मादी ६ को सार्वजनिक सुनुवाई: वडावासी भन्छन्–‘हामी सन्तुष्ट छौं’

स्थानीयको अपेक्षा: कृषि, पर्यटन, पहिरो नियन्त्रण र प्राविधिक शिक्षा

कास्की | जेठ २४, २०८०

मादी ६ को सार्वजनिक सुनुवाई: वडावासी भन्छन्–‘हामी सन्तुष्ट छौं’

पोखरा:   कास्कीको मादी गाउँपालिका वडा नं. ६ ले चालु आर्थिक वर्ष २०७९/८० भित्र गरेको वार्षिक प्रगतिको सार्वजनिक सुनुवाई गरेको छ । 

 

वडा कार्यालय तप्राङमा वडाले चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगतिसहितको समिक्षा मंगलबार नागरिक समक्ष सार्वजनिक गरेको हो । 

 

सार्वजनिक सुनवाई कार्यक्रममा स्थानीयहरुले वडाले आर्थिक वर्षमा गरेका विकास निर्माण र नागरिकमैत्री सेवाको खुलेरै प्रशंसा गरे । 

 

वडाले आफ्नो फेयरिस्ट सार्वजनिक गर्नु सुखद पक्ष रहेको बताउदै स्थानीय खिमलाल बरालले वडाध्यक्षको कार्यशैलीप्रति सन्टुष्ट रहेको बताए । 

 

भिडियाे:

 

यस्तै ७४ वर्षीय स्थानीय देवीप्रसाद बरालले वडाध्यक्षले नागरिकमैत्री काम गरेको बताउदै समर्थन गर्नुपर्ने धारणा राखे । उनले मादी ६ को विकास गर्ने जिम्मेवारी वडा कार्यालयको मात्रै नभएर स्थानीयहरुको पनि उत्तिकै पहलकदमी हुनुपर्ने बताएका थिए । 

 

यस्तै नेकपा माओवादी केन्द्रका मादी गाउँपालिका अध्यक्ष  दीपक परियारले प्रतिपक्षमा रहेपनि गुण र विशेषताको आधारमा वडाध्यक्षलाई सहयोग गर्दै आएको उल्लेख गरे । ‘गाउँको विकासमा यो वा त्यो पार्टी भन्नु हुदैन । हामीले युवा, शालिन र भद्र वडाध्यक्ष पाएका छौ, उनले भने, ‘सकरात्मक काममा हातेमालो गर्न तयार छौ तर नागरिकको हितविपरित केही काम भयो भने खबरदारी गर्न पनि पछि हट्नु हुदैन ।’

 

यता वडाध्यक्ष डिल बहादुर क्षेत्रीले आर्थिक वर्षभित्र गरेका वार्षिक प्रगतिको समिक्षा र नागरिकको गुनासो सुन्न सार्वजनिक सुनुवाई गरेको स्पष्ट पारे । उनले सभ्य समाजर सुशासनको पक्षमा वडा रहेको बताउदै फेयरिस्त सार्वजनिक गरे ।

 

 

उनका अनुसार वडाभित्रका विभिन्न विकासका योजनाहरु ८० प्रतिशत सम्पन्न भैसकेका छन् । 

‘वडाको चालु आर्थिक वर्ष भित्र सक्ने गरी सुरु गरेका करिव ८० प्रतिशत योजना सम्पन्न भएका छन्, केही योजना सम्पन्न भएपनि भुक्तानी लिन बाँकी छ, वडाध्यक्ष क्षेत्रीले भने, ‘गाउँपालिकाको नमूना वडा बनाउन स्थानीयको सहकार्यमा नै योजना अगाडि बढाएका छौं, प्रदेश र संघ सरकारको सहयोगमा वडामा पूर्वाधारहरुको काम अगाडि बढिरहेको छ ।’

 

उनले नाउनुङको पहिरोले बस्ती नै जोखिममा पर्न सक्ने भएकाले पहिरो नियन्त्रणका लागि प्रदेश र संघ सरकारले आवश्यक बजेट र पहिरो नियन्त्रणका लागि वैकल्पिक स्रोतको खोजी गरिरहेको बताए । 

‘नाउनुङको पहिरोले ५५ बढी घर विस्थापित भए, महारुद्ध माविलाईसमेत अर्को स्थानमा सार्नुपर्ने बाध्यता रह्रयो, क्षेत्रीले भने, ‘पहिरो नियन्त्रणका लागि प्रदेश र संघ सरकारले बजेट विनियोजन गरेपनि पहिरो नियन्त्रण हुन सकेको छैन । पहिरो नियन्त्रण गर्नका लागि वैकल्पिक स्रोतको खोजीमा छौं ।’

 

उनका अनुसार वडा कार्यालयले चालु आर्थिक वर्षको जेठ २३ सम्म ६ लाख ७ हजार ६ सय ११ रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै वडा कार्यालयले ८१ वटा नागरिकताको सिफारिस, ४६ वटा मालपोत सिफारिस र ६ सय ७८ वटा अन्य सिफारिस गरेको छ । 
 

