पोखरा: तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम गरी मनाउँदै छन् । मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष सुरु भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने जनाएको छ । यसैगरी नेपाल तामाङ घेदुङले यस पर्वका अवसरमा टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म विविध कार्यक्रम सुरु गरेको छ । यसैगरी राजधानीको स्वयम्भू क्षेत्रमा पनि विविध कार्यक्रम गरी सोनाम ल्होसार मनाउन लागिएको जनाइएको छ । करिब चार हजार ७०० वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ । नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्दछन् । यस अवसरमा आइतबारदेखि नै राजधानीको टुँडिखेलमा ल्होसार महोत्सव आयोजना गरिएको छ । महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत तथा नृत्य प्रस्तुत गरिनेछ । साथै राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति रहने मूल समारोह समितिले जनाएको छ ।
काठमाडौं: निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आइतबार आयोगले समानुपातिक उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गरेको हो । सार्वजनिक भएको विवरणमा ५७ निर्वाचन चिह्नमा ६३ राजनीतिक दलबाट पेस भएका ३ हजार २१३ जना उम्मेदवारको बन्दसूची प्रकाशन गरिएको आयोगका प्रवक्ता रामप्रसाद भट्टराईले बताए ।
पोखरा: दिनेश राउतको निर्देशनमा तयार भएको नेपाली सिनेमा ‘कुमारी’ को प्रचार–प्रसारका क्रममा पोखरामा आयोजित भव्य कन्सर्ट उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । पोखराको इभेण्ट म्यानेजमेन्ट कम्पनी प्रचारले व्यवस्थापन गरेको उक्त कन्सर्टमा कलाकार, संगीत र दर्शकबीचको ऊर्जाशील सहभागिताले कार्यक्रमलाई विशेष बनायो। कन्सर्टका क्रममा सिनेमाका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी ले पोखरेली दर्शकसँग प्रत्यक्ष संवाद गर्दै चलचित्र निर्माणका अनुभव, पात्रको यात्रा र ‘कुमारी’ले बोकेको भावनात्मक सन्देशबारे खुलेर चर्चा गरे । पछिल्लो समय टिकटकमा भाइरल बनेको कुमारीको गीत “डोको बुन्ने” मा झुम्दै उनीहरुले दर्शकसँग साक्षत्कार गरेका हुन् । कलाकारसँग प्रत्यक्ष भेटघाट र संवादको अवसर पाउँदा दर्शकहरू उत्साहित देखिन्थे। कार्यक्रमलाई थप उचाइमा पु¥याउँदै केयर लिम्बू एण्ड द लुंगा ब्याण्डले दिएको सशक्त प्रस्तुतीले पोखराका दर्शकहरूलाई झूमायो। लाइभ संगीत, नृत्य र दर्शकको सहभागिताले कन्सर्टलाई स्मरणीय बनाएको थियो। कुमारी मार्फत डेभ्यु गरेका अभिषेक खड्काले पोखरेली दर्शकको माया र उत्साहप्रति आभार व्यक्त गर्दै भने, “पोखरामा दर्शकको यस्तो ऊर्जा पाउँदा निकै खुशी लाग्यो। ‘कुमारी’ हाम्रो लागि केवल सिनेमा होइन, भावनाको कथा हो। यहाँबाट पाएको समर्थनले हामीलाई अझ आत्मविश्वासी बनाएको छ।” आफु पनि जेनजी उमेर समूहको भन्दै जेनजी पुस्ताबाट कुमारीलाई सहयोग मिल्ने विश्वास उनको छ । त्यसैगरी नायिका आकृति राजभण्डारीले पनि दर्शकसँगको आत्मीयताले आफूलाई भावुक बनाएको बताइन्। “पोखरेली दर्शकको प्रतिक्रिया असाध्यै सकारात्मक