राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहा प्रस्थान

काठमाडाैं | कात्तिक १७, २०८२

राष्ट्रपति रामचन्द्र पौडेल कतारको दोहा प्रस्थान

काठमाडौं:  राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही १८ देखि २० गतेसम्म आयोजना हुने सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।


कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।


राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले बिदाई गर्नुभएको थियो ।


सो अवसरमा सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक निकायका प्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो ।


राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुने कार्यसुची रहेको छ । सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ ।


संयुक्त राष्ट्रसङ्घको निर्णयअनुसार यो दोस्रो सम्मेलन ३० वर्षपछि हुन लागेको हो । यसअघि पहिलो सम्मेलन सन् १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो । यसपटक कतारले सम्मेलन आयोजना गरेको हो ।


सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ ।


सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धतासमेत जाहेर गर्नेछ । 


। राष्ट्रपति पौडेलसँग उहाँका धर्मपत्नी सविता पौडेल, सञ्चारविज्ञ किरणकुमार पोखरेल, राष्ट्रपति कार्यालयका सचिव तथा नेपाल सरकारका अन्य विशिष्ठ अधिकारी सहभागी हुनुहुन्छ ।


राष्ट्रपति पौडेल भ्रमण पूरा गरी यही कात्तिक २० गते स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं:  भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...

थप पढ्नुहोस्

काठमाडौं:  बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।  कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्