पोखरा: पोखराको अमरसिंह चोकमा रहेको होटल टास्कको तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ तथा फुड कार्निभलमा अहिलेका चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने भएको छ । होटल टास्कको तीनवटै आउटलेटबाट MRP (न्युनतम खुद्रा मुल्य) मा बियर बिक्री वितरण गर्दै आइरहेकोमा तेस्रो आउटलेट लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारको ग्राण्ड ओपनिङ आगामी जेठको १३ गते शनिबार चर्चित लोकदोहोरी गायक प्रकाश सपुतको प्रस्तुती रहने होटल टास्कका सञ्चालक मीन गुरुङले जानकारी दिए । “सबैको लागि लेकाली, संधैको लागि लेकाली” भन्ने उद्घोषका साथ सञ्चालित लेकाली सेकुवा रेष्टुरेण्ट एण्ड बारबाट गण्डकी प्रदेशकै एकमात्र न्युनतम खुद्रा मुल्य MRPमा गोर्खा बु्रअरीको उत्पादनका टुबोग, गोर्खा (प्रिमियम) र काल्सबर्ग बियरहरु सहित पोर्क ( कालो धराने बंगुरको परिकारहरु) मटन, चिकन र बफका परिकारहरु बिक्री गर्दै आइरहेको छ । खानाका परिकारहरु सहित स्थानीय उत्पादन कोदोको रक्सी (नारे पा) समेत ग्राहकको रोजाइमा पर्न सफल भएको छ । कोभिड १९ का कारण आर्थिक मन्दी भई जनमानसमा पर्याप्त आम्दानी नभइरहेको बेला सेवामुलक व्यवसायमार्फत ग्राहकहरुलाई सर्वसुलभ मुल्यमा बियर र खानाका परिकारहरु पस्कदै आइरहेको समेत संचालक गुरुङले जानकारी दिए । शनिबार अपराह्न ४ बजेदेखि सुरु हुने ग्राण्ड ओपनिङ कार्यक्रममा बहुचर्चित गायक तथा मोडल प्रकाश सपुतसहित स्थानीय लोक ब्याण्डको समेत प्रस्तुती रहने छ । उक्त कार्यक्रममा प्रवेश शुल्क रु. १ हजारको टिकटको व्यवस्था गरिएको छ । उक्त टिकटमा एक क्यान वियर निःशुल्क उपलब्ध गराइने छ । गोर्खा ब्रुअरिको सहकार्य रहेको उक्त कार्यक्रमका सहभागी हुनका लागि पोखराको न्युरोडमा रहेको भाटभटेनी सुपर मार्केट, लेकसाइडको कफी ब्रेक र डुंगा रेष्ट्रो एण्ड लाउन्ज बार, चिप्लेढुंगामा रहेको रुपाहिल दोहोरी सांझ,लेकाली चुलो घर र होटल टास्कको तीनवटै आउटलेटका फेसबुक पेज अनलाइनबाट समेत टिकट खरिद गर्न सकिने छ ।
पोखरा: पोखरामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका ६ खहरेचोक हल्लनचोकबाट गैह्राको चौतारा तर्फ जाँदै गरेको ग २४ प ३१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार १८ वर्षीय सफल खतिवडाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । पोखरा हल्लनचोकबाट गैह्राको चौतारा तर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भएर सडकको विद्युतको पोलमा ठक्कर खाँदा मोटरसाइकल चालक तनहुँको म्याग्दे गाउँपालिका ४ का १७ वर्षीय संगम बानियाँ घाइते भएका छन्, मोटरसाइकलमा सवार काठमाडौं कपन घर भएका खतिवडाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइते बानियाँको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र सर्वसम्मत निर्वाचित भएका