पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको लेखनाथ हाफ म्याराथन–२०८० को उपाधि रामजी बस्नेतले जितेका छन् । शनिबार भएको दौडको निर्धारित २१ किलोमिटर दुरी एक घण्टा १३ मिनेट ३३ सेकेण्डमा पूरा गर्दै बस्नेतले उपाधि जितेका हुन् । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा भएको म्याराथनमा मोहनदेव जोशी द्वितीय र अनिष गुरूङ तृतीय भए । जोशीले एक घण्टा १४ मिनेट दुई सेकेण्ड र गुरूङले एक घण्टा १८ मिनेट आठ सेकेण्डमा दौड पूरा गरेको रेस डाइरेक्टर सिद्धान्त अधिकारीले जानकारी दिए । महिला खुल्ला १० किलोमिटर दौडतर्फ पूर्णलक्ष्मी न्यौपाने प्रथम, आशा राउत द्वितीय र सुमित्रा चौधरी तृतीय भए । न्यौपानेले एक घण्टा ६ मिनेट ३७ सेकेण्ड, राउतले एक घण्टा सात मिनेट २१ सेकेण्ड र चौधरीले एक घण्टा आठ मिनेट १६ सेकेण्डमा दूरी पूरा गरेको आयोजकले जनाएको छ । म्याराथन र महिला १० किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँको साथमा मेडल र प्रमाण–पत्र पाएका छन् । २१ किलोमिटरको म्याराथनमा प्रथम, द्वितीय र तृतीय भएकालाई लेखनाथ उद्योग वाणिज्य संघले पुरस्कारमा १०–१० हजार रूपैयाँ प्रोत्साहनबापत दिएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । पाँच किलोमिटर छात्रा विधामा नारायणी भण्डारी प्रथम भइन् । उनले २४ मिनेट ५० सेकेण्डमा दूरी पार गरिन् । मेनुका अधिकारी र एञ्जल अधिकारी क्रमश ः २५ मिनेट ३८ सेकेण्ड र २६ मिनेट ४० सेकेण्डमा दौड पूरा गर्दै द्वितीय र तृतीय भए । छात्रतर्फ १७ मिनेट ४० सेकेण्डमा पाँच किलोमिटर दूरी पार गरेर तेन्जोन रोका प्रथम भए । विवेक परियार १७ मिनेट ५० सेकेण्डमा र सुनिल वि.क १७ मिनेट ५५ सेकेण्डमा दूरी पूरा गरेर क्रमशः द्वितीय र तृतीय भए । पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय भएका छात्र–छात्राले १५ हजार, १० हजार र पाँच हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाएका छन् । चेतनाथ पोखरा च्याम्पियन धावक चेतनाथ चालिसे पोखरा च्याम्पियन घोषित भए । उनले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । म्याराथनमा सहभागी पोखराका खेलाडीमध्ये सबैभन्दा पहिला निर्धारित दुरी पूरा गरेका चालिसेले पोखरा च्याम्पियन उपाधि हात पारेका हुन् । चालिसेले २१ किलोमिटर दौड एक घण्टा ३१ मिनेट ४५ सेकेण्डमा पूरा गरेका थिए । उक्त समयमा निर्धारित दूरी पार गर्दा उनी १३ औं भएका थिए । चालिसे पोखरा–१७ बिरौटा निवासी हुन् ।
