पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

काठमाडौं:  बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधरणतयादेखि अधिकांश बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।  कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोशी र मधेश प्रदेश साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

काठमाडौं:   आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाइन्छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिनपनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए । आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् । तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ । तुलसीबाट बनेको चिया मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न उपयुक्त मानिन्छ । कात्तिक महिनामा तुलसीको माला लगाउँदा र एक लाख तुलसीपत्र विष्णुलाई अर्पण गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास छ । गरुड पुराणमा उल्लेख भएअनुसार यस महिनामा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको फल मिल्दछ । आजका दिन भगवान् विष्णुको मूर्तिलाई रथमा राखी यात्रा गराउने प्रचलन पनि छ । आजको दिन अन्न खान नहुने भएकाले सखरखन्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गरिन्छ । यसरी व्रत गरेमा पापको नाश भई पुण्य वृद्धि हुने र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । ठूलो एकादशी पनि भनिने आजको एकादशी व्रतले हजार अश्वमेध यज्ञ तथा राजसूय यज्ञ गरे बराबरको फल पाइने शास्त्रीय मान्यता छ । कात्तिक महिनामा भगवान् विष्णुलाई भक्तिपूर्वक सम्झी गरिएको स्नान, दान, जप र होमले फल पाइने एवम् सय जन्मका पापबाट मुक्ति मिल्ने प्रसङ्ग विभिन्न ग्रन्थमा वर्णन गरिएको छ । आजका दिन काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लाग्दछ । यहाँ जान नसक्नेले काठमाडौँको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने विश्वास गरिन्छ । यसैगरी नारायणहिटस्थित नारायणस्थानमा गई पूजा, आराधना एवं दर्शन गर्नाले पनि काठमाडौँ उपत्यकाका चारै नारायणस्थानमा पुगे बराबरको फल पाइने शास्त्रीय मान्यता रहेको मन्दिरका मठाधीश डा. राजेश्वरानन्दले जानकारी दिए । उता, धादिङको नीलकण्ठ नगरपालिका वडा ४ स्थित ऐतिहासिक कालिका मन्दिरमा विशेष मेला लाग्ने गर्दछ ।

मुस्ताङ:  मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् ।  मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सरेबुङ पास प्रस्थान गरेका तीन अष्ट्रियन नागरिकसहित १४ जना पदयात्री केहीबेर अघि सम्पर्कमा आएका जनाउँदै सबै सुरक्षित रहेका बताए । दुई साताअघि हिमालयन एडभेन्चर ट्राभल्समार्फत काठमाडौंबाट सरेबुङ हुँदै मनाङको फु गाउँको पदयात्राका लागि निस्किएका थिए । उ नीहरू अक्टोबर २६ तारिखमा लोघेकर–४ याराबाट सरेबुङ यात्राका लागि दामोदरकुण्डतर्फ प्रस्थान गरेका थिए । त्यसपछि तीनदिनदेखि सम्पर्कविहीन भएका हिमालयन एडभेन्चरले जनाएको थियो ।  