पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   १२ औं राष्ट्रिय विज्ञान दि...

पोखरा:     पोखरा बस्दै आएका भारतीय नागरिक लागूऔषधसहित पक्राउ परेका छन् । पोखरा–१२ भृकृटी टोल बस्दै आएका ४६ बर्षीय शिवकुमार बानियाँलाई लागूऔषधसहित प्रहरीले आइतबार पक्राउ गरेको हो ।  भारतको बनारस स्थायी घर भई पोखरा–१२ बस्दै आएका बानियाँले डेराकोठामा लुकाई राखेको लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।  ‘पोखरा–१२ भृकुटी टोलमा लागूऔषधको कारोवार भइरहेको गोप्य सूचना पाएका थियौं’, शर्माले भने, ‘सूचनापछि कास्की प्रहरी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको टोलीले बानियाँको डेराकोठाबाट लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।’ उनका अनुसार प्रहरीले बानियाँको कोठाबाट बुप्रिनर्फिन ३सय ५३ एम्पुल, डाईजापाम ३ सय ५९ एम्पुल, फेनरागन ३ सय ४५ गरी १ हजार ५७ एम्पुल, नाईट्रोभ्याट–१० लेखेको १ हजार ७० चक्की, नुर्फिन लेखेको स्टिकर १ सय ७४ थान र एक थाना मोबाइलसहित पक्राउ गरेको हो ।  यस्तै कास्की प्रहरीले लागूऔषधसहित थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखरा–८ सिमलचौरबाट लागूऔषधसहित खोटाङका ४० वर्षीय बिरबहादुर तामाङलाई पक्राउ गरेको छ ।  खोटाङको वाकाचुल गाउँपालिका–२ स्थायी घर भएका तामाङलाई प्रहरीले बुप्रिनर्फिन ५ एम्पुल, डाईजापाम ५ एम्पुल र फेनरागन ५ एम्पुल र नाईट्रोभ्याट १० लेखेको २० चक्की लागूऔषधसहित पक्राउ गरेको हो ।  पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको कास्की प्रहरीले जनाएको छ । 

पोखरा महानगरपालिका वडा नं १५ द्वारेखरबारीस्थित श्री भगवतीटार आमा समुहको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।   समुहको उपाध्यक्षमा कान्ति गुरुङ, सचिवमा सिता रानाभाट, सहसचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ र सदस्यहरुमा सुकुमी गुरुङ, पार्वती कार्की, विष्णु गुरुङ र पुष्पा गुरुङ सर्वसम्मत चयन गरिएको छ ।   अधिवेशनका प्रमुख अतिथि पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले उद्घाटन गर्दै आमा समुहले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै वडाबाट हुने तथा व्यक्तिगत सहयोग गर्न प्रतिवद्धता व्यक्त गरेका थिए  ।   सो अबसरमा राष्ट्रिय भुमि अधिकार मञ्च कास्कीका संरक्षक आस बहादुर गुरुङ, नेपाली कांग्रेस पोखरा १५ का सभापति सुशील पराजुली, राष्ट्रिय भुमि अधिकार मञ्च गण्डकी प्रदेश अध्यक्ष राम लामिछाने, भुमि अधिकार तथा श्रमिक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष टेकबहादुर पुन, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, सहारा क्लबका उपाध्यक्ष पुर्ण बहादुर गुरुङ, रिभर साइट युवा क्लबका अध्यक्ष नारायण भण्डारी, समुहकी संस्थापक अध्यक्ष भिम कुमारी गुरुङ, सेतिगंगा आमा समुहकी अध्यक्ष रमा रानाभाटले शुभकामना मन्तव्य राखेका थिए ।   समुहकी सचिव कुमारी गुरुङले संस्थाले गरेका गतिविधि तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुस्मिता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन ।   कार्यक्रममा समाजसेवी लिला लामिछाने, भलिबल प्रशिक्षकद्वय ठाकुर प्रसाद गुरुङ र रामबहादुर थापा, एस ई इ उत्तीर्ण छोराछोरीहरु अञ्जिला गुरुङ, महेश गुरुङ र वासिकल गुरुङलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो ।   समुहकी अध्यक्ष शशि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष र संचालन सचीव कुमारी गुरुङले गरेकी थिइन् ।

