पोखरा: नयाँ वर्षमा खपौदीमा मेलाको आयोजना गरिने भएको छ । फेवा पर्यटन विकास समितिले नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर ‘फस्ट खपौदी कार्नीवल’ नाम दिएर मेला गर्न लागेको हो । शनिबार चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै फेवा पर्यटन विकास समितिका अध्यक्ष अर्जुन सुवेदीले चैत ३० र बैसाख १ गते दुई दिने मेलाको आयोजना गरिएको जानकारी गराए । मेला पहिले प्याराग्लाइडिङ ल्याण्डिङ हुने स्थानमा हुनेछ । ‘हामीले नेपाली नयाँ वर्षको अवसर पारेर ‘फस्ट खपौदी कार्नीवल’ नाम दिएर मेलाको आयोजना गर्न लागेका हौं । फेवा पर्यटन विकास समिति पाँच वर्षदेखि क्रियाशील संस्था भएता पनि कार्यक्रम भने पहिलो हो ।’,उनले भने । उनले मेला चैत ३० गते साँझबाट अनौपचारिक रुपमा सुरु गरिने र बैसाख १ गते नै औपचारिकता गर्ने गरी तयारी गरिएको बताए । फेवातालको उत्तर तर्फको गैह्राचौतारा देखि चंखपुर पामे सम्मको क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षण केन्द्रविन्दु भएका कारण पर्यटकहरुलाई नै आकर्षित गर्ने उद्देश्य स्वरुप कार्यक्रमको आयोजना गरिएको उनले उल्लेख गरे । मेलामा स्थानीय नौमती बजा सहित विभिन्न समुदायको झाँकीहरु प्रदर्शन गरिनेछ । ख्याती प्राप्त कलाकारद्वारा दुई दिन नै सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने मेलाका सांस्कृतिक संयोजक अल्फान्जो रिर्सोटका संचालक सुभाष भट्टराईले जानकारी दिए । उनले उक्त कार्यक्रममा लाइभ ब्याण्ड र डिजे सेसन पनि रहने उल्लेख गरे । खानाका विभिन्न स्टलहरु मेलामा रहनेछन् । स्थानीय माछा तथा कृषि उत्पादनको प्रदर्शन सहित डुङ्गा दौड लगायतका खेलकुदका कार्यक्रमहरुलाई पनि प्राथामिकतामा राखिएको भट्टराईले बताए । फेवा पर्यटन विकास समितिमा हाल एक सय भन्दा बढी व्यवसायीहरु आबद्ध छन् । कोभिड महामारीको कारण थला परेको पर्यटन क्षेत्रलाई माथि उकास्न समितिले यसअघि सानातिना सामाजिक र व्यवसायिक कार्यक्रम गर्दै आएको छ । कोभिड पछि अर्थतन्त्रमा सुधार नहुँदा यस्ता मेला महोत्सव मार्फत अर्थतन्त्र चलायमान बनाउन मदत पुग्ने विश्वास आयोजकको छ । कार्यक्रमलाई सफल पार्न २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । मेला अवधिभर २० हजार भन्दा बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । प्रवेश निशुल्क हुँदा पनि मेलाले सफलता प्राप्त गर्ने दाबी आयोजकको छ । सोहि समयमा पोखरामा फेवा नयाँ वर्ष महोत्सवको आयोजना गरिएता पनि आफुहरु भने उक्त कार्यक्रमको समेत समर्थनमा रहेको अध्यक्ष सुवेदीले बताए । हानले वर्षेनी गर्दै आएको फेवा नव वर्ष महोत्सवमा आफुहरुलाई समावेश नगरिएता पनि फेवा पर्यटन विकास समिति भने उक्त महोत्सवलाई समेत सफल बनाउन लागिपर्ने भनाई उनको छ । ‘खपौदी कार्नीवल’ बाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा फाइदा फेवा नव वर्ष महोत्सवलाई समेत हुने उनले बताए ।
