पोखरा: प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५/०७९ यहाँका पाँच पत्रकारलाई प्रदान गरिएको छ । प्रेस चौतारी कास्कीले बिहीबार दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरुलाई सम्मान तथा पुरस्कार अर्पण गरेको हो । समाधान दैनिकका प्रधान सम्पादक रामकृष्ण ज्ञवाली, चौतारी कास्कीका पूर्व अध्यक्ष तथा समाधान दैनिकका उपसम्पादक श्याम कुँवर, एभरेष्ट मिडिया हाउसका सिईओ दीपेन्द्र श्रेष्ठ, चौतारी कास्कीका सल्लाहकार केशव पाठक र चौतारीका केन्द्रीय सचिव सुष्मा पौडेललाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशि जनही११ हजार १११ रूपैंया र सम्मानपत्र छ । कार्यक्रममा प्रेस चौतारी पत्रकारिता सम्मान पत्रकार राजु भण्डारी र सावित्री खनाललाई अर्पण गरिएको छ । नेकपा एमालेका उपमहासचिव तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव एवं गण्डकी प्रदेश ईञ्चार्ज, पूर्वमन्त्री पद्मा अर्याल, स्थायी कमिटि सदस्य एवं संगठन विभाग प्रमुख, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलगायतले सम्मान एवं पुरस्कार अर्पण गरे । प्रमुख अतिथि गुरुङले जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताए । प्रेस चौतारीका ईञ्चार्जसमेत रहेका गुरुङले संविधान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षामा पत्रकारहरुले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । उपमहासचिव गुरुङले जसको कुनै नीति, सिद्धान्त र विकासको रोडम्याप छैन, त्यसले समाजलाई भ्रममा पारिरहेको टिप्पणी गरे । ‘जनताका समस्या हटाउन, आवश्यकता पुरा गर्न अब सबै ठूला पुराना राजनीतिक दल संगठित हुनुपर्छ,’ गुरुङले भने, एमाले र नेपाली कांग्रेसको विकल्पमा बनेको नयाँ दलहरुको भविष्य छैन, दर्शन र सिद्धान्त स्पष्ट नहुने पार्टीबाट विकासको अपेक्षा गर्न सकिँदैन । उनले मूलधारका दलहरुमा पनि सुधारको खाँचो औंल्याए । गण्डकीका पूर्व मुख्यमन्त्री समेत रहेका उनले प्रदेश सरकारहरुले संघीयताअनुरुप काम गर्नुपर्ने, समस्या कहाँ छ, पत्ता लगाउनुपर्ने सुझाव दिए । ‘मुलुकले खोजेको सुशासन र विकास हो । भिजन नयाँ हुनुपर्छ,’ उनले भने, ‘दक्षिणपन्थी अवसरवाद परास्त गर्नुपर्छ ।’ ८० वर्षको वृद्धमा पनि नयाँ भिजन छ भने उही नेतृत्वमा जान सक्ने उनको भनाइ थियो । एमालेका सचिव अर्यालले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी जनतालाई सुसूचित गर्न प्रेस जगत सधैँ सचेत हुनुपर्नेमा जोड दिइन् । प्रेसले घट्ना घटेको जानकारी मात्र होइन घट्ना घट्नुको कारण पनि खोज, अनुसन्धान गर्नुपर्ने अर्यालले सुझाव दिइन् । समाजमा अराजकता बढ्न नदिन सचेत हुनुपर्ने बताउँदै विश्वराजनीतिको केन्द्र दक्षिण एशिया किन भइरहेको छ, खोजी गर्नुपर्ने सुझाइन् । निवर्तमान मुख्यमन्त्री अधिकारीले संविधानको रक्षाका लागि पत्रकार राजनीतिभन्दा माथि उठ्नुपर्ने आवश्यकता औँल्याए । अधिकारीले गण्डकीमा संविधानको धाराअनुसार सरकार नबनेर आफूखुसी सरकार बनाउन लागिएको टिप्पणी गरे । उनले समाजलाई सही दिशामा डो¥याउन मिडिया चनाखो हुनुपर्ने सुझाव दिए । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले नेपाली प्रेसले लोकतन्त्रका पक्षमा कलम चलाउँदै आएको उल्लेख गरे । पोखराको पत्रकारिताले प्रदेशको सिंगो पत्रकारितालाई अगुवाइ गरेको बताए । उनले विभिन्न आन्दोलन र प्रेस स्वतन्त्रताका लागि खबरदारी गर्नुपर्ने बताए । पत्रकार महासंघका नेताहरु संविधानविरोधी काममा लागेको आरोप लगाउँदै यसको खबरदारी गर्नुपर्नेमा उनको जोड छ । पुरस्कारले हौसला प्रदान गरेको पुरस्कृत व्यक्तित्वद्वय रामकृष्ण ज्ञवाली र सुस्मा पौडेले बताए । सबैभन्दा ठूलो कुरा स्वाभिमान रहेको भन्दै अबका दिनमा अझै क्रियाशिल भएर लाग्ने उनीहरुको भनाइ थियो । प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्रप्रसाद पौडेलले देशभरका १२ हजार पत्रकारमा गण्डकीमा मात्र ७ सय ८२ पत्रकार रहेको बताए । उनले संगठन सुधारमा आफूहरु अघि बढेको उल्लेख गरे । पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले पत्रकारिता पेसालाई समाजप्रति उत्तरदायी बनाउनु अहिलेको चुनौती हो भनिन् । श्रमजीवीको हकहितका लागि सरकार जवाफदेही बन्नुपर्ने अध्यक्ष भण्डारीको धारणा छ । प्रतिभा छनोट समिति संयोजक पुण्य पौडेलले छनोटको प्रक्रियाबारे बोलेका थिए । यसअघि प्रेस चौतारी पुरस्कार पुण्यप्रसाद पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङलाई दिइएको थियो । तर विभिन्न परिस्थिति एवं कोरोना भित्रिएसँगै पुरस्कार वितरण रोकिएको थियो । प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मोतीसागर अधिकारी र सञ्चालन रञ्जन अधिकारीले गरेका थिए । सो अवसरमा प्रेस चौतारी नेपाल गण्डकीको क्यालेन्डर बिमोचन गरिएको थियो ।
पोखरा: पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतीलाल तिम्सिना र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार महानगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा तिम्सिना र राजदूत थम्पसन बिच द्विपक्षीय सहयोग आदानप्रदानका विषयमा छलफल भएको हो । भेटवार्ताका क्रममा कार्यवाहक प्रमुख तिम्सिनाले पर्यटन प्रवर्द्धन र कनेक्टिभिटीमा सहयोगका लागि कूटनीतिक पहल गरिदिन राजदूत थमसनसँग आग्रह गर्नुभयो । ूपोखरा महानगरपालिकाका पर्यटकीय दृष्टिकोणले महत्त्व बोकेको महानगरपालिका हो, तिम्सिनाले भन्नुभयो, अन्तर्राष्ट्रिय सहरसँग जोड्ने गरी हालै मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएको छ, यहाँबाट अन्तराष्ट्रिय हवाई सेवा समेत सञ्चालन गर्न सकिने अवस्था छ ।ू यहाँ अझ धेरै पर्यटन पूर्वाधारहरू निर्माण गर्नुपर्ने आवश्यकता भएकाले अमेरिकी सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो । पोखराको विकासमा फ्रन्टलाइनर भएर सहकार्य गर्न आग्रह गरिएको पनि तिम्सिनाले बताउनुभयो । महानगरपालिकाको शिक्षा, स्वास्थ्य र आर्थिक विकासका विभिन्न कार्यक्रममा अमेरिकाले सहयोग गर्न सक्ने उहाँले बताउनुभयो । राजदूत थम्पसनले पोखराको दिगो पर्यटन विकासमा सहकार्य गर्न अमेरिका तयार रहेको बताउनुभयो । व्यवस्थित ई(लाइब्रेरी स्थापनाका लागि समेत आफूले विशेष पहल गर्ने उहाँले बताउनुभयो । बुधवार पोखरा आउनु भएका राजदूत थमसन शुक्रवार काठमाडौँ फर्कने कार्यक्रम रहेको छ।
