तनहुँ: तनहुँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लागिएको हो । नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले जिल्ला समन्वय समितिसँग समन्वय गरी खेलकुद विकास समितिमार्फत सञ्चालन व्यवस्थापन मिलाउने निर्णय गरेको नगर प्रवक्ता सुरेश थापाले जानकारी दिनुभयो । हाल कभर्डहलमा व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुँदै आएको छ । व्यास नगर व्याडमिन्टन क्लबले रु ९६ लाख ६३ हजार ७४७ को लागतमा कभर्डहल निर्माण गरेको हो । पछिल्लो समय व्याडमिन्टनतर्फ खेलाडीको आकर्षण बढ्दै गएकाले कभर्डहल निर्माण गरी यहाँ व्याडमिन्टनका खेल सञ्चालन गरिएको क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार कभर्डहल निर्माणका लागि व्यास नगरपालिकाले रु ८७ लाख ८५ हजार २३४ सहयोग गरेको छभने लागत नगद सहभागिता रु सात लाख रहेको छ । त्यस्तै रु एक लाख ७८ हजार ५२२ श्रमदान गरी कुल रु ९६ लाख ६३ हजार ७४७ को लागतमा कभर्डहल निर्माण भएको हो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त कभर्डहलको जग्गा व्यास नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । कभर्डहल निर्माणका लागि आर्थिक वर्ष २०७७÷७८ मा नगरपालिकाले रु ३२ लाख ८४ हजार २९३, आव २०७८÷७९ मा रु ३१ लाख २५ हजार ९३१, आव २०८०÷८१ मा रु १४ लाख २५ हजार र चालु आवमा रु नौ लाख ५० हजार सहयोग गरेको थियो ।
बागलुङ: हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा हिमपात हुँदा अवरुद्ध भएको थियो । लोकमार्गमा बाक्लो हिउँ जमेपछि यातायातका साधन ठप्प भएका थिए । अहिले पूर्वी रुकुमतर्फबाट जेसिबीको सहायतामा हिउँ पन्छाएपछि यातायातका साधन सञ्चालन भएका इलका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । हिले लोकमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट रुकुमपूर्व, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानका लागि छुटेका साना तथा ठूला सवारीसाधान बीचबाटोमै फसेका थिए । हिउँमा गाडी फसेपछि चिसोमा यात्रुहरू बिचल्लीमा परेका थिए । जेसिबीले हिउँ पन्छाएपछि लोकमार्ग सञ्चालनमा आएको उनको भनाइ छ । पातीहाल्नेसहित बागलुङको निसीखोला, ढोरपाटनलगायत माथिल्लो स्थानमा पनि हिमपात भएको छ । हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको उमेदवारका लागि बैंकिङ खाता सञ्चालन गरिदिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उमेदवारले निर्वाचनसम्बन्धी खर्च गदौ बैंक खातामार्फत गर्न र उसको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने व्यवस्था भएकाले खाता सञ्चालन गर्ने व्यवस्था मिलाइदिन आग्रह गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उमेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने उल्लेख छ । राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, २५ हजारभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक वा वित्तीय संस्थामार्फत गर्नुपर्ने व्यवस्था छ । कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भरपाई दिनुपर्नेछ । राजनीतिक दलका नाममा सहयोग प्राप्त भएको भए दलको र उमेदवारका नाममा प्राप्त भएको भए उमेदवारको बैंक खातामा जम्मा गर्नुपर्नेलगायत प्रावधान छन् । सो व्यवस्थाको प्रभावकारी रूपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलबाट पहिलो हुने निर्वाचित हुने उमेदवारलाई बैंक खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो । सो व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उमेदवारको हकसमेतमा लागु हुनेछ । दुवै निर्वाचन प्रणालीतर्फका राजनीतिक दल र स्वतन्त्र उमेदवारका लागि बैंकिङ कारोबार गर्ने बैंक तथा वित्तीय संस्थामा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुनेछ । निर्वाचनसँग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उमेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन आयोगले केन्द्रीय बैंकलाई पत्राचार गरेको हो ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आबुँखैरेनी गाउँपालिका–२ नारीघाटमा मिनी ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–१४ बस्ने ६० वर्षीय दलबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । डुम्रेतर्फबाट आबुँखैरेनीतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०२६८ नम्बरको मिनी ट्रकको ठक्करबाट गएराति घाइते थापाको चितवनस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका थापाको टाउकोमा चोट लागेको थियो । पैदलयात्रीलाई ठक्कर दिई भागेका चालक मकवानपुर, सरीखेत पलासे गाउँपालिका–१ निवासी २९ वर्षीय बाबुलाल लोलाई नियन्त्रणमा लिएको छ ।
काठमाडौं: प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा नेपाली सेनाको सहभागिता, उपलब्धि र प्रयासलाई विश्वमै उदाहरणीय कार्यकारूपमा हेरिने गरिएको छ । विसं २०३० मा पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना भएपछि विसं २०३२ देखि नेपाली सेना औपचारिक रूपमा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ हुँदै आएको छ । पाँच दशकको अवधिमा सेनाको असरदार कार्य जिम्मेवारीले प्रकृति र वन्यजन्तु संरक्षणमा प्राप्त सफलतालाई विश्व जगत्ले समेत मुक्तकण्ठले प्रशंसा गर्दै आएको छ । अहिले १२ वटा राष्ट्रिय निकुञ्ज, एक वटा वन्यजन्तु आरक्ष र एक सिकार आरक्षको संरक्षणमा नेपाली सेनाका आठ वटा गण, सात वटा अनाश्रित गुल्म र एक प्रकृति संरक्षण शिक्षालयका गरी करिब आठ हजारभन्दा बढी फौज परिचालित हुँदै आएका छन् । यसअघि विसं २०१८ मा नेपाली सेनाबाट गैँडा गस्ती कार्य सुरु गरिएको थियो । त्यसो त प्रकृति संरक्षणमा नेपालको औपचारिक प्रयास सन् १८६९ मा श्री ५ सुरेन्द्रको समयमा वन सम्पदा संरक्षणका रूपमा सुरु भएको थियो । जुन कुरा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा भेटिएको शिलालेखमा समेत उल्लेख छ । यस आधारमा नेपालको प्रकृति संरक्षणको प्रयास अमेरिकामा रहेको विश्वकै सबैभन्दा पुरानो यल्लोस्टोन नेशनल पार्क भन्दा तीन वर्ष अगाडि भएको देखिन्छ । सो पार्कको स्थापना सन् १८७२ मा भएको थियो । नेपालको संविधान २०७२ को धारा २६७, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र विसं २०६७ असार १६ को मन्त्रिपरिषद्को बैठकबाट पारित भएको संशोधित ‘स्थायी कार्य सञ्चालन विधि–२०६७’ अनुसार नेपाली सेना प्रकृति संरक्षणमा खटिँदै आएको छ । त्यसक्रममा संरक्षित क्षेत्रभित्रका सम्पूर्ण प्राकृतिक स्रोतहरू, वनस्पति तथा वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा सुरक्षामा सेना प्रत्यक्ष रूपमा संलग्न छ । नेपालको कूल क्षेत्रफलको करिब २३ प्रतिशत भू–भाग राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा शिकार आरक्षलगायत संरक्षण क्षेत्रले ओगटेको छ । चितवन, बर्दिया, खप्तड, पर्सा, रारा, लाङटाङ, शिवपरी– नागार्जन, सगरपामाथा, बाँके, मकालु बरुण, शुक्लाफाँटा र शे–फोक्सुण्डो निकुञ्ज तथा कोशीटप्पु बन्यजन्तु आरण र ढोरपाटन शिकार आरक्षसहितले हिमाल, पहाड र तराईका ३३ जिल्ला समेटिएको छ । विश्वमै दुर्लभ एकसिङ्गे गैँडा र पाटेबाघको संरक्षणमा नेपालले हासिल गरेको उपलब्धि समग्र संरक्षण क्षेत्रकै नमूना हुन् । नियमित गस्तीका साथै जिम्मेवारी क्षेत्रमा सुरक्षा पहुँच बढाउन तथा चोरी सिकारी र अवैध गतिविधि नियन्त्रण गर्न ‘अपरेसन संरक्षण’ सञ्चालन गरिएको छ । फलस्वरूप सन् २००९ मा १२१ को सङ्ख्यामा रहेको पाटे बाघ हाल ३५५ र सन् २००५ मा ४०० को सङ्ख्यामा रहेको एक सिङ्गे गैँडा हाल ७५२ वटा भएको तथ्याङ्क रहेको छ । जटिल भौगोलिक बनावट, ४२ डिग्री सेल्सियसदेखि माइनस २० डिग्री सेल्सियससम्मको मौसमी प्रतिकूलता एवं विषम् परिस्थितिका बाबजुत पनि नेपाली सेनाले सुम्पिएको जिम्मेवारी सफलतापूर्वक सम्पादन गर्दै आइरहेको छ । प्राकृतिक स्रोत, वनस्पति तथा वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्रभित्र रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय सम्पदा, सरकारी कार्यालय र भौतिक पूर्वाधारको संरक्षण र सुरक्षासमेत नेपाली सेनाले गर्दैआएको छ । प्रकृति संरक्षणमा परिचालित हुँदै गर्दा नेपाली सेनाका ११६ जना सकलदर्जाले वीरगति प्राप्त गरिसकेका छन् । सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आधुनिक प्रविधिको उपलब्धतासँगै प्रकृति संरक्षण कार्य थप जटिल र चुनौतीपूर्ण हुँदै गएको छ । संरक्षित क्षेत्रमा प्रविधिको प्रयोगलाई बढी प्रभावकारी र सुरक्षित बनाउन सरोकार निकायसँगको सहकार्यमा सेनाले वास्तविक समय ‘स्मार्ट’ गस्ती र ‘स्मार्ट आई’को आफ्नै मौलिक प्रविधिको विकास गरेको छ । जलवायु परिवर्तन, जैविक विविधता तथा पर्यापर्यटनको दृष्टिले नेपालका हिमाली क्षेत्र अतिनै संवेदनशील क्षेत्रमा रहेकाले यसको सौन्दर्यतालाई कायम राखी भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले सेनाकै नेतृत्वमा केही वर्षअघिदेखि सफा हिमाल अभियान सञ्चालन गरिएको छ । सेनासहितका सबै सरोकारवाला निकायसँगको समन्वयमा सन् २०१९ मा सुरु भएको अभियानबाट सेनाले सन् २०२४ सम्ममा हिमालबाट ११९ टनभन्दा बढी फोहोर सङ्कलन गरिसकेको छ । त्यसक्रममा १२ वटा शव र चार वटा अस्थिपञ्जर व्यवस्थापन कार्य गरेको नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशक सहायक रथी पुरन घलेले बताउनुभयो । सेनाले यस अवधिमा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि, अमदब्लम, मनास्लु, कञ्चनजङ्गा, अन्नपूर्ण, बरुञ्चे र नुप्से हिमालमा उक्त अभियान सञ्चालन गरेको थियो । त्यसले जिम्मेवार पर्वतारोहणको विश्वव्यपापी सन्देश प्रवाह गर्न सफल भएको छ । प्रकृतिको अनुपम बरदानमध्ये नेपाललाई सगरमाथाको उचाइले झन समृद्ध बनाएको छ । प्रकृति तथा पर्यावरण संरक्षणमा राष्ट्रलाई योगदान गर्ने नीतिअनुरूप सफा हिमाल अभियान सेनाको प्राथमिकतामा परेको छ । उहाँका अनुसार प्रकृति संरक्षण कार्यमा परिचालित भएका फौजको अपरेशनल क्षमता अभिवृद्धि तथा देशका सम्पूर्ण संरक्षणकर्मी साझेदारको साझा शिक्षालयको रूपमा स्थापित गर्ने उद्देश्यले विसं २०७१ असार २८ गते चितवन राष्ट्रिय निकुञ्जको कसरामा श्री प्रकृति संरक्षण शिक्षालयको स्थापना गरिएको छ । उक्त शिक्षालयमा सेनाको संरक्षणमा खटिएको फौजको अतिरिक्त निजामतीतर्फका गेम स्काउट तालिमसमेत सञ्चालन गरिएको छ । हालसम्म सैनिकतर्फ दुई हजार ३०४ जना र गैह्र सैनिकतर्फ २३६ जनाले प्रकृति संरक्षणसम्बन्धी तालिम प्राप्त गरिसकेका छन् । गैरसैनिकतर्फ निकट भविष्यमा रेन्जर तहसम्मको तालिमसमेत सञ्चालन गर्ने सेनाको योजना छ । प्रकृति र पर्यावरण संरक्षणमा नेपाली सेनाकै पहल र क्रियाशीलताका कारण नेपाल सन् २०११, १३, १५, १६, १८ र १९ मा शून्य शिकारी वर्षको रूपमा मनाउन सफल भयो । त्यसबापत ‘अब्राहम संरक्षण पुरस्कार’बाट नेपाली सेनाका विभिन्न छ वटा युनिटहरू सम्मानित भए । बर्दिया राष्ट्रिय निकुञ्ज डबल टाइगर अवार्डबाट समेत सम्मानित भयो । सेनाको अगुवाइमा ‘वन र वन्यजन्तु सबैका लागि’, ‘प्रकृति र वन्यजन्तु भावी पुस्ताका लागि’ जस्ता नारा दिइएर संरक्षण अभियान तीव्र पारिएको छ । प्रकृति संरक्षणजस्तो पवित्र कार्यको आधा शताब्दी पार गर्दै गर्दा नेपाली सेनाले नेपाल सरकार तथा अन्य साझेदार निकाय एवं जनसमुदायसँग एकीकृत ढङ्गबाट कार्य गर्दै आएको छ । फलस्वरूप लोपोन्मुख वन्यजन्तु, वन पैदावार तथा हिमाली क्षेत्रको संरक्षणमार्फत विश्वकै जैविक विविधता संरक्षणमा अतुलनीय योगदान पुगेको छ । यसबाट नेपालको दिगो पर्यापर्यटनमा समेत टेवा पुग्न गएको छ । प्रकृति संरक्षण कार्यमा नेपाली सेनाको क्षमता र योगदान क्रमिक रूपमा विस्तार हुँदै गएको नेपाली सेनाले जनाएको छ । हरियाली प्रवद्र्धनअन्तर्गत ‘फलफूल रोप्न बढाऊ हात, जनतालाई नेपाली सेनाको साथ’ भन्ने मूल नाराका साथ कार्यक्रम सञ्चालन गरियो । त्यस क्रममा एभोकाडो, सुन्तला, कागती, अम्बा र तेजपातजस्ता बोटबिरुवा रोपियो । वातावरणलाई सन्तुलित तुल्याउन सेनाले ‘एक सैनिक, एक फलफूल बिरुवा’ अभियानसमेत चलाउँदै आएको छ ।
रुकुम पूर्व: रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । लोकमार्ग अवरुद्ध हुँदा सवारीसाधन वारपार गर्न सकिरहेका छैनन् । यस खण्डमा काठमाडौँबाट छुटेका बसहरू फसेको भन्ने खबर आएसँगै इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको नेतृत्वमा टोली खटाएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो । अहिले पनि निरन्तर रूपमा हिमपात भइरहेको उहाँले बताउनुभयो । फसेका गाडी र यात्रुहरूको उद्धारको प्रयास भइरहेको र बाटो खुलाउनको लागि भूमे गाउँपालिकासँग समन्वय गरिरहेको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो । स्काभेटर लगाएर हिउँ पन्छाउने र बाटो खुलाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताउनुभयो । रुकुम पूर्वको हिमाली तथा उच्च लेकाली क्षेत्रहरूमा गए रातिदेखि हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भएको छ । हिमपातका कारण चिसोले मानिसहरूको जनजीवन प्रभावित भइरहेको छ भने लामो समयको अन्तरालमा भएको वर्षा र हिमपातको कारण किसानहरू खुसी भएका छन् । आकाशेपानीको भरमा खेती गरिरहेका किसानको पानी नपर्दा गहुँ बाली सुकिसकेको थियो । लामो समयपछि पानी पर्दा खेतीपातीलाई राहत मिलेको सिस्ने गाउँपालिका–५ का विमल बिसीले बताउनुभयो ।
