पोखराः शिक्षासेवीडा। टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा निधन भएको छ । पोखरा ११फूलबारीस्थित निवासमा आइतबार मध्यान्ह १२ बजेर ५५ मिनेटमा उनको निधन भएको हो । सम्पूणानन्दविश्वविद्यालय बनारसबाट संस्कृत साहित्यमा प्रथम श्रेणीमा आचार्य तथा विद्यावारिधि गरेकाडा। बास्तोलाले लामो समय शिक्षासेवामा अर्पण गरेका थिए । वाराही माविमा निरन्तर अध्यापन गरेर सेवानिवृत्त भएका उनी त्यसपछि पनि विभिन्न शैक्षिक, सामाजिक,धार्मिक तथा साहित्यिक संस्थाहरुमा क्रियाशील रहेका थिए । उनी शिव शक्ति मावि, शिक्षा महाविद्यालय र रामेश्वर मन्दिर फूलबारीका पूर्व अध्यक्षहुन् । यसैगरी,लेखनाथ साहित्य प्रतिष्ठानका सल्लाहकार तथा लेखनाथ जन्मघर जीर्णोद्धार समितिका संयोजक रहेका थिए । उनले शिवशक्ति माविमा प्रतिभा सम्मान कोष स्थापना गरेका छन् । यसैगरी विभिन्न धार्मिक अनुष्ठानहरुमा उनको सहयोग रहेको छ । उनीमहेन्द्र विद्याभूषणबाट विभूषित भएका थिए । वाराही मावि, शिवशक्ति मावि,शिव शक्ति क्याम्पस, शिक्षा महाविद्यालय, लेखनाथ साहित्य प्रतिष्ठान, नवनीत साहित्य सागर,विन्दुवासिनी संस्कृत विद्यापीठ लगायतका संस्थाबाट उनी सम्मानित भएका थिए ।स्व।बास्तोलाका धर्मपत्नी मुगादेवी, छोरा रमेश, दुई छोरी प्रभा पौडेल र कमला पराजुलीतथा पाँच नातिनातिना छन् । साथै, एक दाजु, तीन भाइ र एक बहिनी छन् । दिवंगत बास्तोलाको शवयात्रा सोमबार बिहान १० बजे हुने परिवारले जनाएको छ । पोखरा–११ सेतीगण्डकी,कालीखोला र भलाम खोलाको दोभान रिठ्ठाघाटमा अन्त्येष्टि हुनेछ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कुकुर वडा कार्यालयमा सुचिकृत गरि रेविजको सुई लगाएर सुरक्षित रहन वडावासीलाई आग्रह गर्नुभएको छ । सनराईज टोल विकास संस्था पोखरा १७ को दोश्रो बार्षिक साधारण सभाको आज उद्घाटन गर्दै उहाँले वडामा सुचिकृत भएका घरपालुवा कुकुरलाई वडाले निशुल्क रेविजको सुई लगाउने व्यवस्था गरेको जानकारी दिनुभयो । वडामा दर्ता शुल्क सय रुपैया लाग्ने गरेको बताउँदै उहाँले सुचिकृत भएका कुकुरलाई ुपशुसेवा केन्द्रमार्पmत रेविजको सुई लगाउदै आएको बताउनुभयो । शोखका लागि घरमा पालिएका कुकुरलाई बाटोमा लगेर फोहोर गराउनेलाई कार्वाही गरिने उहाँको भनाइ थियो । पशुसेवा केन्द्र छोरेपाटनमा हालसम्म ५० वटा मात्र घरपालुवा कुकुर दर्ता भएका छन् । गत आर्थिक बर्षमा वडाले सञ्चालन गरेको कुकुर दर्ता अभियानबाट ५० वटा घरपालुवा कुकुर दर्ता भएको भएपनि यस बर्ष भने थप नभएको पशुसेवा केन्द्र छोरेपाटनले जनाएको छ । सिमित श्रोत र साधनका वावजुद पनि वडाको समग्र विकासमा जुट्दै आएको बताउँदै वडाअध्यक्ष योगीले भन्नुभयो, जनसंख्याको आधारमा सवै भन्दा ठूलो र बसाई सराईको अत्याधिक चाप भएको यस वडावासीका कतिपय अपेक्षा पुरा गर्न सकिएको छैन । टोल विकास संस्थाका अध्यक्ष प्राणनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडासदस्यव्दय विक्रम गुरुङ, विष्णुमाया थापा, सनराईज आमा समुहका सचिव गंगा प्रधान,सन्दीप पराजुली, अर्जुन