पोखरा: लेखनाथ उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण कार्यलाई प्राथमिकता दिन माग गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई ज्ञापनपत्र बुझाएको छ । सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारी सहितको संघको टोलीले आईतबार मुख्यमन्त्री पाण्डेलाई भेटी गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजनामा समावेश प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको हालसम्मको प्रगति विवरण सार्वजनिक गर्न अनुरोध गरेको हो। पोखरामा प्रस्तावित प्रादेशिक औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा प्राप्तिको काम प्रदेश सरकारले यसअघि नै गरिसकेको सङ्घको बुझाइ छ। सङ्घले औद्योगिक क्षेत्र निर्माणका सम्बन्धमा हालसम्म भएका प्रयासहरू कहाँसम्म पुगेका छन् र प्रगति अवस्था के कस्तो रहेको छ भन्ने विषयमा स्पष्ट जानकारी उपलब्ध गराउन मुख्यमन्त्रीसँग आग्रह गरेको छ। भेटका क्रममा सङ्घले पछिल्ला केही वर्षदेखि रोजगारी सिर्जना राष्ट्रको प्रमुख आवश्यकता बनेको उल्लेख गर्दै, अर्थतन्त्र चलायमान राख्न, आपूर्ति सहजता कायम गर्न र समृद्ध गण्डकी प्रदेश निर्माणका लागि प्रादेशिक औद्योगिक क्षेत्र अपरिहार्य रहेको जनाएको छ। हाल जग्गाको मूल्य अत्यधिक बढेकाले निजी क्षेत्रले चाहेर पनि उद्योग स्थापना गर्न नसकिरहेको उल्लेख गर्दै, उद्योग–कलकारखाना स्थापना गर्न अनुकूल वातावरण सिर्जना गर्ने जिम्मेवारी सरकारकै रहेको सङ्घको भनाइ छ। लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष जानुका अधिकारीले समग्र गण्डकी प्रदेशको विकास र समृद्धिका लागि प्रदेश सरकारले निर्माण गर्ने औद्योगिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाउन आग्रह गरिएको बताइन्। उनका अनुसार राजधानी काठमाडौँ र पोखराको भौगोलिक पहुँच सहज बन्दै गएको अवस्थामा पोखरा महानगरपालिकाको आसपासमा निर्माण हुने औद्योगिक क्षेत्र काठमाडौँको विकल्पका रूपमा समेत विकास हुन सक्ने सम्भावना रहेको छ। औद्योगिक क्षेत्र सञ्चालनका लागि सङ्घका सदस्य उद्योगी–व्यवसायीहरू उत्साहित रहेको जनाउँदै अध्यक्ष अधिकारीले प्रदेश सरकारले शीघ्र निर्णय गरी निर्माण प्रक्रिया अघि बढाउने अपेक्षा व्यक्त गरेकी छिन्।
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। निस्दीको मित्यालीस्थित अरुणखोलाबाट रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप शुक्रबार बिहान चिउरीबासस्थित उकालोमा यात्रु ओराल्ने क्रममा आफैँ व्याक भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बताए। उनका अनुसार दुर्घटनामा नवलपुर मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीया बुद्धिमाया विक, निस्दी–४ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु र निस्दी–४ ठोक्सिङबासकी ४५ वर्षीया ओमकुमारी खाम्चाको घटनास्थलमै मृत्यु भएको थियो। उपचारका क्रममा आज बुद्धिमायाका श्रीमान् ३४ वर्षीय सुन्दर विकको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको उनले जानकारी दिए। दुर्घटनामा आठ जना घाइते भएका थिए। घाइतेमध्ये चार जनाको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। दुई जनालाई उपचारपछि घर फर्काइएको जनाउँदै प्रहरी उपरीक्षक चौधरीले एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताए।