पोखरा: पोखरा महानगरपालिका वडानम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिएका छन् । हवेली मार्ग हुदै मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रबार उद्याटन गदै वडाध्यक्ष कार्कीले कानुन विपरीत काम गरेमा खरो रुपमा उत्रने चेतावनी दिएका हुन् । जनताको दुखःसुखमा सथै छु, समस्या लिएर आउनुहोस् आफ्ना वडावासीहरुलाई सहज रुपमा फछ्यौट गर्छु, तर सार्वजनिक सम्पतीमा हुने हस्तक्षप र मिचाह प्रबृतीविरुद्ध निर्मम भएर काम गर्छु, कार्कीले भने । भित्री सडक मर्मत र विस्तारका क्रममा सडक हडपेको पाइएकाले डोजर लिएर आउनुपर्ने अवस्था सृजना नगर्न आग्रह गरे । घर बनाउदा मापदण्ड मिच्ने, कम्पाउण्ड र गेट बनाउने गरेको भन्दै कार्कीले नक्सा पास गर्ने बेलामा कडाई गरिएको बताए । वडामा २५ करोड बरावरको बजेट भित्रीएको बताउदै अध्यक्ष कार्कीले कार्यान्वयनमा गएका योजना सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए । १८० वटा भन्दा बढि योजनामा अहिले काम भईरहेको उनले जानकारी दिए । वडाध्यक्ष कार्कीले योजना नभएको कुनै पनि टोल नरहेको दाबी गरे । उपभोक्ता समितिले काम गर्दा गुणस्तरमा ध्यान दिन पनि उनले आग्रह गरे । कमसल काम भएको जानकारी भए कुनै पनि योजनाको सम्पन्नतामा हस्ताक्षर नगर्ने कार्कीले बताए । उक्त अवसरमा कालिका क्याम्पस अगाडीको हवेली मार्ग ढलानमा उपभोक्ता र वडाको सहलगानीमा बाटो ढलान गरिएको उपभोक्ता समितिका सचिव किरण अधिकारीले जानकारी दिए । वडाको २० लाख र उपभोक्ताले ३ लाख ५४ हजारको सहलगानीमा २०८ मिटर बाटो ढलान गरिएको अधिकारीले बताए । उपभोक्ता समितिका अध्यक्ष देव बहादुर कार्कीले हवेली मार्ग हुदैँ मान्द्रेढुङगासम्म जोड्ने सडक ढलानका लागि बजेटको व्यवस्था गर्न माग गरे ।
पोखरा: वर्ष २०२३/२४ का लागि लायन्स क्लब अफ पोखरा मुनालको अध्यक्षमा केशब बराल र लायन्स क्लब अफ मर्दिको अध्यक्षमा मनोज कुमार अधिकारी निर्वाचित भएका छन् । लायन्स क्लब इन्टरनेशनल डिष्टिक ३२५ एल अन्तर्गत वर्ष २०२३/२४ का लागि लायन्स क्लब अफ मर्दिका निवर्तमान अध्यक्ष मनोजकुमार अधिकारी अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । क्लबको प्रथम उपाध्यक्षमा श्याम प्रसाद भुसाल, द्धितिय उपाध्यक्षमा सुमन पौडेल, तृतिय उपाध्क्षमा विष्णु बहादुर बरुवाल, सचिबमा प्रतापराज पौडेल, कोषाध्यक्षमा विष्णु प्रसाद अधिकारी चयन भए । मुनाल क्लबको प्रथम उपाध्यक्षमा निर्मल पहारी, द्धितिय उपाध्यक्षमा बाबुराम क्षेत्री, सचिबमा