मुस्ताङ:   हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।   जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्...

अछाम:      गोठको छानामा आगलागीमा परेर अछामको मेल्लेखमा २ बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका–६ षोडशाका दीपक बोहराकी अन्दाजी आठ वर्षीया छोरी भावना बोहरा र रमेश बोहराकी अन्दाजी ६ वर्षीय छोरा गोपाल बोहराको घटनास्थलमै मृत्यु भएको हो । घरबाट करिब ५० मिटर नजिक रहेको गोठमा स्याउला र पराल राखेको स्थानमा बालबालिकाले लाइटर लिएर गएपछि गोठमा आगलागी भएर मृत्यु भएको वडा अध्यक्ष तिलक कडायतले जानकारी दिनुभयो ।  ‘‘भावना र गोपालले लाइटर लिएर गएका रहेछन्, त्यसैबाट आगो लाग्यो र उनीहरु त्यसैमा परेका रहेछन् तर बचाउन सकिएन ।’’ घटनास्थलमा रहनुभएका वडा अध्यक्ष कडायतले भन्नुभयो । घर नजिकैको गोठमा आगलागी भएपछि थाहा भए पनि दुई वटै बालबालिकालाई बचाउन नसकिएको बताइएको छ । घटनाका बारेमा थप जानकारीका लागि प्रहरी टोली पुगेको वडाध्यक्ष कडायतको भनाइ छ ।

काठमाडौंः  नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मुख्य सुरुङ आज ‘ब्रेक थ्रू’ हुने भएको छ । सुरुङ ‘ब्रेक थ्रू’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिउँसो १ बजे सहभागी हुनुहुने जनाइएको छ । चन्द्रागिरी नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ब्रेक थ्रू भइसकेको छ । आयोजना पूर्ण निर्माण सम्पन्न भएर सवारी साधन चल्ने अवस्थासम्म पुग्नका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । आयोजना निर्माणको सुरुआती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो । आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल ९ब्रिज० र एउटा फ्लाइओभर रहेका छन् ।   बलम्बु क्षेत्रमा फ्लाइओभर निर्माणाधीन अवस्थामा रहेको छ । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

काठमाडौं:      अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको छ । चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।  भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहनुभएका अर्का उपसचिव भुपालराज शाक्य हुनुहुन्छ । तीन दिने अमेरिका बससाइँका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त (डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्ने मन्त्री पुनको सचिवालयले जनाएको छ । यस्तै मन्त्री पुनले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआइडी) का उच्च पदाधिकारी, अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम (डिएफपी) का पदाधिकारी, अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष अतुल कास्यपसहित निजी क्षेत्रका प्रतिनिधि र त्यहाँस्थित गैरआवासीय नेपालीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने तालिका छ । मन्त्री पुनले जलवायु परिवर्तको प्रभावले खतरामा रहेका मुलुकको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुँनेछ । भी–२० जलवायु परिवर्तनको जोखिम न्यूनीकरण तथा विश्वव्यापी अर्थतन्त्रमा उत्पन्न सङ्क्रमणकालीन अवस्थामा वित्तीय सहयोग अभिवृद्धिका लागि विश्व समुदायमा आवाज उठाउने फोरम हो । मन्त्री पुन हाइलेभल क्लाइमेट नेक्सससम्बन्धी साइडलाइन बैठक तथा दक्षिण एसियामा स्वच्छ ऊर्जा सङ्क्रमणसम्बन्धी सत्रका साथै विभिन्न द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुनुहुनेछ । ती बैठकमा मन्त्री पुनले आगामी जुनमा काठमाडौँमा हुने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए)–२१ बैठकको तयारी, विश्व बैंकले आगामी पाँच वर्षका लागि नेपालमा गर्ने लगानी साझेदारीको प्राथमिकता निर्धारण, सङ्खुवासभामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनासहित पाइपलाइनमा रहेका अन्य आयोजनाको वित्तीय व्यवस्थापनलगायत विषयमा छलफल गर्नुहुनेछ । मन्त्री पुनले केही दिनअघि ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा विश्व बैंक र एसियाली विकास बैंकका काठमाडौँस्थित आवासीय प्रमुखहरुसँग छलफल गर्नुभएको थियो । उक्त बैठकमा माथिल्लो अरुण आयोजनाको वित्तीय व्यवस्थापन सक्दो छिटो गर्ने सहमति भएको थियो । ‘गेम चेन्जर’ आयोजनाका रुपमा रहेको माथिल्लो अरुणको वित्तीय व्यवस्थापनको नेतृत्व विश्व बैंकले गर्दैछ । विश्व बैंक र आइएमएफको बैठकमा मन्त्री पुनले यही वैशाख १६ र १७ गते काठमाडौँमा हुने तेस्रो लगानी सम्मेलन तथा नेपालमा लगानी अनुकूल वातावरण निर्माणमा सरकारका तर्फबाट भएका सुधार प्रयासबारे विश्व बैंकसहित विकास साझेदार र निजी क्षेत्रलाई अवगत गराउनुहुनेछ ।  ती बैठक तथा भेटमा भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जाजरकोट, रुकुम र बझाङमा भूकम्पका कारण भत्किएका निजी आवास तथा शैक्षिक संस्थाका भवन पुनःनिर्माण एवं दिगो विकास लक्ष्य हासिल गर्ने नेपालको प्रयासमा सहायता बढाउन विकास साझेदारलाई आग्रह गरिने मन्त्री पुनले बताउनुभयो ।  उहाँका अनुसार अन्तर्राष्ट्रिय विकास साझेदारबाट नीतिगत सुधारका लागि प्राप्त हुँदै आएको सहायता कार्यान्वयन प्रभावकारी बनाउने तथा सहायताका थप क्षेत्र र सम्भावना पहिल्याउने विषयमा समेत छलफल हुनेछ ।

