पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:    नेपाल नेत्रज्योति संघ कास्कीको अध्यक्षमा सुरेन्द्र थापामगर निर्विरोध चयन भएका छन् ।     शनिबार सम्पन्न भएको संघको अधिवेशनले वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित चयन गरेको हो । अन्य पदाधिकारी अध्यक्षले नियुक्त गर्ने संघको सदस्यहरुमा डा. नन्द श्रेष्ठ, जनकराज पराजुली, रमाकान्त बराल, नारायण बराल, मेघनाथ काफ्ले, शंकर गुरुङ, प्रा।डा। ज्ञानबहादुर कार्की, सुशीला केसी अधिकारी। गणेशबहादुर ढकाल र तुम्ला श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । यस्तै महिला सदस्यहरुमा राधिकाकुमारी शाही र पुष्पलक्ष्मी महर्जन चयन भएका छन् । यी सदस्यहरुमध्येबाट पदाधिकारीको छनोट गरिने नवनिर्वाचित अध्यक्ष थापामगरले जानकारी दिए ।

पोखरा:   शनिबार साँझ परेको असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ ।     साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई क्षति पु¥याएको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिनुभयो । केही स्थानमा क्षति पु¥याएको जानकारी आए पनि त्यसको यकिन विवरण भने प्राप्त नभएको उहाँले बताउनुभयो ।           वडा नं ३२स्थित तल्लो गगनगौडाको बेलबुटे र आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेलाको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीले बताए । हावाहुरीसहितको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पु¥याएको छ । 

पोखरा:   पोखराको नदीपुरमा रहेको प्रतिभा माविमा पुरस्कार वितरण तथा नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ । २०७९ को शैक्षिक क्रियाकलाप अन्र्तगत उत्कृष्टता हाँसिल गरेका विद्याथीलाई शुक्रबार पुरस्कार वितरण गरिएको हो ।  कक्षामा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई अबिर लगाई शिल्ड प्रदान गरेको हो । विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेल, संस्थापक एवं वित्त निर्देशक विश्वगोपाल पराजुली, प्रबन्ध निर्देशक बलबहादुर थापा, प्राचार्य किरण सापकोटा, कन्या क्याम्पस पोखराका प्रमुख सुरेश मानन्धर, पत्रकार रञ्जन अधिकारी लगायतले पुरस्कार वितरण गरे । अध्यक्ष नारायण पौडेलले प्रतिभा मावि गुणस्तरीय शिक्षाका लागि सदैव प्रतिबद्ध रहेको बताए । उनले विद्यालयसँग अभिभावकको सामिप्य सम्बन्धले मात्र विद्यार्थीको प्रगति र वृत्तिविकास हुने भन्दै आफ्ना बाबुनानी विद्यालयका के गरिरहेका छन् भन्नेबारे ख्याल गर्नुपर्ने उल्लेख गरे । ‘सानो ठाउँ र थोरै विद्यार्थीका साथ सुरु भएको प्रतिभा मावि अहिले धेरै विद्यार्थी भर्ना हुन नपाएर फर्कनुपर्ने अवस्थामा पुगेको छ ।’ पौडेलले भने – ‘समाजमा यसरी स्थापित हुनुमा विद्यालयको वातावरण, शिक्षकहरुको मेहनत, विद्यार्थीहरुको परिश्रम नै हो ।’ विद्यालयका प्राचार्य किरण सापकोटाले विद्यालयको प्रगति विवरण तथा भावी योजनाहरु प्रस्तुत गर्दै विद्यालयभित्र अझ नवीनतम सोच र नवीनतम कार्यक्रमका साथ सम्पूर्ण छोराछोरीहरुको समुज्ज्वल भविष्यलाई अगाडि बढाउनका लागि विद्यालय सदा प्रतिबद्ध रहेको जनाए । ‘यही वर्ष अत्याधुनिक सुविधासहितको भवन निर्माण कार्य अघि बढ्दैछ । अण्डरग्राउण्ड सभाहलदेखि टपफ्लोरमा फुटसल ग्राउण्डसम्म बन्नेछन् । ’ विद्यालय सञ्चालक समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य प्रदीप खनालले सञ्चालन एवं विद्यार्थी जस्विना मल्लले स्वागत मन्तव्य राखिन् । कार्यक्रममा विद्यार्थीले गीत, नृत्यलगायतका विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए । विद्यार्थीकै हातबाट शैक्षिक तालिका समावेश भएको २०८० सालको भित्तेपात्रोसमेत विमोचन गरिएको थियो ।   

कास्की:  जिल्ला प्रशासन कार्यालय कास्कीले भोलि (शुक्रबार) सार्वजनिक विदा भएपनि अत्यावश्यक सम्बन्धि सेवा दिने भएको छ ।   आज एक सूचना जारी गर्दै नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र सम्बन्धि सेवा दिने जानकारी दिएको हो ।     सिडिओ कार्यालय कास्कीद्वारा जारी सूचनामा भनिएको छ, ‘भोलि मिति २०८०/०१/२२ गते शुक्रबारका दिन बुद्ध जयन्तीको अवसरमा नेपाल सरकारद्वारा सार्वजनिक विदा घोषणा भएतापनि यस जिल्ला प्रशासन कार्यालय कास्कीबाट देहायका सार्वजनिक सेवा प्रवाह हुने भएको हुँदा सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’    

पोखरा:    विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखामा आज आयोजना गरिएको दन्त शिविरमा एक सय ३० जना सञ्चारकर्मीले उपचार सेवा लिएका छन् । महासङ्घ कास्की शाखा र स्वास्थ्य तथा वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले  पत्रकारहरुका लागि संयुक्त शिविर आयोजना गरेका हुन् । शिविरमा एक सय ३० जनाको दाँतको परीक्षण गरिएकामा १४ जनाको दाँतको एक्सरे, २७ जनाको दाँत सफा,४३ जनाले दाँत भर्ने, तीन जनाको दाँतको जरैदेखी उपचार र एक जनाले दाँत निकाल्ने सेवा लिएका छन् । पहिलो दिन नाम दर्ता गरेर परीक्षण गरेकाहरुलाई बिहीबार पनि अन्य उपचार  सेवा प्रदान गरिने महासङ्घले जनाएको छ । दन्त शिविर उद्घाटन कार्यक्रममा अग्रज पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी पुण्य पौडेलले दन्त उपचार सेवाबाट सञ्चारकर्मीहरुले प्रत्यक्ष लाभ लिने बताउनुभयो । उहाँले पत्रकारहरु जहिलेपनि व्यस्ततामा रहेपनि आफ्नो स्वास्थ्यका बारेमा समेत सदैव चनाखो र सचेत बन्नुपर्नेमा जोड दिनुभयो । तीनै तहका सरकारले प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न पौडेलले आग्रह गर्नुभयो । सञ्चारकर्मीहरुको दाँत र मुख स्वास्थ्यलाई मध्यनजर गरेर शिविर सञ्चालन गरिएको महासङ्घका अध्यक्ष विमला भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,“दाँत र मुखको स्वास्थ्य धेरै महत्वपूर्ण छ । स्वयमं सञ्चारकर्मी समेत यसतर्फ ध्यान नदिएका हुन सक्छौँ । यसबाट आम जनतालाई मुख स्वास्थ्यप्रति सचेत हुन सन्देश दिन र पत्रकारहरुलाई उपचारमा सहजताका लागि नेलम्बोसँगको सहकार्यमा