छ। ‘कुमारी’ले उठाएका विषय दर्शकले आत्मसात् गर्नुहुनेछ”, उनले भनिन् । चलचित्रका निर्देशक दिनेश राउतले पोखरामा देखिएको उत्साहले ‘कुमारी’ प्रति दर्शकको अपेक्षा प्रस्ट भएको बताए । “पोखराको यो माहोलले ‘कुमारी’ सही दिशामा अघि बढिरहेको संकेत गरेको छ। दर्शकको साथ र विश्वास नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,” उनले भने । आगामी माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको ‘कुमारी’ प्रति पोखरेली दर्शकको उत्साहले चलचित्रको सफलताको संकेत दिएको छ । निर्माण टिमले नेपाली सिनेमालाई साथ दिन सबै दर्शकलाई नजिकैको हलमा पुगेर ‘कुमारी’ हेर्न आग्रह गरेको छ । नेपाली समाजका संवेदनशील पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको ‘कुमारी’ ले प्रदर्शनसँगै दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
पोखरा: पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना सम्मानीत हुन लागेका हुन् । नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको आइतबार बसेको कार्यसमिति बैठकले अनुमोदन गरेको हो । समितिका सदस्यमा राजेन्द्र अधिकारी, मोतिसागर अधिकारी, माधवप्रसाद बराल र भूपाल गुरुङ थिए । टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कारको राशी नगद २५ हजार १११ रहेको छ । सम्मानीत हुन लागेका बस्नेत खेलाडीन्यूज डटकम र टक्सार म्यागाजिनमा आवद्ध छन् । २०६० सालमा नेपाल समाचारपत्रबाट पत्रकारिता सुरु गरेका उनले नागरिक दैनिकमा काम गरेको अनुभव छ । बस्नेतले यसअघि सहारा खेलकुद पुरस्कार २०६४ र जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने उत्कृष्ट खेल पत्रकार पुरस्कार प्राप्त गरिसकेका छन् । अर्का सम्मानीत पत्रकार तिमिल्सिना एपिवान टिभी र क्लिक गण्डकीमा आवद्ध छन् । २०५९ सालदेखि समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका तिमिल्सिनाले पोखरा एफएम, रेडियो तरङ्ग, उज्यालो रेडियो नेटवर्क, विग एफएम, एभिन्यूज, सेतोपाटी, गनथन डटकममा काम गरिसकेका छन् । तिमिल्सिनाले यसअघि सहारा पत्रकारिता पुरस्कार, जिल्ला खेलकुद विकास समिति, कास्कीले प्रदान गर्ने खेलकुद अवार्ड र रेवान पोखराले प्रदान गर्ने पर्यटन पत्रकारिता पुरस्कार प्राप्त गरिसकेका छन् ।
काठमाडौं: निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलसँग निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्ने सम्बन्धमा आयोगले छलफलको समेत आयोजना गरेको थियो। छलफल आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्तद्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा उपस्थित राजनीतिक दलले आसन्न निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न÷गराउन प्रतिबद्ध रहेको बताएका थिए। उनीहरूले नेपालको संविधान निर्वाचन आयोग ऐन, २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४, राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ र निर्वाचन आचारसंहिता, २०८२ समेतका निर्वाचनसम्बन्धी कानुनको इमान्दारिताका साथ पालना गर्ने÷गराउने उल्लेख गरेका