काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर स्वदेश फर्किनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीले स्वागत गर्नुभएको हो । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गर्नुभएको थियो । सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गर्नुभएको थियो । उहाँले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार दोहामा भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई मङ्गलबार सम्बोधन गर्नुभयो । साथै उहाँले सम्मेलन अन्तर्गत आयोजित सामाजिक विकासका तीन स्तम्भहरूको सुदृढीकरणः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवम् सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाईसमेत सम्बोधन गर्नुभएको थियो । राष्ट्रपति पौडेलले मङ्गलबारनै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेट गर्नुभएको थियो । पौडेलले बुधबार कतार राष्ट्रिय सङ्ग्रहालयको पनि अवलोकन गर्नुभएको थियो । यसअघि ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसङख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल भएको थियो । संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध सदस्य रही आएको छ । राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को हाल नेपाल अध्यक्ष रहेको छ । सो सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार दोहा प्रस्थान गर्नुभएको थियो ।
म्याग्दी: सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल । झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको यो दृष्य अनौठो र सुन्दर देखिन्छ । पहाडको फेदीबाट हेर्दा आकाश देखिने भएकाले स्थानीयद्वारा ‘स्काई केभ’ (आकाशे गुफा) नामाकरण गरिएको छ । नारच्याङबाट अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गमा पर्ने यो गुफा अनौठो र आकर्षक भएको स्थानीय माइकल पुनले बताउनुभयो । “अन्नपूर्ण आधार शिविर आउने जाने पर्यटकले पदमार्गबाट अनौठो मानेर पहाडको टुप्पोमा रहेको गुफा हेर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “गुफासम्म पुग्ने पदमार्ग नभएकाले पर्यटक यहाँ पुग्न सकेका छैनन् ।” मुख्यबाट ३० मिनेट हिँडेपछि समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइमा रहेको आकाशे गुफामा पुग्न सकिन्छ । करिब १५ मिटर लामो गुफा सुरुङ जस्तै रहेको पुनले बताउनुभयो । गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग नभएकाले पैदालयात्रा जोखिम मानिएको उहाँको भनाइ छ । पुनका अनुसार गुफाभित्रैबाट निलगिरि र अन्नपूर्ण हिमशृङ्खला तथा वरपरका पहाडी भूगोलको दृष्य अवलोकन गर्न सकिन्छ । काठमाडौँबाट अन्नपूर्ण आधार शिविर घुम्न आएका सुजित भट्टले पहाडको टुप्पोमा कडा चट्टानले बनेको स्काई केभ अनौठो लागेको प्रतिक्रिया दिनुभयो । “टाढैबाट हेर्दा पनि गुफाका विषयमा धेरै उत्सुकता जाग्यो”, उहाँले भन्नुभयो, “सम्बन्धित ठाउँमै पुगेर अवलोकन गर्ने सुविधा भएमा कौतूहलता मेटिने थियो ।” नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको मौरिस हर्जोग पदमार्गका अभियान्ता तेज गुरुङले स्काई केभ पदमार्गको एक आकर्षण भएको बताउनुभयो । “विसं २०६८ मा मौरिस हर्जोग पदमार्गको अध्ययनका क्रममा स्काई केभ पनि पहिचान भएको