पाखेरा: पोखराको ‘शुन्दरफिड–अमरदीप’सडकखण्डको निर्माण गर्न जिम्मा पाएको ठेकेदार कम्पनी काममा फर्किएको छ । सम्झौता मिति सकिएको १ वर्षपछि ठेक्का पाएको शिवशक्ति इन्फ्रा हेटौडाले आज (बुधबार) देखि काम पुन: सुरु गरेको हो । पोखरा महानगरपालिका अन्तरगत ६ वटा सडक मर्मत तथा निर्माण गर्ने जिम्मा लिएको शिवशक्ति इन्फ्रा हेटौडाको सम्झौता एकवर्ष अगाडि नै सकिएको थियो । यद्यपी सडक डिभिजनले सम्भौता भने रद्द गरेको थिएन । सडक डिभिजन कार्यालय पोखराका इन्जिनियर सुभद्रा महर्जनका अनुसार शिवशक्तिले पोखराको दीप–लामाचौर, अमरसिँह चोक– न्यूएयरपोर्ट, विरेन्द्रचोक–पेन्सन क्याप, नदिपुर–भैरवटोल, महेन्द्रपुल–पृथ्वीचोक, पालिखे चोक–पोखरा महानगरपालिका ४ वडा कार्यालय जोड्ने सडक कालपत्रे (ओभर ले) गर्र्ने जिम्मा लिएको थियो । शिवशत्तिले ०७८ असार १३ गते टेण्डरमार्फत पोखराको विभिन्न स्थानमा कालोपत्रे गर्ने योजनासहित ७ करोड ४० लाख ८९ हजार ९ रुपैयाँ ४२ पैसामा ठेक्कासम्झौता पाएपनि काम अलपत्र छाडेको थियो । निर्माण सम्झौता अनुसार कम्पनीले ०७९ असार १५ भित्र नै उक्त सडक खण्ड निर्माण गर्नुपर्ने थियो यद्यपी विभिन्न कारण देखाएर कम्पनीले चालु आर्थिक वर्षको अन्तिम समयमा ‘शुन्दरफिड–अमरदीप’ सडकखण्ड पिच गर्ने काम सुरु गरेको छ । निर्माण कम्पनीका पोखरा प्रतिनिधि सागर पन्तले ‘शुन्दरफिड–अमरदीप’ सडकखण्डको करिब ३ सय मिटर एक हप्तामै अस्फाल्ट पिच गरिसक्ने बताए । ‘आजबाट काम सुरु भएको छ । बेसहरु बिछ्याउने काम भइरहेको छ । मौसमले साथ दियो भने एक हप्तामै सकिन्छ,’ उनले भने । यता समयमै काम सम्पन्न नगरेको भन्दै सडक डिभिजन कार्यालय कास्कीले पेश्कीस्वरुप दिएको दुई किस्ताको ६५ लाख १२ हजार रुपैयाँसमेत फिर्ता लिएको थियो ।
पोखरा: कृष्ण गौतम पोलियो रोगका कारण दुई वर्षको उमेरमा नै शारीरिक अपाङ्गता भए । उनी ह्विल चियरको सहायताले मात्र हिडडुल गर्छन् । गौतमको पोलियो रोगको कारण दुवै खुट्टा नचल्दा ह्विल चियर उनको सारथी हो । ह्विल चियरको सहयोगमा उनलाई शहरको विभिन्न स्थानमा जान समस्या पर्दै आएको छ । शहरहरुमा बनेको भौतिक संरचना अपाङ्गता मैत्री नबन्दा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले विभिन्न समस्या रहेको उनले गुनासो गरे । पोखरामा (मंगलबार) अपाङ्गता स्वाबलम्वन संघ (डिडा) नेपालले आयोजना गरेको सेवा, संरचना र प्रणालीमा सबैको लागि पहुँचयुक्त अभिमुखिकरण कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका महासचिव कृष्ण गौतमले शहरका भौतिक संरचना अपाङ्गता मैत्री बन्न नसकेको बताएका हुन् । शहरमा निर्माण भएका भौतिक संरचना सडक, आकाशे पुल, भवन लगायतका संरचना अपाङ्गता मैत्री बन्न नसकेको गौतमले गुनासो गरे । ‘सरकारको प्राथमिकतामा सडक नै परेको छ तर सडक अपाङ्गता मैत्री बन्न नसक्दा शारीरिक अपाङ्गता मात्र नभएर अन्य जेष्ठ नागरिक, बालबालिकाहरुलाई समेत असर परेको छ, उनले भने, ‘सडक बन्दा फुटपाथ अनिवार्य हुनुपर्छ, फुटपाथमा कुनकुन संरचना बन्नुपर्छ भन्ने विषयमा सरकारले ध्यान पु¥याउन सकेको छैन ।’ उनले अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त भौतिक संरचना र सञ्चार सेवा निर्देशिका २०६९ कार्यान्वयन नहुँदा समस्या देखिएको बताए । ‘अपाङ्गता भएका व्यक्तिहरुको लागि विश्वव्यापी पहुँचयुक्त संरचनामा पुग्नु, प्रवेश गर्नु, घुमफिर गर्नु र प्रयोग गर्नु, मुख्य बिन्दु हुन्, तर यो शहर तथा कुनै पनि सरकारी कार्यालयमा कार्यान्वयन भएको देखिदैन ।’ उनले भने । गौतमले सडक निर्माण गर्दा सडक पेटी नै दृष्टि बिहिन तथा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि धरापमा भएको बताए । ‘सडक निर्माण गर्दा सडक पेटी अनिवार्य हो, दृष्टिविहिनका लागि ट्याकटायल र ब्रेल ब्लक राखिएको छ, तर अपाङ्गता मैत्री वातावरणमा निर्माण हुन सकेको छैन्, उनले भने , ‘सडक पेटीमा अपाङ्गता मैत्री वातावरणमा ट्याकटायल, ब्रेक ब्लक अनिवार्य राख्नुपर्छ ।’ अभिमुखिकरण कार्यक्रममा सडक, आकाशे पुलमा ट्याकटायल राख्दा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुको लागि दिशानिर्देश गर्न सजिलो हुने, ट्राफिक लाइट राख्दा ध्वनी सहितको राख्नुपर्ने, बसस्टप स्थलमा ह्विलचियर प्रतिक्षा गर्न स्थान छुट्याउनुपर्ने,सडक पेटीमा बस चढ्न र झर्न स्ट्रप विहिन बसमा ¥याप राख्नुपर्ने वक्ताहरुले जोड दिएका छन् । गण्डकी प्रदेशका प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले भौतिक संरचनामा सबै नागरिकको समान पहुँच पु¥याउनका लागि नीति तथा कार्यक्रममा जोड दिने बताए । ‘कतिपय विषयमा अनविज्ञ हुन सकिन्छ, सेवा, संरचना प्रणालीमा सबैका लागि पहुँचुयुक्त बनाउन अबको नीति तथा कार्यक्रममा जोड दिन्छु, सांसद सुवेदीले भने, ‘सबै नागरिकहरुलाई समान पहुँच पु¥याउनका लागि प्रदेश सरकारमा सधै आवाज उठाउछु ।’ उनले शारीरिक अपाङ्गता भएका नागरिक र सपाङ्ग नागरिकका लागि भौतिक संरचनामा समान पहुँच आवश्यक भएको समेत बताएका थिए । अपाङ्गता स्वावलम्वन विकास संघ (डिडा)का महासचिव विष्णु खनालले सरकारकै सेवा, प्रणाली र संरचना अपाङ्गमैत्री नबनेको भन्दै कटाक्ष गरे । उनले भने,‘सडकमा स्पीड ब्रेकर राखिन्छ तर हामी अपाङ्गता भएकालाई त्यसले कस्तो असर पुगेको छ भन्ने महानगरलाई के थाहा रु सडक बिग्रिएर बनेको खाल्डोमा हामी नै जाकिन्छौं । हामी हिंड्ने सडक पेटीमा विद्युतको पोल, नर्सरी बनाउने नाममा राखिएका गमलाले हामीमाथि सरकारी अत्याचार प्रष्ट हुन्छ ।’ अभिभावक सरला अधिकारीले सेवा, प्रणाली र संरचना बौद्धिक अपाङ्गताहरुका लागिपनि पहुँचयुक्त हुनुपर्ने बताए । ‘जस्तै शौचालय कहाँ छ ? कसरी प्रयोग गर्ने ? किन प्रयोग गर्नेसम्मपनि उनीहरुलाई थाहा हुँदैन । त्यस्ताका लागि पहुँचयुक्त हुने वातावरण बनाउनुपर्छ’–उनले भने । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद भट्टराईले योजना निर्माणदेखि डिपीआरहुँदै डिजाईन बनाउँदा नै अपाङ्गमैत्री बनाईनुपर्ने बताए । उनले भने,‘डिजाईन र डिपीआरमा नसमेटिने अनि बनिसकेपछि भएन भनेर विरोध हुन्छ । त्यतिबेला ढिलो भइसकेको हुन्छ ।’ उनले अहिले भइरहेको संरचनामा डिजाईन गर्दा नै थोरै सच्याउन सकेमात्र पनि अपाङ्गमैत्री संरचना निर्माण र सेवा दिन सकिने बताए । राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका प्रमुख खिमलाल सुवेदीले सबैको मर्यादा र अधिकार बराबरी हुने भएकाले अपाङ्गता भएकाहरुलेपनि पहुँच राख्ने सेवा, प्रणाली र सेवा दिनु सबैको दायित्व भएको बताए । मानव अधिकार सबैका लागि हो,उनले भने,‘तर व्यवहारमा पाईंदैन । त्यो सेवा, प्रणाली र संरचना सबैमा ।’ उनले संरचना, सेवा र प्रणाली मानव अधिकार विकास पद्धती अनुरुप हुनुपर्नेमा जोड दिए ।
पोखरा: पोखरा महानगरपालिका वडा नंं ८, न्युरोडमा रहेको लक्ष्मी आवासिय माध्यमिक विद्यालयमा डा. विश्वयुधिर पौडेलले मंगलबारदेखि प्राचार्यको कार्यभार सम्हालेका छन् । धेरै विद्यार्थी तथा अभिभावकहरुको मन जित्न सफल विद्यालयको रुपमा परिचित विद्यालयलाई वर्तमान परिस्थितिमा २१ औं सताब्दीको गुणस्तर युक्त शिक्षा दिन सक्ने वनाउनको लागि आफुले हालसम्म प्राप्त विज्ञता, दक्षता र अनुभव उपयोगी हुने प्राचार्य डा. पौडेलले बताए । उनले विद्यालयलाई थप उचाइमा पु¥याइ आउँदो २ वर्षमा पोखराको अग्रणी विद्यालयको रुपमा चिनाउने आफ्नो लक्ष्य रहेको मंगलबार विद्यालयमा आयोजित पदास्थापन तथा परिचय कार्यक्रममा बताए । काठमाडौं विश्वविद्यालयबाट शिक्षा विषयमा विद्यावारिधि प्राप्त गरेका पोखरा अर्चलवोट निवासी डा. पौडेल प्रशिक्षक मात्रै नभइ कुशल व्यवस्थापक साथै काठमाण्डौ र पोखराका धेरै शैक्षिक संस्थाहरुको नेतृत्व तहमा समेत रहेर कार्य गरेको अनुभव छ । विद्यालयका संस्थापक लिलावती प्रधान र निर्वतमान प्राचार्य शालिकराम अधिकारीको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
तस्बिर: गिता रानामगर
पोखरा: गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय कास्कीबाट १० जनाको कैद मिनाह भएको छ । कारागार कार्यालय कास्कीको सिफारिसमा गृह मन्त्रायलले पठाएको पत्र अनुसार राष्ट्रपति कार्यालयबाट कास्की कारागारमा विभिन्न मुद्दामा रहेका १० जनालाई रिहाई गरिएको कास्की कारागारका प्रमुख भिमराज कोइरालाले जानकारी दिए । उनका अनुसार चोरी मुद्धाका ५ जना, कर्तव्य ज्यान मुद्दामा २ जना, सवारी ज्यान मुद्धामा १ जना र अपराधिक उपद्र मुद्धाका २ जना गरी १० जनालाई रिहाई गरेको कारागार कार्यालय कास्कीका प्रमुख कोइरालाले जानकारी दिए ।