छन्। यस्तै, निर्वाचनका सन्दर्भमा आयोग, निर्वाचन आचारसंहिता अनुगमन समिति र उपसमिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतले बोलाएको बखत उपस्थित हुने प्रतिबद्धता व्यक्त भएको थियो। आचारसंहिता कार्यान्वयनका सिलसिलामा अनुगमन प्रभावकारी हुनुपर्ने, सामाजिक सञ्जालबाट प्रवाह हुने मिथ्या सूचना, दुष्प्रचार तथा द्वेषपूर्ण अभिव्यक्ति नियन्त्रण र नियमनका लागि आयोग सचेत हुनुपर्ने लगायतका सुझाव प्राप्त भएको आयोगले जनाएको छ। छलफलमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूबाट निर्वाचन आचारसंहिता, २०८२ को कार्यान्वयनका सम्बन्धमा उठेका प्रश्न तथा जिज्ञासामाथि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निषेधको राजनीति नगर्न र कानुनको परिपालना गरेर निर्वाचनमा सहभागी हुन सबै दलका प्रतिनिधिलाई आग्रह गरेका छन्। केन्द्रीय आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त सगुनशम्शेर जबराले सामाजिक सञ्जाल नियमनका लागि आयोगले सामाजिक सञ्जाल अनुगमन प्रणाली (सोसियल मिडिया मनिटोरिङ टुल्स) उपयोग गर्नेबारे जानकारी दिए। आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलका तर्फबाट प्रचलित निर्वाचन कानुन र निर्वाचन आचारसंहिताको कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएसँगै सबै दलहरूसँगको सहकार्यबाट निर्वाचन आचारसंहिताको इमान्दार र सफलतापूर्वक कार्यान्वयन हुने विषयमा आयोग विश्वस्त रहेको उल्लेख गरिएको छ। यस्तै, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीस्वरुप पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
पोखरा: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गर्नुभएको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष गुरूङले प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो । प्रदेश प्रमुख भट्टले यस आयोग मुलुकमा वित्तीय संघीयता लागू गर्ने आर्थिक पाटोतर्फको मेरुदण्ड भएको उल्लेख गर्नुृहुँदै पर्याप्त प्राकृतिक श्रोतले पूर्ण भएप्नि देशले पर्याप्त लाभ लिन नसकिएको चिन्ता व्यक्त गर्नुभयो । ‘नेपाल सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश भएपनि यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा उपभोग गरी लाभ लिन नसकिरहेको अवस्था छ ।’ उहाँले भन्नुभयो – ‘मुलुकका प्रबुद्ध वर्गहरु, पूर्वप्रशासक, अर्थशास्त्री, वित्तसँग राम्रो अनुभव भएका व्यक्ति सम्मिलित आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ ।’ आयोगका कार्यवाहक अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८२/०८३ का लागि गण्डकी प्रदेश सरकारलाई ७ अर्ब ७३ करोड ८९ लाख र प्रदेश भित्रका स्थानीय सरकारलाई ९ अर्ब २२ करोड ९३ लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकोमा नेपाल सरकारले सोहि बमोजिम बजेट विनियोजन गरेको बताउनुभयो । यद्यपी, नेपाल सरकारले सिफारिस बमोजिम बजेट विनियोजन गरेपनि प्रदेश तथा स्थानीय तहलाई पूरै रकम हस्तान्तरण नहुँदा प्रदेश र स्थानीय सरकारको बजेट कार्यान्वयन प्रभावित भएका देखिएको