काभ्रेपलाञ्चोक:     काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त)को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी तामाङको बगैँचामा रहेको बहुमूल्य बोधिचित्तको एउटा रुख काटेको थियो । फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताउनुभयो । उहाँका अनुसार बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको थियो । मैनाली र दुर्गालाललाई काभ्रेपलाञ्चोकको बनेपाबाट आइतबार पक्राउ गरेको हो भने प्रभातलाई शनिबार काठमाडौँको वनस्थलीबाट र मानबहादुरलाई रुख काटेकै दिन पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान थालिएको छ । अन्य दुई जनाको म्याद थप गरी थप अनुसन्धान थालिने छ । प्रहरीका अनुसार रुखधनी तामाङको रुख काटेपछि घरका ढोका र आँगनमा चार सकेट बम राखिएको थियो । उक्त बमलाई धुलिखेलस्थित नेपाली सेनाको कालीजङ्ग गणले निस्क्रिय पारेको थियो । घटनामा संलग्न भएका अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच पीडित ठाकुरानीले पक्राउ परेका चारसहित आठ जनाविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्नुभएको छ । उक्त रुखमा फलेको फल चार वर्षअघि पनि लुटिएको थियो । रुख काट्ने समूहले नै उक्त समयमा फल लुटेको हुनसक्ने प्रहरीको अनुमान छ । बोधिचित्त मालाको तामाङ समुदाय र विशेष गरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक महत्व छ ।

काठमाडौंः  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया परिमार्जन गर्न आवश्यक रहेको बताउनुभएको छ ।   आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै उहाँले रोड टेष्ट (सडकमा प्रयोगात्मक अभ्यास) नगरी ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) दिने परिपाटी नै गलत भएको दाबी गर्नुभएको छ । हाल नेपालमा लिखित परीक्षा र ट्रायल सेन्टरभित्र गरिने प्रयोगात्मक परीक्षणबाट उतीर्ण हुनेलाई ड्राइभिङ लाइसेन्स दिने गरिएको छ । ‘म त भन्छु रोड टेष्ट नगरीकन ड्राइभिङ लाइसेन्स दिने परिपाटी छ । त्यो परिपाटी ठीक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ’, उहाँले बताउनुभयो ।   उहाँले सवारी साधन राम्रोसँग चलाउन आएपछि रोड टेस्ट गरेर मात्र लाइसेन्स दिनुपर्ने कुरामा आफू अडिग रहेको बताउनुभयो । गृहमन्त्री लामिछानेले सीप बिना नै रोड टेस्ट नगरी लाइसेन्स दिने प्रवृत्तिका कारण धेरै दुर्घटना हुने गरेको दाबी गर्नुभयो।   उहाँले सडक दुर्घटनामा बाइक चालकको सङ्ख्या बढी रहेको भन्दै त्यसलाई सुधार्न लाइसेन्स दिने प्रक्रियामै सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले ड्राइभरलाई सवारी लाइसेन्स दिने निकाय एउटा तर त्यो लाइसेन्स प्राप्त गरेको मानिसले सही ढङ्गले सवारी चलाएको छ कि छैन ? भन्नेकुरा नियमन गर्ने निकाय अर्को भएकाले पनि समस्या भएको बताउनुभयो ।   उहाँले दुर्घटना न्यूनीकरण राज्यको दायित्व भएको भन्दै  नागरिकको ज्यान बचाउनु सबैभन्दा ठुलो दायित्व भएको बताउनुभयो । उहाँले सुरक्षित सवारीसाधनको सञ्चालन राज्यको प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो।

