पाल्पाको बगनासकाली गाउँपालिकाले बाँदर नियन्त्रणका लागि पनि बजेट छुट्टाएको छ।    आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा गाउँपालिका भित्र बाँदर आतंक नियन्त्रणका लागि ५ लाख बजेट छुट्टाइएको हो ।...

काठमाडौं:     नेपाल प्रहरीले ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो । त्यसमध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।      

काठमाडौं:    आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने पशुपति क्षेत्रमा भेटिएकी छिन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लामिछानेलाई पशुपति मन्दिरको आरतीस्थलमा फेला पारिएको जानकारी दिनुभयो । उनी हराउनुका कारण पत्ता लागि नसकेको र अनुसन्धान जारी रहेको बताउनुभयो ।   “अहिले उनी विक्षिप्त अवस्थामा छिन्, ‘काउन्सिलिङ’ गरेपछि मात्रै जानकारी लिने काम हुन्छ”, प्रवक्ता अधिकारीले भन्नुभयो । उनको घर चितवनको कालिका नगरपालिका–६ जमुनापुर भए पनि लामो समयदेखि कलङ्कीस्थित मामाघरमा बसेर इञ्जिनियरिङ पढ्दै आएकी थिइन् । उनी यही वैशाख १९ गतेदेखि हराइरहेकी थिइन् । परीक्षा आउन लागेकाले तयारीका लागि पुस्तकालयबाट पुस्तक लिन निस्किएकी उनले पछि फोन गरेर घर आउन लागेको बताएपछि सम्पर्कविहीन भएकी उनका परिवारले बताएको छ ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार दिउँसो वीर अस्पतालमा पुग्नुभएको छ। बुधबार बिहानदेखि दाँतमा दुखाइको महसुस भएपछि प्रधानमन्त्री दाँतको परीक्षणका लागि वीर अस्पताल पुग्नुभएको हो। अहिले डा. रितु श्रेष्ठ नेतृत्वको टिमले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचारको गरिरहेको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ । उहाँले यसअघिसमेत वीर अस्पतालमै दाँतको उपचार गर्नुभएको थियो ।

पोखरा:    बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयलाई पोखरा–१७ विरौटा निवासी समाजसेवी धन कुमारी गुरुङले स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् । विपन्न तथा अव्यवस्थित बस्तीका २ सय ७० बालबालिकाले अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकालाई प्रविधीमैत्री रुपमा अध्यापन गर्न सहज हुने हेतुले टेलिभिजन हस्तान्तरण गरिएको गुरुङले बताइन् । मातातिर्थ औँशीको दिन पारेर आयोजना गरिएको कार्यक्रममा बोल्दै गुरुङले विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गरेकी थिइन् । कार्यक्रममा पोखरा–९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी, विद्यालयका प्रधानाध्यापक लोचना कुमारी अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिक्रम थकाली, वडा सदस्य नन्दराम गिरी, अग्रज फोटो पत्रकार एवम् विद्यालयका अक्षयकोष दाता सुदर्शन रञ्जित, सञ्चारकर्मी तथा व्यवसायी सपना गुरुङ, विद्यालय व्यस्थापन समिति सल्लाहकार विष्णु सुवेदीले बोलेका थिए ।

पोखरा:    दमौलीबाट पोखरा आउँदै गरेको बस रुपा गाउँपालिका–५ बित्यानीमा दुर्घटना हुँदा एकजना यात्रु  घाइते भएका छन् ।  दमौलीबाट पोखरा आउँदै गरेको ग १ ख ७८०७ नम्बरको यात्रुवाहक बस रुपा गाउँपालिका–५ बित्यानीमा आज बिहान दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।  बस दुर्घटना हुँदा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ घर भएका ६० वर्षीय सोमबहादुर परियार घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचनाअधिकारी मिनबहादुर खड्काले जानकारी दिए ।  घाइते परियारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।  दमौली–पोखरा सडक खण्ड निर्माणाधिन रहेकाले बस भित्री सडकबाट पोखरा आउँदै गर्दा बित्यानीमा ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।   