छन् । पोखरा सम्पन्न भएको युनियनको १० औं जिल्ला अधिवेशनले मिश्रको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्ष(खुल्ला) विजय लम्साल, उपाध्यक्ष(महिला) ज्योति हमाल, सचिव धनबहादुर गुरुङ(सुमन), सह-सचिव सपना अधिकारी र कोषाध्यक्षमा नीराजन अधिकारी सर्वसम्मत निर्वाचित भएका हुन् । यस्तै सदस्यमा अजय क्षेत्री, विवेक ढुङ्गाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिव प्रसाद न्यौपाने, अभिनन्दन बजिमय, प्रवीण थापामगर, प्रतिभा सापकोटा, बलबहादुर रोकामगर, देवीका तामाङ र सविन विक रहेका छन् ।
पोखराः ‘मिलाएर दिन्छु’ भनेपछि चिनजानका व्यक्तिबाट सापट लिएकी पोखरा ११ निवासी उमा घले १६ महिनापछि रिन तिर्न जाँदा थमाएको हिसाबले अत्तालिएकी छिन् । स्याङ्जा स्थायी ठेगाना भएकी उमाले यसअघि श्रीमान्को पेन्सनपट्टा राखेर सोही व्यक्तिसँग ८ लाख रुपैयाँ लिएकी थिइन् । ब्याज मिलाएरै दिएजस्तो लागेपछि उनी दोस्रो पटक हात फैलाउन पुगेकी थिइन् । पुरानो १ लाख ७० हजार रुपैयाँसहित उनले ५ लाख ४० हजार लिएकी हुन् । वर्ष दिनमा तिर्ने भनेर लिएको रकम ४ महिना भाका कटेको थियो । १६ महिनामा हिसाब बुझ्दा ११ लाख ९० हजार पुगेको छ । श्रीमान् बिरामी भएपछि उमाले छोरालाई अरुसँग रिन मागेर भर्खरै कुवेत पठाएकी छिन् । यस्तो ६ उमालाई बुझाइएको हिसाबकिताबः रिन लिने–दिने बेलामा कुनै कागज गरिएको छैन । तर ५ लाख ४० हजार रुपैयाँ लिएको र आफु तिर्न पनि तयार रहेको भएपनि साहुले बाराम्बार तनाव दिएपछि उनी ११ लाख रुपैयाँ कसैगरी तिर्न नसक्ने बताउँछिन् । ‘मैले रिन खाएकै हो तर १६ महिनामा सावाँभन्दा ब्याज धेरै भएपछि म ठगिए भन्ने लागेको छ’ उमा भन्छिन् ‘साह्रै आपत परेको थियो, विश्वास लागेर कारोबार गर्दा म पीडित भए ।’ यसबीच साहुले प्रहरी ल्याएर श्रीमान्लाई पक्राउ गरिएको र अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको बताइन् । ‘उसले प्रहरी ल्याएर घरमै कुट्यो र लगेर थुनाएको छ’ उनले भनिन् । गृृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयलाई मिटरब्याज पीडितको निवेदन लिन र कारबाही अघि बढाउन परिपत्र जारी गरेपछि कास्कीमा पनि पीडितको संख्या बढ्दै गएको छ । पहिलो सूचनामा जेठ २ गतेसम्म पीडितले सप्रमाण निवेदन दिने समय तोकिएको भएपनि अहिले वैशाख १४ गतेसम्म थप गरिएको छ । प्रशासनले मिटरब्याज पीडितलाई सम्बोधन गर्न सहायताकक्ष नै सञ्चालन गरेको छ । कक्षमा निवेदन बुझाएर राहत पाउने आशामा उमाले सम्वाददातासँग कुरा गर्दै भनिन् ‘सरकारले न्याय दिन्छ भन्ने आश छ ।’ कक्षमा हालसम्म ४० जनाले पीडितका नामबाट उजुरी दिएका छन् । वैशाख १५ गतेपछि कारवाहीको प्रक्रिया अघि बढाउने कार्यालयले जनाएको छ । त्यहाँ परेको एक उजुरीमा वडा कार्यालयले नै मिटरब्याजीलाई सहयोग पु¥याउने कागजसमेत बनाइदिएको पाइएको छ । ‘सकेसम्म दुबै पक्षलाई लेनदेन र ब्याजको न्यूनतम प्रतिशतबार छलफल गरी मिलाउने प्रयास गर्नेछौं, अन्यथा कानूनी प्रक्रियामा जानेछौं’ कक्षका नायब सुब्बा रमेश प्रकाश बरालले जनाए । (नोटः हामीसँग मिटरब्याजमा रिन लिने र दिने दुबैको नाम, ठेगाना सुरक्षित भएपनि निवेदकको आग्रहमा गोप्य राखिएको छ ।)
