पोखराः कास्कीको बेगनास तालमा मोटरबोट सेवा सुरु भएको छ । बेगनासताल डुंगा व्यवसायी समितिले आन्तरिक एवं बाह्य पर्यटकलाई रोमाञ्चक अनुभूति दिन उक्त सेवा सुरु गरेको जनाएको छ । समितिका २ सय ६५ सदस्यले गैंडाकोटस्थित नेपाल सिप एण्ड बोट विल्डिङबाट ५० लाख रुपैयाँमा मोटरबोट खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । बोटमा क्याप्टेनसहित २० यात्रुले सयर गर्न सक्नेछन् । यात्रुको सुरक्षार्थ आवश्यक व्यवस्थाकासाथै बीमासमेत गरिएको समितिले जानकारी दिएको छ ।
पोखरा: नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने टिप्पर चालकसहित ७ जना युवालाई कास्की प्रहरीले नियन्त्रणमा गरेको छ । पोखरा महानगरपालिकाका नगर प्रहरीमाथि दुर्व्यवहार गर्ने ७ जना युवालाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको हो । पोखरा महानगरपालिका १८ स्थित फेवातालको सिमसार क्षेत्र पुर्न लागेको भन्ने सूचनापछि गएको नगर प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ग १ ख ८६८७ नम्बरको टिप्परसहित ७ जना युवालाई नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: घान्द्रुकका मीन गुरुङ फेवातालमा मृत फेला परेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक घर भएका ६३ वर्षीय मीन गुरुङ आज (शनिबार) फेवातालमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पोखरा महानगरपालिका २३ पामे खपौदी स्थित फेवातालमा माछा मार्ने क्रममा तालमा डुबेर बेपत्ता भएका गुरुङ मृत फेला परेको कास्की प्रहरीले जनाएको छ । घान्द्रुक घर भएका गुरुङ पोखरा महानगरपालिका १४ चाउथे बस्दै आएका थिए । गुरुङको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।
पोखरा: पोखरा चेम्बर अफ कमर्स कास्की दक्षिण क्षेत्र एकाइले आयोजना गरेको रक्तदानमा ४३ युनिट रगत संकलन भएको छ। पोखरा चेम्बर अफ कमर्सले आज (शनिबार) पोखरा १७ मा आयोजना गरेको रक्तदानमा ४३ युुनिट रगत संकलन भएको हो । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । कार्यक्रममा पोखरा महानगर वडा न १७ का वडा अध्यक्ष राधिका शाही योगि ,पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष यामनाथ पौडेल ,चेम्बर कास्कीका सल्लाहकार योगेन्द्र के सि।चेम्बर दक्षिण एकाइका निबर्तमान अध्यक्ष नगेन्द्र शर्मा भण्डारी महिला चेम्बरका अध्यक्ष सिमा कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
पोखरा: पोखराका गायिकाहरुद्वारा स्थापित संस्था हार्मोनीले भित्तेपात्रो विमोचन गरेको छ । पोखरामा शनिबार आयोजना गरिएको एक कार्यक्रमका बीच नेपाली लेखक संघका अध्यक्ष, कवि एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भित्तेपात्रोको विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै उनले हार्मोनीले अहिले सम्म गरेका काम उदाहरणीय रहेको र अब आफुलाई परिस्कृत गर्दै लैजानुपर्ने बताए । “हार्मोनीले छोटो समयमा आफुलाई स्थापित गरेको छ । संगीत क्षेत्रमा महिलाहरु संगठीत भई गरिएका हालसम्मका सबै कार्यक्रम प्रशंसनिय छ । अब थप परिमार्जित गर्दै नयाँपन दिनुपर्ने आवश्यकता छ ।”