पोखरा: फेवा किनारका सिमसार क्षेत्र पुरेको विवाद चुलिदा फेरी फेवा संरक्षणको चाँसो बढेको छ । पोखरा महानगरपालिकाको तत्कालिन मेयर मान बहादुर जिसीले ५५ औं कार्यपालिका बैठकमा फेवातालको मापदण्ड ६५ मिटरबाट घटाएर ३० मिटर कायम गर्ने निर्णय गरेको थिए । तर सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको थियो । त्यसयता फेवा संरक्षणको विषय साम्य भएको थियो । फेरि यतिबेला फेवा संरक्षणको सवाल तातिएको छ । केही दिन यता पोखरा महानगरपालिका २३ र २४ स्थित पामे ठाडो बाटो स्थित फेवातालको सिमसार क्षेत्र घोषणा गरेको क्षेत्रलाई लिएर स्थानीय र पोखरा महानगरबीच विवाद भइरहेको छ । पामेस्थित फेवातालको सिमसार क्षेत्र घोषणा गरिएको क्षेत्रमा अहिले व्यवसायी युवराज खतिवडाले ५ सय रोपनी जग्गा पुर्नका लागि माटोको थुप्रो नै बनाएपछि महानगर पुर्न नदिने पक्षमा छ । त्यतिमात्र नभएर खतिवडाको टिप्पर र डोजर नै नियन्त्रयमा लिएको छ । यद्यपी पोखरा महानगरपालिकाले पहिले भने कृषि उपजका लागि जग्गा पुर्न दिने बताएको थियो र सोही अनुसार स्थानीयसँग मिलेर जग्गा पुरेको व्यवसायी खतिवडाको दाबी छ । स्थानीय कुलप्रसाद तिमिल्सिनाले वरिपरिका जग्गा पुर्दा आफ्नो जग्गा तल हुँदा आफुले पनि पुरेर खेती गर्नुपर्ने माग राखे । उनले सिमसार क्षेत्रमा कृषिजन्य खेती गर्न माटोले पुर्ने पर्ने उनले बताए । ‘यो क्षेत्रमा पुरै पुरै हिलैहिलो हुन्छ, माटो फिलिङ गरेर मात्रै खेतीयोग्न जमिन बन्छ । नत्र यस्तोमा कसरी खेती गर्न मिल्छ ?,’ उनको प्रश्न छ । ‘यता पुरे उता पुरे यसलाई सिमसार क्षेत्र भन्दिने, पाखामा खेती गरौं खान पाइँदैन बादरले सक्छ,’ तिमिल्सिनाले भने, ‘तालको भाग भनेर योजना छ, ५ किलोमिटर माथि आएर पुर्न पाइँदैन, घर बनाउन पाइँदैन भन्ने छ यहाँ दुईथरी कानून छन् । पुरेर खेती गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ भाइअंश भएको र दुवै तर्फ माटोले पुर्दा आफ्नो जग्गा गहिराईमा परेको भन्दै पुरेर खेतीपाती गर्न पाउनुपर्ने उनको माग छ । पोखरा महानगरपालिकाले नै सिमसार क्षेत्रलाई आवास क्षेत्र तोकिदिएपछि जग्गा पुरेको स्थानीयको स्पष्टोक्ती छ ।
पोखरा: पोखरा महानगरपालिकाले कानून बर्खिलाप एक वडाध्यक्षको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाएको पाइएको छ । अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्न संयोजक बनेका पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत (एनआइसी एसिया बैंक) खातामा जग्गा खरिद गर्नका लागि रकम पठाएको बताइएको छ । वडाध्यक्ष अधिकारीको खातामा फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्ने जग्गा खरिद गर्नका लागि गत पुस २५ गतेको महानगर कार्यपालिकाको बैठकले पेश्की स्वरुप ५५ लाख पठाउने निर्णय गरेको थियो । त्यसपश्चात राष्ट्रिय वाणिज्य बैंकमा रहेको महानगरको खाताबाट वडाध्यक्ष अधिकारीको एनआइसी एसिया बैंकको खातामा गत पुस २९ गते रकम पठाइएको थियो । रकम पठाएको ५ महिना बितिसक्दापनि जग्गा खरिदको प्रक्रिया अघि नबढ्दा महानगरले रकम फिर्ता गर्न पत्र काटेको छ । यद्यपी पत्र पाएको साढे एक महिना हुन लाग्दा पनि वडाध्यक्ष अधिकारीले रकम फिर्ता गरेका छैनन् । यो खबर सेतोपाटीमा युवराज श्रेष्ठले लेखेका छन् ।