हेमराज अधिकारी र कोषाध्यक्षमा सुनिल खाड चयन भए । डिष्टिक ३२५ एलका कार्यक्रम व्यवस्थापक प्रमुख तेज नारायण पराजुली, टिम लिडर राज अधिकारी, जोन चियर पर्सन जोन ८ का चन्द्रबहादुर कुँबर, मुनालका संस्थापक अध्यक्ष सरोज श्रेष्ठ, मुनालका अध्यक्ष रामेश्वर बराल लगायतले दुबै क्लबको निर्वाचन सम्पन्न गर्दै शुभकामना दिए । कार्यक्रममा मुनालका अध्यक्ष केशब बराल र मर्दिका अध्यक्ष मनोजकुमार अधिकारीले भावि कार्यक्रम बारे जानकारी दिदै क्लबलाई उत्कृष्ट बनाउन लागि रहने बताए ।
पोखराको बीच भागमा बग्ने सेती नदी महानगरकै भरपर्दाे आयस्रोत भएपनि चालु आर्थिक वर्षमा यसबाट उठेको राजश्व ‘खुद्रा’मा सिमित छ । महानगरको ढुकुटीमा गिट्टी, बालुवालगायत नदीजन्य सामग्रीबाट वर्षेनी ७ देखि ८ करोड रुपैयाँ जम्मा हुने राजश्व यसपटक सेतीमा पानी बहे झैं बगिरहेको छ । पछिल्लो तथ्यांक हेर्दा माघ अन्तिमदेखि महानगरका कर्मचारीले घाटबाट राजश्व उठाउन थालेका हुन् । माघको अन्तिम सातामा ३ घनमिटर बराबर एक मिनी ट्रकबाट २ हजार १३० रुपैयाँका दरले दैनिक ६ हजार रुपैयाँको हाराहारीमा उठाइएको राजश्व फागुन दोस्रो सातादेखि दैनिक ३० देखि ३५ ट्रकबाट राजश्व उठाइएको महानगरमा रेकर्ड छ । त्यस्तै, चैतको तेस्रो हप्तादेखि दैनिक ५० ट्रकबाट राजश्व उठाइएको छ । महानगरले उल्लेखित तथ्यांक दिएपनि घाटमा खटाइएका कर्मचारीले यस हप्ता शान्तीघाटतर्फ दैनिक २० ट्रकको हाराहारीमा राजश्व संकलन भएको जनाए । महानगरका राजश्व शाखा प्रमुख झंकनाथ पौडेलले हिसाबकिताब दुरुस्त भएको बताएपनि उक्त हिसाबकिताब राजश्व उठाउन खटाइएका कर्मचारीले दिएको विवरण हो । ‘यहाँ दैनिक चल्ने ट्रक, ट्रयाक्टर र कामदारको संख्यालाई आधार मान्ने हो भने हिसाबकिताब गडबढ छ’ घाट क्षेत्रमा पर्ने वडा कार्यालयका एक जनप्रतिनिधि भन्छन् ‘कुनै–कुनै दिन रामघाट र शान्तिघाटबाट ८० ट्रिपको हाराहारीमा गिट्टी, बालुवा र ढुंगा उठाइएको छ ।’ बाराम्बार बोलपत्र आव्हन गरेपनि कसैले टेण्डर नहालेपछि महानगरको कार्र्यपालिका बैठकले आफै राजश्व संकलन गर्ने निर्णय गरेको उनले सुनाए । ‘पहिले मौखिकरुपमै निर्णय गरी राजश्व उठाउन थालिएको हो’ उनले भने ‘करिब एक महिनापछि मात्रै अप्ठ्यारो पर्छ भन्ने ठानेर निर्णय गरिएको हो ।’ सूचना संकलनका दौरान प्राप्त जानकारी अनुसार महानगरले कर्मचारी खटाएर माघको अन्तिमदेखि नै राजश्व उठाउन थालेको हो । तर आधिकारिक निर्णय भने फागुन २५ गते अनुमोदन गरी यसको जिम्मा प्रमुख प्रशासकीय अधिकृतलाई दिइएको छ । किन लाग्न सकेन ठेक्का ? महानगरले लिलाम बिक्रीका लागि हालसम्म ४ पटक टेण्डर खोलिसकेको छ । सुरुमा रामघाटको मात्रै ५ करोड ८७ लाखमा टेण्डर खुलाइएको थियो । पछिल्लो पटक चैत २० गते