पोखरामा ११ औं संस्करणको ‘मिस टिन इन्टरनेसनल २०२६’ आयोजना हुने भएको छ ।    लिटिल स्टेप सेकेन्डरी स्कुलको प्रायोजन तथा इभेन्ट्स फर यू प्रालिको आयोजनामा हुने ‘मिस टिन इन्टरनेसन...

पोखरा:  पद्म नर्सिङ्ग होम प्रा.लि. पोखरा-३, नदीपुररमा सुरक्षित प्रसुती सेवा सुरु भएको छ । प्रा.लि. मा आइतबार अप्रेसनको माध्यमबाट पहिलो पटक बच्चाको जन्म गराईएको हो ।  वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डे, वरिष्ठ बालरोग तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोला एवं  एनेस्थेसियालोजिष्ट डाक्टर अनिल न्यौपाने र डाक्टर बसन्त कोइराला लगायतको टिमद्वारा अप्रेसनको माध्यमबाट पद्म नर्सिङ्ग होम प्रा.लि. नदिपुरमा पहिलो बच्चाले जन्म लिएको छ ।  पोखरा-१७ बिरौटा निवासी रमेश भट्टराई र रेखा बराल भट्टराईले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिनुभएको हो । अप्रेसनको माध्यमबाट जन्मिएको २.५ केजी तौल भएको बच्चा स्वस्थ रहेको बरिस्ठ बाल रोग बिषेशज्ञ  डाक्टर रामचन्द्र बास्तोलाले बताउनुभयो । “जन्मने बित्तिकै बच्चालाई आमाको दूध खुवाईएको छ बच्चा स्वस्थ छ । बच्चालाई अहिले आमाको दुधमा नै जोड दिन अभिभावकलाई आग्रह गरिएको छ । “उहाँले भन्नुभयो । यस्तै अप्रेसन पछि आमाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको बरिस्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । पहिलो पटक पद्म नर्सिङ्ग होममा जन्म लिएको बच्चा भएकोले उक्त बच्चालाई १५ बर्ष हुँदा सम्म ओपिडी शुल्क छुट गरिएको प्रा.लि.का अध्यक्ष इन्दिरा शर्मा सुबेदीले जानकारी दिनुभयो । “पोखराको न्युरोडबाट नदिपुरमा सरिसके पछि हामीले नयाँ सुबिधाहरु थप गर्दै गईरहेका छौ आज पहिलो पटक यस संस्थामा नवजात शिशुले जन्म लिनुभएको छ । हामीले सफलता पुर्वक यो काम पनि गरेका छौ । यस सस्थामा जन्मिएको पहिलो बच्चालाई १५ बर्ष सम्म ओपिडी शुल्क नलिने निर्णय गरेको छौ । “ उहाँको भनाई छ ।  बिगत २८ बर्ष देखि पोखराको न्युरोडमा भाडाको भवनमा संचालनमा रहेको यस क्षेत्रकै पहिलो निजी अस्पताल पद्म नर्सिङ्ग होम प्रा.लि. गत असोज देखि पोखरा –३, नदिपुर स्थित आफ्नै सुबिधा सम्पन्न भवनबाट पुर्ण रुपमा संचालनमा आएको हो ।  हस्पिटलमा २४ सै घण्टा आकस्मिक सेवा, मुटु तथा मेडिकल, जनरल सर्जरी, आँखा सम्बन्धि रोग, हाडजोर्नी तथा नशा रोग, नाक कान घाँटी सम्बन्धि रोग, बालरोग, स्त्रीरोग, छाला तथा एलर्जी, बाल दन्तरोग, नसा तथा मानसिक रोग लगायतका बहिरंग (ओपिडी) सेवा संचालनमा छन् । यस्तै अत्याधुनिक प्रयोगशाला, सबै प्रकारका अप्रेसन सेवाहरु, आइसियु, एनआईसियु, एक्सरे, भिडियो एक्सरे, इण्डोस्कोपी, कोल्नोस्कोपी, इकोकार्डियोग्राफी, एलर्जी परिक्षण एवं स्किन लेजर सर्जरी लगयतका सेवाहरु पनि संचालनमा रहेको हस्पिटलले जनाएको छ ।  

