पोखरा: पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका वेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । पोखरा महानगरपालिका–२ विन्ध्यवासिनीका १४ वर्षीया मनिका, १३ वर्षीया एलिसा र १४ वर्षीया राधिका परियार सम्पर्कविहीन भएका हुन् । तीनै जना बालिका हालसम्म पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हराएका बालिकाका आफन्तका अनुसार घरबाट विद्यालय हिँडेका बालिका सो दिन विद्यालय पुगेका थिएनन् । हराएकामध्ये राधिका र मनिका राष्ट्रिय माध्यमिक विद्यालय र एलिसा बरपाटन माध्यमिक विद्यालयमा अध्ययनरत थिए । आफन्तले भने दुई बालिकाले फोनमा कुरा गरे पनि कहाँ–कस्तो अवस्थामा रहेको जानकारी नभएको बताएका छन् । राधिका र मनिकाले अभिभावकसँग फोनमा कुरा गरेको बताइन्छ । परिवारका अनुसार बालिका हराउँदा बखत विद्यालयको पोशाक सेतो सर्ट र निलो स्कट लगाएका थिए । प्रहरीका अनुसार हराएका बालिकाका परिवारले घरबाट स्कुल जान्छु भनी हिँडेका र हालसम्म घरमा फर्की नआएका भनी खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् । “आफन्त, इष्टमित्रसमेतको सम्पर्कमा नआएको हुँदा खोजतलास गरी पाऊ भन्दै परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि खोजी कार्यलाई तीव्र बनाइएका छौँ ।” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले भन्नुभयो ।
पोखरा: पोखरा महानगरपालिका–९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालय हुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो । कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको रु दस लाख बजेटबाट ८० मिटर सडक कालोपत्र गरिएको थियो । तस्बिरहरू:-
पोखरा: फेवातालमा मृत फेला परेका युवकको दुईदिनसम्म पनि पहिचान हुन सकेको छैन । पोखरा ममहानगरपालिका १८ रातोडाँडा तल फेवातालमा मृत फेला परेका युवकको दुईदिनसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी एवम् सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए । ‘साउन २७ गते पोखरा १८ रातोडाँडा तल फेवातालमा तैरिरहेको अवस्थामा युवकको शव फेला परेको थियो’, डीएसपी विकले भने, ‘आवश्यक मुजुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रष्तिठान पठाएका थियौं, तर शवको पहिचान हुन सकेको छैन् ।’ मृतक युवकको दाहिने हातमा क्रिस्चियन धर्मको जिसस क्राइसको जस्तो देखिने ट्याटु भएको कोही हराएको भए कास्की प्रहरीमा सम्पर्क गर्न समेत आग्रह गर्न प्रहरीले अनुरोध गरेको छ । मृतक युवकको शवलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।