आयोजना गरेको शिविर प्रभावकारी भयो ।” अध्यक्ष भण्डारीले आगामी दिनमा समेत विभिन्न रचनात्मक कार्यक्रम अघि बढाइने प्रतिवद्धता जनाउनुभयो । नेलम्बो नेपालका कार्यकारी अध्यक्ष एकदेव देवकोटाले पत्रकार महासङ्घसँग मिलेर काम गर्दा खुशी लागेको बताउनुभयो । मुख स्वास्थ्यका बारेमा दुरदराजका नागरिकहरुलाई सही सूचना र सन्देश सम्प्रेशण गर्ने दायित्व सञ्चारकर्मीको रहेको उहाँले बताउनुभयो । “नेलम्बो नेपालले गण्डकी प्रदेशका विकट र दुर्गम गाउँहरुमा पुगेर निःशुल्क दन्त शिविर सञ्चालन गरेको छ । त्यहाँ जनतालाई स्वास्थ्य सम्बन्धी सही सूचना दिने दायित्व सञ्चारकर्मीको हो,त्यसतर्फ ध्यान दिनुहोला ।” अध्यक्ष देवकोटाले भन्नुभयो ।  कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय उपसभापति गङ्गाधर पराजुली, महासङ्घ कास्कीका सचिव माधव बराल, शाखाका कोषाध्यक्ष एवं दन्त शिविर कार्यक्रमका संयोजक कृष्ण दवाडी लगायतले कार्यक्रमले पत्रकारहरुलाई फाइदा पुगेको बताउनुभएको थियो। शिविरमा दन्त परीक्षण, एक्सरे, दाँत निकाल्ने, सफा गर्ने, दाँतको जरै देखि उपचार, गिजाको उपचार र औषधी वितरण गरिएको थियो । शिविरमा दन्त चिकित्सक डा सिजन मसार्नी, दन्त चिकित्सा सहायक करुणा गर्बुजा, अञ्जु विक, नेलम्बो कार्यक्रम संयोजक भीम प्रसाद भण्डारी, किल्निकल सहयोगी रितिक चुवाई, फिल्ड एडमिन सहयोगी नम्रता ढुङ्गाना, प्राविधिक सुपरभाईजर रुपेश गुरुङ्ग र मुक्त बहादुर हमालले प्राविधिक सहयोग उपलव्ध गराउनुभएको थियो । दन्त शिविरमा उपचार लिएका सेवाग्राहीहरुलाई आवश्यकताका आधारमा पूनः उपचार तथा फलोअपको पनि व्यवस्था मिलाईएको नेलम्बोका कार्यक्रम संयोजक भण्डारीले बताउनुभयो ।

पोखरामा एकाबिहानै मोटरसाइकल दुर्घटना भएको छ ।    काजीपोखरीबाट दक्षिणतर्फ हुइँकिरहेको मोटरसाइकल अनियन्त्रित भएपछि नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थल घेरिएको जाली छेड्दै भित्र पसेको छ ।    विमानस्थलको उत्तरी भागमा जालीपछि वर्षाको पानी कटाउने नाली रहेको छ । उक्त मोटरसाइकल सोही नालामा खसेको हो ।    मोटरसाइकल चालक र सवार दुबैलाई स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका छन् भने पछि प्रहरीको उपस्थितिमा क्रेनद्वारा मोटरसाइकल निकालिएको छ ।    घाइतेको नाम, ठेगाना र अवस्थाबारे विवरण आउन बाँकी छ ।     

पोखरा:  विक्रम सम्वत् २०१९ साल असार १३ गते बुवा स्व. दयाप्रसाद मर्सानी र आमा शारदादेवी मर्सानीको ज्येष्ठ सुपुत्रका रुपमा तनहुँको बन्दीपुरमा विद्याप्रसाद मर्सानीको जन्म भएको हो ।   तीन जना भाइ र एक जना बहिनीमा जेठो सन्तान हुन् उनी ।    मर्सानीलाई बक्सिङ खेलमा रस पसेको १५ वर्षको उमेरदेखि हो । जागिरे बुवाको प्रेरणामा २०३४ साल अघि नै साथीहरुसँग बक्सिङ खेल्न थालें । बुवाको नोकरीको सिलसिलामा जर्मनी प्रोजेक्ट अन्तर्गत खैरहनी क्वार्टरमा रहँदा त्यतिबेला ननलिस्टिङ प्रतियोगिता एनसीसीबाट खेलेका थिए । त्यो समयमा पोखराकै आश बहादुर गुरुङ, जसको सहयोगमा महेन्द्रपुल युथ क्लब मार्फत् बक्सिङका लागि प्रशिक्षण लिने दिने काम पोखरामा सुरु भयो ।      