पोखरा: गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो । गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा अम्मर पोखरेली, गण्डकी प्रज्ञा कला सम्मानबाट तनहुँका श्रष्टा आलोक गुरुङ छन् । उनीहरुलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्ला सहित सम्मान अर्पण गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जानकारी दिए । यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट लमजुङकी माया गुरुङ सम्मानित हुनेछिन् । उनलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा युवा सम्मानबाट मोती बहादुर कार्की र लक्ष्मी थापा सम्मानित हुने भएका छन् । उनीहरुलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको संयोजकत्वमा गठन भएको छनोट समितिले उनीहरुलाई छनोट गरेको हो । छनोट समितिमा वरिष्ठ कलाकार दुर्गा बराल वात्स्यायन, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहेका थिए । सबै श्रष्टालाई यहीं बैशाख १५ गते शुक्रबार दिउँसो साढे १ बजे गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा विशेष कार्यक्रमको आयोजना गरेर सम्मान अर्पण गरिनेछ । सो कार्यक्रममा सम्मानित श्रष्टाले धुनमा कविता सुनाउनेछन् । यसैगरी झाँकी प्रदर्शन, नृत्य प्रस्तुती र गायन प्रस्तुती समेत कार्यक्रमको आर्कषणको रुपमा रहने प्रतिष्ठानले जनाएको छ । कार्यक्रम भव्य बनाउन तयारीमा तिव्रता दिइएको सदस्य सचिव श्रेष्ठले बताए । साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्ने कार्य गरिरहेको प्रतिष्ठानले यो वर्ष थप केही महत्वपूर्ण कार्य गरेको छ । गण्डकी प्रदेशको नाट्य क्षेत्रलाई लक्षित गरेर ‘गण्डकी नाट्यदर्पण’ प्रकाशन गरेको प्रतिष्ठानले गण्डकी प्रदेशका विभिन्न जिल्लाका २८ जना श्रष्टाको वायोग्राफी समेत तयार पारेको छ । परम्परागत गीत संरक्षणको र श्रष्टा स्वास्थ्य विमा कार्यक्रमको समेत थालनी गरेको छ । वाजा प्रशिक्षण, भाषा प्रशिक्षण, कार्यशाला लगायतका कार्यक्रमलाई यो वर्ष समेत निरन्तरता दियो । यसका अलावा गण्डकी प्रदेशमा आयोजना हुने कला, साहित्य, संगीत लगायतका कार्यक्रममा सहकार्य गरेर आफ्नो उपस्थिती समेत देखाइरहेको छ । प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो । यसअघि प्रतिष्ठानले पहिलो वार्षिकोत्सव तीन दिने कार्यक्रमको आयोजना गरेर मनाएको थियो । ((
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो २२ औं वार्षिकोत्सव मनाएको छ । रेडियो अन्नपूर्ण २०५८ साल वैशाख १२ गते स्थापना भएको हो । २२ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै रेडियोका प्रबन्धक निर्देशक सुनयना पालिखेले स्थापना काल देखिको सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिने बताईन् । निर्देशक डा.