पोखरा: पछिल्लो समय विवादित बनेको लखनचोकको विषयमा नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश र तमु धि नेपालले सँयुक्त रुपमा विज्ञप्ति जारी गरेको छ । यसअघि पृथ्वीनारायण शाहको सालिक पोखरा महानगरपालिकाले निर्माण गरेको विभुती पार्कमा ससम्मान व्यवास्थापन भइसकेको बताउदै सहिद लखन थापाको विषयमा विवाद नगर्न चेतावनी दिएको हो । महासंघ गण्डकीका अध्यक्ष धर्म बहादुर गुरुङ र गुरुङहरुको छाता संगठन तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङद्वारा हस्ताक्षरित सँयुक्त विज्ञप्तिमा भनिएको छ, ‘आदिवासी जनजाति आन्दोलनको उपलब्धि र भावनामाथि प्रहार भइरहे शसक्त सामुदायिक आन्दोलनमा उत्रने चेतावनी दिन चाहान्छौं’ । यस्तो छ सँयुक्त विज्ञप्ति प्रकृति र सँस्कृतिले सुन्दर शहर पोखरा । परिवर्तनका लागि भएका आन्दोलनले सुन्दर शहर पोखरामा रहेका हिजोका राजा महाराजाहरुका सालिकहरु ढालिए, चोकहरु बेवारिसे जस्तै बने । यहि परिवेशमा देश र जनताका लागि नेपालका पहिलो सहिद लखन थापाको सालिक स्थापित गरियो, सामुदायिक सँस्कृतिलाई सम्मानका लागि तमु ह्युल चोक लगायत धेरै चोकहरुमा सालिकहरु निर्माण गरिए । सडक विस्तार र ट्राफिक व्यवस्थापनलाई सहजताका लागि चोकहरुका घेरा साँघुरो बनाउने कार्य पनि भयो । यसैबीच पोखरा महानगरपालिकाले सहिद÷विभुतिहरुलाई ससम्मान व्यवस्थित गर्ने भनि पोखरा १८ जामुनबोटस्थित पार्कमा तत्कालिन बडमहाराज पृथ्वीनारायण शाहको सालिक निर्माण गरिसकेको छ । लथालिङ्गैको अवस्थामा रहेको पृथ्वी चोकमा प्रथम सहिद लखन थापाको सालिक स्थापित गरी चोकको नामसमेत लखनचोक नामाकरण गरिसकेकोमा केही समय अघिदेखि बारम्बार लखनचोकमा षडयन्त्रमुलक ढंगले समस्या उत्पन्न गराउने गतिविधी भइरहेकोमा हाम्रो ध्यानाकर्षण भएको छ । पहिचान र स्वाभिमानी आन्दोलनबाट स्थापित सालिकहरु स्थानान्तरण गर्ने पोखरा महानगरपालिकाको निर्णयप्रति घोर आपत्ति जनाउदछौं । बरु सालिकहरुलाई यथास्थानमै व्यवस्थित र सुसज्जित गर्न पोखरा महानगरपालिकालाई अनुरोध गर्दछौं । नेपाली जनताको लामो बलिदानी आन्दोलनबाट आज हामी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा छौं । प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै अग्रगतिमा लम्कनुपर्नेमा परिवर्तनको मर्मलाई आत्मसाथ गर्न नसकेको हो कि भन्ने आशंकाहरु उब्जिएका छन् । जनताका प्रतिनिधिहरुले देश र जनताले चाहे अनुसार परिवर्तनको महसुस गराउन नसकेको गुनासोहरु छन् । व्यवस्थाहरु फेरिए पनि अवस्था उस्ता उस्तै देखिएको छ । यसैबीच आज विभिन्न रुप धारण गरेर संघीयता, लोकतन्त्र, गणतन्त्रमाथि नियोजित रुपमा प्रहार भइरहेको छ । पोखरामा पटक पटक सालिकको नाउँमा समस्या उत्पन्न गराइरहने, अस्थिरता निम्त्याउदै संघीयता, लोकतन्त्र, गणतन्त्रमाथि औला ठड्याउनेहरु प्रति होशियार रहन आग्रह गर्दछौं । अन्त्यमा, तत्कालिन बडामहाराज पृथ्वीनारायण शाहको सालिक विभुति पार्कमा ससम्मान स्थापित भईसकेकाले प्रथम सहिद लखन थापाको सालिक रहेको चोकलाई बारम्बार विवादित नगराउन हुन अनुरोध छ । पुनश्चः आदिवासी जनजाति आन्दोलनको उपलब्धि र भावना माथि प्रहार भइरहे शसक्त सामुदायिक आन्दोलनमा उत्रने चेतावनी दिन चाहान्छौं ।