पोखरा: अन्नपूर्ण गाउँपालिका, कास्कीमा नयाँ नेतृत्व आएको एक वर्ष पुगेको छ । गत वर्ष वैशाख ३१ गते नेकपा एमाले उम्मेदवार रहेका विष्णुबहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी विजयी भएका थिए । जेठ ६ गते पदभार ग्रहण गरेका केसीले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण शुक्रबार सार्वजनिक गरेका छन् । गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवर, गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष अधिकारीले ‘अन्नपूर्ण दर्पण–१’ पुस्तक सार्वजनिक गरेका हुन् । एक वर्षमा १५ वटा कानून पारित गरिएको, ५० प्रतिशत शुल्कमा नागरिकको स्वास्थ्य बीमा, घरमै बसेर सबै खाले राजस्व तिर्न सक्ने व्यवस्था गरिएको, युवालाई गाइड तालिम दिइएको, पर्यटक सूचना केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको, रैथाने बाली प्रवद्र्धनलाई पहल गरेको, सुशासनका लागि बिहान १० बजे नै कर्मचारी कार्यालय हाजिर भएर राष्ट्रिय गानमा सहभागी हुनुपर्ने व्यवस्था गरिएको र शाखा प्रमुखको नियमित बैठक गरिँदै आएकोलगायत काम गरिएको पुस्तकमा उल्लेख छ । कार्यक्रममा बोल्दै अध्यक्ष केसीले कार्यकालको एक वर्ष केही नयाँ कामको सुरूआत र सिकाइमा बितेको बताए । आफूहरू नीति तथा कार्यक्रम, बजेटको तयारीमा रहेको र सबै क्षेत्रका जानकार, स्थानीयसँग छलफल गरेर ल्याउने उनले सुनाए । ‘गहन छलफल गरेर नीति तथा कार्यक्रम ल्याउँछौं । हिजो के गर्नुपर्ने के थियो र के गर्न सकिएन भन्ने हेर्छौं । त्यसलाई अहिले सुधार्छौं,’ अध्यक्ष केसीले भने । विकास निर्माणको काममा दलीय हिसाबले लाग्न नहुने केसीको भनाइ थियो । जसले योजना ल्याए पनि त्यसले गाउँ बन्ने भएकाले एकजुट हुनुपर्ने उनले बताए । ‘संघ र प्रदेशसँग बजेट मागेका छौं । सबैले कहाँ कसको पहुँच पुग्छ त्यहाँ योजना मागौं,’ अध्यक्ष केसीले भने, ‘बाटो राम्रो बन्यो भने त्यो सबैलाई राम्रो हुने हो ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवरले एक वर्षको समीक्षा गरेर अबको चार वर्ष नागरिकको सेवामा अझै गम्भीर भएर लाग्नुपर्ने बताए । पर्यटनमा अन्नपूर्णको सम्भावना धेरे भएकाले त्यसैअनुसारका योजनामा जोड दिन उनले गाउँपालिका नेतृत्वलाई आग्रह गरे ।