उहाँले बताउनुभयो । कार्यवाहक अध्यक्ष गुरुङले आर्थिक वर्ष २०८१/८२ को अवधिमा आयोगले गण्डकी प्रदेश तथा प्रदेशभित्रका स्थानीय सरकारसँग सम्बन्धित विषयमा सम्पादन गरेका काम–कारबाहीहरू उक्त वार्षिक प्रतिवेदनमा समेटिएकोे जानकारी दिनुभयो । उहाँले संक्षिप्त विवरणसहित प्रतिवेदन पेस गर्दै आयोगका गतिविधि र सिफारिसबारे प्रदेश प्रमुखलाई अवगत गराउनुभएको थियो । संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, मानक र पूर्वाधारको आधारमा प्रदेश र स्थानीय तह सशर्त अनुदानको आधार तय गर्ने, प्रदेश सञ्चित कोषबाट प्रदेश सरकार र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने जस्ता अधिकार आयोगलाई छ ।
पर्वत: पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ । गण्डकी प्रदेशको राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकले सास्ती खेप्दै आएका थिए । सडक डिभिजन कार्यालय, पोखराले कास्की र पर्वतको सिमाना नयाँपुलदेखि पर्वतको मालढुङ्गासम्म मर्मतसम्भार र कालोपत्रको काम सुरु गरेको जानकारी दिएको छ । पहिलो चरणमा पोखराको फेदीतर्फबाट खाल्डाखुल्डी पुर्ने र भत्केको सडक कालोपत्र गर्ने कामसम्पन्न गरी दोस्रो चरणमा पर्वत खण्डमा मर्मतको काम थालनी गरिएको कार्यालयका सब–इन्जिनियर लोकेश पौडेलले जानकारी दिनुभयो । बर्खायाममा धेरै ठाउँमा सडक भत्केको र खाल्डाखुल्डी परेका कारण यातायात सञ्चालनमा कठिनाइ हुँदै आएको ठाउँहरुमा मर्मतसम्भार र आवश्यक ठाउँमा कालोपत्र र टालटुलको काम भइरहेको उहाँको भनाइ छ । लोकमार्ग मर्मतसम्भारका लागि विनियोजित रु ५० लाख बजेटबाट पर्वत र कास्की खण्ड मर्मतको काम अघि बढाइएको हो । शिवालय निर्माण सेवामार्फत सडक मर्मतसम्भारको काम भइरहेको सब–इन्जिनियर पौडेलले जानकारी दिनुभयो । बर्खायाम सकिएलगत्तै सडक मर्मत गर्ने योजना रहे पनि बीचमा ठूला चाडबाड परेको र पछिल्लो वर्षा नरोकिएका कारण ढिलोगरी मर्मतकार्य सुरु भएको हो । जाडोयाममै भए पनि अहिले धमाधम काम भइरहेको पौडेलले बताउनुभयो । सडक धेरै ठाउँमा बिगे्रकाले ममर्तसम्भारमा छुट्टिएको बजेट अपुग हुने देखिएको सब–इन्जिनियर पौडेलले बताउनुभयो । पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको छ । ठाउँठाउँमा सडक बिग्रँदा सहज र निर्वाध रुपले सवारीसाधन चलाउन सक्ने अवस्था नभएपछि यात्रु र सवारी चालकहरुले लामो समयदेखि गुनासो गर्दै आएका थिए । सडक कतै भासिएको छ भने कहीँ ठूल्ठूला खाल्डा परेका छन् । सवारीसाधनको बढी चाप हुने मुख्य सडक नै बिग्रँदा दुर्घटनाको जोखिम बढेको थियो । पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायतका जिल्लाबाट उक्त सडक हुँदै दैनिक सयौँ गाडी पोखरा, काठमाडौँ, नारायणगढ हुँदै मुलुकका विभिन्न ठाउँमा आउजाउ गर्ने गरेका छन् । कार्यालयका अनुसार नयाँपुलतर्फबाट मर्मत हुँदै अहिले कुश्मा नगरपालिका–८ पराधिसम्म आइपुगेको छ । अब एक महिनामा मालढुङ्गासम्मनै मर्मतको कार्य सकिने कार्यालयले जानकारी दिएको छ । मर्मत सकिएका ठाउँहरुमा धुलो र हिलोको समस्या समाधान भएको चालकहरुले बताएका छन् । आर्थिक वर्ष ०७८(७९ मा निर्माण सम्पन्न भएको लोकमार्गको पर्वत खण्ड दुई वर्षमै भत्किएर जीर्ण बनेको हो ।