बहादुर बराल,लक्ष्मी थापा, महेन्द्र कुँवर लगायतले टोल छिमेकको विकास निर्माणमा संस्थाले खेल्दै आएको भूमिकाका वारेमा प्रकाश पार्नुभएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई बुझाउनुभएको हो । प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वद्र्धन तथा सशक्तिकरणका लागि आयोग बनेको उल्लेख गर्दै नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्भाव कायम राख्न मुस्लिम आयोग जस्ता आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेशसभामा छलफलका लागि पेश गरिने प्रदेश प्रमुख भट्टले बताउनुभयो । आयोगका कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रदेश प्रमुख भट्टसमक्ष जानकारी गराउनुभयो । अलीले मुस्लिम समुदायको अवस्था सुधारका लागि आयोगले प्रयास गरिरहेको बताउँदै पर्याप्त श्रोत साधन, बजेट र अधिकार नहुँदा आयोगले काम गर्न नसकेको गुनासो आयोगको छ । गण्डकी प्रदेश प्रमुखको कार्यालयमा आयोजित प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका सचिव बद्रीनाथ अधिकारी, प्रमुख स्वकीय सचिव अर्जुन अधिकारी लगायतको उपस्थिति रहेको थियो । मुस्लिम आयोग स्थापना भएको छ वर्ष बितिसकेको छ । नेपालको संविधानको धारा २६४ अनुसार आयोग गठन भएको थियो । यसका लागि २०७४ सालमा मुस्लिम आयोग ऐन, २०७४ बनेको थियो ।
पोखरा: पोखराको बुद्धचोकस्थि टप्स सेकेन्डरी स्कुलमा विहीबारदेखि स्पोर्ट्स फेस्ट अन्तर्गत एसईई कप २०८२ सुरु भएको छ । एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गरी विद्यालयले स्पोर्टस् फेस्टको आयोजना गरेको हो । यही असार १० गतेसम्म संचालन हुने फेस्टमा फुटसल, भलिबल (महिला र पुरुष), बास्केटबल (महिला र पुरुष) र साइन्स क्विज कन्टेस्ट खेल हुनेछन् । विद्यालयका खेलकुद संयोजक विमल देवकोटाका अनुसार फुटसलमा ७४ टीमको सहभागिता रहेको छ । यसैगरी बास्केटबलमा २४ छात्र र ४ छात्राको टीम, भलिबलमा ४८ छात्र र २२ छात्राको टीमको सहभागिता रहेको छ भने साइन्स क्विजमा ३२ टीम सहभागी हुदैछन् । पहिलो दिन भएको बास्केटबल प्रतियोगितामा ५ खेलमात्र भए । देवकोटाले शैक्षिक गतिविधिसंगै खेलकुदको क्षेत्रमा पनि छुट्टै पहिचान बनाउने उद्देश्यसाथ प्रतियोगिताको आयोजना गरिएको बताए । स्पोर्टस् फेस्टको उद्घाटन गर्दै पोखरा–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले खेल गतिविधिले एसईई दिएर बसेका विद्यार्थीको प्रतिभा प्रस्फुटनमा सहयोग पुग्ने बताए । उनले विद्यार्थीले कितावी ज्ञानले मात्र नभई खेल क्षेत्रबाट पनि आफ्नो भविष्य निर्माण गर्न सक्ने जनाए । ‘टप्स स्कुल शैक्षिक लगायत खेलकुदजस्ता गतिविधिका माध्ययमबाट देशकै अग्रणी शैक्षिक संस्थाको रुपमा बिकास भएको देख्न चाहन्छु’, उनले भने । कार्कीले प्रतियोगिताका प्रमुख रेफ्री दीपल गुरुङलाई बल हस्तान्तरण गरेका थिए । विद्यालयका अध्यक्ष बलबहादुर थापाले यतिबेला टप्स सेकेन्डरी स्कुलका विषयमा पोखरामात्र नभई बाहिरी जिल्लाबासीले पनि चासोको साथ हेरेको बताए । आफुहरुले केही वर्षभित्रै