 ​पोखरा:    प्रतिष्ठित व्यवसायीक समूह चौधरी ग्रुपको सिजी डिजिटलको २२ औं शाखा पोखरामा खुलेको छ । सो समूहले आईतबार पोखरामा आफ्नै विद्युतीय सामग्रीहरुको नयाँ तथा भब्य मल्टिब्रान्ड शोरुम सी जी डिजिटलको २२ औ शाखा अर्चलबोट चोकमा शुरु गरेको हो । उक्त शाखाको प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष दिवसमान प्रधानाङग तथा कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे । सिजी डिजिटलको शोरुममा विश्वका उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टिसीएल, गोदरेज, सेन्सेई, मिडेआ, बेको, केन्ट, एलिका, पिजन र क्रम्पटन लगायतका विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु उपलव्ध छन् । एलईडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रो वेभ ओभन लगायतका सामाग्रीहरु रहेका छन् । कार्यक्रममा पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष प्रधानाङगले पोखराको पूरानो बजारमा बजार बिस्तारको चरण चलिरहेको बेलामा सिजी कम्पनी आउनुले व्यवसायीक फड्को मारेको बताए । पूराना मठ तथा मन्दीर, विन्दवासिनी मन्दीर लगायत कला र सस्कृतिले भरिएको क्षेत्रमा व्यवसायीक चहलपहल बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । सो अवसरमा प्रधानाङ्गले धार्मिक, सामाजिक, सांस्कृत रुपले महत्व बोकेको क्षेत्रमा आएकोमा बधाई दिदैं सामाजिक उत्तरदाीत्वका क्षेत्रमा कम्पनीले सहयोगको हात बढाउने विश्वास व्यक्त गरे । उनले वडाको तर्फबाट गर्न सकिने सहयोग गर्नका लागि प्रतिवद्धता व्यक्त गरे ।   कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले पोखराको स्थानीय बजारमा आफ्ना गुणस्तरिय समानहरुको शोरुम तथा सुपथ मूल्यमा बिक्रि वितरणका लागि आफुहरु आएको बताए । उनले भने, ग्राहकले अन्तरास्ट्रिय स्तरको सेवा पाउनु हुन्छ । उहाँहरुलाई सही सहजिकरण पनि हुने उदेश्यले शोरुम संचालन गरिएको बताए । सिजीका नुडल्सतर्फ सेल्सलाई हेर्ने सुनिल कुमार सुवेदी तथा पोखरा शाखाका शोरुम म्यानेजर सुमन घिसिङले सम्पूर्ण विद्युतीय सामानहरु, होम एप्लाईन्सेस देखि उच्च मूल्यका सामान रहेको बताए । टिभिमा १९, २० हजार देखि रुपैयाँ १० लाखसम्म मूल्यका रहेको जानकारी दिए । आईतबारबाट औपचारिक रुपमा शुरु भएको शोरुम हप्ताको सातै दिन बिहान १०.०० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला हुनेछ । सिजी प्लाजा को पहिलो तलामा शोेरुम आकर्षक ढंगले सजाईएको छ । शुभारम्भको अवसरमा विशेष छुटको व्यवस्था रहेको बताईएको छ । पाँचवटा किस्ताबन्दिको सुविधा र आकर्षक फ्री गिफ्टहरु रहेका छन् । कम्पनीले सी जी डिटल शोरुम पोखराकै ठूलो र भब्य भएको दाबि गरेको छ । सिजी डिजिटलले नेपालको केन्द्रीय राजधानी काठमाडौं लगायत बिराटनगर, इटहरी, हेटौडा र भरतपुरमा पनि शाखा संचालन गरिसकेको जानकारी दिएको छ । पोखरामा खुलेसंगै कम्पनीका शाखाहरुको संख्या २२ पुगेको छ । कम्पनीले आगामी दिनहरुमा देशका अन्य स्थानमा पनि आफ्ना शाखाहरु बिस्तारको लक्ष्य लिएको जानकारी दिएको छ । 

