म्याग्दी: धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली ९सुविन०, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनर्निर्माण गर्न लगाउनुभएको हो । स्थानीयवासीले गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोलीसहित पुग्दा उक्त ठाउँमा पिसिसी ढलानका क्रममा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएपछि तत्कालै भत्काएर पुनर्निर्माण गर्न लगाएको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो । “निर्माणस्थलमा तयार पारिएको मसला (सिमेन्ट, गिट्टी र बालुवा) को मिश्रणमा सडक ग्राभेल गर्न कुटेको बेस हालेको भेटिएपछि थुपारेको मसला फाल्न र गरेको ढलान भत्काउन लगाइएको हो”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन् । निगरानी र अनुगमनमा कडाइका लागि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरूलाई निर्देशन दिएका छौँ ।” स्थानीयवासी विश्वास कुमाईले पिसिसी ढलानमा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तरमा शङ्का लागेपछि व्यवसायीलाई सचेत बनाउँदा अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जालमार्फत सार्वजनिक र जनप्रतिनिधिहरूलाई जानकारी गराएको बताउनुभयो । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न २०८१ साल जेठ २० गते रामसागर बिके एस केबीएस धवलागिरि जेभीले रु १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरूले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पिसिसीमा प्रयोग भएको स्वीकार गर्दै कमजोरी सुधार गरिएको र गुणस्तर तथा मापदण्डमा संवेदनशील हुने प्रतिबद्धता जनाउनुभयो । पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने ठाउँमा बनाउने संरचना र निर्माण सामग्रीको गुणस्तरको विषयमा लिखित रूपमा स्पष्ट निर्देशन दिए पनि कमजोरी देखिनु ठेकेदारको कमजोरी भएको बताउनुभयो । गण्डकी प्रदेश सरकारमार्फत सञ्चालित यस आयोजना म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकताप्राप्त हो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब छ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको छ । ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ । छ किलोमिटर दूरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । धारापानीमा २०६६ सालमा सडक पुगेको थियो । यो सडक धवलागिरि गाउँपालिकाका पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्षभित्रै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चारदेखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजनाअन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न रु ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण सुरु भएको छ । गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधि २७ महिनाको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ । धवलागिरिको केन्द्र मुनादेखि खोरिया, मरेनी जलजला हुँदै ढोरपाटन हालै सडक सञ्जालमा जोडिएको छ ।
पोखरा: परोपकारी संस्था हेड्स नेपालले गण्डकी प्रदेश अभियान सञ्चालन गरेको छ । जसमा गण्डकी प्रदेशका जिल्लामा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, झोला लगायतका शैक्षिक सामाग्री सहयोग गरिरहेको छ । संस्थाले पुस महिनामा मात्र तनहुँ, लमजुङ, म्याग्दी, बागलुङ जिल्लाका भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका गरिब तथा विपन्न परिवारमा रहेका विद्यार्थीहरूलाई कपडा, स्कूल ब्याग, कपी लगायतका शैक्षिक तथा खेलकुद सामग्रीहरू सहयोग गरेको हो । यस वर्षभित्र गण्डकीका सबै जिल्लामा सहयोगका कार्यक्रम सञ्चालन गरिने हेड्स नेपाल गण्डकीका अध्यक्ष सन्तबहादुर विश्वकर्माले जानकारी दिए । स्वास्थ्य, शिक्षा, कृषि लगायत समाज विकासका विविध क्षेत्रमा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको मुनाफारहित परोपकारी संस्था हेड्स नेपालले विपद् तथा मानवीय संकटका बेला पनि सेवा र सहयोग प्रदान गर्दै आएको हेड्स नेपालका संस्थापक प्रताप राज वन्तले बताए । वन्तका अनुसार वि।