पोखरा: गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराको १२५ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ । समारेहको पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा महाशाखा प्रमुख आचार्यले गण्डकी प्रदेशको ऐतिहासिक यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तरीयता बढाउँदै गएको भन्दै यसलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो । विद्यालयका तर्फबाट महाशाखाबाट निरन्तर सहयोग भैरहेको बताउँदै उहाँले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुुप्रसाद अधिकारीले विद्यालयको भौतिक विकाससँगै शैक्षिक गुणस्तरीयताका लागि निरन्तर प्रयास गरिएको बताउनुुभयो । विद्यालयले कक्षा ११ र १२ का कक्षा पनि सञ्चालन गरिरहेको बताउँदै उहाँले यसको दीगो सञ्चालनका लागि दरबन्दीको व्यवस्थापन जरुरी रहेको धारणा राख्नुभयो । विद्यालयमा आँफू नेतृत्वमा आएपछि भौतिक एवम् शैक्षिक गुणस्तरीयता अभिबृद्धिमा महत्वपूर्ण उपलब्धि हासिल भएको उहाँले बताउनुभयो । आँफू नेतृत्वमा आउँदा विद्यालयको अक्षयकोष सात लाख ७८ हजार रुपैयाँ रहेकोमा उक्त कोषलाई बढाएर ६७ लाख रुपैयाँ पुु¥याइएको बताउनुुभयो । १२५ औं अभिभावक दिवसका अवसरमा आज मात्रै उक्त कोषमा थप डेढ लाख रुपैयाँ रकम थप भएको छ । विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण सिग्देलले हाल २२२ जना विद्यार्थी अध्ययरत विद्यालयमा ६५ जना विद्यार्थीले आवशीय रुपमा अध्ययन गरिहेको जानकारी गराउनुभयो । शैक्षिक गुणस्तरीयतालाई प्राथमिकतामा राखी विद्यालय निरन्तर कृयाशिल रहेको उहाँको भनाइ छ । कार्यक्रमका अवसरमा राष्ट्रिय समाचार समिति(रासस) का गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, पूर्व प्रधानाध्यापक अक्षयकोगादाता दामोदर बास्तोला र पूर्व कार्यालय सहयोगी सूर्यबहादुर घर्तीलाई सम्मान गरिएको थियो । उहाँहरूलाई दोसल्ला र सम्मानपत्र सहित पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मान गर्नुुभएको हो । पत्रकारिताको माध्यमबाट संस्कार सहितको शिक्षा, समाज, संस्कृति र जनसरोकारका विभिन्न विषयहरूमा निर्भीक र निष्पक्ष रुपमा कलम चलाउँदै चेतनशील समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पौडललाई सम्मान गरिएको हो । विद्यालयमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पूर्व प्रधानाध्यापक अक्षयकोषदाता दामोदर बास्तोला र पूर्व कार्यालय सहयोगी घर्तीलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयका पूर्व संस्थापक अध्यक्ष स्व.