साढे ३ करोड ५२ लाखको टेण्डर खोलिएको छ । तर टेण्डरको सूचनामा तोकिएको समयावधि मात्र २ महिना रहेको छ । कुनैपनि कम्पनीले २ महिनाकालागि ठेक्का पाउन जोडबल नगर्ने सम्भावना यसअघि कै घटनाले प्रष्ट्याएको छ । स्रोतका अनुसार महानगरको कार्यपालिकाको बैठकमा यसअघि टेण्डर प्रक्रियालाई बिचैमा तुहाउन केही जनप्रतिनिधिले भूमिका खेलेका थिए । त्यस्तै, यसअघि अनलाइनमार्फत टेण्डर (इ–बिडिङ्) नखुलाउँदा पनि आवश्यक बोलकबोल हुन सकेन । स्मार्ट सिटीको नारा दिएर चुनाव जितेका धनराज आचार्यले अनलाइन सिष्टमलाई प्रयोग नगरेकोमा कर्मचारीमाथिकोे निर्भरता भएको स्रोत बताउँछ । ‘महानगरको राजश्व अधिकृत झंकनाथ पहिले वडा ९ का सचिव हुन्, उनलाई रामघाटको कमाई सबै थाहा छ’ महानगरका एक नगरसभा सदस्य भन्छन् ‘पौडेल एमालेका मान्छे हुन्, उनलाई मेयले समाजवाीमा भित्र्याएर महानगरपालिका लगेका हुन् ।’ को हुँदैछ मालामाल ? महानगरले जति राजश्व असुली गरिरहेको छ त्यो रकम खुद्रामात्र हो । कुनैपनि सामान्य मान्छे सेती खोंचमा झरेर नियाल्यो भनेपनि यसबारे प्रष्ट हुन्छ कि घाटबाट उठ्नुपर्ने जति रकम महानगरको खातामा पुगेको छैन । त्यसो त महानगरका कर्मचारी घाट आवतजावत गर्ने गौंडामा पालले बेरेर नगदी रसिदसहित बसेका छन् । बाहिरबाट झट्ट हेर्दा सबै ठिकै देखिन्छ । तर सुक्ष्म अध्ययन गर्दा हिसाबकिताब गडबढ भइरहेको शंका गर्ने आधार भेटिएको छ । ‘महानगरले टेण्डर जसरी खुलायो त्यसअनुसार इच्छुक कम्पनीहरुलाई थाहै दिन खोजिएन’ टेण्डर प्रक्रियामा जान चाहने एक कम्पनी सञ्चालक भन्छन् ‘नामै नसुनेको सन्ध्याकालिन पत्रिकामा सूचना निकालियो ।’ एक त राजधानीबाट प्रकाशित हुने नामै नसुनेको पत्रिका त्यसमाथि अनलाइनमार्फत प्रतिष्पर्धा गर्न दिइएन भन्दै उनले कर्मचारीकै मिलेमतोमा महानगर राजश्वबाट वञ्चित भएको सुनाए । ‘पहिले–पहिले ठेक्का लागिरहेको थियो, अहिले राजश्वकै कर्मचारीको डिजाइनमा चलखेल भएको छ’ उनको दाबी छ । ‘सय ट्रिप गिट्टी बालुवा जाँदा सोही अनुपातमा राजश्व लिइएको छैन’ उनी भन्छन् ‘हाम्रो टिमले एकसाता रेकी गर्दा कर्मचारीमात्र मोटाएको देखियो ।’ त्यस्तै, अहिले महानगरले धेरथोर राजश्व उठाएपनि रातको बेलामा हुने चोरी नियन्त्रण हुन नसकेको भेटिएको छ । घाटमा झिसमिसेदेखि राति अबेरसम्म बालुवा बोक्ने र ट्रकमा लोड हुने पाइएको छ । त्यसरी बालुवा बोक्ने ट्रकचालकले दिउँसै राजश्व तिरेको बताउने गरेका छन् । रिपोर्टिङका दौरान त्यस्ता ट्रकचालकलाई ‘कर तिरेको रसिद छ ?’ भन्ने प्रश्नमा उनीहरुले ‘सबैलाई बिल देखाउन आवश्यक नरहेको जवाफ फर्काए । यस विषयमा राजश्व शाखा प्रमुख पौडेलले त्यस्तो प्र्रमाण वा डिटेल भए ल्याउनुहोस्, भिडाएर हेरौं भन्ने प्रतिक्रिया दिएका छन् । घाटमा खटिएका कर्मचारी भने राजश्व खेर जान नदिन बिहानदेखि रातीसम्म खटेको भन्दै ड्युटी आवरपछि कहाँ–के हुन्छ जिम्मा लिन नसकिने बताउँछन् । महानगरले २ महिनाकालागि साढे ३ करोडको टेण्डर खुलाउनु नै घोटाला पुष्टी हुने एक स्थानीयको भनाई छ । ‘टेण्डर अनुसारमा महिनामा पौने २ करोड राजश्व उठ्ने घाटबाट महानगरले अहिले मुस्किलले महिनामा १० लाख रुपैयाँ पनि किन उठाउन सकेको छैन ?’ उनको प्रश्न छ । ‘फेरि पनि टेण्डर नपर्ने निश्चित छ । र, महनागरकै सिमित कर्मचारीको हालीमुहाली कायम रहनेछ’ उनले थपे ।
पोखरा: पोखरा हुने होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनको तयारी पूरा भएको छ । महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशन चैत २५ र २६ गते पोखरामा हुँदै छ । होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनको तयारी पूरा भएको आज (बिहीबार)पोखरामा पत्रकार सम्मेलन गदैं महाधिवेशनको तयारी पूरा भएको अध्यक्ष अर्जुन चोखालले जानकारी दिए । ‘मुलुक संघीय संरचना अनुसार गठित भएपछि होटल व्यवसायीहरुबीच समन्वय र सहकार्य अभिवृद्धि गर्दै पर्यटन व्यवसायलाई गुणस्तरीय बनाउने लक्ष्य हो, चोखालले भने, ‘ चैत २५ र २६ गते हुने प्रथम महाधिवेशनमा गण्डकीका ११ जिल्लाका १ सय २० जना प्रतिनिधि पर्यवेक्षकहरुले भाग लिनेछन् ।’ उनले होटल व्यवसायी महासंघ गण्डकीको प्रदेशको महाधिवेशनको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आउने बताए । महासंघ गण्डकीका अध्यक्ष चोखालले महाधिवेशनमा करिव १२ लाख खर्च हुने अनुमान गरेको बताए ।‘महाधिवेशनमा करिव १२ लाख खर्च हुने अनुमान गरेका छौं, गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा बसोबास गर्ने जातजातिका मौलिक संस्कृति झाँकी प्रस्तुत गर्ने छौं ।’ उनले भने । होटल रेष्टराँ तथा पर्यटन व्यवसायीहरुको प्रादेशिक छाता संगठनको रुपमा स्थापित होटल व्यवसायी महासंघ गण्डकी प्रदेशमा ६ हजार ५० बढी होटल सञ्चालनमा रहेको जनाएको छ । अनमानित ५४ हजार बढीलाई रोजगारी दिएको महासंघ गण्डकीले होटल व्यवसायमा ६२ अर्व लगानी रहेको र अहिले त्यो बढेर गएको अध्यक्ष चोखाले बताए । पोखरामा हुने होटल व्यवसायी महासंघ गण्डकी प्रदेशको प्रथम महाधिवेशनले आगामी तीन वर्षका लागि नया नेतृत्व चयन गर्नेछ ।
पोखरा: सशस्त्र प्रहरी बलको गोताखोरले पोखराको सेती नदीमा विश्वबहादुर गुरुङको शव फेला पारेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थायी घर भई पोखरा लामाचौर बस्दै आएका ४४ वर्षीय गुरुङको शव गोताखोर सशस्त्र प्रहरीले सेती नदीमा ७३ दिनपछि फेला पारेको हो ।