थियो”, उहाँले भन्नुभयो, “पदमार्गसँगै रहेका अन्य स्थानमा आधारभूत पूर्वाधार बनाएर पर्यटक आउने वातावरण बनाइएको छ ।” स्काई केभसम्म पुग्ने पदमार्ग बनाएर भ्रमणमा आउने पर्यटकको बसाइ लम्बाउने र सहायक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको गुरुङले जानकारी दिनुभयो । अन्नपूर्ण हिमालका प्रथम आरोहण टोलीका अगुवा फ्रान्सका मौरिस हर्जोगको सम्मानमा अन्नपूर्ण गाउँपालिकाले विसं २०७७ मा पदमार्ग घोषणा गरेको थियो । नारच्याङबाट हुमखोलासम्म २० किलोमिटर कच्ची सडकमा दुई घण्टा गाडी र हुमखोलाबाट फुतफुते झरना, साँधीखर्क, गुफाँफाँट हुदै भुसकेत जाने पदमार्गको बिचभागमा स्काई केभ पर्दछ । हुमखोलाबाट तीन घण्टाको पैदलयात्रामा स्काई केभ भएको पहाडको फेदीमा पुगिन्छ । मौरिस हर्जोग पदमार्ग भएर अन्नपूर्ण आधार शिविर पुगेर आउनुभएका म्याग्दीबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले स्काई केभसम्म पुग्ने पदमार्ग, आवश्यक पूर्वाधारलगायत संरचना निर्माण गरी पर्यटन प्रवर्धनका लागि गाउँपालिका, प्रदेश सरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)सँग समन्वय गर्ने बताउनुभयो ।
काठमाडौं: अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन वर्षदेखि शहिद स्मारक ‘ए’ डिभिलन लिग नगरेपछि खेलबिहीन बनेका फुटबल खेलाडीले बिहीबार एन्फा मुख्यालयमा धर्ना दिएका छन् । राष्ट्रिय टोलीका खेलाडीहरुले एन्फा मुख्यालयमा पुगेर धर्नासहित आन्दालन गरेका हुन् । खेलाडीहरुले एन्फाले यसवर्ष पनि ‘ए’ डिभिजन लिग गर्छु भनेर छलछाम गरेको बताएका छन् । खेलाडीहरुले विरोध स्वरुफ आफुले विभिन्न समयमा पाएको मेडल समेत एन्फा गेटमा झुन्ड्याएका थिए । एन्फाले हालै मात्र यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र शहिद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवेका आधारमा गर्ने निर्णय गरेको थियो । खेलाडीले भने पहिले लिग सकेर मात्र राष्ट्रिय लिग गर्नुपर्ने माग राखेका छन् । एन्फाले तत्काल यसमा ध्यान नदिए कडा आन्दोलन गर्ने पनि जनाएका छन् । फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले खेलाीहरुले दुई वर्षअघि देखि पटक पटक लिग गर्न एन्फालाई विज्ञप्ती र छलफलमार्फत आग्रह गर्दे आएपनि नसुनेको बताउनुभयो । लिग नहुँदा खेलाडी वेरोजगार भएको र विभिन्न देशमा पलायन हुनु परेको पनि लामाले बताउनुभयो । खेलाडीको आन्दोलनपछि एन्फा मुख्यालय सातदोवाटोमा बिहानैदेखि सुरक्षा ब्यवस्था कडा पारिएको छ । खेलाडीले एन्फाका पदाधिकारीलाई भेड्न चाहेपछि प्रहरीले एन्फा भित्र पस्न दिएको थिएन । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचि किरण राईलगायत पदाधिकारी काठमाडौँ बाहिर रहेको भन्दै प्रवक्ता सुरेश शाहले खेलाडीलाई थामपुर पार्ने प्रयत्न गर्नुभएको थियो । खेलाडीको धर्ना र आन्दोलनलाई पूर्व खेलाडी, प्रशिक्षक, जेनजी युवालगायतले साथ दिएका छन् । एन्फाले पछिल्लो पटक २०७९ सालमा ‘ए’ डिभिलन लिग गरेको थियो । एन्फाको आन्तरिक राजनीतिका कारण ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग नियमित हुन सकेको छैन ।