गण्डकी:     कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास छ । यस दिन खेतमा विभिन्न अन्न मास, चामल, गहुँ, फापर, तोरी, जाँतो र ढिकीमा प्रयोग गरिने काठको टुक्रा राखेर मकैको खोस्टामा बाँधेर पोको पारी लट्ठीमा झुण्डारएर खेतमा गाडिदिने चलन छ । यसो गरेमा वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलाग्ने, अन्न राम्रो उत्पादन हुने विश्वास गरिन्छ । यो संस्कृतिलाई धानबाली संरक्षण गर्ने पर्वका रुपमा समेत लिने गरिएको छ । विगतमा हरेलोका दिन कास्की र आसपासका जिल्लामा धान रोपिएका खेतका ठाउँठाउँमा विभिन्न अन्न राखी बाँधिएका मकैका खोस्टाको पोकालाई सिमली, गिँदरी वा पातीको हाँगोमा झुण्ड्याएर गाडिएको देखिन्थ्यो । अहिले त्यो संस्कृति हराउने क्रममा रहेको पोखरा महानगरपालिका–३३ का अगुवा किसान रमेश आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीका सुरौदी र आसपासका क्षेत्रमा हरेलो गर्ने प्रचलन कायमै रहेपनि अधिकांश स्थानमा हराइसकेको छ  । सामान्यतः भदौको पहिलो मङ्गलबारसम्म अधिकांश खेत रोपिसक्ने भए पनि कुनै कारणवश रोप्न बाँकी भएमा हरेलो सार्ने प्रचलनसमेत रहेको आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले उन्नत जातका धान रोप्ने प्रचलनले रोपाइँ चाँडै हुने हुँदा हरेलो सार्नुपर्ने अवस्था छैन ।” हरेलो संस्कृतिबारे पुरानो पुस्ता जानकार भए पनि पछिल्लो पुस्ताका लागि अनौठो बन्दै गएको उहाँको भनाइ छ । धान खेतीका साथै घर वरपर लगाइने लहरे तरकारीलाई मुसाले नकाटोस् भन्ने कामना गर्दै अन्नसहितको मकैको खोस्टामा बाँधिएको पोका झुण्ड्याउने प्रचलन थियो । युवा पुस्तामा यो संस्कृतिको जानकारी नहुनाका साथै कृषिप्रतिको बढ्दो अनिच्छा तथा विदेश पलायन लगायतका कारण लोपोन्मुख बनेको बुढापाका बताउँछन् ।  यस संस्कृतिलाई धानको न्वारनका रूपमासमेत लिने गरिएको छ । हरेलो गरेपछि धानको न्वारन कर्म पूरा हुने र त्यसपछि मात्रै यो धान पूजाआजामा प्रयोग हुने प्राचीन जनविश्वासले यस पर्वको सांस्कृतिक महत्व बढाएको पाइन्छ ।  हरेलो गरिसकेपछि परिवारमा खुसीयालीसहित सेलरोटी, फुरौला, माछा मासुसहित दाल, भात, तरकारी, अचार जस्ता विभिन्न परिकार खाने र जोत्ने हलीलाई खुवाउने प्रचलन रहेको स्थानीय किसान रेशम कार्कीले बताउनुभयो । हरेलोका दिन हलीलाई खुवाउने प्रचलन भए पनि पछिल्ला समयमा हलोको प्रयोग छोडेर ट्याक्टरको प्रयोग हुँदा उक्त परम्परा हराएको उहाँको धारणा छ । कृषिको व्यावसायिकीकरण एवम् आधुनिकीकरणले परम्परागत कृषिमा आधारित संस्कृति लोपहुँदै गएको उहाँको भनाइ छ ।  