सं। २०५० सालमा स्थापना भएको संस्थामा देशभर १० हजारभन्दा बढी साधारण सदस्य, एक हजारभन्दा बढी आजीवन सदस्य तथा दर्जनौँ श्रेयस्कर सदस्य आबद्ध छन् । साथै, अस्ट्रेलिया, जापानलगायत विभिन्न मुलुकमा समेत संस्थाको विस्तार रहेको उनले जानकारी दिए । स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापन तथा विकासको क्षेत्रमा सक्रिय रहँदै मौलिकपनको जगेर्ना र सामाजिक–आर्थिक रूपान्तरणमा सहयोग पुर्याउने लक्ष्यसहित संस्था ३३ वर्षदेखि निरन्तर क्रियाशील रहेको हेड्स नेपालले जनाएको छ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमाबार विश्वकप ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गर्नुभयो । आयोजित विश्व कप ट्रफी सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाल आज खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदै गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, यसको व्यावसायिक विकाससँगै खेल क्षेत्रमार्फत नेपाली युवाहरूको उज्ज्वल भविष्य निर्माण हुने आधारसमेत सुदृढ बन्दै गएको छ ।” राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक संकेत भएको पनि बताउनुभयो । नेपालमा विश्व कप ट्रफी ल्याई नेपाली क्रिकेट र जनताको उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिनुभएकोमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद्प्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो । “नेपालको क्रिकेटले अझ उचाइ हासिल गरोस, हाम्रा खेलाडीले विश्वमञ्चमा देशको गौरव अझ उच्च बनाउँदै लैजान सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु”, राष्ट्रपति पौडेलले भन्नुभयो । राष्ट्रपति पौडेलले नेपालमा आयोजना हुन गइरहेको महिला विश्व कप छनोट प्रतियोगिता तथा भारत र श्रीलंकामा आयोजना हुन गइरहेको टी–२० विश्व कपमा सहभागी हुने हाम्रा महिला तथा पुरुष राष्ट्रिय क्रिकेट टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गर्नुभयो । नेपालमा तीन दिन ट्रफी टुर भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म आयोजना हुने आइसिसी टी–२० विश्वकपको ट्रफी टुर नेपालमा पुस २१ देखि २३ सम्म हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा राष्ट्रपति कार्यलयबाट सुरु भएको ट्रफी टुरको थप कार्यक्रम पनि सार्वजनिक गरेको छ । क्यानकाअनुसार ट्रफी मङ्गलबार पोखरा लगिने र मङ्गलबारनै काठमाडौँको बसन्तपुर दरवार क्षेत्रमा प्रदर्शनी गरिनेछ । यस्तै बुधबार दिउँसो बौद्धनाथ स्तूप परिषरमा प्रदर्शनी गरिनेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले विश्वकप अघिको ट्रफी टुरमा नेपाललाई पनि समेटेको हो । आइसिसीका अनुसार ट्रफी टुर एसियाली देशमा आयोजक भारत, श्रीलङ्का, नेपाल, कतार, ओमान, बहराइन र मङ्गोलियामा लगिने छ । यसअघि सन् २०१४ र २०२४ को विश्वकप खेलेको नेपालले तेस्रो पटक टी–२० विश्वकप खेल्दैछ । विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ । नेपालले समूह चरणको सबै खेल मुम्बईमा खेल्ने छ । इटालीले पहिलो पटक विश्वकप खेल्न लागेको हो । युरोप क्षेत्रको छनोटबाट स्कटल्यान्डलाई पछि पार्दै नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान बनाएका थिए । नेपालले भने तेस्रो पटक विश्वकपको यात्रा तय गरेको हो । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो । विश्वकपमा सहभागी २० टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चर्चित प्रतिद्वन्द्वी भारत र पाकिस्तानसहित अमेरिका, नेदरल्यान्ड्स र नामिबिया रहेको छ । यस्तै ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान तथा समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, क्यानाडा र युएई रहेको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा पुग्ने छन् । सुपर आठलाई पनि दुई समूहमा विभाजन गरिने छ । त्यसपछि समूहको शीर्ष दुई टोली सेमिफाइनमा पुग्ने छन् ।