पोखरा: दुई हप्ता अघिदेखि गणतन्त्र दिवसका दिन पोखरास्थित रत्नमन्दिर सर्वसाधारणलाई खुला गरिने प्रचार गरिँदै आएपनि उद्घाटनपश्चात परिसर भित्रिने प्रवेशद्वार त खुल्यो तर दरबारको मुलढोका भने खुलेकै छैन । रत्न मन्दिर खुलेको औपचारिक उद्घाटन गर्न परिसरको उत्तरी भागमा मञ्चको व्यवस्थापन गरिएको थियो । र, उद्घाटनपछि सोही आसपासको भागमात्र सर्वसाधारणलाई खुला गरिएको हो । रत्न मन्दिरको मूल आकर्षण मानिने दरबारको ढोका अझै ‘लक’ छ । रत्न मन्दिरको उद्घाटन गर्न पोखरा आइपुगेका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले गणतन्त्रको उपहारस्वरुप रत्न मन्दिर परिसर अवलोकनका लागि खुल्ला गरिएको शिलालेख मात्र अनावरण गरे । नेपाल ट्रष्टको मातहतमा रहेको तत्कालीन राजा महेन्द्र शाहले रानी रत्नका लागि उपहारस्वरुप २०१५ सालमा फेवाताल किनारमा बनाएको रत्न मन्दिर हाल नेपाल ट्रष्टको मातहतमा रहेको छ । रत्न मन्दिरमा चीनका प्रधानमन्त्री, बेलायती महारानीलगायत विशिष्ट पाहुनाको आगमन र बास भएको इतिहास छ । २०६५ सालमा गणतन्त्र स्थापना भएपछि १७४–४–२–० रोपनी क्षेत्रफलमा फैलिएको छ । राजा महेन्द्र साविकको पश्चिमाञ्चल क्षेत्र भ्रमण गर्न आउँदा रत्न मन्दिरमा बस्थे । रत्न मन्दिर परिसरभित्र ऐतिहासिक रत्न मन्दिर दरबारलगायत तालघर, बगैँचा र अन्य विभिन्न प्रयोजनका साना ठुला गरी १० वटा भवन छन् । नेपाल ट्रष्टको कार्यालयले रत्नमन्दिरको सम्पत्ति उपभोगका स्थिति अनुसार पाँच वटा क्षेत्रमा विभाजन गरेको छ, आज गणतन्त्र दिवसको अवसरमा पाँच क्षेत्र मध्ये क्षेत्र नं १ र २ मात्र सर्वसाधारणको लागि खुलेको छ । उद्घाटनपछि परिसरका सबै स्थान खुला नगरिएको विषयमा रत्न मन्दिर सरोकार समितिका पुर्वपदाधिकारीहरुले यस विषयमा निर्णय गर्न बाँकी रहेको जानकारी दिएका छन् । ‘समितिको पहिलो उद्देश्य दरबार जोगाउनु हो’ समितिका एक सदस्यले भने ‘दुइ हप्ताको मिहिनेत र सरसफाइपछि बल्ल खुलेको छ, अब दरबारको मूल ढोका खोल्न हाम्रो दबाब र प्रयास रहनेछ ।’ कुन क्षेत्रमा के छ ? नेपाल ट्रष्टको कार्यालयले रत्न मन्दिरको सम्पत्ति उपभोगका स्थिति अनुसार पाँच वटा क्षेत्र मध्ये क्षेत्र १, रत्न मन्दिर परिसरको मूलद्वार र फेवाद्वार (भित्री पूर्वी गेट)को बीचको खुल्ला क्षेत्र हो । यो क्षेत्रको दक्षिणतिर २ वटा र उत्तरतिर १ वटा भवन रहेका छन् । क्षेत्र नं.२, फेवाद्वार (भित्री पूर्वी गेट) र बेगनासद्वार (भित्री पश्चिम गेट) भित्रको क्षेत्रलाई जनाएको छ, यो क्षेत्रमा ऐतिहासिक रत्नमन्दिर दरबार, तालघर, नानीगंग तथा मोटर ग्यारेज रहेका छन् । यहाँ विभिन्न प्रजातिका वनस्पति र फुलका बिरुवाहरु संरक्षित छन् । क्षेत्र नं.३, रत्न मन्दिरको उत्तर-पश्चिममा पर्ने यो क्षेत्रमा पुरानो हेलिप्याड रहेको छ, यस क्षेत्रमा ए.डी.सी अफिस र गोदाम घर रहेका छन्, यहाँ राजाको क्षेत्रीय भ्रमणका बेला प्रयोग ल्याइने घर समेत रहेको छ । क्षेत्र नं.