पोखरा: पोखरा महानगरपालिका १४ पृथ्वीराजमार्गस्थित चाउथेमा बोलेरो जीपले स्कुटरलाई ठक्करलाई दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । औद्योगिक क्षेत्रबाट विजयपुरतर्फ आउँदै गरेको ग ८ प ५८३८ नम्बरको स्कुटरलाई सोही दिशाबाट नै आउँदै गरेको ग २ च ३१७९ नम्बरको बोलेरो जीपले ठक्कर दिदा स्कुटर चालक प्रञ्वल गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ । स्कुटरको पछाडि सवार विमल गिरीको अहिले उपचार भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ । आज बिहान ४ः४५ को समयमा पृथ्वीराजमार्गस्थित चाउथेमा बोलेरो जीपले स्कुटरलाई ठक्कर दिदा गम्भिर घाइते भएको स्कुटर चालक ३४ वर्षीय गुरुङको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान (५ः११)को समयमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले जानकारी दिए । उनका अनुसार स्कुटरमा सवार २७ वर्षीय गिरीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । वडा प्रहरी कार्यालय रामबजारले दुर्घटनापछि जीपसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
पोखरा महानगरपालिकाबाट स्वायत्तता प्राप्त गर्न लेखनाथवासीले आजबाट विरोधस्वरुप हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकै सामुन्ने हस्ताक्षर सुरु गर्दा केही समय प्रहरी र स्थानीयबीच चर्काचर्कीसमेत भएको अभियन्ताले जनाएका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवसमा सहभागी हुन पुगेका मुख्यमन्त्री पाण्डे त्यहाँ पुगेकाबेला गेट बाहिर स्थानीयले आजदेखि हस्ताक्षर अभियान सुरु गरेका हुन् । लेखनाथ नगरपालिकाको नामबाट चिनिएको लेखनाथ क्षेत्र पोखरामा गाभिएपछि महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेपछि अब छुट्टिने अभियानमा रहेको एक सहभागीले जनाए । यस अभियानको संयोजन स्वतःस्फुर्त भएको उनीहरुले जनाएपनि व्यवसायी र पत्रकारहरुको सक्रियता देख्न पाइन्छ । विशेषतः पोखरा महानगरमा गाभिएपनि स्रोत, जनसंख्या र भूगोलको आधारमा बजेट एवं कार्यक्रम दिन बेवास्ता गरिएको उनीहरुको आरोप छ । यसअघि पत्रकार एवं स्थानीयवासी कमल सुवेदीले हस्ताक्षर अभियानमार्फत लेखनाथ पोखराबाट अलग्गिन चाहनेको संख्या बढ्दै गएको जनाएका थिए । सुवेदीका अनुसार पहिलो दिन करिब ३ हजार स्थानीयले पोखराबाट अलग हुन हस्ताक्षर गरेका छन् । कानूनी व्यवस्था अनुरुप महानगरको कूल जनसंख्यामध्ये दुई तिहाईले छुट्टिन चाहेको खण्डमा स्थानीय संरचना फेरबदल गर्न सकिनेछ । ‘जब हेपिएको महशुस हुन्छ, तब विद्रोह हुन्छ’ अभियानको सामुहिक स्वर छ ।
पाेखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गराउने र बिपद् जोखिम न्यूनिकरणका सवालमा प्रदेश सरकार सँधै सँगै रहेको बताएका छन् । ‘विपद् ब्यवस्थापन, जोखिम न्यूनिकरणमा हामी सबैको पहिलो प्राथमिकता हुनुपर्छ’ गण्डकी प्रदेशका सबै जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिँदै उनले भने ‘हाम्रो साधन स्रोतले भ्याए सम्म प्रदेश सरकार सँगै छ, रहन्छ ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा सोमवार पोखरामा आयोजित प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण सम्बन्धी गोष्ठीमा उनले सो कुरा बताएका हुन् । ‘तपाईहरु उच्च मनोबल राखेर काम गर्नुहोस्’ सुरक्षा समितिका सदस्यहरुलाई उनले भने । भौगोलिक बिकटताका कारण शान्ति सुरक्षा कायम गर्न र बिपद् जोखिमक न्यूनिकरण, राहत, उद्धार, पुर्नस्थापना जस्ता काममा समस्या भोग्नु परेको मुख्यमन्त्री पाण्डेले बताए । विपद् जोखिम न्यूनिकरण गर्न प्रदेश सरकारले १० करोडको विपद् कोष बनाएको बताउँदै उनले जिल्ला तहमा पनि प्रदेशले १०(१० लाख नघट्ने गरि विपद् कोषमा रकम पठाएको बताए । ‘विपद्का सवालमा प्रदेश सरकार गम्भिर छ, हामीले बिभिन्न सुरक्षा निकायलाई बिपद्का बेला प्रयोग हुने सामग्री खरिद गरेर पनि सहयोग गर्दै आएका छौँ ।’ सुरक्षा निकाय प्रदेश मातहत हुँदा यस्ता काममा अझै सहज हुने बताउँदै उनले अहिले पनि सहयोग र सहकार्यबाट काम भईरहेको बताए । सुरक्षाकर्मीको साधन, स्रोत, क्षमता बिकासकालागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने मुख्यमन्त्री पाण्डेले बताए । शान्ति सुरक्षाको अनुभुती हुने गरि नागरिकको सेवा गर्नु राष्ट्रसेवक सबैको कर्तब्य भएको मुख्यमन्त्री पाण्डेले बताए । पोखरा लगायत पर्यटकीय शहरहरुमा रात्रीकालीन ब्यवशायलाई सहज रुपमा संचालन हुन दिनुपर्ने बताउँदै उनले २४ सै घण्टा खोल्ने बतावरण बनाउन सुरक्षा समितिलाई सुझाब दिए । ‘शान्ति सुरक्षा कमजोर हुन्छ कि भनेर १० बजे नै होटल, रेष्टुरेन्ट बन्द गराउने होईन’ मुख्यमन्त्री पाण्डेले भने ‘ब्यवशायीले चाहान्छन् भने पर्यटकीय ठाउँका होटल, रेष्टुरेन्ट निश्चित मापदण्ड बनाएर २४ सै घण्टा खोल्न दिनुपर्छ, शान्ति सुरक्षा हाम्रो दायित्व हो ।’ गोष्ठीमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षाको अवस्था, चुनौती, बिपद्को जोखिम, प्रदेश सरकारसँगको अपेक्षा लगायतका बारेमा जानकारी गराएका थिए । गण्डकी प्रदेशका प्रमुख सचिव रबिलाल पन्थको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रदेश स्थित प्रमुखहरुले समेत धारणा राखेका थिए । गोष्ठीमा भएको छलफल र आएका सुझाबलाई केन्द्रित गरेर प्रदेश शान्ति सुरक्षा र विपद् जोखिम न्यूनीकरण रणनीति सहितको गुरुयोजना निर्माण गरिने सचिव बद्रीनाथ अधिकारीले बताए ।
