काठमाडौंः   शनिबारदेखि सुरु हुने नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पुरा भएको छ । शुक्रबार एमाले प्रचार विभागले पत्रकार सम्मेलन गरी तयारी पुरा भएको जनाएको हो ।  ...

काठमाडौं:    संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सभामुखको विदेश भ्रमणका लागि दश दिन स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजबाट लगातार चैत २१ गतेसम्म चार दिन प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने कार्यतालिका रहेको छ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि छलफल गर्ने कार्यक्रम रहेको छ । साथै बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, भन्सार विधेयक लगायत विषयमा प्रस्ताव प्रस्तुत गरिने कार्यसुची रहेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको अनियमिततामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको छ । यसैबीच हिजो सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसदको काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने बातावरण बनाउन दलहरुसंग आग्रह गर्नुभएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसंग छलफल गर्दै सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गर्नुभएको हो । छलफलपछि कांग्रेस सचेतक सुशिला थिङलेले राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्म सार्ने सहमति भएको बताउनुभयो । साथै गृहमन्त्रीका बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको उहाँको भनाइ छ । एमाले मुख्य सचेतक महेश बर्तौलाले सदनलाई सहज रुपमा सञ्चालन गर्न प्रतिपक्षीले पनि उचित वातावरण बनाउनुपर्ने र सरकारले पनि सदनलाई विजनेश दिनुपर्ने बताउनुभयो । माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने बिषयमा छलफल भएको बताउनुभयो । त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको बिषयमा उठेका बिषयको जवाफ सम्बन्धीत व्यक्तिले दिन पाउनुपर्ने र रास्वपा त्यसका लागि सदैव तयार रहेको बताउनुभयो ।

पोखरा:   गण्डकी प्रदेशका प्रमुख डिल्ली राज भट्टले स्वस्थ नागरिक समृद्ध मुलुकको आधार रहेको बताउनुभएको छ ।   स्वस्थ खानपान र जीवनशैलीले रोग लाग्न नदिने र रोग लागेमा आयुर्वेदिक औषधोपचारमा जोड दिन पनि उहाँले आग्रह गर्नुभयो ।   गण्डकी आयुर्वेद औषधालय, कास्की र जिल्ला नागरिक आरोग्य समिति, कास्कीको संयुक्त आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा पोखरामा शुक्रबार आयोजित नागरिक आरोग्य अभियान, आयुर्वेद सेवा सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।   योग, ध्यान, सिद्धि, उचित खानपान एवं आयुर्वेद औषधोपचार गर्ने व्यक्ति दीर्घजीवी हुने गरेको भन्दै प्रदेश प्रमुख भट्टले आफूपनि ७७ वर्षको उमेरमा स्वस्थ, तन्दुरुस्त भएको उदाहरण प्रस्तुत गर्नुभयो ।   ‘स्वस्थ जीवन भएमा मात्र मुलुकको आर्थिक समृद्धि कायम हुनेछ । योग, ध्यान, साधना र व्यायामले व्यक्तिमा सकारात्मक सोचको विकासमा प्रेरणा मिल्छ ।’ उहाँले भन्नुभयो– ‘ मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील पाटो नै स्वास्थ्य हो । त्यसैले स्वास्थ्य क्षेत्रको विकासलाई समग्र देशकै विकास र समृद्धिसंग जोड्नुपर्छ । नागरिक स्वस्थ भए मात्रै मुलुक स्वस्थ बन्न सक्छ ।’   प्रदेश प्रमुख भट्टले जैविक विविधताका कारण नेपाल आयुर्वेदिक औषधीको विकासका लागि निकै उपयोगी क्षेत्र भएको बताउनुभयो ।   देशमा उम्रिएका जडिबुटीले औषधिको काम गर्ने भएकाले आयुर्वेदको प्रवद्र्धन गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । आयुर्वेदिक औषधिले अन्य रोग ननिम्तने भएकाले मानव स्वास्थ्य राम्रो बनाउन आयुर्वेदिक उपचार पद्धतिलाई प्रवद्र्धन गरिनुपर्ने बताउनुभयो ।   ‘मानव सभ्यतालाई जिवन्त राख्न र स्वस्थ एवं समृद्ध समाजको कल्पना तब मात्र साकार पार्न सकिन्छ जब राष्ट्रको हरेक नागरिक निरोगी हुन्छन्।’ – उहाँले भन्नुभयो ।   नेपालमा आयुर्वेदिक औषधोपचारलाई प्रवद्र्धन गर्नका लागि यस्ता आयुर्वेद सेवा सम्बन्धी अन्तक्र्रिया एवं योजना तयार सम्बन्धी छलफलले टेवा पुग्ने उहाँले बताउनुभयो ।

