काठमाडौं: नेपाली कांग्रेसले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवाले लामो समय पार्टीमा गर्नु भएको नेतृत्वप्रति आभार व्यक्त गरेको छ। शनिबार काठमाडौंमा बसेको पार्टीको नव निर्वाचित केन्द्रीय कार्य समितिको बैठकले देउवाले पार्टीमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै आभार व्यक्त गरेको हो। उहाँले पार्टीमा पुर्याउनु भएको योगदानको मूल्याङ्कन गर्दै बैठकले आभार व्यक्त गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनु भयो। त्यसैगरी बैठकले पदमा नरहेर पनि पार्टीमा नेतृत्व प्रदान गर्दै आएका नेताबाट आगामी दिनमा पनि अभिभावकीय भूमिका अझ बढी सक्रिय भएर लाग्न आग्रह गरेको छ। बैठकले कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताका लागि सम्झौता नगर्ने प्रतिबद्धता समेत व्यक्त गरेको प्रवक्ता चालिसेले बताउनु भयो। नेपाली कांग्रेसको नवनिर्वाचित सभापति गगनकुमार थापाको नेतृत्वमा शनिबार केन्द्रीय कार्यसमिति बैठक बसेको हो। निर्वाचन आयोगले शुक्रबार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि शनिबार नयाँ बानेश्वरमा बैठक बसेको हो। यो विशेष महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको आधिकारिक मान्यतापछिको पहिलो बैठक हो। बैठकले निर्वाचन आयोगले नेपाली कांग्रेसको दोश्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधान अनुसार मान्यता दिएको भन्दै यो कसैको जितहार नभएको प्रष्ट पारेको छ। ‘यो विधान र लोकतन्त्रको विजय हो। यस ऐतिहासिक परिवर्तनमा साथ दिने हरेक सदस्य, शुभेच्छुक र सहयोगीप्रति हृदयदेखि केन्द्रिय समितिको यो बैठक हार्दिक आभार व्यक्त गर्दछ’, बैठकको पहिलो निर्णयमा भनिएको छ। बैठकले सहकार्यका लागि सबै नेतालाई अनुरोध गर्दै फागुन २१ गते निर्वाचनमा सशक्त सहभागी हुन आह्वान गरेको छ। ‘यो समय एकता, सद्भाव र सहकार्यको समय हो। देश–विदेशमा रहेका सबै कांग्रेसजन, सबै तहका समिति र सबै भातृ तथा शुभेच्छुक संस्थाका साथीलाई नवीन ऊर्जा, अटुट विश्वास र पूर्ण एकताका साथ फागुन २१ को निर्वाचनमा सशक्त रूपमा सहभागी हुन हार्दिक आह्वान गरिन्छ’, बैठकको निर्णयमा भनिएको छ। विभिन्न कारणले पार्टीबाट निष्कृय रहनु भएका, विभिन्न कारणले पार्टी छाड्नु भएका सबै साथीलाई पार्टीमा पुनः जोडिन आह्वान गरेको छ। बैठकले यो नयाँ अध्याय भएको भन्दै रूपान्तरणका लागि सबैसँग अनुरोध गर्ने निर्णयसमेत गरेको छ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढाउने बताएका छन् । नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि आज केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । सभापति थापाले विगतका तिक्ततालाई बिर्सेर पार्टीलाई आगामी दिनमा एक ढिक्का बनाएर अगाडि बढ्ने बताए । निर्वाचन आयोगले निर्णय गरिसकेपछि निर्णयलाई स्वीकार गरेर आगामी दिनमा अगाडि बढ्नुपर्नेमा उनको जोड थियो । “पार्टीभित्रका अग्रज नेतालाईसँगै हिँडाउने र नयाँ युवालाई जोडेर अगाडि बढ्छौँ, पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकत्व र संरक्षकत्वको भूमिका खोजेको छौँ, एकदुई दिनभित्र सिङ्गो कांग्रेस एक ठाउँमा उभिने वातावरण बनाउन लागिरहेका छौँ,” उनले भने । सभापति थापाले फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार टुङ्ग्याउने समय नजिकिएसँगै समयको चाप रहेको भन्दै सबैलाई साथमा लिएर पार्टीलाई आगाडि बढाउने दृढता व्यक्त गरे ।
