पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे (मक) संक्रान्ति÷माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ । ‘हाम्रा सँस्कृति जोगाउनु हाम्रो कर्तव्य हो, मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ ।’ प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘सिंगो नेपाली संस्कृतिभित्रको एक महत्वपूर्ण चाडका रुपमा रहेको मकर संक्रान्ति एवं माघी पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ सबै नेपालीबीचको एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण्ण राख्न सकोस् भन्ने कामना व्यक्त गर्दछु ।’ यस पर्वले सबै नेपालीका बीचमा आपसी सद्भाव, आत्मीयतापूर्ण व्यवहार, सम्बन्ध र राष्ट्रिय एकता कायम गर्न महत्वपूर्ण योगदान पु¥याउने प्रेरणा मिलोस् भन्ने कामना पनि उहाँले गर्नुभएको छ । तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले आ–आफ्नै तरिकाले मनाउने यस पर्वको फरक विशेषता र महत्व रहेको छ । यो नेपालका थारुसँगै मगर र छन्त्याल समुदायको महान् सांस्कृतिक पर्व पनि हो । थारु समुदायले माघीलाई महत्वपूर्ण चाड एवं नयाँ बर्षका रुपमा मनाउने गर्छन् । तराईवासीले नहान अर्थात नुहाउने पर्वको रूपमा मनाउँदछन् । आम नेपालीले माघे संक्रान्तिमा विभिन्न परिकार बनाएर खाई हर्षोल्लासपूर्वक मनाउँदछन् ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना आजको समाज र विशेषगरी युवा पुस्ताका लागि गम्भीर चुनौती बन्दै गएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत प्रेस रजिष्ट्रारको कार्यालयको आयोजनामा बुधबार पोखरामा आयोजित “भ्रमपूर्ण तथा मिथ्यापूर्ण सूचना सम्बन्धी सरोकारवालाबीच सचेतना तथा अन्तरक्रिया” कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले सूचना प्रविधिको तीव्र विकाससँगै गलत सूचनाको जोखिम पनि बढ्दै गएको उल्लेख गरे । “आज हामी सूचना प्रविधिको युगमा छौँ, तर यससँगै सूचनाको भीडभाड पनि बढेको छ,” उनले भने, “सत्य समाचारसँगै गलत र भ्रामक सूचना सजिलै फैलिने अवस्था छ, जसको प्रत्यक्ष असर समाजको सामाजिक सद्भाव र युवाको सोचमा परेको छ ।” मन्त्री थापाले भ्रमपूर्ण सूचनाका कारण समुदायबीच द्वन्द्व, सामाजिक असहिष्णुता र हिंसासमेत निम्तिन सक्ने खतरा औँल्याउँदै युवाहरू डिजिटल प्लेटफर्ममा बढी सक्रिय भएकाले उनीहरू नै यस्ता सूचनाको मुख्य निशाना बन्न पुगेको बताए । गण्डकी प्रदेश सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्दै आएको उल्लेख गर्दै उनले स्वतन्त्रताको अर्थ स्वच्छन्दता नभएको स्पष्ट पारे । “आमसञ्चार ऐन, २०८० र नियमावली, २०८२ ले मर्यादित, जिम्मेवार र जवाफदेही पत्रकारितालाई प्रोत्साहन गरेको छ,” उनले भने । न्युमिडिया र युट्युब पत्रकारितामा संलग्न युवाहरूलाई विशेष सम्बोधन गर्दै उनले क्यामेरा र मोबाइल ठूलो शक्ति भएकाले त्यसको प्रयोग समाजलाई जोड्ने दिशामा गर्न आग्रह गरे । “भाइरल हुने नाममा समाजलाई विभाजन गर्ने होइन, सत्य र तथ्यमा आधारित सूचना प्रवाह गर्नुपर्छ,” उनको भनाई छ । उनले सूचना प्राप्त हुँदा त्यसको स्रोत र सत्यता जाँच गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए । मन्त्री थापाले गण्डकी प्रदेश सरकार प्रेस रजिष्ट्रारको कार्यालय तथा सरोकारवालासँग मिलेर डिजिटल साक्षरता र सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । कार्यक्रमबाट प्राप्त ज्ञान हलभित्र मात्र सीमित नराखी समाज र समुदायसम्म पु¥याउन सहभागीहरूलाई आग्रह गर्दै उनले सत्य सूचनाको उज्यालोले गलत सूचनाको अँध्यारो हटाउन सबैको सहकार्य आवश्यक रहेको बताए । गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव, नीति तथा योजना आयोगका उपाध्यक्ष, कास्कीका सिडिओ, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार र मिडिया विज्ञ,महान्यायाधिवक्ता, मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी, सूचना अधिकारी, नागरिक समाज तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
काठमाडौं: हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका बुधबार अनुसार दिउँसो तराई भूभागका केही स्थानमा लागेको हुस्सुरकुहिरो मध्याह्नसम्ममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ। त्यसैगरी, आज राति तराई भागका केही स्थानमा हुस्सु रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ।
काठमाडौं: नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्रका तत्कालीन केन्द्र प्रमुख राजीवकुमार सिंहसहित चार जनाविरुद्ध १३ लाख ९३ हजार ६०३ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार नेपाल विद्युत् प्राधिकरण, पोखरा वितरण केन्द्र कोत्रे पोल प्लान्टमा रहेको स्टोरबाट विभिन्न परिमाणमा ७० मि.मि.को १७४ मिटर र १२० मि.मि. को ७४६ मिटर पिभिसी तार हराएको भनी केन्द्रका स्टोर प्रमुखले २०८० वैशाख ५ मा कार्यालय प्रमुख समक्ष निवेदन दिएको देखिएको छ । उक्त तार हिनामिना गरी हानी नोक्सानी पुर्याएको आरोपमा सिंहसहित केन्द्रका तत्कालीन सहायक लेखा अधिकृत (स्टोर प्रमुख) लोकप्रसाद काफ्ले, कान्तिपुर सेक्युरिटी सर्भिस प्रा.लि., काठमाडौँका सुरक्षा कार्ड रामकुमार पुर्जा र हेम शर्मा रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा १३ लाख ९३ हजार ६०३ रुपियाँ बिगो रकम कायम गरी उनीहरूविरुद्ध कैद र जरिवाना गरी बिगोसमेत असुल उपर हुन माग दाबी लिई मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