पोखरा: राजावादीहरुले पोखरा महानगरपालिका १० स्थित लखनचोकमा मयेर धनराज आचार्य र प्रहरी विरुद्ध नाराबाजी गरेका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार उक्त चोकमा पृथ्वीनारायण शाहको मुर्ति पुर्नस्थापना गर्ने अभियानका लागि ब्यानर टाँस्न एक टोली पुगेका थिए । लखन थापाको सालिकमुनि ब्यानर टाँस्न खोजेपछि प्रहरीले रोक लागाएको थियो । त्यसपनि उक्त टोलीले मेयर धनराज आचार्य र प्रहरीविरुद्ध नारा घन्काए– ‘सालिक चोर्न पाइदैन, धने तेरो पाराले दुख पायो साराले, प्रहरी दमन मुर्दावाद ! प्रहरी हस्तक्षेप मुर्दावाद ! राष्ट्रिय एकता कायम गर, राष्ट्रघातीहरु होसियार, प्रधानमन्त्री तिमि कुन देशको ? मेयर तिमि कुन देशको ? राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको मुर्ति पुर्नस्थापना गर, मुर्तिचोर देश छोड, हाम्राे ठाउँ खाली गर । २९ औं विश्व आदिवासी दिवसको अवसरमा लखनको सालिकमुनि राखेको पृथ्वीनारायण शाहको प्रतिमा हटाइएको थियो । त्यसपछि विवाद सुरु भएको थियो । सो विवादपछि पोखरा महानगरपालिकाको सर्वदलीय बैठकले पोखरा महानगरभित्र रहेका सालिकहरुलाई सहिद पार्कमा व्यवस्थापन गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि आज (आइतबार) मात्रै कास्की कांग्रेसले प्रेस विज्ञप्ती जारी गर्दै उक्त निर्णय मान्य नहुने बताएको छ । कास्की कांग्रेसले कुनैपनि हालतमा बिपी कोइराला, हरि प्रसाद गुरुङ लगायतको सालिक यथास्थानमै राख्ने अडान राखेको छ । यस्तै तमु ह्युला चोक (विराैटा) मा रहेको सालिक पनि त्यही राख्नुपर्ने भन्दै तमु धि नेपालले आन्तरिक कसरत थालेको छ ।
पोखरा: सर्वदलीय बैठकमार्फत पोखरा महानगरभित्र रहेका सडक चोकका मुर्तिहरु सहिद पार्क लाने निर्णयप्रति कास्की कांग्रेसले आपत्ती जनाएको छ । विज्ञप्ती जारी गर्दै आज (आइतबार) महानगरपालिकाको ध्यानाकर्षण गराएको हो । जारी विज्ञप्तीमा भनिएको छ, ‘पोखरा शहरका मुख्य सडकहरुमा रहेका सालिकहरुको व्यवस्थापन तथा स्थानान्तरण गर्नका लागि सर्वदलीय निर्णय भएको भनी पोखरा महानगर पालिकाबाट मिति २०८०÷४÷२७ मा सार्वजनिक भएको अनुरोधका प्रति नेपाली काँग्रेस कास्कीको ध्यानाकर्षण भएको छ । पोखराको शहरी सौन्दर्यीकरण हामी सवैको साझा चासोको विषय हो जसका लागि हामी सबै पोख्रेलीहरु एक ठाउँमा उभिनै पर्छ । पोख्रेलीहरुको साझा चासोको यो विषयलाई राजनीतिक पार्टीहरुको धारणाले मात्रै सम्बोधन गर्न सक्दैन । यसैले पोखरालाई सुन्दर शहरको रुपमा विकास गर्नका लागि राजनैतिक पार्टीहरु र नागरिक समाजको साझा अवधारणा आवश्यक पर्ने हुनाले यस विषयमा हतारमा कुनै पनि निर्णय नगर्न नगराउनका लागि नेपाली काँग्रेस कास्की अनुरोध गर्दछ ।’ कास्की कांग्रेसले शालिकको व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनी पोखरा महानगर पालिकाबाट सार्वजनिक गरिएको उक्त सर्वपक्षीय निर्णयमा नेपाली काँग्रेस कास्कीको कुनै पनि किसिमको संलग्नता नरहेकोसमेत जनाएको छ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले वृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । फोनिजको २४ औं स्थापना दिवसका अवसरमा कास्की शाखाले शनिबार पोखरा ३२ लामेआहालमा रहेको राधाकृष्ण वृद्धाश्रमलाई खाना तथा खाजाका लागि खाद्यान्न सहयोग गरेको हो । खानाका लागि चामल र दाल सहित खाजाका लागि बिस्कुट भुजा लगायत खाद्य सामाग्री सहयोग गरेको फोनिज कास्कीका अध्यक्ष दिल गुरुङले जानकारी दिए । उक्त सामान वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगललाई हस्तान्तरण गरिएको उनले बताए । सो कार्यक्रममा फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले विभिन्न कारणले वृद्धाश्रममा बस्न बाध्य वृद्धवृद्धालाई सहयोग गर्नु फोनिज कास्कीको प्रशसंनीय कार्य भएको बताए । ‘हुन त बाबुआमा बुढाबुढी हुँदै गएपछि वृद्धाश्रमसम्म पुग्नु राम्रो काम त होइन्,’ उनले भने, ‘तर, विभिन्न कारण वृद्धाश्रमको शरणमा रहेकाहरुलाई सहयोग गरेर फोनिज कास्की शाखाले प्रशसंनीय काम गरेको छ ।’ फोनिज कास्कीका अध्यक्ष दिल गुरुङले फोनिजको २४ औं स्थापना दिवस देशभर मनाउने क्रममा आफूहरुले वृद्धाश्रममा सहयोग गरेर मनाएको जानकारी दिए । ‘देशभर फोनिजको स्थापना दिवस मनाइएको छ । हामीले पनि केही गर्नुपर्छ भनेर वृद्धाश्रममा सहयोग गर्ने निधो गरियो,’ उनले भने, ‘पोखरा कै आसपासमा रहेको वृद्धाश्रमलाई त धेरैले सहयोग गरेको सुनिन्छ । त्यसैले हामीले धेरैले नसुनेको राधाकृष्ण वृद्धाश्रमलाई रोजेका हौं ।’ फोनिज कास्कीले आगामी दिनमा अझ प्रभावकारी र रचनात्मक कार्य गर्दै जाने उनले बताए । वृद्धाश्रममा ६५ वृद्धवद्धा रहेको वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिगलले जानकारी दिए । फोनिज कास्की दिएको सहयोगले उनीहरुलाई केही दिनका लागि राहत हुने भन्दै सहयोग गर्ने फोनिज कास्कीलाई उनले धन्यवाद दिए ।
पोखरा: नौलो घुम्ती नेपालकोे आयोजना र गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा आयोजित ६० घण्टे आधारभूत तालिम शनिवार सम्पन्न भएको छ । समापन समारोहमा बोल्दै कार्यक्रमका संयोजक मनकुमार राईले कम्प्युटरको आधारभूत ज्ञान वर्तमानको अनिवार्य आवश्यकता भएकाले संस्थाले परियोजना सञ्चालन गरेको बताए । नौलो घुम्ती नेपालका अध्यक्ष बद्री विनोद प्रतीकले सिकाइमा कहिल्यै पनि पूर्णता नहुने भएकाले तालिमका सिकेका कुरालाई व्यवहारमा अधिकतम लागू गर्न विद्यार्थीलाई सुझाए । परियोजनाका बारेमा बताउँदै कार्यक्रम संयोजक महेश विश्वकर्माले नौलो घुम्ती नेपालले ६-७ वर्ष अघिदेखि अध्ययनका लागि विभिन्न शैक्षिक सामग्री सहयोग पाउँदै आधारभूत कम्प्युटर तालिमसम्म आइपुगेको र भविष्यमा पनि यस्तै कार्यक्रम ल्याउने जानकारी दिए । तालिमका सहजकर्ता गण्डकी हाइटेकका प्रशिक्षक असफल गौतमले विद्यार्थी भाइबहिनीका लागि सिक्नका लागि सधैँ ढोका खुला रहेको बताए । सहभागीका तर्फबाट अपिल अधिकारी र समीक्षा विकले आफूहरूले तालिमबाट धेरै सीप आर्जन गरेको र आगामी दिनमा पनि यस्ता तालिमको निरन्तरताकोसमेत अपेक्षा गरेका थिए ।