पोखरा: पोखरा महानगरपालिका वडा नं. १३ भित्र सञ्चालित संस्थागत विद्यालयले छात्रावृत्तिको विवरण बुझाएका छन् । पोखरा महानगरपालिका १३ नं. वडाभित्र सञ्चालित संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकहरुले संस्थागत विद्यालयले विगतमा विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएका मिहिनेती र जेहेन्दार छात्रावृत्तिको विवरण बुझाएका हुन् । विद्यालयले छात्रावृत्तिलाई निरन्तरता दिने प्रतिवद्धता समेत गरेका छन् । वडा अध्यक्ष किरण बरालले १३ नम्बर वडाभित्र शिक्षा क्षेत्रमा लगानी गरेर योगदान दिई शैक्षिकस्तर माथि उकास्न मद्धत गर्दै छात्रावृत्ति विवरण पारदर्शी गरेकोमा संस्थागत विद्यालय सञ्चालकलाई धन्यवाद ज्ञापन गरेका थिए । बरालले वडाभित्रका विपन्न समुदायका विद्यार्थीलाई निरन्तर छात्रावृत्रि उपलब्ध गराइदिन पनि अनुरोध गरे । उनले निवर्तमान वडा अध्यक्ष दर्शन लामालाई मार्गदर्शन, सल्लाह र प्रेरणाका लागि स्मरण गर्दै भौतिका पूर्वाधारसँगै शिक्षा क्षेत्रको विकास पनि आवश्यक रहेको बताए । छात्रावृत्ति उपलब्ध गराउने बालकल्याण हाइ स्कलु, अक्सफोर्ड स्कुल, इडेन्स एकेडेमी, ताराकुञ्ज सेकेन्डरी स्कुल र चिल्डे«न एकेडेमीले १० प्रतिशत छात्रावृत्तिको विवरण वडा कार्यालयमा पेश गरेका थिए । अन्तरक्रिया कार्यक्रममा सामुदायिक र निजी विद्यालयबिच आपसमा सहकार्य गरी अगाडि बढ्ने सहमति पनि भएको छ । वडामा रहेका सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार २ सय ६५ विद्यार्थीलाई शैक्षिक सामग्रीसमेत वितरण गरेको छ ।
पोखरा: विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखरामा पदोन्नति एवम् विद्यावारिधी गर्नुभएका प्राध्यापकहरूलाई एक कार्यक्रमका बीच आज बधाई तथा शुभकामना व्यक्त गरिएको छ । विन्दुवासिनी संस्कृत विद्यापीठ, नेपाल प्राध्यापक संघ इकाइ समितिको आयोजनामा नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको आन्तरिक तथा खुला प्रतियोगिताबाट प्राध्यापकमा पदोन्नत हुनुभएका सत्यराज सुवेदी, श्रीराम बराल, डा.जगनाथ रेग्मी एवम् हालसालै ʿसिद्धान्तकौमुदीश्लोकसिद्धान्तकौमुद्योः समीक्षणात्मकानुशीलनम्ʾ शीर्षकमा विद्यावारिधी उपाधि प्राप्त गर्नु भएका उपप्राध्यापक डा.