माया लामाले स्रोता शुभेच्छुकहरुको साथ र सहयोगका कारण रेडियोले भिन्न पहिचान बनाउन सफल भएको बताईन् । निर्देशकद्धय विजेश पालिखे र बरदान ताङवे लामाले चुनौती सँगसँगै नयाँ सम्भावनाको खोजी गर्ने बताए । कार्यक्रममा स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल, बरिष्ठ प्रस्तोता आरजु विष्ट सल्यानी ,अन्नपूर्णकर्मी बासुदेव मिश्र, कन्जन थापा र नारायण पौडेलले समय सँगसँगै रेडियोलाई परिमार्जन गर्दै लैजानुपर्ने बताए । रेडियोले उत्कृष्ट कार्य गर्ने विभिन्न कर्मचारीहरुलाई सम्मानसमेत गरेको छ । वेस्ट स्टाफ अफ दि इएरबाट संबाददाता सबिन रेग्मी सम्मानित भए । उनलाई ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मानपत्रले सम्मान गरेको छ । त्यस्तै रेडियोकर्मी आरजु बिष्ट सल्यानी र कृष्ण सुबेदी लाई बिभिन्न कार्यक्रमको संयोजक बाट सम्मान गरेको छ । शान्ति र विकासका लागि संचार नारासहित स्थापना भएको रेडियो अन्नपूर्ण अन्तर्गत पब्लिक एफएम ९९.६ मेगार्हज र अनलाईन अन्नपूर्ण न्यूज पोर्टल भगिनी संस्थाका रुपमा रहेका छन् ।
पोखरा: पोखरामा झलकमान गन्धर्व सारङ्गी वादन प्रतियोगिता वैशाख १५ र १६ गते हुने भएको छ । नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ र झलकमान गन्धर्व सारङ्गी पाठशालाले उक्त कार्यक्रम गर्न लागेको हो । झलकमान गन्धर्व सारङ्गी वादन प्रतियोगितामा प्रतियोगीले सारङ्गी बजाएर गन्धर्व गीत गाउनुपर्ने छ । प्रतियोगितामा देशभरका कलाकारहरुले सहभागिता जनाउने पाउनेछन् । प्रतियोगितामा सहभागिताका लागि कुनै शुल्क लाग्ने छैन । वैशाख १५ गते प्रतियोगी छनोट कार्यक्रम रहेको र फाइनल बैसाख १६ गते हुने आयोजक संस्था नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ का अध्यक्ष सुर्य गायकले बताए । झलकमान गन्धर्वका गीतको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको भनाई उनको छ । प्रतियोगितामा प्रथम हुनेले ३५ हजार रुपैयाँ, दोस्रो पुरस्कार २५ हजार, तेस्रो पुरस्कार १५ हजार, चौथो पुरस्कार ७ हजार ५ सय रुपैयाँ, प्रोत्साहन पुरस्कार २ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । नेपालका मौलिक बाजा आरबाजो, सारङ्गी, मादलको संरक्षण, मौलिक तथा लोपन्मुख बाजाको पहिचान, गन्धर्व गीत मंगल, माहल बाह्रमासे, तरवारे नाच, डाँफे चरी, कर्खा, पिगुल,बालन,कृष्ण चरित्र, स्वस्थानी, विभिन्न कथा, घटनाहरुको संरक्षण गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे । ‘झलकमान गन्धर्व बुबाले संगीतमा देखाउनु भएको बाटोलाई पछयाउँदै हामी हिडिरहेका छौं । उहाँका सिर्जनालाई संरक्षण गर्ने दायित्व हाम्रो । फलस्वरुप उक्त कार्यक्रमको आयोजना गरिएको हो ।’, उनले भने । उनले सामुदायिक विकास केन्द्रले संस्थाको कार्यक्षेत्रलाई फराकिलो बनाई सम्पूर्ण गन्धर्व जातिलाई समेट्ने गरी लाग्ने बताए । सारङगी गायन र बादनको प्रशिक्षणलाई निरन्तरता दिई नयाँ कलाकार उत्पादन गर्ने लक्ष्यका साथ संस्था अगाडि बढेको भनाई उनको छ । परम्परागत पेशालाई व्यवसायिक रुपमा अगाडि बढाउने र आफ्नो अधिकार प्रति सचेत रहि अन्याय विरुद्ध आवाज उठाउने संस्थाको योजना छ । गन्धर्व जातिको वर्तमान अवस्था पहिले भन्दा सुधार भएको झलकमान गन्धर्व सारङगी पाठशालाका अध्यक्ष दिलिप गायक बताउँछन् । उनका अनुसार अहिलेका कलाकारले परम्परागत पेशाबाट नै जिविकोपार्जन गर्दै आएका छन । उनले नेपाली मौलिक बाजा, लोकगीत संरक्षण र सम्बद्र्धनका लागि राज्यनै लाग्नुपर्ने बताए । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सहयोगमा हुने कार्यक्रमलाई सफल पार्न विभिन्न उपसमिति समेत गठन गरिएको छ ।