काठमाडौं: प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ । निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ । आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ । सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ । राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन् । मुलुक क्रमशः निर्वाचनको माहोलमा अगाडि बढिरहेको आभास भएको छ । देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन् । नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ । सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ । प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत कांग्रेसले छनोट गरिरहेको छ । उम्मेदवार छनोटमा अन्य राजनीतिक दलभन्दा कांग्रेस अगाडि देखिएको छ । नेकपा ९एमाले०को शनिबारदेखि ११औँ महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटनसत्रमा सो दलका अध्यक्ष केपी शर्मा ओलीले दबाब र प्रतिशोधको छायाँबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको एमाले चुनावबाट भाग्छ ? भन्ने प्रश्न गर्नुभएको छ । उहाँले सरकारले निष्पक्ष र स्वतन्त्र चुनाव हुने वातावरण बनाउनुपर्ने धारणा राख्नुभएको थियो । अध्यक्ष ओलीले निर्वाचनका लागि आवश्यक वातावरण बनाउन र राजनीतिक दलका गतिविधिलाई प्रोत्साहित गर्न आग्रह गर्नुभएको थियो । एमालेले निर्वाचनका लागि आयोगले तय गरेको समयसीमाभित्रै दल दर्तालगायतका गतिविधि सम्पन्न गरिसकेको छ । यस्तै, विभिन्न कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सन्देशसभाका नाममा देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधिलाई तीव्र पारेको छ । सो दलले शनिबार सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो । धनगढी, दाङ, पोखरा, विराटनगर र जनकपुरमा सन्देशसभा गरिसकेको नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते काठमाडौँमा सन्देशसभा आयोजना गर्दैछ । देशभर नै सन्देशसभा आयोजना गरेर निर्वाचनको पक्षमा उभ्याएको सो दलले तोकिएको मितिमा नै निर्वाचन हुनुपर्ने प्रष्ट मत जाहेर गरेको छ । सो दलका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार सुर्खेतमा आयोजित सभामा निर्वाचन तोकिएको मितिमा नै सम्पन्न हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टी क्रियाशील भइसकेको बताउनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनका लागि वाचापत्र तयार पार्नेदेखि उम्मेदवार छनोटको प्रक्रिया अगाडि बढाइसकेको छ । समानुपातिकतर्फको उम्मेदवारको आवेदन गरेको सो पार्टीले पनि भेला सभामार्फत निर्वाचन केन्द्रित गतिविधि गरिरहेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारणको प्रक्रिया अगाडि बढाइसकेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न लागिएको हो । यस्तै, समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र निर्वाचन चिह्नसमेत उपलब्ध गराइसकेको छ । यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको समयभित्र समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका लागि आवेदन दिएका राजनीतिक दलमध्ये अन्तिम रूपमा एक सय दल कायम भएका छन् । सो निर्वाचन प्रणालीतर्फ एक सय दलले आवेदन दिएको भए पनि दुई वा दुईभन्दा बढी दलले एकल निर्वाचन चिह्नमा भाग लिनेगरी आवेदन दिएकाले कुल ९३ वटा निर्वाचन चिह्न कायम गरिएको छ । यस्तै, प्रत्यक्षतर्फ एक सय १४ राजनीतिक दल सहभागी हुँदैछन् । आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारेर आवश्यक सुझाव सङ्कलन गरिरहेको छ । निर्वाचनका लागि नै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसक्नुभएको छ । शान्ति सुरक्षा कायम गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन गृह मन्त्रालयले आवश्यक तयारी गरिसकेको गृहमन्त्री ओमप्रकाश अर्यालले स्पष्ट पारिसक्नुभएको छ ।