गण्डकी: पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगरसभाले उक्त समयावधि थप्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको प्रावधान भए पनि महानगरको राजस्व सङ्कलन प्रणालीमा समस्या आउँदा कर तिर्न आएका सर्वसाधारण फर्किनुपर्ने अवस्था सिर्जना भएको महानगरका सूचना अधिकारी कृष्णप्रसाद तिवारीले जानकारी दिनुभयो । सेवाग्राहीले चाहेर पनि राजस्व सङ्कलन प्रणालीको समस्याका कारण कर तिर्न नसकेकाले कर छुटको समयलाई चैत मसान्तसम्म बढाइएको उहाँले बताउनुभयो । यसअघि प्रणालीमा देखिएको समस्याका कारण सेवाग्राही मर्कामा परेका भन्दै उक्त छुटको समयावधि बढाउन वडा १३ का वडाध्यक्ष किरण बरालले ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो ।
काठमाडौं: आजदेखि नगद कारोबारमा ५ लाखको सीमा कायम भएको छ । मङ्सिर १६ गतेको निर्णय र राष्ट्र बैंकको केही दिनअघिको परिपत्र अनुसार आजदेखि बैंक तथा वित्तीय संस्थाले एउटा व्यक्तिसँग ५ लाखभन्दा बढी नगद कारोबार गर्न नपाउने भएका हुन् । यसअघि यो सीमा १० लाख रुपैयाँ रहेको थियो । यो व्यवस्था लागू भएसँगै अबदेखि कुनै पनि व्यक्तिले एक पटकमा बैंकमा गएर ५ लाख रुपैयाँ भन्दा बढी नगद निकाल्न पाउने छैनन् । त्यस्तै कुनै सामानको खरिदबिक्री गर्दा पनि सो सीमाभन्दा धेरै नगदमा लेनदेन गर्न पाइँदैन । नेपाल अहिले सम्पत्ति शुद्धीकरणको ग्रेलिस्टमा छ । धेरै नगद कारोबार हुँदा अवैध कारोबारको सम्भावना रहने भन्दै यो निर्णय गरिएको हो । यो निर्णयले डिजिटल तथा अनलाइन कारोबारलाई सहयोग पुग्ने विश्वास लिइएको छ । सरकारले निर्णय गरेको यो नियम बैंक तथा वित्तीय संस्था मात्रै नभएर सबै प्रकारका वित्तीय संस्था वा अन्य व्यावसायिक संस्थाको हकमा समेत लागु हुनेछ । तर केही विशेष अवस्थामा भने यो नियम लागु हुँदैन । खासगरी बैंक वा वित्तीय संस्थामा निक्षेप नगद जम्मा गर्न जाँदा वा सावाँ ब्याज तिर्दा जतिसुकै रकम पनि राख्न सकिन्छ । नगदमा निकाल्न भने ५ लाखभन्दा धेरै पाइँदैन । बैंकहरू बिचको अन्तर बैङ्क कारोबारमा पनि जतिसुकै रकम कारोबार गर्न सकिन्छ । रेमिट्यान्स कम्पनी सहकारी संस्थाहरूले कारोबार प्रयोजनका लागि समेत जुनसुकै सीमामा रकम निकाल्न पाउनेछन् । उनीहरूका लागि कारोबार सीमामा समेत सहजीकरण गर्ने व्यवस्था गरिएको छ । पूर्वाधार आयोजना, जलविद्युत्, सडक र सञ्चार क्षेत्रका कर्मचारी तथा श्रमिकको पारिश्रमिक एवं ज्याला भुक्तानी गर्नको लागि पनि सीमाभन्दा धेरै कारोबार गर्न पाइनेछ । यी बाहेक सरकारी राजस्व, बिगो, धरौटी, पेन्सन वितरण, राहत तथा अनुदान सहायता वितरण, आयोजनामा आवश्यक मालसामानको आपूर्ति गर्न, सरकारलाई बुझाउनुपर्ने राजश्व भुक्तानी गर्न, बिगो धरौटी जमानत रकम जम्मा गर्न, पेन्सन क्याम्प मार्फत पेन्सन वितरण गर्ने लगायतका कार्यलाई यो सीमा लागू हुँदैन । यो व्यवस्था लागू भए पनि एउटै व्यक्तिले ५ लाखभन्दा धेरै नगद कारोबार गर्न पाउँछन् । तर, यसको स्रोत र प्रयोजन भने खुलाउनु पर्नेछ ।