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिका–८ का निरुता नेपालीका दुई छोरा र एक छोरीले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार निरुताकी दुई छोरा सुजन नेपाली, दिनेश नेपाली र एक छोरी सुस्मिता नेपालीलाई नेपाली नागरिकता प्रदान गरेको हो । गत मंसिर १२ गते अन्नपूर्ण गाउँपालिकामा भएको स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाह सम्बन्धी सचेतानामूलक अन्र्तक्रिया कार्यक्रममा निरुता नेपालीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष हालसम्म तीन सन्तानको जम्मदर्ता नपाएको कारण नेपाली नागरिकता प्रमाणपत्र लिनका लागि समस्या भएको विषय उठान गरेकी थिईन् । स्थानीय तहसँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय कास्कीले जन्मदर्ता बनाउन सहजीकरण गरेपछि आइतबार उनीहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । निरुता नेपालीको पूर्व घर बताउने विक्रम राईसँगक सम्बन्ध कायम भई तीन सन्तानको जन्म भएपछि विक्रमले उनीहरुलाई छोडेर वेपत्ता भएपछि बावुको पहिचान हुने कुनै कागजात र प्रमाण पेश हुन नसक्दा नागरिकता पाउनबाट वञ्चित भएका थिए ।
म्याग्दी: कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी – १ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडक निर्माणका क्रममा उठेको गुणस्तरको विषयमा आइतबार बेनीमा सरोकारवालाबीच छलफल भएको थियो । जिल्ला समन्वय समितिको आयोजनामा भएको बैठकले सडक डिभिजन कार्यालय बागलुङले निर्माण कार्यको गुणस्तर सुनिश्तित गर्ने जिम्मेवारी बोध गर्दै हालसम्म भएका कामको अनुगमन गरी सुधार गर्नेपर्ने देखिए सुधार गर्ने र अब हुने निर्माणसमेत गुणस्तरीय बनाउने प्रबन्ध मिलाउने निर्णय भएको जिससका कार्यबाहक प्रमुख डिलकुमारी खत्रीले जानकारीदिनुभयो । कार्यबाहक प्रमुख खत्रीको अध्यक्षतामा बसेको बैठकमा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जीनीयर हरि सुवेदीलगायत प्राविधिक, बेनी–१ का अध्यक्ष टेकबहादुर थापा, २ का अध्यक्ष यामबहादुर कार्कीलगायत जनप्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि अरुण सेढाइँ, अनुगमन समिति र उपभोक्ताको उपस्थिति रहेको थियो । बिटुमिनले सडकमा विछ्याएको चिप्स नसमातेर भत्किन थालेको र खाल्डैखाल्डा बनेको विषयमा बेनी नगरपालिकाले यही पुस ४ गते भकुण्डेमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा प्रश्न उठ्नुका साथै पुस ९ गते जनप्रतिनिधि र स्थानीयवासीको टोलीले सडक डिभिजन कार्यालयमा पुगेर ध्यानाकर्षण गराएका थिए । बेनी–२ का वडाध्यक्ष कार्कीले बेसको धुलोका कारण बिटुमिन जम्न नपाउँदा दुई चरणमा गरिएको कालोपत्र भत्किन थालेको बताउनुभयो । उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको चार किलोमिटर पाँच सय मिटर दुरीको सडकमा हालै दोस्रो चरणको कालोपत्र सकिएको थियो । बिमिराबोट–भकुण्डे–तमाने खण्डको चार किलोमिटर दूरी सडकमा कालोपत्रका लागि संरचना तयार पारेर बेस र सबबेस राख्ने तयारी भएको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्ने सम्झौता छ । उक्त योजना निर्माण गर्न विसं २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले रु २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । तीस महिनाको ठेक्का अवधि भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ । सडक डिभिजनका अनुसार करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ । सडक डिभिजन कार्यालय बागलुङका प्रमुख सुवेदीले ठेक्का र मर्मत अवधिभर सडकलाई तोकिएको गुणस्तर तथा मापदण्ड अनुसारको बनाइने प्रतिबद्धता जनाउनुभयो । “चिसोका कारण जमेको बिटुमिन गर्मी र सवारी साधनको चाप बढेपछि पग्लिएर चिप्स र जमिनलाई समात्ने विश्वास लिएका छौँ,” उहाँले भन्नुभयो “गर्मीयाममा पनि चिप्स समात्न नसकेर भत्किने अवस्था भेटिएछ भने तोकिएको गुणस्तर अनुसारको बनाउन लगाएर मात्र हस्तान्तरण गर्न लगाउछौँ ।” निर्माण कम्पनीले भत्किएको ठाउँमा सुधार गर्न पत्राचार गरिसकेको सुवेदीले बताउनुभयो । निर्माण कम्पनीका आयोजना व्यवस्थापक सेढाइँले बर्खाअघि भएको पहिलो चरणको कालोपत्र र बेसलाई बाढीले बिगारेको, दोस्रो चरणमा विछ्याएको बिटुमिन चिसोले जमेर चिप्स निस्किए पनि गर्मी बढेपछि बिटुमिन पग्लिएर चिप्स समात्ने बताउँदै त्यसपछि पनि सुधार नभए गुणस्तर र मापण्ड अनुसारको बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