पोखराः पोखरा महानगरपालिका यतिबेला मेयर र उपमेयरविहीन भएका छन् ।    मेयर धनराज आचार्य बिहीबार जापान गएका छन् भने उपमेयर मञ्जुदेवी गुरुङ् ४ दिन अघि नै बेलायत लागेकी हुन् । दुबै प्रमुख विदेश लागेपछि महानगरको कार्यवाहकको जिम्मेवारी २५ नम्बरका वडाध्यक्ष मोतिराज तिमिल्सिनाले पाएका छन् ।    मेयर आचार्य जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को निमन्त्रणामा खानेपानी र ढल परियोजनाको सम्झौता गर्न गएका हुन् ।      उपमेयर गुरुङ तमु धिँ यूकेको निमन्त्रणामा बेलायत गएकी हुन् । बेलायतमा आफन्त र बार्नेट सिटीका मेयरसँग भेटघाटमा गुरुङ् व्यस्त छिन् ।   महानगर एकैपटक प्रमुख र उपप्रमुखविहीन भएको यो पहिलो घटना हो ।    आचार्य जापानका एक साता रहने कार्यक्रम रहेको छ । गुरुङ् भने ३ साता रहनेछिन् ।    महानगरमा मेयर, उपमेयर नभएपनि काममा कुनै अवरोध नहुने वडा ४ का अध्यक्ष देवकृष्ण पराजुली बताउँछन् ।    ‘कार्यवाहक हुनुहुन्छ, काम रोकिँदैन’ पराजुली भन्छन् ‘मेयरज्यू एकहप्तामा आइहाल्नुहुन्छ, खासै समस्या पर्दैन ।’     वडाध्यक्ष पराजुलीकैजस्तो धारणा राख्छन् महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती । भारतीका अनुसार महानगरमा कार्यपालिका बैठक बस्नेबाहेकका सबै काम सुचारु हुन्छ ।   ‘अहिले वडा कार्यालय स्वायत्त छन्, नागरिकको कुनैपनि काम रोकिँदैन’ भारतीले भने ‘महानगरमा कार्यवाहकलाई अधिकार दिइएको छ, बाधा व्यवधान छैन ।’   मेयर र उपमेयर एकैपटक विदेश जानुपर्ने अवस्थाबारे भारती भन्छन्, ‘उहाँहरु दुबैजना यतिबेला आफुले चाहेर विदेश जानुभएको होइन, समय त्यस्तै प¥यो, उहाँहरुको नियन्त्रणमा रहेन ।  

पोखरा:  पोखरामा खानेपानी वितरण गर्ने मुख्य स्रोत मर्दीखोलामा पानीको सतह घटेपछि पोखरामा खानेपानीको समस्या भएको छ । नेपाल खानेपानी संस्थान पोखरा कार्यालयले खानेपानी पुर्याउन गाह्रो परेको सूचना निकालेर खानेपानीको समस्या भएको जानकारी दिएको हो । पोखरा महानगरभित्र कतिपय ठाउँमा पानी वितरणमा समस्या आएको सूचनामा उल्लेख छ । अनावश्यक पानी खर्च नगर्न कार्यालयले उपभोक्तालाई आग्रह गरेको छ । पोखरामा ल्याउने पानीको सतह घटेको संस्थानका वितरण प्रमुख सब-इञ्जीनियर लक्ष्मण पाण्डेले जानकारी दिए। पोखरामा पानीका लागि मर्दीखोला मुख्य स्रोत र त्यसपछि भोटीखोला, कालीखोला, बालधारा र बोरिङ हो । यी स्रोतमा नै पानी घटेका कारण समस्या भएको कार्यालयले जनाएको छ ।  खानेपानीको समस्या समाधान गरिदिन भन्दै दिनहुँ सयौँ सेवाग्राहीको फोन आउने गरेको संस्थानको वितरण शाखाका कर्मचारीले बताएका छन् । घरमा पानी नआएको गुनासोसहित दैनिक तीन सयभन्दा बढी फोन आउने गरेको कार्यालयले जनाएको छ । अहिले पोखरामा दैनिक साढे सात करोड लिटर पानी आवश्यक रहेको कार्यालय प्रमुख आशिष कार्कीले जानकारी दिए । जसमा अहिले दैनिक साढे पाँच करोड लिटर आपूर्ति भइरहेको छ । पोखरामा संस्थानबाट झण्डै ४८ हजार धारा जडान भएका छन् । 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य जापान गएका छन् ।    महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर समेत तयार भइसकेकाले सो परियोजना सञ्चालनका सम्बन्धमा सम्झौता गर्न मेयर आचार्य जापान गएका हुन् ।    आचार्यको नेतृत्वमा जापान जान लागेको सात सदस्यीय टोलीमा ३ जना इन्जिनियर सहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठ र खानेपानी मन्त्रालयकी सहसचिव मैना श्रेष्ठ समेत छन् ।      महानगरपालिकाकोतर्फबाट इन्जिनियर विवेक कुमार क्षेत्री जापान गइसक्नु भएको छ । हाल उहाँ जापानमा यही परियोजनासँग सम्बन्धित २१ दिने तालिममा सहभागी रहेको महानगरले जनाएको छ ।    पोखरा महानगरपालिकाको तर्फबाट आयोजित बिदाइ कार्यक्रममा प्रमुख आचार्यले ११ अरब रुपैयाँ लागतको यो परियोजना अनुसार फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवर्द्धन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।    ‘अव हामीले आकाशबाट पर्ने पानी, भान्साबाट निस्कने पानी, बाथरुमबाट निस्कने पानी लगायत ढलमा मिसाइएका कुनै पनि चिजलाई यत्तिकै छोड्न मिल्दैन’, उनले भने ‘यसले वातावरण प्रदूषण भइरहेको छ, भन्ने विश्वव्यापी रूपमा नै चिन्तन भइरहेका बेला पोखराका विभिन्न चार स्थानमा पोइन्टहरु निर्धारण गरी जाइकाले यसमा सहयोग गर्ने भएको हो । जानेर वा नजानेर हाम्रा ढलहरू सिधै खोलामा मिसिने गरेका छन् । अव यो योजना अनुसार फोहोर पानीलाई प्रशोधन गरेर मात्र खोलामा मिसाइनेछ ।’   जापान भ्रमणका क्रममा उनले कोलपाटनमा निर्माण गरिएको पानी ट्याङ्कीको विषय समेत टुङ्गोमा पुग्ने उल्लेख गरे ।  हाल उक्त ट्याङ्की हटाउन मात्रै पनि ४३ करोड रुपैयाँ लाग्ने बताइएको छ ।   दिगो विकासको लक्ष्य अनुसार सन २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।     जाइकाकै सहयोगमा सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाको काम भने अन्तिम चरणमा पुगेको छ ।

पोखरा:    पोखरा महानगरपालिका-३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा फोहोर पुर्ने डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  पोखरा ३२ लामेआहालस्थित ल्याण्डफिल साइटमा आज साँझ डोजर अनियन्त्रित भएर दुर्घना हुँदा डोजरका चालक ६० वर्षीय मुसाफिर दास तत्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । डिएसपी बिकका अनुसार पोखरा महानगर १५ रामबजार बस्ने मुसाफिरको घटनास्थलमै मृत्यु भएको हो । घटनाको थप अनुसन्धान गर्न कास्की प्रहरीको टोलि अहिले लामेआहालस्थित ल्याण्डफिल साइट दुर्घटना स्थल पुगेको कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:   पोखरामा पार्किङ गरेर राखेको बसको टेलिभिजन चोरी गर्ने एक जनालाई प्रहरीले प्रकाउ गरेको छ ।  