, उनले भने । कुनै बेला पोखराबाट स्थापित भएका ब्याण्ड र गायक गायिकाहरुले राम्रो सफलता प्राप्त गरिरहेको स्मरण गर्दै श्रेष्ठले पोखराको संगीत क्षेत्रलाई माथि उठाउन सबै एक भएर लाग्नुपर्ने उल्लेख गरे । हार्मोनीले अब पोखरा केन्द्रित मात्रै कार्यक्रम गर्नुभन्दा पनि अन्य शहरमा समेत कार्यक्रम गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । २०८० सालमा थप रचनात्मक सांगीतिक कार्यलाई प्रस्तुत गरि हार्मोनी अगाडि बढ्ने कुरामा आफु विश्वस्त रहेको भनाई उनको छ । उनले अब पोखराका गायकगायिकाहरु एक भएर अगाडि बढेनै पोखराको सांगीतिक क्षेत्रको श्रीवृद्धि हुने बताए । जसका लागि लेखकसँघ समेत सहयोग गर्न तयार रहेको भनाई उनको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले पोखरामा सांगीतिक क्षेत्रमा स्मरणीय काम कसले गर्छ भनेर सोधियो भने स्वस्फुर्त निस्कने नाम हार्मोनी भएको बताए । हार्मोनीका थुप्रै शुभचिन्तकहरु बजारमा धेरै हुँदै गएको भनाई उनको छ । छोटो समयमा आफुलाई गुणात्मक हिसाबले हार्मोनीले प्रस्तुत गरेको उनले बताए । बजारमा प्रतिस्पर्धा धेरै भएता पनि हार्मोनीको कामले संस्थाको गरिमालाई उचो राखेको अभिव्यक्ति उनको छ । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले कार्यक्रम कहिले गरियो भन्दा पनि के गरियो भन्ने विषय महत्वपूर्ण हुने बताए । हार्मोनीले स्थापना पश्चात अहिले सम्म जेजे कार्यक्रम गरिरहेको छ आफैमा स्तुत्य रहेको उनले बताए । उनले काम महत्वपूर्ण भएको उल्लेख गरे । हार्मोनीले नेपाली सांगीतिक फाँटमा नयाँ आयाम थपेको उनले बताए । विविधताले शहरलाई सुन्दर बनाउने हुँदा विविधतालाई संरक्षण गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । हार्मोनीकी अध्यक्ष इतु जोजिजूले संस्थाले समाजमा आफुलाई अझ परिस्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् । सबैको सल्लाहबमोजिम नै पोखराको सांगीतिक क्षेत्रलाई उचो राख्न कार्यमा हार्मोनी तत्पर रहने भनाई उनको छ । आफ्ना कार्यक्रमलाई परिमार्जित गर्दै संगठीत रुपमा हार्मोनी अगाडि बढ्ने उनले बताइन् । कार्यक्रममा गायक रामभक्त जोजिजू र गायिका रजनी रिदम राईले गीत प्रस्तुत गरेका थिए । उपाध्यक्ष कौशल्या गुरुङले स्वागत, सचिव सानू जोजिजूले संचालन गरेको कार्यक्रममा गायक सन्तोष बस्यालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पोखराका गायकगायिका देखि संगीत अनुरागीहरुको उपस्थिति थियो ।
पोखरा: पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिका क्षेत्रमा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्रभित्र हुँदै गरेको जमिन पुर्ने तथा खार्ने काम रोक्ने निर्णय गरेको छ । जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू–तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले एक संयन्त्र निर्माण गरी सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको छ । फेवा जलाधार र सिमसार क्षेत्रमा अनधिकृतरूपले दोहन भइरहेको भन्ने सूचना आएपछि समितिको बैठक बसेर उक्त निर्णय लिइएको र नियमविपरीत कानुन हातमा लिएर काम गर्ने जो कोहीलाई पनि कारबाही गरिने पौडेलले बताए । कास्की र गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मुख्य आकर्षण फेवाताल र सिमसारको अस्तित्वमा सङ्कट ल्याउने कार्य सह्य नहुने र जोसुकै हुन कारबाही गरी छाड्ने उनको भनाइ छ । बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले फेवामाथिको दोहन रोक्नका लागि र यस क्षेत्रको संरक्षणमा महानगरको पूर्ण प्रतिबद्धता रहेको बताए । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले निर्धक्कका साथ काम गर्न समन्वय समितिलाई आग्रह गर्दै प्रशासन त्यसका लागि पूर्ण सहयोग गर्न तयार रहेको उल्लेख गरे ।