विद्यालयलाई उत्कृष्ट बनाउने योजन साथ अघि बढेको भन्दै थापाले यसैक्रममा एसईई दिइ बसेका विद्यार्थीलाई लक्षित गरी खेल प्रतियोगिताको आयोजना गरिएको बताए । विद्यालयका प्रवन्ध निर्देशक चन्द्रकान्त बस्ताकोटीले विद्यार्थीमा रहेको खेलकुदको प्रतिभालाई प्रदर्शन गर्ने माध्ययमका रुपमा प्रतियोगिता आयोजना गरिएको बताए । विद्यालयका खेलकुद शिक्षक ऋषिसरा थापाले खेलकुद अनुशासन र स्वास्थ्यको प्रतिक रहेको बताइन् । साइन्स केमेष्ट्री संयोजक विकल रानाभाटले चालु शैक्षिक सत्रबाट नयाँ व्यवस्थापनका साथ विद्यालय संचालन भएको भन्दै कक्षा ११ मा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्टको पढाई सुरु गर्न लागिएको जानकारी दिए । कार्यक्रमको सञ्चालन शिक्षक आत्माराम अधिकारीले गरेका थिए ।
पोखरा: पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा पाचौं हेमजा हिले महोत्सव २०८२ हुने भएको छ । यहि असार १५ गते ‘कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान’ भन्ने मूल नाराका साथ महोत्सवको आयोजना हुने भएको हो । महोत्सव देविस्थान टोल,विष्णुपादुका मन्दिर परिसर क्षेत्र पोखरा २५ हेमजामा हुने छ । क्लब उपाध्यक्ष चन्द्रकला पोखरेलको संयोजकत्वमा विभिन्न उपसमितिका साथ मुल आयोजक समिति गठन गरिएको छ । विष्णुपादुका धार्मिक क्षेत्रको प्रवर्द्धन र आन्तरिक र बाह्य पर्यटनको आगमन बढाउन र हेमजाका कृषकहरूको सम्मान र युवाहरूलाई कृषिमा प्रोत्साहनका लागि हेमजा हिले महोत्सवलाई निरन्तरता दिएको अध्यक्ष कृष्णमान श्रेष्ठले जानकारी दिए । महोत्सवको आकर्षणमा पुरुष तथा महिला रस्साकस्सी, पुरुष तथा महिला हिले दौड, घैटो फुटाउने , हिलोमा माछा समात्ने, धान रोप्ने, म्युजिकल बेलुन, हिले नाँच, हल गोरु दौड लगायतका प्रतियोगिता रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चन्द्रकला पोखरेलले जानकारी दिइन ।
पोखरा: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् । सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतिष्ठानले गण्डकी प्रदेशका ९ जिल्लामा गरेको अडिसन मार्फत उनीहरु छानिएका हुन् । यसरी छानिनेमा कास्कीबाट उमेश अधिकारी र सपना विश्वकर्मा रहेका छन् । स्याङजाबाट दिलिप कुमार मानन्धर र ज्ञानीमाया गुरुङ, पर्वतबाट अप्सन बिक र शोभा परियार, बागलुङबाट प्रेम बिक र ललिता घर्ती छनोट भएका छन् । म्याग्दीबाट विजय परियार र गरिमा परियार, तनहुँबाट अन्जना गुरुङ, कमल आले, गोरखाबाट पवन श्री परियार र निश्चल गुरुङ, लमजुङबाट मन बहादुर गुरुङ रञ्जित र युगेश परियार, नवलपुरबाट यजीकल परियार र कोपिला गुरुङ रहेका छन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा भने प्रतिष्ठानको शाखा छैन । विश्व सङ्गीत दिवसको दिन असार ७ गते हुने अन्तिम प्रतिष्पर्धाको लागि उनीहरू आ–आफ्नो जिल्लामा भएको जिल्ला अडिसनबाट छानिएको प्रतिष्ठान गण्डकी प्रदेश समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए । नयाँ कलाकारलाई मञ्च प्रदान गर्दै लुकेर रहेको उनीहरूको