पोखरा: पोखरामा स्वतन्त्र नागरिकहरुले भ्रष्टाचारविरुद्ध आज युवाहरूले प्रदर्शन गरेका छन् । देशमा भ्रष्टाचारका घटना बढेको र नियन्त्रण गर्नुपर्ने माग गर्दै युवाहरूले दबाब सिर्जना गर्न प्रदर्शन गरेका हुन् । उनीहरुले ‘कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार’, ‘टोपबहादुर कि टापबहादुर’, सरकार ‘ठूलो माछा पकडी, लगा छिटो हत्कडी’, ‘करोडौं पर्ने महल तिमीलाई कसले किन्दियोरु’ लगायतका नाराहरू सहित उनीहरूले प्रदर्शन गरेका हुन्। तस्बिरहरु:-
पोखरा: पोखरामा क्रेनको ठक्करबाट धना अधिकारीको मृत्यु भएपछि पिडित परिवारले क्षतिपूर्तिको माग गर्दै गण्डकी मेडिकल कलेज अगाडि सडकमा धर्ना दिएका छन् । हिजो पोखरामा क्रेनको ठक्करबाट कास्कीको माछापुच्छ्रे गाउँपालिका ७ लाहाचोककी धना अधिकारीको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको थियो । हिजो (बिहीबार) दिउँसो ३ बजे ग १ ख ५८०५ नम्बरको क्रेनले पोखरा महानगरपालिका ५ पर्स्याङस्थित विद्युत कार्यालय अगाडि क्रेनले ठक्कर दिएको थियो । पीडित परिवारले क्षतिपूर्तिको माग गर्दै गण्डकी मेडिकल कलेज अगाडि धर्ना दिएको हो ।
पोखरा: कास्की जिल्ला स्तरीय ह्विलचेयर बास्केटबल प्रतियोगितामा पोखरा महानगर टीम प्रथम भएको छ । आइएनएफ हरियोखर्क द्वितीय र महिला मिथ एफसिआई टोली तृतीय भए । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा नं १५ को आयोजना तथा अपाङ्गता सञ्जाल पोखरा १५ को समन्वयमा विहीबार प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले क्रमशः १० हजार, पाँच हजार र दुई हजार पाँच सय नगदसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजयी टोलीलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, पोखरा १५ का वडा अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले पुरस्कार वितरण गरे । प्रमुख आचार्यले मानिसको व्यस्त व्यवसायिक जीवनमा कहाँ, कहिले , कसरी अपाङ्ग भइन्छ भन्ने ठेगान नहुने भन्दै अपाङ्गता भएर पनि खेलको माध्यमले आफूमा भएको प्रतिभा प्रस्फुटन गरेका सबैप्रति आभार व्यक्त गरे । उनले महानगर सधै अपाङ्गमैत्री कार्यक्रम र नीति निर्माणमा अग्रसर हुने बताए । वडाध्यक्ष बानियाँले आफ्नो वडामा अपाङ्गता भएका व्यक्तिहरु धेरै बसोबास गर्ने गरेको आफूहरुले गरेको अध्ययनले देखाएको हुँदा उनीहरु लक्षित कार्यक्रमहरुलाई वडाले निरन्तरता दिने बताए । कार्यक्रममा अमृत बराल, दिपक गोदार लगायतले बोलेका थिए । सञ्जालका अध्यक्ष गंगाबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पोखरा वडा नं १५ कासदस्य तथा खेल संयोजक आशिष भण्डारीले गरेका थिए । खेल हरियो खर्क हस्पतालको बास्केटबल मैदानमा भएको थियो । पोखरा १५ ले खेलकुदको विकासका लागि यसअघि पनि खेलकुद महोत्सव आयोजना गरेको थियो । ९०६ जना खेलाडीहरुको उल्लेख सहभागी गरेको उक्त खेलबाट उत्पादित खेलाडीहरु विभिन्न स्थानीय , जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेलमा सहभागी भइरहेका छन् ।
