पोखरा: सञ्जिवनी दिदी बहिनी केन्द्र, नेपाल पोखराले तनहुँका १० जना विद्यार्थीहरुलाई छात्रवृत्ति, शैक्षिक सामग्री, पोशाक वितरण वितरण गरेको छ । तनहुँको घिरिङ गाउँपालिका र ऋषिङ गाउँपालिकाका दुई विद्यालयका विद्यार्थीहरुलाई आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको हो । तनहुँको ऋषिङ गाउँपालिकास्थित महेन्द्रोदय माध्यमिक विद्यालयका ७ र घिरिङ गाउँपालिकास्थित कामधेनु माविका ३ जना छात्राहरुलाई छात्रवृत्ति, शैक्षिक पोशाक वितरण गरेको सञ्जिवनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले बताईन् । छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै सञ्विनी दिदी बहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङले आर्थिक अवस्थाका कारण आफ्नो अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्ने लक्ष्य लिएको बताईन् । ‘नेपाल सरकारले मावि तहसम्म निशुल्क शिक्षा घोषणा गरेतापनि आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुमाँझ निशुल्क शिक्षा पुग्न सकेको छैन्, अध्यक्ष गुरुङले भनिन्, ‘आर्थिक अवस्था कमजोर भएका दिदी बहिनीका छोरी बुहारीहरुलाई शिक्षाबाट बञ्चित हुन नदिन विभिन्न जिल्लाका विद्यालयहरुमा सहयोग गदै आएका छौ ।’ उनले आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक सामग्री, पोशाक किन्न नसकेका विद्यार्थीहरुलाई सहयोग गर्दै आएका बताईन् । ‘संस्थाले आर्थिक अवस्था कमजोर भएका कारण अध्ययनलाई निरन्तरता दिन नसकेका विद्यार्थीहरुलाई शैक्षिक सामग्री, पोशाक किन्न सहयोग पु¥याउने उद्धेश्यले विद्यार्थीहरुलाई सहयोग गर्दै आएका छौं ।’ उनले भनिन् । संस्थाका अध्यक्ष गुरुङका अनुसार २०७६ सालमा १३ जना दिदीबहिनीको सक्रियतामा कुनै पनि छोरी बुहारीहरुलाई शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने उद्धेश्य लिएर संस्था सञ्चालनमा ल्याएको बताईन् । संस्थाले शुक्रबार तनहुँको दुई विद्यालयका १० जना विद्यार्थीहरुलाई जनही रु १० हजार छात्रवृत्तिसँगै शैक्षिक सामग्री र पोशाक वितरण गरेको हो । तनहुँसँगै संस्थाले पर्वतमा ७ जना, मुगुमा ८ जना, पोखरामा १ जना विद्यार्थीहरुलाई छात्रवृत्तिसँगै शैक्षिक सामग्री पोशाक वितरण गर्ने सस्थाका कोषाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् । छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै महेन्द्रोय माविका प्रधानाध्यापक दुर्गाबहादुर क्षेत्रीले विभिन्न संघसंस्थाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई सहयोग गर्दा बिचैमा अध्ययन छोड्न बाध्य भएको बताए । ‘विद्यार्थीहरुको परिवारको आर्थिक अवस्था कमजोर हुँदा विचैमा अध्ययन छोड्ने गरेका छन्, तर विभिन्न संघसंस्थाले विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दा विद्यार्थीहरुलाई अध्ययनगर्ने अवसरमा सहयोग पुगेको छ ।’ १३ जना दिदीबहिनीको सक्रियतामा सञ्चालन भएको सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालको कार्ययोजनामा विभिन्न व्यक्तित्वहरुले सहयोग गरेका छन् । संस्थामा ३३ जना दिदीबहिनी आजिवन सदस्य रहेका छन् भने, ३० जनाले जनही एक लाखको अक्षयकोष निर्माण गरेका छन् । अक्षयकोषको व्याजबाट वार्षिक रुपमा ३० जना आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति र शैक्षिक सामग्री वितरण तथा पोशाक वितरण गर्दै आएको छ । कार्यक्रममा सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालका सहकोषाध्यक्ष दिलमाया प्रजापति, विभागिय संयोजकद्धय नानीकमला गुरुङ र बिन्दुमाया गुरुङको सहभागिता रहेको थियो । तनहुँको घिरिङ गाउँपालिकास्थित महेन्द्रोय माविमा भएको छात्रवृत्ति वितरण कार्यक्रम सञ्जिवनी दिदीबहिनी केन्द्र नेपालका अध्यक्ष बिना गुरुङको अध्यक्षता, कोषाध्यक्ष लक्ष्मीदेवि गुरुङको स्वागत र सदस्य गीमाया गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