पोखरा:    नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी मगरबीच प्रतिष्पर्धा हुने भएको छ ।  उनीहरू तीनजना मनोनयनमा परेको सार्वजनिक भएसँगै यो विधातर्फको अवार्ड कसले चुम्ला आ–आफ्नै अड्कलबाजी हुन थालेको छ ।  यहीं वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा मनोनयनमा पर्ने तीनैजना आ–आफ्नो खेल क्षेत्रमा दख्खल राख्छन् ।   अर्जुन कुमाल – क्रिकेट गुल्मीको छत्रकोट–५ खज्र्याङ घर भएका अर्जुन कुमालको जन्म भारतको नयाँदिल्लीमा भएको हो । त्यसैले पनि उमेरले १८ टेकेका अर्जुन भारतको क्रिकेट संस्कारबाट अर्जुन टाढा हुन सकेनन् ।  उनले भारतमा गण्डकीका राहुल शर्मासँग क्रिकेट सिके । अहिले पनि उनी समय मिलाएर राहुलसँग प्रशिक्षण लिन भारत गइरहन्छन् ।  राहुलको आग्रहमै उनी पोखरा आएर गण्डकीबाट खेल्न सुरु गरे । १३ वर्षकै उमेरमा यू–१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशबाट विकेटकिपरको रुपमा टियुमा खेलेका थिए ।  २०२१ को प्रधानमन्त्री कपमा विभागीय टोली आर्मीविरुद्ध डेब्यू खेलमै ६ चौकासहित ३६ रन जोड्दै धेरैको ध्यान तानेका थिए ।  पाँच वर्षअघि यू–१६ हुँदै सुरुआत गरेका उनले घरेलु र अन्तर्राष्ट्रिय दुवै क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् ।  २०१९ मा थाइल्याण्डमा सम्पन्न यू–१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटबाट नेपाली क्रिकेटमा सुरुआत गरे ।  सानै उमेर यू–१९ को विश्वकप खेलेका अर्जुन २०८० सालको प्रदर्शनका आधारमा नै पोखरा स्पोर्ट्स अवार्डमा मनोनयनमा परेका छन् ।  अर्जुन यू–१९ टोलीमा पुगेको करिब एक वर्ष भइसकेको छ । २०८० सालमा उनले ४ वटा अन्तर्राष्ट्रिय टुर गरे । यो सँगै आयरल्याण्ड र क्यानडासँग नेपाल ‘ए’ बाट खेले ।  यू–१९ को विश्वकपमा पाकिस्तान, अफगानिस्तान, न्यूजिल्याण्डसँगै नेपाल समुह ‘डि’ मा थिए । जसमा अर्जुनको प्रदर्शन उत्कृष्ट थियो । उनले न्युजिल्यान्डसँग ९० रन प्रहार गरेका थिए । उनकै प्रदर्शनमा विश्वकपको सुपर सिक्समा पुगेको थियो ।  मलेसियामा आयोजना भएको यू १९ एसीसी प्रिमियर कपको उपाधि जिताउँदा पनि उनले नेपालका लागि महत्वपूर्ण इनिङ्स खेलेका थिए । त्यहाँ उनले साउदी अरबविरुद्धको खेलमा १११ बलमा १७ चौका र २ छक्कासहित १४३ रन प्रहार गरे । फाइनलमा यूएईलाई हराउन ५५ रनको अर्धशतकीय इनिङ्स खेले ।  उनले यू–१९ एशिया कप पनि खेले । जहाँ उनले अफगानिस्तानविरुद्ध ९१ रनको इनिङ्स खेलेका थिए । यो बाहेक उनी २०८० सालमा गण्डकी प्रदेशबाट पिएम कप टि–२० र एक दिवसीय खेल खेलेका थिए ।    प्रदीप खड्का – टेनिस मनोनयनमा परेका प्रदीप खड्का कास्की बस्छन् । उनी टेनिसका खेलाडी हुन् । २०५० साल वैशाख ७ गते पोखरामा जन्मिएका प्रदीप सानैदेखि टेनिस कोर्टसँग नजिक भए ।  जुनियर गेम खेल्दै १७ वर्षको उमेरमा उनले छैटौं सिटिजन बैंक ओपन टेनिस प्रतियोगिता खेले । अहिले उनी नेपालको टेनिसमा पुरुषतर्फ सिंगल र डबल दुबैमा नम्बर १ मा छन् ।  उनको यात्रा अहिलेसम्म जारी नै छ । उनले सातौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टसतर्फ गोल्ड मेडल हात पार्दै आफूलाई राष्ट्रिय प्रतियोगितामा उभ्याएका हुन् ।  