काठमाडौं: शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दिएको बतायो । पुन गत असोज ५ गते शिक्षामन्त्रीमा नियुक्त भएका थिए । तर मन्त्री पुन भने आफ्नै अभियानमा सक्रिय हुनका लागि राजीनामा दिएका हुन्। यसअघि मन्त्री पुनले शिक्षामा आमुल परिवर्तन गर्ने भन्दै केही नितिहरु पास गराउने प्रयास गरेपनि सफल नभएको बताउँदै आएका थिए।
काठमाडौं: नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि उनको क्षेत्रबाट नेपाली कांग्रेसले नयाँ उम्मेदवार उठाउने भएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सात पटक चुनाव लडेको डडेलधुरा क्षेत्र छोड्दै निर्वाचन नलड्ने जानकारी गराएपछि कांग्रेसले उक्त क्षेत्रको टिकट नैनसिंह महरलाई दिएको छ। कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न अनुरोध गर्दै आएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता अगाडि देउवाको सचिवालयले चुनाव नलड्ने विषयमा जानकारी गराएको हो।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा विना गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उनले आधिकारिक टिकट पाएकी हुन् । सो क्षेत्रको टिकटका लागि रास्वपा कास्कीका सभापति यदु अधिकारी र गण्डकी प्रदेश महामन्त्री नवीन त्रिपाठी प्रमुख दाबेदारका रूपमा रहेका थिए । रास्वपाले क्षेत्र नम्बर १ बाट गनेस पौडेल र २ बाट उत्तम पौडेललाई उम्मेदवार बनाएको छ ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राजनीतिक दलबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिने भन्दै उनले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पदबाट राजीनामा दिएका हुन् । मन्त्री खरेल बालुवाटार पुगेर प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने निर्णयसहित पदबाट राजीनामा दिएका हुन् । राजीनामापत्रमा मन्त्री खरेलले लेखेका छन् , “वर्तमान राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक प्रणालीको दीर्घकालीन सुदृढीकरण र जनअपेक्षाको परिप्रेक्ष्यमा अब दलीय राजनीतिमार्फत सक्रिय एवम् उत्तरदायी भूमिका निर्वाह गर्नु वाञ्छनीय भएको निस्कर्षमा म पुगेको छु । अतः वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच आउन नदिन दलीय राजनीतिको मैदानमा छिर्नुअघि नै मैले पदबाट राजीनामा दिने निर्णय मैले लिएको छु ।”
पोखरा: नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बदल्ने निर्णय गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेकपा एमालेले कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार कृष्ण थापालाई हटाएर युवा नेता रश्मी आचार्यलाई चुनावी मैदानमा उतार्ने निश्चित गरेको हो। पोखरा महानगरपालिकाको प्रमुख पदमा पराजय भोगेका थापालाई पुन: अवसर दिने अघिल्लो निर्णयलाई उल्ट्याउँदै एमालेले आचार्यलाई अघि सारेको हो।
पोखरा: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की–१ मा खड्कराज पौडेल (गणेश) र चुनाव लड्ने भएका छन् । बालेन्द्र साह हुँदै रास्वपा प्रवेश गरेका उनी अहिले केन्द्रीय सदस्य हुन् । टिकट पाएसँगै पौडेलले आफ्नो उम्मेदवारी जेनजी आन्दोलनका सहिद र घाइतेप्रति समर्पित गर्ने बताएका छन् । ‘यो चयन हुनु मेरो व्यक्तिगत उपलब्धि मात्र होइन, विश्वास र जिम्मेवारीको गह्रुँगो बोझ हो,’ उनले भने, ‘यो भरोसाका लागि पार्टी नेतृत्व र शुभेच्छुकप्रति कृतज्ञ छु ।’ उनले आफ्नो राजनीतिक यात्रा आम मतदाताको साथ, सुझाव र आलोचनासँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अहिलेसम्म ३३ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ । बाँकी निर्वाचन क्षेत्रमा आज उम्मेदवारको घोषणा गरिने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपाले पार्टीका वरिष्ठ नेता बालेन शाहलाई झापा–५ बाट उम्मेदवार बनाएको छ भने उपसभापति डिपी अर्याल (डोलप्रसाद) लाई काठमाडौं क्षेत्र नम्बर ९ बाट टिकट दिएको छ । यस्तै, शिशिर खनाल काठमाडौं–६, विराजभक्त श्रेष्ठ काठमाडौं– ८, इन्दिरा रानामगर झापा–२ तथा सोबिता गौतम चितवन–३, उत्तम पौडेल कास्की–२ बाट उम्मेदवार बन्ने भएका छन् । रास्वपाले टुंग्याएको ३३ क्षेत्र र उम्मेदवार १. ताप्लेजुङ – वीरेन्द्र श्रेष्ठ २. झापा–१ – निशा डाँगी ३. झापा–२ – इन्दिरा रानामगर ४. झापा–३ – प्रकाश पाठक ५. झापा–४ – शम्भु सुस्केरा ६. झापा–५ – बालेन शाह ७. मोरङ–३ – गणेश कार्की ८. ओखलढुंगा – विश्वराज पोखरेल ९. उदयपुर–२ – सूर्यबहादुर तामाङ १०. काठमाडौं–६ – शिशिर खनाल ११. काठमाडौं–७ – गणेश पराजुली १२. काठमाडौं–८ – विराजभक्त श्रेष्ठ १३. काठमाडौं–९ – डिपी अर्याल ९डोलप्रसाद० १४. चितवन–१ – हरि ढकाल १५. चितवन–२ – रवि लामिछाने १६. चितवन–३ – सोबिता गौतम १७. गोरखा–१ – सुदन गुरुङ १८. गोरखा–२ – कविन्द्र बुर्लाकोटी १९. नवलपुर–१ – राजन गौतम २०. जुम्ला – बिनिता कठायत २१. बाजुरा – हेमराज थापा २२. कञ्चनपुर–१ – जनकसिंह धामी २३. कञ्चनपुर–२ – दीपक बोहरा २४. कञ्चनपुर–३ – ज्ञानेन्द्र महता २५. कैलाली–१ – कोमल ज्ञवाली २६. कैलाली–३ – लक्ष्मण थारू २७. कैलाली–४ – हरि रेग्मी २८. कैलाली–५ – आनन्द चन्द २९. बाँके–३ – खगेन्द्र सुनार ३०. दाङ–२ – विपिन आचार्य ३१. रुपन्देही–३ – डा. लेखजंग थापा ३२. कास्की–२ – उत्तम पौडेल ३३. स्याङ्जा–१ – धनञ्जय रेग्मी
काठमाडौं: युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएपछि मन्त्री गुप्ताले पदबाट राजीनामा दिनुभएको हो । “उम्मेदवारी दिने सिलसिलामा म अहिले सिरहा पुगेको छु, इमेलमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पठाउनुभएको छु,” उहाँले भन्नुभयो, “आफ्नो राजीनामाबारे टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको छु ।” जेनजी आन्दोलनपछि गठन भएको सरकारमा उहाँले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । वर्तमान सरकारमा उहाँ जेनजी पुस्ताको प्रतिनिधित्व गरिरहनुभएको थियो ।
काठमाडौं: काठमाडौं महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थानीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्रमुखले प्रमुखलाई राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ।