पोखरा: सञ्चारकर्मी गोविन्द थापा सिञ्जालीद्धारा निर्देशित डकुमेन्ट्री चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीको आयोजनामा पोखरामा भोलि प्रर्दशनको हुने भएको छ । कृष्णचरीत्र ,ठाडोभाका ,भैरमथानको यात्रा ,बाजेबज्यै पूजा ,तलु ,रेडियो नेपाल पोखराको परिचय लगायतका डकुमेन्ट्री प्रर्दशनको तयारी पूरा भएको सञ्चारकर्मी एवम् निर्देशक सिञ्जालीले जानकारी दिए । पोखरा महानगरपालिका ४ गैह्रापाटन स्थित पोखरा थिएटरमा प्रदर्शन हुने चित्रेभञ्ज्याङ पोखरा सम्पर्क मञ्च कास्कीका अध्यक्ष वुद्घिराम लम्सालले जानकारी दिए । डकुमेन्ट्री मौलिक संस्कार ,संस्कृति संरक्षणका लागि प्रर्दशन गर्ने लागिएको उनको भनाई छ । साथै चर्चित कलाकारहरुको गायन तथा नृत्य प्रस्तुति र चित्रेभञ्याङको मौलिक कौराहा समेत प्रर्दशन हुने उनले बताए । यसअघि हरीनास सिर्जनशील समूह पोखराले असोज १५ गते सिञ्जालीद्घारा निर्दशित १५ वटा डकुमेन्ट्री तथा भिडियोहरुको प्रर्दशनी गरेको थियो ।
पोखरा: पोखरा पुम्दीभुम्दीमा नगरबस र स्कुटर ठोक्किदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । पोखरा महानगरपालिका २२ पुम्दिभुम्दिको भित्री सडकखण्डमा ग १ ख ३२२७ नम्बरको बस र ग २३ प ३६५६ नम्बरको स्कुटर ठोक्किदा स्कुटरमा सवार हेम्जाका ४६ वर्षीय तुल्सीप्रसाद त्रिपाठीको मृत्यु भएको हो । दुर्घटनास्थलबाट त्रिपाठीलाई उद्धार गरि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएपनि डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जनाएको छ । यस्तै सोही स्कुटरमा सवार पोखरा मालेपाटनका २२ वर्षीय शिशिर त्रिपाठी घाइते भएका छन् । घाइते शिशिर त्रिपाठीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा: रण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा बिहीबारदेखि ग्रुप ‘बि’तर्फको खेल शुरु भएको छ । बिहीबारको खेलमा साँग्रिला क्रिकेट क्लव र पल्सर सिइसी विजयी भएका छन् । पहिलो खेलमा साँग्रिलाले पेलिक्याण्टस् क्रिकेट क्लव, तनहुँलाई १४ रनले पराजित ग¥यो । टस हारेर व्याटिङ गरेको साँग्रिलाले १८.२ ओभरमा पुरा विकेट गुमाएर १ सय २ रन बनायो । साँग्रिलाको तर्फबाट राजु खनालले ३२ तथा विपिन खत्री र शरद भेषावकरले समान १८ रन जोडे । तनहुँको बलिङमा चन्द्रकान्त पौडेलले ४ तथा प्रदीप अर्याल, कमल परियार र इशान पाण्डेले दुई दुई विकेट बाँडे । जितका लागि १ सय ३ रनको लक्ष्य पछ्याउने क्रममा तनहुँको टोली १९.४ ओभरमा ८८ रनमै खुम्चियो । तनहुँको व्याटिङमा नविन यादवले १९ तथा कृष कार्कीले १५ रन बाहेक अन्य व्याट्स्मायनले दर्शनिय प्रदर्शन गर्न सकेनन् । खेलमा म्यान अफ द म्याच भएका साँग्रिलाका बलर कृष्ण कार्कीले ३ विकेट लिए । त्यस्तै सिब्रिन श्रेष्ठले पनि ३ तथा नारायण जोशिले २, विपिन खत्री र शरद भेषावकरले एक एक विकेट लिए । अर्को खेलमा सिइसीले राइजिङ पोखरालाई ६ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको राइजिङ पोखराले १४.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो । जसमा सन्दीप खत्रीले २९ तथा अनिल गुरुङ्गले ९ रन हाने । म्यान अफ द म्याच सिइसीका सुवास खत्रीले ४ विकेट लिदै पोखराको व्याटिङ लाइनअप कमजोर पारे । त्यस्तै, अविनास बस्यालले ३ तथा किरण चन्दले २ विकेट लिए । ६० रनको सानो लक्ष्य पाएको सिइसीले १६ औं ओभरमा ४ विकेट गुमाएर जित हाँसिल ग¥यो । सिइसीका लागि बिराट भण्डारीले अबिजित ३४ रन बनाए । पोखराका बलरहरु धिरज शाही ठकुरीले २ तथा करण केसी र कृष्ण पौडेलले एक एक विकेट लिए ।
