काठमाडौं:   विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भ...

पोखरा: इम्ब्रोइडरी एण्ड गार्मेन्ट एसोसिएसन (एगा) पोखराको २२औँ साधारणसभा एक समारोहका बीच आज सम्पन्न भएको छ ।      साधारणसभाको नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य ऋषि भण्डारीले उद्घाटन गर्नुभयो ।      कार्यकममा भण्डारीले राज्यका निकायले राम्रोसँग ध्यान नदिँदा पर्यटन क्षेत्रमा निराशा छाएको बताउनुभयो ।  मुलुकमा बनेका संरचनाले १५ लाख भन्दा बढी पर्यटन धान्ने सक्ने अवस्था नरहेको भन्दै उहाँले वर्षमा १०÷१२ लाख पर्यटकको मात्रै लक्ष्य राखेर मुलुकको पर्यटन अघि बढ्न नसक्ने जिकिर गर्नुभयो ।      बैंक तथा वित्तीय संस्थाको अधिकांश लगानी पर्यटन क्षेत्रमै भएकोले अझै पनि ध्यान नदिने हो भने अबको केही वर्षमा पर्यटन क्षेत्र डुब्ने र यसको प्रत्यक्ष असर राज्यलाई नै पर्ने उहाँको भनाइ छ ।    पोखराको पर्यटन विकासका लागि एगासँग सहकार्य गरेर अघि बढ्न आफू तयार रहेको उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।       नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले आ.व.२०८१/०८२ मा एगासँग सहकार्य गरेर विभिन्न कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।      पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले कुनै पनि संस्था आँर्फैमा सानो वा ठूलो नहुने बताउँदै सो संस्थाले गर्ने कामका आधारमा त्यसको स्थान निर्धारण हुने बताउनुभयो । परिषद्मा आवद्ध संस्थाबीच समन्वय गरेर पर्यटन क्षेत्रमा व्यवस्थापन सुधार्ने र व्यवसायी र राज्यबीच पुलको भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।      एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले पर्यटन प्रवद्र्धनमा एगाले महत्वपूर्ण भूमिका खेलेको बताउँदै सबैको साथ र सहयोगबाटै संस्थालाई माथि उठाउन प्रयास गरिएको बताउनुुभयो । संस्था स्थापना दुई दशकदेखि भए पनि नेपालको पर्यटकीय प्रचारप्रसारमा एगाको भूमिका तीन दशकदेखि नै भएको उहाँले स्पष्ट पार्नुुभयो ।      सदस्यहरूको क्षमता अभिृबद्धि समेतको उद्देश्य राख्दै एगाका सदस्यहरूले यही साउन १० गतेदेखि इन्डोनेशिया र भियतनाम लगायतका स्थानको भ्रमणसँगै त्यहाँका गार्मेन्ट उद्योगहरूको भ्रमण गर्ने भएको उहाँले जानकारी दिनुुभयो ।      एगाका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद भण्डारीले पोखरालाई हरेक तवरले पर्यटनसँग जोड्नुपर्ने भन्दै यसतर्फ राज्यका निकायले विशेष ध्यान दिन आवश्यक रहेको बताउनुुभयो ।      पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष एवम् पोखरा भ्रमण वर्ष कार्यसम्पादन समिति संयोजक गोपीबहादुर भट्टराईले पर्यटन प्रवद्र्धनका लागि नारा मात्र नभै दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो ।       एगाका सल्लाहकार एवम् पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष चिरञ्जीवि पोखरेलले सबै एकै ठाउँमा बसेर पर्यटन क्षेत्रका समस्या बारे छलफल गर्दै समाधानमा जोड दिनुपर्ने बताए । कालीगण्डकी करिडोरले पोखरामा पर्यटक आगमन शून्य हुन सक्नेतर्फ सचेत गराउँदै उहाँले यसतर्फ बेलैमा ध्यान दिन आवश्यक रहेको धारणा राख्नुुभयो ।      एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालको अध्यक्षता एवम् सचिव माया सुवेदीले सञ्चालन गर्नुुभएको कार्याक्रममा स्वागत उपाध्यक्ष गीता ढकाल पौडेलले गर्नुभएको थियो । सचिव सुवेदीले संस्थाको वार्षिक प्रतिवेदन पेश गर्नुुभएको थियो ।       कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, पर्यटन विज्ञ दीपेन्द्र पहारी, संस्थाका सद्भाव सदस्य गोविन्दप्रसाद अधिकारी, रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल लगायतले विभिन्न सामाग्रीका माध्यमबाट एगाले नेपालको पर्यटनलाई विश्वमाझ चिनाउन महत्वपूर्ण योगदान गरेको धारणा राख्नुभयो ।      कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष ईन्द्रप्रसाद भण्डारी, उत्कृष्ट पसल सजावट गर्ने व्यवसायी रामहरि भट्ट,  विभिन्न कार्यक्रमका संयोजकहरू रमेश सुवेदी, माया सुवेदी, सुशिल ढकाल, गीता ढकाल लगायतलाई  सम्मान गरिएको थियो । 