यस क्षेत्रमा प्राचीनकालदेखि असार १५ मा रोपाइँ गरी हिलो खेल्ने तथा दही चिउरा खाने, साउन १५ मा खिर खाने, भदौको पहिलो मङ्गलबार हरेलो गर्ने, मङ्सिर १ गते खलो पुज्ने, नयाँ धान भित्र्याएपछि न्वागी खाने जस्ता कृषिमा आधारित संस्कृति कायम छन् ।   अघिल्लो पुस्ताबाट पछिल्ला पुस्तामा प्राचीन संस्कार एवम् संस्कृति हस्तान्तरण हुन नसक्दा यस्ता संस्कृति लोप हुँदै गएका हुन् । पोखरा क्षेत्रमा विगतमा राम्रो धान फल्ने कुँडहर, पटनेरी, शिशुवा, मालमुल, राजाकोचौतारा, गगनगौँडा लगायतस्थानमा बस्ती विकाससँगै धानखेती हुने खेतहरू घडेरीमा परिणत बन्दै गएका छन् । पोखरा क्षेत्रमा २० वर्षको अन्तरालमा धेरै खेतीयोग्य जमिन घडेरीमा परिणत भएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुुभयो । उहाँका अनुसार पोखरा महानगरभित्र हाल एघार हजार दुई सय हेक्टर क्षेत्रफलमा धानखेती भइरहेको छ । 

पोखरा:     गृह सचिव एकनारायण अर्यालले उपभोक्ता अधिकार संरक्षणमा क्षतिपूर्तिसहित अधिकारको व्यवस्था भएकाले सेवा र वस्तुमा उपभोक्तालाई ठग्ने काम नगर्न आग्रह गर्नुभएको छ ।  जिल्ला प्रशासन कार्यालय कास्कीद्वारा उपभोक्ता अधिकार संरक्षणका लागि उजुरी, गुनासो र सुझावका लागि सञ्चालनमा ल्याइएको ‘क्यूआर कोड’ सहितको अनलाइन सेवाको आज उद्घाटन गर्दै अर्यालले उपभोक्ता ठग्नेलाई कारबाही गर्ने बताउनुभयो ।  चार्डपर्व सुरु भएसँगै खाद्य सामग्री र सार्वजनिक यातायातमा चर्को भाडा लिने काम हुँदै आएकाले यसलाई नियन्त्रण गर्न र त्यस्ता व्यक्ति वा संस्थालाई कडा कारबाही गर्न प्रशासनले जोड दिनुपर्ने उहाँको भनाइ छ ।  अझैपनि राजमार्गका होटलमा खानाको गुणस्तर नहुने र चर्को मूल्य लिने काम भइरहेकाले प्रशासनको ध्यान त्यसतर्फ जानुपर्ने उहाँले बताउनुभयो ।  नेपालमै पहिलो पटक जिल्ला प्रशासन कास्कीले सञ्चालनमा ल्याएको यस्तो सेवाले निरन्तरता पाउनुपर्ने बताउँदै अन्य जिल्लामा पनि सेवा विस्तार गर्न उहाँको सुझाव छ । उपभोक्ता संरक्षण अधिकारलाई प्रभावकारी बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सहयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले दुर्गम गाउँका उपभोक्ता बढी मात्रामा ठगिने गरेकाले गाउँ तहसम्म उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रशासन कास्कीबाट सुरु भएको सेवाले निरन्तरता पाउनुको साथै यसको प्रभावकारिता गाउँगाउँसम्म पुग्नुपर्नेमा उहाँको जोड थियो ।  उपभोक्ता हित संरक्षण मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले उपभोक्ता हित संरक्षण ऐन प्रभावकारी बन्न नसक्दा र अनुगमन प्रणाली प्रभवकारी नहुँदा बजारमा गुणस्तरहीन वस्तु र मूल्य नियन्त्रण हुन नसकेको धारणा राख्नुभयो ।  कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले ‘क्यूआर कोड’लाई निरन्तरता दिँदै पर्यटकीय राजधानी पोखरामा पर्यटक ठगिएका गुनासा आएकाले ठगी गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पोखरा:  एकाबिहानै बुलौदीमा कार दुर्घटना भएको छ ।   पोखरा महानगरपालिका वडा नम्बर ६ र ७ जोड्ने बुलौदीमा हल्लाचोकबाट जिरो किलोमिटरतर्फ आउँदै गरेको बा ५च ४२२५ नम्बरको कार दुर्घटना भएको हो ।    यद्यपी मानवीय क्षति भने नभएको स्थानीयले जनाएका छन् ।   उनीहरुका अनुसार बिहान ५ बजे कार सडकको डिभाडरमा चढेको थियो     कारमा दुई जना सवार रहेका दुइजना सामान्य घाइते भएको बताइएको छ ।   उक्त स्थानमा प्राय सवारी दुर्घटना भइरहन्छ ।   