पोखराः लेखनाथ नगरपालिकाको नामबाट चिनिएको लेखनाथ क्षेत्र पोखरामा गाभिएपछि महानगर त बन्यो तर विकास, बजेट र कार्यक्रममा पछि परेपछि अब छुट्टिने अभियानमा रहेको छ । ०७३ फागुन फागुन २७ गते देशकै ठूलो पोखरा महानगरपालिका भएपछि पोखराजस्तै हुने आशमा बसेका लेखनाथवासी अहिले आएर ठगिएको महशुस गर्दैछन् । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयको भनाइलाई आधार मान्ने हो भने लेखनाथवासीसँग पोखराले गरेको उपेक्षाका चाङमात्र छन् । ‘पहिलो कुरा त लेखनाथवासीलाई पोखरा पायक परेन, अर्काे विषय हामीलाई महानगरले बेवास्ता गर्दा अभिभावकविहीन भयौं’ आत्रेय भन्छन् ‘लेखनाथको भौतिक पूर्वाधार, जनसंख्याअनुसार बजेन र कार्यक्रम भएन ।’ आत्रेयसँगै केही स्थानीयसँग गरिएको कुराकानीमा उनीहरुले ‘सौतेलो’ व्यवहार गरेको गुनासो सुनाए । बुढीबजार निवासी एक स्थानीय भन्छिन् ‘बिहानै उठेर यतै धाउनु परेपछि हामीलाई के काम ।’ आत्रेयकै बोलीमा समर्थन जनाउँदै उनी भन्छन् ‘पहिले नगरपालिकामा व्यवसाय दर्ता गर्दा २५ सय रुपैयाँले हुन्थ्यो, अहिले ७५ सय तिर्नुपरेको छ ।’ शूल्क नै ३ गुणा बढी बुझाएपनि त्यसको प्रतिफल नपाएको उनले सुनाइन् । महानगरमा केही काम लिएर जाँदा त्यहाँका पदाधिकारीले भागै खोस्न आएजस्तो व्यवहार देखाउने गरेको तीतो पोख्छन् अध्यक्ष आत्रेय । ‘हाम्रो कुरा सुन्ने, हामीलाई बुझ्ने फुर्सद मेयर साबलाई छैन’ आत्रेयले भने ‘हाम्रो भूगोल र जनसंख्या अनुसारको कुनैपनि कार्यक्रम ल्याइएन न त पोखरासम्म हाम्रो पहुँच नै पुग्यो ।’ ‘छुट्टिनु नै विकल्प हो त ?’ भन्ने प्रश्नमा आत्रेय थप्छन् ‘म वा कुनै व्यक्तिको स्वार्थ पुरा गर्न छुट्टिने सोंच बनाएको हैन, यो लेखनाथवासीको पहिल्यैदेखिको धारणा हो ।’ उनका अनुसार पोखरा महानगरमा गाँभिनेबेला लेखनाथवासीमा जुन उत्साह थियो त्यो घट्दो क्रममा छ । ‘हामी छुट्टिने भन्दा पनि हामीलाई गरिएको व्यवहारले हामी केही स्वायत्त हुन खोजेको भने हो ।’ पोखराबाट छुट्टिन लेखनाथमा हस्ताक्षर अभियान चलाइँदैछ भन्ने विषयमा भने उनले स्वयं वा उद्योग वाणिज्य संघको कार्यक्रम नभएको स्पष्ट पारे । ‘तरपनि आजित भएपछि स्थानीयवासीले त्यस्तो अभियान चलाउने सुनेको छु, त्यसमा समर्थन त रहन्छ नै’ आत्रेयले जनाए । लेखनाथप्रति पोखराको यस्तै रवैया रहे कुनैनकुनै स्वरुपमा आन्दोलन हुने उनको भनाई छ । सामाजिक सञ्जाल र लेखनाथ क्षेत्रमा यतिबेला पोखराबाट छुट्टिन दबाबस्वरुप हस्ताक्षर अभियानको तयारी छ । यस अभियानको कोही पनि संयोजक छैनन् । यसबारे जानकारी दिँदै पत्रकार एवं स्थानीयवासी कमल सुवेदीले आगामी २० गतेदेखि हस्ताक्षर अभियान चल्ने जानकारी दिए । ‘यस अभियानको नेतृत्व कसैले पनि लिएको छैन, स्थानीयले स्वस्फूर्तरुपमा दबाबस्वरुप हस्ताक्षर अभियान चलाउँदै छन्’ सुवेदीले जानकारी दिए । यद्यपि, ३० जना स्थानीय जागरुक युवा भेला भई अभियान चलाउन लगोको उनले बताए । हस्ताक्षर अभियान समयको माग भएको बताउँदै सुवेदीले पोखराप्रति अपनत्व महशुस हुन नसकेको टिप्पणी गरे । ‘लेखनाथवासीलाई महानगरमा समावेश गर्न १० सडक सञ्जाल, ८ ताललाई प्रवद्र्धन गर्न पूर्वाधार साथै बसपार्क र रंगशाला निर्माणको आश देखाइएको थियो’ सुवेदीकाे प्रश्न छ ‘खोई ती आयोजनामा कार्यक्रममा र बजेट ?’ बजेटको समानुपातिक वितरण नहुनु र विकासका कार्यक्रममा छिमेकको रुपा गाउँपालिकामाभन्दा कम महत्व दिइनुले लेखनाथवासी स्वतः छुट्टिने अभियानमा लागिरहेको उनको भनाई छ । ‘लेखनाथ बाहिरबाट हेर्दा शान्त भएपनि भुसको आगोजस्तै भित्रभित्रै जलिरहेको छ’ उनले उल्लेख गरे । सुवेदीका अनुसार लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिकराम पौडेलले तयार पारेको गुरुयोजनामात्रै सफल भएपनि स्थानीयले आर्थिक र दीगो विकासमा फड्को मार्ने थिए तर महानगरले लेखनाथलाई कुहिरोको कागजस्तै रनभुल्ल पारिदियो । करिब १ महिना अघि पनि लेखनाथवासीहरुले स्वायत्त हुन जरुरी रहेको भन्दै भेलाको आयोजना गरेको थियो । हालै बजेट आएपछि आफ्नो क्षेत्रलाई झनै तिरस्कार गरिएको भन्दै अचेल लेखनाथवासी दिनहूँ जसो पोखराबाट छुट्टिने आशयका विमर्श गरिरहेका छन् । लेखनाथमा समूहगत योजना र धारणा बनिरहे पनि छुट्टिइहाल्ने सम्भावना भने नभएको पोखरा महानगरका प्रवक्ता मोतिलाल तिम्सीना बताउँछन् । ‘पहिलो कुरा त संघीय नीतिअनुसार यस संरचनालाई २० वर्षसम्म चलाउँन मिल्दैन’ प्रवक्ता तिम्सीना भन्छन् ‘दोस्रो कुरा लेखनाथमा अब थुप्रै योजना र कार्यक्रम जाँदैछन् ।’ महानगरमा पछि गाभिएका लेखनाथ र ग्रामीण क्षेत्रमा ‘विशेष योजना’ लैजान कार्यक्रम तर्जुमा भइरहेको उनले बताए । शहरी योजनाको कार्यालयसँगै आगामी दिनमा शिक्षा, पर्यटन, कृषि र स्वास्थ्यका विशेष कार्यक्रममार्फत लेखनाथवासीलाई लाभान्वित बनाउने योजनामा महानगर काम गरिरहेको तिम्सीना बताउँछन् । ‘मैलेपनि लेखनाथवासीहरुको असन्तुष्टी चाल पाएको छु, महानगर र मेयरमा यसबारे जानकारी गराएको छु’ तिम्सीनाले भने । लेखनाथमा रहेका वडाध्यक्षहरुले भने यस विषयमा प्रतिक्रिया दिन चाहेनन् । साविकको लेखनाथबाट पोखरा महानगरमा गाभिएका ८ वडा छन् ।
पोखरा: पोखरामा शुक्रबार एक पुरुष मृत भेटिएका छन् । मृत भेटिएका पुरुषकाे दुइदिनसम्म पनि पहिचान हुन सकेको नसकेकाे कास्की प्रहरीले बताएकाे छ । कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका १५ मजुवा स्थित सेती नदिको किनारामा भिरबाट लडेर मृत अवस्थामा फेला परेकाे थियाे । कास्की प्रहरीका अनुसार अन्दाजी ५५ वर्षीय पुरुषको शव सेती नदीको किनारामा शुक्रबार फेला परेको हो । सेती नदीमा मृत भेटिएका ति पुरुषको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।