पोखरा: होटल सङ्घ पोखराले नयाँ वर्षलाई लक्षित गरी आयोजना गरेको १८ औं नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको लेकसाइडमा तीन दिनसम्म सञ्चालन हुने नववर्ष महोत्सवको तयारी अन्तिम चरणमा पुगको आज (बिहीबार) पत्रकार सम्मेलन गरेर होटल संघ पोखराले जानकारी दिएको हो । यही चैत २९, ३० र वैशाख १ गते पोखरामा १८ संस्करणको फेवा नववर्ष महोत्सव हुँदै छ । पत्रकार सम्मेलनमा बोल्दै होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिड-१९ लगायतका कारणबाट प्रभावित पर्यटन व्यवसायको पुनःउत्थान गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवरद्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको बताए । ‘कोभिड लगायत विविध कारणले पर्यटन व्यवसाय फस्टाउन सकेको छैन, सुवेदीले भने, ‘पर्यटन क्षेत्रमा परेको असरलाई उकास्न महोत्सवले केही सहयोग पु¥याउँछ भन्ने उद्धेश्यले १८ औं संस्करणको फेवा नववर्ष महोत्सव सञ्चालन गर्दै छौं ।’ उनले कोरोनाले प्रभावित बनाएको पर्यटन क्षेत्र पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको सुस्त गतिमा स्तररोन्नति हुँदा असर गरेको बताए । ‘कोरोना पछि लयमा आउन लागेको पर्यटन व्यवसाय पोखरामा भएको यति एयरलायन्सको विमान दुर्घटना र पृथ्वी राजमार्गको अव्यवस्थित तथा सुस्त गतिको स्तरउन्नतिले असर पु¥याएको छ, उनले भने, ‘पर्यटन क्षेत्रसँगै आर्थिक क्षेत्रमा परेको समस्या समाधान गर्न राज्यले उचित निर्णय लिन आवश्यक छ ।’ पोखराको लेकसाइडस्थित फिस्टेल गेटदेखि हल्लनचोकसम्मको सडकमा चैत २९, ३० र वैशाख १ गते पोखरामा १८ संस्करणको फेवा नववर्ष महोत्सव महोत्सव हुने आयोजकले जनाएको छ । महोत्सवका अवसरमा सङ्घअन्तर्गतका होटलले २० प्रतिशतसम्म छुट दिने आयोजकले जनाएको छ ।
पोखरा: पोखरा महानगरपालिका –१८ मा ३० वैशाखमा भएको स्थानीय तहको चुनावको वडाध्यक्ष पदको पुन: मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासले वैशाख २० गते पुन: गणना गर्न फैसला दिएको हो । मतगणनामा एमाले उम्मेदवार पुस्कलबहादुर थापालाई हराउँदै कांग्रेसका शिवप्रसाद तिमिल्सिना ३ मतले विजयी भएको घोषणा गरिएको थियो । तर थापाले आफू ९ मतान्तरले विजयी भएको भन्दै पुन: मतगणनाको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले भने शिवले १६ सय ४३ र पुस्कलबहादुर थापाले १६ सय ४० मत ल्याएको घोषणा गरेको थियो ।
पोखरा: पोखरा महानगरपालिका १७ विरौटाका इन्द्रप्रसाद अर्यालले आफ्नै शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । आज (मंगलबार) अर्यालले विरौटा फिल पछाडी रहेको आफ्नै घरको कोठामा आगो लगाएर आत्मदाह गरेको कास्की प्रहरीले जनाएको छ । अन्दाजी ४५ अर्यालले आफु सुत्ने कोठामा आगो लगाएर आत्मदाह गरेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