पोखरा:   बागलुङ मगर समाजले मगर समुदायको कला संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ प्रदर्शन गर्ने भएको छ ।   मगर समुदायको सामाजिक र सांस्कृतिक पक्षमा आधारित चलचित्र ‘दिलसरा’को विरेन्द्रचोकस्थित समाजको आफ्नै हलमा यही ७ गते दिउँसो १२ बजे प्रदर्शन गरिने चलचित्रकी निर्माता जुना थापा मगरले बताइन् ।   सोमबार पोखरा सभागृहमा गरिएको विशेष प्रर्दशनमा दर्शकबाट सकरात्मक प्रतिक्रिया आएपछि बागलुङ मगर समाजले फेरि प्रदर्शन गर्न लागेको हो ।   मेनोको फिल्म्स् एण्ड मिडिया हाउसको ब्यानरमा बनेको हो । सो चलचित्रको निर्देशन अशोक आलेमगरले गरेका छन्  ।     चलचित्रमा कल्याण राना मगर, सृष्टि राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खगपु), भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर, ओम श्रीष मगर तथा स्थानीय कलाकारले अभिनय छ ।   अशोक आलेमगरले निर्माण गरेको चलचित्रको निर्माताहरुमा हर्क आले मगर, जुना थापा (कथा) र मीना थापा मगर (पटकथा) छन् । भने, कार्यकारी निर्माता मेजर प्रेम थापा मगर छन् ।    यो पनि पढ्नुहोस   चलचित्र ‘दिलसरा’ले ‘दिलसरा प्रभावशाली मगर महिला २०८१’ खोज्दै पोखरामा चलचित्र दिलसराको विशेष प्रदर्शन, दर्शकको सकारात्मक प्रतिक्रिया  

पोखरा:   पोखराबाट प्रशारण हुने पब्लिक फोरके टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम गर्ने भएको छ ।    टेलिभिजनमा नियमित रुपमा पब्लिक लाइभ दाहोरीसमेत सुरुआत गर्ने गरी भदौं ७ गतेदेखि तीज विशेष कार्यक्रम गर्न लागेको हो ।   कार्यक्रम भदौं ७ गतेदेखि हरेक दिन दिउँसो २ बजेको समाचारपछि तिज विशेष लाइभ दोहोरी तथा मौलिक तिजे भाकाहरुको प्रशारण हुनेछ ।    सोही कार्यक्रमको पुन: प्रशारण राती ९ बजेपछि हुनेछ । अश्लिल र छाडा बन्दै गएको तीजमा मौलिक तीज भाकाहरु पस्कन तीज विशेष कार्यक्रम आयोजना गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले जानकारी दिए ।     तीज विशेष कार्यक्रम ऋषिपञ्चमीसम्म सञ्चालन हुनेछ । त्यसपछि भने हरेक हप्ता पब्लिक लाइभ दोेहोरीसमेत सञ्चालन हुने प्रबन्ध निर्देशक क्षेत्रीले बताए ।    ‘तीज भाकाहरु पर्व गीत हुन् । पर्व गीतको मौलिकता जोगाउन आमा दिदिबहिनीका गीतहरु स्टुडियोमा रेकर्ड गरिने दैनिक प्रशारण गरिनेछ,’ उनले भने, ‘परम्परागन लोक भाकालाई प्राथमिकता दिनु हाम्रो दायित्व हो ।’    तीज गीतको नाममा विकृति मौलाएको बेला पब्लिक टेलिभिजनले मौलिक तीज गीतलाई प्राथमिकता दिनु महत्वपूर्ण भएको वरिष्ठ लोकगायीका प्राज्ञ हरिदेवी कोइरालाले बताइन् ।    तीज विशेष कार्यक्रममा हरिदेवी कोइराला, पार्वती जिसी, मामा गुरुङ, सरिता सारु, मञ्जु विक, सरस्वती लामिछाने, सिमा सारुमगर, कमला सुनार, जीवन दाहाल, रामजी पौडेल, शिवहरि ढुंगाना, टेक क्षेत्री, अनिल चापागाईं, नेत्र खड्काले प्रस्तुती दिनेछन् ।   बागलुङबाट सरस्वती खड्का र अञ्जु जिसीले आफ्नो प्रस्तुती पस्किनेछन् ।   बाटुलेचौरका गन्धर्व आमा समूहहरुले परापूर्वककालदेखि गाउँदै आएका परम्परागन गीतहरुसमेत प्रस्तुत हुने टेलिभिजनका प्रबन्ध निर्देशक क्षेत्रीले बताए । कार्यक्रम पब्लिक टेलिभिजनसहित फेसबुक र युट्युबको माध्यमबाट प्रशारण हुनेछ ।    