जिल्ला प्रशासन कार्यालयलाई बिहीबार साँझ उनीहरू सम्पर्कविहीन भएकाबारे जानकारी गराइएको हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले बताए । आज बिहान पथप्रर्दशकमध्ये एक जनाले टेलिफोन सम्पर्क गरे पनि स्पष्ट कुराकानी हुन नसकेको उनले बताएका थिए । समुन्द्री सतहदेखि छ हजार मिटर उचाइमा पर्ने सरेबुङ पास छिचोल्दै मनाङको फु गाउँ निस्किने योजनासहित लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड प्रस्थान गरेको उक्त टोली मङ्गलबारदेखि सम्पर्कविहीन भएको थियो । मङ्गलबारदेखि परेको भारी हिमपात र प्रतिकूल मौसमका पदयात्री सम्पर्कविहीन भएका व्यवस्थापक मैनालीले बताए । भुसालका अनुसार सरेबुङ पदयात्रामा निस्किएका सबै पदयात्री भारी हिमपातका कारण तीन दिनसम्म दामोदरकुण्ड धर्मशालामा सुरक्षित बसेका जानकारी प्राप्त भएको छ । सबै पदयात्री सम्पर्कमा आएसँगै आज साँझ दामोदरकुण्डबाट अगाडि बढ्न नसकेपछि पैदल यात्रामार्फत सुरक्षित रूपमा यारा गाउँमा आइपुगेका उनले जानकारी दिए ।  प्रजिअ भुसालले उच्च स्थानमा अवस्थित दामोदरकुण्डमा रहेको धर्मशालामा खाने, बस्नेलगायत अत्यावश्यक सुविधा भएकाले सम्पर्कविहीन पदयात्रीलाई सुरक्षित रहन सहज भएको बताए । 

मुस्ताङ:   मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् ।  यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फु गाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएका हुन् । मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले उनीहरू बिहीबार साँझ सम्पर्कविहीन भएको सूचना प्राप्त भएको बताए ।  चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको सीमावर्ती दामोदरकुण्ड क्षेत्रको मुस्ताङ–मनाङ सरिबुङ पास समुन्द्री सतहदेखि ६ हजार मिटर उचाइमा पर्दछ । त्यहाँ भारी हिमपात भएकाले विदेशी पदयात्रीसहित १४ जनाको टोली सम्पर्कविहीन भएको उनले उल्लेख गरे । यसैबिच जिल्ला प्रशासन कार्यालय मुस्ताङले सम्पर्कविहीन रहेका पदयात्रीहरू दामोदरकुण्डस्थित तीर्थयात्री धर्मशालामा सुरक्षित हुनसक्ने अनुमान गरेको छ । सो धर्मशालामा खाने, बस्नेसहित अत्यावश्यक सामान व्यवस्थित रहेकाले सम्पर्कविहीन टोली त्यहाँ हुनसक्ने भन्दै प्रजिअ भुसालले धर्मशालामा उनीहरूलाई कुनै समस्या नपर्ने बताए । हिमालय एडभेन्चर ट्राभल कम्पनीमार्फत सरिबुङ पासको पदयात्रामा निस्किएका सबै दुई साताअघि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेका हिमालयन एडभेन्चरका व्यवस्थापक दीपक मैनालीले जानकारी दिए । मुस्ताङको दामोदरकुण्ड हुँदै सरिबुङ पास निस्किएका तीन अष्ट्रियन पर्यटकसहित नेपाली पथप्रदर्शकको टोली गत मङ्गलबारदेखि सम्पर्कमा नरहेको उनको भनाइ छ । आज बिहान मात्रै फोन सम्पर्कमा आएका जनाउँदै मैनालीले स्पष्ट कुराकानी भने हुन नसकेको बताए । अक्टोबर २६ तारिखमा दामोदरकुण्डबाट सरिबुङ पासतर्फ हिँडेको जानकारी प्राप्त भएको बताउँदै उनले त्यसयता कुनै सम्पर्क नभएको उल्लेख गरे । “हामीलाई आज मात्रै पथप्रदर्शकले फोन सम्पर्क गरेका थिए, तर प्रतिकूल मौसम र सञ्चार अवरोधका कारण राम्ररी कुराकानी हुन सकेन”, व्यवस्थापक मैनालीले भने, “हामीले फोनको ‘ट्रयाकिङ’ गरेर स्थान पत्ता लगाउन गृह मन्त्रालयसँग अनुरोध गरेका छौँ ।” सम्पर्कविहीन भएका पदयात्री रहेको स्थान पत्ता लगाउन सकेमा उद्धारका लागि हेलिकप्टर पठाउने तरी तयारी भएकोबारे गृहमन्त्रालयमा जानकारी गराइएको उनले उल्लेख गरे ।  