भानुभक्त आचार्यलाई सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघ ,केन्द्रीय समितिका उपसभापति सहप्राध्यापक आनन्दमणि रिजालले एघार वर्षपछि विश्वविद्यालयमा पदोन्नतिको विज्ञापन भएको र आगामी दिनमा प्रत्येक दुई वर्षको अन्तरालमा यस्तो विज्ञापन गर्नैपर्ने व्यवस्था गराउनुपर्नेमा जोड दिनुभयो । पदोन्नत प्राध्यापकको प्राज्ञिक क्षमता र सीपबाट विश्वविद्यालयको गरिमा बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा खुला प्रतियोगिताद्वारा उप प्राध्यापकबाट प्राध्यापक बन्न सफल डा.जगन्नाथ रेग्मीसहित सम्मानित प्राध्यापकहरू एवम् प्रा.डा.शालिग्राम सुवेदी, सह प्राध्यापक अम्बिकाप्रसाद भट्टराई, सह प्राध्यापक नारायणप्रसाद सापकोटा र कर्मचारी संघ एकाइ समितिका अध्यक्ष दुर्गारमण पराजुलीले बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । प्राध्यापक संघ विन्दुवासिनी संस्कृत विद्यापीठ इकाइ समितिका सभापति डा. चूडामणि कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति प्रकाश पौडेलले स्वागत तथा सचिव डा. भोलानारायण रेग्मीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो
पोखरा: फेवातालको सिमसार क्षेत्र पुरेको आरोपमा पोखरा महानगरपालिकाले नियन्त्रणमा लिएको डोजर र टिप्पर छुटाउन व्यवसायी युवराज खतिवडा महानगर पुगेका छन् । फेवातालका सिमसार क्षेत्र पुरेको भन्दै व्यवसायी खतिवडाको टिप्पर र डोजर केही दिन अगाडि महानगरको नगरप्रहरीले नियन्त्रणमा लिएको थियो । सोही डोजर र टिप्पर छुटाउनका लागि खतिवडाले आज (बुधबार) महानगरपालिकामा निवेदन पेश गरेको महानगरका कानूनी सल्लाहकार नारायण शर्माले जानकारी दिए । ‘व्यवसायी खतिवडाले नियम र कानूनमा रहेर नै काम गरेको भए पनि महानगरले व्यवसायीलाई दुःख दिने उद्धेश्यले डोजर र टिप्पर छुटाई पाउ भनेर निवेदन पेश गर्नुभएको छ’, शर्माले भने, ‘हामीले निवदेन हेर्दै छौं, नियम र कानूनतः छ छैन हेरेर रिर्पोट पेश गर्छाै ।’ उनका अनुसार व्यवसायी खतिवडाको एक डोजर र एक टिप्पर वडा प्रहरी कार्यालय बैदामको समन्वयमा नगर प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त सवारी साधनका चालकलाई भने बैदाम प्रहरीले एक रात हिरासतमा राखेर छाडेको थियो । खतिवडाको स्थानीयसँग मिलेर करिब ५ सय रोपनी जग्गालाई माटो थपेर खेतीयोग्ज जमिन बनाउने योजना रहेको थियो । तर कुटी रिसोर्टका सञ्चालक तथा निर्माण व्यवसायी देवेन्द्र केसीले भने सोही क्षेत्रमै प्लटिङ गरिसकेका छन् । तस्बिर: गीता रानामगर