पोखरा:   गण्डकी प्रदेशको राजधानी पोखरामा मुख्य कार्यालय रहेको सिटीवान टेलिभिजनले हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता गर्ने भएको छ ।   सांस्कृतिक पक्षहरुको संरक्षण गर्ने उद्देश्यले  “तीजको बेला सिटीवानको सांस्कृतिक मेला, तेस्रो खुल्ला तीज गीत प्रतियोगिता–२०८१” आयोजना गर्ने भएको हो ।    टेलिभिजनका प्रवन्ध निर्देशक अनिशा श्रेष्ठले पछिल्लो समयमा डिजिटल प्रविधिको प्रयोगका कारण नेपालीहरुका संस्कृतिहरु लोप हुन लागेको भन्दै मेलाको आयोजना गरिएको जानकारी दिइन् ।   उनका अनुसार तेस्रो संस्करणको मेला यही भाद्र १५ र १६ गते बिहान ९ः०० बजेदेखि गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा हुनेछ ।   करिब ६० समूहको सहभागिता रहने अपेक्षा गरिएको श्रेष्ठले बताइन् ।   सो प्रतियोगीतामा विपद् व्यवस्थापनमा महिलाको भूमिका, महिला हिसां, पर्यटन प्रर्वद्धन, सरसफाई, वैदेशिक रोजगार, उधमशिलता, शिक्षाको महत्व, स्थानीय सरकार तथा लागूपदार्थ दुव्र्यसनी जस्ता सामाजिक विषयलाई प्राथमिकतामा राखेर प्रतिस्पर्धिले गीत गाउनुपर्ने बताइएको छ ।   सो प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार, द्धित्तीय पुरस्कार ३० हजार, तृतिय पुरस्कार २० हजार, सान्त्वना पुरस्कार १० हजार, उत्कृष्ट नृत्य ५ हजार, उत्कृष्ट भेषभूषा ५ हजार, उत्कृष्ट शब्द ५ हजार रहेको छ ।    प्रतियोगितामा भाग लिनका लागि दर्ता शुल्क नलाग्ने बताइएको छ ।   राउण्ड टेबलमा ‘तीज संस्कृति र आजको आवश्यकता’    मेलाको अवसरमा ‘तीज संस्कृति र आजको आवश्यकता’ शीर्षकमा प्रदेश स्तरीय राउण्ड टेबल कार्यक्रम संचालन गर्ने मेलाका संयोजक चिनु गुरुङ्गले जानकारी दिइन् ।    उनका अनुसार मेलामा सहभागी सबैलाई दर संस्कृितको बारेमा जानकारी दिने कार्यक्रमसमेत रहेको छ ।    कार्यक्रम सम्पन्न गर्न करिब १२ लाख खर्च हुने अनुमान गरिएको टेलिभिजनले जनाएको छ ।

पोखरा:    पोखरा महानगरपालिले आइतबारदेखि बजार अनुगमन सुरु गरेको छ ।  बजारमा मुल्यबृद्धि,मिसावट र जनस्वास्थ्यमा असर गर्ने गरी मासु जन्य तथा खाद्यान्न सामग्री बिक्री वितरण भैरहेको जनगुनासो आएपछि अनुगमन सुरु गरिएको महानगरले जनाएको छ । गुनासो आएपछि पहिलो चरणमा माछा र मासुमा अनुगमन सुरु गरिएको हो । महानगरका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा पोखराको श्रीकम्पलेक्स, सृजनाचोक र पृथ्वीचोकमा रहेका १७ वटा माछा र मासुु पसलमा अनुगमन गरेको हो ।  अनुगमनका क्रममा कुहिएर खाना योग्य नभएको २१९ केजी माछा र खसिको मासु १५ केजी गरी २३४ केजी जफत र उनीहरुलाई जरिवाना गरिएको छ । जफत गरिएको माछा र मासु भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीको जैविक डिस्पोजल पीटमा डिस्पोज गरिएको पोखरा महानगर बजार अनुगमन समितिका सदस्यसचिव अनिल कार्कीले जानकारी दिए ।  