मुस्ताङ: मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–४ नेचुङ्गबाट दुई करोड २४ लाख ५९ हजार ३२० रुपियाँ बराबरको इलेक्ट्रिक चुरोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोक जिल्ला, सुनकोशी गाउँपालिका ५ का ३२ वर्षीय पेमा लामा रहेको सशस्त्रका सह–प्रवक्ता एवम् डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा तीन–चार दिनअघि चीनबाट अवैध रूपमा ल्याई नेपाल–चीन सीमाको कोरोला नाका नजिक गाडीमा लोड गरिएको ८० कार्टुन इलेक्ट्रिक चुरोटसहित उनी नियन्त्रणमा लिइएका हुन् । लामालाई कन्टेनरका चालकसहित नियन्त्रणमा लिइएको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट नेचुङ्गका नायव निरीक्षक उदयबहादुर कुमालको कमाण्डमा खटिएको सुरक्षा फौज, मुस्ताङ भन्सार कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले लामालाई कन्टेनरसहित नियन्त्रणमा लिएको हो । बरामद इलेक्ट्रिक चुरोट मुस्ताङ भन्सार कार्यालयमा बुझाइएको छ । नियन्त्रणमा लिइएका लामालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय छोसेरमा पठाइएको छ । कन्टेनर बिग्रिएको कारण त्यसमा रहेको टिस्यु पेपर र ट्वाइलेट पेपर भन्सार कार्यालयले सिल गरी सुरक्षित राखेको छ ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको कार्यसमिति बैठकले वैशाख १८ गते अवार्ड गर्ने निर्णय गरेको हो । अवार्ड समारोहमार्फत गण्डकी प्रदेशको खेलकुद विकासमा योगदान पु¥याएका खेलाडी, प्रशिक्षक, खेलकुद संस्था तथा पत्रकारलाई सम्मान गरिनेछ । समारोहमा विभिन्न विधा अन्तर्गत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डका विधाहरुमा लाइफटाइम एचिभमेण्ट अवार्ड, वर्ष उत्कृष्ट पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उत्कृष्ट उदयमान, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद क्लब÷संस्था तथा वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन् । अवार्डको नवौं संस्करण सफलतापूर्वक सम्पन्न भइसकेको अवस्थामा १० औं संस्करणको स्पोर्ट्स अवार्ड सरोकारवाला सबैको साथ, सहयोग र सल्ल्लाहमा भब्य बनाउने गरी लागिपर्ने अध्यक्ष आस्थामगरले बताए । अवार्डका लागि प्रदेश खेलकुद गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको विशेष सहयोग रहेको छ । अवार्डले गण्डकी प्रदेशको खेलकुद प्रवद्र्धन तथा खेल पत्रकारिताको सम्मानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको रहेको छ ।
काठमाडौं: सरकारले राष्ट्रियसभाको अधिवशेन आह्वानका लागि राष्ट्रिपति समक्ष सिफारिस गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको अधिवेशन आगामी माघ ४ गते आइतबार बिहान ११ बजेका लागि आह्वान गर्न सिफारिस गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । बैठकले सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया (बौद्ध पगौडा) को अभिलेखालय र गङ्गाघाट मन्दिरको पुनस्निर्माणका लागि अमेरिकी डलर तीन लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रपरिषद्ले अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर दुई लाख ८३ हजार ५०३ प्रदान गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्ले वित्तीय क्षेत्र रणनीति (२०८२/८३–२०८६/८७) र मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गरेको छ ।
तनहुँ: तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो । उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ । घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रनाउ विकले बताउनुभयो । हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदानको सम्मान गर्नुभएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपतिप्रति सलामी अर्पण गरेको थियो । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजित उक्त समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीगणले नेपाल एकीकरणको अभियान्ता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरी सम्मान प्रकट गर्नुभयो । मुख्यसचिव सुमनराज अर्याल,नेपाल सरकारका उच्चपदस्थ अधिकारी,संवैधानिक निकाय तथा सुरक्षा निकायका प्रमुखलगायत समाजका विभिन्न क्षेत्रका महानुभावहरूले समेत राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभयो । हरेक वर्ष पृथ्वीनारायण शाहको जन्मदिन पुस २७ गते राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।

