फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

कास्की:   मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् । पाँचथरबाट सुरु हुने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग पोखराबाट–बाग्लुङ हुँदै पश्चिमी सिमाना बैतडीको झुलाघाट जोड्छ । कास्की खण्डमा पर्ने पोखरा महानगरपालिकाको हरिचोकदेखि याम्दीसम्मको निर्माणाधीन राजमार्गसमेत अहिले स्तरोन्नतिको अन्तिम चरणमा पुगेको छ । यस खण्डको काम अहिले लगभग सकिन लागेको छ । यस खण्डको ९० प्रतिशत काम पूरा भएको मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्वतका इञ्जीनीयर किरण सुवेदीले जानकारी दिए । उनका  अनुसार यस खण्डको निर्माण सकिएपछि यात्रु सहज रुपमा पोखरादेखि बागलुङ हुँदै पश्चिम क्षेत्र जान र फर्कन सक्नेछन् । ‘हरिचोक–याम्दी खण्डको मुख्य काम सकिएर पब्लिकलाई सेवा दिन तयार भएका छौँ । कालोपत्रको काम सकिएर फिनिसिङको चरणमा छौँँ ।’ इञ्जीनीयर सुवेदीले भने । उनका अनुसार सडकमा रेलिङ, व्यारियर र रोड सेफ्टीका केही काम मात्र अब बाँकी रहेको छ ।  इञ्जीनीयर सुवेदीका अनुसार यस खण्डमा अब जम्माजम्मी १० प्रतिशत काम बाँकी छ । २०७९ साल साउन १४ गते यस खण्डको ठेक्का सम्झौता भएको थियो । मोतिदान कन्स्ट्रक्सन सेवा प्रालिसँग दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौता थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती तथा निर्माण क्षेत्रमा  बिजुली र खानेपानीको पाइप स्थानान्तरण लगायतका प्राविधिक समस्याले काममा अवरोध आएको थियो । तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक २०८१ साल साउन १४ गते र दोस्रो पटक २०८१ साल चैत ५ गतेसम्म म्याद थप गरिएको थियो । यस खण्डको तेस्रो पटक थपिएको म्याद २०८३ साल वैशाख मसान्तसम्म रहेको इञ्जीनीयर सुवेदीले बताए । ‘तेस्रो पटक थपिएको म्यादभन्दा अगावै काम सकिने निश्चित छ । निर्माणको क्रममा केही प्राविधिक तथा निर्माण कम्पनीबाट ढिलासुस्तीसमेत भयो । कार्यालयबाट पटक पटक ताकेता भयो, स्थानीयवासी, जनप्रतिनिधि सबैको सहयोगबाट अब सम्पन्न हुने अन्तिम अवस्थामा पुगेको छ,’ सुवेदीले भने । सडक निर्माणसँगै स्थानीयवासी भने उत्साहित भएका छन् । लामो समय धुलो र हिलोको सास्ती बेहोर्न  परेका उनीहरु फराकिलो र सुन्दर सडक बनेसँगै खुसी भएका हुन । पोखरा सिमपानीका माधव पोखरेलले स्थानीयवासीले भोग्नुपरेको कष्ट हटेको भन्दै खुसी व्यक्त गरे । मध्यपहाडी लोकमार्गको हरिचोक–याम्दी खण्ड निर्माण सम्पन्न भएसँगै देशको पश्चिम क्षेत्रमा मात्र नभइ साविकका धौलागिरिका चार जिल्ला तथा कास्कीका उत्तर पश्चिम भेगका नागरिकसमेत सहज सडक पूर्वाधारबाट लाभान्वित भएका छन् ।

काठमाडौं:  उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई रु दुई लाख पाँच हजार बराबरको जरिवाना गरेको छ।  विभागले अनुगमनको क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरेको हो। विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक बजार अनुमगन गरेको र कैफियत देखिएकालाई जरिवाना गरेको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।  त्यसमा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य नापतौल, ढाँचा वा बिक्री वा प्रदान गर्ने कार्यलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप गरेको मानिने उल्लेख छ।  ऐनको दफा ३९ मा ‘बजार अनुमगन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले देहाय बमोजिम जरिवाना गर्न सक्नेछ’ भन्ने व्यवस्था छ। ऐनअनुसार अनुचित व्यापारिक क्रियाकलाप गरेको पाइएको खण्डमा निरीक्षण अधिकृतले अधिकतम दुई लाखदेखि तीन लाखसम्म जरिवाना गर्न सक्नेछन्।   यस्तै विभागले तिरूपति फुड प्रोसोसिङ इण्डस्ट्रिज सिदार्थनगर रूपन्देहीलाई पनि रु दुई लाख पाँच हजार जरिवाना गरेको छ।    विभागले पञ्चकन्या स्टीललाई सामान्य निर्देशन दिएको छ। विभागले आइतबार आकवा मिनरल्स, त्रिकोण वेभरेज, कुण्डपानी प्रशोधन उद्योग, अन्न्पूर्ण इन्डस्ट्रिज, एनबि वेभरेज, शुभकामना मिनिरल वाटर एण्ड वेभरेज, चण्डेस्वरी मिनरल वाटर एयड वेभरेल, झरना प्योर ड्रिङकिङ वाटर प्रालि र कीर्तिपुर सहकारी खानेपानी उद्योगमा स्थलगत अनुमगन गरेको थियो।

