कैलालीः   कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्की(चुहा नगरपालिका३ का ३० वर्षीय लोकेन्द्र शाही गत सोमबार दिउँसो कर्णाली पुलबा...

पर्वत:     पर्वतको पैयुँ गाउँपालिकामा बाँदर धपाउन कर्मचारी नियुक्त गरिने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतंक बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । पैयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । उनका अनुसार, अहिलेलाई यति नै संख्यामा कर्मचारी नियुक्त गर्ने भन्ने निर्णय गरिएको छैन । तर, न्यूनतम पाँचरपाँचजनाका दरले कर्मचारी राख्ने तयारी गरिएको छ । हरेक वडामा पाँचजनाका दरले ३५ कर्मचारी नियुक्त गर्ने, उनीहरूलाई सेवासुविधा के–कति निर्धारण गर्ने भन्ने विषयमा कार्यपालिकाको बैठकबाट निर्णय गरिनेछ । बाँदर नियन्त्रण योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा पालिकाले सात लाख रुपैयाँ विनियोजन गरेको छ ।  १३औँ गाउँसभाले बाँदर नियन्त्रणसँगै राँगा पाल्ने किसानलाई जनही २० लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको छ । पछिल्लो समय रैथाने जातका लिमे र पाराकोटे भैँसी लोप हुँदै गएपछि राँगा पाल्न प्रेरित गर्ने उद्देश्यले अनुदान दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले बताए । यस्तै, सरकारले कक्षा–५ सम्म दिने दिवा खाजा कार्यक्रमलाई पैयुँ गाउँपालिकाले कक्षा–६ सम्म विस्तार गर्ने निर्णय गरेको छ । पालिकास्तरीय चिस्यान केन्द्र सञ्चालन गरिने भएको छ । कक्षा–८ को पालिकास्तरीय परीक्षालाई एसईई ढाँचामा सञ्चालन गर्ने निर्णय समेत गरिएको छ । 

काठमाडौँ:   सरकारले मेलम्ची खानेपानी आयोजनाको पानी उपभोक्तालाई बाह्रै महिना वितरण गर्ने गरी अध्ययन सुरु गरेको छ ।   जसअनुसार सिन्धुपाल्चोकको हेलम्बुस्थित आयोजनाको ‘हेडवर्क्स’ नै स्थानान्तरण गर्ने तयारी गरिएको हो । वर्षायाममा आउने बाढीबाट आयोजनाको हेडवर्क्स जोगाउन मुस्किल हुने भएपछि आयोजना नै बन्द हुने अहिलेको समस्या समाधानका लागि हेडवर्क्स स्थानान्तरण आवश्यक भएको मेलम्ची खानेपानी विकास समितिको भनाइ छ ।   हाल सोही समस्याका कारण आयोजना हिउँदमा सञ्चालन हुने र वर्षामा बन्द गर्नुपर्ने अवस्था छ ।   समितिका कार्यकारी निर्देशक जक्की अहमद अन्सारीले आयोजनालाई दिगो बनाउँदै बाह्रै महिना उपत्यकावासीको धारामा पानी वितरण गर्न हेडवर्क्स नै स्थानान्तरणको विकल्प नभएको बताउनुभयो ।  “मेलम्ची आयोजनालाई स्थायी नबनाएसम्म सम्भावित मौसमजन्य विपत्तिको घटनाबाट बचाउन वर्षा सुरुवात भएसँगै बन्द गर्नुपर्ने अवस्था रहन्छ”, उहाँले भन्नुभयो, “यसकारण हामीले कुन स्थानमा आयोजनाको हेडवर्क्स सार्नुपर्न उपयुक्त हुन्छ रु लागत कति लाग्छ रु भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ । अध्ययनका लागि इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई जिम्मा दिएका छौँ ।” उहाँले अध्ययन प्रतिवेदनका आधारमा अनुमानित लागत निकाल्ने र आवश्यक स्रोत व्यवस्थापन गर्नका लागि पहल गरिने बताउनुभयो । “एसियाली विकास बैंक (एडिबी)ले गरेको अध्ययन प्रतिवेदनमा पनि हेडवर्क्सलाई स्थानान्तरण गर्नुपर्ने उल्लेख छ । अझै हामी थप अध्ययन गरिरहेका छौँ”, अन्सारीले थप्नुभयो, “अध्ययन प्रतिवेदन आएपछि थप प्रक्रिया अगाडि बढाइनेछ ।” उहाँले आयोजना निर्माणका क्रममा विगतमा भएका गल्ती कमजोरीलाई सच्चाउदै आयोजनालाई स्थायित्व दिन छलफल चलिरहेको बताउनुभयो ।  आयोजना स्थायी भएपछि वर्षायामसँगै मेलम्ची आयोजना बन्द गर्नुपर्ने बाध्यताको पनि अन्त्य हुने उहाँको भनाइ छ । मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पनि पन्तले विभिन्न अध्ययनबाट अब हेडवर्क्सको संरचना निर्माणस्थल नै सारेर त्यसभन्दा माथि सुरक्षित स्थानमा लैजान आवश्यक देखिएको बताउनुभयो ।    