पोखरा महानगरपालिका ४ गैह्रपाटनमा पार्किङ  गरेर राखेको ग १ ख ८९७४ नम्बरको बसमा राखिएको एलजी कम्पनीको ४२ ईन्चको टेलिभिजन १ थान , स्पिकर १ थान र १ थान क्यासेट चोरी गरेको आरोपमा  धादिङ जिल्ला भएर पोखरा ४ बस्ने २६ वर्षीय बिनोद परियारले कास्की प्रहरीले प्रकाउ गरेको हो ।  चोरी आरोपमा प्रकाउ परेका परियारलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी मुद्दामा दिन ५ को म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । परियारले चोरी गरेको टेलिभिजन छिमेकीलाई बिक्री गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । 

पाेखरा: जनआन्दोलन ०६२/६३ का प्रथम सहिद भिमसेन दाहालको शालिक यतिबेला नयाँबजारको शान्तिवनस्थित दमकल परिसरमा पुगेको छ ।      महेन्द्रपुलमा शालिक राखिएको स्थानमा झण्डा पार्क बन्ने भएपछि उनको शालिकलाई त्यहाँ सारिएको हो । दाहाल ०६२ चैत २६ गते महेन्द्रपुलमा सेनाको गोलीबाट मारिएका थिए ।    दाहालको शालिक केही समय दमकल परिसरमा राखिने र वडा १८ मा रहेकोे सहिद स्मारक पार्कमा स्थापना गरिने पोखरा महानगरपालिकाले जनाएको छ ।    ‘शालिक सुरक्षित होस् भनेर त्यहाँ (दमकलमा) राखिएको हो’ महानगरका प्रवक्ता मोतिलाल तिम्सिनाले भने ‘एक महिनाभित्र सहिद स्मारक पार्कमा राख्नेछौं ।’   पार्कमा शालिक राख्न दाहालका परिवारजनसँग सहमति लिइसकेको र काम प्रक्रियामा गइसकेको तिम्सिनाले जानकारी दिए ।    पृथ्वी नागरिक समाज, पोखराको सक्रियतामा शालिक निर्माण गरिएको हो ।    २०६२ चैत २६ मा पोखरा महेन्द्रपुलमा भीमसेन दाहाल सेनाको गोलीबाट मारिएका थिए। 

पोखरा:    पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना सेवा विकास बैङ्क लिमिटेडका बिचमा महानगर क्षेत्रमा १०० नयाँ व्यवस्थित घर निर्माण गर्ने सम्झौता गरिएको हो ।  सम्झौतामा महानगरपालिकाका प्रमुख धनराज आचार्य, लुमन्ति आवासको लागि सहयोग समूहको तर्फबाट कार्यकारी निर्देशक लजना मानन्धर र कामना सेवा विकास बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हस्ताक्षर गर्नुभएको छ । न्यून आय भएका व्यक्तिहरूको आवास निर्माण तथा आय आर्जनका लागि सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराई उनीहरूको आर्थिक स्तर वृद्धि गर्ने उद्देश्य सम्झौताले लिएको छ ।  पोखरा महानगरपालिका क्षेत्रभित्र रहेका सुरक्षित आवासको व्यवस्था नभएका तथा न्यून आय भएका वर्गलाई लक्षित गरी त्रिपक्षीय सहकार्यमा यो योजना लागु गरिएको हो । महानगरपालिकाले निर्धारण गरेको मापदण्ड भित्र सिफारिस भई आए बमोजिम कामना सेवा विकास बैकले नयाँ घर निर्माण तथा मर्मत सुधारका लागि अधिकतम रु.७ लाखसम्म न्यून लागत आवास कर्जा प्रवाह गर्नेछ ।  लाभग्राहीले पाउने न्यून लागत आवास कर्जाको सात लाख मध्ये लुमन्तिले ४० प्रतिशत, पोखरा महानगरपालिकाले १० प्रतिशत र ५० प्रतिशत कामना सेवा विकास बैकले लगानी गर्नेछ । उक्त कर्जामा वार्षिक ९.