मुस्ताङ: यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी एकाइ कार्यालय छन् । यसमध्ये १० प्रहरी एकाइ कार्यालयको आफ्नै भवन छैन । कार्यालय भवन नभएका यहाँस्थित प्रहरी एकाइ हालसम्म पनि विभिन्न व्यक्ति तथा संघ संस्थाको भवनमा आश्रय लिइरहेका छन् । जिल्ला मुस्ताङ प्रहरी कार्यालयमातहतको प्रहरी एकाइहरूको आफ्नै भवन संरचना नहुँदा यहाँ कार्यरत प्रहरी सुरक्षाकर्मीलाई विभिन्न प्रकारका समस्या र चुनौती भोग्नुपर्ने बाध्यता रही आएको छ । भौगोलिक विकटता कठिन भूगोल र प्रतिकूल मौसमका बाबजुद मुस्ताङका प्रहरी एकाइहरूले वर्षौंवर्ष पुरानो परम्परागत ढुंगामाटोले बनेको कच्ची भवनमा कार्यसम्पादन गर्नुपर्ने अवस्था छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार यहाँका १९ प्रहरी एकाइमध्ये चार एकाइ कार्यालय विभिन्न व्यक्तिको घरमा भाडामा बस्दै आइरहेका छन् । प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित प्रहरी चौकी कागबेनी, थासाङ—२ कोवाङस्थित प्रहरी चौकी कोवाङ, घरपझोङ—४ जोमसोम पर्यटक प्रहरी (जोमसोम) र घरपझोङ—३ एक्लेभट्टी जिल्ला ट्राफिक कार्यालय विभिन्न व्यक्तिको घर भाडामा लिएर बसेका छन् । यहाँका भाडाका भवनमा बसेका यी प्रहरी एकाइको कार्यालयको खर्चको लागि जिल्ला प्रहरी कार्यालयमार्फत भुक्तानी गर्ने गरिएको छ । यसैगरी मुस्ताङ प्रहरीका १९ प्रहरी एकाइमध्ये ६ प्रहरी एकाइ विभिन्न संघसंस्थाको स्वामित्वमा रहेको भवनमा बस्दै आइरहेका छन् । माथिल्लो मुस्ताङको नेपाल—चीन सिमाना नजिकै रहेको प्रहरी चौकी छोसेर लोमान्थाङ–२ छोसेर न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयको भवनमा बस्दै आएको छ । सीमा नाका र भन्सार कार्यालयको सुरक्षाका लागि खटिएको प्रहरी चौकी छोसेर वर्षांैवर्षदेखि भन्सारको भवनमा आश्रय लिएर बसेको हो । यद्दपि त्यहाँ प्रहरी एकाइका लागि नेपाल सरकारबाट १३ रोपनी जग्गा प्राप्ति भइसकेको लामो समय वितिसक्दा पनि प्रहरी एकाइको आफ्नै भवन संरचना बन्न सकेको छैन । माथिल्लो मुस्ताङको लोमान्थाङ—२ स्थित छोन्हुप प्रहरी चौकी पनि सङ्घीयता अघिको पुरानो गाविस भवनमा ओत लाग्न बाध्य छ । स्थानीयको शान्ति सुरक्षाका लागि खटिएका त्यहाँ कार्यरत प्रहरी एकाइका सुरक्षाकर्मीलाई जीर्ण भवनमा बसेर काम गर्नुपर्दाको समस्या र चुनौती बेग्लै छ । माथिल्लो मुस्ताङकै लोघेकर दामोदरकुण्ड गाउँपालिका—५ स्थित सुर्खाङ प्रहरीचौकी त्यहाँको ढी प्रथमिक विद्यालयको भवनमा बस्दै आएको छ । सोही पालिकाको लोघेकर—२ स्थित घमी प्रहरी चौकीे एक्यापको भवनमा बस्दै आएको छ, भने लोघेकर दामोदरकुण्ड—१ स्थित चराङ प्रहरीचौकी सकारी विद्यालयको भवनमा बस्दैआएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यसैगरी यहाँको वारागुङ मुक्तिक्षेत्र—३ छुसाङस्थित इलाका प्रहरी कार्यालय छुसाङ आमा समूहको भवनमा बस्दैआएको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए । मुस्ताङ प्रहरी मातहतका १९ वटा प्रहरी एकाइमध्ये चार वटा प्रहरी एकाइमध्ये इलाका प्रहरी कार्यालय छुसाङ मात्रै संस्थाको भवनमा बसेको हो । अन्य तीन इलाका प्रहरी कार्यालयको आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको प्रहरी नायब उपरीक्षक लामाको भनाइ छ । यहाँस्थित मुस्ताङ प्रहरीका १९ वटा एकाइमध्ये जिल्ला प्रहरी कार्यालय मुस्ताङ, इलाका प्रहरी कार्यालय लोमान्थाङ, इलाका प्रहरी कार्यालय मुक्तिनाथ र इलाका प्रहरी कार्यालय लेतेको आफ्नै भवनबाट प्रहरी कार्यसम्पादन भइरहेको छ । प्रहरी एकाइमध्ये प्रहरी चौकी अन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घाँसामा प्रहरी चौकीको पनि आफ्नै भवन बनेर प्रहरी कार्यसम्पादन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा प्रहरीको ३१३ जनाको दरबन्दी रहेको छ । हाल जिल्ला प्रहरी कार्यालय मातहत २१४ जना प्रहरी सुरक्षाकर्मी कार्यरत रहेको प्रनाउ लामाले बताए । भौगोलिक रुपले विकट मुस्ताङका दुरदराजका प्रहरी एकाइका सुरक्षाकर्मीलाई स्थानीय भाषाको ज्ञान नहुँदा समुदायमा रहेर काम गर्न अप्ठेरो पर्ने गरेको छ ।
