अध्यक्षतामा बसेको बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जीनीयर हरि सुवेदीलगायत प्राविधिक, बेनी–१ का अध्यक्ष टेकबहादुर थापा, २ का अध्यक्ष यामबहादुर कार्कीलगायत जनप्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि अरुण सेढाइँ, अनुगमन समिति र उपभोक्ताको उपस्थिति रहेको थियो ।  बिटुमिनले सडकमा विछ्याएको चिप्स नसमातेर भत्किन थालेको र खाल्डैखाल्डा बनेको विषयमा बेनी नगरपालिकाले यही पुस ४ गते भकुण्डेमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा प्रश्न उठ्नुका साथै पुस ९ गते जनप्रतिनिधि र स्थानीयवासीको टोलीले सडक डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका थिए ।  बेनी–२ का वडाध्यक्ष कार्कीले बेसको धुलोका कारण बिटुमिन जम्न नपाउँदा दुई चरणमा गरिएको कालोपत्र भत्किन थालेको बताउनुभयो । उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको चार किलोमिटर पाँच सय मिटर दुरीको सडकमा हालै दोस्रो चरणको कालोपत्र सकिएको थियो । बिमिराबोट–भकुण्डे–तमाने खण्डको चार किलोमिटर दूरी सडकमा कालोपत्रका लागि संरचना तयार पारेर बेस र सबबेस राख्ने तयारी भएको छ ।  नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्ने सम्झौता छ । उक्त योजना निर्माण गर्न विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । तीस महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ ।  सडक डिभिजनका अनुसार करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख सुवेदीले ठेक्का र मर्मत अवधिभर सडकलाई तोकिएको गुणस्तर तथा मापदण्ड अनुसारको बनाइने प्रतिबद्धता जनाउनुभयो ।  “चिसोका कारण जमेको बिटुमिन गर्मी र सवारी साधनको चाप बढेपछि पग्लिएर चिप्स र जमिनलाई समात्ने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो “गर्मीयाममा पनि चिप्स समात्न नसकेर भत्किने अवस्था भेटिएछ भने तोकिएको गुणस्तर अनुसारको बनाउन लगाएर मात्र हस्तान्तरण गर्न लगाउछौँ ।” निर्माण कम्पनीले भत्किएको ठाउँमा सुधार गर्न पत्राचार गरिसकेको सुवेदीले बताउनुभयो ।  निर्माण कम्पनीका आयोजना व्यवस्थापक सेढाइँले बर्खाअघि भएको पहिलो चरणको कालोपत्र र बेसलाई बाढीले बिगारेको, दोस्रो चरणमा विछ्याएको बिटुमिन चिसोले जमेर चिप्स निस्किए पनि गर्मी बढेपछि बिटुमिन पग्लिएर चिप्स समात्ने बताउँदै त्यसपछि पनि सुधार नभए गुणस्तर र मापण्ड अनुसारको बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।