पोखरा: पोखराको अमरसिंह चोकमा रहेको लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारमा आज (शनिबार) चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने भएको छ । अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुतको प्रस्तुती रहने भएको संचालक मीन गुरुङले जानकारी दिए । होटल टास्कको तीनवटै आउटलेटबाट MRP (न्युनतम खुद्रा मुल्य) मा बियर बिक्री वितरण गर्दै आइरहेकोमा तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङको अवसर पारी शनिवार अपराह्न ४ बजेदेखी विशेष सांगीतिक कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा पछिल्लो समय चर्चित सकम्बरी गीतका गायक प्रकाश सपुतको प्रस्तुती संगै युवापुस्तालाई लक्षित गरी स्थानिय ब्ल्याक फेदर ब्याण्डको लाइभ प्रस्तुती, लोकदोहोरी गायिका बत्ती थापा र प्रकाश सपुतको प्रत्यक्ष दोहोरी प्रस्तुती संगै तमु प्ये ल्हु संघ केन्द्रीय युवा समितिबाट नृत्य प्रस्तुत गरिने छ । कोभिड १९ का कारण आर्थिक मन्दी भई जनमानसमा पर्याप्त आम्दानी नभइरहेको बेला सेवामुलक व्यवसायमार्फत ग्राहकहरुलाई सर्वसुलभ मुल्यमा बियर र खानाका परिकारहरु पस्कदै आइरहेको छ । “सबैको लागि लेकाली, संधैको लागि लेकाली” भन्ने उद्घोषका साथ सञ्चालित लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बार गण्डकी प्रदेशको एकमात्र MRP (न्युनतम खुद्रा मुल्य) बियर रेष्टुरेण्ट हो । यस रेष्टुरेण्टमा गोर्खा बु्रअरीको उत्पादन टुबोर्ग, गोर्खा (प्रिमियम), काल्सबर्ग संगै बाह्रसिंगे, अर्ना र बर्डवाइजर बियरहरु MRP (न्युनतम खुद्रा मुल्य) मा ग्राहकहरुले उपभोग गरी बियरको मज्जा लिन सक्नेछन । त्यसैगरी रेष्टुरेण्टमा बियर संगै पोर्क (कालो धराने बंगुरको परिकारहरु) मटन, चिकन र बफका परिकारहरुको समेत स्वाद लिन सक्नेछन । रेष्टुरेण्टबाट स्थानीय उत्पादन कोदोको रक्सी (नारे पा) समेत प्रवद्र्धन गर्दै आइरहेको छ । गोर्खा ब्रुअरिको सहकार्य रहेको उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गर्नेछन ।
पोखरा: फर्जी औषधीका कारण विश्वमा बढ्दै गएको खतरामा बहस भयो । अर्काे बहसचाहिँ विश्वमा बढ्दै गएको आर्थिक मन्दीमाथि थियो । विद्युतीय फोहोर अर्थात ई–वेस्टको सुरक्षित व्यवस्थापन बहसको अर्काे विषय भयो । पोखराको लेकसाइडमा शुक्रबार यस्तो बहसमा सहभागीचाहिँ विभिन्न ‘देशका प्रतिनिधि’ थिए । संयुक्त राष्ट्र संघको महासभामा देशहरुको प्रतिनिधित्व गर्दै आएकाहरु बहसमा जुटे । त्यसो त ती सहभागी प्रतिनिधि नेपालकै १५ जिल्लाबाट आएका हुन् । युथ थिंकर्स सोसाइटीले राष्ट्र संघको नमुना महासभा आयोजना जो गरेको थियो, जहाँ उनीहरु विभिन्न ८० देशको प्रतिनिधित्वको अभ्यास गर्दै थिए । महासभामा डेलिगेटहरु आफ्नो देशका समस्यामा केन्द्रित भएका थिए । शुक्रबारबाट सुरु भएको नमुना महासभा १४ गतेसम्म चल्ने आयोजक संस्था युथ थिंकर्स सोसाइटी (वाइटिएस)ले जनाएको छ । महासभामा १५ जिल्लाका एक सय २० जना सहभागी भएका छन् । उद्घाटन समारोहका प्रमुख अतिथि नेपालका लागि अमेरिकी