पोखरा: पोखराको लेकसाइडमा रहेको ‘रत्नमन्दिर’ (राजपरिवारले विदा मनाउने दरबार) गणतन्त्र दिवसको अवसरमा पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरिने भएको छ । पोखरेली पर्यटन व्यवसायीहरुको माग अनुसार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पहलमा आगामी जेठ १५ गतेदेखि रन्तमन्दिर खुला गर्ने तयारी भएको महानगर स्रोतले बतायो । नेपाल ट्रष्टको स्वामित्वमा रहेको सो रत्नमन्दिरमा प्रवेश शुल्क लाग्ने वा नलाग्ने बारे अझै टुंगो भने लागेको छैन । पोखरामा भ्रमणका क्रममा राजा महेन्द्रले ताल किनारमा बसेको ठाउँ मन परेपछिस्थानीयसँग १११ रोपनी जग्गा किनेर ‘रत्नमन्दिर’ २०१३ मा निर्माण सुरु भएर २०१५ मा रत्न मन्दिरको निर्माण गरेका थिए । रत्न मन्दिरको मुख्य भवनमा ११ कोठा छन् । पुरानै अवस्थामा रहेको यसको सरसफाइलगायत रेखदेखमा केही कर्मचारी खटिदै आएका छन् । प्रशासनिक भवन, फेवा तालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवनसमेत रहेको छ ।
पोखराः पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटनसम्बद्ध संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स ९नाट्टा० गण्डकीलाई भारतमा पोखरा प्रवद्र्धनार्थ उपलब्ध गराउँछु भनेको रकम दिन नमिल्ने देखिएको छ । नाट्टाले वैशाखको पहिलो साता भारतको पटना, वाराणसी, अयोध्या र गोरखपुरमा पोखराको प्रचार गर्ने जानकारी दिन आयोजित प्रेसमिटमा मेयर आचार्यले उक्त टोलीलाई महानगरले २० लाख रुपैयाँ दिने बताएका थिए । त्यसपछि उक्त टुरलाई नाट्टा गण्डकीद्वारा आयोजित र पोखरा महानगरपालिकाको सहयोगमा भनिएको थियो । तर महानगरपालिकाको सहयोगमा भनिएपनि नाट्टालाई २० लाख रुपैयाँ दिनु पदीय आचरण विरुद्ध हुनजाने सरोकारवाला निकायले बताएको छ । यस विषयमा स्थानीयतहमार्फत नाफामूलक संस्थालाई अनुदान वा सहयोगको नाममा रकम दिन नमिल्ने भनिएको छ । महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक रविन्द्रप्रसाद देवकोटाले कुनैपनि स्थानीय निकायले व्यापारिक वर्गको हित र नाफा कमाउने उद्देश्यले स्थापना भएका कम्पनी वा संस्थालाई नगद अनुदान दिन नमिल्ने बताएका छन् । ‘पब्लिक फण्डमा रहेको रकम व्यापारीलाई दिन मिल्दैन’ देवकोटा भन्छन् ‘नाफामुखी व्यापार गर्नेको हितमा राज्यकोषबाट सहयोग गरियो भने त्यो दुरुपयोग हुनेछ ।’ उनले सरकारी कोषको रकम नागरिककै हित र लाभमा खर्चिनुपर्नेमा जोड दिए । देशैभर स्थानीय तहले रकम दुरुपयोग गरेको विषयलाई प्रतिवेदनमा निरन्तर उल्लेख गर्दै आएको र यही कारण बेरुजु बढी देखिएको जनाउँदै स्थानीय सरकारलाई नागरिकमुखी र जिम्मेवार हुने आग्रहसमेत गरे । ‘सररकाले दिन मिल्ने अनुदानमासमेत महालेखाले त्यसको प्रभावकारिता हेर्ने भएकाले व्यवसायमूलक संस्थालाई नै उपलब्ध गराउने आर्थिक सहयोग स्वतः औचित्यपूर्ण नहुने हाम्रो ठहर छ’ देवकोटाले भने । यता, महानगरका बित्त व्यवस्थापन प्रमुख जयराम पौडेलले पनि नाट्टलाई २० लाख रुपैयाँ दिन नमिल्ने बताएका छन् । ‘मेयर सा’ब कहाँ गएर के–के बोलिदिनुहुन्छ, नाट्टलाई पनि दिन्छु भनेर बोलिदिनु भयो तर दिन मिल्दैन’ पौडेलले भनेका छन् । महानगरले पहिल्यै बजेटमा उल्लेख गरेको वा त्यस्तो कुनै शीर्षकमा रकम छुट्याएको अवस्थामा दिने सम्भावना रहने भन्दै पौडेलले पनि व्यापारीक संस्थालाई सहयोगककानाममा पैसा दिन नमिल्ने प्रष्ट्याए । यता, नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारी भने भारत भ्रमणको प्रतिवेदन बनाउन व्यस्त छन् । उक्त प्रतिवेदन महानगरमा बुझाएर २० लाख रुपैयाँ प्राप्त हुने उनको बुझाई छ । अध्यक्ष अधिकारीका अनुसार नाट्टाले महानगरसँग सम्झौता (एमओयू) गरेरै सहयोग पाउने भएको हो । ‘हाम्रो र महानगरसँग भारतमा पोखराको प्रवद्र्धनार्थ सम्झौता नै भएको छ’ अधिकारी भन्छन् ‘महानगरले २० लाख रुपैयाँ सहयोग गर्ने भएकाले हामी भारत गएका हौं ।’ त्यसो त महानगरकै २० लाख लिएर नाट्टा भारत गएको होइन भन्दै नाट्टाले थप खर्च गरेको उनले उल्लेख गरे । महानगरका प्रतिनिधि, पत्रकारसमेत टोलीमा भएको र प्रचार कार्यक्रमबाट पर्यटक बढ्ने नाट्टाको अपेक्षा रहेको अधिकारी बताउँछन् । महानगरसँग भएको सम्झौता अनुसार भ्रमणमा भएका विविध कार्यक्रम र विषयवस्तु समेटेर प्रतिवेदन तयारी गरी बुझाइने उनले बताए । ‘केही दिनमा प्रतिवेदन तयार हुन्छ र महानगरमा पेश गरिनेछ र सोही अनुसार तोकिएको रकम उपलब्ध हुने छ’ अधिकारीले जनाए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार ‘स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, अनुदान एवं संस्थागत अनुदान वितरण गर्न नमिल्ने’ भनिएको छ । त्यस्तै, मलेपको हालै सार्वजनिक वार्षिक प्रतिवेदनमा १ सय ८२ स्थानीय तहले नाफामुखी संस्थालाई ४५ करोड ३३ लाख ५८ हजार रुपैयाँ अनुदान र सहयोगका नाममा वितरण गरेको उल्लेख गरेको छ । वैशाख ३ गते भारततर्फ निस्किएको नाट्टाको साताव्यापी अभियानमा २३ जना सहभागी थिए ।
पोखरा: अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा जेठ पहिलो साता लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० हुने भएको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा जेठ १ देखि ८ सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ टिमले भाग लिने पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । क्रिकेट खेलको विकाससँगै प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता सञ्चालन गर्न लागेको क्लब अध्यक्ष कमल थापाले जानकारी दिए । प्रतियोगितामा आयोजक सहित पोखरास्थित माछापुच्छे क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, राइजिङ क्रिकेट क्लब, बागलुङ क्रिकेट क्लब, तनहुँको पेलिकन्स क्रिकेट क्लब, काठमाडौंका क्रिकेट एक्सिलेन्स सेन्टर र किङ्स क्रिकेट क्लबले भाग लिने छन् । लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि-२० आधारमा हुनेछ । ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा दैनिक २ खेल हुने छन् । विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ । हरेक खेलका प्लेयर अफ म्याचले ५ सय पाउने छन् । प्रतियोगिता प्रायोजन गरेको लुम्बिनी विकास बैंकका तर्फबाट लामाचौर शाखा म्यानेजर नवीन तझ्याले सामाजिक उत्तरदायित्व अन्तर्गत अरण्यज्योतिसँग जोडिएको बताए । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालले कर्पोरेट हाउसले कम्तीमा एउटा प्रतियोगितामा जोडिए खेलकुदसँगै नयाँ नयाँ प्रतिभा जन्मिने र खेलकुद पत्रकारिताको पनि विकास हुने विचार व्यक्त गरे । प्रतियोगितामा बजगाइज् सोसाइटी, स्तुपा एजुकेस्नल कन्सल्ट्न्सी, अन्नपूर्ण केबल कार, कास्की क्रिकेट एसोसिएसन लगायतले सहयोग गरेको क्लब सचिव विधान श्रेष्ठले बताए ।