त्यसलगत्तै १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा टिम इभेन्टतर्फ कास्य पदक जित्न सफल भए । उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ओपन डबल्सतर्फ रजत, मेन्स सिंगल्सतर्फ कास्य, मेन्स टिम इभेन्टसमा कास्य पदक जिते ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ स्वर्ण पदक जित्न सफल खेलाडी हुन् । उनले मेन्स सिंगल, मेन्स डबल र टिम इभेन्टमा स्वर्ण पदक जिते । यो विचमा उनले नेपाल र विदेशमा भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । दश जोड २ पूरा गरेका प्रदीप २२ वर्षकै उमेरमा विदेशी प्रशिक्षक बन्नु पनि उनको अर्को सफलता हो । २०८० साल उनका लागि अझै उत्कृष्ट रह्यो । उनी १९ औं एसियन खेलकुदमा नेपालबाट सहभागिता जनाउँदै दोस्रो चरणमा पुगे । बहराइनमा भएको डेभिस कपमा पनि उनी सहभागी बने । दोस्रो सिलीगुरी मनिप्राइजमा सहभागी बनी दोस्रो भए । सोही वर्ष नै उनी १२ औं सहविर मेमोरियल ओपन टेनिसमा सिंगलतर्फ विजेता र डबल्समा उपविजेता भए । छैटौं बुटवल ओपन टेनिसमा विजेता (सिंगल) बने । २० औं माछापुच्छ«े ओपनमा सिंगततफै दोस्रो भए । यस्तै पहिलो राइजिङ स्टार ओपनमा सिंगलतर्फ दोस्रो, तेस्रो विर गणेशमान सिंगल र डबल्समा प्रथम, नवौं सिटीजन बैंक ओपनमा मिक्स डबल्समा पहिलो र सिओएस राष्ट्रिय ओपस टेनिसमा मिक्स डबल्समा पनि प्रथम भएका थिए ।  हिमाल सुनारी मगर – भलिबल गण्डकी प्रदेशबाट भलिबल खेल्ने हिमाल सुनारी मगरको जन्म २०५५ मंसिर २० गते पाल्पाको निस्दी गाउँपालिका ४ मा भएको हो ।  अहिले उनी नवलपुरको बौदीकाली ४ आमडाँडा बस्दै आएका छन् । उनको सानैदेखि भलिबलमा औधि रुचि थियो । दाइ होमबहादुर सुनारीको पछिपछि झुम्राको बल लिएर हिड्दाहिडदै उनी पनि भलिबल खेलाडी भए ।  सानैदेखि टोल, गाउँ, विद्यालय, पालिकाहुँदै जिल्ला स्तरीय प्रतियोगिता खेलेका उनी ६ वर्ष अघि नवलपुरको जिएम समाजसँग जोडिए । त्यसपछि गण्डकी प्रदेश भलिबल टिममा पर्न थाले ।  उनले २०७८ सालमा दोस्रो टाइगर कप पनि खेले । त्यो प्रतियोगितामा गण्डकीले उपाधि त जित्न सकेन तर, हिमालको क्वीक स्पाइकले सबैको ध्यान तानेको थियो । दोस्रो टाइगर कपमा उपाधि विहिन बनेको गण्डकीले तेस्रोमा भने उपाधि नै उचाल्यो ।  २०८० साल उनको लागि निकै उपलब्धीमुलक रह्यो । गण्डकीले सहभागिता जनाएको धेरैजसो प्रतियोगितामा उपाधि हात प¥यो ।  उनको उत्कृष्ट प्रदर्शनमा चितवनमा भएको अन्तर प्रदेश स्तरीय खेलकुदमा भलिबलतर्फ गण्डकीले स्वर्ण पदक हात पा¥यो । त्यहाँ हिमाल सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । यस्तै पोखरा मै भएको लामाचौर कप, मुख्यमन्त्री कप (झापा) र विरजंग कपमा गण्डकी प्रथम भयो ।  पोखरा भएको चौथो टाइगर कपमा गण्डकी दोस्रो बन्दा उनले उत्कृष्ट सर्भरको पुरस्कार हात पारे । कञ्चनपुरमा भएको मुख्यमन्त्री कप र बुटवलमा भएको मणिमुकुन्द कप गण्डकी द्वितिय भयो ।  यस्तै, ३४ औं राष्ट्रिय खेलकुद भलिबल र नवलपुरमा भएको जिएम कपमा तेस्रो बनेको गण्की एनभिए कप र बागलुङमा भएको बुकी कपमा चौथो बन्यो । उनले जिल्ला तथा पालिका स्तरीय प्रतियोगिताहरु पनि जितेका छन् ।   उनी २०८० सालमा दुवै र मलेसिया भलिबल खेल्न कै लागि पुगे । तनहुँ सेवा समाजको निमन्त्रणामा दुबै उत्कृष्ट खेल प्रस्तुत गरे । सगरमाथा क्लबको निमन्त्रणामा मलेसिया खेली उपाधि जित्दै सर्वोत्कृष्ट खेलाडी भएका थिए । अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष सहित लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले जनाए । मञ्चले सर्वोत्कृष्ट महिला र पुरुष विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै एक÷एक थान टेलजी ईलेक्ट्रिक स्कुटर प्रदान गर्ने जनाएको छ । त्यसबाहेक अन्य सबै विधामा अवार्ड प्राप्त गर्नेलाई अवार्डसँगै जनही ३५÷३५ हजार प्रदान गर्दछ । प्रवेश निःशुल्क रहने अवार्ड कार्यक्रममा चर्चित गायक प्रकाश सपुत, सन्तोष बस्याल, निर्मल दाहाल, नृत्यतर्फ तरेली साँस्कृतिक परिवारको लाठी नाच, कौरा र झ्याउरे नृत्य तथा बि बोइङ गण्डकीको प्रस्तुती समेत रहने मञ्चका महासचिव राजाराम पौडेलले बताए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्नेछ । पोखरा महानगरपालिका र राष्ट्रिय खेलकुद परिषदले सघाउनेछन् । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ ।