काठमाडौं: संसद् सेवा गठन भएको स्मरणमा हरेक वर्षको मंसिर २८ गते मनाइने संघीय संसद सेवा दिवस आइतबार विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । वि.सं. २०५८ मा निजामती सेवाबाट संसद् सेवा गठन भएको थियो । संघीय संसद् सचिवालयले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । नेपालको संविधानको धारा २०७ मा संघीय संसद्को कामकारबाही सञ्चालन तथा व्यवस्थापन गर्न एक सचिवालय रहने र त्यस्तो सचिवालयको स्थापना तथा तत्सम्बन्धी अन्य व्यवस्था संघीय कानुनबमोजिम हुने व्यवस्था छ । निजामती सेवा ऐनबाट निकालेर छुट्टै ऐनद्वारा सञ्चालित संसद् सेवा विशिष्ट, स्वायत्त र व्यावसायिक सेवा हो । संसदीय अभ्यासलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउन छुट्टै ऐनद्वारा संसद् सेवाको गठन गरिएको स्मरणमा हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिएको छ । राज्यको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाका रूपमा रहेको संघीय संसद्लाई प्रशासनिक र प्राविधिक सहयोग पुर्याउँदै आएको संसदीय सेवाको भूमिका संविधानको सफल कार्यान्वयन र कानुन निर्माण प्रक्रियामा अत्यन्तै महत्त्वपूर्ण रहेको छ । संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु संघीय संसद् सचिवालयको कार्य रहँदै आएको छ । संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको छ ।
बाँके: जेनजी आन्दोलनका क्रममा भएको आगजनीले यातायात व्यवस्था कार्यालय बाँकेमा अत्यधिक क्षति पुगेको छ । आगलागीका कारण नेपालगञ्जको बाँके गाउँस्थित कार्यालयको भौतिक संरचना पूर्ण रूपमा क्षतिग्रस्त हुनुका साथै करिब ९५ प्रतिशत कागजात तथा प्रशासनिक अभिलेख जलेका छन् । हाल कार्यालयले नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित सडक विभागको कार्यालयबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै आएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख कालिदास बस्यालका अनुसार आन्दोलनका क्रममा भएको आगजनीले सेवा कक्ष, अभिलेख कक्ष, कम्प्युटर, प्रिन्टर, सर्भर प्रणाली तथा फर्निचरमा व्यापक क्षति पुगेको छ । “भौतिक संरचनाभन्दा पनि कागजातको क्षति गम्भीर छ । करिब ९५ प्रतिशत अभिलेख जलेका छन्”, उनले भने । आगलागीपछि सेवा पूर्ण रूपमा ठप्प नहोस् भन्ने उद्देश्यले कार्यालयलाई तत्काल सडक विभागको भवनमा सारेर अस्थायी रूपमा सञ्चालन गरिएको हो । तर, अस्थायी संरचनाबाट सेवा दिँदा स्थान अभाव, सीमित काउन्टर, प्रविधिगत समस्या तथा सेवाग्राहीको चाप व्यवस्थापन चुनौतीपूर्ण बनेको कार्यालयका प्रमुख बस्यालले जानकारी दिए । यद्यपि, यस्ता कठिनाइबीच पनि सवारीसाधन नवीकरण, सवारी दर्ता, सवारी कर संकलन तथा चालक अनुमतिपत्र नवीकरणजस्ता अत्यावश्यक सेवा नियमित सञ्चालन भइरहेका छन् । उनका अनुसार सीमित स्रोतसाधनमै भए पनि सेवाग्राहीलाई असुविधा नहोस् भन्ने प्रयास गरिएको छ । कागजात नष्ट भएपछि अभिलेख पुनर्निर्माण कार्यालयका लागि अर्को ठूलो चुनौती बने पनि सेवा प्रणाली डिजिटल रहेकाले केन्द्रीय सर्भरमा सुरक्षित रहेका विवरणले राहत दिएको प्रमुख बस्यालको भनाइ छ । “लाइसेन्स र सवारी दर्तासम्बन्धी धेरै विवरण डिजिटल रूपमा सुरक्षित रहेकाले त्यसैको आधारमा अभिलेख पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको छ”, उनले भने । साथै सेवाग्राहीसँग रहेका प्रतिलिपि र अन्य कार्यालयका अभिलेखको सहायताले पुनःप्रमाणिकरण गरिने प्रमुख बस्यालले जानकारी दिए । भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यालयले सम्पूर्ण अभिलेख डिजिटलाइजेसन, नियमित डेटा ब्याकअप, आगलागी नियन्त्रण प्रणाली, सीसीटीभी जडान तथा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने योजना अघि सारेको उनले बताए । यसका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको प्रमुख बस्यालको भनाइ थियो । “यातायात कार्यालयको स्थायी पुनर्निर्माणका विषयमा पनि प्रदेश सरकार र सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको छ”, उनले भने, “क्षति मूल्याङ्कनको विस्तृत प्रतिवेदन तयार भएपछि नयाँ भवन निर्माण र बजेट विनियोजनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।” अस्थायी अवस्थाका कारण केही असुविधा भए पनि कार्यालयले सेवाग्राहीलाई संयम अपनाउन आग्रह गरेको छ । “कठिन परिस्थितिमा पनि सेवा निरन्तरता दिन हामी प्रतिबद्ध छौँ”, उनले भने, “अस्थायी अवस्थालाई बुझेर सहकार्य गरिदिन सबै सेवाग्राहीमा अनुरोध गर्दछु ।” उनका अनुसार सुदूरपूर्व ताप्लेजुङ र इलामबाट पनि सेवा लिन बाँकेको यातायात कार्यालयमा सेवाग्राही आउने गरेका छन् । “आगलागीले क्षतिग्रस्त अभिलेख पुनर्निर्माणको प्रक्रिया निकै चुनौतीपूर्ण भए पनि डिजिटल प्रणाली र सेवाग्राहीसँग उपलब्ध प्रतिलिपिले काम सहज बनाएको छ”, उनले भने, “कार्यालयले आगामी वर्षसम्म सबै अभिलेखलाई पूर्ण रूपमा डिजिटलाइजेसन गर्ने योजना पनि अघि सारेको छ ।”
पोखरा: नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशले पोखराहुँदै बाग्लुङ, बुर्तिबाङ र ढोरपाटनसम्मका विभिन्न पर्यटकीय गन्तव्यलाई लक्षित गरी सञ्चालित तीन दिने पर्यटन प्रवद्र्धन कार्यक्रम सकिएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ आयोजित कार्यक्रममा संघ आवद्ध सदस्यसँगै पोखरामा कृयाशिल विभिन्न पर्यटनसम्बद्ध संस्थाका पदाधिकारी, सञ्चारकर्मी सहितको टोली सहित मङसिर २४ गतेदेखि पोखराबाट ढोरपाटनसम्मको प्रवद्र्धनात्मक कार्यक्रममा निस्कीएको संघका गण्डकी प्रदेश अध्यक्ष दुर्गादत्त दहालले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोगमा बाग्लुङमा कास्की, बाग्लुुङ, म्याग्दी र पर्वतका यातायात सम्बद्ध व्यवसायी, चालक तथा सहचालकका लागि गरिएको अभिमुखीकरण तालिम यस क्षेत्रमा सुरक्षित एवम् गुुणस्तरीय यातायात सेवा सञ्चालनका लागि उपलब्धिपूर्ण बनेको उहाँले बताउनुभयो । कार्यक्रमकै क्रममा बाग्लुुङ, बुर्तिवाङ र ढोरपाटन क्षेत्रका पर्यटन व्यवसायीसँग एक आपसमा पर्यटकीय साझेदारी बढाउने लगायतका विषयमा महत्वपूर्ण छलफलहरू भएको उहाँले जानकारी दिनुभयो । “पोखराबाट ढोरपाटनसम्म ठाउँ ठाउँमा बन्दै र स्तरोन्नति भैरहेका बाटोलाई चाँडो निर्माण सम्पन्न गर्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “बाटो व्यवस्थित हुन सकेमा पोखराबाट ठूलो संख्यामा पर्यटकहरूलाई ढोरपाटनसम्म पु¥याउन सकिन्छ ।” पर्यटकीय सम्भावना बोकेका ढोरपाटन जस्ता स्थलहरूको पर्यटकीय विकासका लागि प्रवद्र्धन जरुरी रहेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका बरिष्ठ अधिकृत युवराज गुरुङले बताउनुभयो । प्रवद्र्धनसँगै तत्तत् ठाउँका पर्यटन व्यवसायीको क्षमता अभिबृद्धि समेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रवद्र्धन कार्यक्रमले पोखरा र ढोरपाटनको पर्यटकीय विकास र साझेदारीमा ठूलो आशा एवम् विश्वास जगाएको संघका प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रविप्रसाद आचार्यले जानकारी दिनुभयो । “कार्यक्रमसँगै पोखरा–ढोरपाटनको पर्यटन प्रवद्र्धन र पर्यटकीय साझेदारीका लागि महत्वपूर्ण उपलब्धि हासिल भएको हामीले महसुस गरेका छौं”, उहाँले भन्नुभयो, “पर्यटन सम्बद्ध सबै पक्षको एकतावद्ध प्रयाससँगै व्यवसायी व्यवसायी बीचको एकापसमा समन्वय र साझेदारीबाट सबैले फाइदा लिन सकिन्छ ।”