सम्पर्कविहीन पदयात्री सरिबुङबाट मनाङको फु गाउँ हुँदै चाँमे निस्किने योजनामा रहेका व्यवस्थापक मैनालीले बताए । 

काठमाडौं:   २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ४४ जिल्लामा ३८ वटा टोली परिचालन गरिएका छन् । राष्ट्रिय योजना आयोगका सहायक प्रवक्ता डा दिवाकर लुइँटेलका अनुसार आगामी हप्ताभित्र सबै क्षतिको विवरण सङ्कलन गरिसक्ने गरी टोली परिचालन गरिएको हो ।  तथ्याङ्क सङ्कलनमा एकरुपता तथा सहजताका लागि आयोगले ‘क्षति मूल्याङ्कन सर्वेक्षण पोर्टल’ समेत सञ्चालन गरेको र सम्बन्धित स्थानीय तह तथा प्रदेश र सङ्घका कार्यालयले अनलाइनमार्फत क्षतिको विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।  “प्रदर्शनका क्रममा क्षति पुगेका ४४ जिल्लाका करिब २६० हाराहारी पालिका, सबै प्रदेश र सङ्घीय सरकारका विषयगत मन्त्रालय एवं केन्द्रीय निकायलाई ‘युजरनेम’ र ‘पासवर्ड’ उपलब्ध गराइएको छ । सङ्कलित तथ्याङ्क तथा विवरण सर्वेक्षण पोर्टलमा राख्नुपर्नेछ”, सहायक प्रवक्ता लुइँटेलले भन्नुभयो । तथ्याङ्क उपलब्ध गराउनका लागि सम्बन्धित पालिका, प्रदेश कार्यालय तथा सङ्घीय निकायलाई जिम्मेवार बनाइए पनि सहजीकरणका लागि प्राविधिक जनशक्तिसहितको टोली खटाइएको आयोगले जनाएको छ । आइतबारसम्म सबै टोली कार्यस्थलमा पुगिसक्ने र एक हप्ताभित्र तथ्याङ्क संकलन गरिसक्ने लुइँटेलले बताउनुभयो ।    यसअघि, प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन तथा पुनःनिर्माण योजना तयारीका लागि गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको थियो । उक्त समितिलाई क्षतिको मूल्याङ्कन र पुनःनिर्माण योजना तयार गर्नेगरी कार्यादेश दिइएको छ । यस्तै, योजना आयोगका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह,सङ्घीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका सहसचिवको प्रतिनिधित्व रहेनगरी सहजीकरण उपसमितिसमेत गठन गरिएको छ । योजना आयोगका सहसचिवको नेतृत्वमा सचिवालय गठन गरिएको छ ।  यस्तै, आयोगका अनुसार उपसचिवको नेतृत्वमा ४१ जिल्लामा ३४ र उपत्यकाका तीन जिल्लामा चार वटा टोली गरी ३८ टोली परिचालन गरिएको छ । साथै सुपरीवेक्षणका लागि सहसचिवको नेतृत्वमा सबै प्रदेश र उपत्यकामा गरी ११ वटा टोली परिचालन गरिएका छन् । 

