फेवातालको सिमाना (तालघर) मा पिल्लरहरु गाड्न सुरु गरिएको छ । तिनै तहका सरकारका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा फेवाताल सम्बन्धमा सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयनका लागि तालको सिमाङ्कन गरी सिमाक्षेत्रमा क्षेत्रमा पिल्लरहरु गाडिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभयो । फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएका छन् । फेवातालको सिमाङ्कन गरी प्रतिवेदन पेस गर्न गठित प्राविधिक उपसमितिले फेवातालको सिमाना यकिन गर्न डिजिपिएस प्रविधि र ड्रोन सर्वे मार्फत डिटेल सर्वेक्षण गरेको थियो । पछिल्लो रिपोर्ट अनुसार २९ वटा मुख्य आधार विन्दुहरू कायम गरी ४० से.मि उचाइका २९ पिल्लरहरु जमिनमुनि गाडिएका छन् । यसको आधारमा ९ हजार नियन्त्रण बिन्दुहरू कायम गरिएको छ । ती विन्दुहरूको आधारमा तालको चार किल्ला क्षेत्रको सिमानामा १ हजार ५५ वटा पोलहरू गाडिने योजना रहेको छ । पहिलो दिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी नायव निरीक्षक दिनेश कुमार आचार्य लगायतको उपस्थितिमा फेवातालको सिमाक्षेत्रमा ७ वटा पोलहरू गाडिएका छन् । सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड तथा विभिन्न समयमा बनेका फेवातालका नक्साहरूको अध्ययन पश्चात् फेवातालको हाई फ्लोड लेबल ७९४.९५ मिटर कायम गरिएको छ । उक्त विन्दुलाई आधार मान्दा तालको ताल घर ६.३४३ वर्ग कि.मी अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम हुन आउँछ ।
पाेखरा: पोखरास्थित फेवातालको क्षेत्रफल हालभन्दा ६ सय १७ वर्ग किलोमिटर (१ हजार २ सय १३ रोपनी) बढेको देखिएको छ । सर्वोच्च अदालतको परमादेशपछि गरिएको अध्ययनले फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिअन्तर्गत गठित प्राविधिक उपसमितिले पानीको उच्चतम बहावलाई मुख्य आधार मानेर गरेको अध्ययनले ताल घर र ६५ मिटरभित्र पर्ने क्षेत्रफल बढेको देखाएको हो । सहजीकरण समितिले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको क्षेत्रफल पछिल्लो प्रतिवेदनभन्दा ६ सय १७ वर्ग किलोमिटर (१ हजार २ सय १३ रोपनी) बढी हो । सो उपसमितिको अध्ययन अनुसार ताल घर ६.३४३ वर्ग किलोमिटर (१२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम) छ । यो ०८१ असार १२ मा पोखरामा भीषण वर्षा हुँदा पहिचान गरिएको उच्चतम पानीको किनाराको क्षेत्रफल हो । डीजीपीएस प्रविधि र ड्रोन सर्भेमार्फत तालको क्षेत्रफल यकिन गरिएको हो । पछिल्लोपटक ०७७ मा सार्वजनिक पुण्य पौडेल आयोगको प्रतिवेदनले फेवातालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा भएको निष्कर्ष निकालेको थियो । उक्त क्षेत्रफल ०७८ फागुन १६ मा राजपत्रमा प्रकाशन भएको थियो ।
पोखराको सृजनाचोकमा स्कुटरको ठक्करबाट गम्भीर घाइते भएका एक लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार मादी गाउँपालिका घर भई पोखरामा बसोबास गर्दै आएका ईच्छा क्षेत्री भन्ने विष्णुबहादुर बुढाथोकी लाई जेठ १२ गते राति करिब १०:५० बजे सृजनाचोक र सभागृह चोकबीचको सडक खण्डमा सडक पार गर्ने क्रममा अज्ञात स्कुटरले ठक्कर दिई फरार भएका थिए । उनको उपचारकै क्रममा जेठ १४ गते उनको निधन भएको थियो । उक्त घटनापछि काठमाडौँ महानगरपालिका–२६ निवासी ३३ वर्षीय समिरराज महर्जनलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका–११ स्थित फूलबारी चोकबाट उक्त दिनै (जेठ १४ गते) पक्राउ परेका महर्जनसँगै प्र.