झापा:  जेनजी आन्दोलनका क्रममा चितवनबाट फरार रहेका एक जना बन्दी झापामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–८ का २९ वर्षीय आशिष सुब्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । सुब्बा सालकको अखेटोपहार मुद्दामा चितवन कारागारमा बन्दी रहेका थिए । प्रहरीले खोजतलासका क्रममा उनलाई घरबाटै आइतबार पक्राउ गरेको जनाएको छ । चितवन कारागारबाट भागेपछि सुब्बा आफ्नै घरमा आएर लुकिछिपी बस्दै आएका थिए । पक्राउपछि इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएका सुब्बालाई चितवन कारागारमा पठाइने भएको छ ।

तनहुँ:  देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको पिरलो बनेको छ । यहाँबाट करोडौँ मूल्यका सुन्तला विक्री हुने गरेपनि ढुवानीको समस्या भने सधैँ झेल्नुपरेको हो । यहाँ उत्पादित सुन्तला तनहुँ, पोखरा, चितवन, काठमाडौसम्म पुग्ने गरेको छ । यस वडाको छिपछिपे, बाटक, छापस्वाँरा, दगरा, लुङ्ग्रिङबाट करोडौ मूल्य बराबरको सुन्तला उत्पादन हुने गरेको कृषक रणबहादुर मगरले जानकारी दिए । सुन्तला बजारसम्म पु¥याउन भने सधैँ समस्या झेल्नुपरेको उनको गुनासो छ । उनले भने, ‘यहाँका कृषकको मुख्य आम्दानी सुन्तला खेती नै हो । कालीगण्डकी, सेतीमादी र त्रिशुली नदीले घेरिएको उक्त वडामा जान कुनै पनि नदीमा पक्की पुल बनेको छैन । पक्की पुल नहुँदा उक्त उत्पादित करोडौँ मूल्यको सुन्तला बजारसम्म लैजान सकस हुने गरेको छ ।’ सुन्तलाको बोटमा रोग लागेर यसवर्ष उत्पादनमा कमी भएपनि आम्दानी भने गत वर्ष भन्दा ३० प्रतिशत बढि भएको उनले बताए । गत वर्षहरुमा मङ्सिरको दोस्रो साता सुन्तला बजार पठाउने गरिएपनि यस वर्ष भने पहिलो सातामै सुन्तला बजार पठाइएको कृषक प्रेमबहादुर मगरले बताउनुभयो । उनका अनुसार प्रति क्रेट एक हजार चार सय रुपैयाँमा सुन्तला विक्री भएको छ । कृषक भीमबहादुर रानाले सिधा सडक सञ्जाल विस्तार नभएकाले घुमाउरो बाटो प्रयोग गर्दा किसानले दोब्बर भाडा तिर्नुपरेको गुनासो गरे । उनले भने, ‘केही कृषकले मुग्लिन–नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउने गर्छन् । छापस्वाँरा, दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा लगेर त्यहाँबाट दमौली हुँदै काठमाडौं लैजाने गरेका छन् । सडक पहुँच अभावका कारण यहाँका किसानले बिचौलियाका माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौसम्म बजार विस्तार गर्न बाध्य भएका छन् । यस वडाको लुङ्ग्रिङमा एकै घरबाट २० लाख रुपैयाँसम्मको सुन्तला विक्री हुने गरेको बताइन्छ ।

पोखरा:  पोखरामा मंगलबारदेखि क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौं वार्षिकोत्सवको अवसरमा मंसिर ९ देखि १३ गतेसम्म प्रतियोगिता सञ्चालन हुन लागेको हो । उक्त प्रतियोगिता पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको भलिबल कोर्ट (छन्त्याल समाज)मा सञ्चालन हुनेछ ।  प्रतियोगितामा पुरुषतर्फ ७ र महिलातर्फ ८ समूहको सहभागिता रहेको प्रतियोगिता संयोजक मनोज खड्काले बताए ।  पुरुषतर्फको विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख शिल्ड, मेडल र प्रमाण प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने २ टिमलाई नगद २५÷२५ हजार सान्त्वना पुरस्कार प्रदान गर्ने संयोजक खड्काले बताए ।  यस्तै महिलातर्फको विजेताले ६० र उपविजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा  उत्कृष्ट खेलाडी,  स्पाइकर, मिडल ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ ।  २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल रहँदै आएको छ । 