पोखरा: पोखरा महानगरपालिका ३० लेखनाथ चोखीमाटीचोकस्थित एक किराना पसलमा आगलागी हुँदा १ करोड २५ लाख बढीको क्षति भएको छ । लेखनाथ चोखीमाटीचोकस्थित शोभा मोहन पौडेलले किराना पसलमा हिजो राति लागेको आगलागीले किराना पसलको स्टोरमा भएको सामान र फर्निचरमा क्षति पुगेको पोखरा महानगरपालिका ३० का वडासदस्य भिमकुमारी पुनमगरले जानकारी दिइन् । हिजो (सोमबार) राति अन्दाजी ११ बजे एक्कासी लागेको आगो १२ बजेपछि मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । किराना पसलको स्टोरमा कसरी आगलागी भयो भनेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । राति किराना पसलको स्टोरमा आगो लागेको थाहा पाएपछि पोखरा दमकललाई जानकारी गराएपनि दमकल केही ढिला लेखनाथ पुग्दा बढी क्षति भएको एक स्थानीयले बताए । उनले लेखनाथ क्षेत्र पोखरा महानगरपालिकामा पर्ने भएपनि सो क्षेत्रमा एउटापनि दमकल नहुदा आगलागीबाट बढी क्षति हुने गरेको गुनासो गरेका थिए ।
पोखरा: पोखराको विरौटा-छोरेपाटन सडकखण्ड निर्माणमा ढिलाई गरेको भन्दै स्थानीयले जनप्रतिनिधि र ठेकेदार खोज्दै सडक चक्काजाम गरेका छन् । सिद्धार्थ राजमार्गसँग जोडिएको पोखरा १७ विरौटा–छोरेपाटन सडक खण्ड राम विल्डर्स कम्पनीले ठेक्का लिएर समयमै काम सम्पन्न नगरेको भन्दै पटकपटक ध्यानाकर्षण गराएपनि निर्माणलाई तिव्रता नदिएको भन्दै स्थानीयले आज सडक चक्काजाम गरेको बताएका छन् । उक्त सडकखण्ड निर्माणमा ढिलाई भएको भन्दै कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले संसदमा समेत जानकारी गराएकी थिईन् । विरौटा-छोरेपाटन सडकखण्ड निर्माणको जिम्मा लिएको कम्पनीलाई सो योजना सम्पन्न गर्न सरकारले केही समय म्याद थप गरेको थियो ।
पोखरा: पोखराका पाँच जना पत्रकारलाई प्रेस चौतारी पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । यस्तै, दुई जनालाई सम्मान गरिने प्रेस चौतारी कास्कीले जानकारी दिएको छ । दुई दशक बढी समयदेखि पत्रकारिता गरिरहेका अग्रज पत्रकारहरु रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, सुष्मा पौडेल र केशव पाठकलाई पुरस्कृत गर्न लागेको हो । यस्तै, राजु भण्डारी र सावित्री खनाललाई प्रेस चौतारी सम्मान अर्पण गर्दै छ । प्रेस चौतारी कास्कीले बर्षेनी प्रदान गर्दै आएको यो पुरस्कारलाई यो वर्षबाट पुनः निरन्तरता दिएको अध्यक्ष अर्जुन गिरीले बताए । प्रेस चौतारी पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत हुने श्याम कुँवर प्रेस चौतारी कास्कीका पूर्व अध्यक्ष हुन् । हाल उनी केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष छन् । २०७६ बाट पुरस्कृत हुने रामकृष्ण ज्ञवाली र २०७७ बाट पुरस्कृत हुने दीपेन्द्र श्रेष्ठ चौतारीका