पोखरा: पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडास्तरीय फुटबल प्रतियोगितामा पोखरा १४ च्याम्पियन भएको छ । । पोखरा रंगशालामा बिहीबार भएको फाइनलमा वडा नम्बर १५ लाई ४-० गोलान्तरले हराउँदै वडा नम्बर १४ च्याम्पियन बनेको हो । आशिष कार्की, सिद्धान्त गुरुङ, प्रताप गुरुङ र यामबहादुर श्रेष्ठले गरेको गोलसँगै वडा नम्बर १४ ले उपाधि जितेको हो । यामबहादुर फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । विजेता वडा नम्बर १४ को टिमले एक लाख ५० हजार रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता वडा नम्बर १५ को टिमले एक लाख रूपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । वडा नम्बर १४ का आशिष कार्की प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बने । उनले १५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए । वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड बने । उत्कृष्ट खेलाडी र प्रशिक्षकले ५/५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए । पुरस्कार वितरणपछि बोल्दै महानगरपालिका प्रमुख धनराज आचार्यले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताए । तल्लो तहमा हुने प्रतियोगितालाई महानगरपालिकाले विशेष प्राथमिकता दिने उनको भनाइ थियो । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता थियो ।
पोखरा: कृषि सामग्री कम्पनी लिमिटेडले पोखराको हङकङ बजारलाई टेण्डर प्रक्रियामा लैजान खोजेपछि व्यवसायीहरु चरणबद्ध आन्दोलनमा छन् । उनीहरुले आफ्नो माग पूरा नभएको भन्दै निरन्तर विरोध जनाउदै आएका छन् । उनीहरुले विभिन्न नाराबाँजीसहित महानगर र वडा कार्यालय घेर्दै विरोध गरिरहेका छन् । चरणबद्ध आन्दोलनमा रहेका उनीहरुको आज १ सय १८ दिन पुगेको छ । एकदशक अगाडिबाट पोखरा महानगरपालिका ९ स्थित कृषि साम्रगी कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गामा बसेर फुटपाथ व्यवसायीलाई व्यवस्थापन गर्दै एकिकृत बजारको मोडलमा हङकङ बजार निर्माण गरिएको थियो । हाल सोही बजारमा व्यवसाय गर्दै आएकामाथि कम्पनीले अस्वाभाविक भाडा बढाएको भन्दै आन्दोलनमा उत्रेका हुन् । कृषि सामाग्री कम्पनीको स्वामित्वमा रहेको जग्गा फुटपाथ व्यवसायीहरु भन्दा अगाडि नै नन्द प्रसाद तिवारीले भाडा लिएको र अहिले तिवारी र कम्पनीले गरेको सम्झौता अवधि सकिएको भन्दै कम्पनीले न्यूनतम १२ लाख १५ हजार भाडा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध गर्नुको विकल्प नरहेको व्यवसायीहरुको भनाई छ । पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष कृष्णमाया गुरुङले कृषि सामग्री कम्पनीले व्यवसायीको हित विपरित टेण्डर प्रक्रियाबाट बजारमा ठेकेदार भित्राए सडकमा आएर व्यवसाय सञ्चालन गर्ने चेतावनी दिइन् । उनले माग पूरा नभएर सडक तताउनेसमेत बताइन् । ‘कम्पनीले फुटपाथ व्यवसायीहरुको हित विपरित भाडादर बढाएर विचौलियालाई फाइदा पुग्ने गरी टेण्डर आह्वान गरेको छ, गुरुङ आक्रोशित हुदै भनिन्, ‘हामीलाई त्यहाँ व्यवस्थापन गर्दा झाडी नै झाडी थियो, अहिले बजार भइसकेपछि विचौलियाहरुलाई फाइदा पुग्ने गरी टेण्डर आह्वान भएको छ ।’ उनले फुटपाथ व्यवसायीहरुको हित विपरित टेण्डर प्रक्रियाबाट ठेकेदार प्रवेश गरे बजारको क्षतिपूर्ति माग गर्दै सडकमा नै आएर व्यवसाय सञ्चालन गर्ने सुनाइन् । यता कृषि सामग्री कम्पनीको स्वामित्वमा रहेको ७ रोपनी जग्गा कम्पनीले न्यूनतम १२ लाख १५ हजारमा नघट्ने गरी सिलबन्दी बोलपत्र आह्वान गरेपछि तीन जनाले टेण्डर प्रक्रियामा भाग लिएको कृषि सामग्री कम्पनी लिमिटेड पोखराले जनाएको छ ।