पोखरा: कास्कीको मादी गाउँपालिका वडा नं. ६ ले चालु आर्थिक वर्ष २०७९/८० भित्र गरेको वार्षिक प्रगतिको सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालय तप्राङमा वडाले चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगतिसहितको समिक्षा मंगलबार नागरिक समक्ष सार्वजनिक गरेको हो । सार्वजनिक सुनवाई कार्यक्रममा स्थानीयहरुले वडाले आर्थिक वर्षमा गरेका विकास निर्माण र नागरिकमैत्री सेवाको खुलेरै प्रशंसा गरे । वडाले आफ्नो फेयरिस्ट सार्वजनिक गर्नु सुखद पक्ष रहेको बताउदै स्थानीय खिमलाल बरालले वडाध्यक्षको कार्यशैलीप्रति सन्टुष्ट रहेको बताए । भिडियाे: यस्तै ७४ वर्षीय स्थानीय देवीप्रसाद बरालले वडाध्यक्षले नागरिकमैत्री काम गरेको बताउदै समर्थन गर्नुपर्ने धारणा राखे । उनले मादी ६ को विकास गर्ने जिम्मेवारी वडा कार्यालयको मात्रै नभएर स्थानीयहरुको पनि उत्तिकै पहलकदमी हुनुपर्ने बताएका थिए । यस्तै नेकपा माओवादी केन्द्रका मादी गाउँपालिका अध्यक्ष दीपक परियारले प्रतिपक्षमा रहेपनि गुण र विशेषताको आधारमा वडाध्यक्षलाई सहयोग गर्दै आएको उल्लेख गरे । ‘गाउँको विकासमा यो वा त्यो पार्टी भन्नु हुदैन । हामीले युवा, शालिन र भद्र वडाध्यक्ष पाएका छौ, उनले भने, ‘सकरात्मक काममा हातेमालो गर्न तयार छौ तर नागरिकको हितविपरित केही काम भयो भने खबरदारी गर्न पनि पछि हट्नु हुदैन ।’ यता वडाध्यक्ष डिल बहादुर क्षेत्रीले आर्थिक वर्षभित्र गरेका वार्षिक प्रगतिको समिक्षा र नागरिकको गुनासो सुन्न सार्वजनिक सुनुवाई गरेको स्पष्ट पारे । उनले सभ्य समाजर सुशासनको पक्षमा वडा रहेको बताउदै फेयरिस्त सार्वजनिक गरे । उनका अनुसार वडाभित्रका विभिन्न विकासका योजनाहरु ८० प्रतिशत सम्पन्न भैसकेका छन् । ‘वडाको चालु आर्थिक वर्ष भित्र सक्ने गरी सुरु गरेका करिव ८० प्रतिशत योजना सम्पन्न भएका छन्, केही योजना सम्पन्न भएपनि भुक्तानी लिन बाँकी छ, वडाध्यक्ष क्षेत्रीले भने, ‘गाउँपालिकाको नमूना वडा बनाउन स्थानीयको सहकार्यमा नै योजना अगाडि बढाएका छौं, प्रदेश र संघ सरकारको सहयोगमा वडामा पूर्वाधारहरुको काम अगाडि बढिरहेको छ ।’ उनले नाउनुङको पहिरोले बस्ती नै जोखिममा पर्न सक्ने भएकाले पहिरो नियन्त्रणका लागि प्रदेश र संघ सरकारले आवश्यक बजेट र पहिरो नियन्त्रणका लागि वैकल्पिक स्रोतको खोजी गरिरहेको बताए । ‘नाउनुङको पहिरोले ५५ बढी घर विस्थापित भए, महारुद्ध माविलाईसमेत अर्को स्थानमा सार्नुपर्ने बाध्यता रह्रयो, क्षेत्रीले भने, ‘पहिरो नियन्त्रणका लागि प्रदेश र संघ सरकारले बजेट विनियोजन गरेपनि पहिरो नियन्त्रण हुन सकेको छैन । पहिरो नियन्त्रण गर्नका लागि वैकल्पिक स्रोतको खोजीमा छौं ।’ उनका अनुसार वडा कार्यालयले चालु आर्थिक वर्षको जेठ २३ सम्म ६ लाख ७ हजार ६ सय ११ रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै वडा कार्यालयले ८१ वटा नागरिकताको सिफारिस, ४६ वटा मालपोत सिफारिस र ६ सय ७८ वटा अन्य सिफारिस गरेको छ । चालु आर्थिक वर्ष ०७९/०८० मा मादी गाउँपालिका वडा नं. ६ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक भत्ता पाउने २ सय २६, दलित ज्येष्ठ नागरिक भत्ता पाउने ३७, एक महिला भत्ता पाउने २२ जना, विधुवा भत्ता पाउने ३० जना, पुर्ण अपाङ्गता भत्ता पाउने १० जना, अति अशक्त अपाङ्गता भत्ता पाउने ४ जना र दलित बालबालिका भत्ता पाउने ४४ जना रहेको वडा कार्यालयको तथ्याङ्कमा उल्लेख छ । स्थानीयको अपेक्षा: कृषि, पर्यटन, स्थानीय उत्पादन, पहिरो नियन्त्रण र प्राविधिक शिक्षा वडा कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगतिको समिक्षा गर्न आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा कृषि, पर्यटन, स्थानीय उत्पादन र प्राविधिक शिक्षालाई वडाले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । महारुद्र माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम देवकोटाले वडामा अब प्राविधिक शिक्षा सञ्चालन गर्न माग गरे । ‘अहिले विद्यालयहरुमा परम्परागत शिक्षा प्रणालीमा नै रहेका छौं ।अब शिक्षा नीतिलाई परिवर्तन गर्न आवश्यक छ । वडा कार्यालयले अब प्राविधिक शिक्षालाई जोड दिन आवश्यक छ,’ उनले भने । उनले वडाका सबै नागरिकलाई शिक्षाको पहुँचमा ल्याउन एसइई दिएर बसेका विद्याथीहरुलाई शिक्षण सिकाइका लागि टोलटोलमा पठाएकोसमेत बताए । यस्तै स्वास्ध्य क्षेत्रबाट अवकाश प्राप्त मनुराज बरालले पोखराबाट आउने गाडीले वडामा सामान मात्र ल्याउने गरेकाले वडाबाट पुन: उत्पादन भएका सामग्री बजार पठाउने गरी योजना ल्याउन माग गरे । ‘बजारबाट गाउँमा गाडी भरी सामान आउँछ, फर्किएर जाँदा रित्तै जान्छ, उनले भने, ‘अब गाउँबाट पनि गाडीमा गाउँबाट उत्पादन भएका सामग्री बजार पठाउने गरी योजना अगाडि बढाउनुहोस् ।’ स्थानीय लक्ष्मण गुरुङले स्थानीय स्तरमा नै बस्ने स्थानीयहरुको लागि छुने योजना ल्याउन माग गरे । ‘सरकार योजनामा स्थानीयस्तर भन्दा गाउँमा नबस्ने तर पहुँचको आधारमा योजनामा अवसर पाएका छन्, भुकम्प पीडितका नाममा घर बन्यो ताला लाग्यो, हाम्रो न घर बन्यो न ताला नै लाग्यो, स्थानीय स्तरमा नै बस्ने वडावासीको हितमा योजना कार्यान्वयन गरौ ।’ वडावासीले उठाएको सवालमा जवाफिदै वडाध्यक्ष क्षेत्रीले नाउनुङको पहिरो नियन्त्रणमा ध्यान दिनु पहिलो प्राथमिकता भएको बताए । ‘नाउनुङको पहिरोले गाउँ नै जोखिममा पार्न सक्छ, विद्यालय र ५५ बढी घरहरु विस्थापित भएका छन्, अब पहिरो नियन्त्रणपछि वडामा पर्यटन, कृषि र प्राविधिक शिक्षालाई बढी जोड दिन्छौं ।’ उनले स्थानीयले उठाएका सवालमा आफुले शिरोधार्य गर्दै अघि बड्ने प्रतिवद्धता जनाए । नागरिकस्तरमा उठेका सवाललाई प्राथमिकताका आधारमा समाधान गर्न आफु कटिबद्ध रहेकोसमेत स्पष्ट पारेका थिए । सो अवसरमा मादी ६ भित्रका विभिन्न विकास निर्माणको उपभोक्ता समितिका २० बढी नेतृत्वकर्ताहरुलाई वडाले सम्मान गरेको थियो । सार्वजनिक सुनावाई कार्यक्रममा मादी गाउँपालिका ६ का करिब १ सय ५० बढी स्थानीयको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजीकरण पत्रकार सुशान्त गाहामगर (अर्जुन) ले गरेका थिए ।
पोखरा: पोखरा महानगरपालिकाको चाउँथे नजिकै नहरमा एक पुरुष मृत भेटिएका छन् । कास्की प्रहरीका अनुसार हिजो (सोमबार) दुइ कुलाकाे मुहानमा मृत भेटिएका पुरुष पोखरा महानगरपालिका ११ फुलबारीका ५० वर्षीय ऋषिराम शर्मा रहेको पुष्टि भएको हो । शर्मा सोमबार बिहानदेखि परिवारको सम्पर्कबाट बाहिर रहेका थिए । मृत भेटिएका शर्माको आत्महत्या वा हत्या हो भन्ने विषयमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको प्रवक्ता तथा डिएसपी श्रवण कुमार विकले जानकारी दिए । शर्मा विगत २७ वर्षदेखि पद्म नर्सिङ होम प्रालिमा कार्यरत थिए ।
पोखरा: पोखरा महानरपालिका भित्रका विभिन्न १६ विद्यालयले बहाल कर नतिरेको पाइएको छ । महालेखापरिक्षकको ६० औं प्रतिवेदन अनुसार पोखरा महानगरपालिका भित्रका १६ विद्यालयले बहाल करस्वरुप ५२ लाख ५२ हजार ६ सय ८६ रुपैयाँ नतिरेका हुन् । ति १६ विद्यालयले विभिन्न भौतिक संरचना बहालमा दिएर कुल ६ करोड ५४ लाख ३५ हजार ५ सय ४६ रुपैयाँ आम्दानी गर्दै आएका छन् । कानूनी व्यवस्था अनुसार आम्दानी रकमको ८ प्रतिशत बहाल कर सम्बन्धित स्थानीय सरकारलाई तिर्नुपर्ने प्रावधान रहन्छ । सोही अनुसार पोखरा महानगरपालिका भित्रका १६ वटा विद्यालयले महानगरलाई बहाल करबापत तिर्नुपर्ने ५२ लाख ५२ हजार ६ सय ८६ रुपैयाँ बक्यौता रकम देखिएको छ । ‘यो महानगरपालिका भित्रको १७ वटा विद्यालयले बहाल करबापत तिर्नुपर्ने रकम नतिरेपछि बेरुजुमा राखेको थियो, पोखरा महानगरपालिका राजस्व शाखाका अधिकृत दीपेन्द्र पण्डितले सुनगाभा न्यूजसँग भने, ‘त्यसमध्ये पार्दी माविले बक्यौता कर तिरिसकेको छ । बाँकी अन्य विद्यालयहरुलाई पनि हामीले पत्र काटिसकेका छौ ।’ पण्डितले बाँकी रहेका १६ विद्यायलले छिटै जगेडा गरेर बक्यौता बहाल कर चुक्ता गर्ने बताए । ‘सबै विद्यालयलाई पत्र पठाइसकेका छौ । रकम जगेडा गरेर छिटै चुक्ता गर्नुहोला नत्र उहाँहरुकै नाममा बेरुजु रहिरहन्छ त्यसैले जसरी पनि तिर्नेपर्ने हुन्छ,’ उनले भने । छोरेपाटन माविको सबैभन्दा बढी बक्यौता महालेखापरिक्षकको प्रतिवेदन अनुसार १६ वटा विद्यालयमध्ये पोखरा महानगरपालिका १७ स्थित रहेको छोरेपाटन माविको सबैभन्दा बढी बक्यौता देखिएको छ । छोरेपाटन