पोखरा: पोखरा ७ बुलौदीस्थित (शनिबार) बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा गम्भीर घाइते भएका दुईजनाको स्वास्थ्य अवस्थामा सुधार आएको छ । ग १९ प ६०६८ नम्बरको बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किदा दुवैजना गम्भीर घाइते भएका थिए । उपचारको क्रममा मेट्रोसिटी लगिएको उनीहरुको मेडिकल रिपोर्टले मादक पदार्थ सेवन गरेको पुष्टि गरेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बेद जोशीले बताए । डिएसपी जोशीका अनुसार दुवैजना खतरामुक्त छन् । ‘चालक कुलदेव र संगम थापा दुइटै मापसे देखिएको छ, सुनगाभा न्यूजँग उनले भने, ‘कुलदेवलाई ८ वटा टाँका लगाएर वार्डमा सारिसकेको छ भने संगम थापाको नाकबाट रगत बगेको कारण आइसियुमै राखेर उपचार भइरहेको छ । तर दुवैजना खतरामुक्त छन् ।’ शनिबार बिहान करिब ५ः४५ बजे बुलौदीस्थित सडक किनारमा रहेको बिजुलीको पोलमा बुलेट मोटरसाइकल ठोक्किएर दुर्घटना भएको थियो । सोही स्थानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी सचेतनासम्बन्धि बोर्ड राखेपनि दुर्घटना भइरहन्छ ।
पोखरा: नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कास्कीले सचेतना मुलक सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । एमालेका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस र मदन भण्डारीको ७२ औ जन्म जयन्तीको सन्दर्भमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । सन्देश प्रवाह गर्ने उद्देश्यसहित पोखराको लखनचोकबाट सरसफाई सुरु गरी सभागृह, सृजनाचोक, जिरो किमी हुँदै पोखरा ७ स्थित पुस्पलाल पार्कमा पुगेर समापन गरिएको संयोजक शिवप्रसाद अधिकारीले जानकारी दिए । समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कास्की जिल्ला इन्चार्ज थममाया थापामगरले सकरात्मक सन्देश प्रवाह गरेको बताइन् । उनले राजनीतिको साथमा सामाजिक उत्तरदायीत्व बहन गर्ने खालका रचनात्मक कार्यहरुलाई निरन्तरता दिनसमेत आग्रह गरेकी दिइन् । थापामगरले खेलकुद महासंघको सकरात्मक कार्यको अन्य पार्टीका भातृ संगठनले पनि अनुसरण गर्नुपर्ने धारणा राखेकी थिइन् । सो सरसफाई कार्यक्रममा एमाले गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, कास्की जिल्ला कमिटिका उपाध्यक्ष तेजनारायण अधिकारी र प्रचारप्रसार विभाग कास्की प्रमुख दर्शन लामा, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव विष्णु पुन लगायतको सहभागिता रहेको थियो ।
पोखरा: पोखराको मुख्यचोक लखनचोक (पृथ्वीचोक) देखि चाइनापुलसम्म सडकको दायाँबायाँ सवारी साधन पार्किङ गर्न रोक लगाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयलाई आइतबारदेखि लागू गरिने भन्दै पोखरा महानगरपालिकाले सूचना जारी गरेको हो । जारी सूचनामा भनिएको छ, ‘जिल्ला सुरक्षा समिति कास्कीको निर्णय तथा पोखरा महानगरपालिकाको व्यवस्थापनमा पृथ्वीचोकदेखि चाइनापुलसम्म सडकको दायाँबायाँ कुनै पनि प्रयोजनका लागि सवारी साधन पार्किङ गर्ने कार्य मिति २०८० साउन ७ गते आइतबारदेखि पूर्ण रुप्मा निषेध गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सुचित गरिन्छ ।’ उक्त निर्णयलाई अवैज्ञा गरेको खण्डमा नियमानुसार कारवाही गर्ने पोखरा महानगरपालिकाले जनाएको छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका –५ रिभान स्थित निष्पक्ष माध्यमिक विद्यालयमा पहिरो रोकथामका लागि स्वीजरल्याण्डका नागरिकले १५ लाख आर्थिक सहयोग गरेका छन् । गत वर्ष अविरल वर्षाका कारण पहिरोले विद्यालय जोखिममा परेपछि स्वीजरल्याण्डका मार्टिन सिँगर र कुस्शी दम्पत्तीले उक्त रकम सहयोग गरेका हुन् । स्वीजरल्याण्डका व्यवसायी दम्पती गत वैशाखमा एरिकसँग विद्यालयमा जाँदा विद्यालयको खेल मैदानसम्म पहिराले लगेको प्रत्यक्ष देखेपछि उनीहरुमा सहयोगको भावना जागृत भएपछि सहयोग गर्ने प्रतिवद्धता अनुसार सहयोग गरेको विद्यालयका प्रधानाध्यापक दुर्गावहादुर रावतले जानकारी दिए । ‘पहिरोले विद्यालय जोखिममा परेको देखेपछि उनीहरु विद्यार्थीका बारेमा चिन्तित भएका थिए, स्वीजरल्याण्ड फर्केर सहयोग गर्ने प्रतिवद्धता जनाएपनि हामीहरु विश्वस्त थिएनौं’, उनले भने, ‘ तर आज त्यो प्रतिवद्धता पूरा भएको छ, हामीले आशा गरेभन्दा पनि बढी रकम सहयोग पाउँदा खुशी भएका छौँ।” पहिरो रोकथामका लागि गत वर्ष प्रदेश सरकार गाउँपालिकाबाट रु पाँच लाखका दरले बजेट विनियोजन भएर काम भए पनि अझै धेरै काम बाँकी छ । संरक्षणका कामका लागि रु ३५ लाख खर्च लाग्ने अनुमान गरिएपनि चालू वर्षमा भने प्रदेश र पालिकाबाट बजेट विनियोजन नभएको विद्यालयले जनाएको छ । स्वीजरल्याण्डका दुई नागरिकबाट सहयोग रकम प्राप्त भएपछि अब काम अगाडि बढाउने प्रधानाध्यापक रावतले बताए ।
पोखरा: नेवा: पत्रकार पुच: कास्कीको अध्यक्षमा अनिशा श्रेष्ठ चयन भएकी छन् । शनिबार सम्पन दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएकी हुन् । यस्तै उपाध्यक्ष गणेश श्रेष्ठ, महासचिवमा सुशिल श्रेष्ठ, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ र सचिवमा पदम श्रेष्ठ चुनिए । कार्यसमिति सदस्यहरुमा सुरज श्रेष्ठ, सञ्जय शाक्य, अल्चना श्रेष्ठ र अभिनन्दन बजिमय रहेका छन् । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले कास्कीमा नेवा समुदायबाट महिला पत्रकारहरु न्युन रहेको भन्दै आफुले पत्रकारीताको माध्यमबाट नेवास् संस्कृति र परम्परालाई संरक्षण र प्रचार प्रसार गर्ने बताएकी थिइन् ।
पोखरा: पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अबको ४ वर्षभित्र पोखरामा व्यवस्थित बसपार्क बन्ने बताएका छन् । महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाई कार्यक्रममा आज (शुक्रबार) उठेको प्रश्नमा जवाफिदै मेयर आचार्यले यस्तो प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा सहभागी स्थानीयले ‘पोखरामा व्यवस्थित बसपार्क कहिल्यै नबन्ने हो मेयर साब ?’ भन्ने प्रश्न गरेका थिए । सोही प्रश्नको प्रतिउत्तर दिदैं मेयर आचार्यले भने, ‘यो चार वर्षमा बसपार्क बन्छ, त्यो नोट गरिराख्नुहोला ।’ उनले व्यवस्थित बसपार्कका लागि शहरी नगर विकास कोषसँग सम्झौता भएको बताए । ‘पुरानो बसपार्कलाई पूर्ण र व्यवस्थित बसपार्क बनाउनका लागि शहरी नगर विकास कोष (टाउन प्लानिङ फण्ड) सँग साझेदारीसहित सम्झौता गरिसकेका छौ र त्यसको गुरुयोजना (फुल फेजको डिपिआर) तयार हुदैछ,’ उनले भने । उनले विगत ३०/४० वर्षदेखि बसोबास गर्दै आएका बासिन्दाको वैकल्पिक व्यवस्थापन गर्ने तयारी भइरहेको बताए । ‘भूमी आयोगसँग मिलेर हामीले उहाँहरुलाई निस्सा पनि दिइसकेका छौ, मेयर आचार्यले भने, ‘उहाँहरुलाई समुचित व्यवस्थापन गरेर बसपार्क निर्माणको कामलाई अघि बढाउछौ ।’ उनले बस्ती बाहेकका ठाउँमा प्रदेश सरकारले निर्माण गर्न सुरु गरेपनि महानगरले रोकेको स्पष्ट पारे । ‘बस्ती नभएको ठाउँमा प्रदेश सरकारले काम गरेको छ त्यतिले पुग्दैन त्यसैले त्यो हामीले रोकेका छौ, मेयर आचार्यले भने, ‘बाँकी भको ८४ रोपनी जग्गामा मात्रै बसपार्क बनाएर पुग्दैन । हामी अहिले बोलेर भन्दा पनि काम गरेर देखाउँछौ ।’