काठमाडौं: अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर लिन सकिने भएको छ । आन्तरिक राजस्व विभागले अब स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहबाटै जारी गर्न सकिने व्यवस्था मिलाइएको जनाएको हो । अहिलेसम्म करदाता सेवा कार्यालयबाट जारी हुँदै आएको स्थायी लेखा नम्बर ती कार्यालयहरू खारेज भएकोले अब सो सेवा स्थानीय तहबाटै जारी गर्ने व्यवस्था मिलाईको विभागले जनाएको छ । तर, स्थानीय तहबाट सेवा सुचारू हुन समय लाग्न अवस्थासम्म भने ती सेवा सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको पनि विभागले जनाएको छ ।
बर्दिया: मासु किन्न नसक्ने विपन्न वर्गका थारु समुदायले पहिलेपहिले चाडबाडका बेला माछा, घोंगी, गङ्गटा, सुतही मारेर चाड मनाउँथे । तर केही वर्षयता यस क्षेत्रका खेत, खोलानाला, तालतलैयामा घोंगी, गङ्गटा, सुतही जस्ता माछा प्रजातिका जलचर पाइन छाडेका छन् । बढैयाताल गाँउपालिका–५ जगतियाका ६० वर्षीय बलीराम थारु भन्नुहुन्छ, “पहिले धेरै मात्रमा घोंगी, गङ्गटा, सुतही पाइन्थे । अहिले पाइनै छाडे ।” आधुनिक खेती प्रणालीले गर्दा खेतमा रसायनिक मल र विषादीको प्रयोग बढ्न थालेपछि खेत, नदी, खोलामै यी प्रजाति मासिन थालेको उहाँको अनुमान छ । सिमसार र तालतलैयाहरुमा पानी कम हुनु, सुख्खा क्षेत्र बढ्नुले पनि यी माछाका प्रजातिहरु कम हुँदै गएको हुनसक्ने उहाँ बताउनुहुन्छ । पहिले स्थानीयले जाल तथा हेल्का वा हातले माछाको सिकार गर्थे । हिजोआज नदी, खोलानालाहरुमा विष हाल्ने, करेन्ट लगाउने चलन बढेपछि माछाका प्रजाति फस्टाउन नसकेको स्थानीय बताउँछन् । नेपालकै ठुलो ताल भनिने बढैयाताल १०७ विगाहमा फैलिएको छ । यो तालमा समेत दोहन हुन थालेपछि घोंगी, गङ्गटा, सुतही पाइन छाडेका छन् । बढैयाताल गाँउपालिकाका अध्यक्ष हिमालय त्रिपाठीकाअनुसार पहिलेको तुलनामा अहिले थोरै मात्रामा यी प्रजाति पाइन्छन् । “तालमा पानी सुक्दै गएको छ, यहाँ आउने धेरै चराहरुले आहारा नपाउँदा चराहरुको बासस्थान समेत पाइन छोडेको छ । तालमा चराका चिरविर आवाज पनि सुनिन छाडेको छ ।” अर्कोतर्फ यसको संरक्षण भन्दा पनि बढी यस्ता प्रजाति मारेर बिक्री गर्ने चलन बढेपछि उनीहरुको बासस्थाननै मासिन थालेका हुन् । घोंगी, गङ्गटा, सुतहीको परिकार स्थानीय घरबास (होमस्टे) हरुमा पाहुनाका लागि आकर्षण भएपछि सिकारीहरु व्यावसायिक रुपमै यसको सिकार गर्न थालेका छन् । यस क्षेत्रमा दुई थरिका घोंगी पाइन्छन् । गङ्गटा पाँच थरीका र सुतही दुई थरीका पाइन्छन् । बालविशेषज्ञ डा विश्वनाथ यादवकाअनुसार घोंगी, गङ्गटा सुतहीमा प्रोटिन, क्याल्सियम पाइन्छ । जसले ग्यास्ट्राइटिसका लागिसमेत औषधिको काम गर्छ । हड्डी बलियो बनाउँछ । यिनै विशेषता बारे थाहा भएकाले पनि हुनसक्छ यसको उपभोग वृद्धि भइ यस्ता जलचर मासिन थालेको डा यादव बताउनुहुन्छ । माछा प्रजातिका यी जलचरहरु लोप हुने क्रममा पुगेको एकिकृत कृषि विकास तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख कमला अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिले जस्तो खेती प्रणाली छैन । धानमा रसायनिक मलको प्रयोग गर्नु, विषादी प्रयोग गर्नु, नदी नालाहरुमा डोजर लगाएर ढुङ्गा गिट्टी उत्खन्न गर्दा यी प्रजातिको बासस्थानमा समेत खलल पुगेको छ ।” उहाँले विगतमाझैँ पानी पर्न छाडेपछि सिमसार क्षेत्र मासिँदा जलचरहरु मासिन थालेको बताउनुभयो । पहिलेका तुलनामा हिजाआज १० प्रतिशत मात्र घोंगी पाइने उहाँको भनाइ छ । सरोकारवालाहरु भने माछा प्रजातिका यी जलचरहरुको संरक्षण गर्नुपर्ने बताउँछन् ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको क्षेत्रगत मापदण्डसहितको अन्तरपार्टी निर्देशन जारी भएपछि मातहतका कमिटी र सङ्गठनले आवश्यक तयारी सुरु गरेका छन् । महाधिवेशनको प्रतिनिधि चयन देशभर आगामी मङ्सिर १३ गते एकसाथ हुने एमाले सचिवालयले जनाएको छ । आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा कुल दुई हजार १२७ प्रतिनिधि कायम गर्नेगरी यही कात्तिक १५ गतेको एमालेको सचिवालयले बैठकले निर्णय गरेको थियो । सोबमोजिम तयारी गर्न अन्तरपार्टी निर्देशन दिइएको छ । एमालेको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले पार्टी सदस्यताको सङ्ख्या अनुपातमा विभिन्न क्षेत्र छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको बताउनुभयो । उक्त मापदण्डलाई मातहतका जिल्ला कमिटी र जनसङ्गठनले कार्यान्वयनका लागि सम्पर्क तथा आवश्यक समन्वय सुरु गरेका उहाँले जानकारी दिनुभयो । महाधिवेशनमा केन्द्रीय कमिटीबाट ३५५, अनुशासन आयोगबाट २९, केन्द्रीय निर्वाचन आयोगबाट ३०, लेखा आयोगबाट २५ र केन्द्रीय सल्लाहकार परिषद्बाट निर्वाचितसहित २५ गरी ४६४ प्रतिनिधि हुनेछन् । यसैगरी स्वदेशका प्रदेशस्तरीय ९विशेष प्रदेशसहित०का कमिटीबाट कम्तीमा दुई महिलासहित पाँचका दरले ४५ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । एक सय ६५ सङ्घीय निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी समावेशीताको सिद्धान्तअनुसार एक हजार १३५ प्रतिनिधि सहभागी हुनेछन् । हरेक निर्वाचन क्षेत्रमा रहेका एक हजार २०० पार्टी सदस्य बराबर ४० वर्ष मुनीका एक युवा र एक महिलासहित चार प्रतिनिधि हुने सचिव डा अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम् एक हजार २०० पार्टी सदस्यमा थप आठ सय सदस्य नाघेमा थप एक महिला प्रतिनिधि र त्यसपछि प्रत्येक आठरआठ सय नाघेमा थप निर्वाचित खुला प्रतिनिधि हुनेछन् । स्वदेशका विशेष जिल्लाअन्तर्गत एक हजार २०० सम्म पार्टी सदस्य बराबर कम्तीमा एक महिलासहित तीन निर्वाचित प्रतिनिधि रहनेछन् । सदस्य सङ्ख्या आठ सय नाघेमा प्रत्येक थप एक प्रतिनिधि गरी विशेष जिल्ला कमिटीअन्तर्गत कुल ४७ प्रतिनिधि निर्वाचित हुने अधिकारीले बताउनुभयो । यसैगरी दलित आरक्षणअन्तर्गत कम्तीमा महिलासहित ८१ र श्रमिकमा ४० प्रतिनिधि बन्नेछन् भने प्रवास कमिटीबाट तीन महिलासहित ३५ प्रतिनिधि हुनेछन् । केन्द्रीय विभागबाट ३२ र जनसङ्गठनबाट महिलासहित कुल १३७ प्रतिनिधि रहनेछन् । पार्टी केन्द्रले १०१ प्रतिनिधि मनोनित गर्ने कार्यालय सचिव डा अधिकारीले जानकारी दिनुभयो ।
मुस्ताङ: मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा इन्द्रबक्स गणको नेपाली सेनाको सहयोगमा एयर डाइनोष्टिक हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको हो । पर्वतका मनिष जिसी र म्याग्दीका सन्तोष कुँवर भारी हिमपातका कारण मुस्ताङ र डोल्पाको सिमानामा फसेका जानकारी पाएपछि सेनासँगको समन्वयमा सकुशल उद्धार गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । यही कात्तिक ९ गते उपल्लो डोल्पाको भ्रमणमा निस्किएका दुवै जना पहिलो दिन मुस्ताङ वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता गाउँमा