३–०२–००७ प २०२९ नम्बरको स्कुटरसमेत बरामद गरिएको छ । पक्राउ परेका महर्जनलाई सवारी ज्यान सम्बन्धी कसूरमा सात दिनको म्याद थप गरी कास्की जिल्ला अदालतको आदेशमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पोखरा: शुक्रबारदेखि आन्दोलनरत यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र आज (शनिबार) पनि कालो प्लेटका (सार्वजनिक यातायात) सवारी साधन ठप्प पारेका छन् । गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा राखेका हुन् । गण्डकी सरकारले आफुहरुलाई वार्ताका लागि नबोलाएकाले गण्डकी प्रदेशभरी सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा थन्काएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए । उनले यातायात व्यवसायीको माग पुरा नभए आगामी १९ गतेदेखि देशभर सार्वजनिक यातायात घर, ग्यारेजमा थन्काउने बताए । ‘हामी वार्ताका लागि सधैं तयार छौ । यदी हाम्रो माग सुनुवाई भएन भने १९ गतेदेखि देशभर आँधीबेरी ल्याउछौ र त्यसको जिम्मेवारी प्रदेश सरकारले लिनुपर्छ ।’ नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने यातायात व्यवसायीहरुको माग छ ।
पोखरा महानगरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर २ बालकको ज्यान गएको छ । बिहीबार पौडी खेल्न पुगेका माछापुच्छ्रे गाउँपालिका–६ का १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियारको खोलामा डुबेर ज्यान गएको हो । उनीहरु बिहीबार दिउँसो करिब पौने २ बजे खोलामा पौडी खेल्ने क्रममा डुबेका थिए। त्यसपछि घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल २४ कालिका गण, कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र कटवालको नेतृत्वमा खटिएको गोताखोरसहितको टोली घटनास्थलमा पुगेको थियो। टोलीले करिब २० फिट गहिराइमा डुबेका बालकहरूको शव फेला परेको थियो ।
पाेखरा: यातायात व्यवसायीले गण्डकी प्रदेशभित्र आज सार्वजनिक यातायात नचलाउने निर्णयसँगै पोखराका सडक सुनसान देखिएको छ । गण्डकी प्रदेश सरकारले गत वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमागण्डकीमा आजदेखि आन्दोलन थालेका हुन् । सोही आन्दोलन अन्तर्गत आजदेखि गण्डकी प्रदेशभरी सार्वजनिक सवारी साधन घर तथा ग्यारेजमा थन्काएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताए । उनले यातायात व्यवसायीको माग पुरा नभए आगामी १९ गतेदेखि देशभर सार्वजनिक यातायात घर, ग्यारेजमा थन्काउने बताए । आज पोखरामा (रातो नम्बर प्लेट) निजी मात्रै सडकमा देखिएका छन् भने, सार्वजनिक यातायात ठप्प छन् । यातायात व्यवसायीहरुले नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् ।
पोखरा: नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको सह आयोजनामा आजदेखि पोखरामा ४५ दिने चिनिया भाषा तालिम सुरु भएको छ । नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गरी उनीहरूलाई प्रदान गरिने आतिथ्यतामा भाषाको विशेष महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै आयोजित तालिममा ८४ जनाको सहभागिता छ । पोखरामा चिनिया पर्यटकको आगमन बढीरहेका सन्दर्भमा भाषिक सञ्चारको विशेष महत्व हुने भएकोले तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो । तालिममा पर्यटन क्षेत्र सम्बन्ध विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता छ । एक कार्यक्रमका बीच तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नेपाल र चिनबीचको सम्बन्ध विस्तार हुँदै गइरहेका अवस्थामा गरिएको तालिमले विशेष महत्व राख्ने बताउनुुभयो । हामी दुुई ठूला राष्ट्रको बीचमा रहेको बताउँदै उहाँले हाम्रो पर्यटनलाई राम्रो बनाउँदै उनीहरूलाई आकिर्षत गर्न सक्नुपर्नेमा जोड दिनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले चिनमा आफ्नै भाषा बोल्ने क्रम बढी रहेको बताउँदै उनीहरू नेपाल भ्रमणमा आउँदा चिनिया भाषा जान्नेले राम्रो आतिथ्यता प्रदान गर्न सक्ने बताउनुुभयो । पर्यटनका सबै क्षेत्रका व्यक्तिलाई समेटेर तालिम दिन लागिएको बताउँदै उहाँले यसले समग्र पोखराको पर्यटनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनको छेन्दुमा पहिलो व्यवासायिक चाटर्ड उडानसँगै हालसम्म चारवटा उडान भैसकेको बताउनुुभयो । चिनसँगको पर्यटकीय सम्बन्ध विस्तार भैरहेका अवस्थामा गर्न लागिएको चिनिया भाषा तालिम बहुउपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो । नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किरोर दाहालको सभापतित्व एवम् महासचिव चेतबहादुर कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका सचिव नवराज भण्डारीले गर्नुभएको थियो । कार्यक्रममा पोखरा भ्रमण वर्ष कार्य सम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवम् होटेल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैरे, पूर्व अध्यक्ष हरिरम अधिकारी, पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासु त्रिपाठी लगायतले तालिमको महत्व सम्बन्धमा आ आफ्ना धारणा राख्नुभएको थियो ।
पोखरा: यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो । पुरस्कारको राशि रु. २५ हजार नगद र सम्मानपत्र रहेको छ । उनलाई यही जेठ २० गते घान्द्रुकमा हुने अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा सम्मान गरिनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित एवं सञ्चालित सो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने एक जना पत्रकारलाई ३ जुन अर्थात अन्नपूर्ण हिमाल आरोहण दिवस दिन प्रदान गरिन्छ । प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङ रहेका थिए । सदस्यहरुमा पत्रकार समेत रहेका आयोजक समितिका कानूनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक पत्रकार टंकराज अधिकारी सगै पदेन सदस्यहरुमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलिप गुरुङ रहेका थिए । यस अघि सो पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार, दोस्रोपटक रुपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रुपमा र तेस्रोपटक रविचन्द्र पराजुली सम्मानित भइसकेको छन् । पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीका जेठा छोरा हुन् । २०६१ सालदेखि पोखरामा रहेर पत्रकारिता गदै आएका पराजुलीले सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकमा विद्यार्थी पत्रकारको रुपमा पत्रकारीताको यात्रा सुरु गरेका थिए । त्यसपछि जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ देखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा आवद्ध रहदै पत्रकारीता क्षेत्रमा कृयाशिल छन् । विशेषगरी खोज पत्रकारिता तथा विकृति विसंगतिविरुद्ध कलम चलाउने पत्रकारको रुपमा परिचित पराजुली साहसी र निडर मानिन्छन् । पराजुलीले यस अघि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड २०८० बाट पुरस्कृत एंव सम्मानीत भै सकेका छन् । विभिन्न संघ संस्थाहरुबाट विभिन्न तालिम समेत लिएका पराजुली नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका पूर्व सचिव समेत हुन् । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणको ७५ औं अर्थात हिरक महोत्सव मनाइदैछ । सोही अवसरमा समितिले पदयात्राका लागि विश्वकै १० मध्येको एक अन्नपुर्ण पदमार्गमा २० जेठमा पाँचौ संस्करणको अन्नपुर्ण म्याराथन २०८२ आयोजना गदैछ । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण आरोहण दिवस अर्थात् जुन थर्डको अवसर पारि समितिले विगत पाँच वर्षदेखि म्याराथन आयोजना गदै आएको हो । चार हजार १३० मिटर उचाईमा रहेको अन्नपूर्ण आधारशिविरबाट सुरु हुने ४२.१९५ किलोमिटरको म्याराथन त्यसपछि माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ चुईले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुदै एक हजार ९५५ मिटर उचाईमा रहेको घान्द्रुकस्थित श्री मेश्रम वराह मा।वि।को खेल मैदानमा आएर सम्पन्न हुनेछ । अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गको पूर्वाधार विकास, पर्यटन प्रबद्धन सगै खेल पर्यटनको विकास र विस्तार गर्ने उदेश्य सहित म्याराथन आयोजना गदै आएको आयोजक समितिका अध्यक्ष एंव म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए । ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजार भन्दा अग्लो हिमाल आरोहण गरि विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाईदै आईएको छ । महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने म्याराथनको दुबैमा प्रथम हुने धावकले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार सगै पदक र प्रमाणपत्र पुरस्कार पाउने छन् । यसै गरि म्याराथनका थप पुरस्कारहरुमा अन्नपूर्ण गाउँपालिका प्रथमलाई विशेष पुरस्कार (अन्नपूर्ण गा.पा. घर भई म्याराथनमा सहभागी भएको धावक), गण्डकी प्रदेश प्रथमलाई विशेष पुरस्कार (गण्डकी प्रदेशमा घर भई म्याराथनमा सहभागी भएको धावक), महिलातर्फ निरन्तर तीन पटकसम्म सहभागी हुने धावकलाई विशेष पुरस्कार, विदेशी धावक (महिला तथा पुरुष) प्रथमलाई विशेष पुरस्कार, ७५ औं स्थान प्राप्त गर्ने धावकले डायमण्ड जुब्ली अवार्ड पाउनेछन् । त्यसै गरि विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्काको ब्यवस्था गरिएकोे छ ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मानव अधिकारको सवालमा आफू सचेत हुनुपर्ने र अरूको सम्मान गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २५ औं वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख भट्टले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन भए नभएको बारे ख्याल गर्न जरुरी रहेको बताउनुभयो । सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिनेमा प्रदेश प्रमुख भट्टको जोड छ । ‘हामी सबै आफ्नो अधिकारप्रति सचेत र अरूका अधिकारप्रति सम्मान गर्न सक्नुपर्दछ । विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड हो ।’ उहाँले भन्नुभयो – ‘लोकतन्त्र, मानव अधिकार र कानूनी शासन एक अर्काका परिपूरक रहेका छन् । मुलुकमा सुशासन र विकासका लागि यस्ता संस्थाहरूको सम्वद्र्धन जरूरी छ ।’ मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षण गर्नमा आयोगले आफ्नो स्थापनाकालदेखि नै महत्वपूर्ण योगदान गर्दै आइरहेको उल्लेख गर्नुहुँदै भट्टले आयोगले निरन्तर पर्यवेक्षण र अनुगमन गरी प्राप्त सुझावबाट नेपाल सरकारलाई मानव अधिकार संरक्षण गर्न थप मद्धत पु¥याएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘मानव अधिकारप्रतिको आफ्नो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दायित्व पूरा गर्नको लागि नेपाल सरकारलाई योजना बनाउन र त्यसको कार्यान्वयन गर्ने चरणमा समेत आयोगले पु¥याउँदै आइरहेको सहयोगप्रति पनि धन्यवाद छ ।’ मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मानव मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको हुँदा मानिसलाई मानिस भएर बाँच्नका लागि अपरिहार्य रहेको उहाँको भनाई छ । ‘मानव अधिकार मानिसको रूपमा जन्मेकै कारण मानव मात्रले पाउने नैसर्गिक अधिकार हो । मानव अधिकार अन्तराष्ट्रिय कानूनद्दारा सिर्जना हुने र राष्ट्रिय कानुनद्वारा कार्यान्वयन हुने हो ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘मानवले मानव भएर बाँच्न पाउनुपर्दछ भन्ने विश्वव्यापी धारणा मात्र होइन, यो आजको अपरिहार्य आवश्यकता हो ।’ राजनैतिक संरक्षण तथा दण्डहिनताको संस्कृतिले मानव अधिकारको सिद्धान्तलाई उपेक्षा गर्ने हुनाले यसतर्फ सबैपक्ष सचेत बन्नुपर्ने उहाँले बताउनुभयो । ‘मानव अधिकार रक्षकलाई कार्यसम्पादनका लागि डरत्रास रहित सुरक्षित वातावरण जरूरी छ । मानव अधिकार रक्षकको संरक्षणले मानव अधिकारको सम्मान, लोकतन्त्रको संवद्र्धन, सुशासन, दिगो विकास र विधिको शासनको सम्मानजस्ता बृहत् उद्देश्यहरूलाई टेवा पुग्दछ ।’ उहाँले भन्नुभयो । मानव अधिकार सम्बन्धी जनचेतनाको अभाव रहेको हुँदा मानवअधिकार शिक्षालाई विद्यालय पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले थप्नुभयो – ‘मानव अधिकारको सम्मान र संरक्षण सबैको दायित्व हो । यसको पालनाका लागि सबै पक्ष उत्तिकै जिम्मेवार रहनुुपर्ने हुन्छ ।’