 काठमाडौंः  इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न र अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।   आइतबार बिहानैदेखि इरानले इजरायलको राजधानी तेल अविवलगायत क्षेत्रमा ड्रोन आक्रमण गरेपछि नेपाली दूतावासले सार्वजनिक सूचना जारी गरी आफ्नो सुरक्षाको ध्यान दिन आग्रह गरेको हो ।   ‘इजरायलमाथि इरानी हमला सुरू भएको सन्दर्भमा हालै इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएका छन्’, दूतावासद्वारा जारी सूचनामा भनिएको छ, ‘आगामी सोमबार राति ११ बजेसम्म लागू हुने गरी शैक्षिक कृयाकलाप बन्द गर्ने र ठूलो स्तरको सभा/भेला नगर्ने भनी निर्देशन जारी भएको हुँदा आवश्यक सुरक्षाका लागि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई स्थानीय सुरक्षा प्रोटोकलहरूको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचना बारेमा जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत हार्दिक अनुरोध गर्दछौं ।’   सूचनामा कुनै समस्या परेको खण्डमा दूतावासका द्वितीय सचिव कुमारबहादुर श्रेष्ठलाई ०५२८२८९३०० र सहचारी सञ्जयकुमार साहलाई ०५४५५८२०७७ मा सम्पर्क गर्न पनि दूतावासले आग्रह गरेको छ । यसअघि प्यालेस्टाइनको विद्रोही संगठन हमासले इजरायलमा आक्रमण गर्दा १० जना नेपालीको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन् ।

मुगु:    मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ । उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी लिएको प्रहरीले जनाएको छ । बैंकमा एक जना मात्र सुरक्षाकर्मी भएको र राति ८ बजेसम्म ड्युटी भएकोले त्यही मौकामा अज्ञात व्यक्ति बैंकको मूल ढोका फोरेर भित्र प्रवेश गरेको देखिएको छ ।   प्रहरीका अनुसार ती व्यक्ति बजार घुमिरहने मानसिक अवस्था ठिक नभएको एक युवा जस्तो देखिएकाले खोजी भइरहेको छ । बैंकको ढोका फोर्ने र जुत्ता खुकुरी चोर्ने बाहेक अन्य कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।

धादिङ:     धादिङको खाल्टेमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते छन् । घाइतेको अवस्था गम्भीर रहेको स्थानीयले जानकारी दिएका छन् । नीलकण्ठ नगरपालिका ५ खाल्टेको पतेनीबाट पतेनीबेसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पाल्पाली टोलमा दुर्घटना भएको हो । घाइते ८ जनालाई उद्दार गरी जिल्ला अस्पताल धादिङतर्फ ल्याइँदै गरेको स्थानीयले बताएका छन् ।   

काठमाडौंः   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गर्नुभएको छ ।   ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ नयाँ वर्ष २०८१ को सुरूआतसँगै शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुभारम्भ भएको सन्दर्भमा प्रधानमन्त्रीले विद्यालय जाने उमेरका आफ्ना सन्तानलाई पाठशाला पठाउन अभिभावकरूलाई आह्वान गर्नुभएको हो ।   शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न नेपालको संविधान र निःशुल्क शिक्षासम्बन्धी ऐनबमोजिम २०८५ वैशाखभित्र आधारभूत तहको शिक्षा अनिवार्य सुनिश्चित गराउनुपर्ने कार्यभार सरकारसामु रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।   “गुणस्तरीय विद्यालय शिक्षामा समान पहुँचका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ । सरकारले बर्सेनि विद्यालय शिक्षामा ठूलो लगानी गरेको छ । शिक्षाको मौलिक हकलाई कार्यान्वयनका निम्ति विकास साझेदार, नागरिक समाज एवं निजी क्षेत्रबाट गरिएको योगदान उल्लेख्य छ”, प्रधानमन्त्रीको आह्वानमा भनिएको छ, “हाम्रासामु एकातर्फ विद्यालय जाने उमेरका सबै बालबालिकालाई विद्यालयमा भर्ना सुनिश्चितता गर्नुपर्ने र अर्कातर्फ बीचमा नै विद्यालय छाड्ने अवस्था अन्त्य गर्नुपर्ने जिम्मेवारी छ । यसका लागि समुदाय तहबाट नै ठोस पहल गर्दै सुधार ल्याउन आवश्यक छ ।”   विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभएको छ ।   सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवाखाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले विद्यालय शिक्षामा सङ्घ, प्रदेश र स्थानीय सरकारले पनि आफ्नो सामथ्र्यले भ्याएसम्म लगानी गर्दै आएका बताउनुभएको छ ।   शैक्षिक सत्र २०८१ मा पनि देशभरका सबै विद्यालयमा आवश्यक पाठ्यपुस्तक पुगिसकेका बताउँदै प्रधानमन्त्री दाहालले पाठ्यपुस्तकको वितरण सुनिश्चित गर्न स्थानीय सरकार, विद्यालय तथा आमनागरिकमा हार्दिक अनुरोध गर्नुभएको छ ।   यो वर्षको प्रारम्भमा नै सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन हुने पूर्ण विश्वासका साथ सबै नेपालीमा प्रधानमन्त्रीले नयाँवर्षको शुभकामना पनि व्यक्त गर्नुभएको छ ।