काठमाडौं:   क्रिकेट एसोसियसन अफ नेपालद्वारा सञ्चालित एनपिएलको दोस्रो संस्करणको क्रिकेट प्रतियोगितमा अनलाइनमार्फत सट्टाबाजी कार्यमा सङ्लग्न आठ जना भारतीय नागरिक पक्राउ परेका छन् ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार मङ्सिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको एनपिएलको क्रिकेट प्रतियोगितमा सहभागी भइ अनलाइनमार्फत बेटाकुलर डट लाइभ नामक बेटिङ साइटबाट खेल हारजित हुने गरी रकम लगानी गरी सट्टाबाजी गर्ने आठ जना काठमाडौँ महानगरपालिका वडा नम्बर १४ बल्खुबाट नियन्त्रणमा लिइएको हो । स्थायी ठेगाना भारतको आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ भइ हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुशी बस्दै आएका वर्ष ३१ को राजा यदुला, वर्ष ३५ को महेश बाबु, वर्ष ३० को पण्डित श्रीनिवासुलु, वर्ष २० को सेख सोयब, वर्ष ३० को नभिन मड्डेला, वर्ष ३२ को महमद रफी सेख, वर्ष १९ को साई कुमार तम्मिसेट्टी र वर्ष २८ को सेख चन्द बसल पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले निजको साथमा मोबाइल – १५ थान फेला पारेको छ ।  उनीहरुलाई मुलुकी अपराधसहिंता २०७४ को दफा १२५ को उपदफा ४ बमोजिम सट्टाबाजी गर्न गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौँ पठाइएको छ । 

पोखरा:   अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले कास्कीस्थित राष्ट्रिय माध्यमिक विद्यालयको भवन तथा जग्गा गैरकानूनी रूपमा निजी विद्यालयलाई भाडामा दिएको मुद्दामा संलग्न आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले आज विशेष अदालत, काठमाडौँमा दायर गरेको आरोपपत्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहित पदेन सदस्य, अन्य सदस्य तथा निजी विद्यालयका सञ्चालक–प्रिन्सिपल मिलेर सरकारीरसामुदायिक सम्पत्ति निजी प्रयोगमा ल्याई भ्रष्टाचार गरेको ठहर गरिएको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार पोखरा–१, पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयको करिब ४ रोपनी क्षेत्रफलमा निर्मित सार्वजनिक संरचनालाई १२ वर्षका लागि निजी संस्थागत विद्यालय—अञ्जुली आवासीय माध्यमिक विद्यालयलाई भाडामा दिने निर्णय योजनाबद्ध रूपमा गरिएको अनुसन्धानबाट पुष्टि भएको छ। यसका लागि २०८० साउन २३ गते विद्यालय व्यवस्थापन समितिमा बरुण विक्रम राणाको संयोजकत्वमा कार्यदल गठन गरी अनियमित प्रतिवेदन पेश गराइएको र सोही प्रतिवेदनलाई आधार मानेर २०८० फागुन २६ गते समिति पदाधिकारीहरूले सदस्यसचिव ९प्रधानाध्यापक० अनुपस्थित राखेर निर्णय गरेको आयोगले जनाएको छ। सो निर्णय अनुसार २०८० फागुन २९ मा विद्यालयको नाममा रहेको सार्वजनिक पूर्वाधार निजी संस्थालाई भाडामा दिने सम्झौतामा सहमति भएको थियो। आयोगका अनुसार सोही सम्झौताका आधारमा विद्यालयको नाम र छाप प्रयोग गरी रु. १५ लाख २९ हजार ४०८ संकलन भएको र यो रकम सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेर उठाइएको प्रमाणित भएको छ। पोखरा महानगरपालिका र वडा कार्यालयले यसलाई कानूनविपरीत रहेको भन्दै करार रद्द गर्न निर्देशन दिएको प्रतिवेदन तथा पत्राचारले पनि अनियमितता पुष्टि गर्ने आधार बनेको आयोगले उल्लेख गरेको छ।

पोखरा:  कास्कीको अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार कास्कीको अन्नपूर्ण-२ आसपास केन्द्रविन्दु भएर आज साँझ ५ः१९ मिनेट जाँदा चार ‘रेक्टरस्केल’को भूकम्प गएको हो । यसअघि, गत कात्तिक २१ गते अछामको बाबला आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