काठमाडौं: नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रञ्जित तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तामाङलाई सो झापा– ५ बाट उम्मेदवार बनाएको हो । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीका संयोजक पुष्पकमल दाहालसँग चुनावी अनुमति प्रदान भएको भिडियो सार्वजनिक गर्दै तामाङले आफू सो क्षेत्रका लागि उम्मेदवार भएको जानकारी दिएका छन् । तामाङले भनेका छन् । ‘नेपाली कम्युनिस्ट पार्टीका संयोजक श्रद्धेय नेता क. प्रचण्डले आगामी फागुन २१ गतेका लागि शुभकामना सहित चुनावी अनुमति प्रदान गर्नुभएको छ । नेतृत्वगणलाई आभारसहित झापा क्षेत्र नं. ५ बासी आम मतदातामा चुनाव चिन्ह तारामा मतदान गरी जनसेवाको अवसरका लागि विशेष अपिल गर्दछु ।’ सो क्षेत्र नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह निर्वाचन क्षेत्र हो । यो पटक पनि सो क्षेत्रबाट अध्यक्ष ओली उम्मेदवार हुने चर्चा छ ।
काठमाडौं: नेपाली कांग्रेस (देउवा पक्ष) को केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयलाई अस्वीकार गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आयोगले माघ २ गते गरेको निर्णय नेपालको संविधान, प्रचलित कानुन र पार्टीको विधान विपरीत रहेको ठहर गरेको हो। बैठकका निर्णयबारे जानकारी दिँदै नेता डा. प्रकाशशरण महतले आयोगको निर्णयलाई ‘दुराशयपूर्ण’ र ‘दूषित मनसाय’ बाट प्रेरित रहेको टिप्पणी गरे। उनले भने, ‘देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टीको विधिवत् निर्वाचित केन्द्रीय कार्यसमितिलाई अवैधानिक ढंगले परिवर्तन गरी गम्भीर क्षति पुर्याउने मनसाय स्पष्ट देखिन्छ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो ।’ बैठकले आयोगको निर्णयविरुद्ध संवैधानिक तथा कानुनी उपचार खोज्ने निर्णय गरेको महतले बताए । उनले भने, ‘हामी भोलि नै यसको खिलाफमा सर्वोच्च अदालत जाँदैछौं। हामीलाई विश्वास छ, सर्वोच्च अदालतबाट न्याय मिल्नेछ।’ सञ्चारकर्मीहरूको जिज्ञासामा महतले शेरबहादुर देउवा नेतृत्वको समिति नै आधिकारिक रहेको र सानेपा छोड्ने प्रश्नै नउठ्ने बताए। उनले भने, ‘अहिले शेरबहादुरजीको सभापतित्वमा पूर्णबहादुरजी कार्यवाहक सभापति हुनुहुन्छ। यो नै आधिकारिक पार्टी हो। निर्वाचन आयोगले निर्णय गर्दैमा हामी आधिकारिक नरहने कुरा हुँदैन।’ देउवा पक्षले आयोगको निर्णयविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि सशक्त प्रतिवाद गर्ने जनाएको छ।
काठमाडौं: निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको शुक्रबार बसेको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आधिकारिता दाबी गर्दै आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो । कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो । यससँगै नेपाली कांग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डा शेरबहादुर देउवाबाट गुमेको छ । देउवा पक्षले पनि आफू नै आधिकारिक भएको जिकिरसहित आयोगमा डकुमेन्ट बुझाएको थियो ।
काठमाडौं: नेपाली कांग्रेसको विशेष अधिवेशनपछि नबगठित कार्यसमितिका सभापति गगन कुमार थापा सहित कांग्रेस पदाधिकारी केन्द्रीय सदस्यहरु निर्वाचन आयोग गएका छन् । बिहान बसेको केन्द्रीय कार्य समितिको निर्णय बमोजिम सभापति थापा उपसभापति विश्व प्रकाश शर्मा र पुष्पा भुसाल लगायत पदाधिकारी र केही केन्द्रीय सदस्यहरु निर्वाचन आयोग गएका हुन् । बिहान बसेको केन्द्रीय कार्य समितिको बैठकले विशेष अधिवेशनले गरेका निर्णयहरु आजै निर्वाचन आयोगमा अध्यवधिक गराउने निर्णय गरेको थियो । सोही बमोजिम आवश्यक कागजात सहित नेताहरु आयोग गएका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित हुनुभएको छ । काठमाडौँमा जारी विशेष महाधिवेशन पक्षधरको दोस्रो विशेष महाधिवेशनबाट आज पार्टी