प्रतिभा बाहिर ल्याएर अगाडि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले पहिलोपटक यो कार्यक्रम गरिएको उनको भनाइ छ । कार्यक्रमको तयारी तीव्रताका साथ अगाडि बढिरहेको उनले बताए । प्रतियोगितामा प्रथम हुन सफल प्रतिभाले लोक ताराको उपाधि सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ समेत हात पार्नेछन् । द्वितीय पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँ, तृतीय पुरस्कार २१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । प्रथम, द्वितीय र तृतीयले निःशुल्क एउटा अडियो रेकर्ड गर्ने अवसर समेत पाउनेछन् । प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी रहेका छन् । अन्य निर्णायकमा वरिष्ठ संगितकार नवराज बराल, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक पशुपति शर्मा, गायिका शान्ति गुरुङ रहेका छन् । सेमिफाइनल र फाइनल प्रतिष्पर्धा असार ७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुनेछ । प्रतियोगीले ५ मिनेटको प्रस्तुती राखेपछि उत्कृष्ट १० छनोट गरिने कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिए । उत्कृष्ट १० पुग्नेले आयोजकले दिएका १९ वटा गीत मध्येबाट एउटा गीत र आफ्नो इच्छा अनुसारको एउटा गीत गाउनुपर्ने कार्यक्रम संयोजक सुवेदीले खुलाए । ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । प्रतिष्ठान गण्डकीले गर्ने कार्यक्रम आउन एक महिना बाँकी हुँदै गर्दा तयारी तीव्रताका साथ अगाडि बढाइरहेको कार्कीले बताए । यो वर्ष अधिवेशनको वर्ष समेत भएको र यो कार्यक्रम आफ्नो कार्यकालको विशेष कार्यक्रम समेत भएको भन्दै कार्कीले सबैको साथ सर्पोटमा भव्यताका साथ कार्यक्रम सम्पन्न हुने विश्वास गरेको सुनाए । प्रतियोगितामा मुख्य प्रायोजन पोखराको सिर्जनाचोकमा रहेको आरके हस्पिटालिटी ह्युमन रिर्सोस मेनेजमेन्ट प्रालिले गरेको छ ।
पोखरा: अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गौरा आयोजित जेष्ठ नागरिक सम्मान एवं खुल्ला रक्तदानमा ६० युनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा ६० जनाले रक्तदान गरेका थिए । समाजले वार्षिकरुपमा गर्दै आएको रक्तदान कार्यक्रम यस वर्ष विश्व रक्तदाता दिवसकै अवसर पारेर आयोजना गरिएको समितिका अपाध्यक्ष एवम कार्यक्रम संयोजक श्रीराम अधिकारीले बताए । कार्यक्रमको अधिकारी समाज कास्की जील्ला अध्यक्ष हेमन्त अधिकारीले समाजकै आजीवन सदस्य ओम प्रसाद अधिकारीलाई व्लडव्याग हस्तान्तरण गरि उद्घाटन गरे । कार्यक्रममा बोल्दै अधिकारीले इकाइ समितिको सक्रियताको प्रंशसा गर्र्दै समाजिक कार्यमा सबै एकजुट हुन आग्रह गरे । उनले किशोर किशोरीहरुले आफ्नो युवा अवस्थामा प्रवेश गरिरहदा आफ्नो १८ औं जन्मदिन रक्तदान गरेर सामाजिक एवम् मानविय धर्म कार्यको सुरुवात गर्नुपर्ने बताए । प्रादेशिक रक्त सञ्चार सेवा कास्कीका वरिष्ठ प्राविधिक महेन्द्र केसीले रगतको विकल्प रगत मात्रै भएको बताउदै दुर्घटना, शल्यक्रिया वा अन्य आकस्मिक अवस्थामा रगतको आवश्यकता