चालु आर्थिक वर्ष ०७९/०८० मा मादी गाउँपालिका वडा नं. ६ बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक भत्ता पाउने २ सय २६, दलित ज्येष्ठ नागरिक भत्ता पाउने ३७, एक महिला भत्ता पाउने २२ जना, विधुवा भत्ता पाउने ३० जना, पुर्ण अपाङ्गता भत्ता पाउने १० जना, अति अशक्त अपाङ्गता भत्ता पाउने ४ जना र दलित बालबालिका भत्ता पाउने ४४ जना रहेको वडा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
 

 

स्थानीयको अपेक्षा: कृषि, पर्यटन, स्थानीय उत्पादन, पहिरो नियन्त्रण र प्राविधिक शिक्षा 

 

वडा कार्यालयले चालु आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रगतिको समिक्षा गर्न आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा कृषि, पर्यटन, स्थानीय उत्पादन र प्राविधिक शिक्षालाई वडाले प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । 

 

महारुद्र माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीराम देवकोटाले वडामा अब प्राविधिक शिक्षा सञ्चालन गर्न माग गरे । ‘अहिले विद्यालयहरुमा परम्परागत शिक्षा प्रणालीमा नै रहेका छौं ।अब शिक्षा नीतिलाई परिवर्तन गर्न आवश्यक छ । वडा कार्यालयले अब प्राविधिक शिक्षालाई जोड दिन आवश्यक छ,’ उनले भने ।

 

उनले वडाका सबै नागरिकलाई शिक्षाको पहुँचमा ल्याउन एसइई दिएर बसेका विद्याथीहरुलाई शिक्षण सिकाइका लागि टोलटोलमा पठाएकोसमेत बताए । 

 

यस्तै स्वास्ध्य क्षेत्रबाट अवकाश प्राप्त मनुराज बरालले पोखराबाट आउने गाडीले वडामा सामान मात्र ल्याउने गरेकाले वडाबाट पुन: उत्पादन भएका सामग्री बजार पठाउने गरी योजना ल्याउन माग गरे । 

‘बजारबाट गाउँमा गाडी भरी सामान आउँछ, फर्किएर जाँदा रित्तै जान्छ, उनले भने, ‘अब गाउँबाट पनि गाडीमा गाउँबाट उत्पादन भएका सामग्री बजार पठाउने गरी योजना अगाडि बढाउनुहोस् ।’

 

स्थानीय लक्ष्मण गुरुङले स्थानीय स्तरमा नै बस्ने स्थानीयहरुको लागि छुने योजना ल्याउन माग गरे ।

‘सरकार योजनामा स्थानीयस्तर भन्दा गाउँमा नबस्ने तर पहुँचको आधारमा योजनामा अवसर पाएका छन्, भुकम्प पीडितका नाममा घर बन्यो ताला लाग्यो, हाम्रो न घर बन्यो न ताला नै लाग्यो, स्थानीय स्तरमा नै बस्ने वडावासीको हितमा योजना कार्यान्वयन गरौ ।’
 

वडावासीले उठाएको सवालमा जवाफिदै वडाध्यक्ष क्षेत्रीले नाउनुङको पहिरो नियन्त्रणमा ध्यान दिनु पहिलो प्राथमिकता भएको बताए । ‘नाउनुङको पहिरोले गाउँ नै जोखिममा पार्न सक्छ, विद्यालय र ५५ बढी घरहरु विस्थापित भएका छन्, अब पहिरो नियन्त्रणपछि वडामा पर्यटन, कृषि र प्राविधिक शिक्षालाई बढी जोड दिन्छौं ।’

 

उनले स्थानीयले उठाएका सवालमा आफुले शिरोधार्य गर्दै अघि बड्ने प्रतिवद्धता जनाए । नागरिकस्तरमा उठेका सवाललाई प्राथमिकताका आधारमा समाधान गर्न आफु कटिबद्ध रहेकोसमेत स्पष्ट पारेका थिए । 

 

सो अवसरमा मादी ६ भित्रका विभिन्न विकास निर्माणको उपभोक्ता समितिका २० बढी नेतृत्वकर्ताहरुलाई वडाले सम्मान गरेको थियो ।

 

सार्वजनिक सुनावाई कार्यक्रममा मादी गाउँपालिका ६ का करिब १ सय ५० बढी स्थानीयको सहभागिता रहेको थियो । सो कार्यक्रमको सहजीकरण पत्रकार सुशान्त गाहामगर (अर्जुन) ले गरेका थिए । 


 

काठमाडौं:     मुख्य प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ । सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफ...

थप पढ्नुहोस्

पोखरा:     तमु धिं नेपाल जेठ ५ गते स्थापनाको ४० औं वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रम गरी मनाउने भएको छ। पोखरा ९ नयाँबजारमा केन्द्रिय कार्यालयको तमु धिं नेपालले सरसफाई, रक्तदान कार्यक्रम, शुभ...

थप पढ्नुहोस्

डोटी:     जिल्ला प्रहरी कार्यालय डोटीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ। प्रहरीले डोटीको राजपुरमा स्वास्थ्य शिविर सञ्चालन गरी ठगी गरेको आरोपमा एक जना नक्कली डाक्टरसहित दुई जनालाई पक्राउ गरेको...

थप पढ्नुहोस्