पोखरा: पोखरामा म्याद गुज्रेको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नष्ट गरेको छ । लाभाजु इन्टरप्राइजेजको स्टोरबाट बरामत गरेको १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँको म्याद गुज्रेको बियर प्रशासनले पोखरा महानगरपालिका १७ मुस्ताङचोकस्थित गल्फकोर्षको जग्गामा नष्ट गरेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले म्याद गुज्रेका बियर बिक्री गर्ने लाभाजु इन्टरप्राइजेजलाई ३ दिनभित्र बिलबिजकसहित प्रशासनमा उपस्थित हुन सूचना पठाइएको जानकारी दिए । लाभाजुलाई उपभोक्ता संरक्षण ऐन अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी भानुभक्त ढकालले जानकारी दिए । प्रशासनले ६ सय ५० एमएलको ३ सय १३ कार्टुन र ३ सय ३० एमएलको ६ कार्टुन बियर पोखरा महानगरपालिका ५ प्रस्याङ शिवालय मार्गस्थित लाभाजु इन्टरप्राइजेजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको म्याद गुज्रेको बियर बरमत गरेको थियो ।
पोखरा: प्रतिनिधिसभा सभा सदस्य मनबहादुर गुरुङले आगामी आर्थिक वर्ष २०८०÷८१ को विनियोजन विधेयकमा पोखराको सात तालको सिमाना छुट्याएर रोक्का राखिएको जग्गा फुकुवा गर्न प्राथमिकतामा राख्न माग गरेको छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बौल्दै सांसद गुरुङले पोखरा महानगरपालिका साविकको लेखनाथ नगरपालिकाको सात तालको सिमाना छुट्याएर रोक्का रहेका जग्गा फुकुवा गर्न विनियोजन विधेयकको प्राथमिकतामा राख्न माग गरेका हुन् । ‘पोखरा महानगरपालिकाका साविकको लेखानाथ नगरपालिका आज भन्दा १६ वर्ष अगाडि नेपाल सरकारको स्वीकृत नेपालको कै सात तालको शहर, गार्डेन सिटी अफ लेकका रुपमा गुरुयोजना बनाइएको थियो’, सांसद गुरुङले भने, ‘रुपा ताल बाहेक अन्य तालमा गुरुयोजना अनुसार काम भएको छैन, तालहरुको सिमाना छुट्टाएर रोक्का राखिएको जग्गा फुकुवा गर्न विनियोजन विद्येयकको प्राथमिकतामा राखियोस् ।’ उनले सात ताललाई गार्डेन सिटी अफ लेकको रुपमा गुरुयोजना बनाएर तालको संरक्षण, पर्यटन, विकास,रोजगार सिर्जना गर्ने उद्धेश्य राखेर अगाडि बढेपनि रुपा ताल बाहेरक अन्य तालमा योजना अगाडि बढ्न नसकेको बताए । साविकको लेखनाथ नगरपालिकाभित्रका बेगनास ताल, रुपा ताल, दिपाङ्ग ताल, खाष्टे ताल, न्यूरेनी ताल, गुँदे ताल, मैदी ताललाई गार्डेन सिटी आफ लेकको योजनामा अगाडि बढाइएको सांसद गुरुङको भनाई छ । सांसद गुरुङका अनुसार विज्ञहरुको सुझावमा गुँदे ताललाई ‘बल्जी ताल’, खाष्टे ताललाई ‘चरा हेर्ने ताल’, दिपाङ्ग ताललाई, ‘हनिमुन ताल’, मैदी ताललाई ‘योग गर्ने ताल’, बेगनास ताललाई ‘वाटर स्पोर्टस लेक’ र रुपा ताललाई ‘कायचिङ ताल’ नामाकरण गरेर विकास गर्ने उद्धेश्य रहेको बताएका छन् ।
पोखरा: पोखरामा म्याद गुज्रेका १३ लाख बढीको बर्डवाइजरको बियर प्रशासनले नियन्त्रणमा लिएको छ । पोखरा महानगरपालिका ५ प्रस्याङ शिवालय मार्गस्थित लाभाजु इन्टरप्राइजको स्टोरबाट १३ लाख ९८ हजार ५ सय ३० रुपैयाँ बराबरको बर्डवाइजरको बियर जिल्ला प्रशासन कार्यालय कास्कीले नियन्त्रणमा लिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । ‘स्थानीयहरुले लावाजु इन्टरप्राइजको स्टोरबाट म्याद गुज्रेको बियर बिक्री हुँदै आएको छ भन्ने गुनासो आएपछि अनुगमनको क्रममा जाँदा म्याद गुज्रेको बियर बरामत गरेका हौं, ढकालले भने, ‘भोलि म्याद गुज्रेको बियरलाई सरकारवालाहरुको उपस्थितिमा बियर नष्ट गछौं, त्यसपछि म्याद गुज्रेको बियर कसरी पोखरा ल्याइयो भनेर थप अनुसन्धान गछौं ।’ उनका अनुसार बर्डवाइजरको बियर पोखरा लाभाजु इन्टरप्राइजको स्टोरबाट बरामत भएको हो । ६ सय ५० एमएलको ३ सय १३ कार्टुन र ३ सय ३० एमएलको ६ कार्टुन बियर प्रशासनले बरामत गरेको हो । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार म्याद गुज्रेका बियर नष्ट गरेपछि ऐन अनुसार कारवाही हुने जानकारी दिए ।