अग्रज नेता हुन् । यस्तै, २०७८ सालको पत्रकारिता पुरस्कार प्राप्त गर्ने केशव पाठक प्रेस चौतारी कास्कीका सल्लाहकार हुन् । २०७९ सालको पत्रकारिता पुरस्कार प्राप्त गर्ने सुष्मा पौडेल चौतारीका केन्द्रीय सचिव र गण्डकी प्रदेश ईञ्चार्ज हुन् । प्रेस चौतारी नेपालका ईञ्चार्ज एवं नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा आगामी विहीबार एक कार्यक्रम आयोजना गरी पुरस्कार एवं सम्मान अर्पण गरिने अध्यक्ष गिरीले जनाए । कार्यक्रममा एमाले सचिव एवं गण्डकी ईञ्चार्ज पद्मा अर्याललगायतका नेताहरु विशेष आतिथ्यता रहनेछ । प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट यसअघि अग्रज पत्रकारहरु पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् । यसैबीच, सम्मान अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । संस्थाको बैठकले सचिव रञ्जन अधिकारीको संयोजकत्वमा प्रचारप्रसार एवं मल्टिमिडिया म्यानेजमेन्ट समिति बनाइएको छ । सहसंयोजक सहसचिव माधव भुसाल र सदस्यहरु अनुप पौडेल, अनिता घिमिरे र सन्दीप खनाल छन् । कोषाध्यक्ष गिरीधारी पोखरेल संयोजक र राजु गिरी सहसंयोजक रहेको मञ्च व्यवस्थापन समितिमा निरज बसौला क्षेत्री र दीपक अधिकारी सदस्य छन् । उपाध्यक्ष मोतिसागर अधिकारीको संयोजकत्वमा जनवर्गीय संगठन समन्वय व्यवस्थापन र भोजन व्यवस्थापन समिति बनाइएको छ । सहसंयोजकमा उपाध्यक्ष तारा पौडेल र सदस्यहरु ऋषिराम दाहाल र अमृतकुमार भट्टराई छन् । सहसचिव उमा आलेमगरको संयोजकत्वमा गठन गरिएको अतिथि सत्कार समितिमा सहसंयोजक दीपा पौडेल र सदस्यहरु सुरक्षा श्रेष्ठ र विनिता सुनार रहेका छन् । सहभागी व्यवस्थापन समितिको संयोजकमा तारा पौडेल संयोजक छन् । कार्यसमितिका सबै सदस्यहरु यसका सदस्य छन् । कार्यक्रमको तयारी तीव्र गतिमा भइरहेको प्रेस चौतारी कास्कीले जनाएको छ ।
पोखरा: जिल्ला समन्वय समिति कास्कीले निर्माणाधीन मध्यपाहाडी लोकमार्गको कास्कीखण्डको अनुगमन गरेको छ। समितिका अध्यक्ष लिलाधर पौडेलको नेतृत्वमा उक्त लोकमार्ग अन्तर्गत कास्की खण्डको मादी गाउपालिका अन्तर्गतको सडक अनुगमन गरेको हो । अनुगमनका क्रममा प्रमुख पौडेलले निर्माणका काममा देखिएका कमी कमजोरी तत्काल सुधार गर्दै समयमै गुणस्तरीय निर्माण कार्य गर्न निर्माण कम्पनी र संबद्ध आयोजनाका कर्मचारीहरूलाइ निर्देशन दिनुभयो । निर्माणका क्रममा जनगुनासो बढे लगत्तै आफ्नो टोलि अनुगमनमा आएको भन्दै पौडेलले जनतालाइ कुनै मर्का नपर्ने गरि सम्झौता मुताबिकको काम गर्न आग्रह गर्नुभयो । सो अवसरमा उक्त सडक खण्डमा आयोजनाद्वारा संचालित क्रशर उधोग सहित ,निर्माण सामाग्रीको गुणस्तर ,मापदण्ड सहित अन्य प्राबिधिक पक्षहरूको अनुगमन गरिएको थियो। अनुगमनमा जिल्ला समन्वय समिति कास्किका उप प्रमुख सरिता माल ,जिल्ला समन्वय अधिकारी नवराज बराल , जिल्ला समन्वय समितिका सदस्य सदस्यद्वय राजु अधिकारी र हर्क बहादुर गुरुङ सहित उक्त आयोजनाका निमित्त प्रमुख इन्जिनियर ठाकुर भण्डारी तथा प्राबिधिक तथा कर्मचारी एबम स्थानीय सरोकारवालाहरूको उपस्थितिमा अनुगमन गरिएको थियो।