काठमाडौं: २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ। निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार २०८२ पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम न्याय पषिद्को परामर्शमा ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरिएको छ। यसैगरी, न्याय सेवा आयोगको परामर्शमा ८८ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ। आयोगका अनुसार यसरी नियुक्ति भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले २०८२ माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्नुहुनेछ। मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली आयोगको वेबसाइटमा पनि प्रकाशन गरिएको आयोगले जनाएको छ।
मकवानपुर: मकवानपुरमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौडा तर्फ जाँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डमा आज साँझ दुर्घटना भएको हो। सुमोमा सवार ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। मृतकको सनाखत हुन सकेको छैन। सुमो सडकबाट अन्दाजी सय मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ। सुमोमा सवार ९ जनालाई उद्धार गरी उपचारका लागि हेटौडातर्फ पठाएको जानकारी दिएको छ। तीमध्ये ७ जना गम्भीर घाइते र २ जना मध्यम घाइते रहेको प्रहरीले बताएको छ।
पोखरा: कास्की प्रहरी प्रमुख एसपी नबिन कार्कीले पछिल्लो सयममा अनलाइन ठगिका घट्ना भयाभह रुपमा बढेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाको २२ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै कास्कीमा एक वर्षमा अनलाइनबाट १९ करोड रुपैया ठगि भएको बताए । उनले अनलाइन ठगिलाई रोक्नका लागि प्रहरी, सामुदायीक प्रहरी र स्थानीय लाग्नु पर्ने बताए । अनलाइन ठगिमा जाने बुझे कै व्यक्ति ठगिएको बताउदै त्यसलाई रोक्नका लागि सबै सचेत हुनु पर्ने बताए । एउटै व्यक्ति अनलाइन मार्फत १ करोड २१ लाख सम्म ठगिएको उजुरी आएको उनले सुनाए । घर छेउको छिमेकीलाई सापटी नदिनेहरु चिन्दै नचिनेका व्यक्तिलाई लाखै रुपैया दिने गरेको एपपी कार्कीको भनाई छ । जान्ने मानिसहरु नै प्रलोभनमा परेर फस्ने गरेको उनको भनाई छ । एसपी कार्कीले लेकसाइड क्षेत्रमा सवारी साधनका कारण धेरै जाम हुन थालेको बताए । त्यसको निराकरणका लागि पर्यटन व्यवसायी, प्रहरी र सामुदायीक प्रहरीले छलफल गरेर अगाडी बढ्नु पर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष विष्णु बहादुर भट्टराईले फेवाताल संरक्षणका लागि वडा कार्यालय लागेको बताए । उनले फेवातालमा पुरिएको माटो झिक्ने काम अगाडी बढेको बताउदै विकास निमार्णमा कतिपय व्यक्तिले मुद्धा मामिला गरे काम रोक्ने गरेको बताए । त्यसले गर्दा विकासका काम अगाडी बढ्न ढिलाइ हुने गरेको बताए । कार्यक्रममा सामुदायक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, सामुदायीक प्रहरी सेवा केन्द्रकी अध्यक्ष कुमारी मुना बास्तोला, वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेल, महिला सञ्जाल पोखरा ६ का अध्यक्ष बबिता मल्ल लगाएतले शुभकामना दिए । उनीहरुले फेवाताल संरक्षणका लागि सबै एक जुट भएर आगडी बढ्नु पर्ने बताए । फेवातालको सिरानको सिमसार क्षेत्र पुर्नेलाई रोक लगाउनु पर्ने बताए । साधारणसभामा सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाका अध्यक्ष ठाकुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अनिल थापाले स्वागत, सचिब शान्ता तिमिल्सिनाको महासचिबको प्रतिबेदन, कोषध्यक्ष निर्मला थापाको कोषाध्यक्षको प्रतिबेदन पारिद गरेको छ ।