बास बसेका थिए । त्यसपछि त्यहाँको साङ्ता गाउँ हुँदै उपल्लो डोल्पाको भ्रमणका लागि उपल्लो डोल्पाको छार्का पुगेका थिए । प्रतिकूल मौसम र भारी हिमपातका कारण उपल्लो डोल्पाको छार्कामा रोकिएका जिसी र कुँवर छ दिनसम्म छार्कामा रोकिएका उहाँले बताउनुभयो । हिमपात रोकिएर मुस्ताङ फर्किने पर्खाइमा रहेका जिसी र कुँवर कात्तिक १६ गते हिमापात रोकिएपछि त्यहाँबाट स्थानीय निर्माण व्यवसायी विकास रोकायासँगै छार्का हुँदै मुस्ताङ प्रस्थान गरेका थिए । दुई जना पर्यटकसँगै आएका रोकाया छार्का ब्यारेलबाट छुट्टिएका थिए । रोकाया स्थानीय नागरिक भएकाले मुस्ताङको साङ्ता गाउँ पुगेपनि पर्यटकद्वय समुद्री सतहको पाँच हजार मिटर उचाइमा पर्ने छार्का ब्यारेलबाट पदमार्ग पहिचान गर्न नसक्दा चार दिनसम्म अलपत्र परेका प्रजिअ भुसालले उल्लेख गर्नुभयो । उहाँका अनुसार रोकायाले सेटलाइट फोनमार्फत छार्का ब्यारेलमा दुई पर्यटक अलपत्र परेका स्थानीय प्रशासनलाई जानकारी गराएका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी भुसालले नेपाली सेनाको इन्द्रबक्स गणबाट दुई जना सेनाको टोली पुगेर हिमपातमा फसेका पर्यटकको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जानकारी दिनुभयो । पर्यटक जिसीले उपल्लो डोल्पामा भारी हिमपात भएकाले आफूहरू चार दिनसम्म मुस्ताङ र डोल्पाको सिमानामा अलपत्र परेको बताउनुभयो । उहाँका अनुसार रोकायाले दिनुभएको जानकारी पश्चात् स्थानीय प्रशासन र सेनाले उद्धार गरेको हो ।
काठमाडौं: विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिष्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ। आज आयोजित पार्टी एकता घोषणा तथा एकताको राष्ट्रिय सम्मेलनमा प्रस्तुत घोषणापत्रमा पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिला, २० प्रतिशत जेनजी नवयुवा तथा युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व गराइने उल्लेख छ। घोषणापत्रअनुसार जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा सामूहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्व वहन गर्नेगरी पार्टीको निर्माण र सञ्चालन गरिनेछ भने पार्टीको रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद राखिएको छ। राज्यसत्ता सञ्चालनमा आमजनताको संस्थागत सहभागिता र सरकारको काममा निगरानी गर्ने व्यवस्था सुनिश्चित गरिनेछ। जनअपेक्षाअनुरूप काम नगर्ने जनप्रतिनिधिलाई प्रत्याश्वान गर्ने व्यवस्था गरिनेछ। पहिलो चरणमा सामान्यतः तीनखम्बे अर्थतन्त्रका रूपमा सार्वजनिक क्षेत्र, सामूहिक वा सहकारी क्षेत्र र निजी क्षेत्रमा उद्योगधन्दा विकास गरिनेछ। सार्वजनिक क्षेत्रको क्रमशः विस्तार गर्दै लगिनेछ। वित्तीय एकाधिकार तथा दलाल पुँजीवादको शोषण र हस्तक्षेपबाट मुक्त एवं सार्वजनिक, सहकारी र निजी क्षेत्रको समन्वय, सहकार्य र गतिशील भूमिकासहितको समाजवादी अर्थतन्त्र निर्माण गरिनेछ। स्वदेशी कच्चापदार्थ र श्रमशक्ति प्रयोग हुने उद्योगधन्दाको व्यापक विस्तार र विकास गरी पर्याप्तमात्रामा रोजगारी सिर्जना गरिनेछ। देशको सम्पूर्ण श्रमसक्षम जनशक्तिलाई ‘योग्यताअनुसारको काम र कामअनुसारको दाम’ उपलब्ध गराउने गरी आर्थिक क्षेत्रको द्रुततर विकास गरिनेछ। सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता नेपाली कम्युनिष्ट पार्टीले २३ बुँदे प्रतिबद्धतापत्र पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ। नेपालको राष्ट्रिय स्वाधीनता, भौगालिक अखण्डता, स्वाभिमान र स्वतन्त्रता अक्षुण्ण राख्न दृढतापूर्वक लागिरहने, राष्ट्र र जनताप्रति इमान्दार, निष्ठावान् र समर्पित भई काम गर्ने सो पार्टीको प्रतिबद्धता छ। समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध रही नेकपाले आफ्नो स्थापनाकालदेखि राख्दै आएको वैज्ञानिक समाजवाद स्थापनाको महान् लक्ष्य प्राप्त गर्ने दिशामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। नेपालको वर्तमान संविधानको रक्षा गर्दै शासकीयस्वरूप र निर्वाचन प्रणाली, सङ्घीयताको सवलीकरण तथा स्थानीय तह र जप्रतिनिधिको सङ्ख्या घटाउनेलगायत विषयमा पहल गर्ने सो पार्टीको प्रतिबद्धता छ। भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीको अन्त गर्न तथा सुशासन, पारदर्शीता, सामाजिक न्याय र मुलुकको समृद्धिका लागि निरन्तर पहल गर्ने तथा उच्चस्तरीय अधिकारसम्पन्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेर हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गरी भ्रष्टाचारीलाई कडा कारबाही गराउन प्रभावकारी पहल गर्ने घोषणा गरेको छ। राज्यको सेवा प्रवाहलाई छिटो, छरितो र चुस्तदुरुस्त बनाउन र शिक्षा, स्वास्थ्यलगायत आधारभूत सेवा प्रवाहमा आमजनताको पहुँच स्थापित गर्न विशेष पहल गर्ने नेकपाको प्रतिबद्धता छ। विगतका कामको समग्र समीक्षा गरेर भएका कमी कमजोरी सच्याउँदै कार्यशैलीमा व्यापक सुधार, पुनर्गठन र रूपान्तरण गर्दै अघि बढ्ने तथा पार्टीमा आन्तरिक लोकतन्त्रको सुदृढीकरण गर्न र नेतृत्व विकास एवम् हस्तान्तरणको वैज्ञानिक विधि निर्माण गरी लागू गर्न तत्पर रहने प्रतिबद्धता पत्रमा उल्लेख छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा माओवादी–समाजवादी, नेकपा ९साम्यवादीलगायतका विभिन्न कम्युनिष्ट तथा समाजवादी समूहहरू एकताबद्ध भएर नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको हो। सम्मेलनबाट पार्टीको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकमा माधवकुमार नेपाल चयन हुनुभएको छ।
काठमाडौं: दसौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन पहिलो साता हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने दसौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म निर्णय गरेको हो । बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख रुपियाँ पुरस्कार दिन मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय पनि गरेको छ । त्यस्तै लामो समयदेखि राष्ट्रिय प्रतियोगिता नगर्ने राष्ट्रिय खेल संघलाई तीन महिनाभित्र राष्ट्रिय प्रतियोगिता गर्न निर्देशन दिने, राष्ट्रिय खेल संघ आफैले घोषणा गरेको खेलाडीको सुविधा र पुरस्कार १५ दिनभित्र सम्बन्धित खेलाडीलाई उपलब्ध गराउन निर्देशन दिने, खेल संघले वैदेशिक भ्रमण सम्बन्धी प्रतिवेदन राखेपमा पेश गर्न निर्देशन दिनेलगायतको निर्णय गरेको छ । बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, खेलकुद मन्त्रालयका सचिव डा। हरिप्रसाद लम्साल, राखेपका सदस्य सचिव टंकलाल घिसिङ, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो ।