पोखरा:  २१ औं संस्करणको लेखनाथ महोत्सव पुस पहिलो सातादेखि हुने भएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस ३ देखि १४ गतेसम्म २१ औं संस्करणको लेखनाथ महोत्सव हुन लागेको हो ।  लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघ आयोजना र उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी  प्रदेश र ने.उ.वा. महासंघ गण्डकी प्रदेशको सहआयोजनामा हुने महोत्सवको पहिलो चरणको तयारीका बारेमा जानकारी दिने उद्देश्यले आईतबार आयोजित पत्रकार सम्मेलनमा संघले पुसको ३ गते देखि १४ गते सम्म पोखरा २७ को तालचोकमा २१ औँ संस्करणको लेखनाथ महोत्सव गर्न लागेको जानकारी गराइएको हो । कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक जानुका पराजुली अधिकारीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ साल देखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ साल देखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताईन । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादीत वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्री एवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं विक्रि गरिने वताए । पत्रकार सम्मेलनमा महोत्सवका प्रचार प्रसार संयोजक ध्रुवबावु भटृराईले विषम आर्थिक परिवेशमा मेला महोत्सव आयोजना गरिनु आफैंमा चुनौतिपुर्ण रहेको वताउँदै व्यवसायी तथा आम सर्वसाधारणहरुको खस्किएको मनोबल उच्च बनाउन र राष्ट्रको अर्थतन्त्रलाई चलायमान गराई बजारलाई गतिशिल बनाउँदै आपूर्ति व्यवस्थापनमा सहजिकरण गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको वताए ।   यसरी आयोजना गरिने मेला महोत्सवले स्थानिय र राष्ट्रिय स्तरको अर्थतन्त्रको विकासमा टेवा पुग्ने साथै क्रेता, विक्रेता र उपभोक्ताको आवश्यकता र परिपूर्तिको संगम स्थलका रुपमा महोत्सव प्रयोग हुने भटृराईको दावी छ ।  देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, पर्यटन प्रवद्र्धन, जातीय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउन महोत्सव सफल हुने उनले बताए । महोत्सवका विशेष आर्कषणहरुमा औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइल लगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी, कफि, ताजा तरकारी, जैविकविविधता, दुग्ध जन्य उत्पादन लगायतको विक्रि एवं प्रदर्शनी रहनेछन । थप आकर्षणको रुपमा यस वर्ष महोत्सवमा गतवर्ष जस्तै एशियाका ज्योतिको रुपमा चिनिने शान्तिका दुतः गौतम बुद्धको प्रतिमा सहितको पर्यटन प्रवद्र्धन कार्यक्रम विजनेश टक शो र मोटीभेसनल स्पिच कार्यक्रम, जातजातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकीर्याली प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत रत्यौली गित कार्यक्रम, शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, महोत्सव प्रर्वद्धन सम्बन्धी टिकटक प्रतियोगिता, महोत्सव प्रर्वद्धन कन्टेन्ट क्रिएशन प्रतियोगिता, सुगम संगित तर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्याङ्य) कार्यक्रम, बाल उद्यान, खाना महोत्सव, उत्कृष्ट स्टल पुरस्कार रहेका छन् । महोत्सव अवलोकन गर्ने सर्वसाधारणहरुको लागी प्रवेश टिकटको मुल्य रु १ सय, विद्यार्थीहरुको लागी रु ५० र बेलुका सुगम संगित÷कन्सर्ट का लागि रु २ सय कायम गरिएको छ । महोत्सवको बचत रकमवाट नवउद्यमी उत्पादनमा पहल, उद्यमशिलता विकास, औधोगिक क्षेत्र निर्माणको लागि पहल, पर्यटन प्रर्वद्धनमा विकास साथै सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सीना पँगेनीले लेखनाथ क्षेत्रलाई विकासको दृष्टिकोणले पछि पारिएको वताउँदै यस क्षेत्रको विकास र प्रर्वद्धनको लागी सम्बन्धीत निकाय र संघ संस्थाले ध्यान दिन नसकेको बताएकी थिईन । यस्तै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले अहिलेको आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु गर्न सके राम्रो हुने सुझाव व्यक्त गरेका थिए । कार्यक्रममा महोत्सवको मुख्य प्रायोजक रहेको गृहलक्ष्मी ग्याँस कम्पनी प्रालीका महाप्रबन्धक भिमराज लामिछानेले लेखनाथ महोत्सव सग सहकाय गर्ने मौका प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरुका विषयमा वताउनुभएको थियो । संघका अध्यक्ष जानुका पराजुली अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव भरतराज ओझाले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बाँस्तोलाले गरेका थिए । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको लेखनाथ महोत्सव २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि १० सदस्यीय निर्देशक समिति, ४८ सदस्यीय महोत्सव सल्लाहकार समिति र ४३ सदस्यीय उपसमिति संयोजक समिति, ६६ सदस्यीय कार्यसम्पादन समिति, ३०० सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । करिब ३३५ स्टल रहने यस महोत्सवमा २ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ९ करोड बरावरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सवमा करिब ९५ लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ८५ लाख खर्च भई रु १० लाख बचत हुने अनुमान गरिएको छ ।