पोखरा:     गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो  वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो । यसरी सम्मानित हुनेहरूमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा खगराज शर्मा, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट बागलुङका श्रष्टा भूपिन खड्का, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा पुरुषोत्तम न्यौपाने, गण्डकी प्रज्ञा कला सम्मानबाट कास्कीका गोपाल श्रेष्ठ  छन् । उनीहरूलाई जनही एक लाख रुपैयाँ नगद, सम्मानपत्र, दोसल्लासहित सम्मान अर्पण गरिने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव मनकुमार श्रेष्ठले जनाए । यसैगरी गण्डकी प्रज्ञा प्रतिष्ठान नारी सम्मानबाट तनहुँकी सरस्वती प्रतिक्षा सम्मानित हुनेछिन् । उनलाई नगद पचास हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा युवा सम्मानबाट नृत्य विधाबाट स्याङ्जाका रविन गुरुङ   र कला विधाबाट मुस्ताङका छिरिङ फोन्जो गुरुङ  सम्मानित हुने भएका छन् । उनीहरूलाई नगद २५ हजार रुपैयाँको साथमा सम्मानपत्र र दोसल्लाले सम्मान गरिनेछ । गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको संयोजकत्वमा गठन भएको छनोट समितिले उनीहरूलाई छनोट गरेको हो । छनोट समितिमा कवि एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठ, वरिष्ठ लोक दोहोरी गायिका प्राज्ञ हरिदेवी कोइराला,  कलाकार यादव चन्द्र भुर्तेल र सदस्य सचिव मनकुमार श्रेष्ठ सदस्य रहेका थिए । सबै श्रष्टालाई यहीं बैशाख २९ गते शनिबार  दिउँसो २ बजे गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा विशेष कार्यक्रमको आयोजना गरेर सम्मान अर्पण गरिनेछ । वार्षिकोत्सबको अवसरमा  श्रष्टा स्मृति पार्कको उद्घाटन तथा प्रतिष्ठान स्थापना देखि हालसम्मको तीन वर्षे गतिविधिको बारेको भिडियो प्रदर्शन गरिनेछ। कार्यक्रममा विभिन्न झाँकी सहितको साँस्कृतिक प्रस्तुती आर्कषणको रुपमा रहने प्रतिष्ठानले जनाएको छ । कार्यक्रम भव्य बनाउन तयारीमा तिव्रता दिइएको सदस्य सचिव श्रेष्ठले बताए ।   कला, साहित्य ,संगीत र संस्कृतिको बिधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवर्धन गर्ने कार्य गरिरहेको  प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो ।

सिन्धुली:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक(थ्रु’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोजना सम्पन्न भएपछि सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । “बागमती प्रदेशको सिन्धुली जिल्लास्थित यस आयोजनाले मधेस प्रदेशको ५ जिल्लाका उर्वरभूमिमा वर्षैभरि सिँचाइ सुविधा पुग्नेछ, राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान एवं जलविद्युत् उत्पादन हुनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आज सुरूङको ‘ब्रेक(थ्रु’ भएको छ, यस आयोजनाको बाँकी कामसमेत निर्धारित समयमा नै सम्पन्न हुनेछ ।” सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजना रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजना भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सुरूङमार्गको ब्रेक–थ्रु सम्पन्न हुँदा हामी सबैमा नयाँ ऊर्जा र प्रेरणा मिलेको छ । ठूला