पोखरा: गण्डकी प्रदेश खेलकुद परिषद गण्डकीले अघि सारेको खेल्छ गण्डकी कार्यक्रम गण्डकी प्रदेशको महिला भलिबल खेलको विकासमा अघि बढ्ने भएको छ । परिषदको बुधबार बसेको बैठकले उक्त कार्यक्रम मार्फत प्रदेशको भलिबल खेल विकासका लागि अघि बढाउने निधो गरेको हो । परिषदका सदस्य सचिव श्रीधर शर्माको अध्यक्षतामा बसेको बैठकमा कार्यपत्र प्रस्तुत गर्दै परिषदका सदस्य तथा सो कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले प्रदेशको महिला भलिबल खेलाडी उत्पादन कमजोर बन्दै गएको बताउँदै सो रकम खेलाडी उत्पादनमा खर्च गरिने बताए । नेपालको राष्ट्रिय खेल समेत रहेको भलिबलमा पछिल्लो समय प्रदेशको टिम कमजोर बन्दै गएकोमा सबैका लागि चिन्ताको विषय रहेको उल्लेख गर्दै उनले खेल्छ गण्डकी मार्फत पहिलो फेजमा महिला भलिबल खेलाडी उत्पादनमा खर्च गर्नुपर्ने बताए । आ।व २०७९र०८० का लागि विनियोजित रकमको ३० लाख रुपैयाँमार्फत उक्त कार्यक्रम सञ्चालन गरिने परिषदले निर्णय गरेको छ । कार्यक्रम मार्फत हालै एसइई दिएर बसेका विद्यार्थीहरुलाई ट्यालेन्ट हन्टको माध्यमबाट ११ वटै जिल्लाबाट ४० जना महिला भलिबल खेलाडीलाई पोखरामा १० दिने आवाशिय सुविधा सहितको प्रशिक्षण दिइने छ । कार्यक्रम अन्तर्गत ४० जनाबाट १२ जना छनौट गरी उनीहरुलाई पोखरामा नै राखेर छात्रवृतीमा ११ र १२ कक्षा अध्ययन गर्ने सुविधाका लागि समेत परिषदले समन्वय गर्ने भएको छ । सो को लागि उच्च मावी शिक्षा परिषद गण्डकी, निजि विद्यालयहरु, निजि क्षेत्रको सहभागिता, भलिबल संघ, शिक्षा मन्त्रालय संग समन्वय गरेर अघि बढ्ने परिषदले जनाएको छ । खेल्छ गण्डकी कार्यक्रम प्रदेशकै खेलकुद विकासका लागि महत्वपूर्ण कार्यक्रम रहेको बताउँदै सदस्य सचिव शर्माले पहिलो चरणमा महिला भलिबल खेलाडी उत्पादनका लागि खर्च गरिने भए पनि क्रमैसंग आगामी दिनमा सबै खेलहरुका लागि सुरुवात गरिने बताए । उनले भने–“यो कार्यक्रम प्रदेशको खेलकुद विकासका लागि एक महत्वपूर्ण र सकारात्मक कार्यक्रम हो । हाम्रो पहिलो ध्यान खेलाडी उत्पादनमा नै हो । महिला भलिबलबाट सुरुवात भए संगै अन्य खेलहरुलाई क्रमैसंग यस प्रकारका परियोजना अघि बढाउने छौं साथै १० औं राष्ट्रिय खेलकुदमा सर्वाधिक पदक जित्ने लक्ष्यका साथ अघि बढ्छौं ।” साथै बैठकले आ.व. २०८०÷०८१ को बजेटका विषयमा समेत प्रारम्भिक छलफल गर्नुका साथै आ.व २०७९०८० को बाँकी कार्यक्रमहरु समेत चाँडै सम्पादन गर्ने निर्णय गरेको छ ।