४, यो क्षेत्र कर्मचारी तथा सैनिक आवासीय क्षेत्र र खुल्ला चौर मैदान भएको क्षेत्र पर्दछ, यो क्षेत्रमा ३८ कोठा भएको घर रहेको छ । हाल यो क्षेत्र नेपाली सेनाले संरक्षण तथा प्रयोग गर्दै आएको छ । क्षेत्र नं.५, यो क्षेत्रमा बाराही मन्दिर तर्फ जाने पक्की बाटो भन्दा उत्तर पश्चिमको खुल्ला जमिन र ३ वटा कोठा भएको १ भवन रहेको छ । यो क्षेत्रलाई हाल नेपाली सेनाले खेल मैदानको रुपमा प्रयोग गरिरहेको छ । दरबारभित्र ११ कोठा रत्न मन्दिर दरबारभित्र ११ वटा कोठा रहेका छन् । पहिलो कोठालाई तत्कालिन राजा रानीको शयन कक्ष, कोठा न.२ पोखरा सवारीको बेला रानीद्धारा पूजा आजा गर्ने तथा कपडामा इस्त्री गर्ने कोठा, कोठा न.३ शाही नातेदारहरुको शयन कक्ष, विशेष गरी राजाका छोरी ज्वाईहरुले प्रयोग गर्ने गरेको, कोठा नं. ४ शाही नातेदार तथा वरिष्ठ पाहुनाहरुको शयन कक्ष, यो कोठामा स्व. विपी कोइराला पनि बास बस्नुभएको कुरा उहाँको आत्मवृतान्तमा उल्लेख छ । कोठा नं. ५ शाही नातेदारहरुको शयन कक्ष, विशेष गरी युवराज र युवराज्ञीहरुले प्रयोग गर्ने गरेको, कोठा नं. ५ शाही नातेदारहरुको शयन कक्ष, कोठा नं. ७ मनोरञ्जन कक्षको रुपमा विशेष गरी म्युजिक सुन्ने बजाउने, रेडियो सुन्ने, क्यारमबोर्ड खेल्ने प्रयोजनार्थ प्रयोग गर्ने, कोठा नं. ८ आराम कक्ष, राजाले नुहाउने क्रममा कहिलेकाँही प्रयोग गरिएको , कोठा नं. ९ डाइनिँग हल, कोठा नं. १० भेटघाट गर्ने लक्ष्य, रत्नमन्दिर दरबार तथा अन्य भवनमा बस्ने व्यक्तिहरुले पाहुना भेटघाट गर्ने तथा उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्ने प्रयोजनका लागि ल्याएको, कोठा नं.राजाका मूख्य एडीसीको शयन कक्ष रहेको छ । (नेपाल ट्रष्टको कार्यालय कमलादी काठमाडौंले प्रकाशन गरेको रत्न मन्दिरको संक्षिप्त परिचयबाट साभार)
पोखरा: नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीको आज (आइतबार) पदस्थापन गरिएको छ । नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेशका उद्याग, पर्यटन, वन तथा वातावरण मन्त्री मन्त्री दिपेन्द्रबहादुर थापाले प्रमाणपत्र वितरण गरेका गरे । निर्वाचन समितिका संयोजक राजबहादुर गुरुङले पद तथा गापनियताको शपथ ग्रहण गराएका थिए । जेठ ७ गते भएको नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनले बासुदेव मिश्रको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको थियो । प्रेस युनियन १० औं जिल्ला अधिवेशनबाट उपाध्यक्ष (खुल्ला) विजय लम्साल, उपाध्यक्ष(महिला) ज्योति हमाल, सचिव धनबहादुर गुरुङ (सुमन), सह–सचिव सपना अधिकारी र कोषाध्यक्षमा नीराजन अधिकारी सर्वसम्मत निर्वाचित भएका थिए । यस्तै सदस्यमा अजय क्षेत्री, विवेक ढुङ्गाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन बजिमय, प्रवीण थापामगर, प्रतिभा सापकोटा, बलबहादुर