मर्सानीले बक्सिङ प्रतियोगितामै भाग लिएको भने २०३७ सालदेखि हो । भैरहवामा बक्सिङकै पहिलो राष्ट्रिय प्रतियोगिता भयो, जहाँ गण्डकी अञ्चलबाट उनी छनौट भए । पहिलो सहभागितामै काँस्य जिते पनि । त्यसपछि २०३८ सालमा काठमाण्डौमा वृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाए ।   वीरगञ्जमा भएको सातौं राष्ट्रिय बक्सिङ प्रतियोगितामा सिल्भर मेडल जिते । २०४१ मा नवौं बक्सिङ प्रतियोगितामा भने गोल्ड मेडल हात पारे । त्यसपछि मर्सानी पढ्नका लागि २०४२ सालमा सहायक प्रशिक्षकका रुपमा खेलकुद विकास समितिमा प्रवेश गरें ।   दुई वर्ष भारत पढेर फर्किसकेपछि पूर्ण प्रशिक्षकका रुपमा नेपाली राष्ट्रिय बक्सिङ टीमको नेतृत्व गरें । बक्सिङ खेलको प्रशिक्षकको रुपमा ३५ वर्ष जागिरे भएर २०७७ साल असारमा अनिवार्य अवकास पाएका थिए ।    सहायक प्रशिक्षक भएपछि उनले गण्डकीका विभिन्न जिल्ला पुगेर प्रशिक्षणका लागि बक्सिङ खेलाडी खोज्दै हिँडे । प्रशिक्षणका क्रममा उनले थुप्रै तीता मीठा क्षणहरुको अनुभव गरें । आठौं राष्ट्रिय खेलकुदमा १० पदकमा ९ पदक जित्न सफल भए । २ स्वर्ण, ५ रजत र २ काँस्य प्राप्त भएको थियो । त्यसपछि, नवौं सागमा प्रशिक्षक भई इस्लामावाद पुगेर फर्किए ।    २०५७ मा अण्डर नाइन्टिन साफ गेम खेलाउँदा उत्कृष्ट प्रदर्शन पश्चात् शिक्षा पुरस्कारबाट पुरस्कृत भए  । मर्सानीले अमेरिका, कोरिया, जापान, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, मलेसिया, श्रीलंका, भारत, पाकिस्तानको भ्रमण गरेका छन् । गण्डकी प्रदेश र नेपालकै बक्सिङ खेललाई माथि पु¥याउन तथा खेलको विकास र विस्तार गर्न उनको योगदान अतुलनीय छ ।    त्यसैले सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगतको लाइफ टाइम अचिभमेन्ट अवार्ड बक्सिङ खेलका बरिष्ठ प्रशिक्षक विद्याप्रसाद मर्सानीलाई प्रदान गरिने भएको छ ।    आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले अवार्डका लागि गठन गरेको प्रतिभा छनोट उपसमितिले गरेको सिफारिसको आधारमा ३५ वर्ष प्रशिक्षक भएरै खेलकुदमा जीवन अर्पण गरेका मर्सानीलाई अवार्ड प्रदान गर्न लागिएको हो ।   उपसमितिको सिफारिसलाई मञ्चको तेइसौं बैठकले अनुमोदन गरेको थियो ।    यस अगाडि कृष्ण थापा, खड्क बहादुर रानाभाट, डा.वीरेन्द्रसिंह गुरुङ, चित्रबहादुर गुरुङ, आनन्द रञ्जित र गणेश बहादुर भट्टराईले यो विधा अन्तरगतको पुरस्कार पाएको मञ्चका महासचिव राजाराम पौडेलले खुलाए ।     यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।  