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भएको हो । नवलपुरको अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको जिप लु १ ज ३९०८ नम्बरको जिप शुक्रबार दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रारम्भिक विवरण अनुसार दुर्घटना तीन जनाको घटनास्थलमै मृत्यु भएको र आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिए । मृतक र घाइतेहरुको पहिचान हुन बाँकी छ । उकालो सडकमा जिपले नतानेपछि यात्रु ओराल्ने क्रममा जिप ब्याक भएर दुर्घटना भएको स्थानीय जानकारी दिएका छन् । जिप सडकबाट झण्डै एक किलोमिटर तल खसेको छ । घाइतेहरुलाई उद्धार गरी अस्पताल पठाइएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा विस्तृत जानकारी आउन बाँकी छ।
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको बजार प्रवद्र्धन, कृषिजन्य लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रबद्र्धन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रवधि हस्तानतरण गर्न सहयोग पु¥याउने र स्वदेशी तथा विदेशी बजार विस्तारमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । विषम परिस्थितिका कारण हाल शिथिल अवस्थामा रहेको देशको अर्थतन्त्रलाई चलायमान गराउनु नै महोत्सवको मुख्य लक्ष्य भएको संघका कोषाध्यक्ष एवं महोत्सवका आर्थिक व्यवस्थापन उप–समितिका संयोजक हरि बस्ताकोटीले बताए । ‘‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउनु, आन्तरिक एंव बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउनु र विभिन्न आन्दोलन र त्यसकारण भएका क्षतिले खस्कीएको अवस्थामा रहेको व्यवसायीहरुको मनोबल उकास्नु नै महोत्सवको लक्ष्य हो ।’’–संयोजक बस्ताकोटीले भने । अहिलेको विषम अवस्थाका बाबजुद पनि विभिन्न व्यापारीक प्रतिष्ठानहरु एवं व्यवसायीहरुबाट महोत्सवलाई राम्रो साथ मिलेको र यसले आफुहरुलाई राम्रो हौसला मिलेको बस्ताकोटीले बताए । महोत्सवमा अटो, शैक्षिक प्रदर्शनी, कृषि, किचन, मेसिनरी, ह्याण्डिक्राफ्ट, गार्मेन्ट, जनरल, फुड एण्ड वेभरेज, डेरी, सूचना तथा प्रविधि, रेष्टुरेण्ट, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहने संघका अध्यक्ष एवं महोत्सव संयोजक जानुका पराजुलीले जानकारी दिईन । महोत्सवमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरुको प्रदर्शनी तथा बिक्री, दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नको प्रदर्शनी तथा बिक्री, विद्युतीय उपकरणहरुको प्रदर्शनी तथा बिक्री हुने जनाइएको छ । महोत्सवमा सूचना प्रविधि तथा सञ्चारका उपकरणहरु, पर्यटन तथा लेखनाथ क्षेत्रका गतिविधिहरु पनि प्रदर्शनी गरिनेछ । यस्तै, फुड फेष्टिवल, अटोमोवाइल प्रदर्शनी, वित्तीय तथा अन्य सेवामूलक संघसंस्थाको सेवा तथा जानकारी पनि महोत्सवमा रहनेछन । महोत्सवमा दिउँसो लोकदोहोरी कार्यक्रम र साँझमा पप कन्सर्टरसुगम संगितका कार्यक्रम हुने भएको छ । दिउँसो लोक दोहोरी कार्यक्रम हुनेछन् भने साँझमा चर्चित व्याण्ड तथा कलाकारहरुले स्टेज तताउने आयोजकले जनाएको छ । महोत्सवको अवसरमा रत्यौली प्रतियोगिता विशेष आकर्षणका रुपमा रहने जनाइएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने पौष ३ गतेदेखी १४ गतेसम्म सञ्चालन हुने महोत्सवलाई गृहलक्ष्मी ग्याँस कम्पनी प्रा।लि।ले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा बिएलसि गु्रप (नर्भिक हस्पिटल), पशुपति विस्कुट, हेटौडा डेरी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका प्रायोजक व्यवस्थापन उप–समितिका संयोजक विक्रम कर्माचार्यले जानकारी दिए ।
काठमाडौं: स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