माविले बहाल करबापत ३७ लाख ९१ हजार ४ सय ४५ रुपैयाँ तिर्न बाँकी देखिएको हो । छोरेपाटन माविले सटरभाडाको ५ लाख ८४ हजार ८ सय ७२ रुपैयाँ, गुप्तेश्वर गुफाको आम्दानीबापत २४ लाख १२ हजार १ सय ५५ र पातले छाँगो प्रवेश शुल्कको करबापत ७ लाख ९४ हजार ४ सय २५ रुपैयाँ गरी कुल ३७ लाख ९१ हजार ४ सय ४५ रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । यद्यपि उक्त बक्यौता रकमप्रति भने छोरेपाटन माविका प्रध्यानाध्यापक डिल्लीराम शर्माको आपत्ती छ । ‘हामीलाई महानगरको पत्र हिजो मात्रै प्राप्त भएको छ । त्यो पत्र अलि नमिल्दो छ । गुप्तेश्वर पत्रमा गुफाको पनि हाम्रै नाममा देखिएको छ, शर्माले भने, ‘गुफा स्वायत्त हो त्यसैले पहिला विद्यालय व्यवस्थापन समितिको छलफल हुन्छ कति तिर्ने ? कसरी तिर्ने ? त्यसपछि महानगरसँग विस्तृत समन्वय गर्छाै ।’ प्रतिवेदन अनुसार छोरेपाटन माविले कुल आम्दानी ४ करोड ७३ लाख ९३ हजार १ सय ६४ रुपैयाँ रहेको थियो । यस्तै पोखरा १६ लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माविले पनि ठुलो रकमको कर तिर्न बाँकी छ । इन्द्रराज्यलक्ष्मी माविले सटरभाडाबापत आम्दानी गरेको ४२ लाख ४१ हजार १ सय ८४ रुपैयाँको बहाल करबापत ३ लाख ३९ हजार २ सय ९५ रुपैयाँ बक्यौता छ । यस्तै पोखरा १२ अमरसिंहस्थित अमरसिंह माविले २ लाख ८६ हजार ५ सय २० रुपैयाँ तिर्न बाँकी देखिएको छ । पोखरा ६ स्थित तालबाराही माविले २ लाख ११ हजार २ सय ५७ रुपैयाँ बहाल कर तिर्न बाँकी छ । पोखरा महानगरपालिका २ स्थित विन्ध्यवासिनी माविले १ लाख ३९ हजार १ सय ४ रुपैयाँ बक्यौता छ । यस्तै पोखरा २९ मा रहेको जनप्रकाश मालिे ८९ हजार ६ सय ११ रुपैयाँ, पोखरा –११ फुलबारीस्थित शिवशक्ति माविलेपनि जग्गा तथा चमेनागृह भाडामा लगाएबापत ७५ हजार ४ सय ५५, पोखरा ९ को नवप्रभात माविले सटर, कोठा र जग्गाभाडा बापत (आर्थिक वर्ष २०७६/०७७ को समेत गरी) १ लाख ३६ हजार ८ सय १७ रुपैयाँ, पोखरा ३३ स्थित सरस्वती माविले सटरभाडा बापत ३९ हजार ४ सय ९९ रुपैयाँ, पोखरा २७ को लक्ष्मी माविले ११ हजार ९ सय ८४ रुपैयाँ, पोखरा १३ स्थित भद्रकाली माविले क्यान्टिन तथा माछापसलको भाडाबापत १५ हजार २ सय रुपैयाँ, पोखरा ३३ को शान्ति उदय माविको नाममा टावर भाडाबापत १८ हजार ३ सय ५३ रुपैया बक्यौता छ । यसैगरी पोखरा महानगरपालिका २८ स्थित जनज्योती माविले ६ हजार ९ सय २२ रुपैयाँ, पोखरा ३ को ज्ञानभूमी मावि ५८ हजार ३ सय ६० रुपैयाँ, पोखरा २६ स्थित लक्ष्मी माविले सटरभाडा बापत २४ हजार १ सय ९ रुपैयाँ र पोखरा महानगरपालिका १४ को शुक्रराज बलभद्र माविले गाइगोठ भाडाबापत ९ हजार २ सय रुपैया तिर्न बाँकी रहेको पोखरा महानगरपालिकाले जनाएको छ ।