काठमाडौं:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको हुँदा कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ती प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।  यसैगरी देशको उच्चपहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख  छ ।

पर्वत: मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् ।  आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता हुनुभएको हो ।  उहाँकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ  हम्फालेर बच्न सफल हुनुभएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीयले उद्धारकार्य जारी राखेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिनुभयो ।  गएरातिदेखि पर्वतलगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ । यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ । 

पोखरा:  पोखराको रत्चोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन जारी रहेको छ । श्रीमदवीतकको पाँचौ दिन सम्म आइपुग्दा भक्तजनहरुको उपस्थिती बढ्दै गएको छ ।  श्रीमदवीतकको छैठौं दिन सोमबार श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य जाँचको आयोजना हुने भएको छ । महिला बिकासका लागि समाजको आयोजना र पोखरा महानगरको सहयोगमा शिविरमा विशेष गरी सुगर र मुटु सम्बन्धि परिक्षण गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए । श्रीमदवीतकको पाँचौ दिन सम्म आइपुग्दा कथा श्रवण गर्न विभिन्न विशिष्ट ब्याक्तिहरुले उपस्थिती जनाउदै आएका छन । आइतबार श्रीमदवीतक चर्चामा श्रीकृष्ण प्रणामी मन्दिर पुगेका गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनार्दन जिसीले नैतिक शिक्षाको कमी भइरहदा धार्मिक सत्संग कार्यक्रमले नैतिक शिक्षा प्रदान गर्नमा मदत पुगेको बताउदै सत्संगले जीवन बुझ्न सहयोग पुग्ने बताए । सत्संगले गलत बाटोमा लागेका तथा बाटो बिराएका हरुलाई समेत सत्मार्गमा लाग्न अभिप्रेरित गर्ने उनको भनाइ रहेको थियो । बृन्दाबन धाम पोखरा २७ डाँडानाकका प्रमुख विष्णु वशिष्ठ महाराजले कृष्ण प्रणामी मन्दिर पोखरा रत्नचोकमा सञ्चालन भएको श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचनमा सहभागी हुन सम्पूर्णलाई आग्रह गरे । कुनैपनि धार्मिक स्थलमा आयोजना हुने सत्संगमा बिना निमन्त्रण पनि गएर सत्संग सुनेमा सुख शान्ति र समृद्धि छाउने बताए । भोक र तिर्खामा खाना र पानी पिउदा जतिको आनन्द हुन्छ सत्संगमा पुगेर कथा सुन्दा त्यति आनन्द र शरिरमा शुद्धता छाउने उनको भनाइ रहेको थियो ।   श्रीमदवीतक चर्चाकै बिचमा आयोजना हुने निशुल्क स्वास्थ्य शिविरमा सहभागी भइ जो कोहीले पनि लाभ लिन सकिने सचिव लक्ष्मण बरालले  बताए । बरालका अनुसार प्रत्येक दिन श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन भइरहेको छभने सोमबार पोखरा पोखरा महानगरपालिका वडा नं ८ का अध्यक्ष रुद्रनाथ बरालको उपस्थिती रहने छ । 