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।   बिहीबार केन्द्रीय कार्यालयमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।   वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।   लिम्बू लामाेसमयदेखि पत्रकारितामा सक्रिय रहदै आएका छन् ।  

 मकवानपुरः   बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले १९ चैतमा विश्वासको मत लिने भएका छन् ।   शुक्रबार मुख्यमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सचेतक रत्नप्रसाद ढकालले जम्कट्टेलले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।   २३ फागुनमा नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २२ चैतभित्र विश्वासको मत लिनुपर्नेछ ।   ११० सदस्यीय प्रदेशसभामा उनले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत जुटाएका छन् । बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

काठमाडौं:    राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छिन् । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुबुझाएकी  हुन् ।  उनले संविधानको धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१) बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट राजीनामा दिएकी हुन्।  सत्ता गठबन्धन दलबिचको सहमति अनुसार अर्यालले बिहीबार राजीनामा दिएकी हुन् ।  राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल २०७९ माघ २३ गते निर्विरोध निर्वाचित भएकी थिइन् । उनी २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । 

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सङ्क्रमणकालीन न्याय, सङ्घीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।  संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्रीले नियमित छलफल गरिरहेका छन् । 

पोखरा:    नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनमा बैनबहादुर अधिकारी क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको अधिवेशनमा निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।  अध्यक्षमा निर्वाचित क्षेत्रीले ५ सय ५१ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी बास्तोलाले ३ सय ४७ मत पाए । भने अर्का अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले १७ मत प्राप्त गरे ।  उपाध्यक्षमा निर्वाचित भेषराज बराल(५२७), सचिवमा दर्शन लामा(५९७), उपसचिवमा लालबहादुर परियार (५८१) र सन्तु सुवेदी (५१०) मत पाए ।   

काठमाडौं:    सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले इलाम र बझाङको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवार उठाउने भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको पार्टी केन्द्रिय कार्यालय बैठकले प्रतिनिधि सभामा इलाम(२ र प्रदेश सभामा बझाङ–१ मा पार्टीको तर्फबाटै उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी केन्द्रिय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभा र बझाङमा प्रदेश सभा सदस्यको उपनिर्वाचनमा आफ्नै पार्टीको उम्मेदवारी दिने निर्णय भएको बताए । उनले उम्मेदवारको नाम भने छलफल गर्न बाँकी नै रहेको र अर्को बैठकबाट  टुङ्गो लाग्ने बताए ।  उनले भने, ‘‘आजको हाम्रो पार्टी केन्द्रिय कार्यालयको बैठकले इलाममा प्रतिनिधि सभाको निर्वाचनमा पनि उठाउने र बझाङमा प्रदेश सभाको निर्वाचनमा पनि उठाउने निर्णय भएको छ । व्यक्तिको बारेमा निर्णय गर्न सिफारिस आउँदैछ, छलफल बाँकी छ, सायद अर्को बैठकमा निर्णय हुनेछ ।’’ प्रवक्ता सापकोटाले प्रदेशमा मुख्यमन्त्री नियुक्तिबारे अझै छलफल टुङ्गिनसकेकाले बिहीबारसम्म मुख्यमन्त्रीहरुको पनि टुङ्गो लाग्ने बताए ।