पोखरा: कञ्चन क्यापिटल प्रालिको प्रस्तुतीमा पोखरामा तेस्रो संस्करणको डायमण्ड मेला आयोजना गर्ने भएको छ । पालिखेचोकस्थित पञ्चरत्न आभूषणमा आगामी ७ गतेदेखि १२ गतेसम्म डायमण्ड मेला आयोजना गर्न लागिएको संस्थाका कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजुले जानकारी दिए । उनका अनुसार एक हप्ता सञ्चालन हुने मेला अवधिभर डायमण्ड खरिदमा विशेष छुट दिइने छ । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका छौ, उनले भने, ‘यो मेलाबाट डायमण्डको विशेषताको बारेमा गराउने साथै डायमण्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौं ।’ मेला बिहान १० बजेदेखि सुरु भएर साँझ ७ बजेसम्म सञ्चालन हुने पञ्चरत्न आभूषण प्रालिका अध्यक्ष शोभितमान बुद्धाचार्यले जानकारी दिए ।
पोखरा: जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले राज्यले जिल्ला समन्वय समितिलाई अपहेलित गरेको बताएका छन् । समन्वय प्रमुख पौडेलले गत आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण सार्वजनिक गर्दै यस्तो बताएका हुन् । ‘अहिले देशभर नै राज्य, संघ र प्रदेश सरकारले अपहेलित गरेको संस्थामा जिल्ला समन्वय समिति पर्छ’, समन्वय प्रमुख पौडेलले भने, ‘अहिले अधिकांस क्षेत्र संघ र स्थानीय तहलाई दिएको छ, हामीलाई संघले २३ र प्रदेश सरकारले १० लाख मात्र दिएको छ ।’ उनले अहिले कृषि ज्ञान केन्द्रलाई पैसा बाड्ने कार्यालयकोरुपमा स्थापित गराएको समेत बताएका छन् । ‘यहाँहरुलाई थाहा छ, २०७२ को संविधानले दुई जिल्ला हेर्ने गरी कृषि ज्ञान बनाएको थियो, विज्ञ कर्मचारी राख्ने सरकारको प्रावधान थियो’, उनले भने, ‘कृषि ज्ञान केन्द्रलाई रुपान्तरण गरेर जिल्ला जिल्लामा आयो, जिल्ला जिल्लामा आउँदा पैसा बाँड्ने कार्यालयको रुपमा आएको छ ।’ समन्वय प्रमुख पौडेलले कृषि निर्देशनालयमा पनि कृषि निर्देशक बस्ने भनिए पनि अहिले यसलाई पनि पैसा बाँड्ने कार्यालय बनाइएको उनको आरोप छ । उनले कास्कीमा सञ्चालनमा रहेका क्रसर उद्योगहरु अवैधानिक भएको बताए । ‘ढुङ्गा गिट्टी, बालुवा उत्खनन् बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ बमोजिम गठित जिल्ला अनुगमन समितिले कास्कीको केही क्रसर उद्योगको अनुगमन गरेको थियौ’, उनले भने, ‘कास्कीमा सञ्चालन भएका क्रसर व्यवसायी मापदण्डमा छैनन् सबै अवैधानिक हुन् ।’ कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता मालले योजना अनुगमनमा जाँदा समन्वयमा प्राविधिक नहुँदा काम कारवाहीमा समस्या भएको बताईन् । ‘स्थानीय र प्रदेश सरकारलाई करारमा प्राविधिक कर्मचारी राख्ने सक्ने व्यवस्था छ तर जिल्ला समन्वयलाई त्यो अधिकारी छैन’, उनले भनिन्, ‘जिल्ला समन्वयमा प्राविधिक अभावका कारण योजनाको अनुगमनमा जाँदा काम कारवाहीमा असहज भएको छ ।’
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माण थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपोको आज (सोमबार) शिलान्यास गर्नुभयो । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै थप हवाई इन्धनको माग हुने भएकाले नयाँ हवाई डिपो निर्माण गर्न लागिएको हो । हवाई इन्धन डिपो पोखराका प्रमुख धिरजविक्रम खड्काका अनुसार यहाँ १२ लाख लिटर क्षमताका तीनवटा डिपो निर्माण गरिनेछन् । डिपो निर्माणका लागि रु ७७ करोड खर्च हुने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिनुभयो । उक्त आयोजनाको ठेक्का समानान्तर–रेलिगेयर–भारत ट्याङ्क्स जेभीले पाएको छ । “एक हजार दुई सय किलोलिटर क्षमताका तीन र एक हजार पाँच सय किलोलिटर क्षमताको एउटा पानी ट्याङ्की निर्माण गरिनेछन्”, उहाँले भन्नुभयो, “नेपाल नागरिक उड्डयन प्राधिकरणको जग्गा भाडामा लिएर डिपो निर्माण थालिएको हो ।” नायब कार्यकारी निर्देशक साहका अनुसार डिपो एक वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य छ ।