पोखरा: ‘रोटरी क्लब अफ गण्डकी’ को अध्यक्षमा युवा व्यवसायी किसान सुनार चयन भएका छन् । चार्टर प्रेसिडेण्ट भएका उनलाई रोटरी डिस्ट्रिक गर्भनर २०२२–२३ का जीतेन्द्रबहादुर राजभण्डारीले पिन प्रदानसँगै सपथ खुवाए । सो अवसरमा बोल्दै कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका राजभण्डारीले रोटरी गण्डकीमा जुजारु नेतृत्व आएकाले सेवामा तत्परः स्वार्थमा भन्दा सेवामा लाग्न आग्रह गरे । ‘रोटरी गण्डकीको नेतृत्वमा नयाँ जुजारु टिम आएको छ, रोटरी जहिलेपनि समाजसेवाको भावनामा क्रियाशिल हुनुपर्छ’, रोटरी गर्भनर राजभण्डारीले भने, ‘जहिले पनि सेवामा तत्परः स्वार्थमा भन्दा सेवामा लाग्नुपर्छ ।’ रोटरी अभियान केःहो भनेर सबैलाई युवा देखि महिलाहरु सबैलाई बुझाउन आवश्यक रहेको रोटरी २०२२–२३ डिस्ट्रिक गर्भनर राजभण्डारीले बताए । ‘रोटरी अभियान काम धेरै गरौं कुरा कम गरौ, रोटरी अभियान केःहो भनेर सबैलाई बुझाउन आवश्यक छ’, उनले भने, ‘रोटरी अभियानमा युवायुवती देखि सबैलाई यसका बारेमा जानकारी गराउन आवश्यक छ ।’ रोटरी क्लब अफ गण्डकीका अध्यक्ष किसान सुनारले क्लबले सामाजिक उत्तरदायित्वमा रहेर काम गर्ने बताए । ‘रोटरी क्लब सामाजिक उत्तरदायित्वमा रहेर काम गर्दै आएको छ, मेरो कार्यकालमा पनि सामाजिक उत्तरदायित्वमा रहेर नै कायम गर्ने प्रतिवद्धता गरेको छु’, अध्यक्ष सुनारले भने,‘हामीले रोटरी केःहो सबैलाई बुझाउछौं, रोटरीले गर्दै आएको कामलाई निरन्तरतासँगै नयाँ कार्यक्रमलाई जोडेर लैजान्छौं ।’ उनले प्रदेशको स्वास्थ्य क्षेत्रदेखि लागूऔषध विरुद्धको अभियान कार्यक्रमलाई जोडेर जाने बताए । ‘क्लबले प्रदेश भित्र स्वास्थ्य क्षेत्रका कार्यक्रम, वृक्षारोपण कार्यक्रमलाई अगाडि बढाउनेछौं’ उनले भने, ‘पोखरामा लागूऔषध प्रयोगकर्ताको बढ्दै गएका छन् यसलाई कम गर्न लागूऔषध विरुद्ध सचेतना कार्यक्रम आयोजना गर्नेछौं ।’ अध्यक्ष सुनारले ग्रामीण क्षेत्रको आर्थिक विकासका लागि स्थानीय उत्पादन र प्रवद्र्धनमा सहयोग गने बताए । सुनार नेतृत्वको क्लबको प्रेसिडेन्ट इलेक्टमा सुवास ढुंगाना, प्रेसिडेन्ट नोमिनीमा निर्देशन कुमार चुल्याजु, भाइस प्रेसिडेन्टमा डा।डिनेश कुमार विक, सेक्रेटरीमा नवराज आचार्य, ट्रेजरीमा सिए अमित गडाल, जेटी सेक्रेटरीमा कृष्ण प्रसाद तिमिल्सिना, जेटी ट्रेजरीमा कमल विश्वकर्मा,सर्जेन्ट एट आर्मस् (फस्ट)सकुन्तला श्रेष्ठ, सर्जेन्ट एट आर्मस् (सेकेण्ड) प्रकाश राज पौडेल, क्लब एडिटर नविन किरण भुषाल, क्लब मेन्टर मानबहादुर विक, चेयर द फाउण्डेशन डा। सन्तोष कुमार विक, चेयर क्लब एड्मिनिस्ट्रेशन राजु कुमार पौडेल, चेयर मेम्बरसीप डा. कृष्ण बोगटी, चेयर सर्भिस प्रोजेक्ट कृष्ण खड्का, चियर क्लब ट्रेनर कमिल खान, चियर पब्लिक इमेज ईन्जिनियर लक्ष्मीप्रसाद शर्मा, चियर आइटि ९न्यू जेनेरेशन० मिलन पौडेल, एक्जिक्युटिभसेक्रेटरी गौतम सुनार रहेका छन् । यस्तै इन्टरनेशनल सर्भिस कोडिनेटर प्रेमप्रसाद सुवेदी, टिच कोडिनेटर योगेन्द्र केशी, न्यू जेनेरेशन कोडिनेटर जीवन अधिकारी, फड रेजिङ चेयर पुर्ण बहादुर लामगाडे, पब्लिक रिलेसन कोडिनेटर मनोज रसाइली, इनर ह्विल कोडिनेटर इन्दु श्रेष्ठ, रोटरी पिस फेलोसिप दिपेन्द्र आचार्य, भोकेसनल सर्भिस कोडिनेटर ग्यान बहादुर नेपाली, रोटरी कम्युनिटी क्रप्स (आरसिसी) नगेन्द्र शर्मा भण्डारी, एडिक्स न प्रेभेसन कोडिनेटर प्रवेश चन्द्र उप्रेती, डिस्ट्रीक प्रोगाम कोडिनेटर ई।