काठमाडौं:   बङ्गलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानमाथि अर्को सानदार जित निकालेको छ ।  ढाकास्थित बसुन्धरा किङ्ग्स एरिनामा शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलले हरायो । एकपक्षीय खेलमा नेपालले पहिलो हाफमा ६ र दोस्रो हाफमा दुई गोल गरेको थियो ।  नेपालको जितमा प्रर्णिमा राई र मीना देउवाले ह्याट्रिक पूरा गर्नुभयो । यस्तै समीक्षा घिमिरे र कुसुम खतिवडाले एक एक गोल गर्नुभयो । यसअघिको खेलमा नेपालले भुटानलाई ६–१ गोलले हराएको थियो । यस्तै चार टोली सहभागी च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई दुवै खेलमा समान ७–० गोलले हराएको थियो । नेपाल जारी च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा भने घरेलु टोली बङ्गलादेशसँग ३–२ गोलले पराजित भएको थियो ।  यस च्याम्पियनसिपको पाँच खेलमा चौथो जित निकालेको नेपालले १२ अङ्क बनाएको छ । नेपाललाई च्याम्पियन बन्न अब घरेलु टोली बङ्गलादेशविरुद्ध सोमबार हुने अन्तिम खेल जित्नुपर्ने छ ।  च्याम्पियनसिपमा सहभागी चार टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्ने छ । 

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले  गण्डकी प्रदेश कला, साहित्य, संगीत र लोक संस्कृतिमा सम्पन्न रहेको बताउनुभएको छ ।   पोखरा थियटरले नेपाली साहित्यका वरिष्ठ श्रष्टा, कवि तथा संस्कृतिकर्मी तीर्थ श्रेष्ठका सम्मानमा आयोजना गरेको विशेष काव्य–सांस्कृतिक कार्यक्रम ‘हिउँमा नलेखिएका तीर्थ– पाँच आयामका साथ’ मा प्रमुख अतिथि भट्टले कला, साहित्य, प्रकृति र संस्कृतिको प्रवर्द्धन एवं संरक्षण गर्नु हामी सबैको दायित्व रहेको उल्लेख गर्नुभयो ।   ‘आदिकवि भानुभक्त आचार्य, कवि शिरोमणि लेखनाथ पौड्याल, जनकविकेशरी धर्मराज थापा, लोककवि अलिमियाँ, लोकसंगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वदेखि हालका सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला लगायतको भूमि गण्डक क्षेत्र हो ।’ उहाँले भन्नुभयो – ‘यस भेगमा सिर्जित अपार सांस्कृतिक ज्ञानपरम्परा र वैभवले यस क्षेत्रको चेतनालाई सदैव उँचो राख्दै आएको छ । हाम्रा मौलिक तथा रैथाने संस्कृति, कला–साहित्य, रीतिरिवाज हाम्रा अमूल्य सम्पदा हुन् ।’   यस भूमिलाई जीवन्त र सांस्कृतिक दृष्टिले समृद्ध बनाउने अभियानमा संस्थागत तथा व्यक्तिगत तर्फबाट पनि विभिन्न प्रयासहरु भएको पाएको बताउँदै उहाँले गण्डकीको राजधानी पोखरा शहरलाई कला र संस्कृतिको मञ्च बनाउन पोखरा थियटरले निरन्तर कर्म गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।     यहाँ नाटक, संगीत, नृत्य, कवि गोष्ठी लगायत विभिन्न सांस्कृतिक गतिविधिहरू सञ्चालन हुँदै आएकाले पोखरामा सांस्कृतिक उत्सवहरूको वातावरण निर्माणमा यहाँका कलाकारहरूको सिर्जनात्मकता र व्यावसायिकता विकास गर्न यसले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाई छ ।   कवि एवं साहित्यकार तीर्थ श्रेष्ठमा समर्पण गरी उहाँकै सम्मुख ‘हिउँमा नलेखिएका तीर्थ — पाँच आयामका साथ’ आयोजित यस कार्यक्रमले स्रष्टालाई हौसला प्रदानसँगै सबै कलाकार तथा सर्जकलाई सम्मान अर्पण गरेको भट्टले उल्लेख गर्नुभयो ।   पोखरा थियटरका प्रमुख कार्यकारी अधिकृत मोतीबहादुर कार्की (परिवर्तन)को अध्यक्षतामा भएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठका कविता, गजल, मुक्तक, गीत र नाटक गरी पाँच विधामा उहाँका सिर्जनाहरू वाचन तथा मञ्चन गरिएको थियो ।           