मानिसको जीवन संग जोडिएको बताए । सो अवसरमा समाजका जिल्ला सदस्य पूर्णभद्र अधिकारी , पुर्व जील्ला अध्यक्ष शंकर प्रसाद अधिकारी लगाएत बोलेका थिए । कार्यक्रममा ८० वर्ष पुरा भएका इकाइ समिति भित्रका ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मान हनेमा रविलाल , वालाकृष्ण, नन्दकली, धनमाया, चुडामणी र वसन्धरी अधिकारी रहेका छन् । अधिकारी समाज कास्की इकाई समिति प्रस्याङ्गका अध्यक्ष रुद्रप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव पुष्पराज अधिकारीले गरेका थिए ।
पोखरा: पोखरा घुम्न आएकी बुटवलकी युवतीको होटलको छतबाट खसेर गएराति मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ जरेबरस्थित होटल रुद्राक्षको पाचौं तलाबाट खसेर गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । ‘बुटवलबाट जेठ २९ गते पोखरा घुम्न आएकी भण्डारी होटलको छतबाट खसेर गम्भिर घाइते भएकी थिईन, सूचना अधिकारी बस्नेतले भने, ‘ होटलको छतबाट खसेर गम्भिर घाइते भएकी भण्डारीको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।’ रुपन्देहीको बुटवल उपमहानगरपालिका–१० रानीवन घर भएकी ३२ वर्षीय सरिता भण्डारी जेठ २९ गते दुईछोरा र श्रीमानसहित पोखरा घुम्न आएकी थिईन् । दुईछोरा अहिले होटलमा रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: पछिल्लो समय जन्मदिनमा तडकभडक नभई सामाजिक एवम् शैक्षिक क्षेत्रमा लगानी गर्नुपर्दछ भन्ने सोच बढेको छ । सो भावनाले प्रेरित भई यहाँका एक युवाले जन्मदिनको खर्च कटौती गरेर विद्यालयलाई सहयोग गरेर छन् । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडाका युवा एलेक्स शर्मा भण्डारीले जानकी माध्यमिक विद्यालयमा ५५ हजार ५५५ रुपैयाको अक्षयकोष स्थापना र विद्यार्थीलाई १० हजार मुल्य बरावरको शैक्षिक सामाग्री वितरण गरेर आप्mनो जन्मदिन मनाएका हुन । इन्फोम्याटिक कलेज रानीपौवामा स्नातक तह प्रथम बर्षमा अध्ययनरत भण्डारीले खाजा खर्च कटाएर जम्मा गरेको रकमले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन भने बुबा नगेन्द्र शर्मा र आमाव्दय लक्ष्मी र अनितासंगको अनुरोधमा विद्यालयमा अक्षयकोषको स्थापना गर्न सफल भएको राससलाई बताए । विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष विक्रम भण्डारी, व्यवस्थापन समितिका सदस्यहरु, प्रधानाध्यापक अर्जुन कडेल, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा शैक्षिक सामाग्री र उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । २०३५ सालमा स्थापना भएको सो विदालयमा हाल तीन सय भन्दा बढी अध्ययनरत छन् ।पछिल्लो समय सामुदायिक विद्यालय समाजका विपन्न, र असहाय वर्गका विद्यार्थीको अध्ययनको थलो बन्दै आएको छ । विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत बाँसका सामाग्री बनाउने सिपमूलक कार्यक्रम समेत सञ्चालन गरेको छ । जसका लागि गण्डकी प्रदेश सरकारले यस आर्थिक बर्षमा पाँच लाख रुपैया विनियोजन गरेको प्रधानाध्यापक अर्जुन कडेलले जानकारी दिनुभयो ।