पोखरा:   टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतीको लागि आउने भएका छन् ।  पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा स्पोर्टस् अवार्डमा दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै उनले हसाउँनेछन् । पछिल्लो समयमा दर्शकको  आर्कषण देखिएको स्ट्यान्ड अप कमेडीलाई यस पटकको अवार्ड कार्यक्रममा आर्कषणको रुपमा राखिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका महासचिव राजाराम पौडेलले जनाए । विषयवस्तुको गहिराईमा पुगेर त्यसलाई सुन्दर प्रस्तुती मार्फत कथामा उतार्न सक्ने खुबी भएका गौडेलको प्रस्तुतीले दर्शकको ध्यान खिच्ने अपेक्षा आयोजकले गरेको छ । स्याङजा जिल्लाका मेक्सम कार्यक्रमलाई लिएर उत्साहित छन् ।  हाल कमेडी च्याम्पियन कार्यक्रममा सह–प्रस्तोताको रुपमा दर्शकमाझ देखिरहेका उनको शैलीले दर्शको ध्यान खिचिरहेको छ । कमेडी च्याम्पियनमा उनले प्रस्तुती राख्दा टिकट पाउने नेता, सेलिब्रेटिको लाइफ स्टाइल, भाइरल बाबा लगायतका प्रस्तुती दर्शकको लागि रुचिकर बनेका थिए । अवार्ड कार्यक्रममा भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती समेत रहनेछ । यसैगरी हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायतले अवार्ड कार्यक्रममा थप रौनकता थप्नेछ । प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ । अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव पौडेलले जनाए । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।   वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ । मञ्चले २०७२ सालदेखि निरन्तर अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा हुने अवार्ड कार्यक्रमलाई सफल पार्न विभिन्न व्यक्ति तथा संघ संस्थाको साथ मञ्चलाई मिलेको छ ।

पोखरा:    पोखराको न्यूरोडस्थित पाल्पा हाउसमा पूर्वखोला गाउँपालिकाका कृषि उपज तथा पशुजन्य उत्पादनहरु बिक्री वितरण हुने भएको छ । पाल्पाको पूर्वखोला गाउँपालिका र समाज उत्थान सहयोगी संस्था देवीनगर पाल्पाको प्रतिनिधि मण्डलको आइतबार पाल्पा हाउसमा स्वागत तथा अन्तक्र्रियामा गाउँपालिकामा उत्पादित कृषि उपज तथा पशुजन्य उत्पादन पाल्पा हाउसमार्फत पोखरामा बिक्री वितरणका लागि सहमति जुटेको हो । सो कार्यका लागि पालिकाले आवश्यक बजेट व्यवस्था गर्ने, पाल्पा हाउस प्रालिमार्फत उचित मूल्यमा कृषि उपजको बजार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनेबारे दुवै पक्षबाट सहमति जुटेको पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेले बताए । कार्यक्रममा पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई  लगायत पालिकाका सबै वडा अध्यक्षहरु, वडा सदस्यहरु र समाज उत्थान सहयोगी संस्थाका अध्यक्ष मोहनबहादुर रखाल लगायतको सहभागिता थियो । कार्यक्रममा पाल्पा हाउसका संचालक तथा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, पाल्पाली समाज पोखराका अध्यक्ष बालचन्द्र परियार, पूर्वखोला गाउँपालिकाका उपाध्यक्ष भागिरथी भट्टराई, समाज उत्थान सहयोगी संस्थाका अध्यक्ष मोहनबहादुर रखाल लगायतले मन्तव्य राखेका थिए । पाल्पा हाउस प्रालिका अध्यक्ष कुलप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कम्पनीका संचालक तथा समाजका पूर्व अध्यक्ष नारायणप्रसाद पौडेल र सञ्चालन हाउसका संचालक खेम सारुले गरेका थिए ।