९९ प्रतिशत ब्याज लाग्ने भने यस बाहेक सेवा शुल्क भने लिइने छैन । सम्झौताको कुल रकम रु.७ करोड रहेको छ । प्रत्येक लाभग्राहीलाई ७ लाखका दरले वार्षिक ९.९९ प्रतिशत ब्याजदरमा सात वर्षभित्र रु.११ हजार ६१७ का दरले ८४ किस्तामा तिर्ने गरी न्यून लागत आवास कर्जा उपलब्ध गराइने छ । सम्झौता अनुसार १ वर्ष भित्र १०० वटा घर बनाउने कार्य सम्पन्न गरिनेछ ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका भित्र आफ्नै जमिन भएका तर, कमजोर आर्थिक अवस्थाका कारण आवास विहीन भई बस्नु परेका नागरिकका लागि यो सहुलियतपूर्ण सहायता निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । “महानगर भित्र हाल १९ हजार ८ बढी भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको आँकडा रहेको छ, हामी अहिले उनीहरूलाई निस्सा वितरण गरिरहेका छौँ, प्रमुख आचार्यले भन्नुभयो, सुरक्षित आवास नागरिकको मौलिक अधिकार भन्ने विषयमा हामी सचेत छौँ, यसबिचमा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका सुरक्षित आवास निर्माणको सम्झौता भएको छ, यसले घर नहुनेहरूलाई घरको मालिक बनाउने छ ।” आफ्नो कार्यकाल भित्रमा यस प्रकृतिका एक हजार घरहरू निर्माण गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो ।  लुमन्तिकी कार्यकारी अधिकृत लजना मानन्धरले गरिबी न्यूनीकरण, सामाजिक परिचालन तथा सामाजिक विकास तथा सुशासन प्रबद्र्धनमा आफूहरू लागि रहेको बताउनुभयो । पोखरा महानगरपालिका, लुमन्तिको सहयोग र कामना  सेवा विकास बैङ्कको सहयोगमा हाल सम्म १०३७ घर निर्माण तथा मर्मत र बाँसको घर ४५ तथा गन्धर्व बस्तीमा ६ वटा नयाँ गरी १०८८ घरहरू निर्माण गरिएका जानकारी दिनुभयो । यस परियोजनाले कम लागतमा भूकम्प प्रतिरोधात्मक घरहरू निर्माण र गरिबी न्यूनीकरणमा सहयोग पुगेको मानन्धरले बताउनुभयो । मुलुकका विभिन्न स्थानहरूमा नयाँ निर्माण, पुनर्निर्माण र स्थानान्तरण लगायतका कामहरू भइरहेका उहाँले जानकारी दिनुभयो ।  सम्झौताको तेस्रो पक्ष कामना सेवा विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत विनय दाहालले लुमन्ती र पोखरा महानगरपालिकासगँको सहकार्यमा आवास विहीनहरूको आवास निर्माण कार्यमा साझेदार बन्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । स्थानीय सरकारको सहकार्यमा आवास निर्माण जस्तो महत्वपूर्ण क्षेत्रमा थप लगानीका लागि आफूहरू तयार रहेको उहाँले बताउनुभयो ।  आवास निर्माण क्लष्टरबेस तर्फ २ वटा मोडल बनाउँदा उपयुक्त हुने लुमन्तिले जनाएको छ । उसका अनुसार २५ लाख सम्मको घरजग्गा र ४५ लाख सम्मको घर जग्गा गरी २ वटा मोडल उपयुक्त हुनेछन् । यसलाई उसले भावी योजनाका रूपमा अगाडी सारेको छ । ७० करोडको ऋण सहायतामा आगामी पाँच वर्षमा १००० वटा घर निर्माण गर्ने ती मध्ये १०० वटा घरहरू क्लस्टरबेसमा निर्माण गर्ने योजना छ ।