सभापति पदमा थापा निर्विरोध निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक सीताराम केसीले जानकारी दिनुभयो । जारी विशेष महाधिवशेनबाट आज पार्टी सभापतिमा गगनकुमार थापा उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल तथा महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जानकारी दिनुभयो । पार्टीको सहमहामन्त्री डा डिला सङ्ग्रौला पन्त (महिला), प्रकाश रसाइली स्नेही (दलित), बहादुरसिहं लामा (आदिवासी जनजाति), उदयशम्शेर राणा (खसआर्य), मुक्ताकुमारी यादव (मधेसी), फर्मुल्ला मन्सुर (मुस्लिम), योगेन्द्र चौधरी (थारु) र कर्णबहादुर बुढा (पिडडिएको क्षेत्र) निर्वाचित हुनुभएको छ । यस्तै, खुला ३५ केन्द्रीय सदस्यतर्फ गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी, अर्जुनप्रसाद जोशी, सुरेशकुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, ध्रुव वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्ज्वल बराल, जनक गिरी र देवप्रसाद तिमिल्सिना निर्वाचित हुनुभएको छ । यस्तै, जयबाबु सिवाकोटी र प्रेमबहादुर खड्का, जयराम लामिछाने, वसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरि गुरागाईं, डा केदारनरसिंह केसी, विदुर बस्नेत, तीर्थजङ्ग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह खुला केन्द्रीय सदस्य निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । महिला खुल्ला नौ सदस्यीय केन्द्रीय सदस्यमा चम्पादेवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउँद ऐर र दिलकुमारी राई निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य कोशी प्रदेशतर्फ शारदादेवी कोइराला, हिमालय कर्माचार्य र अग्नि पौडेल, मधेसतर्फ मधु शाही, रामानन्द यादव र बजरङ्ग नेपाली, बागमतीतर्फ उमा दाहाल, जितनारायण श्रेष्ठ र रमेश धमला निर्विरोध चयन हुनुभएको छ । गण्डकीतर्फ विष्णुदेवी पाण्डे, रेशम बानियाँ र कृष्ण केसी, लुम्बिनीतर्फ पवित्राकुमारी अर्याल, केशव आचार्य र रामबहादुर कार्की, कर्णालीतर्फ रमादेवी खड्का, दिक्पाल शाही र नारायण भट्टराई तथा सुदूरपश्चिमतर्फ निपा चोख्याल, हिमबहादुर रावल र नरेन्द्रप्रसाद भट्ट निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य (अपाङ्गता)तर्फ प्रकाश पन्त, (अल्पसङ्ख्यक)तर्फ शिवनारायण सिं गनगाई, केन्द्रीय सदस्य दलिततर्फ मैकुलाल बाल्मिकी, शिवबहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य विक र दिनेश सुनार निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य आदिवासी जनजाति (महिला)तर्फ सपना राजभण्डारी, प्रमिला राई, मनकुमारी गुरुङ, कुशुमदेवी थापा मगर, लीलादेवी बोखिम लिम्बू, डा अमिता प्रधान र छोन्दुल्होम शेर्पा, आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अष्टकुमार कवे, छन्दबहादुर पहराइ मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भीम श्रीष, नरेन्द्र केरुङ र दिपेन श्रेष्ठ चयन हुनुभएको छ । केन्द्रीय सदस्य ९खसआर्य महिलातर्फ० उमा सिवाकोटी, बाला अधिकारी, मुना भुसाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री, खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदीशचन्द्र उपाध्याय, विष्णुकुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुसाल निर्वाचित हुनुभएको छ । केन्द्रीय सदस्य (मधेसी महिलातर्फ) अञ्जु झा, चन्द्रकलाकुमारी यादव, गोमा अन्सारी र र निलम साह, (मधेसी खुला)मा रामपल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिलकुमार यादव र रामरुप प्रसाद निर्विरोध हुनुभएको छ । केन्द्रीय सदस्य (मुस्लिम महिला) पदमा सनम वेगम, मुस्लिम खुल्ला पदमा अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार, थारू महिलामा नवोदिता चौधरी र सुनिता राना, थारू खुल्लातर्फ सुरेन्द्रप्रसाद चौधरी र गोपाल दहित तथा पिछडिएको क्षेत्रतर्फ खुल्ला केन्द्रीय सदस्यमा दीपकजङ्ग शाह निर्वाचित हुनुभएको छ । घोषित समितिका सभापति थापाले आजै निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता केसीसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ भने अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई भने आजै दिउँसो शपथ ग्रहणको कार्यक्रम राखिएको निर्वाचन समितिले जनाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई कारबाही गरेको छ । महामन्त्रीद्वयसहित सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पाँच वर्षका लागि साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको एक नेताले जानकारी दिए । पाँच वर्ष साधारण सदस्य नरहने गरी कारबाही गरिएको केन्द्रीय सदस्यहरुले जानकारी दिएका छन् । विशेष महाधिवेशन पक्षधरहरुले सहमतिका लागि आठबुँदे प्रस्ताव अघि सारेका थिए । तर त्यसमा सहमति कायम हुन नसकेपछि वार्ता भंग भएको थियो । विशेष महाधिवेशन पक्षधरहरुले अहिले केहीबेरमा नयाँ कार्यसमिति सार्वजनिकको तयारी गरेका छन् ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट कूल १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । निर्वाचन आयोगले उपलब्ध गराएको अन्तिम विवरण अनुसार, १७ चुनाव चिह्नका (एकलसहित) उम्मेदवारले नाम फिर्ता लिएका हुन् । बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा यही पुस २८ गते बिहान १० बजेदेखि ४ बजेसम्मको समय निर्धारण गरिएको थियो । नाम फिर्ता लिने विषयमा आयोगले सूचना प्रकाशित गरी जानकारी गराएको थियो । आयोगले उम्मेदवार आफैँ उपस्थित भएर वा वारेसमार्फत पनि नाम फिर्ता लिनसक्ने व्यवस्था गरेको थियो । तोकिएको समयसीमाभित्र एकलसहित १७ चुनाव चिह्नका १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो । उहाँका अनुसार फिर्ता लिनेमा एकल चुनाव चिह्नबाट बन्द सूचीमा नाम पेस गर्ने राजनीतिक दलका उम्मेदवारसमेत छन् । नाम फिर्ता लिनेमा सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ११० उम्मेदवार रहेका सहायक प्रवक्ता जिसीले बताउनुभयो । उक्त पार्टी अन्य दलसँग एकता गरेकाले तयसअघि पेस भएका सबै उम्मेदवारको नाम बन्दसूचीबाट फिर्ता लिएका उहाँको भनाइ छ । यसैगरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका छ र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पाँच जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालका चार–चार जना तथा नेपाली कांग्रेस, उन्नत लोकतान्त्रिक पार्टी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दुई–दुई जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, संयुक्त नागरिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीका तर्फबाट जाँतो एकल चुनाव चिह्नका एक उम्मेदवारले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् । यसैगरी गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट एक–एक जना उम्मेदवारले नाम फिर्ता लिएका आयोगले जनाएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीका लागि यही पुस १३ र १४ गते दलहरूले आयोगमा नाम पेस गरेका थिए । कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था गरिएको छ । त्यसका लागि आयोगले पछिल्लो जनगणनाका आधारमा जातीय प्रतिनिधित्वसमेत हुने गरी आवश्यक व्यवस्था गरेको छ ।