काठमाडौं:    नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले  जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ ।।”

दाङ:     पश्चिम दाङमा आज यात्रुबाहक जीप दुर्घटना हुँदा घाइते भएका एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बबई गाउँपालिका–१ निवासी ४५ वर्षका जितबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता जनकबहादुर मल्लले जानकारी दिए । बुढाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा आज बिहान ११ः३० बजे मृत्यु भएको हो ।   त्यसैगरी जीप चालक बबई–१ निवासी ४७ वर्षका लोकबहादुर रानालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । पश्चिम दाङको गँगटेबाट तुलसीपुरका लागि छुटेको लु१ज १४२७ नंको जीप भाङाबारी नजिकै उकालोमा टायरमा ढुङ्गा लगाएर रोक्ने क्रममा पछाडि आएर दुर्घटना हुँदा सात जना घाइते भएका थिए ।

काठमाडौं:    इसानाथ नगरपालिका नगर कार्यपालिका, रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही नगरपालिका–५ स्थित आधारभूत विद्यालय लक्ष्मिनिया, जटहरामा दुई कोठे पक्की भवन निर्माण गर्दा प्रमुख प्रशासकीय अधिकृत गुप्ता, तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यालयका तत्कालीन प्रधानाध्यापक महमद समिम अख्तरले मापदण्ड, गुणस्तर र इष्टिमेट विपरीतको कार्य गरी भ्रष्टाचार गरेको आरोपमा सोमबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार तत्कालीन इन्जिनियर सौरभले तयार गरेको कार्य सम्पादन प्रतिवेदनमा ब्रिक मेसनरी कार्य फिल्डमा ४७.८४ क्यूविक मिटर भएकोमा ५३.३७ क्यूविक मिटर उल्लेख गरी सम्झौताको दररेटभन्दा बढी कायम गरी जम्मा ८६ हजार ६४७ रुपियाँ कायम गरी भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।  यसैगरी, अन्तिम भुक्तानीका लागि प्राविधिकबाट तयार गरिएको नापी किताब र कार्य सम्पन्न प्रतिवेदनमा १४ लाख ३५ हजार नौ सय रुपियाँ कार्य बराबरको रकम खर्च भएको देखिए पनि प्रमुख प्रशासकीय अधिकृत गुप्ताले दुई लाख ३५ हजार ८९५ रुपियाँ बढी भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको अख्तियारको ठहर छ । आयोगका प्रवक्ता घिमिरेका अनुसार विद्यालयका तत्कालीन प्रधानाध्यापक अख्तरले १३ लाख ५३ हजार ५० रुपियाँ खर्च देखाउनुपर्नेमा तीन लाख तीन हजार सात सय ९७ रुपियाँ बढी खर्च लेखेका थिए । आयोगले इन्जिनियर सौभरविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद सजाय र ८६ हजार ६४७ रुपियाँ बिगो जरिवानाको मागवादी लिएको छ । त्यस्तै अर्का प्रतिवादी गुप्ताविरुद्ध सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम दुई लाख ३५ हजार ८९५ रुपियाँ बिगो जरिवानाको मागवादी गरेको छ । साथै अख्तरको हकमा पनि सोही ऐनको एउटै दफा र उपदफा अनुसार कैद सजाय र तीन लाख तीन हजार ७९७ रुपियाँ बराबरको बिगो जरिवानाको मागवादी अख्तियारले गरेको छ ।