रोकामगर, देवीका तामाङ र सविन विक निर्वाचित भएका थिए । लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया: मन्त्री थापामगर गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापामगरले लोकतन्त्रको लागि मिडिया महत्वपूर्ण अङ्ग भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनमा निर्वाचित पदाधिकारीको पदस्थापनपछि मन्त्री थापाले लोकतन्त्रमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए । ‘लोकतन्त्रमा मिडिया भएन भने मानव अपाङ्ग जस्तै हुन्छ, त्यसैले लोकतन्त्रको महत्वपूर्ण अङ्ग मिडिया हो, मन्त्री थापाले भने, ‘मिडियाले अधिकारीको लागि, यथार्थ वस्तु स्थितिको बारेमा सत्य तथ्यको बारेमा मिडियाले जानकारी दिन्छ ।’ उनले देश विकास र समृद्धिको लागि मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । निष्पक्ष पत्रकारिताको लागि सबै भन्दा पहिले पत्रकार स्वावलम्बी बन्नुपर्नेमा मन्त्री थापामगरले जोड दिए । उनले गण्डकी प्रदेशलाई पर्यटनको क्षेत्रबाट समृद्धि बनाउन पत्रकारहरुले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सहयोग गर्ने समेत आग्रह गरे । नेपाल प्रेस युनियन कास्कीको पदस्थापन कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रिय उपाध्यक्षद्वय गंगाधर पराजुली, रमेश पौडेल, गण्डकी प्रदेश अध्यक्ष टंक अधिकारी, प्रेस युनियन कास्कीका सल्लाहकारद्वय तारा पाखे र डा। बलराम उपाध्याय रेग्मी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमिल्सिना, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, प्रेस युनियन कास्कीका निवर्तमान अध्यक्ष नविन सिग्देल, नि वर्तमान कार्यवाहक अध्यक्ष रविना आले, ले शुभकामना मन्तव्य राखेका थिए ।
पोखरा: अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार-२०८० पत्रकारद्वय रूपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । पुरस्कारको राशी २५ हजार नगद, दोसल्ला र सम्मानपत्र छ । यो दोस्रो पुरस्कार हो । छनौट भएका प्रतिभामध्ये पत्रकार रुपनाराण ढकाल विगत २५ वर्षदेखि पोखरालाई कार्यक्षेत्र बनाएर पर्यटनका क्षेत्रमा कलम चलाउँदै आएका छन् । हाल उनी आदर्श समाज र रिसेन्टफ्यूजन नामक अंग्रेजी संस्करणको अनलाईन पत्रिकामा आवद्ध छन् । त्यस्तै अर्का प्रतिभा पत्रकार सन्तोष पोखरेल विगत १६ वर्षदेखि पत्रकारिता सक्रिय छन् । हाल उनी नागरिक दैनिकका लागि गण्डकी प्रदेशको व्यूरोको कमाण्ड सम्हाल्दै आएका छन् । प्रत्येक वर्ष वितरण गरिने भनिएको सो पुरस्कार कोभिड–१९ का कारण गत ३ वर्षदेख़ि स्थगित गरिएको थियो । दोस्रो पटक प्रदान गरिने यो पुरस्कार अन्नपूर्ण दिवसको अवसर पारी यही जेठ २० गतेका दिन वितरण गरिनेछ। यस अघि सो पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार पुरस्कृत भएका थिए । यसअघि नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन भएको थियो । समितिको सदस्यमा पत्रकार एवं पर्यटन समितिका कानुनी सल्लाहाकार अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी भएको प्रतिभा छनौट समिति गठन भएको थियो । छनौट समितिमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलीप गुरूङ पदेन सदस्य रहने व्यवस्था छ । समितिको आइतबार बसेको बैठकले प्रतिभा छनोट समितिको सिफारिस अनुमोदन गर्दै पत्रकारद्वय ढकाल र पोखरेललाई सो पुरस्कार प्रदान गर्ने निर्णण गरेको हो । समितिले प्रतिभा छनौटका लागि तयार पारेको कार्यविधि बमोजिम प्रतिभा छनौट गरिएको संयोजक राज बहादुर गुरूङले बताए । अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्धन गर्न सञ्चारमाध्यममार्फत समाचार प्रकाशन तथा प्रसारणमा महत्वपूर्ण भूमिका खेल्ने एक जना सञ्चारकर्मीलाई सो पुरस्कारबाट पुरस्कृत गरिदै आएको समितिका अध्यक्ष ललित गुरुङले बताए। पुरस्कार अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा आउँदो जेठ १७ देखि २० सम्म घान्द्रुकमा आयोजना हुने दोस्रो अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको समापन समारोहमा वितरण गरिने समितिका मिडिया संयोजक टंकराज अधिकारीले जानकारी दिए । महोत्सवको मुख्य आकर्षणको रूपमा रहेको अन्नपूर्ण म्याराथन जेठ २० गते अन्नपूर्ण आधारशिविरबाट आरम्भ हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, वगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुक आई समापन हुने गरी म्याराथन रुट कायम गरिएको छ । महोत्सवमा विविधि खेलकूद तथा मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम समावेश गरिएको छ । महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धक रहेको सो कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्की, घान्द्रुक पर्यटन व्यवस्थापन समिति, छोम्रोङ पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र राष्ट्रिय प्रकृति संरक्षण कोष, टाँडापानी पर्यटन व्यवस्थापन समिति, खेलकूद मन्त्रालय, अन्नपूर्ण काठमाडौं समाज नेपाल, गुरु आनन्द फाउण्डेशन सहितका अन्य पर्यटनसँग सम्बन्धित संघसंस्थाले सहयोग गर्ने भएका छन् ।
पोखरा: पोखरा महानगरपालिका २५ हेम्जामा सवारीको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका २५ हेम्जा सुन्दरपुरी चोकमा हिजो (शनिबार) राति लु ३ च ५१२ नम्बरको जिपले अन्दाजी ३० वर्षीय पुरुषलाई ठक्कर दिदा गम्भिर घाइते भएका थिए । घाइते पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । सवारीको ठक्करबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु भएपछि शवको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । ठक्कर दिने जिप र चालकलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