राजदूतावासका एक अधिकारी धु्रव शाह थिए । शाहले नमुना महासभाले डेलिगेटलाई आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्न सकिन्छ भन्ने कुरा सिकाउने बताए । ‘यो एउटा अवसर हो । तपाईंहरुको यो प्रशिक्षण वा सिकाइमार्फत शैक्षिकसँगै राष्ट्रिय तथा विश्वव्यापी मुद्दाहरू कसरी उठाउने भन्ने जान्न बुझ्न अवसर पाउनुहुनेछ,’ शाहले भने । उनले यस्तो प्लेटफर्मलाई डेलिगेटले अवसरका रुपमा लिने विश्वास गरे । नमुना सभामा विश्वव्यापी समस्याहरूको सम्भावित समाधानहरू कसरी गर्ने भन्ने समाधानका उपायहरु पनि प्रस्तुत भएको थियो । विषय वस्तुमा केन्द्रित भएर भोटिङ गर्दा नीतिगत, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्धलाई मध्यनजर गर्नुपर्ने उल्लेख थियो । संस्थाका अध्यक्ष रिजन ढुंगानाले डेलिगेटहरुलाई सौहार्दपूर्ण वातावरणमा कार्यक्रममा सहभागी हुन अनुरोध गरे । उनले नमुना सभा एउटा सिकाइ भएकाले यसको भरपूर प्रयोग गर्न अनुरोध समेत गरेका थिए । कार्यक्रममा वाइटिएसका कोफाउन्डर क्षितिज भट्टराई उपस्थित थिए । अतिथिका रुपमा वामन घिमिरे उपस्थित थिए । कार्यक्रम पुष्पाञ्जली सापकोटाले सञ्चालन गरेकी थिइन् । कार्यक्रमको बारेमा प्रतीक पौडेल जानकारी गराएका थिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीलाई पोशाक तथा सल्लाहकारहरूलाई सम्मान गरिएको छ । एक कार्यक्रमका बीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्रप्रसाद रेग्मी र पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले संयुक्त रुपमा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्नुभएको थियो । विद्यालयमा कक्षा ६ देखि १० सम्म हाल ३० जना विद्यार्थी अध्ययनरत रहेका छन् । उनीहरूलाई समाजसेवी रामचन्द्र थापामार्फत प्राप्त ४५ हजार रुपैयाँबाट पोशाक उपलब्ध गराइएको हो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिको २०८० वैशाख १२ गतेको निर्णय अनुसार विद्यालयको भौतिक, शैक्षिक, आर्थिक तथा समग्र विकास एवम् व्यवस्थापकीय कार्यमा आवश्यक सरसल्लाह प्रदान गर्न मनोनित सल्लाहकारहरूलाई मनोनयनपत्र प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका पूर्व प्रधानाध्यापक केशव पौडेल, सहयोगदाता रामचन्द्र थापा लगायत पनि सम्मानित बन्नुभएको थियो । व्यवस्थापन समितिको बैठकले हरिभक्त सिग्देल, छत्रधर आत्रेय, चन्द्रावती पौडेल, वासुदेव पौडेल, धनबहादुर थापा र हरिप्रसाद तिवारीलाई सल्लाहकारमा मनोनित गर्ने निर्णय गरेको थियो । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले विद्यालयले शैक्षिक गुणस्तरीयतामा जोड दिनुपर्ने बताउँदै वडाका तर्फबाट सम्पूर्ण साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र प्रसाद रेग्मीले विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो । कार्यक्रममा सल्लाहकार एवम् राधाकृष्ण शान्ति आश्रमका उपाध्यक्ष हरिभक्त सिग्देल, सल्लाहकार चन्द्रावती पौडेल, सल्लाहकार एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, सहयोगदाता रामचन्द्र थापा, अक्षयकोषदाता झलकप्रसाद खनाल, विद्यालयका प्रधानाध्यापक प्रकाश उपाध्याय लगायतले शैक्षिक गुणस्तरीयता अभिबृद्धि सँगै विद्यालयको दीर्घकालीन सुसञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिनुभएको थियो ।