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार सर्वसम्मत निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न  १० औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत निर्वाचित भएका हुन् ।  सो समितिको प्रथम उपाध्यक्षमा द्धारिका विश्वकर्मा, द्धितीय उपाध्यक्षमा सुधिर अग्रवाल सर्वसम्मत निर्वाचित भए ।  मुख्य तीनवटा पद सर्वसम्मत भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो । निर्वाचनको नतिजा अनुसार तृतीय उपाध्यक्षमा प्रेमबहादुर खाती १७५ मतले विजयी भए । यस्तै महा–सचिवमा विमल धमला (निरबहादुर वि.क) १५५ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा केशर बहादुर वि.क (२००), सचिव पृथ्वी विश्वकर्मा(१६६), कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा (१८६)र सह–कोषाध्यक्ष दिपक धनुके (१५७) मतसहित निर्वाचित भए ।  यस्तै कार्यसमिति सदस्यमा बृद्धिबहादुर वि.क, भुपेन वि.क, उमेश गहतराज, कुमार विश्वकर्मा, जगतबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, केशवबहादुर सुनार, सोमबहादुर वि.क, कमलप्रसाद लामिछाने, त्रिलोचन  विश्वकर्मा, किशोर सेन्चुरी, मानबहादुर सुनार, सूर्य कुमार बराल, सुरथबहादुर सुनार, हेम सागर गहतराज (सुनार), उमेश प्रसाद शाह, निरंजन कुमार शाह, प्रेमकुमार स्वर्णकार र विद्या सागर ताम्राकर निर्वाचित भए ।  सो अधिवेशनमा महासंघमा आवद्ध ३२ संस्थाका कुल ३८४ प्रतिनिधि सहभागि रहेका थिए ।  यस्तै महिला सदस्यमा सुलोचना सापकोटा, दाना हमाल, लोप्साङ छोडेन शेर्पा, प्रदेश सदस्य (पदेन)मा देवी कृष्ण पाण्डेय र रामबहादुर विक सर्वसम्मत निर्वाचित भए ।  शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको १० औं अधिवेशनबाट किसान सुनारको नेतृत्वका ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको हो । 

पोखरा:     प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताएका छन् ।  पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सो कुरा बताएका हुन् ।  व्यावसायिक उडानका लागि सम्बद्ध पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले भने, “प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ ।” उनले गण्डकी प्रदेशको विकासमा दूरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तीव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने बताए । “पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ” प्रधानमन्त्री प्रचण्डले भने, “आन्तरिक पर्यटन प्रवर्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबिच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ ।”   लक्ष्यअनुसार पर्यटक भित्र्याउन खेल्नुपर्ने विशिष्ट भूमिका पूर्ण निष्ठा र इमानदारीसाथ पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस कार्यका लागि सम्पूर्ण पोखरेली जनसमुदायमा अपिल गरे ।

पोखरा:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरेका छन् । फेवाताल छेउको बाराहीघाटमा आइतबार आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सोको घोषणा गरेका हुन् । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गरेका थिए ।

काठमाडौं:     प्रतिनिधि सभाको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधि सभाको शुक्रबारको बैठक स्थगित भएको थियो । स्वार्थ जोडिएको मन्त्रालयमा मन्त्रीलाई जिम्मेवारी दिएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको थियो । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै यस विषयमा प्रधानमन्त्रीबाट जवाफ नआएसम्म गृहमन्त्रीले अगाडि बढाउने कार्यसूचीलाई सहयोग नगर्ने भन्दै कांग्रेसले अवरोध गरेको हो । शुक्रबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर संघीय संसद सचिवालयले आजको बैठकका लागि सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो विषय समावेश छैन । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहने पनि संघीय संसद सचिवालयले जनाएको छ । शुक्रबारको बैठकमा कांग्रेस सांसद रमेश लेखकले प्रतिपक्षी दलले पटक(पटक उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट नआएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीको जवाफ नआएसम्म उपप्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा राख्नुहुने प्रस्तावमाथि छलफल गर्न नसकिने बताउँदै उनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको कार्यसूचीमा भने अवरोध नगर्ने बताएका थिए ।