अनुगमनका क्रममा कुहिएको माछा फेला परेपछि उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीमा उपस्थित गराई जरिवाना गरिएको छ । १७ वटा मध्य १० वटा माछा पसललाई ५० हजारदेखि १५ हजारसम्म गरिवाना गरिएको छ ।  जरिवानाबाट २ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन समेत भएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । अनुगमनका क्रममा पोखरा महानगरपालिका वडा नम्वर ९ बसपार्कमा संचालन रहेको लाचन फिस सप्लायर्सबाट १ सय केजी, पोखरा ९ बसपार्कमा रहेको माछाको होसल गर्ने राजु फिस हाउसबाट ८० केजी कुहिएको माछा जफत गरी दुवैलाई ५०/५० हजार जरिवाना गरिएको छ ।  त्यस्तै पोखरा ८ सृजनाचोकमा रहेको सद्धाम फ्रेस हाउसबाट  खान योग्य नभएको ८ केजी माछा र खसिको मासु, जस्मिन फ्रेस हाउसबाट ७ केजी खसिको मासु जफत गरिएको थियो भने दुवै पसललाई ३०÷३० हजार रुपैयाँ जरिवाना गरिएको छ ।  त्यस्तै अनुगमन टोलीले पोखरा ८ श्री कम्प्लेक्समा संचालनमा रहेको न्यू रमेश फिस हाउसबाट १३ किलो ३ सय ग्राम सडेको माछा भेटिएको र उक्त माछा जफत गरी २० हजार रुपैयाँ जरिवाना गरिएको छ ।  त्यस्तै न्यु सुमन फिस हाउस, सुरज फिस हाउस, नमुना मत्स्य बिक्री केन्द्र लगायत ५ वटा पसललाई १५ हजारका दरले जरिवाना गरिएको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए ।  अनुगमनमा पसल नविकरण नभएको,सरफाइ नभएको, सिसा, जाली नलगाई बाहिर बेच्ने गरेको, डि फ्रिज नभएको, माछा पसल संचालनका लागि तालिम नलिएको, फोहोर पानीको प्रयोग गरेको, पसल दुर्गन्धित देखिएकाले जरिवाना गरिएको र आइन्दा यस्तो भेटिएमा पसल बन्द गराउने चेतावनी सहित छाडिएको छ । माछा तथा मासु बिक्री गर्ने अन्य ७ वटा पसललाई मुुल्यसुचि राख्न, पसल सरसफाई गर्न, पसल दर्ता गरी मापदण्ड अनुसार संचालन गर्न सुझाव दिदै पुनः दोश्रो पटक पनि अटेर कारबाही गर्ने सर्तमा छोडिएको छ । पोखरा महानगरपालिकामा गुनासो र नेपालीहरुका चाडपर्वहरु पनि सुरुवात भएकाले बजार अनुगमन सुरुवात गरिएको महानगरका उपप्रमुख एवं बजार अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङले जानकारी दिइन् ।  विगतमा भएका अनुगमनले बजारमा केही सुधार देखिएको भएपनि सोचे जस्तो नदेखिएको बताउदै अव नियमित अनुगमन गरिने उनले बताइन् । उपप्रमुख गुरुङले अनुगमनका क्रममा दिइएको सुझावलाई कार्यान्वयन नगर्ने र फेरी गलत भेटिएमा जरिवाना सहित अन्य कानुनी कारबाही गरीने बताइन् ।   उनले उपभोक्ताहरु स्वयम सचेत बन्नुपर्ने र महानगरले सचेतनामुलक कार्यक्रम गर्ने बताइन् । चाडपर्वमा मात्रै अनुगमन गर्ने भन्ने आरोप लाग्ने गरेकाले यस वर्ष अगाडी नै अनुगमन थालिएको उपप्रमुख गुरुङको भनाई छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत भिष्मराज अर्यालले माछा पसल दर्दनाक देखियो । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने देखिएको र उपभोक्ता हकहित संरक्षण ऐन अनुसार कारबाही गरिएको बताए । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को उपदफा(घ) को कसुरमा दफा ३९ बमोजिम कारबाही गरिएको छ ।