गणेश सापकोटा, इन्टयाक कोडिनेटर इन्द्र प्रसाद भुवाइ, क्रपोरेट हाउस कोडिनेटर श्रीजन श्रेष्ठ, एक्टिभ मेम्बर दिलप्रसाद पोखरेल, एक्टिभ मेम्बर तारानाथ ढुङ्गाना, एक्टिभ मेम्बर जीवन ढुङ्गाना, एक्टिभ मेम्बर सन्तोष भट्टराई, एक्टिभ मेम्बर चेतन कार्की, एक्टिभ मेम्बर भरत वि।क, एक्टिभ मेम्बर श्याम मल्ल, एक्टिभ मेम्बर लक्ष्मण गुरुङ, एक्टिभ मेम्बर अनुज नकर्मी, एक्टिभ मेम्बर हरी न्यौपाने, एक्टिभ मेम्बर अमर सापकोटा, एक्टिभ मेम्बर डिल्लीराज पाण्डे, एक्टिभ मेम्बर डा।सञ्जय कोइराला, एक्टिभ मेम्बर विकास गुरुङ, एक्टिभ मेम्बर तारानाथ भण्डारी, एकराज गिरी, एक्टिभ मेम्बर किसान गिरी, एक्टिभ मेम्बर अमर जंग गुरुङ, एक्टिभ मेम्बर सन्तबहादुर लामिछाने र रविन्द्र श्रेष्ठ रहेका छन् ।
पोखराः पोखरा महानगरपालिकाअन्तरगत स्वास्थ्य महाशाखाका १ सय ९० कर्मचारीले गत फागुन महिनादेखि तलब पाएका छैनन् । महाशाखाका कर्मचारीका अनुसार उनीहरुले फागुनदेखिको तलब र पोशाक भत्ता १० हजार रुपैयाँ समेत हालसम्म नपाएका हुन् । महाशाखामा विभिन्न पालिकाबाट सरुवा भएर आएका कर्मचारी सबैभन्दा बढी पीडित भएको जनाइएको छ । पुराना कर्मचारीको हकमा असारसम्म तलबको व्यवस्था भएपनि सरुवा भई आएका कर्मचारी भने अझै तलबवीहिन भएको सिनियर अहेब कुस्मराज सुवेदीले जनाए । सुवेदी हेमजा स्वास्थ्य चौकीका प्रमुखसमेत हुन् । पालिकाबाट सरुवा भई आएका कर्मचारीको तलब उतै जाने गरेको तर महाशाखामा आएपछि त्यसको भर्पाई गर्न महानगरलाई सकस परेको बुझिएको छ । यद्यपि, कर्मचारीहरुले यही असार मसान्तसम्म सबै तलब पाउने महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिएका छन् । ‘सम्बन्धित मन्त्रालयबाट निकासा भइसकेको छ’ अधिकृत भारती भन्छन् ‘अब सबैलाई मिलाउँदै जाने हो ।’ तलब रकम नपुग आएपनि महाशाखामा अझै कर्मचारी भने नपुग भएको उनले जनाए । ‘हाल ४ जना कर्मचारी चाहिने ठाउँमा २ जनाले काम चलाइरहेका छन्’ भारती भन्छन् ‘हामीले करारमा थप कर्मचारी जोहो गर्ने प्रक्रियामा छौं ।’ स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद अर्यालका शब्दमा संघीय सरकारबाटै कम रकम आएकाले तलब खान नपुगेको हो । बजेटमा आए अनुसार तलबभक्ता पुग्ने भएपनि कोभिडको समयमा काजमा थपिएका कर्मचारी र बढुवा भएको जनशक्तिलाई पहिलै छुट्टाएको रकमले नपुग्दा समस्या परेको अर्याल बताउँछन् । ‘हामीले फागुनदेखि तलब नपाएपछि ३ पटक मन्त्रालयमा पत्राचार ग¥यौ’ अर्याल भन्छन् ‘त्यसपछि मन्त्रीसमक्ष डेलिगेशन गएपछि असारभित्र तलब खान पाउने सम्भावना छ ।’ अर्यालका अनुसार मन्त्रालयले ३ करोड रुपैयाँ पठाउँदैछ । उक्त रकम आजै बेलुकासम्म प्राप्त हुने उनले बताए । तर ३ करोड रुपैयाँले १ महिनाकोमात्रै तलब पुग्ने कर्मचारीहरु बताउँछन् । त्यस्तै, आगामी आर्थिक वर्षदेखि भने तलब निरन्तर हुने उनको भनाई छ । तपाइले त तलब खाइरहनुभएको होला नी ? भन्ने प्रश्नमा अर्याल भन्छन् ‘मैलेपनि फागुनदेखि पाएको छैन ।’
पोखराः अंग्रेजी नयाँ वर्षमा आयोजना गरिएको २४ ओं स्ट्रिट फेस्टिभलको रकम ६ महिनासम्म नपाएपछि पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्ड, पोखराबीच चुलिएको तनाव हालै साम्य भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसियशन (रेबान) पोखराले फेस्टिभल आयोजनार्थ १० लाख रुपैयाँ पर्यटन बोर्डबाट पाउँदै आएको छ । सोही अनुसार गत पुसमा भएको फेस्टिभलको रकम नपाएपछि जेठको अन्तिम साता पर्यटनसम्बद्ध संस्थाहरुले बोर्डका कर्मचारीको नियतमाथि प्रश्न उठाउँदै कारवाहीको मागसमेत गरेका थिए । संस्थाहरुले प्रेस विज्ञप्ती नै जारी गरेपछि बोर्डका प्रमुख काशीराज भण्डारी र प्रबन्धक नवीन पोखरेल र वरिष्ठ अधिकृत कुन्दन शर्माले विशेष बैठकबाट माइन्युटिङ् गरी उक्त रकम रेबान पोखरालाई दिएका छन् । बोर्डले कुनैपनि संस्थालाई रकम दिँदा कार्यविधि अनुसार लेखापालमार्फत गर्नुपर्ने हुन्छ । तर बोर्डको मुख्य कार्यालयले कार्यविधिमार्फत अल्झाउने गरेपछि व्यवसायीहरुको दबाब थेग्न नसक्दा तीन कर्मचारीले आफ्नै तजबीजमा रकम उपलब्ध गराउने निर्णय गरेका हुन् । कुनैपनि संस्थालाई प्रस्ताव र कार्यक्रमको रकम उपलब्ध गराउन लेखापालमार्फत चेक दिने व्यवस्था भएपनि हाल बोर्डको पोखरा कार्यालयमा लेखापाल छैनन् । कार्यालयमा लेखापालको व्यवस्था गरिदिन निरन्तर काठमाण्डौमा खबर गर्दापनि सुनुवाई नभएपछि पोखरामा कार्यरत कर्मचारी र व्यावसायिक संस्थाबीच आर्थिक कारोबार गर्न समस्या हुने गरेको छ । यसअघि प्रशासनका कर्मचारीले लेखापालको पनि काम गर्दै आएका थिए । नयाँ कार्यविधिअनुसार लेखापालबाटै लेनदेनको काम हुने उल्लेख भएपछि भुक्तानी रोकिएको बोर्डका कर्मचारी बताउँछन् । रेबानलाई भुक्तान गर्नुपर्ने रकमबारे केन्द्रमा जानकारी गराएको तर प्रशासक महाशाखा प्रमुख सन्तोष पन्तले विभिन्न बहाना बनाएपछि पोखरा प्रमुख भण्डारीले नियमविपरित निर्णय गर्न बाध्य भएको बुझिएको छ । पन्त चार्टर्ड एकाउन्टेन्ट हुन् । बोर्डको कुनैपनि भुक्तानी पन्त वा उनले अख्तियारी दिएको व्यक्तिबाट मात्रै हुने नियम रहेको छ । रेबानलाई रकम भुक्तान गरेपछि प्रमुख भण्डारीले असार १ गते राजीनामा दिएका थिए । ३ गते उनको राजीनामा स्वीकृत भएको छ । पर्यटन व्यवसायीको एकोहोरो पेलानले आफ्नो मानमर्दन भएको र बोर्डले पनि समस्या सल्टाउन नखोजेको गुनासोपछि भण्डारीले