पूर्वाधार निर्माणमा उत्साह थपेको छ ।” कृषि क्षेत्र नेपालको आर्थिक विकासको मुख्य मेरूदण्ड हुनुका साथै कुल ग्राहस्थ उत्पादनमा झन्डै एकतिहाइ योगदान रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देशका लागि आवश्यकपर्ने खाद्यान्न आपूर्तिमा आत्मनिर्भर हुन, खाद्य सुरक्षाको सुनिश्चित गर्न, जनताको आर्थिक उत्थान र समृद्धिका साथै गरिवी न्यूनीकरण गर्न कृषि उत्पादन र उत्पादकत्व वृद्धि अपरिहार्य रहेको बताउनुभयो । नेपालको ६० प्रतिशत कृषियोग्य भूमि तराई मधेश तथा भित्री मधेशभित्र नै पर्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराई–मधेश क्षेत्रमा विकास भई सञ्चालन भइरहेका सिँचाइ आयोजनाहरू नदी बहाव प्रणालीमा आधारित रहेको बताउनुभयो । हिमनदीहरूको पानी कृषि उत्पादनका लागि प्रयोग गरिनुपर्ने बताउँदै उहाँले सोही पानीको स्रोतलाई जलविद्युत् उत्पादन, खानेपानी लगायत अन्य प्रयोजनमा प्रयोगगरी राष्ट्रको समग्र विकास गरिने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले ठूला पूर्वाधारहरूको सफल निर्माणबाट नै नेपालमा सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्य हासिल हुने भएकाले आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले देशको रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनालाई प्रभावकारी रूपमा सम्पन्न गर्ने कार्यमा आ–आफ्नो ठाउँबाट समन्वय र सहयोग गर्न अपील गर्नुभयो । यस आयोजनाको सफल कार्यान्वयनबाट जलस्रोत तथा सिँचाइ क्षेत्रमा कार्यरत प्राविधिकहरूको नयाँ प्रविधिको उपयोग गर्दै प्राविधिक दक्षता हासिल गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले जलस्रोतको संयोजनात्मक रूपमा उपयोग गरी उर्वर भूमिबाट कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी आयातको असन्तुलन कम गर्न मद्दत पुग्ने बताउनुभयो । आयोजना सञ्चालनपश्चात् सुनकोशी र तामाकोशी क्षेत्रमा बसोवास गर्ने जनसङ्ख्याको बहुआयामिक विकास हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले क्षेत्रमा माछापालनदेखि आन्तरिक तथा बाह्य पर्यटनको उल्लेख्य वृद्धि एवं मनोरञ्जन तथा तालरजलासयमा पर्यटन व्यवसाय फस्टाउने उल्लेख गर्नुभयो । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सिन्धुली र रामेछाप जिल्लाको सीमानाबाट सुनकोशी नदीको पानीलाई १३ दशमलव ३ किलोमिटर लामो सुरूङमार्फत मरिन नदीमा खसाली बागमती नदी हुँदै बागमती सिँचाइ आयोजनामा पुर्‍याउनेछ । हाल सिँचाइ भइरहेको ४५ हजार ६०० हेक्टर जमीनसहित धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा वर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने आयोजनाको प्रमुख उद्देश्य रहेको छ ।

गोरखा:     सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।  जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा विद्यालय भवनसहितको संरचना निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर रम्तेलले जानकारी दिए। ‘नवनिर्मित बालमैत्री भवनसँगै विद्यालयमा खानेपानी, कक्षाकोठाका लागि आवश्यक पर्ने फर्निचर तथा फूलबारीको पनि व्यवस्था गरिएको छ’, उनले भने, ‘विद्यालय भवनको सुरक्षाका लागि घेराबारसमेत लगाइएको छ ।’ विसं २०८० असारमा शिलान्यास गरिएको भवन चैतमा नै निर्माण सम्पन्न भएको हो । एकीकरण नेपाल गोरखा नामक गैरसरकारी संस्थाको सार्वजनिक विद्यालयको सिकाइ वातावरण सुधार परियोजनाअन्तर्गत भवन निर्माण गरिएको हो । नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण भइसकेको छ । भवन निर्माणमा ‘चाइल्ड फण्ड’ जापानले प्राविधिक सहयोग गरेको थियो ।