भोलानाथ पराजुलीलाई मरणोपरान्त सम्मान गरिएको थियो । विद्यालयका माध्यमिक तहका शिक्षकहद्व कलादेवी बराल र रामु पौडेल एवम् आधारभुत तहका शिक्षकहरू लक्ष्मी देवकोटा, इन्द्रमाया बास्तोला र सरला थापालाई उक्त अवसरमा सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुुप्रसाद अधिकारीको सभापतित्व एवम् सहायक प्रधानाध्यापक कलादेवी बरालले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत माध्यमिक तहका इन्चार्ज श्रीकान्त सापकोटाले गर्नुुभएको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं १ का कार्यबाहक अध्यक्ष जुमकाजी गुरुङ, सम्मानित व्यक्तित्वहरू पूर्व प्रधानाध्यापक बास्तोला, रासस गण्डकी प्रदेश प्रमुख पौडेल, विद्यार्थीद्वय सुमित सिग्देल र जीवनाथ शर्मा लगायतले बोल्नुुभएको थियो । कार्यक्रमका अवसरमा विभिन्न छात्रबृत्तिसँगै उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न पुरस्कारबाट पुरस्कृत गरिएको थियो भने विद्यार्थीहरूतर्फबाट विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको बताउनुभएको छ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा आजदेखि सुरु एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्दै उहाँले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार रहेको उल्लेख गर्नुभयो । ‘खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ । नेपाल खेलकुदको माध्यमबाट समेत चिनिँदै आएको छ । सशक्त र पूर्वाधार सम्पन्न मुलुकहरुलाई खेलकै माध्यमबाट पराजित गर्न सकेका छौँ ।’ उहाँले भन्नुभयो – ‘आजको परिप्रेक्ष्यमा खेल शारीरिक तथा मानसिक स्वास्थ्यको आधार मात्र नभएर कुटनीति, अर्थतन्त्र एवं सहकार्य र एकताको स्तम्भसमेत हुन पुगेको छ ।’ खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहेको उहाँको भनाई छ । सानो स्थान, थोरै बजेट, सबै नेपालीको पहुँच, धेरैलाई मनपर्ने र मुलुकको भौगोलिक अवस्थाका कारण पनि भलिबल राष्ट्रिय खेल बन्न पुगेको बताउनुहुँदै उहाँले सीमित पूर्वाधार र सुविधाका बाबजुद अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला भलिबल टोलीले प्राप्त गरेको नतिजा प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो – ‘एशियन सेन्ट्रल जोन भलिबलको उपाधि लगातार जितेर नेपाली महिला भलिबल खेलाडीले नेपालको नाम चम्काएको म स्मरण गर्न चाहन्छु ।’ भलिबलको भौतिक संरचना तथा पूर्वाधार कमजोर भएपनि यस्ता प्रतियोगिताका कारण खेलाडीहरुलाई फाइदा पुर्याएको उहाँको भनाई छ । जिल्ला तथा केन्द्रीय स्तरका प्रतियोगिताले खेलाडीलाई खेल कौशल प्रदर्शन तथा आर्थिक उपार्जनमा योगदान भएको भट्टले बताउनुभयो । टाइगर ग्रुप अफ पोखराले विगत ६ वर्षदेखि भव्य र व्यवस्थित ढंगले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गरी भलिबल खेलमार्फत् पोखरा र गण्डकी प्रदेश मात्र नभई नेपाललाई नै चिनाउन महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद पनि व्यक्त गर्नुभयो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पाथिभरा माताको दर्शन गरेका छन् । बिहीबार साँझ ताप्लेजुङ पुगेका बालेन शुक्रबार बिहान पाथिभराको मन्दिर दर्शन गर्न पुगेका हुन् । झापा–५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बालेन बिहीबार इलाम, पाँचथर हुँदै चुनावी अभियानका लागि ताप्लेजुङ पुगेका हुन्।