राजीनामा दिएको पोखराका कार्यालयका एक कर्मचारीले जनाएका छन् । रेबानलाई रकम भुक्तान गर्नु अघि प्रमुख भण्डारीले विशेष बैठकको माइन्यूटमा ‘चालु आव ०७९/८० को बजेट तथा कार्यक्रम संचालनकालागि बैंक खाता संचालन गरे, गराएकोमा कुनै प्रश्न उठे त्यसका प्रतिरक्षा तथा जिम्मेवारी कार्यालय प्रमुखको हैसियतमा श्री काशीराज भण्डारीले समेत लिने निर्णय गरियो’ भनि दोष आफैले लिने उल्लेख गरेका छन् । बोर्डको आर्थिक तथा खरिद नियमावली, २०७२ अनुसार प्रमुख भण्डारीलाई बैंक खाता संचालनको अधिकार छैन । रेबानको नाममा चेक काटिदिन उनले पुरै जोखिम आफै उठाएका हुन् । जेठ २९ गते रेबानको नाममा चेक काटिदिएपछि असार १ मा भण्डारीले राजीनामा पेश गरेका थिए । यस विषयमा भण्डारीले ‘काम गरेपनि अपजस, नगरेपनि अपजस’ भनि प्रतिक्रिया दिएका छन् । ‘म रुल अफ ल मा चल्ने मान्छे हुँ, पर्यटन बोर्ड सिस्टममा चलेको छैन’ भण्डारीले भने । बोर्ड पोखरामा भण्डारीले २४ वर्ष बिताएका छन् । पोखराका पुराना पर्यटन व्यवसायीहरुले यहाँको पर्यटनमा भण्डारीको योगदान रहेको चर्चा गर्छन् । बोर्ड पोखराबाट १० लाख रुपैयाँको चेक प्राप्त भइसकेको रेबान पोखरा अध्यक्ष नरेश भट्टराइले बताए । ‘कहाँ, कताबाट र कसरी रोकियो हामीलाई सरोकार भएन’ भट्टराइले भने ‘६ महिनासम्म भुक्तान गर्न नसक्नुमा बोर्ड पोखराकै कमजोरी हो ।’ बाराम्बार ताकेता गर्दा पनि भुक्तान नभएपछि बाध्य भएर १७ संस्थामार्फत दबाब दिएको उनले जनाए । ‘पर्यटन प्रबद्र्धनमा सक्रिय छौं, राज्यको तलब खाने कर्मचारीले दुख दिँदा हामीले विभागीय कारवाही गर्न आवाज उठाएको हो’ भट्टराइले उल्लेख गरे । यद्यपि, प्रमुख भण्डारीले राजीनामा नै दिनुपरेको विषयमा भट्टराइले ‘व्यक्तिगत निर्णय’ भनेका छन् ।
पोखरा: कास्की अन्नपूर्ण गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणलाई केन्द्रित गर्दै ५८ करोड ७८ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८०÷०८१ मा चालुतर्फ ४० करोड ५३ लाख र पुँजीगततर्फ १८ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँसभामा उक्त परिमाणको बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६८ करोड ६५ लाख रुपैेयाँको बजेट ल्याएको अन्नपूर्णले आउँदो वर्षका लागि १० करोड रुपैयाँ कमको बजेट ल्याएको छ । पालिकाले चक्रपथ निर्माण रसबै वडाहरुलाई मध्यपहाडी लोकमार्गसँग जोड्न र सबै सडक सञ्जाल बनाउने गरी बजेट विनियोजन गरेको छ । बाह्रै महिना सडकमा यातायात चल्न बनाउन सक्ने बजेटको उद्देश्य छ । अन्नपूर्णले सडक तथा पुल सिँचाइ भवन तथा सहरी विकास ऊर्जा लघु तथा साना जलविधुत सञ्चारसहितका पूर्वाधार विकास आयोजनाका लागि ५ करोड २८ लाख छुट्याएको छ । वडास्तरीय पूर्वाधार संरचना निर्माण गर्न ११ वटै वडाहरुका लागि १ करोड ७७ लाख वजेट विनियोजन भएको छ ।