मुस्ताङ:  अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पुर्‍याएको छ ।  जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोलानजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए ।   उनका अनुसार जोमसोमदेखि दुई किलोमिटरमाथिको कालोपत्र सडक भासिएर सडक जोखिम बढेको जानकारी दिए । निरन्तरको वर्षाले जोमसोमदेखि केहीमाथि करिब २५ मिटर सडक भासिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।   बिहीबार साँझ पाण्डा खोलाको बाढीले सडक संरचनामा क्षति पुर्‍याएको छ । यद्यपि, सुरक्षा नियकायले हाललाई अस्थाइ रुपमा भए पनि यातायात सञ्चालनमा ल्याएको उनको भनाइ छ ।  जोमसोम–कागबेनी सडकखण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले जोमसोमदेखि कागबेनी जाने मुक्तिनाथ दर्शनार्थीलाई जोमसोममै रोकिएको छ ।  “मुक्तिनाथ–जोमसोम सडकका विभिन्न ठाउँमा पहिरो खस्नेक्रम जारी छ, हामीले माथि रोकिएका सवारी तथा यात्रुलाई एकतर्फी सडक खुलाएर भए पनि तल झाने प्रयास गरिरहेका छौँ”, प्रमुख जिल्ला अधिकारी भुसालले भने, “जोमसोमबाट मुक्तिनाथ र कोरलातर्फ जाने सवारीसाधनलाई माथि जान रोक लगाएका छौँ ।”      प्रमुख जिल्ला अधिकारी भुसालले वर्षा रोकिएमा सडकको अवस्था हेरेर मात्रै माथि जान दिइने बताए । यसैगरी जोमसोम–कागबेनी सडकमा पहिरो खस्दा एक सार्वजनिक भाडाको ट्याक्सीमा क्षति पुगेको छ ।  पहिरो गएको स्थानमा एक भारतीय कार फसेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए ।  पहिरोका कारण फसेको भारतीय गाडीलाई निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ ।  बाढीपहिरोले कागबेनी–छुसाङ सडकखण्डको आधा दर्जन स्थानको सडक अवरुद्ध भएको छ । ताङ्वे–छुसाङबीचमा पर्ने खोलाको बाढीले कोरला सडकमा क्षति पुर्‍याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनी–कोरला सडक बिहीबार साँझदेखि पूर्णरुपमा अवरुद्ध छ । वर्षाका कारण सडक अवरुद्ध भए अलपत्र १७ जना यात्रीहरुलाई बारागुङ–३ स्थित ग्रीन ताङ्वे घरमा लगेर राखिएको वडाध्यक्ष गुरुङले बताए । वर्षा रोकिएपछि उनीहरुलाई गाउँले बस्तीनजिक ल्याउने योजना रहेको बताए ।  अवरुद्ध जोमसोम–कागबेनी सडकको आज बिहान प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी र प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामालगायत सुरक्षाकर्मीले अवलोकन गरेका छन् । जोमसोम–कागबेनी सडक भासिएपछि मर्मत गरी सञ्चालनमा ल्याउन दुईरतीन दिन लाग्नसक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार गर्दा धनिकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले कबिरामलाई पक्राउ गरेको हो ।  गम्भीर घाइते भएकी धनिकलाको कर्णाली प्रदेश अस्पताल कालगाउँ सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना–५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवगमन अवरुद्ध भएको थियो ।  सडक विभागको मेसिनले पहिरो पन्छाएपछि बिहान १०ः२५ बजेदेखि दुईतर्फी रुपमा यातायात सञ्चालन भएको उहाँले जानकारी दिनुभयो । उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ । 