पोखरा: चेम्बर अफ कमर्स दक्षिण क्षेत्र इकाई पोखरा महानगरपालिका १७, २१, २२ र ३३ ले वृहत रत्तदानको आयोजना गर्ने भएको छ । ‘रक्तदान जीवनदान, जीवनदान महादान, रक्तदान गरौ पुण्य कमाऔं’ भन्ने नारासहित आगामी १३ गते शनिबार बिरौटाचोकमा रक्तदानको आयोजना गर्न लागको आयोजक संस्थाका अध्यक्ष गोकर्ण क्षेत्रीले जानकारी दिए । उनले पोखरा क्षेत्रमा भएको रक्तअभावको समस्यालाई मध्यजनर गर्दै वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनका अनुसार बिरौटा चोकमा हुने रक्तदान विहान ७ बजे सुरु हुनेछ ।
पोखरा: अघिल्लो आर्थिक वर्षदेखि हालसम्म १३ जना कास्कीवासीले नेपाली नागरिकता त्यागेका छन् । उनीहरुले नागरिकता त्यागेसँगै देश छाडेर बाहिरिइसकेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार देश त्यागेर उनीहरुमध्ये केही यूरोपियन देश त केही एशियाली मुलुक पसेका छन् । तथ्यांकअनुसार घान्द्रुक, र पोखराका ८ जना बेलायत पुगेका छन् । त्यस्तै, २ जनाले अष्ट्रेलियाको नागरिकता लिएका छन् । दुई जनाले यूरोपको फिनल्याण्ड र लाट्भीयाको नागरिकता लिएका छन् । त्यस्तै एकजना हंगकंग पुगेको प्रशासकीय अधिकृत राजेन्द्र शर्माले जनाएका छन् । नागरिकता त्यागेकामध्ये बेलायत र हंगकंगमा सपरिवार गएका छने भने अन्य एकल छन् । अधिकृत शर्माका अनुसार केही वर्ष पहिल्यैदेखि यूरोपको नागरिकता लिन चाहनेहरुले नागरिकता त्याग्न दिएको निवेदन प्रक्रियामा थियो । बेलायत र हंगकंग जानेहरु त्यहाँको सेनामा रहेको पृष्ठभूमि छ । नागरिकता त्याग्ने अन्यको बसोबास विदेशमै लामो समय रहेको र उनीहरु त्यहीको नागरिक हुन योग्य भएको प्रमाण पेश गरेपछि प्रक्रिया अघि बढेको शर्माले जनाए । नेपाली नागरिकता त्याग्नेमा पोखरा वडा नम्बर १, ५, ८ र १६ का रहेका छन् । ‘आगामी दिनमा देशको नागरिकता त्यागेर विदेश बसाई हिँड्नेको ताँती बढ्ने सम्भावना अधिक छ’ शर्मा भन्छन् ‘अमेरिकन डिभी र अन्य देशमा लामो समय बसेपछि प्रायः नेपाल फर्कन नचाहने देखिएको छ ।’ त्यस्तै, ५ जनाको नेपाली नागरिकता रद्द गरिएको छ । कुनैपनि व्यक्तिको दोहोरो नागरिकता भएको हकमा प्रयोजनअनुसार पहिलो वा दोस्रो नागरिकता त्याग गर्न सकिने कानूनी प्रावधान रहेको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारको आयोजनामा भोलि (बुधबार) हुने भनिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेका प्रेस संयोजक नरहरी सापकोटाले सूचना जारी गर्दै कार्यक्रम स्थगित भएको जानकारी दिए । प्रकाशित सूचनामा भनिएको छ, ‘गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालायको आयोजनामा प्रदेश सरकारको अनुभव आदानप्रदान गर्ने उद्देश्यले २०८० जेठ १० गते पोखरामा हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक तत्कालका लागि स्थगित भएको व्यहोरा जानकारीका लागि अुनरोध छ ।’ पूर्वघोषित कार्यक्रममा सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रमुख सचिवहरुको सहभागिता र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने बताइएको थियो ।