काठमाडौं:   गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । विभागले आज यहाँ पत्रकार सम्मेलन गरी उक्त विवरण सार्वजनिक गरेको हो । अघिल्लो आर्थिक वर्ष भन्दा यसपटक एक लाख बढीले श्रम स्वीकृति लिएका विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँले श्रम स्वीकृतिको भार ६० दशमलव २८ प्रतिशत नयाँ र ३९ दशमलव ७२ प्रतिशत पुनः श्रम स्वीकृतिका रहेका छन् । उहाँका अनुसार वैैदेशिक रोजगारीका लागि गत आवमा श्रम स्वीकृति लिने प्रमुख १० गन्तव्य मुलुकमा युएई, साउदी अरेबिया, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, दक्षिण कोरिया र बहराइन रहेका छन् । व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्य मुलुकमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा रहेका पनि उहाँले जानकारी दिनुभयो । विगत पाँच वर्षमा कुल ३५ लाख बढीले श्रम स्वीकृति लिएका र त्यसमा ३१ लाख ८१ हजार पुरुष रहेका पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । वैदेशिक रोजगारीका लागि विदेशमा श्रमिक पठाउने संस्थाहरू कुल एक हजार ६८७ रहेकामा हाल सक्रिय इजाजत प्राप्त संस्थाको सङ्ख्या जम्मा ७२४ रहेको विभागले जनाएको छ । विसं २०८२ असारसम्ममा भने २१२ संस्थाले नवीकरण गरेका छन् । वैदेशिक रोजगारीमा अहिलेसम्म सात करोड २० लाख बढी क्षतिपूर्ति भराइएको पनि विभागले जनाएको छ । विभागका महानिर्देशक भट्टराईले श्रम स्वीकृति जारी गर्ने कार्यलाई डिजिटलाइज गरी आवेदन दिएकै दिनमा जारी गर्ने प्रतिबद्धता पूरा गरेको बताउँदै आगामी दिनमा अन्य सुधारका प्रयास जारी राख्ने बताउनुभयो । उहाँले विगत डेढ महिनादेखि भने आवेदन दिएको दुई मिनेटमा श्रमस्वीकृति प्रदान गरिएको पनि जानकारी दिनुभयो । अनुसन्धान तथा मुद्दा शाखामा रहेका करिब ३६ हजार फाइलको व्यवस्थापन गरी सेवाग्राहीमैत्री बनाउने लक्ष्यअनुसार दुईतिहाइ काम सम्पन्न भएको उहाँले बताउनुभयो । सुधारका लागि पहिचान गरिएका विषयको सन्दर्भमा विद्यमान कानुनी व्यवस्था संसोधन गरी अघि बढ्न्पर्ने आवश्यकता देखिएको पनि उहाँले बताउनुभयो । उहाँले वैैदेशिक रोजगारीको सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नतिका लागि प्राविधिक अध्ययन भइरहेको पनि जानकारी दिनुभयो । यस्तै वैैदेशिक रोजगारीमा जानुअघि गरिने स्वास्थ्य परीक्षणलाई थप प्रभावकारी गराउन अनुगमन प्रणालीमा सुधार गरिएको र त्यसको विवरण वैैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गर्न डिजिटल प्रणालीको निर्माण सम्पन्न भएको जनाइएको छ । यस्तै विभागले सेवा प्रवाहको गुणात्मक र रचनात्मक सुधार गर्न प्रयत्नशील रहेको पनि जानकारी गराएको छ ।

काठमाडौं:  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मौसमको अवस्था हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशका धेरै स्थानहरूमा, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा÷हिमपातको सम्भावना रहेको छ । सम्भावित वर्षाको कारणले भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने तथा हावाहुरीले समेत आंशिक असर पुर्‍याउन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पोखरा:  खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुने दोस्रो पर्वतीय दौड प्रतियोगितालाई पुम्दी–भुम्दीकै उत्सवको रुपमा मनाउन स्थानीयले सुझाव दिएका छन् ।  पोखरा क्लिक प्रालीको आयोजनामा आउँदो असोज ४ गते पोखरामा हुने उक्त प्रतियोगितालाई पोखरा २२ पुम्दी भुम्दीका स्थानीयले गाउँकै उत्सवको रुपमा उक्त प्रतियोगिता बनाउन सुझाव दिएका हुन् । मिति घोषणा सहित स्थानीय क्लब,टोल विकास संस्था, जनप्रतिनिधि लगायतका विभिन्न संघ संस्था एवं स्थानीयसँग भएको छलफल क्रममा सहभागिहरूले अघिल्लो बर्षमा भएका कमीकमजोरी सुधार गर्दै उत्कृष्ट व्यवस्थापनमा जुट्न समेत आग्रह गरे ।  पोखराका तीनवटा पर्यटकीय क्षेत्र विश्व शान्ति स्तुप, पुम्दीकोट र बुद्ध पार्कलाई जोडिएको उक्त खेलकुद प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न आ–आफ्नो क्षेत्रबाट भरपूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।  कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष हिमलाल बरालले भुम्दी भुम्दीको नयाँ पर्यटकीय गन्तव्य कालाबाङ घरेडी बुद्ध पार्कलाई प्रचारप्रसार गर्न उक्त प्रतियोगिता कोशेढुङ्गा सावित हुने बताए ।  वडामा रहेका २४ वटा टोल विकास संस्था त्यसैगरी विभिन्न क्लब, आमा समूह लगायतकाको उल्लेख्य सहभागिता गराउन आफूहरूले विशेष पहल गर्ने उहाँले जनाउनु भयो । पोखरामा पर्यटकको बसाइ अवधि लम्बाउनको लागि पुम्दीभूम्दीमा २७ किलोमिटरको पदमार्ग निर्माण कार्य जारी रहेको उहाँले बताउनुभयो। गतवर्ष स्थानीय ठाकुर बरालको विशेष पहलमा ९० लाख र यस वर्ष पद मार्गको लागि करिब ३ करोड बजेट विनियोजन भएको अध्यक्ष बरालले उल्लेख गरे ।  विश्व शान्ति स्तुप समितिका सचिव एवं पूर्व प्रधानपञ्च दुर्गा बहादुर गुरुङले उक्त प्रतियोगिता पुम्दी–भुम्दीको छुट्टै ब्रान्ड बनेको हुँदा उक्त प्रतियोगितालाई उत्सवको रुपमा मनाउन सुझाव दिनुभयो। पुम्दी भुम्दीमा पर्यटकीय सम्भावना रहेका तारेभिर, फिलिङ्गघारी त्यसैगरी थाप्लेडाँडा लगायतका क्षेत्रको पनि पर्यटन प्रवद्र्धन गर्न आवश्यक भएको बताए ।  पुम्दीकोट कोट विकास समितिका उपाध्यक्ष नरहरी बरालले उक्त प्रतियोगिता गाउँको पहिचानसँग जोडिएको हुँदा आफूहरुले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। कालाबाङ घरेडी बुद्धपाक समितिका अध्यक्ष लाल गुरुङ (राज) ले पहिलो संस्करणमा नौ वर्षदेखि ६१ वर्ष उमेर समूहका व्यक्तिहरू समेत सहभागी भएको स्मरण गर्दै आवश्यक मेडिकल टिम सहित स्वयंसेवकहरू पर्याप्त मात्रामा आगामी दिनमा खटाउनु पर्नेमा जोड दिए ।  भूतपूर्व खेलाडी मञ्चका सदस्य एवं प्राविधिक ओम गुरुङले पुम्दी भुम्दी पर्वतीय दौड प्रतियोगिता अरु प्रतियोगिताहरू भन्दा भिन्न खालको जस्तै अन्नपूर्ण माछापुच्छ्रे र पर्यटकीय गन्तव्य शान्ति स्तुप, पुम्दीकोट र बुद्ध पार्क जोडिएको दौड भएको हुँदा निकै आकर्षण भएको बताए ।  पोखराका पर्यटन व्यवसायी एवं पत्रकार राजु क्षेत्रीले हाम्रो संस्कारमा पर्यटकीय कल्चर कम भएको हुँदा पर्यटकसँग जोडेर गरिने पर्यटकीय क्रियाकलापहरू मेगा इभेन्टको रुपमा आयोजना गर्नुपर्नेमा जोड दिए ।  प्रतियोगिताका संयोजक एवं प्रालीका अध्यक्ष दिननाथ बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद क्षेत्री, कालिमाटी शान्ति स्तुप टोल विकास संस्थाका अध्यक्ष सुदीप बिक, महेश्वरी माविका शिक्षक सञ्जय बराल लगायतले वोल्दै उक्त कार्यक्रम सफल पार्न सहयोग गर्ने बताए ।  विश्व पर्यटन दिवसको अवसरमा असोजको ४ गते उक्त प्रतियोगिता हुने भएको पोखरा क्लिक प्रालीका वरिष्ठ संवाददाता असफल गौतमले बताए ।  प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख ८० हजार खर्च हुने व्यवस्थापक सागर सुनारले बताए । प्रतियोगितामा प्रथम हुने विजेता धावकलाई रु ३० हजार दोस्रो हुनेलाई १५ हजार तेस्रो हुनेलाई ७ हजार त्यसैगरी पोखरा २२ वडा स्तरिय खुलातर्फ विजेता एकजना महिलातर्फ पुरूष विजेता अर्को १६ वर्ष मुनि उमेर समूहको एकजना र भेट्रान्स ४० वर्षमाथि उमेर समूहका एक एक जनालाई प्रोत्साहन स्वरूप जनही ७ हजार रूपैयाँ प्रदान गरिने भएको संयोजक बरालले बताउनुभयो। उक्त प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकीबाट समन्वय, पोखरा महानगरपालिका वडा नम्बर २२ को सहकार्य, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र त्यसैगरी सिटीवान टेलिभिजन मिडिया पार्टनरको रुपमा जोडिएको छ ।  आफ्नो जन्म गाउँ पुम्दी भुम्दीमा गाउँ पर्यटन प्रबद्र्धन गर्न विश्व पर्यटन दिवसको अवसरमा आयोजना हुने उक्त प्रतियोगितामा सहभागि हुने धावकहरुको अनलाइन फारम दर्ता केही हप्ता पछि खुल्ला गरिने भएको छ ।