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा सत्रमा छलफल गरिएको थियो । पहिलो सत्रमा सुबिन भट्टराइको पछिल्लो कृति ‘चमेली फूल बैजनी रुमाल’ पुस्तकमाथि लेखक भट्टराईसँग नायिका सनिशा भराईले संवाद गरेकी थिइन् ।    साहित्यकार सुबिन भट्टराईको मष्तिष्कमा लामो समयदेखि खेलिरहेका कथा सुबिन पुस्तकका लागि कथा लेखनमा लागेको बताए ।   ‘कुनै पनि कथा मष्तिष्कमा लिंगरिङ गरेर बसिरह्यो भने आफूले आफूलाई त्यो विषय लेख्नुपर्छ भनेर निर्देशन दिन्छ,’ सुबिनले पुस्तक लेख्नुअघिको कुरा सम्झिँदै भने, ‘यसमा भएका कथाहरु पनि लामो समयदेखि मेरो मष्तिष्कमा रहेको थियो । पटक्कै जान मानेनन् र अब तैले लेख्नुपर्छ भनेर मलाई महसुस भयो र लेखेँ ।’    पुस्तकमा समेटिएको कथा हरेक मानवको वरिपरि हुने सुबिनको अनुभव छ  ।   ‘कथाहरु हाम्रो वरिपरि नै रहेको सुबिनको अनुभव छ । हामी सबैसँग कथा छ । कसैले लेख्छ, कसैले भन्छ, आआफ्नो कुरा हुने रैछ,’ उनले सुनाए ।   दोस्रो सत्रमा डा. नवराज केसीद्वारा लिखित स्वस्पर्शको स्पर्श पुस्तकमा आधारित रहेर लेखक डा. केसीसँग साहित्यकार उपेन्द्र पौडेलले संवाद गरेका थिए ।   संवादमा पुस्तकका लेखक डा. नवराज कसी जीवनको उत्तर दिने क्रममा ‘खुसी भेट्नु अलिकति र अरुलाई खुसी दिनु अत्याधिक’ हो भन्नेमा केन्द्रित थिए । आफूलाई आवश्यक परेको बस्तु उहीँ बेला प्राप्त गर्नु नै जीवनको उद्देश्य भएको उनको भनाइ थियो ।   उनले भने, नहुँदा जति महत्व दिन्छौं त्यो हुँदा खेरी नै त्यसको महत्व दिऔं भन्नु नै जीवनको सबैभन्दा ठूलो उद्देश्य हो ।’    उनले आफ्नो पछिल्लो पुस्तकमा आमाको माया पनि झल्काएको सुनाए । पुस्तक लेख्ने क्रममा उनले धेरैभन्दा धेरैको जीवनका कथा संकलन गरी लेखन सुरु गरेको पनि उनले बताए ।   ती पात्रहरुकै अनुमतिमा कथा पुस्तकमा समेटिएको उनको भनाइ थियो । जसले गर्दा अन्यले प्रेरणा प्राप्त गर्न सकुन भन्ने उद्देश्य रहेको थियो ।    आफ्नो पुस्तक पढेर निशब्द हुदैं जीवन बदलेको उदाहरण पनि आफूलाई इमेलमार्फत जानकारी गराएको प्रसंग पनि उनले सुनाए ।   ‘मैले केही दिन यता मेरो इमेलमा धेरै म्यासेजहरु पाइरहेको छु । त्यो मध्ये एउटा बहिनीले लेखेको मन छुने म्यासेज छ, “मैले आत्महत्या गर्न डोरी किनिसकेको थिएँ । स्वस्पर्श पढेँ डोरी हटाएँ र बाँच्न सुरु गरे”, उनले भने, ‘त्यसपछि उनको फेसबुक प्रोफाइल निरन्तर हेररहेको छु उनी नाचेको घुमेको फोटोहरु देख्छु । सायद मलाई संकलकबाट लेखक ती बहिनीले बनायो की जस्तो लाग्छ ।’    उत्सवको अन्तिम सत्रमा पछिल्लो समय प्रकाशित ‘युगदेखि युगसम्म’ पुस्तक माथि राजेश हमालले पत्रकार अपिल त्रिपाठीले संवाद गरे ।   संवादमा अभिनेता हमालले आफ्ना विगतका धेरै कुरा सुनाए । उनीहरुबिचको कुराकानी ‘युगदेखि युगसम्म’ मा आधारित थियो ।   उक्त पुस्तक राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयायलाई समेटिएर लेखिएको छ । उक्त सेसनमा राजेशले आफ्नो व्यक्तिगत जीवनसँगै राजनीतिक अवस्थाको बारेमा पनि चित्रण गरे ।   उनले राजनीतिमा चासो नराखे पनि राजनीतिले चासो राख्ने उल्लेख गरे ।   ‘राजनीति एउटा यस्तो जटिल विषय हो । तपाईंले राजनीतिलाई चासो नराखेता पनि राजनीतिले तपाईंलाई चासो राख्छ,’ उनले भने । राजनीति देशको मेरुदण्ड भएकाले कुनै पनि व्यक्ति राजनीतिक घेराबाट उम्किन नसक्ने अभिनेता हमालले बताए ।